सेयर बजारमा दुई अर्ब ५८ करोड रुपैयाँको कारोबार, सबैभन्दा बढी बीमा कम्पनीको
काठमाडौं । यस साता सेयर बजारमा दुई अर्ब ५८ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । सो रकम गत साताको भन्दा ७ दशमलब ९१ प्रतिशत घटि हो । गत साता बजारमा दुई अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस साता जम्मा चार दिन खुलेको बजारमा १५५ कम्पनीहरुको ८३ लाख २६ हजार २२० कित्ता सेयर किनबेच भएका छन् । सो अवधिमा सबैभन्दा बढी बीमा कम्पनीहरुको सेयर कारोबार भएको छ । त्यस्तै, हिमाल जनरल इन्स्योरेन्स कम्पनीको एक करोड ८८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको १ करोड १३ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकम सँगै साताको नेप्से परिसूचक पनि ओरालो लागेको छ । परिसूचक पहिलो दिनको तुलनामा १५.३६ अंकले घटेर अन्तिम दिन १६४३.८७ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकहरुमा पनि उतारचढाव आएको छ । सबैभन्दा बढी उत्पादनमूलक समुहको परिसूचक ९८.६४ अंकले उकालो लागेको छ । त्यस्तै, होटल समूको परिसूचक २२ अंकले उकालो लागेको छ । बीमा, वाणिज्य बैंक र जलविद्युत समूहको परिसूचक क्रमशः ४३, २५ र १४ अंकले ओरालो लागेका छन् ।
मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गर्न माग्यो बोर्डको अनुमति
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले १०ः४ को अनुपातमा ६ लाख १७ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले एनआइबिएल क्यापिटल मार्केट मार्फत ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।
टरेन तरलता अभाव, घटेन ब्याजदर
काठमाडौं । जेठ ३ गते मेगा बैंक नेपालले २५००० हजारको मुद्धति खातामा १२ प्रतिशत ब्याज दिने र त्यसको भुक्तानी १५/१५ दिनमा गर्ने सार्वजनिक सूचना प्रकाशित गर्यो । नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष समेत रहेका मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह भन्छन–हामीले १२ प्रतिशत ब्याजदरमा मुद्धति खातामा निक्षेप आव्हान गर्नु भनेको तरलता अभाव टरेको छैन भन्ने प्रमाण हो, तरलताको अभाव क्रमशः घटिरहेको छ तर अपेक्षा गरे अनुसार निक्षेप वृद्धि भैरहेको छैन् ।’ बाणिज्य बैंकहरु संस्थागत निक्षेप कर्ता भन्दा पनि व्यक्तिगत निक्षेप कर्ताहरुलाई आकर्षित गर्न लागिपरेको शाह बताउँछन् । ‘साना साना तर दिगो प्रकृतिका व्यक्तिगत निक्षेप कर्तालाई आकर्षित गर्ने प्रयास गरिरहेका छौं, संस्थागत निक्षेप कर्ताले जुनसुकै समयमा ठुलो रकम झिक्न सक्ने भएकाले व्यक्तिगत निक्षेप कर्तालाई प्राथमिकतामा राखेका हौं’, शाहले भने । स्थानिय तहको निर्वाचनले तरलता अभावको समस्या टर्ने आंकलन गरिएपनि त्यस्तो नदेखिएको पनि उनले बताए । उता, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि बजारमा तरलता अभाव कायमै रहेको बताए । ‘निक्षेप बढेको छैन्, तर कर्जाको मात्रा बढिरहेकै छ, स्थानिय तहको निर्वाचनमा बजारमा पैसा आउँछ भन्ने आंकलन थियो तर खासै सकारात्मक प्रभाव देखिएन’, दाहालले विकासन्युजसँग भने । अहिले पनि निक्षेप भन्दा कर्जाको मात्रा बढिरहेको पनि दाहालले बताए । ‘मौद्रिक नीतिको मध्यावधि समिक्षाले केहि राहत दिएको छ तर पनि असारसम्ममा सिडी रेसिया ८० प्रतिशतमा ल्याइसक्नुपर्ने भएकाले बैंकहरु हच्किएका पनि छन् ।’, दाहालले भने । दाहालका अनुसार बैशाखसम्ममा बाणिज्य बैंकहरुमा १९ खर्ब ५५ अर्ब निक्षेप संकलन भएको छ भने १६ अर्ब ६५ करोड कर्जा प्रवाह भएको छ । बैशाखसम्म आइपुग्दा बाणिज्य बैंकहरुको सिडी रेसियो ८५ दशमलब १७ प्रतिशत पुगेको छ । गत चैतमा १९ खर्ब ५० अर्ब निक्षेप थियो भने कर्जा १६ खर्ब ५६ अर्ब थियो । त्यसबेला सिडी रेसियो पनि ८४ दशमलब ९२ प्रतिशत थियो । तर नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने बैंकिङ प्रणालीमा ४८ अर्बको तरलता रहेको बताए ।
हुन्डाइ मोटरद्धारा लक्ष्मी इन्टर कन्टिनेन्टललाई ‘रिजनल एक्सिलेन्स अवार्ड’ प्रदान
काठमाडौं । नेपालका लागि हुन्डाइ मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सन् २०१६ को ‘रिजनल एक्सिलेन्स अवार्ड’ पाएको छ । हुन्डाइ मोटर कम्पनीले ५० वर्ष पार गरेको अवसर कोरियामा आयोजना गरेको ‘ग्लोबल डिष्ट्रिब्युसन कन्भेन्सन’ को अवसरमा सो अवार्ड प्रदान गरिएको हो । लक्ष्मी ग्रपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले उक्त अवार्ड ग्रहण गरेका छन् । २७ देखि ३० बैशाखसम्म उक्त कन्भेन्सनमा १३२ मुलुकबाट २८४ सहभागी थिए । ‘फिप्टी इयर्स एन्ड मोर’ नाराका साथ आयोजना भएको सम्मेलनमा कम्पनीका तर्फबाट ५० वर्षको अनुभव र भावी योजना ‘शेयर’ गरिएको थियो । ‘सिइओ कन्फरेन्स’को अवसरमा हुन्डाइ मोटरले ‘टप टायर अटोमोटिभ ब्रान्ड’ बन्ने घोषणा गरेको छ । त्यसका लागि विश्वभरका उपभोक्तालाई ‘हाइ भ्यालु’ सेवा दिने कम्पनीले जनाएको छ ।
यति एयरलायन्स र संयुक्त राष्ट्र संघबीच साझेदारी, नेपालमा दिगो विकास हासिल गर्ने
काठमाडौं । यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयले नेपालमा दिगो विकासका लक्ष्य हासिल एवम् प्रवद्र्धन गर्नका लागि नयाँ साझेदारीको सुरुवात गरेका छन् । यस सम्झौता अन्तर्गत राष्ट्र संघ र यति एयरलायन्सले दिगो विकास लक्ष्य सम्बन्धी जनचेतना जगाउनका साथै आवश्यक सरोकारवालाहरुको परिचालन साथै यसको कार्यन्वयनका लागि सम्बन्धित सरोकारवालाहरु संयुक्त रुपमा पहल गर्नेछन् । साथै, यस सहकार्यले वातावरण परिवर्तन अनुकुल, गरिबीन्युनीकरण र लैङ्गिक समनता लगायतका क्षेत्रसँग सम्बिन्धत लक्ष्य हासिल गर्ने उड्डयन र पर्यटनको क्षेत्रमा नयाँ र दिगो व्यवसायिक मोडेलको खोजी अवलम्बन एवम् प्रर्वद्धन गर्नेछ । नेपाल लगायत राष्ट्रसंघका सदस्य राष्ट्रहरुले सन् २०१५ को सेप्टेम्बरमाअवलम्बनगरिएको दिगो विकास लक्ष्य र एजेण्डा २०३० ले विश्व व्यापी लक्ष्य हासिल गर्नै निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारको रुपमा लिएको छ । दिगो विकास लक्ष्य कार्यन्वयन प्रक्रिया अगाडि बढाउनका लागि साधन स्रोत प्रवृत्ति र नयाँ कार्यका सुरुका लागि निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेको छ । ललितपुरको पुल्चोक स्थित युएन हाउसमा भएको समझदारी पत्रमा युनडीपी नेपालका निर्देशक रेनो मेयर र यति एयरलायन्सका प्रमुखकार्यकारी अधिकृत उमेशचन्द्र राईले हस्ताक्षर गरेका थिए । ‘नेपालमा विश्वव्यापी लक्ष्यका लागि यति एयरलायन्सलाई पहिलो निजी क्षेत्रको साझेदारको रुपमा पाँउदा राष्ट्रसंघ खुसी र उत्साहित भएको छ । यसले नेपालको विकासमा निजी क्षेत्रको भूमिका रहेको सन्देश दिएको छ ।’ युनडीपी नेपालका निर्देशक रेनो मेयरले भने ‘दिगो विकास लक्ष्य सरकार र राष्ट्रसंघको मात्र जिम्मेवारी नभई निजी क्षेत्र र नागरिक समाजलगायत सबै नागरिकके जिम्म्ेवारी हो । यही लक्ष्य हासिल गर्ने सरोकारवालाहरुबीच सबै तहका कार्यक्रमको योजना, कार्यन्वयन र अनुगमनको चरणमा हुने सामूहिक साझेदारीले नै यी लक्ष्य प्राप्तिमा निर्भर रहन्छ ।’
सिभिल बैंककोे छैठौं वार्षिक साधारण सभा सम्पन्न, युनिक र हामा मर्चेन्टलाई प्राप्ति गर्ने
काठमाडौं । सिभिल बैंक लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहीबार सम्पन्न कम्पनीको साधारण सभाले आ.व.२०७२/७३ को नाफाबाट शेयरधनीहरुलाई २.८८% बोनस शेयर तथा कर प्रयोजनको लागि ०.१५१६% नगद लाभांश बितरण गर्ने निर्णय पारित गरेको छ । साथै, सभाले युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई सिभिल बैंकले प्राप्ति गर्ने निणर्य गरेको छ । बोनश शेयर जारी तथा युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको ३० प्रतिशत प्रस्ताव गरेकामा सभाले सो लाई संसोधन गरी ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । साथै हकप्रद शेयर निष्काशन तथा बाँडफाँड गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण काम कारवाही गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सोहि सभाले संस्थापक लगानीकर्ताहरुको समुहको तर्फबाट संचालक समितिमा सृजना शाक्य तामाङ्गलाई बाँकी अवधिको लागी गरेको नियूक्तिलाई अनुमोदन गरेको छ । सभाले पारित गरेको बोनस शेयर प्राप्ति र हकप्रद शेयर पछि बैंकको चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले तोकेको समयमा पूरा हुने बैंकले जनाएको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ३३ अर्ब ८१ रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
महानगरका सडकमा एक घण्टा भन्दा बढि पार्किङ गर्नेलाई पाँच हजार जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा एक घण्टा भन्दा बढि समय सवारी साधन पार्किङ गर्न निषेध गरेको छ । महानगरपालिकाले जेठ १ गतेदेखि नै न्युरोड, पाको र सुन्धारा क्षेत्रका सडक आसपासमा एक घण्टा भन्दा बढि समय पार्किङ गर्ने सवारी साधनलाई एक हजारदेखि पाँच हजारसम्म जरिवना असुल्न सुरु गरेको हो । ‘न्युरोडका सडकमा दिनभरी पार्किङ गर्न पाइन्न, एक घण्टा भन्दा बढि समय पार्किङ गर्नेहरुको सवारी साधन महानगरपालिकाले उठाउँछ र एक हजारदेखि पाँच हजार जरिवाना असुल्छ’, काठमाडौं महागरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले विकासन्युजसँग भने । त्यसका लागि महानगरपालिकाले सो क्षेत्रका सडक किनारामा पार्किङ हुने सवारी साधनमा टाइम कार्ड प्रयोगमा ल्याएको छ । सवारी साधन पार्किङ गर्दा महानगरपालिकाले पार्किङमा राखिएको समय उल्लेख गरेर स्टिकर टास्छ । एक घण्टा भन्दा बढि समयसम्म उक्त सवारी साधन सोही स्थानमा भेटिए महानगरपालिकाका कर्मचारीले उठाउनेछन् । त्यसरी उठाइएका मोटरसाइकलसँग एक हजार र चार पाँग्रे मोटरसँग पाँच हजार जरिवाना असुल्न थालिएको प्रवक्ता कार्कीले बताए । महानगरपालिकाले शंकरदेव क्याम्पस आसपास, पुतलीसडक क्षेत्र र महावौद्धमा पनि एक घण्टे पार्किङ योजना कार्यान्वयन गराउने तयारी गरेको कार्कीले बताए । उपत्यकाको कोर सिटी क्षेत्रका सडकलाई व्यवस्थित गर्न पार्किङमा कडाई गरिएको कार्कीले बताए । ‘सडकलाई पार्किङ जोन बन्न दिँदैनौं, काम हुनेले एक घण्टामा सकेर आफ्नो सवारी साधन लैजान सक्छन, सडकलाई दिनभरी सवारी साधन पार्किङ गर्ने स्थल बन्न दिँदैनौं’, कार्कीले भने ।
तामाकोशी–५ जलविद्युत् आयोजनाको निर्माण शुरू, १३ अर्ब रुपैयाँ लगानीमा ८७ मेगावाट विद्युत उत्पादन हुने
काठमाडौं । दोलखा जिल्लामा ८७ मेगावाट क्षमताको तामाकोशी–५ जलविद्युत् आयोजनाको निर्माण शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणले तामाकोशी जलविद्युत् कम्पनी खडा गरी केही हप्ता अघिदेखि उक्त आयोजनाको निर्माण शुरू गरेको हो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत्गृहमा प्रयोग भई टेलरेसबाट निस्केको पानीलाई लामाबगरको जगतबाट भूमिगत सुरुङमार्फत सुरीदोभान नजिक अर्को भूमिगत विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादनका लागि आयोजना शुरू गरिएको तामाकोशी–५ का आयोजना प्रमुख नसिव प्रधानले बताए । उनका अनुसार माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोले नै तामाकोशी–५ को पनि भूमिगत इण्टेक बनाउने कार्य थालिसकेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको टेलरेसको पानीलाई ६४ दशमलव ८९ मिटर ट्राञ्जिशन टनेल तथा भूमिगत ‘इण्टर कनेक्शन’ इण्टेक बनाई ५ दशमलव ६ मिटर व्यास भएको ८ दशमलव २ किलोमिटर लामो सुरुङ निर्माण गरी १ सय ६० मिटर हेडबाट ४ ओटा युनिटमा पानी खसाली विद्युत् उत्पादन गर्ने डिजाइन रहेको आयोजना प्रमुख प्रधानले जानकारी दिए । विदेशी कन्सल्ट्याण्ट ल्हामेरले आयोजनामा परामर्श सेवा प्रदान गरिरहेको आयोजनाले बताएको छ । आयोजनाको कुल लागत करीब १३ अर्ब रुपैयाँ रहेको बताइएको छ । स्रोतका अनुसार तामाकोशी–५ प्रतियुनिट विद्युत् उत्पादन लागतका हिसाबले सस्तो आयोजना हो । बाँध निर्माण नगरी तथा न्यून प्राकृतिक क्षति तथा आयोजनाको सम्पूर्ण संरचना भूमिगत निर्माण हुने भएकाले आयोजनाको निर्माण सस्तोमा हुने आयोजनासम्बद्ध कर्मचारीहरू बताउँछन् । आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर)अनुसार २५ मेगावाट क्षमताको ४ ओटा युनिट जडान गरिने योजना रहेको छ । आयोजनाको प्रवर्द्धक तामाकोशी जलविद्युत् कम्पनीको प्रबन्धपत्रअनुसार दोलखालीले पाउने १० प्रतिशत शेयरसहित विपन्नलाई २ प्रतिशत शेयर सुनिश्चित गरिएको आयोजना प्रमुख प्रधानले जानकारी दिए । आयोजनाबाट साविकको गौरीशङ्कर, लामाबगर, लादुक, बुलुङ, खारे, ओराङ र सुरी गरी ७ गाविसलाई प्रत्यक्ष असर पुग्ने बताइएको छ । उत्पादित विद्युत्लाई १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत माथिल्लो तामाकोशीको सबस्टेशनमा जोडिनेछ ।