सानिमा बैंकले निशुल्क आश्वा सेवा दिने, मंगलबारदेखि लागू गरिँदै
काठमाडौं । सानिमा बैंक लिमिटेडले निःशुल्क आश्वा सेवा दिने भएको छ । बैंकले यस सेवा जेठ २ गते (मंगलबार)देखि निःशुल्क गरेको जनाएको छ । साथै, ग्राहकहरुले आश्बा अन्तर्गत अनलाईन शेयर आवेदन दिन सकिने बैंकले जनाएको छ । यो सुबिधा बैंकमा खाता हुने ग्राहकहरुद्वारा ईन्टरनेट बैंकिङ्ग मार्फत उपयोग गर्न सकिने छ । सानिमा बैंकको मेची देखि महाकाली सम्म ४५ वटा शाखा संजाल तथा ५३ वटा ए.टि.एम. रहेका छन् ।
जाजरकोटको शिवालयमा एमालेका नरेन्द्र कुमार शाही विजयी
काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा एमालेका नरेन्द्रकुमार शाही निर्वाचित भएका छन् । उनले २०७३ मत ल्याउँदा नेपाली काँग्रेसका खड्गबहादुर बिसीले १८३३ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षमा पनि २०६३ मत ल्याएर एमालेकै कुमारी थापा निर्वाचित भएकी छिन् । नेपाली काँग्रेसकी गीताकुमारी शाहीले १८१२ मत प्राप्त गरेर पराजित भएकी हुन् ।
ब्याज बढाउँदा ऋणीको सहमति अनिवार्य, आधार दरभन्दा तल गएर ऋण दिन नपाउने
काठमाडौं । बैङ्कहरूले कर्जाको ब्याज बढाउँदा अबदेखि ऋणीको सहमति लिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले परिपत्र जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाले ऋणीको सहमतिविना ब्याजदर बढाउन नपाउने निर्देशन दिएपछि अनुमति लिनैपर्ने भएको हो । तर, ऋणीले कर्जाको साँवा तथा ब्याज समयमै नतिरेको, धितो सम्पत्तिमा हानिनोक्सानी पुर्याउने कार्य गरेकोलगायत कर्जाका अन्य शर्त पालना नगरेको अवस्थामा भने बैङ्कले ब्याजबारे आफूखुशी निर्णय गर्न पाउनेछन् । लामो समयदेखि बैङ्कको विभिन्न खाता तथा कर्जाकोे ब्याजदरमा निकै विविधता थियो । त्यसैले योे व्यवस्थाले बैङ्क तथा वित्तीय संस्थामा सुशासन कायम गर्न तथा ब्याजदरलाई वाञ्छित स्तरमा ल्याउन सहयोग गर्ने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार बैङ्क तथा वित्तीय संस्थाले आफूखुशी कर्जामा पटकपटक ब्याजदर बढाउने गरेको र सर्वोच्च अदालतले पनि यसलाई नियन्त्रण गर्न निर्देशन दिएकाले ब्याज दरबारे यस्तो व्यवस्था गरिएको हो । केन्द्रीय बैङ्कले गरेको उक्त व्यवस्थामा ऋणीले लिने नयाँ वा थप कर्जामा पनि आधार ब्याजदरमा निश्चित प्रतिशत मात्र प्रिमियम थप्न पाइनेछ । प्रिमियम उल्लेख नभएको पुरानो कर्जामा भने अफर लेटरमा तोकिएको ब्याज दर र कर्जा प्रवाह गर्दा कायम रहेको आधार दर बीचको अन्तर नै प्रिमियम दर मानिनेछ । तर, ऋणीसँग बैङ्कहरूले फेरि सम्झौता गरेमा भने प्रिमियम कायम गर्न पाउने अधिकार दिइएको छ । केन्द्रीय बैङ्कले ब्याजको स्प्रेड दर ५ प्रतिशत तोकेको छ । अब कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा निक्षेपमा दिने र कर्जा तथा सापटमा लिने ब्याजदर बीचको औसत अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । आधार र प्रिमियम दर राष्ट्र बैङ्कले बताएको छ । कर्जा तथा सापटको ब्याजदर निर्धारण आधारदरसँग आवद्ध गर्नुपर्ने छ । साथै, पुनर्तालिकीकरण वा पुनःसंरचना गरिने कर्जाको ब्याजदरसमेत आधार दरलाई आधार मानी निर्धारण गर्नुपर्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ । आधार दरमा प्रिमियम दर थपेर ब्याज दर निर्धारण हुने व्यवस्था छ तर कति प्रिमियम थपिएको हो, त्योबारे स्पष्ट खुलाउनु पर्नेछ । बैङ्कहरूले आधार दरमा जतिले परिवर्तन हुन्छ सोही बराबरले मात्र कर्जाको ब्याजदर समायोजन गर्न सक्नेछन् । ब्याजदर समायोजन गर्दा अबदेखि त्रैमासिक रूपमा गर्नुपर्ने छ । तर, ग्राहकसँग गरिएको सम्झौतापत्रमा खुलाई अर्धवार्षिक वा वार्षिक रूपले ब्याजदर समायोजन गर्न भने यो व्यवस्थाले बाधा पर्ने छैन । उक्त व्यवस्थाले कर्जाको प्रकार र भुक्तानी अवधिका आधारमा छुट्टाछुट्टै प्रिमियम दर तय गर्न बैङ्कलाई नै स्वतन्त्रता दिएको छ । ऋण दिँदा आधार दरमा थप हुने प्रिमियम दरका बारेमा निर्णय गरी त्यो दर ऋणीलाई अफर लेटरमा स्पष्ट खुलाइ दिनुपर्छ । प्रिमियम दरका सम्बन्धमा निर्णय लिँदा कर्जाका लागि आवेदन प्राप्त हुँदाका बेला प्रकाशित प्रिमियम दरभन्दा बढी निर्णय गर्न पाइने छैन । कर्जाको ब्याजदरबाहेक राष्ट्र बैङ्कले निक्षेपको ब्याजदरका लागि पनि छुट्टै प्रावधानको व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार बैङ्कहरूले निक्षेपको ब्याजदर आफै तय गर्न सक्ने भए पनि कल डिपोजिट (माग तथा अल्पसूचनामा आधारित निक्षेप) मा बचत खातामा प्रदान गरिने ब्याजदरभन्दा बढी ब्याज प्रदान गर्न पाइने छैन । कल डिपोजिटबाहेक अन्य डिपोजिटको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव ५ प्रतिशत बिन्दुसम्म बढाउन सक्नेछन् । यो व्यवस्थाअनुसार बोलकबोल (बिडिङ)को आधारमा सङ्कलन हुने संस्थागत मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याज दरको व्यवस्था लागू हुने छैन । बोलकबोल गरेर पैसा राख्ने क्षमता पैसावालाहरूमा मात्र हुने भएकाले यसको पहुँच सर्वसाधारणमा नपुग्ने देखिन्छ । यसैगरी यो व्यवस्थाले ग्राहकले चाहेको समयमा जहिले पनि झिक्न पाउने गरी मुद्दती खातामा पैसा राख्न नपाउने भएका छन् । निक्षेप भनेर खाता खोल्ने तर पेनाल्टिी तिरेर आफूअनुकूल रकम झिक्ने बेथितीलाई नियन्त्रण गर्न मुद्दती खातासम्बन्धी यस्तो व्यवस्था गरेको राष्ट्र बैङ्कका प्रवक्ता पौडेलले बताए । (अार्थिक अभियानबाट)
डोल्पाबाट पहिलो मेयरमा एमालेका शाही निर्वाचित
काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिकाबाट एमालेले मेयरमा खाता खोलेको छ । ठुलीभेरीमा एमाले उम्मेदवार गणेशबहादुर शाही पहिलो मेयर निर्वाचित भएका हुन् । उनले १४७३ मत ल्याएर चुनाव जितेका हुन् । उपमेयरमा भने राप्रपाका योगेन्द्र बहादुर शाही विजयी भएका छन । उनले १३२४ मत पाएका थिए ।
सनराइज बैंकको एक अर्ब ६३ करोडको हकप्रद सेयर
काठमाडौं । सनराइज बैंकले १० बराबर ३ कित्ताको अनुपातमा हकप्रद सेय निष्काशन गर्ने भएको छ । बैंकले जेठ १६ गतेदेखि असार १९ गतेसम्म प्रति १० कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । सनराइज बैंकका शाखा र कार्यालय र प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् । बैंकले एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार ६०० रुपैंयाँ मुल्यको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बेलकोटगढीको २ नम्बर वडामा एमाले प्यानल विजयी, मेयर र उपमेयरमा पनि एमालेकै अग्रता
काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर २ को मतगणना सकिएको छ । मतपरिणाम अनुसार सो वडामा अध्यक्षसहित सबै सदस्यहरुमा नेकपा (एमाले)बाट विजयी भएका छन् । नगरपालिकाको मेयर र उपमेयर पदमा पनि एमालेले अग्रता लिएको छ । वडा अध्यक्षमा एमालेका रमेश न्यौपानेले ५९७ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका विश्वमणि न्यौपानेले ५१७ मत पाएका छन् । वडा नम्बर एकमा पनि एमालेका सुब्बा तामाङ र उनको टिमले विजय हासिल गरेको छ । दुबै वडाको मतपरिणाम आएपछि एमालेका कार्यकर्ता र समर्थकहरुले विजयी र्याली निकालेका छन् । मेयर पदका प्रत्यासी एमालेका राजेन्द्ररमण खनालले ८५६ मत पाएका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार जगत गुरुङले ७७० मत पाएका छन् । उपमेयरमा एमालेका रुपा सापकोटाले ९६२ मत पाएकी छिन् । उनकी निकटम प्रतिद्धन्द्धी माओवादीकी कविता ढुंगानाले ७१५ मत पाएकी छिन् । मेयर र उपमेयर पदमा नेपाली काँग्रेसको उम्मेदवारले क्रमशः ५४५ र ५६२ मत पाएका छन् ।
नवलपरासीको बुङ्दीकालीमा काँग्रेस-एमालेले अध्यक्ष उपाध्यक्ष बाँडे
काठमाडौं नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस र एमालेको उम्मेदवार विजयी भएका छन् । सो गाउँपालिकाको अध्यक्षमा ३ हजार १ सय ९१ मति सहित कांग्रेसका दुर्गाबहादुर राना विजयी भएका हुन् । बुङ्दीकालीको उपाध्यक्षमा भने ३ हजार १ मतसहित एमालेकी उम्मेदवार डिलकुमारी सारु विजयी भएकी हुन् ।
राष्ट्रिय बाणिज्य बैंकको नाफा २ अर्ब ७ करोड
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले नौ महिनामा २ अर्ब ७ करोड नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा भन्दा ४६ करोड बढि नाफा यसपालीक आर्जन गरेको हो । गत आवको नौ माहिनामा राष्ट्रिय बाणिज्य बैंकले जम्मा एक अर्ब ६१ करोड मात्रै नाफा कमाएको थियो । बैंकले ६ अर्ब ३ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३५ करोड मात्रै ब्याज खर्च गरेको छ । ८ अर्ब ५८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९ करोड रुपैंयाँ रहेको छ । बैंकले ३ दशमलब ५२ प्रतिशतमा रहेको खराब कर्जालाई पनि घटाएर २ दशमलब ७० प्रतिशतमा ल्याएको छ ।