विकासन्युज

पुष्पलाल लोकमार्गमा बन्न थाल्यो चार बसपार्क, दुई र चार टेण्डरको अध्ययन हुँदै

काठमाडौं । सरकारले ‘सघन शहरी विकास कार्यक्रम’ अन्तर्गत मध्यपहाडी (पुष्पलाल) लोकमार्गको चार स्थानमा वर्षपार्क निर्माण प्रक्रिया अघि बढाएको छ । कार्यक्रम लागू भएको ७ वर्ष पछि लोकमार्ग बन्न लागेका १० नयाँ सहरको पूर्वाधार निर्माणसँगै पाँचथरको ‘फिदिम, धनकुटाको ‘वसन्तपुर’ रुकुमको ‘चौरजहारी र बैतडीका ‘पाटन’ मा बसपार्क निर्माण शुरु गरेको हो । यसका साथै साफेबगर र डुम्रेमा बसपार्क निर्माणका लागि टेण्डर प्रक्रिया शुरू गरिएको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले बताएको छ । बागलुङको बुर्तिबाङ, दैलेखको राकम कर्णाली, धादिङको बैरेनी-गल्छी र सिन्धुलीको खुर्काेटमा पनि बसपार्क निर्माणका लागि आवश्यक प्रक्रिया शुरू भएको कार्यालयले जानकारी दिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गतको बसपार्क निर्माण कार्य नयाँ सहर निर्माणको पहिलो पूर्वाधार हो । सरकारले लामो समय र धेरै विज्ञ, सरोकारवालाको छलफलका आधारमा प्राविधिक कमिटिले उक्त मार्गमा पर्ने नयाँ सहरको एकीकृत विकास योजना तयार बनाएको छ । उक्त योजनामाथि मूल्यांकन भइरहेको कार्य भइरहेको कार्यालयले बताएको छ । त्यस्तै १० सहरका लागि एकीकृत जग्गा विकास कार्यक्रमको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य पनि भइरहेको छ । सोमध्ये तीन सहरको ३ वटा आयोजना सरकारबाट स्वीकृत भएका छन् भने २ वटा आयोजना स्वीकृतिको क्रममा रहेको छ । मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो तेस्रो राजमार्ग हो। । उक्त लोकमार्गको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर रहेको छ । यो राजमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ । चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्न यो लोकमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्लालाई छिचोल्नु पर्छ । उक्त जिल्लामध्ये १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर यो मार्ग जान्छ । राजमार्गमा पर्ने २७ सहरमध्ये १६ वटालाई जोडिने छ । सहर र सदरमुकामलाई छोडेर लोकमार्गले पार गरेर जाने पूर्वाञ्चलका बस्तीमध्ये च्याङथापु, गोपेटार, संक्रान्ति बजार, वसन्तपुर, हिले, जरायोटार, हलेसी र घुर्मी बढी परिचित छन् भने मध्यमाञ्चलमा खुर्कोट, नेपालटार, (भकुन्डेबेसी), दाप्चा, नौबिसे, गजुरी, बैरेनी, कुरिनटार, मुगलिन पर्दछन् । यसैगरी पश्चिमाञ्चलका आबुखैरेनी, डुम्रे, दुलेगौँडा, खैरेनीटार, बुर्तिबाङ उल्लेख्य बस्ती हुन् । मध्यपश्चिमाञ्चलका उल्लेख्य बस्तीहरूमा काँक्री, रुकुमकोट, चौरजहारी, दुल्लु, राकम, कर्णाली आदि पर्छन् । सुदूरपश्चिमाञ्चलका विनायक, साँफेबगर, खोड्पे, पाटनजस्ता बस्तीहरू यही लोकमार्गमा पर्छन् । आर्थिक वर्ष २०६४/६५मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी राजमार्गको रेखांकन प्रस्ताव विसं २०६५ फागुन २६को मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । उक्त लोकमार्गलाई नेपालको आर्थिक विकासको समृद्धीको ढोका मानिन्छ । सो लोकमार्ग २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएपनि हालसम्म करिब ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । सरकारले चालू आवको सो लोकमार्ग निर्माणका लागि २ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

शतप्रतिशत क्यासब्याक पाइने रिचार्जर एप्स

काठमाडौं । शतप्रतिशत क्यासब्याक पाइने रिचार्जर एप्स सार्वजनिक भएको छ । ग्लोबलकि टेक्नोलोजी प्रालिले बजारमा ल्याएको मोबाइल एप्स रिचार्जर मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याकपाउने र क्यासब्याकमार्फत जम्माभएको रकम सपिङमा खर्च गर्न सकिने बताएको छ । एन्ड्रोइडको प्ले स्टोरमा र आइओएसमा उपलब्ध यो एप छोटो अबधीमानै २५ हजारभन्दा बढीले डाउन लोड गरिसकेको ग्लोबल कि टेक्नोलोजी प्रालिले जानकारी दिएको छ । फेसबुक, इन्स्टाग्राम तथा बिभिन्न वेवसाइटका १०० भन्दा बढी प्रमाणित तथा विश्वासिला बिक्रेतारुका उत्पादन एउटै एप्स रिचार्जरबाट सपिङ गर्न सकिने तथा नेपालभरी डेलिभरी गरिने ग्लोबलकि टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । अनलाइन खरिदकर्ता र बिक्रेताकाविच समन्वय गर्दै छिटो छरितो र शुलभ मुल्यमा देशैभर सामान डेलिभरी गर्न सकिने ग्लाइडरले बताए । समय र पैसाको बचत सँगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्यका साथ युवाहरुको पहलमा तयार गरिएको नेपाली एपलाई अनलाइन सपिङ हबको रुपमा अगाडी बढाइएको ग्लोबल किले जनाएको छ । इसेवा, एससिटी कार्ड, ग्लोबल आइएमइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्र्रे बैंक, एनआइसीएसिया बैंक र प्रभु बैंकबाट अनलाइन रिचार्जका साथै अनलाइन पेमेन्ट गर्नुका साथै अर्डर गरिएको सामान क्यास एण्ड डेलिभरीमा पनि भुक्तानी गर्न सकिने ग्लोबल किले जनाएको छ ।

पोखरा लेखनाथ महानगरको मेयर/उपमेयरमा एमाले विजयी

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा( एमाले)का मानबहादुर जिसी विजयी भएका छन् । उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । भर्खरै सम्पन्न मत गणनामा जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई १४ हजार मतान्तरले पराजित गरेका हुन। जिसीले ६० हजार ४२३ मत ल्याउँदा काँग्रेस उम्मेदवार कुँवरले जम्मा ४६ हजार ४७३ मत पाएका थिए । कुँवरलाई काँग्रेस र माओवादी केन्द्रका संयुक्त उम्मेदवार बनाइएको थियो ।

जीवन बीमामा रोजगारी अवसर, महालक्ष्मी लाइफले माग्यो ३५ जनाको दरखास्त

काठमाडौं । जीवन बीमा कम्पनीमा नयाँ रोजगारी अवसर सिर्जना हुने भएको छ । थप हुँदै गरेका नयाँ जीबन बीमा कम्पनीले धमाधम नयाँ जनशक्ति माग गरिरहेका छन् । यसै क्रममा भविष्यमै संचालनको तयारी गरिरहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकैपटक ३५ जनालाई रोजगारी दिदैँ छ । यो कम्पनीले विभागीय प्रमुख ७ जना, प्रादेशिक प्रमुख ७ जना र शाखा प्रमुख २१ जना गरी ३५ जनाको दरखास्ता माग गरेको छ । यो कम्पनीले आवश्यक योग्यता पुगेका आवेदनकबाट यही जेठ २६ गतेभित्र आवेदन माग गरेको छ । कम्पनीले अाफ्नो इमेल ठेगानामा इच्छुका आवेदनकसँग आवेदन माग गरेको छ । कम्पनीले पद अनुसार अलग अलग याेग्यताक्रम पनि निर्धारण गरेकाे छ ।

हिमालय एयरलाइन्सको जहाज भाडामा लिएर दुबई/क्वालालम्पुर उडाउने निगमको तयारी

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहका राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स अर्का अर्काका प्रतिस्पर्धी कम्पनी हुन । वायुसेवा निगमले उडान गरेकै गन्तव्यमा उडान गर्ने र निगम सरह नै जहाज उडानको रणनीति बनाइरहेको भएपनि हिमालय एयरलाइन्सले जहाज निगमलाई भाडामा दिने भएकाे छ ।  वायुसेवा निगमले पनि प्रतिस्पर्धी वायुसेवाबाट जहाज भाडामा लिन आवश्यक छलफल र प्रकृया अगाडि बढाइरहेको उल्लेख छ । वायुसेवा निगम र हिमालय एयरलाइन्सका कर्पोेरेट निर्देशकसँग पटकपटक जहाज भाडामा लिने विषयमा आवश्यक छलफल पनि भइरहेको निगम स्रोतको दाबी छ । हिमालयले आफ्नो जहाज निगमलाई भाडामा लगाउन सकारात्मक रुपमा नै कुरा अगाडि बढाएकाेले अावश्यक छलफल र प्रकृयाकाे बारेमा गृहकार्य अगाडि बढिएको उल्लेख छ । नेपाल र चीनको संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले नेपाल वायुसेवा निगमलाई एयरवसको ए ३२० नामक १५८ सिट क्षमतााके एक थान जहाज भाडामा दिने इच्छा देखाएको छ । निगमलाई जहाज आवश्यक भएको र हिमालयले पनि आफ्नो जहाज खाली उठाउनुभन्दा भाडामा दिएर सो समयमाम नयाँ रणनीति बनाउन खोजेको उल्लेख छ । जहाज भाडामा लिने र दिने विषयमा निकै सकारात्मक रुपमा कुरा अगाडि बढेको हिमालय एयरलाइन्स स्रोतको भनाइ छ । स्रोतले दिएको जानकारी अनुसार एकथान जहाज भाडामा लिन–दिन दुवै कम्पनीबीच अनौपचारिक छलफल भएको छ । निगमले जहाज भाडामा लिन यही बैशाख २७ मा गरेको सार्वजनिक प्रस्ताव आव्हानको समय अझै अगामी मंगरलबारसम्म बाँकी रहेको छ । मंगलबारपछि यो विषयमा टुंगो लगाउने पनि उल्लेख छ । हिमालय एयरलाइन्स स्रोतका अनुसार यो वायुसेवाले श्रीलंकाको कोलम्बो उडान यात्रु नपाएर दुई महिनादेखि बन्द गरको छ । आगामी एक महिनापछि साउदी अरेवियाकाे दमाममा उडान गर्ने तयारी हिमालयले गरेको छ । समयमा नै साउदी अरेवियाको उडान तालिका मिलाउन नसकिने र प्राविधिक कारण ढिलो हुन सक्ने भएकोले एक महिना पछि सारेर निगमलाई २ महिना जहाज भाडामा दिने विषयमा आवश्यक छलफल भएको पनि स्रोतको दाबी छ । निगमले पनि आफ्नो जहाज मर्मतमा हुने र जहाज उडान ठप्प नहोस भनेर दुई महिनाको लागि मात्रै जहाज भाडामा लिन लागेको हो । अहिले हिमालयसँग युरोपको एयरबसमा उत्पादित १ सय ५८ सिट क्षमतायुक्त तीनथान ए३२०–२१४’ सिरिजको जहाज छन् । तीनवटै जहाजमा ८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन् । यो वायुसेवाले हाल श्रीलंकाको कोलम्बो उडान रद्द गरेको छ । यसले कतारको दोहा र म्यानमारको यांगुन र मलेसियाको क्वाललम्पुरमा भने नियमित उडान गरिरहेको छ । यो वायुसेवाले साउदी अरबको दमामा, युएईको दुबई, हङकङ, भारतको नयाँदिल्ली, चेन्नाई, थाइल्यान्डको बैंकक, चीनको बेइजिङलगायत नयाँ गन्तव्यमा उडान गर्ने योजना पनि अगाडि सारिरहेको छ । यो वायुसेवाको यस्तो योजना तत्कालको लागि नभएर दुई चार महिना लाग्ने भएकोले २ महिना निगमलाई जहाज भाडामा दिन कुनै आपत्ति नहुने पनि स्रोतको बुझाई छ ।

मकवानपुरका तीन पत्रकार स्थानीय तहको निर्वाचनमा विजयी

हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरका तीनजना पत्रकार जनप्रतिनिधि बनेका छन् । मकवानपुरका प्रमुख तीन दलबाट छ पत्रकार चुनावी मैदानमा उत्रिएका थिए । पत्रकार सवीन न्यौपाने हेटौँडा–१ का वडाध्यक्ष, नवीन सिग्देल हेटौँडा वडा नं ४ का वडाध्यक्ष र देवराज रिमाल हेटौँडा–७ का वडा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचनमा होमिएका नेपाली काँग्रेसबाट एक, नेकपा (एमाले(का तर्फबाट तीन र नेकपा (माओवादी केन्द्र(बाट एकमध्ये एमालेका कुमार नेगी थाहा–३ को वडाध्यक्षमा, धु्रवराज ढकाल र सन्तोष न्यौपाने हेटौँडा–१० को वडाध्यक्षमा पराजित भए । युवा पुस्ताका पत्रकार सवीन न्यौपाने प्रेस युनियन मकवानपुरका उपाध्यक्ष हुन् । उनी जिल्लामा रहेका विभिन्न सङ्घसंस्थामा सक्रिय हुनाले काँग्रेस हेटौँडा १ नं एकाइ समितिले सर्वसम्मत उम्मेदवारका रुपमा पार्टीमा सिफारिस गरेको थियो । उनी साझा कुरा राष्ट्रिय दैनिकका प्रकाशक र सम्पादक समेत हुन्। सिग्देल ‘हेटौँडा टुडे’का सम्पादक र रिमाल ‘थाहा सन्देश’मा आबद्ध प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।

देवः विकास बैंकको साढे ३ लाख कित्ता सेयर लिलामीमा, जेठ २८ देखि साउन १ भित्र वोलपत्र पेश गर्नुपर्ने

काठमाडौं । देवः विकास बैंक लिमिटेडले ३ लाख ५६ हजार २९७ कित्ता संस्थापक सेयरको लिलामी विक्री गर्ने भएको छ । यो बैंकले गत माघ ९ देखि फागुन २७ गतेसम्म खुला गरेको हकप्रद सेयर विक्रीमा आवेदन नपरेका संस्थापक सेयर शिलबन्दी वोलपत्रबाट विक्री गर्ने भएको छ । यो बैंकले आगामी असार १ गतेभित्रै यसको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्समार्फत इच्छाएको सेयरको आवेदन दिन आग्रह पनि गरेको छ । प्रति सेयर कम्तिमा १ सय रुपैयाँका दरले यसको न्युनतम १ सय कित्तादेखि सबै सेयरको लागि पनि आवेदन दिन सकिने उल्लेख छ ।

चिनियाँ कम्पनीलाई निर्माण जिम्माले बूढीगण्डकीको साढे ८ अर्ब अन्योलमा

काठमाडौं । सरकारले गत वर्षदेखि बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थ बिक्रीबाट कर संकलन गरे पनि आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय गरेसँगै संकलित रकम के गर्ने भन्नेमा अन्योल उत्पन्न भएको छ । गत वर्षको जेठ १५ देखि पेट्रोलियम पदार्थ बिक्रीमा प्रतिलिटर ५ रुपैयाँका दरले बूढीगण्डकीका लागि रकम संकलन गरिएको थियो । यसरी उपभोक्ताबाट उठाइएको रकम हालसम्म साढे ८ अर्ब रुपैयाँ पुगिसकेको छ । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी आयोजना इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रयाक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) मंगलबार दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार देशवासीको नाउँमा गरेको सम्बोधनमा समेत यसलाई उपलब्धिका रुपमा व्याख्या गरेका छन् । तर, यससँगै बूढीगण्डकीको पुर्वाधार विकासका लागि उपभोक्ताबाट इन्धनमा उठाइएको साढे ८ अर्ब रकम अन्योलमा परेको छ । बूढीगण्डकीको पूर्वाधार विकासका लागि भन्दै पेट्रोलियम पदार्थमा प्रतिलिटरमा पाँच रुपैयाँका दरले संकलन गर्दा ८ अर्ब ४० करोड रुपैयाँ संकलन भएको नेपाल आयल निगमले जानकारी दिएको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण गर्ने भन्दै उपभोक्ताबाट रकम उठाउन सुरु गरे पनि उनकै कार्यकालमा चिनियाँ कम्पनीलाई दिने तयारी भएको थियो । एकातिर राष्ट्रबादको नाममा आफंै बनाउने घोषणा गरेर उपभोक्ताबाट पैसा उठाउने अर्कोतिर फेरि चिनियाँ कम्पनीलाई दिने गृहकार्य गरेको भन्दै तत्कालीन सरकारको आलोचना पनि भएको थियो । चिनियाँ कम्पनीलाई दिने निर्णयसँगै एउटा प्रयोजनको लागि उठाइएको पैसा सरकारले अब कसरी खर्च गर्छ वा उपभोक्तालाई फिर्ता गर्छ यसको स्पष्ट जवाफ अर्थ मन्त्रालयसँग पनि छैन । अर्थ मन्त्रालयका सहसचिव एंव प्रवक्ता रामशरण पुडासैनीले बूढीगण्डकीका लागि संकलन गरिएको रकम खर्च कहाँ गर्ने भनेर निर्णय नभएको बताउँछन् । “निगमले उपभोक्तबाट इन्धनमा उठाएको रकम अहिले सरकारी खातामा जम्मा छ,” उनले कारोवारसँग भने, “तर, कहाँ खर्च गर्ने भनेर अर्थ मन्त्रालयले पछि मात्रै निर्णय गर्नेछ ।” चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेगलत्तै निगमले १६ जेठदेखि इन्धनमा उपभोक्ता रकम संकलन गदै आएको थियो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले १५ वैशाखसम्म इन्धनबाट आठ अर्ब ४० करोड रुपैयाँ संकलन गरिएको जानकारी दिए । “प्रत्येक महिना डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटरमा पाँच रुपैयाँका दरले रकम संकलन गरिदै आएको छ,” साहले भने, “सम्बन्धित भन्सार कार्यलयबाट संकलन गरिएको रकम सरकारी खातामा जम्मा हुने गरेको छ ।” यसरी जम्मा गर्दा प्रत्येक महिनामा ७० देखि ८० करोडका दरले रकम संकलन गरिँदै आएको पनि उनले जानकारी दिए । ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको चालू आर्थिक वर्षको बजेटमा ७ अर्ब रुपैयाँ उठाउने लक्ष्यसहित इन्धनमा कर लगाउने घोषणा गरेको थियो । सोहीअनुसार निगमले ११ महिनामै लक्ष्य भन्दा बढी रकम संकलन गर्न सफल भएको थियोे । निगमले उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी भन्सार बिन्दुमै शुल्क उठाउँदै आएको छ । कारोबार दैनिकबाट ।