कैलाश विकास बैंकको ४३औँ शाखा कैलालीको धनगढीमा, थप चार शाखा खोल्ने तयारी
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ४३औँ शाखा कैलाली जिल्लाको धनगढीमा विस्तार गरेको छ । बैंकले सोमबारदेखि उक्त शाखाबाट कारोवारको शुभारम्भ गरेको छ । उक्त शाखाको शुभारम्भ नेपाल राष्ट्र बैंकका कामु. निर्देशक रमेश आचार्यले एकसमारोहका बिच सम्पन्न गरेका छन् । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४२ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा रुपन्देही जिल्लाको भैरहवा, झापा जिल्लाको दमक, मोरङ्ग जिल्लाको विराटनगर तथा पर्सा जिल्लाको विरगंजमा गरी थप चार शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ । हाल यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यस संस्थाले हाल सम्म १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु
चरिकोट । दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको मृत्यु भएको छ । बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङले काम गरिरहेको अवस्थामा सोमबार बिहान ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका क्रममा बाटोमा ल्याउँदा ल्याउँदै मृत्यु भएको उनले जानकारी दिएका छन् । आयोजनामा उनले ग्राउण्डिङ सर्किटको काम गर्दै आएका थिए । रासस
कृषि विकास बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार कृषि विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात यस बैंकको सेयर मूल्य प्रतिकित्ता ३४६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४३३ रुपैयाँ रहेको थियो ।
अनमोल केसीले गरे बेनेली लियोंसिनोको उद्घाटन, मोटरसाईकलको सुरुवाती मूल्य ८ लाख ९९ हजार
काठमाडौं । नेपाली चलचित्रका नायक अनमोल केसीले बेनेली ब्राण्डका लियोंसिनो मोटरसाईकलको उद्घाटन गरेका छन् । उनी बेनेली नयाँ ब्रान्डका प्रतिनिधि हुन् । मोटरसाईकल इस्क्राम्बल शैलीको छीटो, छरितो र सानदार रहेको कम्पनीको भनाइ छ । मोटरसाईकलमा १७ इञ्चको मिश्रधातुले बनेको पांग्रा जडान गरिएको छ । यसको अगाडी १२०/७० ‘जेडआर’–१७ र पछाडी १६०/६० ‘जेडआर’–१७ पांग्रा रहेको छ । जसले जस्तोसुकै अवस्थामा पनि सन्तुलन रक्षको ग्यारन्टी दिने कम्पनीको दावी छ । त्यस्तै मोटरसाईकलको अप्साइड डाउन ४५ एमएमफोर्क जुन ३२० एमएम डिस्कलाई पकडमा राखेको ४ पिस्टन ब्रेक क्यालिपर्ससँग जोडिएको छ । ब्रेकिंग सिंगल पिस्टन क्यलिपररहित २६० एमएमको डिस्कले नियन्त्रण गर्ने बताइएको छ । मोटरसाइकल ५ सय सिसिको लिकुइडमा प्रस्तुत गरिएको छ । जसले ८५०० आरपिएममा ४८ सिभी अधिकशक्ति र ४५०० आरपिएममा ४६ एनएम (४.६ केजी) को अधिक टोर्क रहेको जनाइएको छ । हरेक सिलिन्डरमा ४ भल्भ, हाइड्रोलिक क्लच र ६ इस्पिडको गियर बक्स, इस्टिल ट्रेलिस फ्रेमले अत्याधिक भर्सट्यालिटी र मनुभरेबिलिटीको ग्यारन्टी दिने कम्पनीले बताएको छ । रातो, सिल्भर र कालो रंगमा उपलब्ध मोटरसाईकलको सुरुवाती मूल्य ८ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ कम्पनीले जानकारी गराएको छ ।
केएलमा सुरु भयो ‘दामीसेल’ मेला, ५ हजारको सामान खरिदमा दुईवटा फिल्म टिकट सित्तैमा
काठमाडौं । राजधानीको चाबहिल स्थित केएल टावरमा ‘दामी ‘सेल’ मेला सुरु भएको छ । ठूला किसिमका सेल मेलामध्ये एक मानिएको यस दामीसेल मेलामा ४५ वटा पसलहरू सहभागी छन् । तीन हजारभन्दा बढी सामानहरू डिस्प्लेमा राखिएको छ । ती सामानहरुको खरिदमा५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । शनिबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । ५ हजार रुपैंयाको सामान खरिदमा दुईवटा फिल्म टिकट निःशुल्क उपलब्ध हुने मेलाको आयोजकले जनाएको छ । साथै पाँच सय वा सोभन्दा बढीको खरिदमा दैनिक पाँच हजार रुपैयाँ बराबरको उपहार दुई जनालाई, बम्पर उपहार लक्की ड्रमार्फत् एक जनालाई दिइने टावरले जनाएको छ । मेला अवधिभर केएल टावरमा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् । फेस पेन्टिङ, फेसन शो, म्यूजिकलइभेन्ट, बीबाइङ, हिपहपलगायत कार्यक्रमहरूका साथै भ्यालेन्टाइन दिवसमा स्पेशल कार्यक्रम समेत गरिने बताइएको छ । हालकेएल टावरमा ५० बढी पसलहरू छन् । मोबाइल हब, डिपार्टमेन्ट स्टोर, सर्टिङ-सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमाहल, फुटकोर्ट, खेल स्थान, बैंक, ट्राभल एजेन्सी लगायत सबैखाले सेवा-सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।
सानिमा बैंकले खोल्यो थप चार नयाँ शाखा, शाखा सङ्ख्या ५१ पुग्यो
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो थप चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको अमरसिंह, बगर, बिरौटा र दाङ्गको तुलसीपुर गरी ४ वटा नयाँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ । पोखराको शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरेका थिए । साथै, दाङ्गको तुलसीपुर शाखा कार्यालयको उद्घाटन् बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा बरिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताएका छन् । हाल बैंकको ५१ शाखा, १ एक्सटेन्सन काउन्टर र ६० एटीएम सेवा सञ्चालनमा रहेको छ ।
केपी ओलीले भने-लगानीकर्ता नआत्तिनुस्, सेयरमा भ्याट लाग्दैन(भिडियोसहित)
काठमाडौं । एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले सेयर बजारका लगानीकर्तालाई नआत्तिन अनुरोध गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको नव निर्वाचित नेतृत्वलाई स्वागत गर्न पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बामपन्थी सरकारसँग सेयर बजारका लगानी कर्ता आत्तिनु नपर्ने बताएका हुन् ।-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ओलीले बापमन्थी सरकार गठन हुनै लाग्दा सेयरमा भ्याट लगाउने षडयन्त्र भैरहेको आरोप पनि लगाए । ‘बामपन्थी सरकार गठन हुनै लाग्दा सेयरमा भ्याट लगाउने षडयन्त्र भैरहेको छ, आजसम्म सेयरमा भ्याट लगाउन आवश्यक किन ठानिएन, हामी गम्भिर भएका छौं’, ओलीले भने । उनले बामपन्थी सरकारलाई देखाएर लोकतन्त्र मासिने, खुल्ला बजार अर्थतन्त्र नासीने तथा लगानीकर्ता निरुत्साहित हुने अफवाह फैलाईएकोमा आपक्ति समेत जनाए । ‘नेपालका बामपन्थीहरुले आफ्नो जीवन नै लोकतन्त्र प्राप्तीका लागि समर्पण गरेका छन्, जसले लोकतन्त्र ल्यायो उसैले लोकतन्त्र मास्छ भन्ने हल्ला चलाईएको छ, तपाईहरु त्यस्ता अफवाहको पछि नलाग्नुस’, ओलीले भने । उनले बामपन्थी सरकार गठन भएपछि सेयर बजारमा उछाल आउने दावी पनि गरे । ‘तपाईहरु ढुक्क हुनुस, नयाँ सरकार आएपछि सेयर बजारमा उछाल आउँछ, नयाँ सरकारले लिने नितीका कारण सेयर बजार उकालो चढ्छ’, ओलीले भने । उनले सेयरमा भ्याट लाग्न नदिने पनि स्पष्ट पारेका छन् । ओलीले काम चलाउ वर्तमान सरकारले राज्य ढुकुटीको दोहन गरिरहेको आरोप पनि लगाए । काँग्रेसले आफुले राज्यको ढुकुटी भरेकाले मास्ने अधिकार पाउनुपर्ने तर्कको गरेको आरोप लगाउँदै नयाँ सरकारले त्यस्ता गलत निर्णय सबै खारेज गर्ने पनि स्पष्ट पारे ।
अधिकांश बैंकले राष्ट्र बैंकको पैसा लिएनन्, २० अर्ब दिदा ७ बैंकले लिए ८ अर्ब ४० करोड
काठमाडौं । विभिन्न ७ बैंकले नेपाल राष्ट्र बैंकबाट ८ अर्ब ४० करोड रुपैयाँ उठाएका छन् । बजारमा तरलता कम हुनगइ अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले आइतबार रिपो वित्तीय उपकरण मार्फत बजारमा २० अर्ब रुपैयाँ पठाएर बजारमा हस्तक्षेप गरेको थियो । आइतबारसम्म बैंकिङ प्रणालीमा २२ अर्ब ४२ करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । आइतबार राष्ट्र बैंकबाट सिटिजन्स बैंक, मेगा बैंक, कैलाश विकास बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकले ५ प्रतिशत ब्याजमा १४ दिनका लागि पैसा उठाएका छन् । रिपोको पैसा निक्षेपमा गणना गरेर थप लगानी गर्न नपाउने भएपछि अधिकाँश बैंकले लिएन । तरलताको अवस्था कसिलो भएका कही बैंकले मात्र रिपो खरिद गरेका हुन् । एक साताअघि अन्तरबैंक ब्याजदर ३ प्रतिशत भएकोमा एक साताका बीचमा बढेर ५ प्रतिशत नाघेको छ । अल्पकालिन तरलताको समस्या समधान गर्न केन्द्रीय बैंकले दुई साताका लागि बजारमा पैसा पठाएको हो । रिपो रकम माघ २८ गते फिर्ता हुनेछ । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण डेढ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ७ पटक रिपो गरी बजारमा ५२ अर्ब ४५ करोड रुपैयाँ बजारमा पठाएको छ । यता बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशत बढी रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ । वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।