विकासन्युज

नविल बैंकको नाफा एक अर्ब ८३ करोड, खराब कर्जा बढ्यो

काठमाडौं । नविल बैंकले २०७४ पुस मसान्तसम्ममा एक अर्ब ८३ करोड नाफा कमाएको छ । २०७३ पुस मसान्तसम्ममा बैंकले एक अर्ब ७४ करोड नाफा कमाएको थियो । बैंकले चालु आवको दोश्रो त्रैमासमा गत वर्षकाे साेही अवधिकाे तुलनामा आफ्नो नाफा ९ करोडले बढाएको हो । नविल बैंकले ६ महिनामा एक खर्ब २१ अर्ब निक्षेप संकलन गरेर एक खर्ब कर्जा लगानी गरेको देखिन्छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड रहेको छ । बैंकको ब्याज आम्दानी ५ अर्ब २४ करोड रुपैंयाँ गर्दा २ अर्ब २८ करोड ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा भने ०.९० प्रतिशतबाट बढेर १.१३ प्रतिशत पुगेको छ । बैंकको सिडी रेसियो ७६.४९ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४५.४९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १९८ रुपैंयाँ रहेको छ ।

छ महिनामा प्रभु बैंकको नाफा ६३ करोड

काठमाडौं । प्रभु बैंकको नाफा ६३ करोड ४९ लाख रूपैयाँ भएकाे छ । गत आर्थिक बर्षको पुस मसान्तसम्ममा एक अर्ब ११ करोड नाफा कमाएको थियाे । गत आवको पुस मसान्तमा एक अर्ब १३ करोड राइट ब्याक पाएकाले बैंकको नाफा धेरै देखिएको थियो । प्रभु बैंकको खराब कर्जा ४.८८ बाट घटेर ४.१२ प्रतिशत भएको छ । ६ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकको जगेडा कोषमा ३ अर्ब ११ करोड छ । बैंकले ८५ अर्ब निक्षेप संकलन गरेर ७१ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७५.२४ रहेको छ ।

बुटवल पावरको २ अर्ब ४ करोडको एफपीओ आजदेखि निष्कासन, एफपीओ किन्नेले लाभांश पाउदै

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले आजदेखि थप निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ ल्याएको हो । एफपीओको मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ तोकिएको छ । साधारण सेयरमा ४०१ रुपैयाँ प्रिमियम मूल्य थप गरेर ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन भएको छ । एफपीओ निष्कासन बन्द छिटोमा माघ १९ गतेसम्म तोकिएको छ । एफपीओ न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । साधारणसभा बस्ने मिति तय नभएकाले लाभांश घोषणा नगरिएको उनले जानकारी दिए । लाभांश गत वर्षको भन्द नघट्ने उनको भनाई छ । एफपीओबाट संकलन हुने रकम निर्माणधिन ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी आयोजनामा लगानी गर्नेछ । गत आर्थिक वर्ष ०७३र७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पहिलो त्रैमाशमा बीपीसीको नाफा २३५ प्रतिशतले बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गरेको हो ।सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । यी दुई आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ । बीपीसीले कायम रहेको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पुयाउने तयारी छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । आउदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले चीनका ३ कम्पनीसंग लगानी सम्झौता गरेको छ । यसका लागि एससीआईजी इन्टरनेसनल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि नेपालमा स्थापना भइसकेको छ । एससीआईजीमार्फत चीनियाँ कम्पनीले खर्ब रुपैयाँ नेपाल भित्राउने छन् । कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ । आउदो ३ वर्षमा बीपीसीले नाफा बढाएर ६७ करोड ६१ लाख ९६ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।  

चार दिनमा सवा २ लाखले गरे क्यान एक्स्पोको अवलोकन, कम्पनीको योजनामा झुम्मिए ग्राहक

काठमाडौं । काठमाडौं स्थित भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशनविथ मोटोरोलाको’ चौथो दिन ६० हजार २६२ जनाले अवलोकन गरेका छन् । चौथो दिनसम्ममा २ लाख १९ हजार जनाले एक्स्पो अवलोकन गरेको कम्पनीको दावी छ । आयोजकको अनुसार प्रदर्शनीमा बालकदेखि वृद्धसम्मको भिड लागेको छ । विगतका संस्करणहरुमा युवाहरुको प्रभुत्व रहेतापनि अहिले सबै उमेर समूहको उपस्थिति रहेको कम्पनीको भनाइ छ । उच्च अधिकारी तथा सेलिब्रेटीले गरे अवलोकन आइतबार आपूर्तीमन्त्री जयन्त चन्द, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मिप्रसाद यादव, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक मिङमर लामा, प्रहरी वरिष्ठ उपरीक्षक पुर्णचन्द्र जोशी, कलाकारद्धय पल शाह र आँचल शर्माल लगायतले प्रदर्शनी अवलोकन गरेको क्यान महासंघका महासचिव रञ्जित पोदारले जनाए । त्यस्तै आइतबारको दिनलाई ‘बिजनेश डे’को रुपमा लिइ सो अवसरमा विभिन्न कम्पनीहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गरेको जनाइएको छ । यसअन्तर्गत नेपालस्थित अधिकृत विक्रेताहरुले आफुसँग व्यापारिक सहकार्य गर्न चाहने कम्पनी वा समूहसँग व्यापारिक साझेदारी गरेका छन् । यस्ता छन् कम्पनीहरुका योजना प्रदर्शनीमा केही बिक्रेता कम्पनीहरुले नयाँ उत्पादनहरु तथा योजनाहरु सार्बजनिक गरेका छन् । जसमा छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहार लगायतका योजनाहरु छन् । सुबिसु केबलनेटले आफ्नो ब्रान्ड प्रवद्र्धन गर्न दुई महिनासम्म क्लियर टिभी प्रिमियम प्याकेजसहित १५ र ८ ‘एमबिपीएस’ अनलिमिटेड इन्टरनेट सेवा प्रदान गरेको छ । त्यस्तै हाइ पावरका नेटिस राउटरको खरिदमा आकर्षक छुटका अतिरिक्त बुलगार्ड इन्टरनेट सेक्युरिटी निःशुल्क प्रदान गरिरहेको बताएको छ । हाइसेन्सका ६५ इन्चसम्मका टिभीहरुमा २० प्रतिशत छुट प्रदान गरिएको महासचिव पोदारले जानकारी दिएका छन् । उनका अनुसार कास्परस्काई एन्टिभाइरसको खरिदमा ३० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । ई स्क्यान एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीको खरिदमा ६ देखि १५ सय रुपियाँसम्म छुट एवं ६ महिनाको मोबाइल सेक्युरिटी निःशुल्क दिने बताइएको छ । डिटिसी मोबाइल खरिदमा २५ सय ‘एमएएच’को पावरबैंक निःशुल्क दिने भएको छ । नेपाली सफ्टवेयरमा आकर्षण प्रर्दशनीमा स्वदेशमै बनेको सफ्टवेयरप्रति अवलोकनकर्ता झुम्मिएको छ । स्टार्टअप र विद्यार्थीले बनाएका विभिन्न आइटी र इन्जिनियरिङ प्रोडक्टहरुले अवलोकनकर्ता तथा ग्राहकहरुको ध्यान तानेको बताइएको छ । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज लगायतका २ सय २२ स्टल राखिएको छ । प्रदर्शनी मंलबारसम्म सञ्चालन हुने आयोजकको भनाइ छ ।  

मलेसियाको म्याक कफीको प्रबद्र्धनात्मक कार्यक्रम

काठमाडौं। मलेसिया कफीको प्रबद्र्धनात्मक कार्यक्रम भएको छ । नेपाली बजारमा कम्पनीले आफ्नो उत्पादन विस्तार गर्ने उद्देश्यले कार्यक्रम गरेको हो । आइतबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा मलेसियन राजदुतावासका उच्च अधिकारीहरुको उपस्थिति रहेका थिए । कम्पनीका अनुसार म्याक कफी लगायतका उत्पादनहरु विश्वका ५० भन्दा बढी मुलुकहरुमा प्रत्यक्ष निर्यात हुदै आएको छ । ६ वटा देशमा कफीको उत्पादन हुने गरेको छ । कार्यक्रममा अर्कस ग्रुपका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा विगत एक दशकदेखि म्याक कफी लोकप्रिय रहेको बताए । सोही कम्पनीका क्लास्नो कफी, न्युट्रीराइट ब्राण्डका स्वास्थवद्र्धक सिरियल खाद्य सामग्रीहरु समेत नेपाली बजारमा लोकप्रिय रहेको उनको भनाइ छ । भविष्यमा म्याक कफीको कारखाना नेपालमा स्थापना गर्न सकिने सम्भावना रहेको उनले जनाए । मलेसियाको ख्याति प्राप्त कफी उत्पादक कम्पनी फुड इम्पायर होल्डीङले उत्पादिन गरेको म्याक कफी, साल्ट टी लगायत कफी तथा न्युट्रीराइट ब्राण्डका स्वास्थवद्र्धक सिरियल खाद्य सामग्रीहरु नेपाली बजारमा विक्री गरिदै आएको छ ।  

विद्युत प्राधिकरण र नेपाल वाटरबीच माथिल्लो त्रिशुली १ को बिजुली खरिद सम्झौता, ६० अर्ब कोरियन लगानी नेपाल भित्रिदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको प्रवद्र्धकसंग अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । प्राधिकरण र प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिबीच आइतबार पीपीएमा हस्ताक्षर भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक नेपाल वाटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वो सेक यीले पीपीएमा हस्ताक्षर गरेका हुन् । ३० वर्षसम्म लागि पीपीए भएको हो । सरकारले आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) ३५ वर्षका लागि दिएको छ । सुख्खायामको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादमा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको हो । आगामी १० वर्षसम्मका लागि मात्र डलरमा पीपीए भएको छ । प्राधिकरणले कुल पीपीए रकमको ८० प्रतिशत डलर र २० प्रतिशत नेपाली रुपैयाँमा भुक्तानी गर्ने सहमति भएको छ ।यो आयोजना निर्माणका लागि कोरियाबाट झण्डै ६० अर्ब रुपैयाँ लगानी आउने भएको छ । नेपाल वाटरले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउने छ । नेपाल वाटरले प्रतिफल १७ प्रतिशतसम्म मात्र पाउने छ । कोरियाली कम्पनीले विदेशबाट डलरमा लगानी ल्याउने भएपछि प्राधिकरणले डलरमा पीपीए गरेको हो । आयोजना बनाउन ५८ करोड डलर झण्डै ६० अर्ब रुपैयाँ नेपाली लाग्ने भएको छ । ९० प्रतिशत कोरिया र १० प्रतिशत जेड कन्सल्ट नेपालीको छ । आयोजना आगामी सन् २०२४ सम्म सम्पन्न गर्ने लक्ष्य प्रवद्र्धकको छ । नेपाल वाटरमा कोरियाको साउथ इष्ट कम्पनी लिमिटेड (कोसेप) को ५२, डेलियम इन्डिष्ट्रियल कम्पनी लिमिटेडको १६ र केर्योङ कन्ट्रक्सन कम्पनी लिमिटेडको १०, विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) को १२ तथा स्थानिय लगानीकर्ता जेड कन्सल्ट प्रालिको १० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार गरिएको छ । आयोजनामा विश्व बैंक अन्र्तगतको आईएफसी र जर्मनीको बैंक डीइजीलगायत अन्य अन्तराष्ट्रिय वित्तीय संस्थाले लगानीका लागि कम्पनीलाई आशयपत्र दिएका छन् । यसअघि ऊर्जा मन्त्रालय र नेपाल वाटरबीच आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ ।आन्तरिक खपतका लागि आयोजना निर्माण हुन लागेको हो । आफै निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) नीति अन्र्तगत सरकारले आयोजना कोरियाली कम्पनी नेपाल वाटरलाई दिएको हो । आयोजनाबाट वार्षिक १ अर्ब ४६ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने छ । पीडीए सम्झौता भएको मितिले आउदो २ वर्षभित्र आयोजनाले लगानी जुटाउने र ५ वर्षमा आयोजना सम्पन्न गर्ने उल्लेख गरिएको छ । पीडीएमा पानीको प्रयोग अनुमति, रोयल्टी तथा कर, विद्युत खरिदविक्रि सम्झौता (पीपीए) को सिद्धान्त, नेपाली स्रोतसाधनको प्रयोग, कावु बाहिरको परिस्थिती जोखिम व्यवस्थापन लगायतका विषय समेटीएको छ ।विद्युत प्राधिकरणले ६० मेगावाटको खिम्ती, ३६ मेगावाटको माथिल्लो भोटेकोसी, ३७.६ मेगावाटको कावेली ए, ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए, ८२ मेगावाटको तल्लोसोलु र १२० मेगावाटको रसुवाभोटेकोसी आयोजनाको प्रवद्र्धकसंग डलरमा पीपीए गरेको छ ।  

खल्ती र ओयोबीच सम्झौता, होटल बुकिङ्ग गर्न सजिलो

काठमाडौं । नेपाली बजारमा चल्तिमा रहेको डिजिटल वालेट एवम् पेमेन्ट गेटवे खल्ती र चेन होटल सर्भिस ओयोबीच सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत नेपालीहरुलाई होटल बुकिङ्गमा निकै सजिलो हुने छ । साथै, यस सम्झौताले ओयोका नेपालमा रहेका ग्राहकवर्गलाई होटलको बुकिङ्ग र भुक्तानी खल्ती एप र वेभसाईट दुबै माध्यमबाट गर्न मिल्ने कम्पनीले जनाएको छ । यी दुई बीचको सहकार्यद्धारा छिटो र सुरक्षित डिजिटल पेमेन्टले नेपालीहरु माझ होटल बुकिङ्गमा रहेको मुख्य चुनौति समाधान हुने कम्पनीको विश्वास छ ।

साल्ट ट्रेडिङले स्वदेशी उद्योगसँग २० हजार टन चिनी किन्दै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले स्वदेशी उद्योगीहरुसँग २० हजार टन चिनी खरिद गर्न बोलपत्र आब्हान गरेको छ । ट्रेडिङले आइतबार चिनी खरिद गर्न बोलपत्र अह्वान गरेको हो । ट्रेडिङका महाप्रबन्धक कुमार राज भण्डारीले कुनै पनि समय चिनीमा हुनसक्ने अभाव तथा मूल्यको उत्तरचढाबलाई नियन्त्रण गर्न कम्पनीले मौज्जादको लागि चिनी खरिद गर्न लागेको बताए । ‘गएको वर्ष स्वदेशी उद्योगसँग चिनी खरिद गरेनौ, यस वर्ष गर्न लागेका हौं,’ उनले भने ‘हामीले विगतदेखिनै स्वदेशी उद्योगहरुसँग चिनी खरिद गर्दै आएका छौं । कम्पनीका अनुसार जारी गरेको बोलपत्रको मितिबाट एक महिनाको अवधिमा उद्योगहरुले आवेदन सक्नेछन् । आएका बोलपत्रहरुलाई छनौट गरी चिनी खरिद गरिनेछ । चैत्रभित्रमा चिनी खरिद गरिसक्ने कम्पनीको लक्ष्य छ । बजार मूल्य, चिनीको गुणस्तर लगायतलाई मूल्याङ्कन गरी कम्पनी छनौट गरिनेछ । उद्योगीले काम सुरु गरेको ३० दिनभित्रमा १० हजार टन र ६० दिन भित्रमा सम्पुर्ण परिमाणको चिनी उपलब्ध गराउनु पर्नेछ । हालसम्म साल्ट ट्रेडिङमा करिब १८ हजार टन चिनी स्टक रहेको छ ।