विकासन्युज

सिटिजन्स बैंकद्धारा जेष्ठ नागरिकलाई खाना प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवनस्थित निसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ । बैंकले आफ्नो बार्षिकउत्सवको उपलक्ष्यमा जेष्ठ नागरिकलाई खाना प्रदान गरेको हो । बैंकले देखाएको यस अग्रसरताले जेष्ठ नागरिकको सामाजिक संरक्षण हुने कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राजपोखरेलले जानकारी गराएका छन् ।

रसुवागढी गल्छी प्रसारण लाइनलाई अन्तरदेशीय बनाइने, १० अर्बको लगानी

काठमाडौं । सरकारले रसुवागढी-चिलिमे-गल्छी ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाएको छ । त्रिशूली र चिलिमे करिडोरमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तथा नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागिसमेत महत्वपूर्ण मानिएको उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरणले सो प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । रसुवामा हाल रसुवागढी, साञ्जेन, रसुवा भोटेकोशी र माथिल्लो त्रिशुली-१ आयोजना निर्माणका क्रममा छन् भने लाङ्टाङ र सुपर साञ्जेनलगायत आयोजना निर्माणको तयारी गरिरहेका छन् । केरुङदेखि गल्छीसम्मको प्रसारण लाइन करिब ८२ किमी लामो हुनेछ । त्यसका लागि करिब रु १० अर्ब बराबरको लगानी हुनेछ । प्राधिकरणले यसअघि नै सो प्रसारण लाइनको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । अमेरिकी सहयोग मिलेनियम च्याजेञ्ज कर्पोरेशन (एमसिसी) कार्यक्रममार्फत गल्छी-नुवाकोट रातामाटे, हेटौँडा-बुटवल ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने क्रममा रहेकाले पनि रसुवागढी-त्रिशूली प्रसारण लाइन महत्वपूर्ण ठानिएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशनले नेपालको प्रसारण लाइन निर्माणमा रु ५० अर्ब लगानी गर्ने सम्झौता यसअघि नै भइसकेको छ । बृहद् प्रसारण हव बन्न लागेको सन्दर्भमा सरकारले त्रिशूली-गल्छीलाई महत्वपूर्ण प्रसारण हाइवेका रुपमा विकास गर्न लागेको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेको भनाइ छ । प्राधिकरणले तयार पारेको प्रस्तावलाई ऊर्जा मन्त्रालयले परराष्ट्र हुँदै चीन पठाउने तयारी गरेको छ । प्रवक्ता घिमिरेले चीनतर्फ प्रसारण लाइन निर्माणको अध्ययन भइसकेकाले नेपालले पनि हालसम्म भएको अध्ययनका बारेमा जानकारी पठाउन लागेको हो । त्रिशूली-गल्छी प्रसारण लाइनले चीनसँग आबद्धता कायम गरेपछि नेपाल, भारत र चीनबीच प्रसारण ग्रिडसमेत एकापसमा जोडिनेछ । प्राधिकरणले न्यू बुटवल गोरखपुर अन्तरदेशीय ४०० केभी प्रसारण लाइन निर्माणको प्रक्रिया यसअघि नै अगाडि बढाएको छ । रसुवागढी-चिलिमे-गल्छी प्रसारण लाइनको प्रारम्भिक अध्ययन सकिएको र सबै प्रतिवेदन ऊर्जा मन्त्रालयमा बुझाइएको आयोजना प्रमुख कोमलनाथ आत्रेयको भनाइ छ । चीनले केरुङसम्म ५०० केभी डिसी प्रसारण लाइन निर्माण गरिसकेको छ । नेपाल र चीनबीच गत असोजमा नै ऊर्जा आदानप्रदान तथा सहयोगसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । प्रसारण लाइन निर्माणका विषयमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिनियाँ अधिकारीबीच गत असोजमा नै छलफल भएको थियो । यसअघि रसुवागढी केरुङबीचमा मात्रै प्रसारण लाइन निर्माणको विषयमा छलफल भएको भए पनि नयाँ प्रस्तावअनुसार उक्त प्रसारण लाइन धादिङको गल्छीसम्म विस्तार गर्ने तयारी गरिएको हो । तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणका क्रममा नदी बेसिनको अध्ययन तथा प्रसारण लाइन निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । भारतसँग मात्रै जोडिएको विद्युत् प्रसारण लाइनलाई चीनसँग पनि जोड्ने लक्ष्यका साथ रसुवागढी–चिलिमे–गल्छी प्रसारण लाइन निर्माण गर्न लागिएको बताइएको छ । नेपाल र चीनबीच रसुवा-केरुङ, तातोपानी-खासा, कोराला तथा अन्य सम्भाव्य क्षेत्रबाट अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा प्रारम्भिक छलफल भइसकेको छ । तत्कालका लागि रसुवागढी नै उपयुक्त देखिएको छ भने मुस्ताङ-कोरला अर्को महत्वपूर्ण र सहज रुपमा प्रसारण लाइन निर्माण गर्न सकिने अध्ययनबाट देखिएको छ । त्रिदेशीय साझेदारीका रुपमा अन्तरदेशीय प्रसारण लाइन निर्माण र विस्तारमा जोड दिनुपर्ने आवाज उठ्दै आएका बेला प्राधिकरणले उक्त प्रसारण लाइनको प्रक्रिया अगाडि बढाएको हो । रसुवागढी-केरुङ राजमार्गलाई चीन सरकारले अगाडि सारेको ‘ओबिओर’ परियोजनामा राखेको त्यसम्बन्धी प्रक्रिया पनि अगाडि बढिसकेको सन्दर्भमा उक्त प्रसारण लाइनलाई पनि सोही अवधारणामा राख्नुपर्ने आवाज उठेको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले रसुवागढी-चिलिमे-गल्छी प्रसारण लाइनलाई महत्व दिइएको जानकारी दिएका छन् । उनले प्रसारण लाइनलाई अन्तरदेशीय बनाउने विषयमा अध्ययन प्रतिवेदन आदानप्रदान गर्न लागिएको उल्लेख गरेका छन् । नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भइसकेको सन्दर्भमा चीनसँग पनि त्यस्तै सम्झौताको तयारी गरिएको छ । त्यसका लागि पहिलो विकल्प केरुङ-गल्छी प्रसारण लाइन हुने विश्वास लिइएको छ । रासस

डिजिकमको उत्पादनमा २० प्रतिशत छुट

काठमाडौं। आईटी ब्राण्ड डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपालमा आफ्नो सेवा सञ्चालन गरेको २० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले आफ्ना सम्पूर्ण प्रडक्टहरुमा उक्त छुट दिने घोषणा गरेको छ । काठमाडौंमा जारी क्यान इन्फोटेक मेलाको अबधिभर डिजिकमको स्टलमा ग्राहकहरुले सो छुट प्राप्त गर्ने कम्पनीका अध्यक्ष अरुण कुमार बन्सलले बताए । त्यस्तै कम्पनीले सोमबार जारी मेलाको आफ्नो स्टलमा वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाउने क्रममा कम्पनीको ब्राण्डएम्बास्डर चर्चित कलाकार तथा निर्माता/निर्देशक दिपाश्री निरौलाको सहभागीता थियो । सन् १९९८ मा कम्पनीले उक्त डिजिकम ब्राण्डका सीएटीभी, अप्टिकल फाइबर केबल, नेटवर्किङ केबल लगायतका आईटी सामाग्रीहरु बिक्री गर्दै आएको छ । कम्पनीले सन् २००४ मा नेपाली बजारमा फाइबर अप्टिकल केबल भित्र्याएको बताएको छ । डिजिकमका ७ सयभन्दा बढी प्रटक्टहरु नेपली बजारमा उपलब्ध छ ।

एनसीसी बैंकको नयाँ शाखा रातोपुलमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको रातोपुलमा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले नेपाली जनताको सामुन्ने वित्तीय साक्षरताको लागि बैंकहरुले नै ठूलो भूमिका खेल्नुपर्ने भएकोले अबको दिनमा आफ्नो ग्राहक समक्ष विभिन्न कार्यक्रम मार्फत बैंक आफै पुग्नुपर्ने अपरिहार्यता व्यक्त गरेका छन् । नेपाल सरकारको दुर्गम क्षेत्रमा बैंक पुर्याउने उद्देश्य र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दुर्गम क्षेत्रमा वित्तीय सेवा पुर्याउन दिएको निर्देशन अनुरुप यस बैंकले पनि आफ्नो शाखा संजाल सो क्षेत्रहरुमा विस्तार गर्दै जाने छ । एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यस बैंकले नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै आगामी दिनहरुमा दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हालसम्म बैंकको ८० वटा शाखा संचालनमा रहेका छन् ।

फागुन २४ देखि सातौं अन्तर्राष्ट्रिय व्यापार मेला हुने

काठमाठौं । नेपाल उद्योग वाणिज्य महासंघले सातौं अन्तर्राष्ट्रिय व्यापार मेला राजधानीको भृकुटी मण्डपमा आयोजना गर्ने भएको छ । “नेपाली वस्तुको प्रवद्र्धन समृद्ध नेपाल निर्माण” भन्ने मुल नारा लिई हुने मेला फागुन २४ गते देखि २८ सम्म हुने भएको हो । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै मेलामा ३ सय वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरु रहने जानकारी दिएको छ । विगतका वर्षहरुमा भन्दा यो वर्ष मेलाको आकर्षण फरक हुने महासंघको अक्ष्यक्ष भवानी राणाले बताइन । महासंघ आफ्नो विद्यान संशोधन गरी प्रादेशिक ढाचाँमा गैसकेको जानकारी दिदैं राणाले नेपाली बस्तु अन्तर्राष्ट्रिय बजारमा समेत प्रवर्दन गराउन भारतमा समेत व्यापार मेला सञ्चालन गर्ने  जानकारी दिइन । स्टलमा सार्क राष्ट्र सहित चीन, थाइल्यान्ड, मलेशिया लगायतका राष्ट्रहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । ३ सय स्टल मध्ये २ सय २० स्टल बुकिङ्ग भैसकेकोे छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा भवन तथा सवारी साधन सम्बन्धी छुट्टाछुट्टै स्टलहरु रहनेछन् । गत साल एक लाख भन्दा बढी मानिसहरुले अवलोकन गरेको मेलामा यो वर्ष २ लाख भन्दा बढी स्वदेशी तथा विदेशी मानिसहरुले शवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

नबिल फाउण्डेसनद्धारा सिविन-नेपालले संचालन गरेकोे वेभसाईट प्रवद्र्धनमा सहयोग

काठमाडौं । नबिल बैंकद्धारा प्रवद्र्घित नबिल फाउण्डेसनले सिविन–नेपालले विशेष गरी बालबालिकाहरुकालागी संचालन गरेको वेभसाईट “डब्लुडब्लुडब्लु डट बालसरोबार डट कम” को प्रवद्र्धनमा सहयोग स्वरुप रु. १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । सिविन–नेपालद्वारा सिविन हेल्पलाईन, नैकापमा आयोजित एक कार्यक्रममा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा नबिल बैंकका संचालक प्रताप कुमार पाठकले सो रकम बराबरको चेक सिविन–नेपालका अध्यक्ष माधव प्रधानलाई हस्तान्तरण गरेका छन् । सिविन–नेपाल बालअधिकारको संरक्षण र सम्वद्र्धनका लागि क्रियाशील रहेको एक सामाजिक संस्था हो । सिविन-नेपालले बालअधिकारको जागरुकताको निमित्त विभिन्न माध्यमहरुबाट सरोकारवालाहरुलाई सूचित गर्ने सन्दर्भमा नयाँ वेभसाईट “डब्लुडब्लुडब्लु डट बालसरोबार डट कम” संचालन गरेको छ । उक्त वेभसाईटमा खबर, लेख, सरोकारवाला तथा बालबालिकाहरु संगको अन्तरवार्ता, अडियो र भिडियो, प्रतिवेदन, बालबालिकाहरुको सम्बन्धित नियम तथा नितीहरु समावेश गएिको छ । नबिल फाउण्डेसनका अध्यक्ष अग्रवाले सिविन–नेपाल, जुन असहाय बालबालिकाको भरण पोषण तथा बालबालिकाको बृति बिकासमा समर्पित जस्तो बालअधिकारमुखी संस्थाले सुरुवात गरेको सत्प्रयासमा नबिल फाउण्डेसन सहयोगी बन्न पाएकोमा खुशी व्यक्त गरेका छन् । सिविन–नेपाल परिवारले नबिल बैंक तथा नबिल फाउण्डेसनलाई सहयोग प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेको छ ।

चूडामणि शर्माविरुद्ध विशेष अदालतमा अर्को आरोप, गैरकानुनी रुपमा ४ करोड २९ लाखको सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको दावीसहित विशेष अदालतमा आरोपत्र दायर गरेको छ । अख्तियारले ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दे सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनको ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको सम्पत्तिको मात्रै स्रोत खुलेको अख्तियारले जनाएको छ । शर्माले आम्दानीको ठूलो हिस्सा पुस्तक लेखन र निजामती विद्यार्थीको तयारी कक्षा प्रशिक्षणको आम्दानी भनी दाबी गरेका छन । विभागको महानिर्देशक रहँदा पक्राउ परी निलम्बनमा परेका शर्मा्विरुद्ध अख्तियारको दोस्रो आरोपत्र हो । गत साउन १ मा अख्तियारले शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीनै जनासँगको एकमुष्ट मागदाबी करिब ३० अर्ब ६ करोड रुपैयाँको गरिएको छ । यसका अतिरिक्त शर्माले सार्वजनिक सेवाको पदमा रहेर गैर कानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टी हुन नसकेको सम्पत्तिहरू श्रीमती कल्पना उप्रती शर्माको नाममा राखेको तथा लुकाए/ छिपाएको देखिएको दावी अख्तियारको छ ।

२१ दिने अल्टिमेटम दिँदै पर्यटन मजदुरले नाट्टामा बुझाए चार सुत्रिय माग

काठमाडौं । पर्यटन मजदुरको छाता संस्था यूनिट्राभले विभिन्न चार सूत्रिय माग राख्नै नेपाल एसोसियसन अफ टूर्स एण्ड ट्राभल्स एजेन्ट ९नाट्टा० लाई मागपपत्र बुझाएको छ । यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीसहितको मजदुरहरुको समूहले नाट्टाका उपाध्यक्ष अच्यूत गुरागाईको प्रतिनिधिमण्डललाई उक्त मागपत्र बुझाएको हो । पारिश्रमिक वृद्धि, प्रचलित श्रम ऐन अनुसार मजदुरको बीमा गरिनुपर्ने, सामाजिक सुरक्षा ऐन अनुसार टुर गाइडका हकमा लागू हुने सम्पूर्ण कुरा लागू गरिनुपर्ने र इजाजतपत्र बिना पर्यटक गाइडको रुपमा यूनेस्को स्थल पठाएमा सम्बन्धीत कम्पनीलाई कारबाही गर्ने तथा नक्कली शैक्षिक प्रमाण पत्र छानबिन गर्नुपर्ने माग राखेर ज्ञापन बुझाएको यूनिट्राभका अध्यक्ष पराजुलीले जानकारी दिए । उनीहरुले २ जना पर्यटक लिएर हिंड्ने अंग्रेजी भाषा गाईडले ३५ सय रुपैंया अन्य भाषा गाईडले ४ हजार रुपैंया पारिश्रमिक पाउनुपर्ने मागपत्रमा उल्लेख छ । अहिले उनीहरुले १८ सय देखि २५ सय सम्म पाउँदै आएका छन् । बढेको महंगीअनुसार पारिश्रमिक बढाउनुपर्ने उनीहरुको माग छ । २१ जनाभन्दा बढीलाई लिएर हिंड्ने अंग्रेजी भाषा गाईडले ६४ सय र अन्य भाषा गाईडले ७५ सय पाउनुपर्ने उनीहरुको मागमा उल्लेख छ । उनीहरुले २१ दिनभित्र आफ्ना मागहरु सम्बोधन नगरिए त्यसपछि उत्पन्न हुने समस्याको जिम्मेवारी लिनसमेत नाट्टालाई चेतावनी दिएको छ ।