विकासन्युज

आज रामोस भर्सेस रोनाल्डो र सलाह भर्सेस सुवारेज

काठमाडौं । विश्वकपको दोस्रो दिन एकै क्लबबाट खेल्ने स्पेनका कप्तान सर्जियो रामोस र पोर्चुगलका कप्तान क्रष्टियानो रोनाल्डो एक अर्का विरुद्ध मैदानमा उत्रिदैछन् । नेपाली समय अनुसार ११ ४५ मा शुरु हुने खेलमा उत्कृष्ट स्ट्राइकर रोनाल्डो र उत्कृष्ट डिफेन्डर रामोस प्रतिस्पर्धा हुने भएको हो । खेलको २ दिन अघि स्पेनको प्रशिक्षक जुलियन लोपेटेगुइलाई बर्खास्त गरेपछि रामोसले विश्वकप अघि आफुलाई मलामी जानु परेको जस्तो अनुभव भएको बताएका छन् । प्रशिक्षक बर्खास्तबारे मार्कासँग प्रतिक्रिया दिदैं रामोसले यसबाट आफु दुखि भएको भन्दै विश्वकपको अन्त्य खुशिसाथ गर्न चाहेको बताए । यस्तै बेलुका नेपाली समय अनुसार ५ ४५ बजेबाट शुरु हुने उरुग्वे र इजिप्टको खेलमा लुइज सुवारेज मोहमद सलाह एक अर्का विरुद्ध मैदानमा उत्रिदैछन् । तर इजिप्टका सञ्चार माध्यमले भने सलाह उरुग्वे विरुद्धको खेलमा खेल्न नसक्ने बताएका छन् ।

वरुण हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बिजुली चोरीमा संलग्न दुई वडाध्यक्षहरु पक्राउ

काठमाडौ । विद्युत चोरीमा संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर७का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर५का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो । गृह मन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको बुधबारको बैठकले विद्युत चोरी नियन्त्रणलाई परिणाममूखीरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । यही आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्तरुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम सुरु गरिसकेका छन् । सुरक्षाकर्मीसहित खटिएको प्राधिकरण काभ्रे बितरण केन्द्रकोे टोलीले वडाध्यक्ष लम्सालले कुन्ताबेंसीमा हुकिङ गरी कुखुरा फर्ममा विद्युत प्रयोग गरेको फेला पारेपछि पक्राउ गरेको थियो । पक्राउ गरी लम्साललाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको थियो । उनी ४१ हजार २ सय ८७ रुपैयाँ जरिवाना तिरी शुक्रबार रिहा भएका छन् । यसैगरि,राजविराज बितरण केन्द्रको टोलीले तिरहुत गाउँपालिका-५का वडाध्यक्ष रामानन्द चौधरीले हुकिङ गरी घरमा विद्युत प्रयोग गरेको फेला पारेको थियो । टोलीले वडाध्यक्ष सहित हुकिङ गर्ने २१ जनालाई पक्राउ गरेको थियो । वडाध्यक्ष चौधरी १५ हजार जरिवाना तिरी शुक्रबार छुटेका छन् । विद्युत चोरी नियन्त्रण ऐन-२०५८ र नियमावली २०५९मा विद्युत चोरी गरेर प्रयोग गरिएका उपकरणलाई लाग्ने लोडको आधारमा हिसाब गरी एक वर्षको जरिवाना तिराउने व्यवस्था छ । यही व्यवस्थाअनुसार निर्धारण गरिएको जरिवाना तिरी दुवै वडाध्यक्ष छुटेका हुन् । यस अघि वर्दियाको मधुवनी नगरपालिका-२का वडाध्यक्ष पहाडी थारु पनि विद्युत चोरीमा पक्राउ परी जरिवाना तिरेर रिहा भएका थिए । प्राधिकरणका बितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले हेरक क्षेत्रीय कार्यालयले बढी विद्युत चुहावट हुने जिल्लामा नियन्त्रणको अभियान नै चलाउन लागेको जानकारी दिए । ‘विद्युत चोरी नगर्न तथा मिटर जडान गर्न आग्रह गर्दै माईकिङ गर्ने, प्रशासनको सहयोगमा हुकिङ हुने क्षेत्रमा अपरेसन सञ्चालन गर्ने लगायतका काम अभियानकैरुपमा मुलुकभरी सञ्चालन गर्दै छौं’,उनले भने,‘ठूला ग्राहक (थ्रि फेज)को मिटर चेक गरिने छ ।’ प्राधिकरणको प्रणालीमा चैतसम्ममा २०.०६ प्रतिशत विद्युत चुहावट छ । चालू आर्थिक वर्ष ०७४/७५मा प्रणालीमा रहेको चुहावटलाई २०.०६ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ । गत आर्थिक वर्ष ०७३/७४मा चुहावट २२.९ प्रतिशत थियो । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा बितरण लाइनको सदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

सगरमाथा इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड, भिआइपी सेवा प्रदान गर्नेमा उत्कृष्ट

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले ‘स्पेसल रिकगनाइजेशन फर प्रडक्ट इनोभेशन इन जेनरल इन्स्योरेन्स’ नामक अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । कम्पनीले ‘इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०१८’ अन्तर्गतको उक्त अवार्ड पाएको हो । इन्स्योरेन्सले दुई वर्षअघि शुरु गरेको ‘भिआइपी अन द स्पट’ सेवा सफल कार्यान्वयन भएकोमा कम्पनीलाई उक्त अवार्ड दिइएकाे हो । कम्पनीले आफ्ना ग्राहकलाई हप्ताको सातैदिन २४सै घण्टा उक्त सेवा पुर्याइरहेको छ । सगरमाथा इन्स्याेरेन्स कम्पनीमा बीमा गरिएका सवारी दुर्घटनामा परेकाे अवस्थामा घट्नास्थलमा नै क्षति मूल्याङ्कन गरी बीमा भुक्तानी गरिने गरेकाे कम्पनीले जनाएकाे छ । हालै थाइल्याण्डको बैंककमा आयोजित एक कार्यक्रममा कम्पनीका नायव महाप्रबन्धक श्रवण रावलले उक्त अवार्ड ग्रहण गरेकाे कम्पनीले जनाएको छ ।

मुक्तिनाथ र लुम्बिनीबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ रेमिट र लुम्बिनी विकास बैंकको लुम्बिनी रेमिटबीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब मुक्तिनाथ रेमिट लुम्बिनी विकास बैंकका र लुम्बिनी रेमिट मुक्तिनाथ विकास बैंकका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।

अब स्वास्थ्य चेकजाँच गर्न अस्पताल धाउनै नपर्ने, औँठा छाप लागेपछि ३० रोग पत्ता लाग्ने

काठमाडौं । बिरामी भएर वा आफ्नो स्वास्थ्य अवस्था बुझ्नु परेमा अस्पताल नै नगई आफ्नो घरमा नै रिपोर्ट आउने भएको छ । बिरामीले आफ्नो हातको बुढी औला राखेपछि टेलिमेडिसीयनले तत्कालै विशेषज्ञ डाक्टरमार्फत रिपोर्टका बारेमा जानकारी दिने उपकरण नेपालमा आएको हो । सञ्चालमा ल्याईएको टेलीमेडीसीयन ३ किलो तौलको मात्र छ । यो हातमा नै सजिलैसँग बोकेर हिड्न सकिने खालको छ । आइसीइटीफोरडीका इन्चार्ज पवन शाक्यले डाक्टरहरुको सेवा सीमित स्थानहरुमा मात्र उपलब्ध भएकाले रोग पत्ता लगाउन समस्या आउने गरेकोमा यो उपकरणले सहज बनाएको बताउछन् । घुम्ती स्वास्थ्य सेवा सिमित अवधिको लागि मात्र संचालित भैरहेका छन् । यस्ता चुनौतीबाट पनि यसले छुटकारा दिने शाक्यले बताए । यो उपकारण धेरै मंहगो पनि छैन । यसको मूल्य ६ लाख रुपैयाँ मात्रै हो । यो उपकरण स्वास्थ्य चौकीहरुमा राखेर संचालन गर्न तयारी भैरहेको छ । आइसीइटीफोरडीले हाल दैलेखको दुरामा टेलिमेडीसीयन राखेर धुलिखेल अस्पतालबाट बिरामीको रिपोर्ट केहि समयमा नै दिने प्रक्रियामा छ । यो उपकरणले बिरामीको ३० ओटा रोगहरुको पहिचान गराउने छ । यो उपकरण नेटको सहायताले डाक्टरसँग जोडिन्छ । यो उपकरण विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर नेपालमा भित्रिएको हो । यो उपकरण अमेरिकाबाट खरिद गरेर नेपालमा ल्याएको हो । यसरी प्रयोग हुन्छ टेलिमेडिसीयन टेलिमेडिसीयन उपकरणले झोलामा क्लिनिकको अवधारणा अनुरुप हरेक वडामा रहेका स्वास्थ्यकर्मीहरुद्धारा प्रत्येक वडावासीहरुको नियमित रुपमा स्वास्थ्य परीक्षण गर्न सकिन्छ । ज्येष्ठ नागरिक तथा विशेष असक्षम व्यक्तिहरुलाई घरआँगनमा नै गई स्वास्थ्य सेवा दिन सकिन्छ । स्वास्थ्य सम्बन्धि डेटालाई हेरेर सम्भावित रोगहरुको समयमा नै सूचना दिई रोकथामको व्यवस्था गर्न सकिने छ । स्वास्थ्यकर्मीहरुले तत्कालै विरामीको अवस्थाको बारेमा अस्पतालमा रहेका डाक्टरहरुलाई सूचना दिई परामर्श थाल्न सकिन्छ ।  

धम्की दिई ५० हजार लिने रोजगार विभागका अधिकृत रामप्रसाद ढुङ्गाना अख्तियार फन्दामा

काठमाडौं । बैदेशिक रोजगार विभाग बुद्धनगर,काठमाडौंमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुङ्गाना भ्रष्ट्राचार आरोपमा पक्राउ परेका छन् । श्रम प्रिअप्रुभल लिने प्रयोजनका लागि पत्रिकामा सूचना प्रकाशित गरेकोमा उक्त सूचना अपुरो छ भनि घुस माग्दै गर्दा उनी पक्राउ परेका हुन् । ढुङ्गानाले सेवाग्राहीलाई छापा मार्ने सम्मको धम्की दिइ ५० हजार लिइसेको अवस्थमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनलाई विभाग कार्यालयको मिटिङहलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।  

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नर्भिक अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले अब थापाथलीको नर्भिक अस्पतालमा जाँच गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् । हालै दुई संस्थाबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरुलाई अस्पतालले तोकिएका शुल्कमा विशेष छुट पाउने भएका हुन् । उक्त सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालकोतर्फबाट महाप्रवन्धक प्रदिपकुमार झाले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकहरूले नर्भिक अस्पतालमा उपचार गराउँदा तोकिएका शुल्कमा सो मात्रासम्मको छुट पाउनेछन् ।