एक महिनादेखि बन्द नुवाकोटकाे क्रसर उद्योग सञ्चालनमा अायाे
काठमाडौं । एक महिनादेखि बन्द रहेका नुवाकोटका क्रसर उद्योग सर्वोच्च र उच्च अदालतको आदेशमा सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको शाखा कार्यालय नुवाकोटमा दर्ता भएर सञ्चालनमा रहेका तर, दुई वर्षदेखि नवीकरण नहुँदा मापदण्ड उल्लंघन भएको भन्दै गत वैशाख २५ गते सर्वोच्चको आदेशमा बन्द भएका ती उद्योग पुनःअदालतको आदेशमा सञ्चालनमा आएको प्रजिअ उद्धबहादुर थापाले बताए । अवैध रुपमा क्रसर उद्योग सञ्चालनमा रहेको र त्यसबाट वातावरणीय क्षति पुगेको दाबी गर्दै बेलकोटगढी नगरपालिका– ८ का राजेन्द्र चित्रकारले माग गरेको उत्प्रेषण परमादेशअनुसार सर्वोच्चले बन्द गराउन दिएको आदेशले रोकिँदै आएकोमा उच्च अदालत पाटनको निषेधाज्ञा आदेश र सर्वोच्च अदालतको प्रतिषेध आदेशमार्फत सञ्चालनमा आएको हो । यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र केदारप्रसाद चालिसेको सयुक्त इजलाशले उक्त स्थानको त्रिशूली, तादी लगायतका नदीबाट उत्खनन् गरी सञ्चालनमा रहेका क्रसरले घरेलु उद्योग शाखामा नवीकरण नभएको र कच्चापदार्थ उत्खननमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तथा प्रारम्भिक वातावरणीय परीक्षण (आइई) समेतको पालना नभएको निवेदकको दाबी अनुसार अदालतले क्रसर उद्योग बन्द गराउन आदेश दिएपछि गत जेठ १ देखि प्रशासनले बन्द गराएको थियो । त्यसको विरुद्धमा व्यवसायीकोतर्फबाट नाट्यश्वरी रोडाढंगा उद्योगले नुवाकोट प्रशासनलाई विपक्षी बनाएर उच्च अदालतमा दर्ता गराएको निषेधाज्ञामा न्यायाधीशद्वय भानुभक्त शर्मा र रमेशकुमार पोखरेलको अन्तरिम आदेशमार्फत सञ्चालनमा रोक नलगाउन विपक्षीलाई आदेश दिनुभएको हो । यस्तै, त्रिशूली बालुवा प्रशोधन उद्योगका सञ्चालक दाताराम अकौलिया र विभिन्न आठ वटा क्रसर व्यवसायीकोतर्फबाट निरञ्जना रोडा उद्योग प्रालिका सञ्चालक शिवप्रसाद अधिकारी सहितले सर्वोच्चमा छुट्टाछुट्टै दर्ता गराएको प्रतिषेधमा न्यायाधीश विश्वम्भर श्रेष्ठले आइई गरी दर्ता भएका उद्योगलाई मुद्दाको अन्तिम किनारा नभएसम्म सञ्चालन गर्न दिनु भन्ने अन्तरिम आदेश दिएअनुसार एक महिनादेखि बन्द क्रसर उद्योग सञ्चालनमा आएका छन् । उद्योग बन्द हुँदा निर्माण सामग्री अभावले नुवाकोट र रसुवामा सञ्चालित रु १५ अर्ब भन्दा बढीको विकास निर्माणका योजना प्रभावित भएको छ । यसैगरी, रसुवाका २० हजार र नुवाकोटका ७० हजार परिवारको भूकम्पले क्षति पुगेको घर पुनःनिर्माण रोकिएको र जिल्ला समन्वय जिससले लगाएको रु १० करोड २४ लाखको निकासी कर समेत जोखिममा परेको दाबी अनुसार उच्च र सर्वोच्चको छुट्टाछट्टै तीनवटा आदेशले खुला भएको हो । रासस
कुमारी बैंक लिमिटेड र ओम हस्पिटलबीच उपचारमा छुट दिने सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच उपचारमा सहुलियत दिने सम्झौता भएको छ । उक्त सम्झौतामा कुमारी बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात् कुमारी बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा उपचार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यसअघि कुमारी बैंकले भारतको नयाँ दिल्लीस्थित मेद्धान्त अस्पताल लगायत देश भित्रका अन्य अस्पतालहरु नर्भिक, ग्रान्डी, वयोद्या, चिरायु, अल्का, आदिमा उपचार गराउँदा विशेष छुटको सुविधा दिने सम्झौता गरिसकेको छ । कुमारी बैंकले हाल ८६ वटा शाखाहरु, ६१ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुद्धारा सेवा दिइरहेको छ । त्यस्तै, बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिंङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा तथा भाईबर बैंकिंङ्ग सेवा पनि प्रदान गर्दै आईरहेको छ ।
सिभिल बैंक ‘छक्कापञ्जा-३’ चलचित्रसँग आवद्ध, वित्तीय शिक्षाको प्रवद्धन गर्ने
काठमाडौं । सिभिल बैंक लिमिटेड ‘छक्कापञ्जा-३’ चलचित्रसँग आवद्ध भएको छ । बैंकले चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रवद्धन गर्ने उद्देश्यका साथ उक्त चलचित्रसँग आवद्ध हुने सम्झौता गरेको हो । सो सम्बन्धी सम्झौतामा मंगलबार एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र छक्कापञ्जा-३ का निर्देशक दिपा निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकले वित्तीय साक्षरता बगैर नेपाल समृद्ध नहुने कुरालाई मनन गर्दै उक्त सम्झौता गरेको बैंकले जनाएको छ ।
सेयर निष्कासन तथा बाँडफाड नियमावलीमा संशोधन, अब जति पनि आईपीओ अावेदन दिन पाइने
काठमाडौं । धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) र थप निष्कासन(एफपीओ) आवेदनको अधितकतम सीमा हटाएको छ । आईपीओमा आवेदन दिदा १० कित्ता मात्र पर्ने र लगानीकर्ताले सोहीअनुसार मात्र आवेदन दिने गरेपछि यस प्रावधानलाई हटाइएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकालाई संशोधन गरी यस्तो व्यवस्था गरेको हो । लगानीकर्ताबाट धेरै गुनासो आएपछि यस्तो व्यवस्था गरेको बाेर्डले बताएकाे छ ।
हिमालय एअरलाइन्सबाट प्रधानमन्त्री ओली चीन पुगे, कुन कुन मन्त्री गए ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हिमालय एअरलाइन्समा दोश्रो पटक चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली मंगलबार हिमालय एअरलाइन्सको एयरबस ३२०, नेपाली दर्ता नम्बर ९एन–एएलडब्लुमार्फत जनगणतान्त्रिक चीनकोे राजधानी बेइजिङ प्रस्थान गरेका हुन् । ओली, श्रीमती राधिका शाक्यसहित नेपाल सरकारका उच्च अधिकारी, व्यापारी तथा सञ्चारकर्मीहरु सम्मिलित टोली चीनको ६ दिने औपचारिक भ्रमणमा गएका हुन् । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानीय समय अनुसार ९ बजे उडेको थियो भने चीनको राजधानी बेइजिङस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समय अनुसार १६ः४९ (नेपाली समय अनुसार १४ः३४) बजे अवतरण गरेको थियो । भ्रमणमा प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र सांसदहरु सहभागी थिए । भ्रमण टोलीका साथै विशेष उडानमा सहभागी भएका अध्यक्ष आङ छिरिङ शेर्पा र हिमालय एअरलाइन्स्का प्रमुख कप्तान झाउग्वो छ्याङलाई बिदाई गर्न एअरलाइन्स्का प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठ त्रिभुवन विमानस्थलमा पुगेका थिए ।
ओलीसँगै चीन पुगे महासंघका सबै पदाधिकारी, १२ जनाको टोलीमा को को ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा नेपाल उद्योग बाणिज्य महासंघका सबै पदाधिकारी सहभागी भएका छन् । महासंघका अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, जिल्ला नगरका उपाध्यक्ष किशोर प्रधान, वस्तुगत संघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एसोसियट तर्फका उपाध्यक्ष चन्द्र ढकाल र कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान चीन पुगेका हुन् । उनीहरुसँगै महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, पुर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्ढीराज ढकाल पनि चीन पुगेका छन् । । महासंघको प्रतिनिधिमण्डलमा कार्यकारिणी समिति सदस्यहरु ज्योत्साना श्रेष्ठ, प्रवलजंग पाण्डे, स्वतन्त्र उर्जा उत्पादक संघ(आइपान)का अध्यक्ष शैलेन्द्र गुरागाई र महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी समेत प्रतिनिधिमण्डलमा सहभागी छन् । चीनमा रहँदा महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरुमा सहभागी हुनुको साथै व्यवसायिक भेटवार्तामा समेत व्यस्त रहने बताइएको छ । उक्त प्रधिनिधि मण्डलभित्र पर्यटन, सेवा तथा उत्पादन मुलक, निर्माण सामग्री, व्यवसायिक कृषि, अटो, खाद्यान्न, जलविद्युत, बैकिङ, औषधि, केवलकार, रेमिटेन्स, गरगहना सहित हस्तकला लगायतका क्षेत्रको प्रतिनिधित्व रहेका छन् । महासंघको अनुसार प्रतिनिधिमण्डलले त्यहाँ रहँदा चिनिया साझेदारहरूसँग व्यवसायिक तथा लगानी सम्बन्धी छलफल हुनेछ । प्रतिनिधिमण्डल आजै साँझ वेइजिङस्थित नेपाली राजदुतावासले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ । त्यस्तै प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषदद्वारा बुधबार विहान बेइजिङमा आयोजना हुने चाइना नेपाल विजनेस फोरम मिटिमा महासंघको प्रतिनिधिमण्डलले भाग लिनेछ । उक्त कार्यक्रमलाई नेपाली निजी क्षेत्रको तर्फबाट महासंघका अध्यक्ष राणाले संवोधन गर्ने कार्यक्रम छ ।
२८ वाणिज्य बैंकले ४४ अर्ब प्रोभिजन गरे, ९ महिनामा थपियो ३ अर्ब खराब कर्जा
काठमाडौं । २८ वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दै गएको छ । बैंकले निर्धारित समय सीमामा ऋण उठाउन नसकेपछि चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ४४ अर्ब रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजिङ) गरेका हुन् । बैंकले आफ्नाे नाफा रकमबाट प्रोभिजिङ गरेका हुन् । निर्धारित समयभित्र कर्जा नउठ्ने भएपछि केन्द्रीय बैंकले कर्जा नोक्सानीको व्यवस्था गर्न लगाएको हो । चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकको मात्र कर्जा नोक्सानी बढेको देखिएको छ । गत आर्थिक वर्षमा ४१ अर्ब र सो भन्दा अघिल्लो वर्ष ३५ अर्ब प्रोभिजन गरिएको थियो । ठुलो रकम प्रोभिजिनिङ गर्नुपर्दा बैंकको नाफामा असर गरेको छ । कुल निष्क्रिय कर्जा अनुपात १.७ प्रतिशत छ । केन्द्रीय बैंकले तेस्रो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै वाणिज्य बैंकको असल कर्जा १९ खर्ब ७० अर्ब रुपैयाँ रहेको जानकारी दिएको छ । कुल कर्जा मध्ये ३७ अर्ब रुपैयाँ सुक्ष्म निगरानीमा रहेको केन्द्रीय बैंकले जनाएको छ । ९ महिनामा निष्क्रिय कर्जा बढेर ३३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा २७ अर्ब रुपैयाँ थियो । एक वर्षको अवधिमा यस्तो कर्जा ६ अर्ब रुपैयाँ बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । निष्क्रिय कर्जा अन्तर्गत खराब कर्जा १५ अर्ब रुपैयाँ छ । केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँलाई संकास्पद र १० अर्ब रुपैयाँलाई निष्क्रिय कर्जाको रुपमा लिएको छ ।
आइएमई लाइफ इन्स्योरेन्सको बिक्री प्रवन्धकमा सिभिल क्यापिटल
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतामा आइएमई लाइफ इन्स्योरेन्सका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटल मार्केटका तर्फबाट निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्काशनको सम्पूर्ण काम बिक्री प्रवन्धक सिभिल क्यापिटलले गर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको र उक्त सेयर निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजी २ अर्ब रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ । साथै, संस्थापक सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत रहने छ । कम्पनीले हालसम्म मुलुकभर ५० शाखा उपशाखा मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।