विदेशी मुद्रामा ऋण लिँदा लागत १७.६४ प्रतिशत पर्ने, बजेट संशोधन गर्न बैंकर्स संघको माग
काठमाडौं । विदेशी मुद्रामा ऋण लिँदा व्याज, कमिशन, सेवा शुल्क, व्यवस्थापन खर्च र करसहित लागत १७.६४ प्रतिशत पुग्ने भन्दै नेपाल बैंकर्स संघले यस्तो कर्जा लिन नसकिने जनाएको छ । विद्यमान व्यवस्थामा विदेशी मुद्रामा ऋण ल्याउन व्यवहारिक नभएको भन्दै बैंकर्स संघले आर्थिक विधयेक (बजेट)मा आवश्यक संशोधन गर्न माग गरेको छ । तर संसदले असार १८ गते नै आर्थिक विधयेक पारित गरेकोले बैंकर्स संघको माग पुरा हुने संभावना कम देखिएको छ । बैंकर्स संघले असार १० गते अर्थमन्त्री युवराज खतिवडालाई पत्र लेख्दै विदेशी मुद्रामा ऋण लिने व्यवस्थालाई प्रोत्साहित गर्न र ऋणको व्याज तथा सेवा शुल्कमा लाग्ने आयकर छुट गर्न माग गरेको थियो । १७ प्रतिशतभन्दा बढीको लागतमा विदेशी मुद्रामा ऋण लिएर नेपाललाई फाइदा नहुने बैंकर्सहरुले बताएका छन् । ‘नेपाली भित्रको निक्षेपमा व्याज ११ प्रतिशत पुगेपछि सस्तो व्याजदरमा विदेशी मुद्रामा ऋण ल्याउने भनिएको हो । तर विदेशबाट लिने यस्तो ऋणको लागि १७ प्रतिशत भएपछि कसैलाई पनि फाइदा भएन’ एक बैंकर्सले बताए । यसरी हुन्छ १७.६४ प्रतिशत लागत बैंकर्स संघले हालको व्यवस्था अनुसार विदेशी मुद्रामा ऋण लिँदा १७.६४ प्रतिशत हुने आधार पनि पेश गरेको छ । राष्ट्र बैंकले तोकेअनुसार लेइवर दरमा ३ प्रतिशतसम्म थप गर्दा वार्षिक व्याजदर ५ प्रतिशत हुनेछ । विदेशबाट ऋण लिनको लागि विचौलियाको काम गर्ने इन्भेष्टमेन्ट बैंकर्स वा पोर्टफोलिया म्यानेजरको सहयोग अनिवार्य आवश्यक हुन्छ । जसले यस्तो ऋण लिन चाहाने बैंकको बारेमा अध्ययन गर्ने, ऋण दिन चाहाने विदेशी संस्थालाई आवश्यक ब्रिफिङ गर्ने, ऋण लिने र दिने संस्थाबीच विश्वासको वातावरण बनाउने काम गर्छन् । उनीहरुले कुल ऋण रकमको १ देखि २ प्रतिशत सेवा शुल्क लिने बैकर्स संघको तर्क छ । विदेशी मुद्रा विनिमय दरमा हुने जोखिम लिने संस्थाले ५ प्रतिशत हेजिङ शुल्क मागेका छन् । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको, औषतमा हरेक वर्ष एक डलरको मूल्य ५ रुपैयाँ बढ्दै गएको तर्कसहित हेजिङ सुविधा दिनेले ५ प्रतिशतसम्म वार्गेजिङ गरेको संघले जनाएको छ । त्यस्तै, विदेशी मुद्रामा प्राप्त ऋणमा भुक्तानी हुने व्याज तथा व्यवस्थापन बाफतको एजेन्सी कमिशन भुक्तानीमा आयकर ऐन अनुसार आयकर १५ प्रतिशत लाग्ने छ । यसरी व्याज, ब्रोकर कमिशन, हेजिङ शुल्क, आयकर र व्यवस्थापन शुल्कसहित जोड्दा विदेशी मुद्रामा लिने ऋणको लागत १७.६४ प्रतिशत देखिने संघको हिसाव छ ।
सनराइज बैंकको शाखा अब धनकुटामा पनि
काठमाडौं । सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लामा शाखा विस्तार गरेको छ । उक्त ८९औँ शाखाको स्थापनाबाट बैंकले ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ । हाल बैंकले ८९ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, १०० वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सोमबार पूँजीबजार नीति आउने, जलविद्युत कम्पनीको नियमनमा कडाई र प्रिमियम मूल्य निर्धारणमा नयाँ विधि
काठमाडौं । नेपाल धितोपत्र बोर्डले असार २५ गते पुँजी बजार नीति सार्वजनिक गर्दैछ । बोर्डले आगामी आर्थिक बर्ष २०७५।७६ का लागि ल्याउन लागेको नीतिमा पुँजी बजारलाई लगानीको विश्वसनिय विकल्पका रुपमा स्थापित गराउने प्रतिवद्धता समेटिएको श्रोतले बतायो । धितोपत्र बोर्ड उच्च श्रोतका अनुसार बैंक तथा वित्तिय क्षेत्र र बीमा कम्पनी बाहेकका अन्य क्षेत्रहरुको नियमनका लागि पनि पुँजी बजार नीतिमा कडा व्यवस्था अघि सारिँदैछ । मुलतः जलविद्युत कम्पनीहरु तथा उत्पादन मुलक अन्य कम्पनीहरुको नियमनमा बिशेष कडाई गर्ने योजना पुँजी बजार नीतिमा समेटिएको छ । त्यस्तै, आईपीओको प्रीमियम मूल्य तथा एफपीओको मूल्य निर्धारणका लागि आगामी आर्थिक बर्षभित्रै बुक बिल्डिङको नियम लागु गर्ने योजना पनि समेटिएको छ । ‘प्राथमिक र दोश्रो बजारलाई देश व्यापी बनाउने, लगानीकर्ताको मनोबल बढाउने पुँजी बजारलाई लगानीको विश्वासिलो बिकल्पका रुपमा स्थापित गराउने योजना आउँछ ।’, धितोपत्र बोर्ड श्रोतले भन्यो । सोमबार सार्वजनिक हुने पुँजी बजार नीतिलाई धितोपत्र बोर्डको सञ्चालक समितिले अनुमोदन समेत गरिसकेको छ ।
पुुनः प्रयोगका लागि वेष्टेज पदार्थको रिसाइकल गरिँदै, वार्षिक १५ लाख बचत हुने
काठमाडौं । खेर गएर वातावरण प्रदूषण पार्ने इण्डष्ट्रियल वेष्टजको पुनः प्रयोगबाट एउटा कारखानाले वार्षिक करिव १५ लाख रुपैयाँं वचत गर्ने गरेको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ को जगाती हनुमानचास्थित गोर्खा इको प्यानलले निर्माण सामाग्रीको उत्पादनपछि निस्कने इण्डष्टियल वेष्टेजलाई पुनः प्रयोग गरी खोलानालाको प्रदूषणलाई समेत जोगाएको हो । धेरै उद्योगहरुले वातावरण प्रदूषण गरिरहेको बेला गोर्खा इको प्यानलले उद्योगबाट निस्केको इण्डष्टियल वेष्टेज (खेर जाने सामाग्री) को पुनः प्रयोग गरी उदाहरणीय काम गरेको हो । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले नजिकै हनुमन्ते खोला भए पनि खोलामा कुनै वेष्टेज नपठाई पुनः प्रयोग गर्ने गरेको जनाए । ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नारालाई आत्मसाथ गरी वातावरण तथा खोलानालामा कुनै प्रतिकुल असर नपर्ने गरी कारखाना सञ्चालनमा ल्याएका हौं, सीईओ दुवालले भने, लामो अध्ययन अनुसन्धानपश्चात पूर्ण वातावरणमैत्री इको प्यानल उत्पादनमा ल्याएका हौ ।’ ख्वप कलेज वातावरण विज्ञानमा स्नाताकोतर अध्ययन गरेका सन्ध्या थापाले गरेको अनुसन्धान अनुसार एक वर्ग फिट इको प्यानल उत्पादन गर्दा एक दशमलब ८७ मेगाजुल उर्जा खपत हुन्छ भने अरु परम्परागत निर्माण सामाग्री त्यही मात्रामा उत्पादन गर्दा ४४ दशमलब ३ मेगाजुल उर्जा खपत हुन्छ । त्यस्तैगरी एक वर्गफिट इको प्यानल उत्पादन गर्दा ८१ ग्राम कार्वोनडाइअक्साईड निस्किन्छ भने त्यही मात्रामा अरु सामाग्री उत्पादन गर्दा ८३८ ग्राम कार्वाेनडाइअक्साईड निस्कन्छ । काठमाडौं विश्वविद्यालयमा वातावरण इन्जिनियरिंग अध्ययन गरेका दिक्षा ढकालले गरेको अनुसन्धान अनुसार अन्य निर्माण सामाग्री भन्दा इको प्यानल उत्पादन गर्दा सल्फरडाइअक्साईड सात गुणा कम मात्रै निस्किन्छ ।
मौसमी महामारीले ४९ जनाको ज्यान लग्यो, ४ हजार ८६९ जना विरामी
काठमाडौं । एक वर्षमा मौसमी महामारीका कारणले विभिन्न जिल्लाका ४९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा आर्थिक वर्ष २०७३/७४ मा ४ हजार ८६९ जनालाई विभिन्न महामारीले बिरामी भएका थिए । सो महामारीमा सबै भन्दा धेरै डाङगो ज्वरोको संक्रमणबाट बिरामी भएका थिए । तीन जिल्लामा डाङगो ज्वरोबाट २ हजार १११ जना बिरामी भएका थिए । डाङगो ज्वरो लागेरका सबैको उपाचार पछि निको भएको थियो । सप्तरीमा अगिलो गर्मी मौसमी १५६ जान बिरामी भएकोमा ६ जनालाई हैजा प्रमाणित भएको थियो । पर्सा जिल्लामा ८ जना विरामी भएका थिए । जसमा १ जना हैजको संकमणबाट मूत्यु भएको थियो भने उपचार पछि ७ जनालाई निको भएको थियो । सिराहा जिल्लाका विभिन्न ठाँउमा झाडापखालाले १३४ जना बिरामी भएका थिए । जसमा ३ जनाको ज्यान भएको थियो । १३१ को उपचारपछि निको भएको थियो । कपिलबस्तु जिल्लामा ६० जना झाडापखालाल बिरामी भएका थिए । सो जिल्लामा पनि १ जनाको मूत्यु भएको थियो । सर्लाहीमा २५ जनामा झाडापखालाले १ जनाको मूत्यु भएको थियो । सोही जिल्लामा १६ जनालाई कालाझार लागेको थियो । कालाझारका कारणले १ जनाको मूत्यु भएको थियो । विभागका अनुसार दोलाखामा ११ जना झाडापखालाका बिरामी थिए । झाडापखालाले १ जनाको मूत्यु भएको थियो । २८ जिल्लामा स्क्रबटाईफसले ६५९ बिरामी भएका थिए । स्क्रबटाईले १२ जनाको मूत्यु भएको थियो । इन्फ्रन्जाका कारणले १४ जिल्लामा १ हजार ३२२ जना बिरामी भएको थिए । इन्फ्रन्जाले १८ जनाको मूत्यु भएको थियो । ल्याक्टो इस्पाइसिस् ५ जिल्लामा फैलिएको थियो । ४२ जना बिरामी र ३ जनाको मूत्यु भएको थियो । चिकुनगुनिया पनि ४ जिल्लामा फैलिएको थियो । चिकुनगुनिया ६ जनामा लागेको थियो र ४ जनाको मुत्यु भएको थियो । गत वर्ष मौसमी महामारीका कारण धेरैले ज्यान गुमाएकोले यस वर्ष उच्च सर्तकता अपनाईएको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका सूचना अधिकारी डा हेमन्त ओझा बताउँछन् । ‘आपतकालिन स्वास्थ्यका लागि तयारी पुरा भैसकेको छ । महामारीलाई मध्यनजर गरेर औषधी मौजदात राखेको छ । पिउने पानीबाट लाग्ने रोगका बारेमा संचारमाध्यमबाट जनचेतनामुलक विज्ञापनहरु पनि प्रसारण भैरहेका छन्’ उनले भने–‘मनसुनका समयमा हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकारका सरोकारवाला मन्त्रालय, प्रदेशस्तरका मन्त्रालय र स्थानीय सरकारले आपसमा समन्वय गरी विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ ।’ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को पहिलो बैठकको पनि महामारीलाई मध्यनजर गरि मनसुनका समयमा बाढी पहिरो जस्ता विपद्का घटना घट्न सक्ने र सोबाट जनधनको क्षति हुनसक्ने, पूर्वाधार, भौतिक सम्पत्ति, खानेपानी, ढलमा पुग्न सक्ने सम्भावित क्षति, त्यस्तै बस्ती जोखिममा पर्न सक्ने, अत्यावश्यक उपभोग्य बस्तु र औषधिको अभाव हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी सरोकारवाला सबै मन्त्रालयले समयमा आवश्यक पर्ने अत्यावश्यक उपभोग्य बस्तु, उपकरण, औजारहरु, डुंगा, औषधि आदिको पर्याप्त व्यवस्था सहित विपद्को पूर्वतयारी तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाएको जनाएको छ ।
२० लाखको लागतमा लक्ष्मी बैंकले जडान गर्यो १४ थान सोलार
काठमाडौं । लक्ष्मी बैंक लिमिटेड तथा लक्ष्मी बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित लक्ष्मी केयर्सको संयुक्त आयोजनामा बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरेको छ । बैंकले २० लाखको लागतमा १४ थान सोलार जडान गरी शनिबार एक कार्यक्रमबीच हस्तानान्तरण गरेको छ । गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले मन्दिर परिसरमा आयोजना सोलार हस्तनान्तरण कार्यक्रममा लक्ष्मी बैंकका डायरेक्टर विश्वकर्ण जैनले हस्तानान्तरण गरेका छन् । उक्त नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले पर्यटकिय स्थलमा लक्ष्मी बैंकले जडान गरेको सोलारलाई नगरपालिकाले सुरक्षा दिने र त्यसको रेखदेख गरी बेलाबेलामा सोलार प्यानलको सरसफाई गराउने बताए। त्यसैगरी, बैंकले असार २२ गते बनेपा नगरपालिका क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भयो । वृक्षरोपण कार्यक्रम बनेपा नगरपालिकाको वडा नं. ९ स्थित गणेशस्थानबाट शुरु भई नेपाल खानेपानी संस्थान, बनेपा शाखाको प्राङ्गणमा पुगि सम्पन्न भएको थियो । सो कार्यक्रमअन्तर्गत २०० वटा विभिन्न प्रजातीका बिरुवा तथा फलफूलका बिरुवाहरु रोपिएको बैंकले जनाकारी दिएको छ ।
बजारमा ४८ करोडको सेयर कारोबार, सबैभन्दा बढी छिमेक लघुवित्तको
काठमाडौं । आइतबारको सेयर बजारमा ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा २ करोड रुपैयाँ बढी हो । बिहीबारको बजारमा ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभर उतारचढाव आएको आइतबारको बजारमा १६८ कम्पनीको १२ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको ४ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६३ रुपैयाँ रहेको छ । समग्रमा आइतबारको नेप्से परिसूचक सामान्य ०.०२ अंकले घटेर १२२४ अंकमा झरेको छ । झिनो अंकले ओरालो लागेको बजारमा सबैभन्दा बढी बीमा समूह २३ अंकले घटेका छन् । होटल ४१, उत्पादनमूलक ३० र अन्य समूह १.३५ अंकले उकालो लागेका छन् भने बाँकी कारोबारमा आएका सबैसूचक राताम्मे भएका छन् ।
घरको वास्तुशास्त्र, इन्टेरियर डिजाइन, फर्निचर कस्तो राख्ने सबै कुरा जान्न भदौ १४ गते भृकुटीमण्डप आउनुस्
काठमाडौं । घरको वास्तुशास्त्र र नेपालमा पाइने सबै प्रकारको फर्निचरको बारेमा जानकारी एकै ठाउँमा दिने उदेश्यले भदौ १४ गतेदेखि फर्निसिङ एक्स्पो हुने भएको छ । नयाँ तथा पुराना घरलाई आवश्यक पर्ने विभिन्न फर्निचरको बारेमा जानकरी दिन नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंले मेलको आयोजना गर्न लागेको हो । मेलामा ५० भन्दा बढी स्टलहरु रहने महासंघका अध्यक्ष राजेश अग्रवालले बताए । एउटै छानामुनी सबै प्रकारका फर्निचरहरुको खरिद तथा अवलोकन गर्न पाउने भएकाले यस मेलाले विशेष महत्व राख्ने अध्यक्ष अग्रवालले बताए । उनले भने-‘हाम्रो मेलामा घरलाई बास्तुशास्त्र अनुसार कसरी शुभ राख्ने, कुन फर्निचर उपयोग गर्ने, कस्तो कलर लगाउने, इन्टेरियर डिजाइनदेखि नेपाली मौलिक कलाकृतिको फर्निचरको प्रर्दशनी हुन्छ ।’ मेलामा अफिस फर्निचर, किचन बेडरुम, आउटडोर पर्निचर, इन्टेरियर डिजाईनर, कार्पेट मार्बल र रंग लगायत सामाग्रीहरु प्रर्दशन गरिनेछ । नेपाल सहित भारत, पास्तिान र श्रीलङकाका व्यवसायीहरु समेत सहभागी हुने आयोजकले जनाएको छ । ५ दिनसम्म चल्ने मेलामा प्रवेश शुल्क ५० रुपैंया तोकिएकको छ । संस्थागत र विद्यार्थीहरुलाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । हाल नेपालमा ६० प्रतिशत विदेशबाट आयत र ४० प्रतिशत नेपाली पर्निचरको कारोबार भैरहेको छ । नेपालमा वार्षिक ३० अर्ब रुपैंया बराबरको फर्निचर व्यवसाय हुने गरेको छ ।