विद्युतीय सवारीसाधन प्राथमिकता प्राप्त क्षेत्र
काठमाडौं । बिजुलीबाट सञ्चालित सवारीसाधनमा हुने कर्जा लगानीलाई प्राथमिकता प्राप्त क्षेत्रमा परेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नविकरणीय ऊर्जाबाट चल्ने सवारीसाधनलमा प्रवाह हुने कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गणना हुने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले पनि विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिन यस्तो गरेको हो ।
राष्ट्र बैंकले अब सहकारी संस्थाको नियमन नगर्ने
काठमाडौं । सहकारी संस्थाको नियमन नेपाल राष्ट्र बैंकले नगर्ने भएको छ । केन्द्रीय बैंकले साउन १ गतेदेखि सिमित बैंकिङ करोबार गर्न अनुमति दिएका एक दर्जन सहकारी संस्थाको नियमन र सुपरीवेक्षणको काम नगर्ने भएको हो । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सहकारी संस्थाको नियमन नगर्ने जानकारी गराएको हो । सीमित बैकिङ्ग कारोबार गर्न अनुमति प्राप्त सहकारी संस्थाहरुलाई २०७५ साउन १ गतेदेखि नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट अलग गराइने मौद्रिक नीतिमा उल्लेख छ ।
५० करोड कर्जा लिने ऋणीले क्रेडिट रेटिङ गर्नुपर्ने
काठमाडौं । आगामी आर्थिक वर्ष २०७५/७६ देखि ठुला ऋणीले क्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ गराउनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ५० करोड रुपैयाँ वा सो भन्दा बढी कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नविकरण गर्दा उसको रेटिङलाई मूल्याँकनको आधार मानिने व्यवस्था गरेको छ । यस्तै वार्षिक रुपमा सबै वाणिज्य बैंकहरूले राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ्ग एजेन्सीबाट आफ्नो रेटिङ्ग गर्नुपर्ने भएको छ ।
१२औँ वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेसद्धारा शैक्षिक सामार्गी वितरण
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले बुधबार आफ्नो १२औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त वार्षिकोत्सवको अवसरमा एक्सप्रेसले बाल सारथी संस्थालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । साथै, उक्त संस्थालाई एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । सो रकम त्यस संस्थामा अध्ययनरत ९० जना विद्यार्थीहरुको लागि एक हप्ताका लागि रासन पानीमा खर्च गरिने उक्त संस्थाका संस्थापक माला खरेलले जानकारी दिएका छन् ।
मन्त्री रघुविर महासेठलाई ५ करोड दिने सहमति भएको छैन: सरोज सिटौला
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठसँग कुनै सम्झौता नभएको बताएका छन् । झुटो प्रचार गर्दै केहि सञ्चार माध्यमले मन्त्री महासेठसँग ५ करोडको सम्झौता भएको भन्ने समाचार निराधार भएको सिटौलाले बताएका हुन् । युनाइटेड नेपाल ट्रान्सपोर्ट भलाई एण्ड ईन्भेष्टमेन्ट प्रालीले गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै सिटौलाले हुदैं नभएको सिन्डिकेटको आरोप आफुहरुलाई लागेको बताए । ‘सिन्डिकेट न हिजो थियो न आज छ न भोली हुनेछ, सिटौलाले भने हामी यातायात व्यवसायीलाई सरकारले तल्लो स्तरको व्यवहार गर्यो ।’ यातायात व्यवसायीहरुको सम्पत्ति राष्ट्रकै सम्पत्ति भएको भन्दै सिटौलाले सबै सम्पत्ति राष्ट्र हितमै प्रयोग गर्नु पर्ने जोड दिए । कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा, काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेल लगायतको सहभागीता रहेको थियो ।
सिटिजन्स बैंक र पानस रेमिटबीच रेमिटेन्स सम्झौता, रकम भुक्तानी गर्न सजिलाे
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिट प्रा. लि.बीच रेमिटेन्स सम्झौता भएको छ । बैंकले युरोप लगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने उद्देश्यले उक्त रेमिटबीच सम्झौता गरेको हो । यस सम्झौता बमोजिम अब पानस रेमिट मार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी देशहरुबाट नेपालमा पठाएको विपे्रषण रकम नेपालीहरुले यस बैंकको जुनसुकै शाखाबाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्मराज पौडेलले हस्ताक्षर गरेका छन् । हाल बैंकले ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसै साता बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा शाखा संचालन गर्ने योजना अगाडी सारेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले एकैदिन खोल्यो चार नयाँ शाखा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले विभिन्न चार जिल्लामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले जुम्ला, बझाङ, प्यूठान र दाङमा गरी चारवटा जिल्लामा थप शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । बैंकले जुम्लाको हिमा गाउँपालिका स्थित कालीकाखेतु, बझाङको केदारसीउ गाउँपालिका स्थित झोता, प्यूठानको नौबहिनी गाउँपालिकास्थित बाहाने र दाङको शान्तिनगर गाउँपालिकास्थित शान्तीनगरमा क्रमशः ७४औं, ७५औं, ७६औ र ७७ औं शाखा खोलेको हो । बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई ३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ । हाल बैंकको १०१ वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । साथै, बैंकको ५७ वटा शाखा रहित बैंकिङ्ग सुविधा रहेको छ ।
ब्याजदर करिडोरको परिधी साँघुरो बनाइयो
काठमाडौं । अल्पकालिन ब्याजदरलाई नियन्त्रण गर्न ब्याजदर करिडोरको परिधीलाई साँघुरो बनाइएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा ७ प्रतिशतबाट घटाएर ६.५ र तल्लो सीमाको रुपमा दुई हप्ताको निक्षेप संकलन दरलाई ३ बाट साढे ३ प्रतिशत पुर्याइएको छ । ५ प्रतिशत रिपोदरलाई भने यथावत राखिएको छ । यसले अन्तर बैंक ब्याजदरलाई स्थायित्व कायम गराउने अपेक्षा केन्द्रीय बैंकको छ ।