चरम लोडसेडिङले गर्दा नेपालले एक दशकमा गुमायो ७ प्रतिशत आर्थिक वृद्धि र ४८ प्रतिशत लगानी
काठमाडौं । चरम ऊर्जा संकट (लोडसेडिङ) ले एक दशकको अवधिमा नेपालले ७ प्रतिशतका दरले आर्थिक वृद्धि गुमाएको एक अध्ययनले देखाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको एक आर्थिक प्रतिवेदनले सन् २००८ देखि सुरु भएको चरम लोडसेडिङले सन् २०१६ सम्म ठुलो आर्थिक वृद्धिको अवसर गुमाएको उल्लेख गरेको हो । लोडसेडिङले गर्दा औद्योगिक क्षेत्रमा ४८ प्रतिशत लगानी गुमाएको बैंकको अध्ययनले देखाएको छ । बैंकले लोडसेडिङ नै नेपालको औद्योगिक विकासको मुख्य वाधक भनेको छ । यदी लोडसेडिङ नभएको अवस्थामा नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत माथि हुने अनुमान गरेको छ । यस्तै लगानी बढ्न गई आर्थिक गतिविधिमा बढवा दिने बैंकको भनाई छ । यद्यपी लोडसेडिङ हटेका कारण औद्योगिक उत्पादन विस्तार हुने अनुमान गरिएको छ । ग्राहस्र्थका अतिरित्त पछिल्लो समयमा नेपाल विद्युत प्राधिकरणले औद्योगिक लोडसेडिङ समेत हटाएको छ । नेपाल राष्ट्र बैंंकको पछिल्लो अध्ययन प्रतिवेदनले लोडसेडिङ हटेपछि नेपालको औद्योगिक क्षमता विस्तार भई ५८ प्रतिशत पुगेको जानकारी दिएको छ । अघिल्लो वर्ष उद्योगको क्षमता ५४ प्रतिशत थियो । चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्रको विस्तार ८ प्रतिशत हुने अनुमान गरिएको छ । आगामी आवमा औद्योगिक क्षेत्रको वृद्धि १२ प्रतिशत हुने प्रक्षेपण सरकारको छ । ८ प्रतिशत आर्थिक वृद्धिलाई औद्योगिक क्षेत्रले पुरा गर्ने लक्ष्य सरकारले लिएको छ । आगामी आर्थिक वर्ष ०७५/०७६ मा साना र ठुला १८ आयोजना सम्पन्न भई प्रणालीमा ७५४ मेगावाट बिजुली थप हुने भएको छ । चालु आर्थिक वर्षमा लक्ष्यमा रहेका आयोजना आगामी वर्ष भित्र मात्र सम्पन्न हुने भएपछि आगामी वर्ष बिजुली उत्पादन बढ्ने भएको हो । नेपाल विद्युत प्राधिकरणले तयार पारेको नयाँ प्रक्षेपणले आगामी वर्ष सार्वजनिक निजी साझेदारीमा ४५६ मेगावाटको निर्माणधिन माथिल्लो तामाकोसी र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना सम्पन्न हुने छ । बाँकी २८५ मेगावाट क्षमताका १६ आयोजना निजी लगानीमा सम्पन्न हुने विद्युत प्राधिकरणले जनाएको छ । यो समेत गरी आगामी वर्ष बिजुलीको जडित क्षमता बढेर २ हजार मेगावाट नजिक पुग्ने प्रक्षेपण विद्युत् प्राधिकरणको छ । चालु आर्थिक वर्ष ०७४/०७५ मा सार्वजनिक र निजी क्षेत्रबाट गरी १६ आयोजना सम्पन्न भई प्रणालीमा १०० मेगावाट मात्र बिजुली थप भएको छ । यसमध्ये निजी क्षेत्रबाट १५ आयोजना सम्पन्न भई ७० मेगावाट र विद्युत प्राधिकरणको लगानीमा ३० मेगावाटको चमेलिया आयोजना सञ्चालनमा आएको छ । लामो समयपछि प्रणालीमा माग भन्दा बढी बिजुली आपूर्ति भएको छ । प्रणालीमा अहिले माग भन्दा झण्डै १०० मेगावाट हारहारीमा बिजुली बढी रहेको छ । हाल बिजुलीको माग ११७५ देखि १२०० मेगावाट रहेको छ । तर आपूर्ति भने १३०० मेगावाट रहेको छ । विद्युत प्राधिकरणका आयोजनाबाट ४५०, भारतबाट ५०० र निजी उत्पादकबाट ३५० देखि ४०० मेगावाट बिजुली आपूर्ति भइरहेको छ ।
गल्छी–रसुवागढी सडकका लागि मुआब्जा वितरण सुरु
काठमाडौं । राष्ट्रिय गौरवको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा वितरण शुरु भएको छ । अन्तर्राष्ट्रिय राजमार्गको परिकल्पनासहित विस्तार भइरहेको गल्छी–स्याफ्रुबेँसी सडकको स्तरोन्नति गर्न सडक आसपासका दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने जग्गा अधिग्रहण गर्न मूल्य निर्धारण भएअनुसार रकम उपलब्ध गराउन थालिएको सडक योजना कार्यालयका लेखा अधिकृत लीलाधर अर्यालले जानकारी दिए । जिल्लाका साविक दुईपीपल, रातमाटे र जिलिङ गाविसका जग्गाधनीलाई चालू आर्थिक वर्षमा रु २५ करोड उपलब्ध गराइने छ । उनका अनुसार साविकका तीन गाविसका सडकभित्र पर्ने एक हजार ४८१ रोपनी जग्गाका लागि रु चार अर्बभन्दा बढी आवश्यक पर्ने भएकाले बाँकीलाई नयाँ आर्थिक वर्ष शुरु भएलगत्तै उपलब्ध गराउने योजना बनाइएको छ । “साविक तीन गाविसमा पर्ने जग्गाधनी एक हजार ५७३ मध्ये बुधबारसम्म ७०० भन्दा बढी धनीले मुआब्जा उपलब्ध गराउन जग्गाधनी प्रमाणपत्रसहितको निवदेन कार्यालयमा दिएका छन्”, उहाँले भन्नुभयो, “प्राप्त भएको निवेदनअनुसार प्रशासन कार्यालयमार्फत जग्गधनीको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको छ ।” मुआब्जा निर्धारण समितिले सडक विस्तारका क्रममा अधिग्रहण गर्नुपर्ने जग्गा बस्ती विकास भएको स्थानको प्रतिआना रु तीन लाख २५ हजार र बस्ती नभएको स्थानको प्रतिआना रु दुई लाख ५० हजार मुआब्जा रकम निर्धारण गरेको छ । सडक विस्तारअन्तर्गत गल्छीदेखि स्याफ्रुबेँसीसम्मका लागि मुआब्जा दिन रु १० अर्बभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए। ‘गल्छी–रसुवागढी’ सडकले पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हैन । चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने छ । बयासी किलोमिटर दूरीको सडक निर्माणको काम जारी छ । हाल सडक विस्तारको प्रगति २४ प्रतिशत छ ।
डलर बेचेर भारु खरिद बढ्दो, १ वर्षमा ४ अर्ब ५८ करोड डलर बिक्री गरी ३ खर्ब भारु खरिद
काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले भारतीय रिजर्व बैंकबाट २ खर्ब ९७ अर्ब ९० करोड रुपैयाँ भारु खरिद गरेको छ । केन्द्रीय बैंकले भारतीय रिजर्वलाई ४ अर्ब ५८ करोड अमेरिकी डलर बिक्री गरेर सो परिमाण भारु खरिद गरेको हो । भारतबाट वस्तु तथा सेवा खरिद गर्दा भारुमा भुक्तानी गर्ने व्यवस्थाअनुसार राष्ट्र बैंकले अर्बे डलर बेचेर खर्बौ रुपैयाँ भारु खरिद गरेको हो । गत आर्थिक वर्षमा केन्द्रीय बैंकले ४ अर्ब १२ करोड डलर भारतीय रिजर्वलाई बिक्री गरी २ खर्ब ७३ अर्ब ५८ करोड भारु खरिद गरेको थियो । गत आवको भन्दा चालु आवमा भारु खरिद बढेको छ । भारतबाट आयात बढेकाले भारु खरिद बढेको राष्ट्र बैंकले जनाएको छ । आयात बढेका कारण मुलुकको भुत्तानी संन्तुलन ऋणात्मक हुन पुगेको छ । व्यापार घाटा २४.६ प्रतिशत बढेर १० खर्ब ३३ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
पहिराले मध्यपहाडी राजमार्ग सिन्धुलीखण्ड अवरुद्ध
सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। राजमार्गमा माटो खस्ने क्रम जारी रहेकाले पन्छाउन सहज नहुँदा सडकमा सवारी आवागमन रोकिएको छ । सडकमा थुप्रिएको माटो पन्छाउन आवश्यक पहल भइरहेको छ । राजमार्गमा रहेका सवारी साधनलाई सुरक्षका साथ राख्दै माटो पन्छाउनका लागि प्रहरी टोली त्यसतर्फ गएको छ । वर्षात् रोकिएपछि सडकको माटो पन्छाइने उनको भनाइ छ । यसअघि गत जेठ २९ गते पनि मध्यपहाडी राजमार्ग सिन्धुलीखण्डअन्तर्गत सुनामबेसीमै माथिबाट माटाको लेदो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । राजमार्गभन्दा माथिबाट नयाँ ग्रामीण सडकको नयाँ मार्ग खनिएकाले माथिबाट खस्ने लेदो माटाका कारण राजमार्ग अवरुद्ध हुने गरेको प्रहरी उपरीक्षक यादवको भनाइ छ । गए रातिदेखि वर्षात् भए पनि जिल्लामा अन्य कुनै क्षतिको विवरण आएको छैन । सिन्धुलीका सम्भावित बाढी पहिराका उच्च जोखिम रहेका स्थानमा प्रहरीले सजगता अपनाउन आग्रह गरेको छ । जिल्लाका सबै प्रहरी एकाइलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको पनि उनले जानकारी दिए। रासस
अरनिको र बिपी राजमार्ग पनि अवरुद्ध
बनेपा । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ । यसबाट अरनिको राजमार्ग करीब तीन घण्टादेखि ठप्प छ । बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेको शाहले बताए। मानवीय क्षति नभए पनि खोला बढेका कारण यातायातको कुनै पनि साधन चल्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार वर्षाका कारण बिपी राजमार्गका तीन चार ठाउँमा सडक अवरुद्ध भएको छ । सडकका ठाउँ–ठाउँ भासिने र माथिबाट झरेको ढिस्काबाट सडक पुरिएका कारण काभ्रेभञ्ज्याङ, मंगलटारलगायत ठाउँमा सडक अवरुद्ध रहेको उनले जानकारी दिए। खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सीस्थित रोशी खोलाको बीचमा परेका स्थानीय बासिन्दा दुई जनाको उद्धारका लागि प्रहरीको टोली गएको छ । रासस
भारी वर्षाले भक्तपुर र थिमि डुबानमा, हजाराै मानिस घरैमा थुनिए
भक्तपुर । गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् । राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिए। जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिए । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् । यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दा अमर थापाले बताए । रासस
बीपीसीकाे नगद लाभांश आजदेखि वितरण सुरु, सेयरधनीले प्रतिकित्ता २० रुपैयाँ पाउने
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले आज बिहीबारदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । बीपीसीले गत आर्थिक वर्षमा गरेको नाफाबाट प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गर्न लागेको हो । सेयर रजिष्टार एनएमबी क्यापिटल लिमिटेडले सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिने भएको छ । डिम्याट खाता अद्यावधिक गर्न बीपीसीले लगानीकर्तालाई भनेको छ , सेयरधनीको संख्या धेरै भएकाले क्रमश बैंक खातामा लाभांश जम्मा हुने बीपीसीले जानकारी दिएको छ । साधारणसभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका सेयरधनीको हितग्राही बैंक खाताको विवरण अद्यावधिक भएको हकमा सोही खातामा रकम जम्मा हुने भएको छ ।
कात्तिक २३ देखि अपी पावरको लक इन पिरियड सकिदै, संस्थापक सेयर किनबेच गर्न पाइने
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडको संस्थापक सेयर आउदो कात्तिक २३ गतेदेखि बिक्री गर्न पाइने भएको छ । कम्पनी नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको ३ वर्ष पुरा भएकाले संस्थापकले आफनो सेयर बिक्री गर्न पाउने भएका हुन् । त्यसपछि संस्थापक र साधारण सेयरको प्रकृति एउटै हुनेछ । नेप्सेमा सुचिकृत भएको ३ वर्षसम्म संस्थापक सेयरमा लक इन पिरियड रहने गरेको छ । कम्पनीको १ करोड ४० लाख कित्ता सेयर नेप्सेमा सुचिकृत छ । अपीको सेयर मूल्य प्रतिकित्ता २९१ रुपैयाँ छ । बजार पुँजीकरण ३ अर्ब २९ करोड ९९ लाख रुपैयाँ छ । अपीले ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८ मेगावाटको माथिल्लो नौगाड आयोजना निर्माण गरिरहेको छ ।