डोल्मा फण्डले नेपालमा १५० मेगावाट सौर्यऊर्जा उत्पादन गर्ने, २० अर्ब ल्याउन स्वीकृति पायो
काठमाडौं । डोल्मा हिमालयन क्लाईमेट फन्ड (डीएचसीएफ) नेपालमा १५० मेगाावटको सौर्य ऊर्जा उत्पादन गर्ने भएको छ । लगानी बोर्डबाट २० अर्ब रुपैयाँ अर्थात २० करोड अमेरिकी डलर वैदेशिक लगानी गर्न स्वीकृति पाएको फण्डले सौर्य ऊर्जाका साथै २० मेगावाटको ब्याट्री भण्डारणको काम पनि गर्ने भएको छ । फण्डले शुक्रबार एक प्रेश विज्ञप्ति प्रकाशित गरी साँझको बिजुलीको माग पुरा गर्न नेपालमा सौर्य प्रविधिबाट ऊर्जा उत्पादन गर्न लागेको जानकारी दिएको छ । फण्डले सानिमा हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको २८.१ मेगावाटको तल्लो लिखुमा समेत लगानी गरेको जानकारी दिएको छ । यस्तै कृषि र प्रविधिलगायत धेरै उत्पादनशील क्षेत्रमा लगानी गरेको फण्डले बताएको छ । नेपालमा लगानी गरेर ३ हजारलाई रोजगारी दिएको डोल्माले प्रेश विज्ञप्तिमा उल्लेख गरेको छ ।
भारुमा ऋण लिने एसिबआई र एभरेष्ट बैंकले मात्रै हो
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल एसबिआई बैंक र एभरेष्ट बैंकले मात्रै भारतीय रुपैंयाँमा ऋण सक्ने बताएका छन् । अर्थमन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा उनले भारती लगानीका यी दुई बैंकले मात्रै भारतीय मुद्रामा ऋण लिन सक्ने बताएका हुन् । उनले यस अघि पनि नेपालमा अधिक तरलता हुँदा भारतमा डिपोजिट गर्ने अभ्यास गरिएको बताउँदै हाल भारतमा न्युन ब्याजदरमा पैसा उपलब्ध हुन सक्ने भएकाले ऋण ल्याउन सकिने बताएका हुन् । हाल बाणिज्य बैंकहरुले आफ्नो प्राथमिकत पुँजीको २५ प्रतिशतसम्म विदेशबाट ऋण लिन सक्ने व्यवस्था मौद्रिक नीति मार्फत गरिएको छ । उनले वित्तिय क्षेत्रको तरलता अभावको समाधानका लागि आन्तरिक निक्षेपले मात्रै नपुग्ने भन्दै विदेशीबाट ऋण ल्याउनुको विकल्प नरहने बताउँदै आएका छन् । उनले देशको विकासका लागि केहि खर्ब रुपैंयाँ विदेशी बैंक तथा वित्तिय संस्थाबाट ऋण लिनु अपरिहार्य भएको पनि बताए ।
१४ सहकारी संस्थालाई वित्तीय कारोबारमा अङ्कुश, सबैभन्दा बढी काठमाडौंका
काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ जिल्लाका १४ सहकारी संस्थालाई वित्तीय कारोबार गर्न अङकुश लगाएको छ । यसअघि उक्त सहकारी संस्थालाई सीमित बैंकिङ कारोबार गर्न अनुमति प्रदान गरेको थियो । काठमाडौं ४, काभ्रेपलाञ्चोक २, कैलाली २, सर्लाही १, बाँके २, स्याङ्जा १, मोरङ १ र नवलपरासीको १ सहकारी संस्थाले साउन १ गतेबाट बैंकिङ कारोबार गर्न नपाउने भएका हुन् । राष्ट्र बैंकले जारी गरेको सूचनामा काठमाडौंका सगुन सहकारी संस्था क्षेत्रपाटी, नेपाल सहकारी वित्तीय संस्था नयाँ बानेश्वर, महिला सहकारी संस्था कुलेश्वर, हिमालय सहकारी संस्था पुरानो बानेश्वर रहेको छ । त्यसैगरी, काभ्रेको बिन्दवासिनी बचत तथा ऋण र मनकामना सहकारी संस्था लिमिटेड, कैलालीको नवजीवन सहकारी र किसान बहुउद्देश्य, सर्लाहीको द सहारा लोन सेभिङ कोअपरेटिभ्स सोसाइटी, बाँकेको सहकारी वित्तीय विकास संस्था र भेरी सहकारी वित्तीय संस्था छन् । अन्य सहकारीमा स्याङ्जाको उपकार बचत तथा ऋण, मोरङको स्टार वहुउद्देश्य र नवलपरासीको बिकु बचत तथा ऋण सहकारी संस्था छन् । नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभाग, बालुवाटारले सर्वसाधारणका लागि जारी गरेको सूचनामा उक्त सहकारी संस्थालाई सीमित बैंकिङ कारोबार गर्न रद्द गर्दै नियामकीय तथा सुपरीवेक्षकीय दायराबाट अलग गरिएको उल्लेख छ । नेपालमा कूल ३४ हजार ५१२ सहकारी संस्था छन् । त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ६३ लाखले रोजगार पाएका छन् भने ती संस्थामा पुग नपुग ४ खर्ब रूपैयाँ पूँजी परिचालन छ । सरकारले अङ्गीकार गरेको तीन खम्बे अर्थनीतिमा सहकारी संस्थालाई एक खम्बाका रुपमा परिभाषित गरिएको छ । रासस
२५ हजार तलब माग्दै मजदुर युनियन आन्दोलनमा
काठमाडौं । सरकारले हालै सार्वजानिक गरेको मजदुरहरुको न्युनतम पारिश्रमिकले आम मजदूरहरुलाई अपमान गरेको भन्दै चारवटा मजदूर संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् । बढ्दो महंगीलाई ख्याल गरी मजदूर संगठनहरुले मासिक २५ हजार रुपैयाँ पारिश्रमिक तोक्न माग समेत गरेका छन् । शुक्रबार संवाद डबलीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल र नेकपा (माले) निकट प्रगतीशिल स्वतन्त्र ट्रेड युनियन महासंघ (पिकोण्ट)ले संयुक्त पत्रकार सम्मेलन गरेर नयाँ आन्दोलनको घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा गोपाल कीराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष राजन तिमल्सिनाले विगतजस्तै यो सरकारले पनि मजदुर मारा नीति ल्याएको भन्दै आकोश पोखे । उनले आफ्ना मागहरु र खबरदारीहरुको बेवास्ता गरे कडाभन्दा कडा आन्दोन गर्ने चेतावनी समेत दिए । ‘नो वर्क नो पे’ तथा ‘हायर एण्ड फायर’ विरोधी संगठनहरुसँग सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी समेत तिमिल्सिनाले दिए । पत्रकार सम्मेलनमा सरकार, रोजगारदाता र कथित टे«ड यूनियनका प्रतिनिधिसहित सहभागी रहेको भनिएको न्युनतम वेतन निर्धारण समितिले गरेको सो निर्णय र प्रकृयाप्रति आफूहरुकोे गम्भिर असहमती रहेको मजदूर नेताहरुले बताएका थिए । “कम्युनिष्ट नामधारी पुँजीवादी सरकारले गठन गरेको सो समितिमा सरकार पक्षीय सिण्डीकेटधारी पुुँजीपतीका काठपुतली टे«ड युनियनहरुको मात्र प्रतिनिधित्व र प्रभावमा परि अन्य श्रमिक पक्षीय टे«ड युनियनहरुको प्रतिनिधित्व नगराई गरिएको निर्णय श्रमिक विरोधी र भत्र्सनापूर्ण रहेको छ” पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ । संयुक्त विज्ञप्तिमा सरकारले दलाल पूँजीजतीवर्ग र उनीहरुका काठपुतली टे«ड युनियनको सहमतिमा प्रचलित बजार मुल्य, महंगी, श्रमिकको जीवनस्तर, अन्तर्राष्ट्रिय श्रम मापदण्ड, छिमेकी देशहरुको वेतनको अवस्था, नेपाल सरकारको सरकारी तथा निजामती कर्मचारीको तलवमानलाई समेत ख्याल नगरी उनीहरुकै दवावमा निणर्य गर्नु खेदपूर्ण भएको बताइएको छ । सरकारले रोजगारी वृद्धि गर्नुको साटो उल्टै गरिव तथा निमुखा श्रमिकहरुको रोजगारी खोसेर पुँजीवादी दरिद्रता प्रदर्शन गर्न खोजेको बताइएको छ । श्रमिकहरुको मौलिक अधिकारको समेत ख्याल गर्दै सरकार, रोजगारदाता र अन्य सरोकारवाला संघ–सस्थाहरुलाई आफ्ना कमजोरी सच्याई सबै श्रमिक पक्षीय टे«ड युनियनको सर्वपक्षीय सहमतिबाट नयाँ वेतन निर्धारण गर्न विज्ञप्तिमा माग गरिएको छ ।
५ नम्बर प्रदेशमा कुनै पनि शीर्षकमा कर बढेको छैन : शंकर पोखरेल
काठमाडौं । ५ नम्बर प्रदेशमा कुनै पनि शीर्षकमा करको दायरा नबढेको मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा पोखरेलले चालु आर्थिक वर्षका लागि कर नबढेको बताएका हुन् । उनले भनेका छन्-‘ ५ नम्बर प्रदेश सरकारले कुनै पनि कर बढाएको छैन, बरु जिल्लास्तरमा लाग्दै आएको निकासी कर पटके सवारी कर हटाएको छ ।’
अर्थमन्त्री भन्छन्ः मलाई दातृ निकाय र निजी क्षेत्रले विश्वास गरिसके
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफुलाई विदेशी दातृ निकाय र निजी क्षेत्रले विश्वास गरिसकेको दावी गरेका छन् । अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री डा. खतिवडाले सन्तुलित बजेट, वित्तीय अनुशासनको कार्यक्रम अघि सारेकाले आफुलाई विदेशी दातृ निकायले विश्वास गरेको बताएका हुन् । ‘हामीले ल्याएको सन्तुलित बजेट, वित्तीय अनुशासनको बिधिले दातृ निकायहरु पनि विश्वस्त भएका छन्, थप सहयोगका लागि प्रतिवद्धता पनि बढाईरहेका छन् ।’, मन्त्री खतिवडाले भने । उनले पछिल्लो चार महिनामै आफुले ५० अर्ब विदेशी ऋणका लागि छलफल अन्तिम चरणमा पुर्याएको पनि जानकारी दिए । त्यस्तै, स्वदेशी तथा विदेशी निजी क्षेत्रले समेत आफुलाई विश्वास गरिसकेको उनको दावी थियो । ‘प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता पनि बढेको छ, स्वदेशी निजी क्षेत्र पनि उत्साहित देखिन्छ, नेपालमा लगानी गरेपछि राम्रो प्रतिफल पाइन्छ भन्नेमा निजी क्षेत्र विश्वस्त बनिरहेको छ’, मन्त्री खतिवडाले भने । करमा एग्रेसिभ भएकै हो मन्त्री खतिवडाले सरकार करमा भने एग्रेसिभ भएको स्वीकार गरेका छन् । ‘जुन पुस्ताले उपभोग गरेको हो, त्यति पुस्ताले कर तिर्नु पर्छ, इन्टरनेटका सवालमा हामीले त्यहि गरेका हौं, हामी करमा भने एग्रेसिभ भएकै हौं’, खतिवडाले भने । उनले आजको पुस्ताले उपयोग गरेको बस्तु तथा सेवा वापतको ऋण भावी पुस्तालाई बोकाउन नसकिने स्पष्ट पारे । सम्मेलनमा राजश्व सचिव शिषिर ढुंगानाले गत आर्थिक बर्षमा राजश्व संकलनको लक्ष्य कसरी पुरा गरियो भन्नेबारे फेहरिस्ता सुनाएका थिए । एनले गत आवमा समग्र राजश्व २०.९१ प्रतिशतले बढेको जानकारी दिए । भ्याट तर्फ २९ प्रतिशत, भन्सार तर्फ २१.७ प्रतिशत, अन्तशुल्क तर्फ २१.१ प्रतिशत र आयकर तर्फ ७.८१ प्रतिशतले वृद्धि भएको उनले बताए । त्यस्तै, गैर कर राजश्व संकलनको दर भने १७.९ प्रतिशतले वृद्धि भएको जानकारी उनले दिएका थिए ।
सानिमा बैंकले ल्यायो कर्जा सिमा परिक्षण गर्ने प्रविधि, प्रयोगकर्तालाई सेवा शुल्कमा आकर्षक छुट
काठमाडौं । सानिमा बैंकले सानिमा अनलाइन कर्जा सिमा परीक्षण तथा कर्जा आवेदन दिने प्रविधि ल्याएको छ । यस प्रविधि मार्फत कम्प्युटर, मोबाइल वा ट्यावलेट जस्ता उपकरणहरुको प्रयोग गरी घरै बसी आफ्नो कर्जा सिमा थाहा पाउन सकिने छ । यसका साथै कर्जा आवेदन पनि दिन सकिने बैंकले जनाएकाे छ । यस प्रविधिको प्रयोग गरि कर्जा आवेदन गर्ने ग्राहकलाई कर्जा सेवा शूल्कमा आकर्षक छुटको व्यवस्था गरिएकोे छ । बैंकले ग्राहकको सुविधाका लागि नयाँ प्रविधिको प्रयोग गर्दै आएको छ । चेक जम्मा गर्ने केआईओएसके, मोबाइल मनी ट्रान्सफर, सेक्योर इएमभी चिप कार्ड जस्ता प्रविधी बैंकले पहिले नै ल्याइसकेको छ । साथै, यो प्रविधि मार्फत ग्राहकले कर्जा सिमा थाहा पाउने र कर्जा आवेदन दिने हुँदा कर्जा प्रकृया अझ सजिलो हुने बैंकले जनाएको छ । यो सेवा प्रयोग गर्न बैंकको वेबसाइट www.sanimabank.com मा लग ईन गर्नुपर्ने हुन्छ ।
सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ २०अाैं वर्षमा, ३९१ जनाद्धारा रक्तदान
काठमाडौं । सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २० औं वर्ष प्रवेशको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको केन्द्रीय कार्यालय पुल्चोकमा आयोजित कार्यक्रममा ३९१ जनाले रक्तदान गरेको सहकारीको निर्देशक हेमराज दाहालले जानकारी दिए । सहकारीले ललितपुरको पुल्चोक र धापासी, काठमाडौंको कालिमाटी र भक्तपुरको गठ्ठाघर शाखाबाट बचत तथा ऋण सेवा प्रदान गर्दै आएको छ । १९ वर्षअघि सहकारीमार्फत व्यवसायिक कारोबार थालेको सुमेरु समूहले हाल सुमेरु अस्पताल, सुमेरु डाइनोष्टिक, सुमेरु मेडिकल कलेज, सुमेरु मनि एक्सचेन्ज, सुमेरु प्रिन्टिङ हाउस, सुमेरु योग व्यायामशाला, सुमेरु इन्भेष्टमेन्ट एण्ड रेमिट्यान्स, सुमेरु हाउजिङ एण्ड डेभलपमेन्ट क्षेत्रमा लगानी गरी सेवा विस्तार गरेको छ ।