३१ प्रतिशतले बढ्यो बीमा बजार, नयाँ कम्पनीको हिस्सा कति ?
काठमाडौं । एक बर्षकै अवधिमा बीमा बजार ३१.१६ प्रतिशतले वृृद्धि भएको छ । बीमा समितिले तयार पारेको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क सम्बन्धी प्रारम्भिक तथ्यांक अनुसार गत आर्थिक बर्षमै प्रिमियमको आकार ३१.१६ प्रतिशतले बढेर ४२ अर्ब ५ करोड पुगेको हो । अघिल्लो आर्थिक बर्ष २०७३।७४ मा त्यस्तो प्रिमियम जम्मा ३२ अर्ब ६ करोड रुपैंयाँ मात्रै थियो । जीवन बीमा कम्पनीको बजार ३२.५१ प्रतिशतले बढेको हो भने निर्जीवनको बजार ११.५० प्रतिशतले बढेको हो । गत आर्थिक बर्ष २०७४।७४ मा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ९९ करोड प्रिमियम वृद्धि गर्न सफल भएका हुन् । साे अवधिमा जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९२ करोेड प्रिमियम संकलन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब १३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जीवन बीमा कम्पनीको कुल प्रिमियम अघिल्लो बर्ष १३ अर्ब ३ करोड थियो भने निर्जीवन बीमा कम्पनीहरुको प्रिमियम १९ अर्ब मात्रै थियो ।बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बीमा पहुँच ११ प्रतिशत पुगेको बताए । उनले आगामी २ बर्षभित्र बीमा पहुँचलाई १४ प्रतिशत भन्दा माथी पुर्याउने दावी पनि गरे । नयाँ कम्पनीको योगदान कति ? गत आर्थिक बर्षमा मात्रै लाइसेन्स पाएका ९ वटा नयाँ जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४८ करोड प्रिमियम संकलन गर्न सफल भएका छन् । पुराना ९ वटा कम्पनीहरुले गत बर्ष १६ अर्ब ४४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । नयाँ जीवन बीमा कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब २५ करोड प्रिमियम संकलन गरेको छ भने आईएमई लाइफले ५२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । रिलायबल लाइफले ४२ करोड संकलन गर्दा सिटिजन लाइफले पनि ४० करोड पुर्याएको छ । ज्योति लाइफ र सन नेपाल लाइफले भने २८/२८ करोड रुपैंयाँ प्रिमियम संकलन गरेका छन् । प्रभु लाइफले ११ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सानिमाले ९ करोेड र रिलायन्सले ८ करोड रुपैंयाँ प्रिमियम संकलन गर्न सफल भएका छन् । निर्जीवन बीमा कम्पनी तर्फ जनरल इन्स्योरेन्स कम्पनीले ३३ लाख, अजोड इन्स्योरेन्सले २४ लाख र सानिमाको २ लाख रुपैयाँ रहेको छ ।
बीमा भनेको जोखिम हस्तान्तरणसँगै लगानी पनि हो-प्रविनरमण पराजुली
मर्चेन्ट बैकिङ क्षेत्रमा राम्रो छवि बनाएका प्रविण रमण पराजुली पछिल्लो ६ महिनादेखि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । मर्चेण्ट बैंकिङमा राम्रो दख्खल राख्ने पराजुलीले नयाँ जीवन बीमा कम्पनीको कमाण्ड गरेर आफूलाई प्रमाणित गर्ने प्रयास मात्रै गरिरहेका छैनन्, कम्पनीको उचाई बढाउने प्रतिवद्धता पनि गरिरहेका छन् । प्रस्तुत छ नयाँ कार्य क्षेत्र, नयाँ कम्पनी र पुराना कम्पनीसँगको प्रतिष्पर्धाका बारेमा विकासन्युजले पराजुलीसँग गरेको विकास बहस । प्रविनरमण पराजुली, प्रमुख कार्यकारी अधिकृत, रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड मर्चेन्ट बैंकरबाट लाइफ इन्स्योरेन्स कम्पनीको सिइओ बन्न आउनु भएको छ, कस्तो छ चुनौति ? म सधैँ चुनौति लिने मान्छे हुँ । यो चुनौति र अवसर दुबै हो । फरक क्षेत्रको मान्छे मलाई यो क्षेत्रको नेतृत्व गर्ने अवसर दिनु भएको छ, त्यसले मलाई छुट्टै उत्प्रेरणा पनि दिएको छ । यो जोखिमलाई अवसरका रुपमा बदल्ने अघि बढ्ने हो । बीमा पोलिसी तयार गर्दा वा बीमाको प्राविधिक पक्षमा निर्णय लिनुपर्दा कतै कन्फ्युजनमा परेको जस्तो लाग्छ कि ? अध्ययन भनेको सधै निरन्तर हुन्छ । सिक्ने कुरा कहिल्यै सकिँदैन् । एक्सपर्टहरुले पनि शंकाको सुबिधामै काम गर्ने हो । पोलिसीलाई अन्तिम चरणमा पुर्याउँदा मैले अलि मेहनत गर्नु पर्छ नै । काम गर्दै सिक्दै जाने हो । मुल कुरा भनेको सोँच नै हो । मैले सोचे जस्तै भएको छ । के सोच्नु भएको थियो, के के गर्नु भयो ? मैले संस्थालाई एउटा उचाईमा पुर्याउछु भन्ने सोचेको थिए । त्यो करिब पुरा भएको छ । संस्थालाई जहाँ पुर्याउँछु भन्ने थियो त्यो पुरा भएको अनभूति गरेको छु । साढे ८ वर्ष नविल इन्भेष्टमेन्टमा काम गर्दा त्यो संस्थालाई सोचेकै ठाउँमा पुर्याएँ भन्ने लाग्छ । अब संस्था र क्षेत्र बदल्छु भन्ने सोचेको थिए, त्यति बेला नै यता आउने अवसर प्राप्त भयो । यहाँ आएर पनि सोचेकै अनुसार काम गरिरहेको छु । यो संस्थाले तपाईसँग गरेको अपेक्षा पुरा गरिरहनु भएको छ ? अहिले नै त्यति अगाडि बढेर सोच्ने बेला भएको छैन । म ६ महिना अघि संस्थामा आएको थिएँ । शाखा विस्तार भएको थिएन । कर्पाेरेट अफिस पनि सेटअप भैसकेको थिएन । एकाध पोलिसी मात्रै तयार भएका थिए । आज हामी धेरै अघि बढिसकेको छ । के के काम भयो आजसम्म ? आजका दिनमा हामी १६ वटा शाखाबाट सेवा दिईरहेका छौं । ३२ वटा शाखा तयारी अवस्थामा छन् । ६ वटा पोलिसी बेचिरहेका छौं । एजिएमको तयारी पुरा भयो । कर्मचारी व्यवस्थापन पनि निकै अघि बढिसकेको छ । हामीले यस अवधिमा गनुपर्ने कामको ९५ प्रतिशत काम गरेका छौं, सफलता प्राप्त गरेका छौं । यतिबेला काम गर्ने आधार तयार भएको छ । अर्काे आर्थिक वर्षमा बजारमा राम्रो उपस्थितिका लागि हामी तयारी अवस्थामा पुगेका छौं । यसपाली व्यापारै चाँही राम्रो छैन तर अर्काे वर्ष सोचे अनुसारकै बिजेनश हुनेछ । गत आर्थिक वर्षमा निर्धारण गरिएको लक्ष्य १०० प्रतिशत भएन भने त्यो सफल भएको मानिन्न । केहि प्रतिशत नपुग्नु भनेको लक्ष्य नभेटिनु नै हो । हामीले धेरै काम गर्नुपर्ने छ तर बजारमा एक स्तरको छवि भने निर्माण गरिसकेका छौं । बजारले रिलायन्स लाइफलाई चिन्न थालेको छ । आगामी वर्ष गर्नै पर्ने काम के के छन् ? मुलतः शाखा विस्तारमा विशेष ध्यान जान्छ । प्रडक्टको विकास गर्नुपर्नेछ । अलि नयाँ खाले पोलिसी ल्याउनु पर्नेछ । त्यसका लागि केहि रिसर्च पनि गर्नुपर्नेछ । बजारमा नभएका केहि नयाँ पोलिसी ल्याउने प्रयास गर्नेछौं । धातक रोगहरुको पोलिसीमा नेपालमा ७, ११ र १८ वटा रोग समेटेका छौं । १८ वटासम्म रोग समेट्ने नेपालमा रिलायन्स इन्स्योरेन्स मात्रै हो । अहिले पोलिसी खरिद गर्दा अतिरिक्त करार गर्न पाइन्छ । १० लाखको पोलिसी लिँदा घातक रोगको पोलिसी अतिरिक्त लिन सकिन्छ जसमा न्युनतम शुल्क मात्रै तिर्दा हुन्छ । नेपालका सन्दर्भमा १८ वटा रोग समेट्ने योजना हाम्रो मात्रै हो । चाईल्ड प्लानमा पनि हामी नयाँ गरिरहेका छौं । डबल प्रोटेक्सन दिईरहेका छौं । नयाँ कम्पनीका बीचमा पनि प्रतिष्पर्धा छ, कस्तो महशुस भैरहेको छ ? प्रतिष्पर्धा भनेको नयाँ र नयाँका बीचमा मात्रै होइन । पुरानाहरुसँग पनि प्रतिष्पर्धा छ । प्रतिष्पर्धा भनेको बजारमा नयाँ हुने कुरा हो । म बाहिरबाट आएको मान्छे हुँ । त्यसकारण यहाँको भिन्नता के हो ? कहाँ बजारमा जान सकेको छैन् ? कुन क्षेत्रमा अवसर छ भन्ने कुरा बाहिरबाट राम्रोसँग हेर्न सकिने रहेछ । कुन क्षेत्रमा बढि सम्भावना रहेछ ? मुल कुरा भनेको अरु भन्दा फरक हुनु नै हो । नयाँ पोलिसी, गुणस्तरीय एजेण्टको निर्माण, बजारको अवस्थाको अध्ययन लगायतका कुरामा ध्यान दिनुपर्नेछ । तपाईहरुका पोलिसीमध्ये बजारमा साह्रै रुचाईएको कुन चाँही हो ? हामीले चाईल्ड प्रडक्ट ल्याएका छौं जुन अरु भन्दा फरक छ । त्यसमा चाईल्ड प्लान लिँदा अविभावकका लागि पनि सुरक्षा दिएका छौं । रिटर्न भन्दा पनि सुरक्षाका लागि भनेर यो पोलिसी ल्याएका हौं । बोनसलाई भन्दा सुरक्षालाई ध्यान दिनुपर्छ । यो प्रडक्टमा त्यहि गरेका छौं । नागरिकले कुन प्रडक्ट खरिद गर्ने भन्ने छनौट गर्न पाउनु पर्छ । एजेण्टले त प्रडक्टको बारेमा बताउने मात्रै हो, नागरिकले आफैं फलानो पोलिसी लिनुपर्छ भनेर सोच्न सक्ने वातावरण बनाउनु पर्छ । विकाशोन्मुख मुलुकहरुमा इन्स्योरेन्सलाई प्राथमिकतामा ल्याउन नसकिएको हो ? हामीले वित्तीय योजना बनाउँदा इन्स्योरेन्सलाई कहिल्यै समावेश गरेको हुन्नौ । खाली बैंकमा डिपोजिट गर्ने वा अन्य विकल्पबारेमा मात्रै सोच्छौं । पाँच लाख रुपैंयाँ हुनेले बैंकमा राख्न वा अरु काम गर्न चाहान्छ । तर उसको जीवन तलमाथी भयो भने जम्मा आउने पाँच लाख मात्रै हो । तर इन्स्योरेन्स गर्ने हो भने जोखिम हस्तान्तरण हुने थियो । तर हामीले त्यतातिर सोचिरहेका छैनौं । यो प्रक्रियालाई वित्तीय योजना बनाउँदा खासै सोच्ने गरिएकै छैन । बैंकहरुले ऋण दिने बेलामा ऋणीको जीवन बीमा गराउने बारे केहि योजना बनेको छ ? ऋण दिने बेलामा त्यसबारेमा केहि न केहि भन्ने गरेका छौं । कुन दिन कसलाई के हुन्छ, थाहा हुन्न । मुल ऋणीको जीवन तलमाथी भयो भने पनि लगानी नडुबाउनका लागि र परिवारको समेत जोखिम बहनका लागि ऋणीको बीमा गराउनुपर्छ । जोखिम हस्तान्तरण अनिवार्य भैसकेको छ । हामीले संस्थालाई कसरी बलियो बनाउने भन्नेबारे काम गरिरहेका छौं । संस्था बलियो भएपछि बीमा शुल्क आफैं बढ्नेछ । हामी स्वतन्त्र क्षेत्रबाट आएका मान्छेहरुले मार्केटको ग्याप देख्छौं । त्यसलाई समातेर बजारमा नयाँपन दिने काम पक्कै पनि हुनेछ । हामीले ल्याएका पोलिसीहरु अन्य कम्पनीले पनि गरौं न त भन्दा हामी धेरै अघि बढिसकेको हुनेछौं । टार्गेट समूह पनि बनाउनुभएको छ ? हामी जस्तो नयाँ कम्पनीले टार्गेट समूह बनाउनु उपयुक्त हुन्न । हामीले साना देखि ठूला सबैलाई समेट्ने प्रयास गरेका छौं । मुल कुरा भनेको नयाँपन दिने भन्ने नै हो । बजारमा भएका अन्य पोलिसी भन्दा फरक ल्याउनु पर्छ । बजारको अवस्था हेरेर सबैलाई मिल्ने खालका योजना ल्याउनु पर्छ । हामीले साना देखि ठूला सबै उपभोक्तालाई समेट्नु हाम्रो प्रयास हो । नागरिकले सेयरमा लगानी गर्न भन्दा वा बैंकमा निक्षेप राख्न भन्दा पहिला बीमा पोलिसी खरिदलाई प्राथमिकता दिने दिन कहिले आउला ? त्यस्तो दिन पक्कै पनि आउँछ । तर त्यसका लागि फाइनान्सियल प्लान बनाउँदा इन्स्योरेन्सलाई पनि समेट्ने अवस्था निर्माण गरिनुपर्छ । त्यस्तो वातावरण बनाउन चेतना बढाउनु आवश्यक हुन्छ । मानिसले आफूसँग भएको पैसालाई फरक फरक ढंगले लगानी गर्नु पर्छ । जोखिम हस्तान्तरण गराउनुपर्छ । नयाँ इन्स्योरेन्स कम्पनीको आइपीओमा सर्वसाधारण लगानीकर्ताको चासो छ, कहिले ल्याउन सकिने अवस्था हो ? नयाँ बीमा कम्पनीको आईपीओका बारेमा केहि कन्फ्युजन छन् । उदेश्य अनुसार एक आर्थिक वर्षको कारोबार गरेको हुनुपर्ने भनिएको छ । त्यसलाई बीमा समितिले पूरा आर्थिक वर्ष भन्न सक्छ, धितोपत्र बोर्डले पनि त्यस्तै भन्न सक्छ । मेरो साधारण बुझाई भनेको चाँही पुरा आर्थिक वर्ष होइन । उदेश्य अनुसार एक वर्ष कारोबार गरेपछि आइपीओ निष्काशन गर्न दिनुपर्ने हो । इन्स्योरेन्स कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ ल्याउने अवस्था रहन्छ ? हामीलाई चाँडै पुँजी पुर्याउनु पर्ने बाध्यता छ । ३ बर्ष नाफामा गएपछि मात्रै प्रिमियम मूल्यमा आइपीओ जारी गर्न पाइन्छ । हामीले आगामी आर्थिक वर्षभित्रै पुँजी पुर्याउनुपर्ने अवस्था छ । प्रिमियम मूल्यमा आइपीओ निकाल्न चार पाँच वर्ष कुर्नुपर्ने हुन्छ । त्यसकारण अहिलेकै अवस्थामा प्रिमियम मूल्यमा आईपीओ निकाल्ने सम्भावना देखिन्न । त्यसमा धेरै प्राविधिक कठिनाई छन् । सेयर बजार घटिरहेको छ, प्रिमियम मूल्यका आइपीओ बिक्री भैरहेका छैनन्, आइपीओ नबिक्ने जोखिम देख्नुहुन्छ ? नियामकले पनि एक आर्थिक वर्षको वित्तीय विवरण लिएर मात्रै आइपीओमा जान पाइन्छ भन्नुको कारण पनि विश्वास बनोस् भन्न कै लागि हो । हामी विश्वस्त छौं कि हाम्रो आईपीओ पक्का बिक्छ । यस कम्पनीको संस्थापक लगानीकर्ताहरुको आधारले पनि आइपीओमा कुनै समस्या हुन्न । ३ बर्षको प्रोजेक्सन गर्नुपर्ने व्यवस्था पनि छ । सबै संस्थालाई केहि न केहि जोखिम चाँही छ तर हामीलाई कुनै समस्या हुन्न । एक सय रुपैंयाँको सेयर खरिद गराउन कुनै ठूलो कसरत गर्नु पर्दैन ।
नबिल बैंक र एशियन नेट कम्पनीबीच विप्रेषण व्यवसाय सञ्चालन गर्ने सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र जापानको एशियन नेट कम्पनी लिमिटेडबीच विप्रेषण व्यवसाय सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका चिफ बिजनेस अफिसर अनिलकुमार खनाल र एशियन नेट कम्पनीका अध्यक्ष हिगासिदा शुजेनले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात जापानमा रहेका नेपालीहरुले आफ्नो नबिल बैंकमा रहेको खातामा वा नेपाल भरी जुनसुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तिय संस्थाहरुको खातामा नबिल बैंक मार्फत रकम पठाउन सक्नेछन् । यस व्यवस्थाबाट नबिल बैंकले जापानबाट आफ्ना ग्राहकहरुका लागि सुरक्षित, सस्तो र छिटो माध्यमबाट जापानबाट रकम पठाउने काम गर्नेछ । एशियन नेट कम्पनीको बारेमाः एशियन नेट कम्पनी लिमिटेड जापान सरकारबाट इजाजतपत्र प्राप्त दुरसञ्चार तथा मनी ट्रान्सफर व्यवसाय सञ्चालन गर्ने कम्पनी हो । यो सन १९९७ मा स्थापना भएको हो र यो कम्पनी विभिन्न अन्तरराष्ट्रिय फोन सेवा तथा सञ्चार ब्यवसायमा संलग्न रहेको छ ।
दु:खी छु, पिडामा छु विश्वकप हारेपछि झन् आलोचनाको सिकार भएँ: नेइमार जुनियर (भिडियोसहित)
काठमाडौं । ब्राजिलका स्टार स्ट्राइकर नेइमार जुनियर सेन्ट परिस जर्मनको ट्रनिङ सेसनमा फर्किएका छन् । विश्वकपमा बेल्जियमसित हारेपनि उनी पहिलो पटक ट्रेनिङ फर्किएका हुन् । नेइमारले विश्वकपमा हार बेहोरेपछि चौतर्फी आलोचनाको सिकार हनुपरेको बताएका छन् । उनले गोलडटकमसँग कुरा गर्दै भनेका छन्- ‘म सबै कुरामा आलोचित भैरहेको छु, चाहे मैले जे बोले, पनि जे गरे पनि । तर मैले यसलाई प्रयोग गरिरहेको छु । मैले धेरै समय आलोचनाको बारेमा सोचेको छु । तर म अझै विश्वकपको कुरा गर्न चाहान्छु किनभने म अझै यसको पिडामा छु । म धेरै दुखी छु, यो समय मेरो लागि धेरै कष्टकर समय हो, म सधै भन्दै आइरहेको छु जब मैले सान्तोस क्लब छोडे, मैले इस्टाग्राममा लेखेँ, जब मैले बार्सिलोना छोडे मैले इस्टाग्राममा लेखेँ र विश्वकपको बारेमा पनि लेख्दैछु, जहाँ मलाई मेरा शब्दहरु लेख्न सजिलो लाग्छ । जब मलाई मनिसले माया गर्छन मेरो मनमा शान्ती मिल्छ ।’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
नियम उल्लंघन गर्ने ८ हजार सवारी साधन कारबाहीमा
काठमाडौं । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७४÷७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी करीब रु ५८ लाख राजस्व संकलन गरेको छ । गत वर्ष आठ हजार २०० जीप, कार, ट्रक, मोटरसाइकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लंघन गरेकोमा कारबाही भएको थियो । जरिवानाबापत रु ५७ लाख ६६ हजार ५०० राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए । सवारीको चाप र संख्यासँगै ट्राफिक प्रहरीको सक्रियता बढेकाले राजस्वसमेत दोब्बरले वृद्धि भएको छ । मादक पदार्थको सेवन गरेर सवारीसाधन चलाउने २९६ जनालाई रु दुई लाख ९६ हजार जरिवाना तिराइएको छ । सवारीसाधनको स्वरुप परिवर्तन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमतिपत्र र सवारी धनी प्रमाणपत्र बिना सवारी चलाउने चालक तथा सवारी धनीलाई कारबाही गरिएको हो । सो अवधिमा भएका १४ वटा दुर्घटनामा ११ जनाको मृत्यु, १९ गम्भीर र १३ जना सामान्य घाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु बोक्नु, चालकको लापर्बाही, तीव्र गति, सडकको जीर्ण अवस्था र मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको छ । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि विद्यार्थी, सर्वसाधारण र सवारी चालक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । मापसे परीक्षण गर्ने मेसिन थप र सवारीको गति जानकारी पाउने राडर गनको व्यवस्थाका साथै जनशक्ति र पोष्ट थप गर्न पहल गरिएको छ । बेनीका साथै भुरुङ तातोपानी र सिंगा तातोपानीमा समेत ट्राफिकको पोष्ट रहेको छ । रासस
४० संस्थाको लगानीमा बीमा तालिम इन्स्टीच्युट खुल्यो, जनशक्ति विकासमा महत्वपूर्ण याेगदान पुग्ने विश्वास
काठमाडौं । ३९ वटा बीमा कम्पनी र बीमा समितिको संयुक्त लगानीमा बीमा तालिम इन्स्टीच्युट नेपाल खुलेको छ । बीमा समितिको अध्यक्ष चिरञ्जीवि चापागाईले आइतबार उक्त तालिम ईन्स्टीच्युटको उद्घाटन गरेका छन् । नयाँ इन्स्टीच्युटको अध्यक्ष बीमा समितिका निर्देशक राजुरमण पौडेल भएका छन् भने प्रमुख कार्यकारी अधिकृतमा भोजराज शर्मा नियुक्त भएका छन् । एक करोड रुपैयाँ पुँजी लगानी गरेर शुरु गरिएको उक्त इन्स्टीच्युट हाल बीमा समितिको कार्यालय परिसरमा नै राखिएको छ । बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभावको समस्या उत्कर्षमा पुगेपछि बीमा समिति र बीमा कम्पनीहरुको संयुक्त लगानीमा तालिम केन्द्र सञ्चालन गरिएको हो । गत आर्थिक वर्षमा मात्र १२ वटा नयाँ बीमा कम्पनी खुलेपछि बीमा बजारमा जनशक्ति अभाव देखिएको छ । तालिम केन्द्रको सञ्चालनको केही वर्षमा नै यस्तो अहिलेको समस्या कम हुने अपेक्षा गरिएको छ ।
भेरी बबई डाइभर्सनको ४९ प्रतिशत काम सकियो, निर्धारित समय अगावै सम्पन हुने
सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको काम ४९ प्रतिशत सम्पन्न भएको छ । गत कात्तिक महिनाको पहिलो साताबाट सुरुङ निर्माण कार्य थालिएको १२ किलोमिटरलामो सुरुङ खन्ने काम लगभग आधा सम्पन्न भएको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले जानकारी दिए । निर्देशक बस्नेतका अनुसार काम सुरु भएको ८ महिनामा ४९ प्रतिशत काम भएको हो । आयोजनाका बाँध बनाउनदा ३२ हेक्टर जमीन डुबान पर्ने भएको बताउँदै त्यस क्षेत्रको समुदायको व्यवस्थापनमा सहयोग गर्न निदेशक बस्नेतले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अनुरोध गरेका थिए। आयोजनाको काम सम्पन्न मिति २८ मार्च २०२० भनिए पनि तोकिएको तालिकाभन्दा दुई महिना अघि काम सम्पन्न हुने उनले जानकारी दिए। आयोजना सम्पन्न भएपश्चात् वार्षिक ७ अर्ब आम्दानी हुने प्रक्षेपण गरिएको छ । आयोजनाको पानीबाट बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ भई त्यसबाट उठ्ने वार्षिक राजस्व ३ अर्ब र उत्पादित ४८ मेगावाट जलविद्युत्बाट ४ अर्ब रुपैयाँ आम्दानी हुने आयोजनाका निर्देशक बस्नेतले बताए। कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले आयोजनाको अवलोकन तथा अनुगमन गरेको थियो । मुख्यमन्त्री शाहीले नेपालमा सबैभन्दा ठूलो सुरुङ प्रविधिबाट निर्माणाधीन भेरी बबई डाइभर्सनको काम कारबाहीबारे बुझ्न, समस्या थाहा पाउन र यथार्थ प्रगतिको जानकारी लिन उक्त आयोजनाको अवलोकन गरिएको जानकारी दिए। “आयोजनाको ल्याब, क्रसर उद्योग, सिगमेन्ट निर्माण कारखाना र मुख्यगरी करीब छ किलोमिटर निर्माण भइसकेको सुरुङमार्ग हेरेका छौँ । छोटो समयमा यसको उत्साहजनक र प्रशंसा गर्न लायक काम भएको छ,” उनले भने। मुख्यमन्त्री शाहीका अनुसार तीव्र गतिमा बनिरहेको सरकारको सबैभन्दा सस्तो लगानीको यो आयोजनाले कर्णाली प्रदेश र ५ नं प्रदेशको समृद्धिको ढोका खोल्न सहयोग पुग्ने छ । रासस
विद्युतीय भुत्तानी ३० प्रतिशत बढ्यो, नेपाल क्लियरिङ हाउसमार्फत ७०५३ अर्बको कारोबार
काठमाडौं । विद्युतीय चेक भुत्तानी प्रणाली (ईसीसी) र अन्तर बैंक भुत्तानी (आईपीएस) मार्फत हुने कारोबार ३०.२३ प्रतिशत बढेको छ । गत आर्थिक वर्ष ०७४/०७५ मा ईसीसी र आईपीएस मार्फत ७० खर्ब ५३ अर्ब रुपैयाँ कारोबार भएको छ । अघिल्लो वर्ष ५४ खर्ब ३९ अर्ब रुपैयाँ मात्र कारोबार भएको थियो । एक वर्षको अवधिमा १६ खर्ब १४ अर्ब रुपैयाँ विद्युतीय भुत्तानीमार्फत कारोबार बढेको हो । यो रकम एकाउन्ट पेइ र बैंकमार्फत चेक विना गरिने विद्युतीयको मात्र कारोबार हो । बैंकमा गएर सिधै भुत्तानी लिने अर्थात वेरर चेक कारोबार यसमा समावेश गरिएको छैन् । एक वर्षको अवधिमा भुत्तानीका लागि सरकार तथा निजी क्षेत्रबाट १ करोड थान एकाउन्ट पेई चेक जारी भई ईसीसी प्रणालीमार्फत ६३ खर्ब ४१ अर्ब रुपैयाँ कारोबार भएको । जारी भएका मध्ये ८.५ प्रतिशत अर्थात साढे ८ लाख थान चेक फिर्ता भएको विद्युतीय भुत्तानी व्यवस्थापनकर्ता नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ । अघिल्लो वर्ष ईसीसी प्रणालीबाट ५१ अर्ब ७५ करोड रुपैयाँ कारोबार भएको थियो । यस्तै बैंकबाट सिर्ध अर्को बैंकबाट चेक विनै हुने अन्तर बैंक भत्तानी प्रणाली आईपीएसबाट ७ खर्ब १२ अर्ब रुपैयाँ कारोबार भएको छ । अघिल्लो वर्ष यस प्रणालीबाट २ खर्ब ६४ अर्ब रुपैयाँ मात्र कारोबार भएको थियो । आईपीएसमार्फत ७२ जिल्लामा जी २ बीबाट ४८ अर्ब रुपैयाँ भुत्तानी भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ अर्ब रुपैयाँ थियो । वर्षेनी विद्युतीय कारोबार रकम बढ्दै गएको हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान बताउछन् । ईसीसीका अतिरित पछिल्ला वर्ष आईपीएस प्रणालीबाट हुने कारोबार बढेको उनको भनाई छ । यस्तै हाउसले अहिले ई–पेमेन्ट प्रणालीलाई आईपीएसको रुपमा विकास गरिएको प्रधानले बताए । उनकाअनुसार ग्राहकले घरमा बसेर इन्टरनेटको माध्यमबाट रकम ट्रान्सफर, ई–भुत्तानी र विलको भुत्तानी गर्न सक्ने प्रणाली सञ्चालनमा आइसकेको छ । सरकारलाई कर तिर्न र भुत्तानी लिन दिन विद्युतीय कारोबार सुरु गरेको छ । आफनो मोवाइल र ल्यापटबाटै कर तिर्न सकिने व्यवस्था साउन १ गतेदेखि सुरु भएको छ । यस्तै भुत्तानी पनि सम्बन्धित व्यक्ति र संस्थाको खातामा सिर्ध जाने व्यवस्था गरिएको छ । सरकारले चेक तथा कागजी नोट प्रतिस्थापन गर्न मोवाइल, ल्यापटबाट ई–भुत्तानी प्रणालीलाई जोड दिन थालेपछि कारोबार बढ्ने देखिएको हो । दिउसो २ वजेसम्म बैंकले प्रणालीमा राखेको चेक सोही दिन क्लियरिङ अर्थात भुत्तानी हुने गरेको छ । भारतमा मात्रै गत वर्ष २.४ ट्रिलियनको चेक कारोबार भएको थियो । यस्तै श्रीलंकामा अझै चेक क्लियरिङ गर्न २ दिन लाग्ने गरेको छ । आर्थिक वर्षको अन्तिम दिन नेपाल क्लियरिङबाट मात्रै ८२ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको थियो । रकमको आधारमा अहिलेसम्मको सबैभन्दा ठूलो कारोबार भएको दिन हो । एकाउन्ट पेई चेक र अन्तर बैंक विद्युतीय प्रणालीमार्फत एक खाताबाट अर्को खातामा ८२ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी भएको छ