विकासन्युज

प्रोग्रेसिभ फाइनान्सको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । यस साता प्रोग्रेसिभको ५ करोड ९० लाख ४० हजार बराबरको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर सङ्ख्याका आधारमा पनि सोही कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको ५ लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । २८१ प्रतिशत हकप्रद सेयर पाउने भएपछि लगानीकर्ता प्रोगेसिभमा लोभिएका हुन् । चुक्तापुँजी बढाउन फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने भएपछि लगानीकर्ता लोभिएका हुन् । साउन २२ गतेसम्म अर्थात मंगलबारसम्म सेयर किन्नेले २८१ प्रतिशत हकप्रद सेयर भर्न पाउने भएपछि लगानीकर्ताले बढी सेयर किनेका हुन् । फाइनान्सले भदौ ५ गतेदेखि ५९ करोड रुपैयाँ बराबरको ५९ लाख १ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन असोज ८ गतेसम्म हुने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद बाँडफाँडपछि फाइनान्सको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ । संस्थापक शेयरधनीको ५१ प्रतिशत अर्थात ४० करोड ८० लाख रुपैयाँ र सर्वसधारणको ४९ प्रतिशत अर्थात ३९ करोड २० लाख रुपैयाँ पुँजी पुग्नेछ । धितोपत्र बजारमा यस साता कारोबार रकम साताभरि १ अर्ब रुपैयाँ समेत पुग्न सकेन । नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीको सेयर कारोबार भए पनि कारोबार रकम भने ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँमा मात्रै सीमित भएको छ । यस साता कूल ३६ लाख ४७ हजार ८४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १४.६८ प्रतिशत कम हो । गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार ५२० कित्ता सेयर १ अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्नेछः अर्थमन्त्री

काठमाडौ । विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट स्वदेश फर्केपछि अर्थमन्त्री डा. युवराज खतिवडाले त्यस्तो जानकारी दिएका हुन्। सो बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत थप सहायता रकम उपलब्ध हुन लागेको हो । अमेरिकाबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले सन् २०१८ मा प्राप्त भइरहेको भन्दा दोब्बर सहायता रकम नेपालले प्राप्त गर्ने विश्वास व्यक्त गरे । बैंकले नेपालमा हाल करीब २ अर्ब ७० करोड डलर अर्थात २ खर्ब ७० अर्ब रुपैयाँ बराबरको लगानी विभिन्न आयोजनामा गरिरहेको छ । सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेकाले विश्व बैंक समूहका विभिन्न संस्थाका पदाधिकारीसँग महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए । नेपाल सरकार र विश्व बैंकबीच पाँच वर्षीय देशीय साझेदारी ढाँचाअन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थाले सहयोग बढाउने भएको हो । सन् २०१९ देखि २०२३ का लागि कार्ययोजना तयार भई बैंकले समेत पारित गरिसकेको छ । “हामीले समग्र कार्यक्रम र योजनाको ढाँचा तयार पारेका छौं। त्यसको लागत अनुमान पनि भएको सन्दर्भमा सहायता दोब्बर हुन्छ भनेर हामीलाई बताउनुभएको छ”,अर्थमन्त्री खतिवडाले भने । रासस

उखु किसानले चिनी उद्योगबाट ४० करोड भुक्तानी पाएनन्

नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानले सरकारले निर्धारण गरेअनुसार चिनी उद्योगबाट उखु बिक्री गरेबापतको बाँकी रकम भुक्तानी पाउन सकेका छैनन् ।सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरे पनि उखु किसानलाई उद्योगले प्रतिक्विन्टल ४६५ रुपैयाँ ९२ पैसाका दरले मात्र रकम दिँदै आएको छ । सरकारले तोकेको मूल्यअनुसार किसानले रकम नपाउँदा उनीहरु ठगिन बाध्य भएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । यादवका अनुसार यस वर्षबाट सरकारले चिनी उद्योगलाई यसअगावै दिँदै आएको भ्याटबापतको सहुलियत रकम हटाएपछि सो भ्याटबापतको रकम किसानबाटै उद्योगले असुली गरेर मात्र भुक्तानी गरेको अवस्था छ । जिल्लामा बागमती खडसारी चिनी मिल, इन्दिरा सुगर इण्डष्ट्रिज र लुम्बिनी चिनी मिल गरी तीन ठूलो चिनी मिल रहेका छन् । लुम्बिनी चिनी मिलबाहेक बागमती खडसारी चिनी मिल र इन्दिरा सुगर इण्डष्ट्रिजले मात्र किसानको बाँकी रकम भुक्तानी गरिरहेका छन् । अघिल्लो वर्ष प्रतिक्विन्टल ५३१ रुपैयाँ पाएका उखु किसानले यस वर्ष सरकारले निर्धारण गरेको ५३६ रुपैयाँ ५६ पैसाका दरले भुक्तानी पाउने आशामा थिए । निर्धारण गरेको मूल्यअनुसार रकम नपाउँदा किसान निरास बनेको उखु किसान लख्खु यादवको भनाइ छ । तुलनात्मक रूपमा पश्चिम नवलपरासीमा पछिल्लो केही वर्षयता उखु उत्पादनमा कमी आएको अवस्था देखिन्छ । समयमै उचित मूल्य पाउन नसक्दा किसान बिस्तारै उखु खेतीबाट केरा खेतीतर्फ आकर्षित बन्दै गएका कारण उत्पादन घट्दै गएको छ । पूर्वका चिनी उद्योगले प्रतिक्विन्टल रु ४६५ रुपैयाँ ९२ पैसाको दरले भुक्तानी गरेकाले यस क्षेत्रका उद्योगले पनि सोहीअनुसार भुक्तानी गरिएको इन्दिरा सुगर इण्डष्ट्रिजका महाप्रबन्धक टंकनाथ काफ्ले जानकारी दिए। हालसम्म चिनी उद्योगले किसानलाई करीब ५० प्रतिशत रकम मात्र भुक्तानी गरिसकेका छन् । किसानले सरकारले निर्धारण गरेअनुसारको रकम पाउनुपर्ने र यसका लागि स्थानीय प्रशासनले उद्योग र किसानबीच समन्वय गर्न लागेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए । उखु उत्पादक महासंघका केन्द्रीय सदस्य प्रेमचन्द्र गुप्ताका अनुसार पश्चिम नवलपरासीका सबै चिनी उद्योगबाट करीब ४० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । पश्चिम नवलपरासी उखुको पकेट क्षेत्रको रुपमा लिइन्छ । जिल्लामा कूल साँढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । यहाँका करीब १४ हजार जनसङ्ख्या प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उखु खेतीमा आवद्ध छन् । रासस

विद्युत प्राधिकरण डुवाउने हिमाल पावरको ७ रुपैयाँमा बिजुली बेच्ने प्रस्ताव, नयाँ पीपीए हुदै

काठमाडौ । ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनाको प्रवद्र्धक हिमाल पावर लिमिटेडले नेपाली रुपैयाँमा बिजुली बेच्ने प्रस्ताव गरेको छ । आगामी २ वर्षपछि अमेरिकी डलरमा भएको  खरिदबिक्री (पीपीए ) सकिने भएपछि हिमाल पावरले नेपाल विद्युत प्राधिकरणसंग नयाँ दर प्रस्ताव गरेको हो । हिमालले नेपाली रुपैयाँमा पीपीए गर्न निवेदन दिएको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । पीपीएपछि आधि स्वामित्व प्राधिकरणको हुने भएकाले संयुक्त कम्पनी गठन हुने उनले जानकारी दिए । पीपीएका लागि छलफल थालिने अधिकारीले बताए । उनले हिमालसंग सस्तोमा पीपीए हुने जानकारी दिए । हिमाल पावरले हाल चलनमा रहेको दर वर्षादमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसा प्रस्ताव गरेको हो । औसत प्रतियुनिट ७ रुपैयाँ ३० पैसा हुने छ ।पीपीए अनुसार सन् २०२० को जुलाईको मध्यदेखि खिम्ती आयोजनाको आधा स्वामित्व विद्युत प्राधिकरणमा आउने छ । सन् २००० जुनलाईदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता भएको थियो । आधा स्वामित्व हस्तान्तरणका अतिरित्त अमेरिक डलरमा भएको पीपीए पनि सोही मितिदेखि सकिने छ । खिम्तीको डलर पीपीए महंगो छ । डलर मजवुत भएका कारण विद्युत प्राधिकरणले खिम्तीको बिजुली अहिले प्रतियुनिट ११ रुपैयाँ ७८ पैसामा खरिद गर्दै आएको छ । विद्युत प्राधिकरणले बिजुली बिक्रीबाट औसत ९ रुपैयाँ पाउदै आएकोमा खिम्तीको बिजुली खरिदमा झण्डै प्रतियुनिट ३ रुपैयाँ नोक्सान व्योर्दै आएको छ । रोयल्टीको रकम भुक्तानी जोड्दा प्रतियुनिट झण्डै ५ रुपैयाँ महंगो छ । प्राधिकरणले खिम्तीको बिजुली खरिद गरेवापत हिमाल पावरलाई डलरमा भुक्तानी गर्दे आएको छ । विदेशी मुद्रा विनियमय जोखिम पनि विद्युत प्राधिकरणले वहन गर्नुपर्ने छ । विद्युत प्राधिकरणले खिम्ती आयोजनाको रोयल्टी मात्रै वार्षिक ४८ करोड रुपैयाँ बराबरको बुझाउदै आएको छ । रोयल्टी समेत जोड्दा खिम्तीको बिजुलीको मूल्य प्रतियुनिट १३ रुपैयाँ २८ पैसा पर्छ । प्राधिकरणले हिमाल पावरलाई वार्षिक ३ करोड २४ लाख ४ हजार ९५६ डलर अर्थात साढे ३ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ । खिम्तीको डलर पीपीए सुरुदेखि नै विवादित बन्दै आएको छ । खिम्तीबाट प्राप्त हुने आम्दानी विद्युत प्राधिकरण र हिमाल पावरबीच आधारआधा बाँडिने छ । खिम्ती बुट नीतिअन्र्तगत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन् २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ । हिमाल पावरमा नेपालको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी), नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो । बीपीसीले हिमालबाट ५० करोड रुपैयाँ लाभांश पाउदै आएको छ । विद्युत प्राधिकरणसंग डलरमा पीपीए गदा १ डलर बराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजवत भएर ११० रुपैयाँ पुगेको छ । आयोजनाबाट वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ ।

लघुजलविद्युत् आयोजना धमाधम राष्ट्रिय प्रशारणमा

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले १०० किलोवाटभन्दा कम क्षमताका लघुजलविद्युत्लाई राष्ट्रिय प्रसारणको लाइन (ग्रीड) मा जोड्न स्वीकृति दिएपछि ग्रामीण क्षेत्रमा निर्माण भएका लघुजलविद्युत् आयोजनाहरु ग्रीडमा जोडिन थालेका छन् । पहिलोपटक २०७४ माघ १८ मा केन्द्रीय प्रशारणमा आवद्ध भएको नुवाकोटको शिवपुर गाउँपालिकामा रहेको २३ किलोवाट क्षमता स्याउरेभूमि लघुजलविद्युत् आयोजना । प्राधिकरणको बोर्डले २०७१ साउनमा १०० किलोवाटमुनिका लघुजलविद्युत् आयोजनालाई केन्द्रीय प्रसारणलाइनमा जोड्न सकिने निर्णय गरेपछि चारवटा आयोजना ग्रीडमा जोडिएका हुन् । प्राधिकरणले हाल चार आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणका अनुसार धनकुटा लेगुवा खोलाको ४० किलोवाट, नुवाकोट स्याउरेभूमे खोलाको २३ किलोवाट, ताप्लेजुङ सेगुवा खोलाको ९० किलोवाट र लमजुङ मिदिम खोलामा निर्माण भएको १०० किलोवाटको पिपिए गरिएको छ । यी सबै आयोजनाको विद्युत् ११ केभी लाइनमा जोडिएको छ । लेगुवा खोलाको तेह्रथुमस्थित जिरी–खिम्ती सबस्टेसनबाट तानिएको नारकेमा ११ केभी लाइनमा आवद्ध गरिएको छ । यस्तै, स्याउरेभूमे सोही ठाउँको ११ केभी, सेगुवा खोला ताप्लेजुङ सबस्टेसन नजिक र मिखिमको विद्युत भोर्लेटारस्थित ११ केभी लाइनमा जोडिएको प्राधिकरणले जनाएको छ । ग्रीडमा आवद्ध हुन गुल्मीको १३५ किलोवाटको परोपकार र ८३ किलोवाटको दरम खोला लघुजलविद्युत आयोजना पनि पिपिए चरणमा रहेको बताइएको छ । नुवाकोट जिल्ला शिवपुर गाउँपालिकाको स्याउरेभूमि लघुजलविद्युत् आयोजनाले पहिलोपटक २०७४ माघ ४ मा केन्द्रीय प्रशारणमा परीक्षण प्रशारण भई १८ माघबाट व्यापारिक उत्पादन थालेको हो । २०७० असारमा सम्पन्न यस आयोजना निर्माणको क्रममै गाउँमा केन्द्रीय प्रसारणलाइन पुगेपछि समस्यामा परेको थियो । ग्रीड आएसँगै लघुजलविद्युत् आयोजनाको अस्तित्व संकटमा परेपछि आयोजनाका प्रवद्र्धक सुर्दशन बुढाथोकीले प्राधिकरणको निर्णयलाई समाउँदै ग्रीडमा जोड्नका लागि ठूलै मिहेनत गरेका थिए । पाँच वर्षको दौडधुप र भनसुनबाट आफूले लघुजलविद्युत्लाई ग्रीडमा जोड्ने निर्णयको कार्यान्वयन गराउन सफल भएको उनी बताउछन् । उनलाई सो परियोजनालाई ग्रीडमा जोड्न ३५ लाख रुपैयाँ खर्च लागेको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २७ लाख र ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रम (आरइआरएल) को १० लाख रुपैयाँको अनुदान र प्राविधिक सहयोग प्राप्त भएको र बाँकी आयोजनाले नै ब्यहोरेको थियो । पहिलोपटक भएकाले खर्च बढी लागेपनि नयाँ आयोजनाहरुलाई २५ लाख रुपैयाँ लागतमा नै ग्रीडमा जोड्न सकिने उनको भनाइ छ । ग्रीडमा जोड्नका लागि चाहिने उपकरणमा राज्यले भ्याट सुविधा दिनुपर्ने बुढाथोकीको सुझाव छ । रासस

रोल्पा सिमेन्ट उद्योग खुल्यो

रोल्पा । रोल्पा सिमेन्ट प्रालि र स्थानीय टिपर व्यवसायीबीचको असमझदारीका कारण बन्द रहेकोमा पुनः सञ्चालनमा आएको छ ।उद्योगसँग भएको सम्झौता बमोजिम आफूहरूले उद्योगको सामान ढुवानी गर्न पाउनुपर्ने माग राखी टिपर व्यवसायीले १० दिनदेखि आन्दोलन गरेका कारण उद्योग बन्द भएको थियो । लगातार सात दिन उद्योग बन्द भएपछि त्रिवेणी गाउँपालिकाले दुवै पक्षसँग छलफल गरी उद्योग सञ्चालनको वातावरण मिलाएको हो ।गत असारमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुखलगायतको उपस्थितिमा उद्योग र स्थानीयवासीबीच भएको सम्झौतामा स्थानीय टिपर व्यवसायीलाई काम लगाउने उल्लेख भएको व्यवसायीले बताएका छन् । सम्झौता तत्काल कार्यान्वयन गर्ने भनिए पनि लामो समयसम्म काम लगाउन उद्योगले तत्परता नदेखाएकाले आन्दोलन घोषणा गर्न बाध्य भएको टिपर व्यवसायीले बताएका छन् । पछिल्लो पटक भएको सम्झौता बमोजिम उद्योगले स्थानीय टिपर व्यवसायीका १० टिपर काममा लगाउने भएको छ । जसका लागि उद्योगदेखि दाङको अमेलिया डिपोसम्म प्रतिटन ८३५ रुपैयाँका दरले भाडासमेत निर्धारण गरिएको बताइएको छ । व्यवसायीले प्रतिटन ९०० रुपैयाँ माग गरेको र उद्योगले ८०० भन्दा दिन नसकिने भनिरहेको बेला त्रिवेणी गाउँपालिकाले दुवै पक्षलाई मान्य हुने गरी प्रतिटन ८३५ रुपैयाँ निर्धारण गरिदिएपछि दुवै पक्ष सहमत भएको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए। रोल्पा त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा विसं ०६६ मा स्थापना भएको उक्त उद्योगले दैनिक २ हजार ५०० बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । एक सय बढी प्राविधिक तथा अन्य कर्मचारी र मजदुरले रोजगारी पाएको उक्त उद्योगबाट उत्पादित सिमेन्ट भने जिल्ला बाहिर जाने गर्दछ । रासस

किरणामान जाेशीले भने ‘राजेश हमाल मेरो साथी हो, तँलाई सिध्याईदिन्छु’

काठमाडौं । सामाजिक बेथितिबारे लेखिएको समाचारलाई लिएर किरणमान जोशीले विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलको ज्यान लिने धम्की दिएका छन् । जोशीले अष्ट्रेलियाबाट ६१४११७४८८१० नम्बर प्रयोग गरी फाेनबाट ज्यान लिने धम्की दिएका हुन् । ‘तैलै मलाई चिनेको रहेनछस् । विश्वको २०० देशको कुनै पनि ठाउँमा बस्ने मान्छेलाई सिध्याउन सक्छु ।’ ‘म नेपालमा पनि बस्छु । म अमेरिका पनि बस्छु, अष्ट्रेलिया पनि बस्छु । म विश्वको धेरै देश घुमिरहेको हुन्छु । मेरो बारेमा समाचार लेख्दा मेरो हैसियत र क्षमताको बारेमा जानकारी राखेस्’ उनले भने । ‘नेपालको सबैभन्दा नाम चलेको कलाकार राजेश हमाल मेरो साथी हो । म पनि कलाकार हुँ । बीबीसीले मेरो अन्तरवार्ता लिएको छ । कलाकार, पत्रकार सबैले मलाई चिन्छन्, प्रहरी र सेनामा पनि मेरा साथीहरु छन्’ उनले फिल्मीशैलीमा आफ्नो रवाफ देखाए । आफू काठमाडौंको रैथाने भएकोले चाहेको अवस्थामा राजधानी बाहिरबाट आएर काठमाडौंमा बसोबास गर्ने जो कोहीको विल्लिबाठ गर्ने क्षमता आफूसँग भएको उनले बताए । ८ मिनेट ९ सेकेण्डसम्म एकतर्फी रुपमा बोलेका जोशीले प्रधानसम्पादकलाई पटक पटक सिध्याई दिने धम्की दिएका छन् । नेपालमा विवाहपछि श्रीमानको सम्पूर्ण सम्पत्तिमा श्रीमतीको आधा हक लाग्ने कानुनी व्यवस्था छ । यसैलाई आधार मानेर केही महिलाहरु धनी केटासँग विवाह गर्ने, केही समयपछि सम्बन्ध विच्छेद गरी केटाको आधा सम्पत्ति लिने, फेरि अर्को केटासँग विवाह गर्ने विकृति मौलाएको छ । त्यस्तै आर्थिक रुपमा कंगाल भएका केटाहरु पनि सम्पत्तिवालकी छोरीलाई प्रेममा फसाउने, विवाह गर्ने, प्रशस्त दाइजो लिने, विवाहपछि विभिन्न वहानामा ससुरालीको सम्पत्ति धुत्ने, अन्तिममा डिभोर्स गरेर महिलाको विचल्ली बनाउने विकृति बढेको छ । यस्तै विकृतिको प्रतिनिधि मुलक घट्ना समेटिएको  ‘बुहारी भगाएर गुरु न्यौपानेको सम्पत्ति हत्याउने प्रयास, डिभोर्ससँगै आधा सम्पत्ति मागिन् पुजाले’ शिर्षकमा समाचार विकासन्युजमा प्रकाशित भएको थियो । ‘मेरो र पुजा दाहालबीचको सम्बन्ध हाम्रो निजी मामिला हो, यस्तो विषयमा समाचार बनाउँदा मलाई सोधिएन’ जोशीले असन्तुष्टि जनाए । उक्त समाचारका सम्बन्धित पात्रहरु पुजा दाहाल, शतिस न्यौपाने, बरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीको भनाई उल्लेख गरिएको छ । तर अष्ट्रेलिया बस्ने जोशीसँग सम्पर्क जोड्न सकिएको थिएन ।

वीपी स्वास्थ्य प्रतिष्ठानले १०० श्ययाको सेवा विस्तार गर्ने

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठान प्रशासनले सरोकारवालासँंग आवश्यक समन्वय गरी अस्पताल सेवा विस्तारका लागि अनुकूल वातावरण बनाउन प्रतिष्ठानका उपकुलपति प्रा.डा राजकुमार रौनियारले प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई जिम्मेवारी दिएपछि औपचारिकरुपले अस्पताल सेवा विस्तारको तयारी शुरु भएको हो । पुरानो अस्पताल भवनसमेत रहेको उक्त स्थानको भौतिक पूर्वाधारको उपयोगसहित अस्पताल सञ्चालनको जिम्मेवारी विगतमा जिल्ला जनस्वस्थ्य मातहतमा रहेको स्थानीय तहमा समायोजन भएको स्वास्थ्य चौकी र यसअन्तर्गत सञ्चालित पाँच श्ययाको बर्थिङ सेन्टर, पुनःस्थापना गृहको व्यवस्थापनका विषयमा छलफल अघि बढाएको हो । उक्त स्थानमा बसोबास रहेको पाँच सुकुम्वासी परिवार, सवारी पार्किङ, प्रतिष्ठानकै चिकित्सकबाट सञ्चालित मिर्गौला रोगसम्बन्धी केएचडिसी कार्यक्रम, नगरस्तरीय वातावरण समन्वय समिति, प्रतिष्ठानको आवास, अन्य जीर्ण भवनलगायतको अवस्थाका विषयमा समेत यथार्थ जानकारी दिने कार्य भएको छ । तामाङले उक्त स्थानको व्यवस्थापनका विषयमा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे र वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडासँंग पनि अस्पताल सञ्चालनका सम्बन्धमा छलफल गरिसकेको बताए । रासस