२० हजार घुससहित इन्जिनियर सरोजकुमार साह अख्तियारको फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, बुटवल रुपन्देहीमा कार्यरत मेकानिकल इन्जिनियर सरोजकुमार साहलाई २० हजार रुपैयाँ घुससहित सोमबार नियन्त्रणमा लिएको छ । इन्जिनियर साहले नयाँ सवारी दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बाहनामा घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको कार्यालय बुटवलबाट खटिइ गएको टोलीले साहलाई घुसवापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको अख्यिारका प्रवत्ता रामेश्वर दंगालले बताए ।
विश्वकप फुटलबलको योजना अन्तर्गत कार्की र देउलाले पाए सिजी टिभी
काठमाडौं । इलेक्ट्रोनिक्स क्षेत्रमा नं.१ ब्राण्ड बन्न सफल सिजीले कटारीकी रोसनी कार्की र तिलगंगाका सञ्जिप देउलालाई सिजी टिभी वितरण गरेको छ । कम्पनीले हालसालै सम्पन्न भएको विश्वकप फुटलबलमा राखिएको योजना अनुरुप दुई जना भाग्यशालि लक्कि ड्र विजेताहरुलाई उक्त टिभी हस्तान्तरण गरेको हो । उक्त टिभी सिजीका विजनेस युनिट हेड धर्वेन्द्र जोशीले हस्तान्तरण गरेका हुन् । साथै, उनले आगामी दिनहरुमा पनि सिजीका टिभीहरु किन्नका लागि प्रोत्साहन गरेका छन् ।
भदौदेखि जेष्ठ नागरिकको स्वास्थ्य बीमा सरकारले गरिदिने
काठमाडौं । सरकारले ७० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य बीमा योजना भदौदेखि कार्यन्वयनमा ल्याउने भएको छ । अर्थ मन्त्रालयले स्वास्थ्य बीमा कार्यन्वयनमा ल्याउन अहिले कार्यविधि तयारीमा जुटेको छ । भदौभित्र कार्यविधि कार्यन्वयनमा आउने अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले बताइन् । उनले भदौभित्र कार्यविधिको काम सकिने जानकारी दिइन् । भदौमा कार्यन्वयनमा आएपनि बीमा साउनदेखि नै लागु हुने छ । सरकारले मासिक वृद्ध भत्ता बढाउनुका सट्टा जेष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य बीमा योजना अघि सारेको हो । सरकारले १ लाख रुपैयाँ बिमाङक रकमको बीमा गर्ने घोषणा गरेको छ । जसअनुसार बीमा शुल्क वार्षिक ६ हजार रुपैयाँ सरकार आफैले भुक्तानी गर्ने छ । मासिक ५ सय रुपैयाँका दरले बीमा शुल्क भुक्तानी गर्ने छ । सरकारले स्वास्थ्य बीमा भनेपनि अप्रत्यक्ष रुपमा मासिक भक्तामा वृद्धि भएको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष बीमा र आगामी वर्ष वृद्धाका लागि आवास योजनामा जाने बताइसकेका छन् । सरकारले स्वास्थ्य बीमा गरेको जस्तै आवास निर्माण गरिदिने छ ।जेष्ठ नागरिकको धेरै खर्च स्वास्थ्यमा हुने भन्दै सरकारले स्वास्थ्य बीमामा जोड दिएको बताएको छ ।
मेगा बैंकका ग्राहकहरुलाई स्टार अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने भएको छ । सोमबार मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र स्टार अस्पतालका प्रमुख संचालन अधिकृत डा. सन्देश जिसीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोही सम्झौता बमोजिम मेगा बैंकका ग्राहकहरुलाई स्टार अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने भएको हो । सम्झौता अनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले स्टार अस्पतालमा उपचार गराउँदा आइसीयू, क्याबिन र वार्डमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, ल्याब टेष्ट, एक्सरे, इसिजी, इन्डोस्कपी, क्लोनोकपी, यूएसजी, इइजी, सिटी स्क्यान, पीएफटी लगायतका परीक्षण, औषधी र शल्यक्रियामा १०/१० प्रतिशत छुट दिन अस्पतालले जनाएको छ ।
नवलपरासीको बौदीकालीमा जनता बैंकको नयाँ शाखा
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो बैंकको १२२औँ शाखा हो । बैंकले यस शाखा बाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्नेछन् । नवलपरासी जिल्लाको विकट भौगेलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्बसाधारणहरु बैंकिङ कारोवारको लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहत पुर्याउने विश्वास लिइएको छ । यससँगै बैंकले १२२ शाखा, ७० एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
सरकारी कार्यालयले फेसबुक, ट्वीटर र भाइवर अनिवार्य, सरकारी कर्मचारीहरू उत्साहित
काठमाडौं । अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेपछि सो व्यवस्था भएको प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन स्बै कार्यालयले ‘ट्वीटर’, ‘फेसबुक’ र ‘भाइवर’ जस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने हुन्छ । उहाँले सामाजिक सञ्जालबाट सरकारी कार्यालयका सूचना आदानप्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्न सजिलो हुने बताए । कार्यालयले आफ्ना सूचना पनि सामाजिक सञ्जालबाट नै सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ । ट्वीटरबाट कार्यालयले आफूलाई थप सहयोग हुने खालका विचार लाइक गर्ने, रिट्वीट गर्ने, सन्देश, फोटो र भिडियो शेयर गर्ने, कसैको भनाइ उद्धृत गर्ने जस्ता कार्य गर्न सक्ने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यलयले सेवाग्राहीलाई जवाफ दिँदा प्रतिवाद वा आक्रोश नझल्किने गरी शिष्ट भाषा प्रयोग गर्नुपर्ने हुन्छ । कार्यविधिमा सामाजिक सञ्जाल प्रयोग गर्दा एक निकायले अन्य निकायसँग सहकार्य गरेर सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने व्यवस्था छ । कार्यालय प्रमुख उपाध्यायले सामाजिक सञ्जालको पेज बनाउँदा सरकारी संस्थाको नाम स्पष्ट झल्किने गरी बनाउनु पर्ने बताए । यस्तै भाइबर सञ्चालन गर्दा आफ्नै कार्यालयकै प्रयोगमा रहेको एक वा आवश्यकतानुसार बढी मोबाइल नम्बर प्रयोग गर्नुपर्ने हुन्छ । कार्यालयले सेवाग्राहीले सोधेका कुराको जवाफ ‘तपाईंको प्रश्न/जिज्ञासा/गुनासो/समस्या/अन्यको जवाफ म्यासेजमार्फत दिइएको छ, हेर्नुहोला’ भनी उत्तर दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । ‘‘कार्यालयका सूचनालाई बढीभन्दा बढी प्रवाह गर्नका लागि सामाजिक सञ्जाल प्रयोग गर्न थालिएको हो”, उनले भने, “यसअघि कतिपयले आफ्नै हिसाबले खोलेका छन् । ती सबैलाई पनि एकरूपता ल्याई सञ्चालन गर्न कार्यविधि ल्याउन थालेका हौ ।’’ यस्तै सामाजिक सञ्जालका खाता र ह्याण्डल सञ्चालन/व्यवस्थापनमा कुनै बाधा/व्यवधान/नसोचेको विषय आएको अवस्थामा सो समाधान गर्न प्रत्येक निकायमा एक समस्या समाधान टोलीको व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । उनका अनुसार अहिले १० प्रतिशत कार्यालयले मात्र ट्वीटर सञ्चालन गरेका छन् । नयाँ नीतिले सरकारी कर्मचारीहरूमा उत्साह छाएकाे छ । यसअघि पटक पटक सामाजिक सञ्जाल सरकारी कार्यालयमा बन्द गर्ने र खुलाउने निर्णय भएका थिए । रासस
माछापुच्छ्रे बैंकका ग्राहकले पनि अब कनेक्ट आईपीएसको सेवा लिन पाउने, कसरी लिने ?
काठमाडौं । अब माछापुच्छ्रे बैंकका ग्राहकले पनि कनेक्ट आईपीएसको सेवा लिन पाउने भएका छन् । बैंकले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएसको सदस्य लिए पछि ग्राहकले उक्त सेवा लिन पाउने भएका हुन् । उक्त सेवा मार्फत बैंकका बैंकका ग्राहकहरुले भुक्तानी प्रोसेसिङ्ग, अन्तर बैंक रकमान्तर, बिल भुक्तानी, सहज, सरल र सुरक्षित माध्यमबाट गर्न सक्नेछन् । यो सेवा उपयोग गर्न ग्राहकहरुले कनेक्ट आईपीएसमा रजिस्टर गनुपर्नेछ साथै रजिस्ट्रेसनको क्रममा दिएको फारम भरेर बैंकमा बुझाउनुपर्नेछ । सेवा सुचारु भएपछि ग्राहकले कनेक्ट आईपीएसको वेबसाईटमा गई एक लाख सम्मको बिल भुक्तानी र रकमान्तर गर्न सक्नेछन् । यदि हितग्राही पनि कनेक्ट आईपीएसकै यूजर भएमा हितग्राहीको मोबाईल नम्बर वा खाता नम्बर प्रयोग गरी रकमान्तर गर्न सकिने बैंकले जनाएको छ । नेपाल सरकारको राजश्व समेत भुक्तानी गर्न सकिने यो सेवा २४सै घण्टा उपलब्ध हुने छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकले ग्रीन सिटी अस्पतालमा २० प्रतिशत छुट पाउने
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले ग्रीन सिटी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत छुट पाउने भएका छन् । सोमबार(आज) दुई कम्पनीबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा सो मात्राको छुट दिइने भएको छ । उक्त सम्झौता पश्चात बसुन्धराको ग्रीन सिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने छन् । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा ग्रीन सिटी अस्पतालका सिनियर हस्पिटल म्यानेजर मनिष दवाडी र ग्लोबल आइएमई बैंकका कार्ड वितरण तथा प्रबद्र्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।