एआइआरडीसीकाे अध्यक्षमा विजयबहादुर शाह निर्वाचित
काठमाडौं। विकासिल देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआइआरडीसीकाे अध्यक्षमा विजयबहादुर शाह निर्वाचित भएका छन् । शाह यसअघि एअार्इअारडीसीकाे उपाध्यक्ष थिए । काठमाडौंमा जारी एअार्इअारडीसीकाे २१औं सम्मेलनले शाहलाई अध्यक्ष र घानाकी एलिजावेथकी वान्स डग्वेलार्इ उपाध्यक्षमा निर्वाचित गरेकाे हाे । शाह ननेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी नेपाल बीमक संघकाे निवर्तमान अध्यक्ष पनि हुन । नेपालमा आयोजना भएको २१औ साधारणसभाले घानामा २२औ सम्मेलन गर्ने घोषणा पनि गरेको छ। राजधानीकाे साेल्टी हाेटलमा जारी याे सम्मेलन बुधबार सम्पन्न हुँदैछ ।
६०० अर्बको जोहो गर्न अमेरिकामा पुननिर्माण ब्रिफिङ
सुशिल ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत- पुननिर्माण प्राधिकरण काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनर्स्थापना योजनाु विषयक कार्यक्रममा नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तुति गर्ने भएका छन् । पुननिर्माणका क्रममा अपुग भएको ६०० अर्ब रुपैंयाँको जोहो गर्न ज्ञवालीको प्रस्तुतिले महत्वपूण भूमिका खेल्नेछ । उनले आफ्नो प्रस्तुति पनि सोही दिशामा केन्द्रित भएको बताएका छन् । २०७२ सालको भूकम्पपछिको पुननिर्माणका लागि ९३८ अर्ब रुपैंयाँ लाग्ने प्रक्षेपण गरिएको थियो । सोमध्ये राहत र पुनस्थापनामा खचिएको ६७ अर्ब सहित कुल ३३८ अर्ब खर्च भैसकेको छ । दाता सम्मेलनमा दाताहरुले ४१० अर्ब सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो मध्ये ३२९ अर्ब रुपैंयाँ प्राप्त भैसकेको छ भने ८१ अर्ब रुपैंयाँ सम्झौताको चरणमा रहेको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प पश्चात नेपालको पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम छ । आगामी शुक्रबार आयोजना हुने कार्यक्रममा भाग लिने क्रममा ज्ञवाली आज राती अमेरिकातर्फ प्रस्थान गरेका छन् । कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक लगायत अरु सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छुु, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने । कार्यक्रममा नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा नेपालको हालसम्मको प्रगति अवस्था र पुनर्निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ । संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरियाका लगायतका मुलुकका साथै संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन एवं विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको प्रस्तुति रहने कार्यक्रम छ । अमेरिका रहेका बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरुसँग छुट्टा(छुट्टै भेट गर्ने कार्यक्रम पनि छ । ज्ञवाली आगामी आइतबार स्वदेश फर्किनेछन् ।
४२ लाख कित्ता शेयर कारबार, सनराइज र प्रभु बैंकका लगानी कर्ताले बढी कमाए
काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर कारोवारमापक नेप्से परिसूचक २२ दशमलव ३ बिन्दुले बढेर एक हजार २७९ दशमलव ९८ बिन्दुमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाले बोनस दिन थालेको र शेयरमा लगानीका लागि क्रमशः वातावरण बन्दै गएको भन्दै बजारमा लगानीकर्ता ओइरिएपछि नेप्से परिसूचक र कारोबार रकममा समेत वृद्धि भएको हो । सोमबारको बिदा पछि खुलेको बजारमा रु एक अर्ब सात करोड ४२ लाख २८ हजार ३४ मूल्य बराबरको शेयर कारोबार भएको छ । कूल १७३ कम्पनीको ४२ लाख १५ हजार ६५१ कित्ता शेयर कारोबार भएको हो । कारोवार रकम समेत अर्बमाथि पुगेपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.२५ बिन्दुले बढेर २७२.१६ बिन्दुमा पुगेको छ । स्टककाअनुसार बैंकिङ २९.३२, व्यापार २.७९, होटल २२.७८, विकास बैंक ३७.८२, जलविद्युत् ७.३४, वित्त ५.५९, निर्जीवन बीमा ६३.३८, उत्पादन १०.९४, माइक्रोफाइनान्स १०.४४, जीवन बीमा ३७.३६ बिन्दुले बढ्दा अन्य समूह भने १.४६ बिन्दुले घटेको छ । भार्गव विकास बैंक, सनराइज बैंक, प्रभु बैंकका लगानीकर्ताले आज बढी कमाएका छन् भने गुराँस फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था र अपि पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।रासस
मनाङ एयरको हेलिकप्टर हिल्साबाट झुण्ड्याएर सिमकोट ल्याइयो
काठमाडौं । मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पु¥याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो । गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पङ्खाले लागेर एक भारतीयको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो । प्राधिकरणले एक हप्ताका लागि उडान प्रतिबन्ध लगाएपछि हिल्साको हेलिप्याडमै राखिएको हेलिकप्टर डेढ महीनापछि जिल्ला सदरमुकाम सिमकोट ल्याइएको सिमकोट विमानस्थलका निमित्त प्रमुख किरण दाहालले जानकारी दिए । पछाडिको पङ्खाले लागेर मुम्बइका ४२ वर्षीय नगेन्द्रकुमार कात्तिक मेहताको घटनास्थलमै मृत्यु भएको थियो ।रासस
कालीगण्डकीको मर्मत शीघ्र सम्पन्न गर्न प्राधिकरणको पहल
काठमाडौँ। सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनलगत्तै प्राधिकरणका कार्यकारी निर्देशक, सञ्चालक समितिका सदस्य र प्राविधिक टोलीले आज आयोजनास्थलको निरीक्षण गरेको छ । आयोजना यही असोज ७ गतेदेखि बन्द नै गरेर मर्मत शुरु गरिएको छ । मर्मत आगामी कात्तिक ६ गतेसम्म चल्ने छ । तोकिएको समयभित्र मर्मत सम्पन्न गरे एक दिन भए पनि थप घाटा ब्योहोर्नु नपर्ने सोचाइमा प्राधिकरण रहेको छ । कूल १४४ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा दैनिक रु तीन करोड ५० लाख घाटा हुने भएकाले एक दिन भए पनि चाँडो मर्मत सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन्। मर्मतको बारेमा जानकारी लिन आज आयोजनास्थल पुग्नुभएका कार्यकारी निर्देशक घिसिङ र प्राधिकरण सञ्चालक समितिका सदस्यले एक दिन भए पनि चाँडो मर्मत सक्न मर्मत कार्यमा संलग्न प्राविधिक तथा कर्मचारीलाई आग्रह गरेका हुन्न। हाल आयोजना पूर्णरुपमा बन्द गरिएको छ । यस्तै यही असोज १२ गतेदेखि आयोजनाको एउटा विद्युत् उत्पादन युनिट बन्द गरिने छ भने २५ दिनपछि पुनः तीनवटै युनिट मर्मत गरी बन्द गरिनेछ । आयोजनामा कूल ४८ मेगावाट क्षमताका तीनवटा विद्युत् उत्पादन युनिट रहेको छ । विशेष गरी आयोजनाको दोस्रो विद्युत् उत्पादन युनिट मर्मतका लागि सबैभन्दा बढी अर्थात् २५ दिन लाग्ने छ । देशकै ठूलो आयोजना बन्द गर्नुपर्दा औद्योगिक करिडोरमा विद्युत् प्रवाह कम हुन पुगेको छ । घरायसी ग्राहकका लागि भने कुनै पनि असर नपर्ने भए पनि औद्योगिक ग्राहकलाई भने आयोजना बन्द हुँदा समस्या पर्नेछ । आयोजनामा प्रयोग भएको जापानको तोसिबा कम्पनीको विद्युत् उत्पादन गर्ने उपकरणको ‘वारेन्टी’ सकिन लागेकाले मर्मत गर्नुपर्ने बाध्यता आइलागेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। यही असोज ७ गतेदेखि नै मर्मत शुरु भएको हो, १४ गतेसम्म ‘वारेन्टी’को अवधि थियो । सो अवधिमा नै मर्मत गर्दा प्राधिकरणले कुनै खर्च व्योहोर्नु पर्दैन, सो अवधिभन्दा पछाडि भएको भए प्राधिकरण आफँैले मर्मत गर्नुपर्ने भएकाले हतार गरिएको प्राधिकरणको भनाइ छ । हिउँदको समयमा मर्मत गर्दा देशव्यापीरुपमा नै विद्युत् उपलब्ध गराउन समस्या पर्ने भएकाले वर्षाको समयमा नै आयोजना बन्द गरेर मर्मत थालिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । आयोजनाको नियमित मर्मत गर्नुपर्ने कार्यसूचीअनुसार नै मर्मत गरिएको जानकारी दिँदै उहाँले दशैँ तिहारजस्ता ठूला चाडबाडको बीचमा पार्दा विद्युत् आपूर्तिमा समस्या नहुने बताए। विशेष गरी विद्युत् उत्पादन गर्ने मेशिनको भल्भमा समस्या देखिएको थियो । मर्मतका लागि नेपाली प्राविधिक टोली र जापानी प्राविधिकसमेत संलग्न रहेका छन् ।
स्वावलम्बन लघुवित्त खोल्यो पाँच शाखा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले एकसाथ पाँच शाखा विस्तार गरेको छ । शाखा विस्तार संगै वित्तीय संस्थाले ५७ जिल्लाका १२८ शाखा कार्यालयबाट लघुवित्त सेवा पु¥याउदै आएको छ । विपन्न तथा न्यून आय भएको वर्गको आर्थिक–सामाजिक अवस्थामा सुधार ल्याई उनीहरुको आयस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित संस्थाले वित्तीय पहुँच अभिवृद्धि योजना अनुरुप हाल रुपन्देही जिल्लाको तिलोत्तमा, पर्सा जिल्लाको बरियारपुर, रौतहट जिल्लाको चन्द्रपुर, सर्लाही जिल्लाको मलंगवा र महोत्तरी जिल्लाको बलवामा शाखा विस्तार गरेको हो । उपशाखा कार्यालय चन्द्रपुरको उद्घाटन रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, प्रदेश सभा सदस्य धनलाल ठोकर र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले संयुक्त रुपमा गरे । त्यस्तै, उपशाखा कार्यालय बरियारपुरको उद्घाटन बरियारपुर नगरपालिकाका उपप्रमुख तारादेवी कानु, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अमिता बज्राचार्य र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा गरेका थिए ।
जनता बैंकले लमजुङको बाल विकास आधारभुत विद्यालयलाई दियाे प्रोजेक्टर
काठमाडौं। जनता बैंकले लमजुङको बेशीसहर नगरपालिका वडा नं। १, रामचोकबेशीमा रहेको बाल विकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं हस्तान्तरण गरे। संविधानसभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बैंकका अध्यक्ष रायमाझीले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न उक्त सहयोग महत्व पूर्ण रहने बिचार व्यक्त गरे। जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गर्दै आइरहेको छ । बैंकले हाल देश भरीबाट १२३ शाखा, ४० शाखा रहित बैंकिङ, ७१ एटिएम, २ सिमित्त बैंकिङ्ग एकाईर २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।
दशैंलाई लक्षित गर्दै कलंकी अन्डरपास आइतबारदेखि पुन: सञ्चालनमा आउने
काठमाडौं । नेपालमा पहिलो पटक निर्माण गरिएको कलङ्की अण्डरपास पुन: सञ्चालनमा आउने भएको छ । दशैंमा उपत्यका भित्रिने र बाहिरिने सवारीलाई मध्यनजर गर्दै अर्को हप्ताको आइतबारदेखि अन्डरपास सञ्चालनमा ल्याउन लागिएको हो । हाल अन्डरपासमा धमाधम पिचको काम भैरहेको छ । एक दुई दिनमै पिचको काम सकिने चक्रपथ सुधार आयोजनाका इन्जिनियर निराजन शर्माले बताए । उनका अनुसार अब अन्डरपासको थोरै मात्र भाग पिच हुन बाँकी रहेकोले असोज १४ गतेदेखि अन्डरपास पुन सञ्चालनमा आउनेछ । “अहिले दशैंलाई लक्षित गरेर मात्र अन्डरपास खोल्न लागिएको हो, दशै पश्चात फेरी ४ दिन जति बन्द गरेर फिनिसिङको काम हुने इन्जिनियर शर्माले विकासन्युजसँग भने ।” आयोजना डिसेम्बर सम्ममा पुरा हुने पनि उनले बताए । यसअघि परिक्षणको लागि गत साउनमा केहिदिनको लागि अण्डरपास सञ्चालनमा ल्याइएको थियो । अण्डरपास सञ्चालनमा आएपछि उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ । चीन सरकारको सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो । साउन पहिलो सातामै खोल्ने भनिए पनि निर्माण सम्पन्न नभएकाले अण्डरपास खोल्न समय लागेको हो । थानकोटबाट कालिमाटीतर्फ आउने र जाने यातायात साधनका लागि १६ मिटर चौडाइको सडक रहेको छ । त्यसको ठीक तल १६ मिटर लामो सब–वे रहेकाे छ । जसबाट बल्खुबाट स्वयम्भूतर्फ आउने र जाने गाडी वारपार हुनेछन् । सब–वेको अन्डरपास भने ८ सय ४० मिटर लामो रहेको छ । यस बाटोबाट सीधै रिङरोडमा अघि बढ्ने गाडी मात्र गुड्नेछन् । तस्बिर: प्रकाश देवकोटा खसीबजार पुलबाट सुरु भएकाे अन्डरपासबाहेक दायाँबायाँबाट भने स्लोपमा समानान्तर सडक बाफल पुलसम्म पुगेकाे छ । खसीबजार तिरको दायाँ स्लोपबाट कालिमाटीतर्फ गाडी आउजाउ गर्नेछन् भने बायाँ स्लोपबाट थानकोटतर्फ आउजाउ गर्नेछन् । त्यस्तै, स्वयम्भूतर्फको बायाँ स्लोपका गाडी कालिमाटीतर्फ आउजाउ गर्नेछन् भने दायाँ स्लोपबाट थानकोटतर्फ आउजाउ गर्नेछन् । कुन सडकमा कसरी सवारीसाधन गुडाउने नागढुंगाबाट स्वयम्भूतर्फ जाने सवारीसाधन विना अवरोध ओभरहेड ब्रिजको बायाँतर्फ मोडेर जान सक्नेछन् । स्वयम्भूबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् । नागढुंगाबाट बल्खुतर्फ जाने सावरीसाधन विनाअवरोध दायाँ मोडेर जान सक्नेछन् । बल्खुबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रूपट प्रयोग गर्न सक्नेछन् । त्रिपुरेश्वरबाट स्वयम्भू जाने सवारीसाधनले ओभरहेड ब्रिजको दायाँ मोड प्रयोग गरेर जाने सक्नेछन् । स्वयम्भूबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् । त्रिपुरेश्वरबाट बल्खु जाने सवारीसाधनले ओभरहेड ब्रिजको बायाँ मोड प्रयोग गर्न सक्नेछन् । बल्खुबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही मोड प्रयोग गर्न सक्नेछन् ।