भूकम्प पीडितलाई घर बनाउन ५ बर्से कर्जा
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन् । मन्त्रीपरिषद्बाट पारित ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार घर बनाउन नसकेका भूकम्प पीडितले निजी आवास निर्माणका लागि अधिकतम पाँच वर्षका लागि ऋण लिन सक्ने छन् । नेपाल सरकारले ब्याज अनुदान उपलब्ध गराउने यस्तो कर्जामासम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा दुई प्रतिशत बिन्दु भन्दा बढी नहुनेगरी व्याज लिन पाउनेछन् । यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले यो ब्याज बाहेक अन्य कुनै प्रकारको थप सेवा शुल्क लिन पाउने छ्रैनन् । बैंक तथा वित्तीय संस्थाहरुले भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा सामूहिक वा धितो जमानीमा प्रवाह गर्नेछन् । प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले आर्थिक अभावका कारण घर निर्माण सुरु गर्न नसकेका खासगरी निम्न मध्यम वर्गका लाभग्राहीका लागि सहुलियतपूर्ण कर्जा उपयोगी हुने बताए । “दसैं तिहारपछि निजी आवास निर्माणको मौसम सुरु हुन्छ । यो कर्जाले आर्थिक अभावका कारण घर निर्माण अघि बढाउन नसकेका लाभग्राहीलाई राहत दिनेछ ।”, उनले भने । तर, यस्तो ऋण लिन कार्यविधिले केही सर्त भने राखेको छ । कर्जा प्राप्त गर्न लाभग्राहीले निजी आवास अनुदान बाहेक अन्य संस्थागत अनुदान नलिएको हुनुपर्छ । त्यसैगरी, सम्बन्धित लाभग्राही आर्थिक अभावका कारण हालसम्म निर्माण कार्य सुरु गर्न नसकेको भूकम्प पीडित मात्र यसका लागि योग्य हुन्छ । साथै, ऋणी वा निजको परिवारको नाममा कुनै पनि स्थानमा बस्नयोग्य घर भएको पनि हुनु हुन्न ।
मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीका कर्मचारीको तलब बढ्ने, धितोपत्र बोर्डले गर्यो हस्तक्षेप
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीका कर्मचारीहरुको तलब स्केल तथा योग्यता तोकेको छ । बोर्डले बुधबार निर्देशन जारी गर्दै मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीमा कार्यरत कर्मचारीहरुको तलब स्केल र योग्यता तोकिदिएको हो । यी दुबै संस्थामा कार्यरत कर्मचारीहरुको योग्यता र तलब स्केलमाथी प्रश्न उठेपछि बोर्डले हस्तक्षेप गरेको हो । योग्यता तथा ज्ञान नभएका कर्मचारीबाट काम गराएको र न्युनतम तलब समेत नदिएको आरोप मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीहरुलाई लाग्दै आएको थियो । बोर्डले धितोपत्र व्यवसायीहरुको कर्मचारी सेवा, शर्त तथा सुविधा सम्वन्धी नियवमाली जारी गरेको हो । बोर्डले ४५ दिनभित्र कर्मचारीहरुको योग्यता, तलब लगायतका व्यवस्था कार्यान्वयन गरि बोर्डमा उपलब्ध गराउन निर्देशन दिएको हो । यस्ता छन् नयाँ सुबिधा क) नेपाल सरकारले हालै तोकेको न्यूनतम पारिश्रमिक सम्वन्धी कानूनी व्यवस्थाको केन्द्रमा रही योग्यता र विशिष्टताको साथै वित्तीय क्षेत्रमा प्रदान गरिएको औषत सेवा सुविधालाई दृष्टिगत गरी प्रचलित कानूनले तोके बमोजिम न्यूनतम पारिश्रमिक तथा वित्तिय क्षेत्रको औसत किसिमको सेवा सुविधा कर्मचारीहरुलाई उपलब्ध गराउन । ख) संस्थामा कर्मचारीको रुपमा कार्यरत सवैलाई अनिवार्य रुपमा निजहरुको जिम्मेवारी तथा सेवा शर्त खुल्ने गरी नियुक्ति/करार गर्न । ग) कर्मचारी नियुक्ति, योग्यता, जिम्मेवारी, सेवा, शर्त तथा सुविधा सम्वन्धमा कर्मचारी सेवा शर्त विनियमावली तयार गरी लागू गर्न । साथै नेपाल सरकारको निर्णयानुसार मिति २०७५ आषाढ ३२ गतेको राजपत्रमा प्रकाशित सूचनामा उल्लेखित व्यवस्था कार्यान्वयन गर्न वोर्डवाट अनुमतिपत्र/दर्ता प्रमाणपत्र प्राप्त निकायहरुलाई उक्त संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीहरुले पाउने पारिश्रमिक एवम् वित्तीय सुविधा वैंक खाता मार्फत अनिवार्य भुक्तानी कार्यान्वयन गर्ने व्यवस्था मिलाउन परिपत्र गरिएको छ ।
गोबर र पिसाबबाट ग्यास निकालेर पाइपलाइनबाट बिक्री गर्ने योजना बनाइरहेको छु: पीताम्बर डुम्रे
काठमाडौं । स्याङ्जाका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आएका हुन् । झण्डै चार वर्ष अघि पाँच जनाले सामूहिकरूपमा सञ्चालन गरेको पञ्चमुखी कृषि फार्म अहिले डुम्रे एक्लैले सञ्चालन गर्दै आएका छन् । भौतिक संरचना निर्माण तथा गाई भैँसी खरीदका लागि हालसम्म रू एक करोड ३० लाख लगानी रहेको फार्म सञ्चालक डुम्रेले बताए । युवा व्यवसायी डुम्रेको फार्ममा हाल साना तथा ठूला गरी ८० वटा पशु रहेका छन् । “फार्ममा २२ वटा मुर्रा, आठ स्थानीय जातका भैँसी, ११ जर्सी र हल्याण्ड जातका गाई दुहुना छन्” युवा व्यवसायी डुम्रेले भने, “अहिले फार्ममा दैनिक २०० लिटर दूध उत्पादन हुने गरेको छ ।” यहाँ उत्पादन भएको दूध बिक्रीका लागि बजारसम्म लैजान खरीद गरिएको सवारी साधनमार्फत दैनिकरूपमा वालिङ तथा गल्याङ बजारमा लैजाने गरिएको छ । “मैले साउदीमा रहँदा पनि यस्तै पशुपालन गर्ने फार्ममा काम गरेको हुँ त्यहाँ रहँदा सिकेका सीप यहाँ आएर आफ्नै ठाउँमा गरेको छु” युवा व्यवसायी डुम्रेले भने, “दूधका अलावा कसैले पनिर, घ्यू, दही, नौनीको माग गर्नुभएमा पनि फार्मबाटै उपलब्ध गराउने गरेको छु ।” फार्मबाट मासिक रू पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको छ भने खर्च औसतमा तीन लाख ३५ हजार हुँदा मासिकरूपमा डेढ लाख बढी बचत हुने गरेको फार्म सञ्चालक डुम्रेले बताए। डेढ सय रोपनीमध्ये २० रोपनी आफ्नै जग्गा र अरू जग्गा भाडामा लिएर पशुपालन गर्दै आउनुभएका डुम्रेले हाल १० जनालाई रोजगारीसमेत दिएका छन् । “साउदीमा सिकेको सीप पूरै यहाँ कार्यान्वयन गर्न सकिरहेको छैन” युवा व्यवसायी डुम्रेले भने, “गोबर र पिसाबबाट ग्यास निकालेर बिक्री गर्ने योजना छ तर लगानी अझै थप्नुपर्छ के गर्नु कृषि भाषणको विषय भयो बैंकले सस्तो ब्याजदरमा ऋण दिँदैनन् ।”रासस
के नेपाल हाम्रो होइन, मलाई गाली गर्नेहरु साम्प्रदायिक हुनः पप्पु कन्स्ट्रक्सनका मालिक रौनियार
विकास समिति बैठकमा आफ्नो बचाउ गर्दै सांसद हरिनारायण रौनियार(खैरो कोटमा) काठामडौं । मेरो व्यक्तिगत नामसहित केहि माननियहरुले किटान गरेर अभिव्यक्ति दिएकोमा मेरो घोर आपिक्त छ । कुनै कम्पनी र त्यसले गरेका काम कारवाहीका सम्बन्धमा कुरा उठाउनु सामान्य हो । त्यसमा मेरो पनि आपक्ति हुन सक्दैन् । तर कुनै एउटा खास पार्टीको माननियले यो समितिमा हरिनारायण रौनियार सदस्य हुनु हुँदैन भन्नु अनुचित हो । म कुनै पार्टीको सदस्य मात्रै होइन् । पार्टी सदस्य बनेर जनताको मत पाएर निर्वाचत भएको व्यक्ति हुँ । मलाई जनताले जिताएर पठाएका हुन् । यो कुनै दल वा पार्टीको संसद पनि होइन् । यो संबिधान एउटा पार्टीले ल्याएको पनि होइन् । यसमा सबै जाति, भाषा, धर्म र भूगोल तथा विचारमा आस्थाहरु राख्नेहरुको सहभागीता छ । संबिधानको मर्म पनि त्यहि नै हो । एउटा पार्टीबाट निर्वाचित भएर आएको सांसदले अर्काे पार्टीका सांसदलाई यो समितिमा राख्न हुन्छ की हुन्न भन्ने कुरा उहाँको अधिकार होइन् । आफ्नो अधिकार भन्दा बाहिर गएर व्यक्तिगत आलोचना गर्नु उहाँको नैतिकताले पनि नदिनुपर्ने हो । अर्काे पार्टी र भूगोलका तर्फबाट प्रतिनिधित्व गर्नेहरुको यसरी आलोचना गर्नु भनेको साम्प्रदायिक कुुरा हो । यो काठमाडौं र नेपाल उहाँहरुको मात्रै हो र ? हाम्रो होइन् र ? नेपालको बिबिध भुभागबाट प्रतिनिधित्व गर्नेहरुको पनि हो यो देश । सिंगो समितिमा सबैको प्रतिनिधीहरुको अधिकार समान रहन्छ । विकास निर्माणमा भएका ढिलासुस्तीका सन्दर्भमा माननियहरुले बोल्नु भएको कुरामा मलाई कुनै समस्या छैन् । कानुनमा जे लेखिएको छ, त्यहि अनुसार हुन्छ । कानुन हामीले नै बनाउने हो । अहिले मौजुदा कानुन छ, त्यसलाई नहेरी एक जना माननियले कुरा उठाउँदैमा हुन्न । पहिले हामीले कानुन संसोधन गर्नुपर्छ । तब मात्रै कानुन अनुसार बोल्ने कुरा हुन्छ । तर विगत केहि दिनदेखि संसददेखि सडक र समितिसम्म निर्माण व्यवसायी मात्रै दोषी हुन भन्ने आरोप लागिरहेको छ । ढिलो काम हुनुमा विगतका सरकार र सांसदहरु नै ९० प्रतिशत दोषी छन् । १० लाख रुपैंयाँ बजेट राखेर ५० करोडको ठेक्का लगाउने कानुन बनाउने तिनै पुराना माननियहरु हुन् । अनि राज्यमाथी दायित्व बोकाउने विगतका सरकारलाई केहि भन्नु नपर्ने ? खाली निर्माण व्यवसायीलाई गाली गर्ने ? विगतको सरकारले ठेक्का लगाएका १५ सय पुल निर्माणाधिन छन् । ९ सय पुल स्थानीय तहमा निर्माणाधिन छन भने ३ सय राजमार्गमा र ३ सय राजमार्गहरुमा निर्माणाधिन अवस्थामा रहेका छन् । तर रातो किताबमा पुलहरुका लागि ३ अर्ब भन्दा बढि बजेट विनियोजन गरिएको पाइन्न । यसपालीमा पनि २ अर्ब ८६ करोड मात्रै पुलहरुका लागि विनियोजन गरिएको छ । अनि निर्माण व्यवसायीले काम गरेन भनेर गाली मात्रै गरेर हुन्छ ? (विकास तथा प्रबिधि समितिमा पप्पुका मालिक हरिनारायण रौनियारले व्यक्त गरेको विचार)
बजार घटेका बेला कुमारी बैंकको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण
काठमाडौं । बजार घटेको दिन कुमारी बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बुधबार बजार २.३१ प्रतिशतले घटेको छ । बैंकिङ समूकको सेयर मूल्य घटेका बेला कुमारी सेयर मूल्य स्थिर रहेको छ । साउन २७ गतेयता कुमारीको सेयर मूल्य निरन्तर बढी रहेको छ । बुधबार कुमारीको सेयर प्रतिकित्ता २६० रुपैयाँमा सेयर किनबेच भएको छ । बुधबार कुमारीको ६ करोड २७ लाख रुपैयाँ बराबरको २ लाख ४१ हजार ४८८ कित्ता सेयर कारोबार भएको छ । कुमारीको सेयर मूल्य सस्तो भएकाले लगानीकर्ता झुम्मिएको ब्रोकरको भनाई छ । यस्तै एनएमबी बैकको पनि प्रतिकित्ता ३७३ रुपैयाँ ६ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार बजार घटे पनि ९१ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जीवन बीमा बाहेक सबै क्षेत्रको परिसुचक घटेको छ । बजार घटेका बेला समता माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।
बैंक अफ काठमाण्डूका कार्डधनी ग्राहकहरुका लागि दशैं तिहारको अफर
काठमाडाैं । बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्डधनी ग्राहकवर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । बैंकले अाफ्ना ग्राहकका लागि ग्राण्डी हस्पिटलको सेवा लिए बापत ७.५ प्रतिशत छुट दिने भएकाे छ । त्यस्तै, एलजि.लाइफस्टाईल प्रा. लि. को कुनै पनि शाे स्वरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत , दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १० प्रतिशत , सुलक्स एण्ड कम्पनीमा १० प्रतिशत , फलानो लुगाको कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत र अर्गानिक चुलो बत्तिसपुतलीमा १५ प्रतिशत छुट पाउने बैंकले जनाएकाे छ । बैंकले दशैं, तिहार लगायत चाडपर्वकाे अवसरमा यस्ताे छुट याेजना ल्याएकाे जानाएकाे छ । यस्ताे छुट सीमित अवधिकाे लागि हुने बैंकले जनाएकाे छ ।
३ करोडको लगानीमा ३ वटा आकाशे पुल बन्दै
काठमाडौं । गण्डकी प्रदेशका तीन जिल्लामा रु तीन करोडको लागतमा तीन आकाशे पुल निर्माण शुरु गरिएको छ । मानिसको बढी आवातजावत हुने बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका ठूला खोंच र नदीमाथि आकाशे पुल निर्माणको काम शुरु गरिएको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत तीनवटै पुल निर्माणका लागि हिमशिर निर्माण कम्पनीलाई जिम्मा दिएको छ । २०७६ वैशाखभित्र तीनवटै पुल सक्ने गरी काम शुरु गरेको निर्माण कम्पनीका नरहरि खड्काले जानकारी दिनुभयो । रु तीन करोडमा पुलको ठेक्का सम्झौता भएको छ । बागलुङ नगरपालिका–५ मालिकादेखि म्याग्दीको बेनी नगरपालिका–२ को बीचमा रहेको ठूलो खोंचमाथि २६० मिटर, म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित कालीगण्डकी नदीमाथि १२१ मिटर र मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को छुसाङस्थित कालीगण्डकी नदीमा १६५ मिटर लम्बाइको आकाशे पुल निर्माण हुनेछ । तीन ठाउँमा निर्माण हुन लागेका तीनवटै पुल फरक प्रविधिबाट निर्माण गर्न लागिएको निर्माण कम्पनीका खड्काले जानकारी दिनुभयो । उनका अनुसार बागलुङ र म्याग्दी जोड्ने पुल ओपन प्रविधि, म्याग्दीको गलेश्वरमा निर्माण हुने एन टाइप प्रविधि र मुस्ताङको छुसाङमा निर्माण हुने पुल डी टाइप प्रविधिमा निर्माण हुनेछ । नेपाल सरकारले मानिसको बढी आवातजावात हुने खोंच तथा नदीमाथि आकाशे पुल निर्माण गर्ने नीतिअनुसार निर्माणको काम शुरु गरिएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । पुल निर्माण भए धेरै जनतालाई आवातजावतमा सहजता आउने बागलुङ नगरपालिका –५ का वडाध्यक्ष शिव सापकोटाले जानकारी दिए । रासस
मंगलमको पीभीसी पाइप नेपाली बजारमा
काठमाडौं । मंगलमको पीभीसी पाइप नेपाली बजारमा आएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरी मंगलमले पीभीसी पाइपकोे उद्घाटन गरेको हो । देशभर ४ सय डिलहरुबाट बिक्री हुने पाइप आइएसओ ९००१ र २००० चिन्ह प्राप्त गरेको छ । कम्पनीले ४ सय डिलरलाई दशैं धमाका योजना समेत ल्याएको छ । डिलरहरुका लागि कम्पनीले २ लाख सम्मको सामाग्रीमा ६ प्रतिशत, ४.५ लाखको सामाग्रीमा १० प्रतिशत र ८ लाख सम्मको सामाग्रीमा १२ प्रतिशतसम्म क्रृण सुविधा दिने भएको छ । पीभीसी पाइप उत्कृष्ट क्वालीटी र नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले जनाएको छ ।