१ डलर किन्न १२० रुपैयाँ खर्च गर्नुपर्ने, विश्लेषक भन्छन् : मूल्यवृद्धिले नेपालीको किन्ने क्षमता घट्दै
काठमाडौं । भारुको निरन्तर अवमूल्यन भएपछि नेपाली रुपैयाँ पनि कमजोर हुँदै गएको छ । नेपालीले १ अमेरिकी डलर किन्न नेपालीले १२० रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था आएको छ । डलर मजवुत हुँदै गएपछि नेपाली रुपैयाँ कमजोर भइ नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ डलर बराबर ११९ रुपैयाँ ३३ पैसा बिक्री दर तोकेको छ । यो हालसम्मको उच्च दर हो । अमेरिकी डलरसंग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । भारु कमजोर भई १ डलर बराबर ७४.२७ पुगेको छ । डलरसंग भारु कमजोर हुँदा नेपाली रुपैयाँ कमजोर हुँदै गएको बैंकर अनलराज भट्टराइ बताउछन् । अमेरिका र चीनबीचको व्यापार युद्धले गर्दा विश्व बजारमा डलर मजवुत हुँदै गएको उनको तर्क छ । डलर बलियो हुनुमा नेपालको केही भुमिका नभए पनि मूल्यवृद्धि गराउने र नेपालीको क्रयशक्ति घटाउने भट्टराइको भनाई छ । “डलर महंगिएका कारण सरकारको भन्सार राजश्व बढछ तर नेपालीको क्रयशक्ति कमजोर भई यसले आर्थिक वृद्धिमा असर गर्ने देखिएको छ” उनले भने “चालु आर्थिक वर्षका लागि सरकारले लिएको ८ प्रतिशत वृद्धिमा कमी र मुद्रास्फितीले सीमा नाघने छ ।” भारतमा आम निर्वाचन हुन लागेकाले भारु बलियो हुने संभावना रहेको उनको भनाई छ । स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुने गरेको छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्नेगर्छ । बजार भाउ बढ्छ । यसको असर आउदो दशैमा पर्ने भएको छ । डलर लगातार बढी रहेकाले दशैका खरिद गर्ने वस्तुको भाउ आकासिने देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीतिका कारण अमेरिकी अर्थतन्त्र मजवुत हुदा डलर महंगिएको हो । पछिल्लो समयमा अन्य मुलुकमा भएको लगानी अमेरिकामा फिर्ता हुन थालेपछि डलर संचिती बढेको छ । भारतबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । भारतमा डलर संचितीमा गिरावट आएको छ । डलर महंगिएका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको छ । यसको असर आन्तरिक बजारमा पनि परेको छ । आउँदो दशैं महंगो हुने देखिएको छ । डलर बलियो हुँदाका बेफाइदा डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै, भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधान, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । यस्तै जलविद्युत आयोजनाको लागत पनि बढ्ने छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।
८.८ मेगावटको रुदी ‘ए’ आयोजना निर्माण सम्पन्न
काठमाडौं। पछिल्लो दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम सम्पन्न हुने चरणमा पुगेका छन् । सरकारी स्वामित्व एवं लगानीका आयोजनाको निर्माण कार्यमा आशातित प्रगति नभइरहेको बेला निजी क्षेत्रले आक्रामक रूपमा आयोजना निर्माण सम्पन्न गर्न थालेका हुन् । केही दिन पहिले मात्रै लमजुङमा नै आयोजनास्थल रहेको २५ मेगावाट क्षमताको दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको थियो । यस्तै दोलखामा आयोजनास्थल रहेको २५ मेगावाट क्षमताको सिङ्गटी जलविद्युत् आयोजनाको पनि सुरुङ निर्माण सम्पन्न भएको थियो । यसै क्रममा लमजुङ र कास्कीको सिमानामा पर्ने रुदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । स्थानीय रुदी खोलामा निर्माण गरिएको ८ दशमलव ८ मेगावाट क्षमताको सो आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनाले १५ दिन नेपाल विद्युत् प्राधिकरणलाई परीक्षणको समय निःशुल्क विद्युत् दिएको छ भने एक महीनाभित्र व्यावसायिक विद्युत् उत्पादन थालिने आयोजनाले जनाएको छ । असोज २० गतेदेखि नहरमा पानी राखेर परीक्षण थालिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग व्यावसायिक विद्युत् उत्पादन मिति (सीओडी) गत वर्षको असारमा नै तोकिएको थियो । तर निर्माण कार्यमा केही ढिलाइ भएपछि आयोजनाले व्यावसायिक उत्पादन मिति पर सारेको हो । रुदी ‘ए’ जलविद्युत्को २०६९ माघ २८ गते विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । निर्माण शुरु भएको दुई वर्ष पाँच महीनाको अवधिमा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । हिउँदको समय रु आठ रुपैयाँ ४० पैसा र बर्खायाममा रु ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता भएको हो । रु एक अर्ब ५० करोड लागतमा आयोजना निर्माण भएको हो । २०७४ असार मसान्तभित्र सक्ने भनिए पनि ०७३ को असारमा बाढीपहिरोले निर्माणाधीन आयोजनामा क्षति पु¥याएपछि निर्माण अवधि लम्बिएको थियो । त्यसअघि भूकम्प र नाकाबन्दी साथै पहिरोले आयोजनाको निर्माण कार्य प्रभावित बनेका आयोजनाका प्रोजेक्ट म्यानेजर सरोज भट्टराईले बताए। विद्युत्गृहमा ४ दशमलब ४ मेगावाटका दुई पेलटन टर्बाइन जडान गरिएको छ । अहिले इन्टेक र पेनस्टकमा पानी राखेर परीक्षण भइरहेको उहाँले बताए। लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ सिङदीगाउँ र कास्कीको मादी गाउँपालिका–८ सिङदीबेसीमा आयोजनाको बाँध निर्माण गरिएको छ । आयोजनामा ६ किलोमिटर लामो पेनस्टक पाइपमार्फत पानी हालिएको छ । मादी–९ बालुवाबोसीमा निर्माण गरिएको विद्युत् परीक्षण उत्पादन शुरु गरिएको छ । आयोजनाको सिभिलतर्फ हाइ हिमालय हाइड्रो कन्सट्रक्सन, हाइड्रो मेकानिकलतर्फ नर्थ हाइड्रो एण्ड इञ्जिनीयरिङ र इलेक्ट्रो मेकानिकलतर्फ तोशिबा प्लान्ट सिस्टम एण्ड सर्भिस कर्पोरेशनले काम गरेको छ । आयोजानको प्रवद्र्धकमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि रहेको छ । आयोजनामा प्रवद्र्धकको ३० प्रतिशत स्वपूँजी रहेको छ भने सानिमा बैंकलगायतले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवद्र्धक कम्पनीले ६ दशमलव ६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । उक्त आयोजनाको पावरहाउसको सिभिलतर्फको काम सकिएको छ । रासस
आजदेखि सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला
काठमाडौं। यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीहरूको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले रुट परमिट खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज गन्तव्यमा ल्याउन तथा लैजानका लागि पालो पर्खनु नपर्ने बताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले रुट परमिट खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने बताए। विभागले सो समयमा सामान बोकेर काठमाडौँ भित्रिने ‘मल्टी एलेक्स ट्याक्टर ट्रेलर’ ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ । ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले आजदेखि असोज ३१ गतेसम्म नारायणघाटबाट काठमाडौँ आउने ठूला सवारी साधनलाई रोक लगाएको हो । रासस
मुक्तिनाथ विकास बैंकको शाखा विर्तामोड र धरानमा विस्तार, कुल शाखा ९५ वटा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले झापा जिल्लाको बिर्तामोड र सुनसरी जिल्लाको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ । बिर्तामोड शाखाको समुद्घाटन बिर्तामोड नगरपालिकाका मेयर धुर्व कुमार सिवाकोटी र धरान शाखाको समुद्घाटन सुनसरी जिल्ला उद्योग वाणिज्य संघकाअध्यक्ष राजेन्द्र शाह गरेका छन् । शाखाकार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथिहरुले बैंकको प्रगतिको कामना गर्नु हुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे । समुद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवीहरुको उपस्थिति रहेको थियो । मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १७ वटा ए.टि.एम. र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । हालै बैंकले आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको सूचना अधिकृत तिलबहादुर गुरुङ्गले जानकारी दिए ।
विधेयक पारित भएपछि विकासले गति लिन्छ : मुख्यमन्त्री राउत
काठमाडौं। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको विधेयकहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने बताएका छन्। सिरहाको कल्याणपुर नगरपालिकास्थित चिकना बजारमा मङ्गलबार आयोजित पार्टी प्रवेश एवं शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संसद्मा करार विधेयक, प्रहरी विधेयकलगायतका विधेयक ल्याएको बताए। सङ्घीय सरकारले आवश्यक कर्मचारी नपठाउँदा विकास निर्माणको काम प्रभावकारी हुननसकेको बताउनुहुँदै उनले सङ्घीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफ्नै प्रहरी प्रशासन स्थापना गर्ने बताए। प्रहरी ऐनमाथि सदनमा छलफल शुरु भइसकेकाले यसै साता पारित हुने उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले ऐन पारित भएलगत्तै प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने उनले उल्लेख गरेका छन्। कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, पार्टीका उपमहासचिव प्रकाश अधिकारी, केन्द्रीय सदस्य एवं पूर्वसभासद डा वीरेन्द्र महतो, केन्द्रीय सदस्य अशेश्वर यादवसहितको सहभागिता रहेको थियो । रासस
भक्तपुरको तलेजुमा जमरा राखी दशैँ शुरु
काठमाडौं। भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडादशैँ शुरु भएको छ । आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दशैँ शुरु भएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । नेपालकै मूल तलेजुमा वैद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दशैँघरमा जमरा राखिएको हो । राजा हरिसिंहदेव र देवलदेवीले नेपाल संवत् ४४४ मा सिम्रनगढबाट ल्याएर श्री तलेजु भवानीलाई भक्तपुरमा प्रतिस्थापन गरेपछि तलेजु जात्रा मनाउने परम्परा शुरु भएको जोशीले बताए। घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा रहेको छ भने आजै भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा रहेको छ । तलेजुमा सप्तमीदेखि दशमीसम्म तलेजु जात्रा मनाइन्छ भने सप्तमीदेखि महानवमीसम्म ५४ बोका, ३२ राँगा र २४ हाँसको बली दिई कालरात्री गरी जात्रा मनाउने गरिन्छ । तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । सप्तमीको दिन तलेजुलाई देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराई जात्रा मनाउने परम्परा रहेको छ । तलेजुलाई दशैँघरमा राखेर पूजा गर्ने परम्पराअनुसार मूलनाइके जोशीले खड्ग बोकेर अन्य व्यक्तिहरूले तलेजुलाई विधिवत रूपमा दशैँघर पु¥याएर विजयादशमीको दिनसम्म तलेजुलाई दशैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको छ । विजयादशमीको दिन भने तलेजुलाई विजययात्रा गरी दशैँघरबाट मूलघरमा भित्र्याइने परम्परा रहेको मूलनाइके जोशीले बताए । रासस
थ्रीस्टार हाइड्रोपावरले साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने
काठमाडौं। थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । रु एक अर्ब ५० करोड लगानीमा उत्पादन हुने जलविद्युत्का लागि राष्ट्रिय वाणिज्य बैंकको ७० र उपभोक्ताको ३० प्रतिशत शेयर लगानी रहने जनाइएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी काम थालिएको साप्सुखोला जलविद्युत् हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सिमानास्थित बेलडाँडाबाट उत्पादन गरिने हाइड्रोपावर कम्पनीका अध्यक्ष कुमार खरेलले बताए। “विद्युत् उत्पादनका लागि प्राधिकरणसँग पिपिए गरिसकिएको छ ।” उनले भने, “दशैँ तिहारपछि काम अगाडि बढाउने तयारीमा लागेका छौँ ।” कूल आम्दानीको दुई प्रतिशत स्थानीय तहलाई दिने गरी काम थालिएको जलविद्युत् उत्पादनको काम अहिलेसम्म १० प्रतिशत सम्पन्न भएको जनाइएको छ । जलविद्युत् उत्पादनका लागि ८५ रोपनी सरकारी र ४७ रोपनी निजी जग्गा खरिद गरेर कम्पनीको नाममा पास गरिसकिएको आयोजना प्रमुख जेनिश लामाले बताए। दश स्थानीय तह रहेको जिल्लामा साना ठूला गरी डेढ दर्जन बढी हाइड्रोपावर सञ्चालनमा छ । तत्कालीन जिल्ला विकास समितिले आर्थिक वर्ष २०६३÷६४ मा उक्त हाइड्रोपावरलाई एकीकृत गर्दै पाँच वर्षभित्र जिल्लालाई अन्धकारमुक्त बनाउने गरी आवधिक योजना बनाए पनि कार्यान्वयन भएको छैन । रासस
ललितपुरको सातदोबाटोमा ट्राफिक प्रहरी भवन उद्घाटन, सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको १५ लाख सहयोग
काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्राफिक प्रहरी कार्यलय निर्माण सम्पन्न भएको छ । नयाँ ट्राफिक भवनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबार उद्घाटन गरेका छन् । अत्याधुनिक ट्राफिक प्रहरी भवन निर्माणका लागि सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।