सानिमा जनरल इन्स्सोरेन्स र बैंक अफ काठमाण्डूबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाण्डू लिमिटेडबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्वन्धमा बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने छ । कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब रुपैयाँ र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्ष भित्र ३० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।
माथिल्लो तामाकोसीमा आइतबारसम्म ४ अर्बको आवेदन, कतिले भरे आईपीओ ?
काठमाडौं । माथिल्लो तामाकोसीको साधारण सेयर (आईपीओ) खुलेको तेस्रो दिनको कार्यालय समयसम्म करिब ४ अर्ब रुपैंयाको आवेदन परेको छ । आइतबार ५ बजेसम्म अपडेट अनुसार ३ अर्ब ९९ करोड ७३ लाख रुपैयाँको आवेदन परेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए । उनका अनुसार सो समयसम्म २ लाख ६ हजार ९९१ जनाले तामाकोसीको आईपीओका लागि आवेदन दिएका छन् । मागभन्दा बढी आवेदन परेपछि निर्धारित समयमै आईपीओ निष्कासन बन्द हुने भएको छ । आईपीओ भर्ने अन्तिम दिन सोमबारसम्म तोकिएको छ । कम्पनीले सर्वसाधारणका लागि चुक्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ गत बिहीबारदेखि निष्कासन गरेको छ । कोषका अनुसार आईपीओका लागि न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिने पाइने छ । नेपाल धितोपत्रबाट स्वीकृती प्राप्त सी–आस्वाका सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आईपीओ भर्न सकिने कोषले जानकारी दिएको छ । आईपीओ आयोजना प्रभावित स्थानीयबासिन्दाले भर्न नपाउने भएका छन् । तामाकोसीले निष्कासन गर्न लागेको यो अन्तिम आईपीओ हो । स्थानीयबासिन्दाका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ । आयोजनाले यसअघि नै सञ्चय कोषका स्थानीयबासी र सञ्चयकर्ता समेत गरी ५ लाख भन्दा बढीलाई २४ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ ।
स्पर्स लघुवित्तको ३२.५ प्रतिशत आईपीओ पारित, पुँजी ८ करोड २९ लाख पुग्ने
काठमाडौं । सपर्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३२.५ प्रतिशत साधारण सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । आइतबार सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम जारी पुँजीको ३२.५ प्रतिशतले हुन आउने २ करोड ६९ लाख रुपैयाँ बराबरको २,६९,६३० कित्ता साधारण सेयर सर्वसधारणलाई निष्कासन गर्ने छ । हाल कम्पनीको जारी पुँजी ८ करोड २९ लाख रुपैयाँ रहेको छ । विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संसोधन, जारी पुजीलाई वृद्धि गर्दै संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्वलाई ७०ः३० को अनुपातबाट ६७.५०ः३२.५० हुने गरी संशोधन गर्ने तथा थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित भएको छ । जनता बंैक नेपाल लि, मेगा बैंक नेपाल लि. र ७५ जना व्यवसायिक तथा प्रतिष्ठित व्यक्तित्वहरुले प्रर्वद्धन गरेको यो वित्तीय संस्थाले हाल २० वटा शाखा मार्फत करिब १२,००० सदस्यहरुलाई ४६ करोड कर्जा लगानी गरेको छ । साथै, कम्पनीले करीब ९ करोड रुपैयाँ बचत संकलन गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सजल खड्काले बताए । १० करोड रुपैयाँ अधिकृत पुँजी रहेको वित्तीय संस्थाको हाल चुक्ता पुँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई सेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजी ८ करोड २९ लाख रुपैयाँ पुग्नेछ ।
पुँजी बजारमा एलआईसीको सन्देश : सञ्चालक समितिको मात्र भर नपर्नु !
काठमाडौं । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयलाई मात्र सर्वोपरि मानेर त्यसैअनुसार शेयर बजारमा लगानी गर्न/लगानी झिक्न चाहने लगानीकर्तालाई लाइफ इन्स्योरेन्स कर्पोरेसनले गतिलो सन्देश दिएको छ । इन्स्योरेन्स सञ्चालक समितिको गत साउन २४ गते बसेको बैठकले शेयरधनीलाई ३६ प्रतिशत बोनस सेयर तथा उक्त बोनस सेयरबापत लाग्ने कर प्रयोजनका लागि १.८९ रुपैंया नगद लाभांश दिने गरी गरिएको प्रस्तावलाई बीमा समितिले अस्वीकार गरी वित्तीय विवरण संशोधनका लागि निर्देशन दिएपछि सञ्चालक समितिको शनिबार पुनः बैठक बसी १२ प्रतिशत बोनस शेयर तथा त्यसमा लाग्ने ०.६३ प्रतिशत नगद लाभांश दिने संशोधित प्रस्ताव गरेको छ । यो स्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् । उक्त प्रस्तावसँगै आइतबारको शेयर बजारमा सो इन्स्योरेन्सको शेयर मूल्यमा भारी गिरावट आएको छ । आइतबारको शेयर बजारमा एलआईसीले सर्वाधिक मूल्य गुमाएको छ । कम्पनीको शेयर मूल्यमा ५.६३ प्रतिशतले गिरावट भई १५०० रुपैंयामा अन्तिम कारोबार भएको छ । समग्रमा दोहोरो अंकको गिरावट आएको बजारमा कम्पनीको मूल्यमा आएको गिरावट सामान्य देखिए पनि लगानीकर्तालाई सञ्चालक समितिको निर्णयलाई नै अन्तिम मान्ने प्रचलनप्रति सावधान रहनुपर्ने सन्देश दिएको छ ।
सामुदायिक विद्युत उपभोक्ता र एनआईसी एशियाबीच बैंकिङ सेवा साझेदारी सम्झौता
काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल र एनआईसी एशिया बैंकबीच बैंकिङ साझेदारको लागी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकले सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वित्तीय क्षमता विकास गर्ने उद्देश्य सहित उक्त संस्थासँग सम्झौता गरेको हो । उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपालको तर्फबाट अध्यक्ष नारायण ज्ञवाली र एनआईसी एशिया बैंकको तर्फवाट बैंकका सीईओ रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झैता बमोजिम एनआईसी एशिया बैंकले आफ्ना २६४ शाखा र २० काउन्टर मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिंग स्रोत उपलब्ध गराउँने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका र सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय अनि उद्योगमा लगानी गर्ने भएको छ । समुदायको बैकिंङ् शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्ने र निम्न आय भएका समुदायको जीवनस्तर माथि उठ्न सहयोग पुग्ने बैंकले जनाएको छ । साथै, यस सम्झौताबाट ग्रामीण विद्युतीकरणको विकास , रोजगार तथा उद्यमशीलताको विकास तीव्र रुपमा हुने समेत विश्वास गरिएको छ । नेपाल सरकारको आगामी तीन वर्षभित्र आधारभूत रुपमा सवै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउने र पाँच वर्ष भित्रमा चाहेजति विद्युत उपलव्ध गराउँने भन्ने नीति रहेको छ । नेपाल सरकारले जनसहभागितामा सामुदायिक विद्युतीकरण कार्यक्रम शुरु गरेपछि देशभरका ५२ जिल्लामा २८२ सामुदायिक संस्थामार्फत ५,००,००० घर परिवारका २० लाख उपभोक्तामा विद्युतको विस्तार भएको छ । सामुदायिक विद्युतीकरण शुरु भएको १४ वर्षको अवधिमा सहभागिता वापत समुदायबाट नगद १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम नेपाल विद्युत प्राधिकरणमा जम्मा भईसकेको छ ।
नागढुंगा-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ४ कम्पनी अन्तिम प्रतिष्पर्धामा
काठमाडौं । नागढुंगा–धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ४ वटा कम्पनी अन्तिम प्रतिष्पर्धामा जुटेका छन् । लगानी बोर्डले आव्हान गरेको ग्लोबल टेण्डरबाट प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनीमध्ये ४ वटाले मात्रै आर्थिक प्रस्ताव पेश गरेका हुन् । अब आगामी एक महिनाभित्र यीनै ४ वटा कम्पनीमध्येबाट एउटा कम्पनीलाई डीपीआर निर्माणको जिम्मेवारी दिईनेछ । अनुमानित ४५ किलोमिटर लामो मेट्रोरेल निर्माणका लागि प्रतिकिलोमिटर ४ अर्बका दरले १८० अर्ब लाग्ने अनुमान गरिएको छ । चाइना रेल्वे सिउवान सर्वे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, राइट्स इण्डिया लिमिटेड, युसिन इन्जिनियरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युकसलवारी टर्कीले अन्तिम प्रतिष्पर्धामा सहभागीता जनाएका हुन् । आशयपत्र पेश गरेर प्रारम्भिक छनौटमा परेका चाइना मेशिनरी इन्जिनियरिङ कर्पोरेशन र निप्पोन कोइ कम्पनी लिमिटेड, जापानले भने आर्थिक प्रस्ताव पेश गरेनन् । आगामी एक महिनाभित्र डीपीआर निर्माण गर्ने कम्पनीको टुंगो लाग्ने लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा २०७४ कात्तिक २७ गते बसेको लगानी बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बनाउने निर्णय गरेको थियो । लगानी बोर्डले नै गठन गरेको राािष्ट्रय योजना आयोगका पुर्वाधार हेर्ने तत्कालिन सदस्य हिरेन्द्रमान प्रधान नेतृत्वको कार्यदलले पहिलो चरणमा नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल मेट्रोरेल बनाउन सकिने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा बोर्डले रेलका लागि प्रारम्भीक काम थालेको हो । विस्तृत सम्भाव्यता अध्ययन र डीपीआर तयार भैसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण(बुट) मोडलमा अन्तराष्ट्रिय कम्पनीको खोजी हुनेछ । जमिनमाथी पुल निर्माण गरेर मेट्रोरेल सञ्चालन गरिनेछ । एलेटेटेड ट्रयाक(पुल) माथी रेल गुडाउने प्रबिधी अन्तर्गत मेट्रो रेलको निर्माण गर्न लागिएको हो । मेट्रो रेलहरु व्यवसायीक रुपले सञ्चालन गर्न कठिन हुनेगरेको छ । त्यसैले मेट्रो रेल सञ्चालनको जिम्मेवारी पाउने कम्पनीलाई सरकारले केहि अनुदान वा सहुलियतको सुबिधा उपलब्ध गराउनेछ । उपत्यकामा मेट्रो रेल निर्माणका लागि कोरियाली, जापानी तथा केहि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन् । उनीहरुले केहि बर्ष पहिले नै मेट्रो रेल निर्माणका लागि भन्दै रेल विभागमा आसय पत्र बुझाएका थिए ।
नेप्से दोहोरो अंकले घट्यो, लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले गुमाए सबैभन्दा बढी
काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार शुरु भएदेखि घटेको नेप्से परिसूचक अन्त्यमा १३ अंकले घटेर १२०७ अंकमा झरेको छ । समग्रमा सो दिनको बजारमा १.०९ प्रतिशतको गिरावट आएको छ । बजारमा परिसूचकमा गिरावट देखिएपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । आइतबार कुल १५४ कम्पनीको ५६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी माछापुच्छ्रे बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन १६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा सबैभन्दा बढी लाईफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल)का लगानीकर्ताले गुमाएका छन् । एकैदिन कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ८० रुपैयाँ अर्थात ५.६३ प्रतिशत गुमाएका छन् । कम्पनीले ३६ प्रतिशत बोनस घटाएर १२ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेपछि इन्स्योरेन्सको सेयर मूल्यमा भारी गिरावट आएको हो । धेरै लाभांशको आसमा रहेका लगानीकर्ताहरु निराशजनक अवस्थामा रहेका सेयर मूल्यले संकेत गरेको छ । बजारमा अन्य समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६५ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा ६५, बैंकिङ् १६, उत्पादनमूलक १५ र हाइड्रोपावर समूह ११ अंकले ओरालो लागेका छन् ।
तीन महिनामा ७ अर्ब भन्दा बढी राजस्व संकलन
चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष ०७५/७६ को तीन महिनामा ७ अर्ब भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार असोज मसान्तसम्म ६ अर्ब २० करोड ६ लाख २१ हजार रुपैंयाँ लक्ष्य निर्धारण गरेकोमा ७ अर्ब ३३ करोड ९२ लाख ५३ हजार रुपैंयाँ राजस्व संकलन गरेको जनाएको हो । चितवन र नवलपुर जिल्लाका करदाताहरुले राजस्व बुझाउने आन्तरिक राजस्व कार्यालय भरतपुरका व्यवसायिक प्यान लिएका ३२ हजार ६९५ जना र व्यक्तिगत प्यान लिएका ४८ हजार ३७१ जना रहेका छन् । भ्याटमा ७ हजार ७३५ जना करदाता दर्ता भई अन्तःशुल्क तर्फ तीन हजार ४४३ जना करदाताले इजाजत नविकरण गरिसकेको आन्तरिक राजस्व कार्यालय भरतपुरका निमित्त प्रमुख धनेश्वर अर्यालले जानकारी दिए । चालु आर्थिक वर्षको तीन महिनामा आयकर ३१ करोड ४३ लाख ४१ हजार रुपैंयाँ, ब्याजकर तीन करोड ९६ लाख ८ हजार रुपैंयाँ, मूल्य अभिवृद्धि कर ३९ करोड २६ लाख ४६ हजार रुपैंयाँ र अन्तःशुल्क ६ अर्ब ५५ करोड ७९ लाख ६६ हजार रुपैंयाँ राजस्व संकलन गरेको छ ।