विकासन्युज

मञ्जुश्री फाइनान्सले नगद लाभांश दर घटायो, अब कति दिन्छ ?

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले प्रस्तावित नगद लाभांश दर ६.१ प्रतिशतले घटाएको छ । दर घटाएपछि फाइनान्सले सेयरधनीलाई कर समेत २.९ प्रतिशत मात्र नगद लाभाश दिने भएको छ । यस अघि संस्थाले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । उक्त प्रस्तावलाई घटाएर संस्थाले हाल कायम चुक्ता पुँजीको २.९ प्रतिशत नगद लाभांश दिने नयाँ प्रस्ताव राखेको छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ । संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने हुन्छ । संस्थाको आगामी साधारणसभा आगामी पुस १६ गते बस्दै छ । सो प्रयोजनको लागि पुस ३ गते संस्थाको बुक क्लोज हुने छ ।

माथिल्लो तामाकोशीका ५२ हजार आवेदकले पैसा फिर्ता पाएनन्, यस्ताे छ कारण

काठमाडौं । माथिल्लो तामाकोशीको साधारण सेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ । कम्पनीले मंगलबार एक सूचनामार्फत रकम रकमान्तर हुन नसकेका ५२ हजार आवेदकलाई आगामी पुस १ गतेदेखि आवेदन दिन आग्रह गरेको छ । सेयर आवेदकको नाम नमिलेको, बैंक खाता नम्बर नमिलेको, खाता रोक्का रहेका तथा ग्राहक परिचयपत्र नम्बर नबुझाएका र छ महीनाभन्दा बढी समयसम्म कारोवार नभएको खाताले गर्दा आवेदकले रकम प्राप्त गर्न सकेका थिएनन् । रकम खातामा फिर्ता नभएका आवेदकको हकमा पुनःतथ्याङ्क रुजु गरी सम्बन्धित व्यक्तिलाई खातालगायत अन्य विवरण सच्याउन कम्पनीले आग्रह गरेको छ । कम्पनीले रकम प्राप्त गर्न नसकेका आवेदकलाई दरखास्त बुझाएकै दोलखाका सङ्कलन केन्द्र तथा काठमाडौं उपत्यकामा सनराइज क्यापिटल कमलपोखरीमा चेकमार्फत फिर्ता लिन अनुरोध गरिएको छ । चेकमार्फत रकम फिर्ता गर्दासमेत रकम फिर्ता भुक्तानी प्राप्त गर्न नसके सनराइज क्यापिटलमा सम्पर्क राख्न सूचनामा आग्रह गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीका लागि साधारण शेयर बिक्री गरेको थियो । कम्पनीले दोलखावासीलाई एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको थियो । उक्त सेयरमा दुई लाख ७६ हजार १९४ ले आवेदन दिएका थिए । रकम फिर्ता नपाएपछि दोलखावासीले गुनासो गर्दै आएका थिए । प्राप्त भएको गुनासो सम्बोधन गर्न कम्पनीले आफूले आवेदन गरेको कागजातसहित सम्बन्धित स्थानमा सम्पर्क राख्न अनुरोध गरेको हो । कम्पनीले दोलखावासीलाई बिक्री गरेको शेयरको बाँडफाँट गत कात्तिक १४ गते नै गरिसकेको छ । कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई बिक्री गरेको साधारण सेयरमा नपरेको रकम फिर्ता गरिसकेको छ । रासस

नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको हकप्रद सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । मंगलबार मात्रै यी दुई कम्पनीको कुल एक करोड ११ लाख ६१ हजार ४५४ कित्ता सेयर नेप्सेमा थपिएको हो । सो मध्ये नेशनल लाइफ इन्स्योरेन्सको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, स्वरोजगार लघुवित्तको पनि १२ लाख २८ हजार ९७७ कित्ता हकप्रद थपिएको छ ।

सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी मारमा

काठमाडौँ । सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय नहुँदा देशभरका निर्माण व्यवसाय मारमा परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । सरकारबीच समन्वय नहुँदा सङ्घीय सरकारले सम्झौता गरी सञ्चालनमा रहेका विभिन्न सडक, भवन, पुललगायतका परियोजनाको भुक्तानीमा अन्योल देखिएको महासङ्घले बताएको छ । भुक्तानीको समयमा सङ्घीय सरकारले प्रदेश तथा प्रदेश सरकारले सङ्घीय सरकारलाई देखाउँदा अलमलको अवस्था सिर्जना भएको महासङ्घका महासचिव रोशन दाहालले जारी गरेका छन् । परियोजनाको निर्माणमा ढिलाइ हुँदा दोषीको भागिदार निर्माण व्यवसायीलाई मात्र बनाइने गरिएको आपत्ति व्यक्त गरेको छ । निर्माण व्यवसायीले जारी गरेको बैंक ग्यारेण्टी समेत केन्द्र वा प्रदेश कुन सरकारको नाममा हुने भन्ने द्विविधा उत्पन्न भएको महासचिव दाहालले जानकारी दिएका छन् । प्रदेश सरकार सवल नभएको अवस्थामा समस्या समाधान गर्न र भुक्तानी नभएसम्म सम्झौता भएको निकाय केन्द्रीय सरकारबाटै व्यवस्थापन गर्न महासङ्घले माग गरेको छ । देशभरका करीब १५ हजारभन्दा बढी सदस्य रहेको महासङ्घ विकास निर्माणको जिम्मा लिएका व्यवसायीको छाता सङ्गठन हो । पूँजीगत बजेटको ६५ प्रतिशत खर्च गर्ने यस क्षेत्रलाई व्यवस्थित नबनाइँदासम्म विकास सम्भव नभएको बताएका छन् । रासस

नयाँ अध्ययन : स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक ‘भिन्न संरचना’ भेटियो

वासिङ्टन। अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन् । आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ । राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो खेल खेल्ने नौ र दश वर्ष उमेरका बालबच्चाको मस्तिष्कको बाहिरी आवरण (कोर्टेक्स) चाँडै पातलिने सङ्केत पाइएको छ । कोर्टेक्स भन्नाले बाह्य जानकारी प्रशोधन गर्ने मस्तिष्कको सबैभन्दा बाहिरी पत्र हो, र यस पत्र हुँदै सूचना एवं जानकारी मस्तिष्कको भित्री तहमा पुग्छन् । “तैपनि, बालबच्चाले बढी समय स्क्रीनमा बिताएकै कारण यस्तो भएको हो भन्ने सुस्पष्ट भइसकेको छैन । यो बाहिरी पत्र पातलिनु ठीक हो वा होइन भन्ने पनि अझै निक्र्यौल भइसकेको छैन,” एनआईएचमा कार्यरत चिकित्सक गाया डाउलिङले बताउनुभयो । आजसम्म प्राप्त भएको विवरण प्रारम्भिक तथ्य मात्र हो, उनले भने। “हामी के मात्र भन्न सक्छौं भने स्क्रीनमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा भिन्नता देखिएको छ । यो एउटा भिन्न संरचना मात्र पनि होइन,” सीबीएसको समाचार कार्यक्रम ६० मिनेटलाई दिएको अन्तर्वार्तामा डाउलिङले बताए। दिनको दुई घण्टाभन्दा बढी समय स्क्रीनमा व्यतित गर्ने बालबच्चाको भाषा र तार्किकता जाँचमा ज्यादै कमजोर अवस्था देखिएको छ । उक्त नतिजा चार हजार ५०० बालबच्चाको मस्तिष्क स्क्यान गरेर प्राप्त भएको हो । वैज्ञानिकहरुले स्क्रीनमा बढी समय व्यतित गर्ने बालबच्चामा पर्ने नकारात्मक असरका बारेमा अझ लामो समयावधिको अध्ययन आवश्यक पर्ने बताएका छन् । अध्ययनका प्रारम्भिक तथ्याँकहरु सन् २०१९ को प्रारम्भबाट अध्येताहरुका लागि उपलब्ध गराइनेछ । अमेरिकी बालस्वास्थ्य एकेडेमीले १८ देखि २४ महिनाभन्दा साना बालबच्चालाई भिडियो च्याटिङ बाहेक डिजिटल मिडियाको प्रयोग रोक्न सुझाव दिएको छ। रासस

साउनदेखि अनलाइनबाटै कम्पनी दर्ता हुने, इपेमेन्टकाे सेवा अाजदेखि सुरु

काठमाडौं । दुई वर्षदेखि कम्पनी दर्ताका लागि अनलाइन मार्फत् आवेदन गर्ने व्यवस्था गर्दै आएको कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइनमार्फत् भुक्तानी सेवा समेत उपलब्ध गराएको छ । कार्यालयले मंगलबारदेखि सेवाग्राहीले कार्यालयमा तिनुपर्ने सबै प्रकारका शुल्क तथा दस्तुर तथा जरिवाना अनलाइन पेमेन्टमार्फत् तिर्ने व्यवस्था मिलाएको हो । मंगलबार कार्यालयले आयोजना गरेको अनलाइन पेमेन्ट शुभारम्भ कार्यक्रममा उद्योगमन्त्री मातृका यादवले अनलाइन पेमेन्टको शुभारम्भ गरेका हुन् । अनलाइन प्रविधिको सुरुवात गर्दै मन्त्री यादवले यसले कार्यालयभित्र हुने अनियमितता अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । शुभारम्भसँगै सेवाग्राही दीपक न्यौपानेले पहिलोपटक अनलाइनमार्फत् कार्यालयको शुल्क भुक्तानी गरेका थिए । कार्यक्रममा उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले इपेमेन्टको व्यवस्था मिलाए पनि त्यसको सीमा १ लाख सम्म रहने बताइन् । सो भन्दा बढी भुक्तानीका लागि विद्यमान ऐन, कानून र व्यवस्था वाधक रहेकोले हालका लागि सेवाग्राहीले सो सीमासम्मको भुक्तानी अनलाइनमार्फत् गर्न सक्ने उनको भनाई थियो ।

डोल्पावासीलाई न्यायो जुत्ता प्रदान गर्ने अभियानमा राजधानीका विद्यार्थीहरू

काठमाडौँ । राजधानीका विद्यार्थी युवाले जुत्ता सङ्कलन कार्य सुचारु गरेका छन् । डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन उक्त काम सुरु गरेका हुन् । एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन गरेको ४७६ जोर जुत्ता ‘स्वतन्त्र जाग्रित युवा समूह’लाई हस्तान्तरण गरेका हुन् । ‘एपेक्स हेल्थ एजुकेसन अवारनेस’का अध्यक्ष विद्यार्थी आष्मा पौडेलले डोल्पाका विद्यार्थीले कठ्याङ्ग्रिदो जाडोमा पनि नाङ्गै खुट्टा हिँड्न नपरोस् भनेर न्यानो जुत्ता सङ्कलन अभियान चलाएको जानकारी दिएका छन् । आजको युगमा कोही पनि नाङ्गो खुट्टा हिँड्न नपरोस् भनेर अभियान शुरु गरेको बताउँदै डोल्पाका विभिन्न विद्यालय र स्थानीय विपन्न समुदायलाई समेत जुत्ता वितरण गरिने युवा समूहका अध्यक्ष इञ्जिनीयर सशांक न्यौपानेको भनाई रहेको छ । डोल्पावासीलाई जाडोमा न्यानो जुत्ता लैजान युवा समूहले एक हप्तादेखि एक हजार जोड जुत्ता सङ्कलनका लागि कलेजमा अभियान चलाइ रहेको छ । पुसको पहिलो साता सङ्कलित जुत्ता डोल्पा पुर्याएर वितरण गरिने भएका छन् । राजधानी काठमाडौँका एपेक्स, नामी, ब्रुकलेन, नेपाल इञ्जिनीयरिङ कलेज लगायत ४० कलेजबाट जुत्ता सङ्कलन गरिने भएका छन् । कान्तिपुर क्याम्पसका स्ववियु सभापति पावल बज्राचार्यले काठमाडौँका युवाले लगाउन मिल्ने जुत्ता सङ्कलन गरेर विकट गाउँका विद्यार्थीलाई वितरण गर्ने उद्देश्यले अभियान चलाइएको जानकारी दिएका छन् । यो अभियान अन्तर्गत लगाउन मिल्ने ‘सेकेण्ड हेण्ड’ जुत्ता सङ्कलन गरिने छ । विगतमा विभिन्न संस्थाले जाडोमा न्यानो सिरक, कम्बल तथा अन्य लत्ताकपडा वितरण गर्ने गरेको सन्दर्भमा जाडोमा जुत्ता नयाँ अभियान सुरु गरेको जनाएका छन् । रासस  

जनता बैंकले घोषणा गर्यो ८.५० प्रतिशत लाभांश, नगद लाभांश दिए पनि बजारमा खरिदमा चाप

काठमाडौं । जनता बैंक लिमिटेडले ८.५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको २६७ औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति गरेपछि र सञ्चालक समिति पारित गरेपछि लागु हुने बैंकले जनाएको छ । अधिकांश बैंकरुको नगद लाभांश घोषणा गरेसँगै बजारमा शेयर बिक्रीबो चाप बढ्ने गरे पनि जनता बैंकको लाभांश घोषणापछि पनि खरिदकर्ताहरुकै चाप देखिएको छ । तुलनात्मक रुपमा सस्तो शेयर भएको र गत चौमासमा राम्रो प्रगति हासिल गरेकोले नगद लाभांशका बाबजुद लगानीकर्ताको आकर्षण देखिएको हो । मंगलबार ११ः३० बजे बैंकको ३० हजार कित्ता शेयरका लागि खरिदकर्ता हुँदा ८ हजार कित्ता शेयर मात्र बिक्रीमा राखिएको थियो ।