लोपोन्मुख लेप्चा जातिको संस्कृतिलाई लक्षित गरि पाँच वर्षभित्रमा संग्रहालय निर्माण गर्ने
काठमाडौं । लोपोन्मुख लेप्चा जातिको संस्कृति जर्गेना गर्न लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गर्ने भएको छ । इलाम जिल्लामा लेप्चा समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा पाँच वर्षभित्रमा लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गरिने भएको छ । गाउँपालिकाले बीसवर्षे कार्यनीतिक योजना निर्माण गर्दै आगामी पाँच वर्षभित्रमा सङ्ग्रहालय र घरबास निर्माण गर्न लागेको हो । घरबासमा लेप्चा जातिको परिकार मात्र व्यवस्था गरिने र पर्यटकलाई लेप्चाको खाद्यान्नको बारेमा जानकारी गराउन उद्देश्यले इलामको रोङ गाउँपालिका अध्यक्ष शमशेर राईले बताएका छन् । लेप्चा जातिको भेषभुषा, खाद्यान्न तथा रितिरिवाजको अभिलेख राख्नका लागि गाउँपालिकाले सङ्ग्रहालय समेत निर्माण गर्ने भएको छ । पछिल्लो समय लेप्चाका भेषभुषा र रीतिरिवाज हराउँदै गएकाले जातिय पहिचान झल्काउन र अस्तित्व बचाउनका लागि सङ्ग्रहालय निर्माण गर्ने भएको छ । कोल्बुङ, इरौटार, जिर्मले, शान्तिपुरमा अधिकांश लेप्चा जातिको बसोबास रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर घरबास निर्माण गरिने भएको छ । रासस
४ महिनामा १ खर्ब २२ अर्बकाे इन्धन आयात, गत वर्षभन्दा ४८ अर्ब ३६ करोडले बढी
काठमाडौं । २०७४ सालको साउन देखि कार्तिक महिनासम्म पेट्रोल, डिजेल, मट्टीतेल, ग्याँस र हवाई इन्धन गरी ७३ अर्ब ९६ करोड रुपैंयाको आयात भएको थियो । यो वर्षको साउन देखि कार्तिक महिनासम्ममा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन गरी १ खर्ब २२ अर्ब ३२ करोड रुपैंयाको आयात भएको छ । २०७४ सालको साउन देखि कार्तिकसम्मको तुलनामा २०७५ सालको साउन देखि कार्तिकसम्म ४८ अर्ब ३६ करोड बढिको इन्धन आयात भएको छ । २०७५ सालको साउन देखि कार्तिकसम्म १३ अर्ब १४ करोडको पेट्रोल, ३५ अर्ब ३६ करोडको डिजेल, १३ अर्ब १४ करोडको मट्टीतेल, ११ अर्ब १८ करोडको ग्याँस र ४ अर्ब ९० करोडकोहवाई इन्धन आयात भएको छ । २०७४ सालको साउन देखि कार्तिकसम्म ८ अबको पेट्रोल, २० अर्ब १३ करोडको डिजेल, ३६ अर्बको मट्टीतेल, ६ अर्ब २३ करोडको ग्याँस र ३ अर्ब ६ करोडकोहवाई इन्धन आयात भएको छ । नेपालमा यातायतका साधन दिन दिनै बढदै गहिरहेको छ । हाल इन्धनबाट सञ्चालन हुने साना ठूला गरि ३२ लाख यातायात छन् ।
नेपालमा पहिलोपटक बेहोस नपारी मस्तिष्कको शल्यक्रिया
काठमाडौँ। नेपालमा पहिलोपटक बाँसबारीस्थित उपेन्द्र देवकोटा स्मृति नसारोग अस्पतालका चिकित्सकले छारे रोग भएका २२ वर्षीय सर्फराजको मस्तिष्कबाट ट्युमर निकाल्न सफल भएका छन् । अस्पातलले बेहोस नपारी उनको मस्तिष्कको शल्यक्रियाबाट बोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। नसारोग विज्ञेषज्ञ डा प्रत्युश श्रेष्ठ, डा सुरेश विक, डा भुषणकालु श्रेष्ठ, डा शिखा श्रेष्ठ, डा सुरज थुलुङ, डा सुरेश सापकोटा, डा सुमन रिजाल र डा लेखजङ्ग थापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका थिए । बेहोस पारी शल्यक्रिया गर्दा बोली नै जाने सम्भावना रहन्छ। रासस
इमानदारीता र मेहनत भन्दा ठुलो कुरा केहि छैनः माधव नेपाल
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले इमानदारीता र मेहन भन्दा ठुलो कुरा अरु केहि हुनै नसक्ने बताएका छन् । शंखरापुर पोलिटेक्निक ईन्स्टिच्युटमा आयोजीत कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले भने–‘इमानदारीता र मेहनत भन्दा ठुलो अरु केहि पनि हुन्न, त्यसलाई ख्याल गर्नेहरु कहिल्यै असफल हुँदैनन् ।’ नेपालले आफैैं प्रधानमन्त्री हुँदा बजेट विनियोजन गरेर सो पोली टेक्निकल ईन्स्टिच्युट निर्माण गराएका थिए । त्यहाँ अध्ययनरत विद्यार्थीहरुको विदाई तथा नव आगन्तुकहरुको स्वागत कार्यक्रममा नेपालले नर्स र डाक्टरहरु नम्र हुनुपर्ने धारणा समेत राखेका थिए । विद्यार्थीहरुलाई उत्प्रेरणाका बिभिन्न किस्सा सुनाउँदै नेपालले जीवनलाई सार्थक बनाउन सक्रियता आवश्यक रहेको समेत सुनाएका थिए । १२६ घण्टा नाचेर विश्व रेडर्क कायम गर्ने काम नेपाली चेलीले गरेको बताउँदै उनले त्यस्तै लगनशिलता विकासमा सबैलाई सुझाव पनि दिए । श्रृंखला खतिवडाले पनि देशको इजजत बढाएको बताएका थिए । नेपाल बिभिन्न जातजाति र भेषभुषाले नेपाली पहिचान अभिवृद्धि गरेको पनि बताएका थिए ।
पर्यटन मन्त्री अधिकारी भन्छन्ः ११ वर्षपछि नेपाल विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०३० सम्म नेपाललाई संसारकै पहिलो गन्तव्य बनाइने बताएका छन । नेपाल पर्वतारोहण सङ्घले पोखरामा आयोजना गरेको पाँचौं ‘ग्रेट हिमालय’ महोत्सवको उद्घाटन गर्दै उनले ११ बर्ष नेपाल संसारका एक नम्बर पर्यटन गन्तव्य बन्ने घोषणा गरेका हुन् । उनले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको पनि बताए । मुलुक सङ्घीयतामा गइराख्दा पर्वतारोहण सङ्घलाई दिएको जिम्मेवारी एवं सरकारको विश्वासलाई पूर्णरुपमा पालना गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले पर्वतारोहण सङ्घले ऐननियम बनाएर हिमाल आरोहणमा अनुमति प्रदान एवं राजश्व सङ्कलन गर्ने अधिकारसमेत पाएको स्मरण गराए । पर्वतारोहण सङ्घलाई अझै व्यवस्थित बनाउन सरकार तत्पर रहेको बताउँदै उनले मेला र महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा विश्व प्रसिद्ध हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिललाई कुमार खड्गविक्रम शाह साहसी अवार्ड–२०१८ र सर एड्मड हिलारी लेगेसी अवार्ड–२०१८ बाट डेनियल मज्युरलाई सम्मान प्रदान गरिएकोे थियो । विश्व प्रसिद्ध कुमार खड्गविक्रम साहसी अवार्ड–२०१८ बाट सम्मानित हिमाल आरोही कोरियन नागरिक होङ्ग गिलले आफूले पाएको अवार्ड दिवङ्गत आरोहीप्रति समर्पित गरे। नेपाललाई आफ्नो दोस्रो घरका रुपमा आफूले लिएको भन्दै विभिन्न ग्रामीण क्षेत्रमा स्कूलको समेत स्थापना गरिसकेको उनले बताए । महोत्सवमा गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, थकाली, तामाङलगायत जनजाति तथा समुदायबीचको सांस्कृति नाच एवं ४० वटा खाना एवं अन्य स्टलको निरीक्षण गरी उत्कृष्ट तीनलाई पुरस्कार प्रदान गरिने सङ्घका कोषाध्यक्ष सुदर्शन न्यौपानेले जानकारी दिए । रासस
लोक सेवा आयोगले खुलायो ३३५ जनालाई जागिर
काठमाडौं । लोक सेवा आयोगले ३३५ जनाका लागि आवेदन खुल्ला गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै सो मात्रामा रोजगारी खुलाएको हो । आयोगले न्याय सेवा र लेखा समुहमा दरखास्त खुलाएको हो । न्याय, कानुन, सरकारी वकिल तर्फ खुल्लामा १४२ जना, महिलामा ३५ जना र आदिवासी जनजाति तर्फ ३२ जनाका लागि आवेदन खुल्ला गरेको हो । मधेशी २६ जना, दलित १३ जना, अपांग ६ जना र पिछडिएको क्षेत्रबाट ४ जनाका लागि दरखास्त आव्हान गरिएको छ ।
नोट बन्दीका नाईके बने रिजर्भ बैंक अफ इण्डियाको नयाँ गभर्नर
काठमाडौं । भारु ५ सय र एक हजार दरका नोटको कारोबारमा प्रतिबन्ध लगाउने अभियानका प्रमुख पात्र रिजर्भ बैंक अफ इण्डियाको गभर्नर नियुक्त भएका छन् । भारत सरकारले सन २०१६ को नोभेम्बर ८ तारिखका दिनदेखि ५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । सोही अभियानका प्रमुख पात्र शक्तिकान्त दासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ गभर्नर नियुक्त गरेका हुन् । गभर्नर उर्जित पटेलले ९ महिना कार्यकाल बाँकी छँदै प्रधानमन्त्री मोदीसँगको मतभेदका कारण राजीनामा गरेपछि दासले आरबीआईको नेतृत्व पाएका हुन् ।
केरुङ-काठमाडौँमा रेल गुड्ने ठाउँ हेरेर फर्कियो चिनियाँ टोली
काठमाडौँ । रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका बारेमा स्थलगत जानकारी लिएको हो । स्थलगत निरीक्षणमा रहनुभएका विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग रहने स्थानको नेपाली र चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरेको बताए । उक्त टोलीमा विभागका महानिर्देशक बलराम मिश्रलगायतका अधिकारी र चिनियाँ टोलीमा चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङलगायतको सहभागिता थियो । संयुक्त टोलीले काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थालगायत विषयमा जानकारी लिएको छ । यस्तै चिनियाँ प्रतिनिधिमण्डलले आजै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग शिष्टाचार भेटवार्ता गरी रेलमार्ग निर्माणको विषयमा जानकारी गराएको थियो । नेपाली र चिनियाँ टोलीले बुधबार काठमाडौँ–पोखरा रेलमार्ग रहने स्थानको समेत स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ । केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । काठमाडौँ–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको छ । सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ ।