विकासन्युज

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ११औँ शाखा कार्यालय हात्तीगौँडामा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले आफनो एघारौं शाखा कार्यालय बुढानिलकण्ठ–८, हात्तीगौडामा सुरु गरेको छ । विगत २४ वर्षदेखि डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले वित्तीय सेवा प्रदान गर्दै आइरहेका छ । हाल कम्पनीको चुक्ता पूँजी रु. ८१ करोड, निक्षेप ४ अर्व २५ करोड र कर्जा तथा लगानी ४ अर्व ३ करोड रहेको छ । कन्नेक्ट आइपिएस, मोवाइल बैंकिङ्ग, फ्रि एविविएस, सि एसबि जस्ता अत्याधुनिक सेवा वित्तीय संस्थाले ग्राहक महानुभावहरुलाई प्रदान गर्दै आइरहेको छ । देशभरीका विभिन्न ११ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गरिरहेको उक्त फाइनान्सको ९,१०औं शाखा २०७५ मसिंर २४ गते सल्यान जिल्लाको शारदा नगरपालिका–१, श्रीनगर तथा २६ गते बुधवार नै पश्चिम रुकुम जिल्लाको मुसिकोट नगरपालिका–४, सोलावाङ्गमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याएइको छ ।

बीमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्ने समय सीमा २०७६ असार मसान्तसम्म

चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति काठमाडौं । तोकिएको समयमा न्यूनतम चुक्ता पुँजी पुर्याउन नसकेका बीमा कम्पनीहरुका लागि खुशीकाे खबर आएको छ । बीमा समितिले पुँजी वृद्धिको समय सीमा २०७६ असार मसान्तसम्म बढाउने भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा कम्पनीहरुको लागि पुँजी वृद्धिको समयावधि बढाउन लागिएको जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको भेटघाटका क्रममा अध्यक्ष चापागाईले सो जानकारी गराएका हुन् । वित्त बजारमा लगानी योग्य पुँजीको कमी रहेको र नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) लागू गर्ने क्रममा बीमा कम्पनीहरुको एक्चुरी र वार्षिक साधारणसभा समेत ढिला हुने भएकोले ६ महिना समय थप्न लागिएको उनले जानकारी दिए । जतिबेला पुँजी बृद्धि गर्न बीमा समितिले निर्देशन दिएकाे थियाे त्यतिबेला तरलता संकट नभएकाे तर अहिले तरलता संकट भएकाले लगानीकर्ताले पुँजी जुटाउन गाह्राे भएकाे जनाएकाे उनले बताए । सराेकार निकायहरूसँग छलफल गरेर पुँजी वृद्धिकाे समय थप्ने तयारी भएकाे  र केही दिनभित्रै पुँजी वृद्धि बारे नयाँ निर्देशन जारी हुने उनले बताए । बीमा समितिले जीवन बीमा कम्पनीको लागि न्यूनतम २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ । पुँजी वृद्धिको समय २०७५ असार मसान्तसम्म तोकिएको थियो । विशेष अवस्थामा कम्पनीहरुले ३/३ महिना गरी बढीमा छ महिना समय थप्न पाउने व्यवस्था थियो । हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालय जनरल इन्स्योरेन्स कम्पनीसहित थोरै कम्पनीले मात्र तोकिएको चुक्ता पुँजी पुरा गरेका छन् ।

लाभांश घोषणाले सेयर मूल्यमा उथलपुथल, सिटिजन्स बैंकले गुमाउँदा सोल्टी र चिलिमेले कमाए

काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीहरुको लाभांश घोषणासँगै सेयर मूल्यमा पनि उच्च उतार चढाव देखिएको छ । बुधबार केही कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ भने केहीमा उच्च गिरावट देखिएको छ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि सेयरको मूल्य प्रतिकित्ता ४१ रुपैयाँले बढेको छ । मंगलबार प्रतिकित्ता ६०८ रुपैयाँमा कारोबार भएको सेयर बुधबार प्रतिकित्ता ६५२ रुपैयाँसम्म कारोबार भएको छ । बन्द हुँदा ६४९ रुपैयाँमा कारोबार भयो । बुधबार सोल्टी होटलको सेयर मूल्य प्रतिकित्ता ७६ रुपैयाँले बढ्यो । मंगलबार १३० रुपैयाँमा कारोबार बन्द भएको यस कम्पनीको सेयर बुधबार २०६ रुपैयाँमा कारोबार बन्द भयो । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य २२४ बाट २१५ रुपैयाँमा झरेको छ । बैंकले ३.६२ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांश घोषणा गरेपछि सेयर मूल्यमा गिरावट आएको हो । बुधबार दिनभर रातो देखिएको नेप्से बन्द हुने बेलामा हरियो भयो तर शुन्य दशमलव शुन्य ८ अंकले मात्र बढेको छ । सो दिन कुल १५६ कम्पनीको २६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको प्रमोटर सेयर बिक्री भएको छ । कम्पनीको एकैदिन ४ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँ रहेको छ । बजारमा कारोबारमा आएका १० समूह मध्ये ५ समूह हरिया भएका छन् भने ५ वटा समूह राता भएका छन् । हाइड्रोपावर ३५, जीवन बीमा २३, फाइनान्स ३, उत्पादनमूलक १.५२ र अन्य समूह ०.६२ अंकले बढेका छन् । बाँकी होटल ३७.२७, निर्जीवन बीमा १०.६२, माइक्रोफाइनान्स ८.४६, डेभलपमेन्ट बैंक २.५७ र बैंकिङ् समूह १.३३ अंकले घटेका छन् ।

सिटिजन्स बैंकले गैर सरकारी संस्था “वुमन एक्ट” लाई दियो एक लाख रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “वुमन एक्ट” नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको उक्त संस्थालाई सो मात्राको आर्थिक सहयोग गरेको हो । बुधबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाखको चेक संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरेका छन् । भुकम्प प्रभावित क्षेत्रका महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनका निम्ति उक्त रकम प्रयोग गरिने कुरा संस्थाका संचालक अधिकारीले बताए ।

वाइडबडी खरीदको छानविन गर्न सात सदस्यीय उपसमिति गठन, १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ । समितिले वाइड बडी विमान खरीद सम्बन्धमा १५ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न सांसद राजेन्द्र केसीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको सभापति भरतकुमार शाहले जानकारी दिए । उपसमितिमा सदस्यहरु प्रेमबहादुर आले, मीना सुब्बा, चन्दा चौधरी, कृष्णलाल महर्जन, प्रदीप यादव र धर्मशीला चापागार्इं छन् । उपसमितिले महालेखा परीक्षकको कार्यालय र सार्वजनिक खरीद अनुगमन कार्यालयको प्रतिवेदनलाई मुख्य आधार मानेर प्रतिवेदन तयार गर्ने कार्यादेश पाएको छ । समितिले यसअघि महालेखा परीक्षकको प्रतिवेदनमा देखाइएको बेरुजुका आधारमा जहाज खरीदका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत मन्त्रालय र निगमका उच्च पदस्थ अधिकारीसँग छलफल गरिसकेको छ । समितिको निर्देशनअनुसार, सार्वजनिक खरीद अनुगमन कार्यालयले समेत विमान खरीदका सम्बन्धमा आफनो प्रतिवेदन समिति समक्ष बुझाइसकेको छ । उपसमितिको प्रतिवेदन प्राप्त भएपछि समितिले जहाज खरीद सम्बन्धमा के-कस्तो ढङ्गबाट अघि बढ्ने सन्दर्भमा निष्कर्षमा पुग्ने सभापति शाहले जानकारी दिए । समितिको बुधबारको बैठकमा सदस्यले राष्ट्रपति कार्यालयका लागि आवश्यक भनिएको गाडी खरीद, बूढीगण्डकी जलविद्युत् आयोजना, तारा गाउँ विकास समितिको जग्गाको भोगचलन, समितिको वार्षिक कार्यसूचीलगायतको विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए । रासस

बोनसपछि सोल्टी होटलको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । होटलको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पछि होटलको सेयर मूल्य प्रतिकित्ता २१२.७३ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता २५५.८६ रुपैयाँ रहेको थियो ।

हेटौँडा सिमेन्ट उद्योग ३३अाैँ वर्षमा प्रवेश, वार्षिक २० करोड नाफा कमाउन सफल

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगले आफ्नो ३३ औँ वार्षिकोत्सव मनाएको छ। लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग हाल निरन्तर प्रगति पथमा लम्किरहेको छ । थप क्षमता सुधारका लागि १ सय करोड बजेट आवश्यक पर्ने प्रशासन विभागका प्रमुख गणेश कोइरालाले बताएका छन् । वि सं. २०७१ साल यता उद्योगले वार्षिक रु १८ देखि २० करोड मुनाफा आर्जन गरिरहेको छ । वि.सं. २०३२ सालमा स्थापना भएको यस उद्योगले ०४२ देखि उत्पादन शुरु गरेको हो । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा हेटौँडा उपमहानगरपालिका-९ सुचारू गरेकाे थियाे । जर्मन मोडलको उत्पादन प्रविधि रहेको उक्त उद्योगमा सिमेन्ट उत्पादनका दृष्टिले विश्वमै उत्कृष्ट रहेको बताउँदै अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले र गुणस्तरमा कुनै सम्झौता नहुने कार्यरत कर्मचारीले जानकारी दिएका छन् । ४ सय जना कर्मचारी रहेका उक्त हेटौँडा सिमेन्टका भवन देखि र प्रविधिसम्म पुरानो भएता पनि गुणस्तर तथा आम उपभोक्ताको विश्वसनीयताकै कारण यहाँसम्म आइपुगेको बताएका छन्र । ८३ करोड रूपैयाँ घाटामा रहेको उद्योग हाल ५१ करोड रूपैयाँमा रहेपनि निरन्तर यस क्षेत्रमा रहेको बताएका छन् । उद्योग सञ्चालक समितिका अध्यक्ष न्यौपानेले सरकारले आफूहरुको योजनामा साथ दिए सम्भाव्यताका आधारमा एक हजार २०० देखि दुई हजार ५०० टनसम्म उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको र वर्षमा २७ लाख बोरा उत्पादन गर्ने क्षमता भए पनि २१ लाख बोरा उत्पादन गरिरहेको बताएका छन् । रासस  

चिलिमे जलविद्युतले २५ प्रतिशत लाभांश दिने, सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २५ प्रतिशत लाभांश दिने भएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बोनस सेयर घोषणासँगै कम्पनीको सेयर मूल्य बढ्न थालेको छ । मंगलबार ६०८ रुपैयाँमा कारोबार भएको सेयर मूल्य बुधबार ६५२ रुपैयाँसम्म कारोबार भएको छ ।