१५ औं घरेलु उद्योग महोत्सवमा साढे १५ करोडको कारोबार, ४ लाख ७५ हजारले गरे अवलोकन
काठमाडौं । १५ करोड चालिस लाख रुपियाँको कारोबार गर्दै १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । विहीबारदेखि सञ्चालित पाँच दिने मेलामा चार लाख ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमामा चलिरहेको नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ को समापन समारोहमा सो कुराको जानकारी गराइएको हो । मेलाको समापन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताए । नेपाली मौलिक उत्पादनहरुको आफ्नो बजारका साथै अन्तराष्ट्रिय बजारमा पनि पु¥याउन के के गर्नुपर्छ सरकार तयार रहेको उनले बताए । पछिल्लो समय नयाँ बाटो भन्दै परनिर्भरतातर्फ मुलुक अग्रसर भएको भन्दै उनले भने–‘मेला हेरेपछि म पनि उत्साही भएको छु । यहाँहरुको पनि उत्साह नघटोस् । मुलुकलाई परनिर्भर हुनबाट बचाउन आन्तरिक उत्पादनलाई सबल बनाएर आयातको दरलाई रोक्न सघाउनुस ।’ उत्पादन बढाउनका लागि अहिले सबैभन्दा शक्तिशाली सरकारका रुपमा रहेको स्थानीय निकाय मार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा उनले जोड दिए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मेला सोंचेभन्दा पनि सफल भएको बताए । मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट नेपाल घरेलु तथा साना उद्योग महासंघले शुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै यसपटक १५औं अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योेग महोत्सव र तेश्रो प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएको उनले बताए । समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रुपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धीतर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए । मेलामा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहेका थिए । महोत्सवको सह–आयोजक अर्गानिक एसोसियसन अफ नेपाल रहेको थियो । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगकोे सहकार्यमा प्रदर्शनी आयोजना गरिएको थियो । पाँच दिनसम्म चलेको मेलामा २०५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तराष्ट्रिय स्टल रहेका थिए । पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको थियो । समापन समारोहमा उत्कृष्ट उद्यमीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
चीनबाट गाई आयात गर्ने सम्झौता खारेज गर्न माग, ‘५ लाख किसान बिस्थापित हुने’
काठमाडौँ । केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ । संघले चीनबाट गाई आयत गर्ने सम्झौता तत्काल खारेज गराउनको लागि संघीय सरकारको ध्यानाकार्षण गराएको छ । संघका केन्द्रीय अध्यक्ष बाबुराम अधिकारीले प्रदेश सरकारले चीनका कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयनमा आएमा नेपालका दुई हजाभन्दा बढी सहकारीमा आबद्ध ५ लाख किसान विस्थापित हुने चिन्ता व्यक्त गरे । उनले भने,‘प्रदेश सरकारले चीनका विभिन्न कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयन भयो भने नेपालका किसानहरु पनि ठूलो मारमा पर्छन् । यहाँ बेरोजगारी सिर्जना हुने अवस्था आउँछ । यसतर्फ राज्यले विशेष ध्यान दिन जरुरी छ ।’ दुग्ध तथा मासुजन्य उत्पादनमा देश आत्मनिर्भर हुँदै गैरहेको अवस्थामा कृषिको सबै क्षेत्रमा वैदेशिक लगानी भित्रँदा स्वदेशी लगानीमा स्थापित कृषिजन्य उत्पादन विस्थापन हुनजाने खतरा पनि अध्यक्ष अधकिारीले औंल्याए । उनले भने,‘सहकारीमा आवद्ध ५ लाख र त्यो भन्दा बाहिर रहेका ६ लाख गरि ११ लाख किसानहरु विस्थापित हुने अवस्था छ । उनीहरु अब विदेश पलायन हुने खतरा आईसकेको छ । त्यसैले राज्यले यसमा अहिले नै विशेष ध्यान पुर्याउनुपर्छ । म यही मञ्चबाट अपिल गर्न चाहन्छु ।’ अधिकारीले अहिलेपनि पूर्वाधारको विकास नहुँदा किसानले उत्पादन गरेका कृषिजन्य सामानहरुले सहज बजार नपाएको पनि दुःखेसो पोखे । उनले थपे,‘अहिले पनि बाटोघाटोको राम्रो सुविधान नहुँदा किसानको वार्षिक ७ लाख मेट्रिक टन दुध खेर गैरहेको छ । स्थानीय तथा प्रदेश सरकारले यसतर्फ पनि ध्यान दिन जरुरी छ ।’ नेपालका उन्नत नश्लका बाछीहरु स्वदेशमै संरक्षण तथा व्यवस्थापन हुन नसकी अहिले भारततर्फ पलायन भैरहेको पनि अधिकारीले सुनाए । उनले भने,‘यसतर्फ पनि राज्यले ध्यान दिनुपर्छ ।’ संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘हालै मन्त्रीपरिषद्बाट पारित भई संसदमा निर्णयार्थ पेश भएको कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विधयक र नेपाल सरकारका माननीय अर्थमन्त्री युवराज खतिवडाको तहबाट मन्त्रीस्तरीय निर्णय गरी प्रदेश २, ३ र गण्डकी प्रदेशलाई चिनबाट गाई आयात गर्न सहमति दिइएको र सोही आधारमा प्रदेश नं. २, ३ र गण्डकी सरकारले चिनबाट गाई ल्याउन गरेको सम्झौता प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’ नेपालमा पशुजन्य उत्पादनको आपुर्ति हालसम्म पनि निर्वाहमुखी किसानहरुबाटै हुँदै आएको संघले जनाएको छ । संघका अनुसार नेपालमा पछिल्लो तथ्याङ्ग अनुसार दुधालु गाईको संख्या १२ लाख रहेको र करिब ४ लाख गाई उन्नत नश्ल सुधार गरीएको छ । त्यसैगरी दुधालु भैंसीको संख्या १० लाख रहेको संघले जनाएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘यिनै गाईभैसींबाट वार्षिक २० लाख मेट्रीकटन दूध उत्पादन हुने गरेको र सोमध्ये ५ लाख मेट्रीकटन औपचारीक बजारमा आउने गरेको छ । ८ लाख मेट्रीकटन दूध खुला बजारमा किसानले उपभोक्ताहरुको घरघरमै गएर बिक्रि गर्ने गरेको र ७ लाख मेट्रीकटन दूध अहिले पनि बजारको पहुँचभन्दा बाहिर रहेको छ । यसो हुनुमा भौतिक पूर्वाधार अभाव प्रमुख कारण हो । ग्रामिण तहमा पूर्वाधारको विकास गर्ने हो भने बजार पहुँचभन्दा बाहिरको ७ लाख मेट्रीक टन दूधलाई बजारसँग जोड्न सकिन्छ र यसको परिणामस्वरुप ग्रामीण अर्थतन्त्रको विकास निश्चित छ ।’ चिनियाँ गाई आयातसम्बन्धी सम्झौता तत्काल खारेज गरी कृषि तथा पशुपालन क्षेत्रमा विदेशी लगानी रोक्न कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विद्येयक तत्काल फिर्ता लिन यस संघ सरकारसँग जोडदार माग गर्दछ ।
मकवानपुरको थाहा नगरपालिकामा आँखा अस्पताल सञ्चालन
हेटौडा। उत्तरी क्षेत्र थाहा नगरपालिका–३ मा सामुदायिक आँखा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ। सामुदायिक आँखा केन्द्र, नेपाल आँखा कार्यक्रम र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको समन्वयमा सञ्चालन गरिएको हो । केन्द्रको सञ्चालनले मकवानपुर उत्तरी क्षेत्रका स्थानीय आँखाका बिरामीलाई उपचारका लागि सहयोग पुगेको छ । नगरपालिका र तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान काठमाडौँबीच २०७५ वैशाखमा भएको सम्झौताअनुसार नगरपालिकाले दुई रोपनी १४ आना जमीन उपलब्ध गराएपछि केन्द्रको भवनसमेत निर्माण गरिएको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए। नगरपालिकाको रु ४० लाख लागतमा सो केन्द्रका लागि चारकोठे पक्की भवनसमेत निर्माण गरिएको छ । आँखाका रोगीलाई थप सुविधा दिने उद्देश्यले अस्पतालको रूपमा उपचार केन्द्र स्थापना गरिएको नगरप्रमुख विष्टको भनाइ छ ।
सर्पोट माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, चैत ७ गतेदेखि बुक क्लोज
काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी चैत २७ गते आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले चैत ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । संस्थाको सभा सो दिन बिहान ११ बजे सुनसरीको आइतबारेस्थित माँ कामख्या होटल त्रियुगामा बस्दै छ । सभाले संचालक समितिको सेयरधनीलाई ३ बराबर २ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई विशेष प्रस्तावलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पछि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ नाघ्ने छ ।
२८ करोड लगानीमा बन्दीपुरमा केबलकार निर्माण शुरु
दमौली। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण शुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले विविध पूर्वाधार निर्माणको योजना बनाएको हो । बन्दीपुर केबलकार प्रालिले निर्माण शुरु गरेको केबलकारको काम अहिले धमाधम अगाडि बढिरहेको छ । केबलकारको साझेदारी कम्पनीमा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फण्ड, बन्दीपुर गाउँपालिका र स्थानीय समुदाय छन् । केबलकारको समग्र वृहत् परियोजनामा कम्पनीले रु एक अर्ब २८ करोड लगानी गर्ने योजना बनाएको आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। उनका अनुसार केबलकारको टावरका लागि पिल्लर खन्ने काम चलिरहेको छ भने ल्याण्डविण्डिङ र बाटो विस्तारको काम सकिएको छ । प्रारम्भमा रु ५६ करोडको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणसमेत जडान गर्ने योजना थप गरेको उहाँले जानकारी दिए। कम्पनीले बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न नौतले सुविधासम्पन्न आधुनिक कम्पलेक्स निर्माण गर्नेछ । कम्पलेक्सभित्र रुफटपमा आधुनिक भ्यूटावर, नवौँ तलामा बेनक्युट हल निर्माण गरिनेछ भने आठौँ, सातौँ, छैटौँ, पाँचौँ र चौथो तलामा सुविधासम्पन्न ८० कोठाको स्तरीय होटल निर्माण गरिनेछ । शर्माका अनुसार तेस्रो तलामा रेष्ट्रोजोन, दोस्रो तलामा सपिङमल र पहिलो तलामा केबलकारको स्टेशन, टिकट काउन्टर र उत्तरदक्षिण प्यासेज निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । पाँच रोपनी क्षेत्रफलमा निर्माण हुने भवनका लागि रु ४५ करोड लाग्ने अनुमान गरिएको छ । बन्दीपुरको पर्यटनलाई प्रवद्र्धन गर्न कृत्रिम तालमा रात्रिकालीन लाइटिङ वाटर म्युजिकल सांस्कृतिक शो देखाउन उपकरण जोड्नका लागि गाउँपालिकासँग छलफल अगाडि बढाइएको शर्माले जानकारी दिए। उनले भने, “बन्दीपुर गाउँपालिकाले बनाउन लागेको कृत्रिम ताललाई आकर्षणयुक्त बनाउन कम्पनीले त्यसमा केही उपकरण जोड्नका लागि गाउँपालिकासँग सहकार्यको प्रस्ताव गरेको छ ।” साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्नका लागि निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले बताए। यसलाई लागू गर्नका लागि कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीको रूपमा लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको र सबै पक्षलाई वर्गीकरण गरेर साना लगानीकर्तालाई समेत पर्यटन सहकारी बनाएर यसमार्फत शेयर दिने कम्पनीले जनाएको छ । केबलकार निर्माणको कामलाई २०७६ चैतसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने र बाँकी पूर्वाधार साढे दुई वर्षमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीले परियोजनामा साझेदारी गर्नका लागि सम्पूर्ण तनहुँवासीलाई अनुरोध गरेको छ । रासस
भरतपुर क्यान्सर अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउँदैछाैं : डा. विजयचन्द्र आचार्य
चितवनको भरतपुरमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट चिकित्सा क्षेत्रमा करियर सुरु गर्नु भएका डा. विजयचन्द्र आचार्य करिब २ बर्षदेखि सोही अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारीमा हुनुहुन्छ । नेपालमा रहेका क्यान्सर अस्पतालहरु मध्ये मोफसलमा रहेर पनि उत्कृष्ठ कार्यसम्पादन गर्ने अस्पतालको रुपमा पहिलो स्थानमा आउँछ यो अस्पताल । ७० बिगाहा जमिनमा फेलिएकाे र ७०० भन्दा बढी कर्मचारी रहेको यस अस्पतालमा हाल दैनिक ६५० भन्दा बढी बिरामीहरुको उपचार हुँदै आएको अस्पतालको तथ्याङ्क छ । २ बर्ष अघि कार्यकारी निर्देशक बन्नु भएका आचार्यको पालामा १९४ शैयाको अस्पताल ४५० शैयाको बनेको मात्रै छैन, सेवा र गुणस्तरका हिसाबले महँगा र निजी अस्पतालसँग तुलनायोग्य बनेको छ । यसै सन्दर्भमा अस्पतालको स्तरोन्नती, उपलब्ध सेवा, सेवाको गुणस्तर र अस्पतालका भावी योजनाबारे विकासन्यूजका लागि डोमी शेर्पाले कार्यकारी निर्देशक आचार्यसँग गरेको विकास बहस प्रस्तुत गरिएको छ । विगतमा कमजोर भनिएको अस्पतालमा तपाईँको नेतृत्वपछि ठूलो सुधार आयो भनिन्छ, तपाईँले गर्नुभएको काम र ल्याउनुभएको सुधार चाहिँ के के हुन् ? तपाईँले भन्नुभएजस्तै विगतमा अस्पतालको अवस्था कमजोर थियो । व्यवस्थापकीय कमजोरी, सञ्चालक समितिमा रिक्तताको कारण हुने निर्णय प्रक्रियामा ढिलाई र राजनीतिक प्रभावका कारण विगतमा अस्पताल कमजोर बन्न पुगेको हो भन्ने लाग्छ, त्यसैले त्योबेला अस्पताल पूर्ण क्षमतामा चल्न सकेको थिएन । कार्यकारी निर्देशकको कार्यभार सम्हालेसँगे मैले अस्पतालमा भएको स्रोतहरुलाई पूर्ण क्षमतामा चलाउन पहल गरेँ । म आएसँगै अस्पतालको सञ्चालक समिति र व्यवस्थापनमा पनि नयाँ नियुक्तिहरु भए । यसरी म सहितको नयाँ व्यवस्थापनले अस्पताललाई चुस्त बनाउने लक्ष्य लिएसँगै दुई बर्षमा अस्पतालले ठूलो फड्को मार्न सफल भएको हो । अहिले हामीले बिरामीहरुलाई मुख्यतयाः तीनओटा विशेष सेवा दिन सुरु गरेका छौं, सर्जरी सेवा, मेडिकल अन्कोलोजी र रेडियो थेरापी । हाम्रो यो सेवा मध्य सबैभन्दा महत्वपूर्ण सेवा रेडियोथेरापी हो। म आउँदाको समयमा हामीसँग रेडियो थेरापी मेसिनहरु बिग्रिएर बसेको अवस्था थियो, जसका कारण बिरामीहरु निजी अस्पतालमा धाउन बाध्य थिए । म आएपछि बिग्रिएका सबै मेसिनहरु बनाइयो, एउटा सिफ्टमा मात्रै चल्ने मेसिन बिहान र बेलुका गरी दूई समयमा चलाउन सुरु गरियो । सोहीअनुसार अस्पतालका डाक्टर, नर्स र कर्मचारीहरुको पनि समय व्यवस्थापन गरियो । यसले बिरामीहरुले सहज रुपमा सेवा पाउने अवस्था सिर्जना भयो । हामीसँग त्यस्तो मेसिनको अझैसम्म पनि अभाव छ, बिरामीहरुले केही समय कुर्नुपर्ने अवस्था छ, तर यो सामान्यतया विश्वभरकै क्यान्सर अस्पतालसँग तुलना गर्ने हो भने हाम्रो सेवाको उपलब्धता, गुणस्तर र समय राम्रै देखिन्छ। अहिले हाम्रो अस्पताल र प्राइभेट अस्पतालको समेत गरी ६-७ वटा मेशिनमात्र छन् , तर देशको जनसंख्या र बिरामीको चाप अनुसार हामीलाई थप ३० वटा मेसिनको आवश्यक छ। हाम्रो अन्तरंग सेवा पनि विस्तार भएको छ । अस्पतालको क्षमता अहिले १९४ बाट ४५० शैयामा विस्तार भएको छ । जसको कारण केमोथेरापी गर्नुपर्ने कुनै पनि बिरामीहरु बेड नपाएर फर्कनु पर्ने अवस्था छैन । नयाँ भवन निर्माणसँगै यो सेवा थप सहज हुँदै गएको छ, अब बिरामीहरुले लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था छैन । रेडियो सर्जरी सेवामा पनि पालो कुर्नुपर्ने अवस्था नआओस् भनेर हामीले नयाँ भवनमा अत्याधुनिक प्रविधिका ८ वटा अप्रेसन थिएटर बनाउने क्रममा छौं, त्यसमध्ये दुईवटा बनिसकेका छन् भने बाँकी ६ वटा ३ महिनाभित्रमा तयार हुन्छन् । योसँगै बिरामीहरुले अप्रेसनको लागि पनि पालो कुर्नु पर्दैन । हाम्रो अस्पतालमा सेवा सुविधामा लाग्ने रकम सस्तो भएको कारण बिरामीको एकदम बढी चाप छ । नेपालभरि रहेका क्यान्सर बिरामीमध्ये हाम्रो अस्पतालमा आधा भन्दा बढी उपचारका लागि आउने गर्दछन् । अरु अस्पताल र भरतपुर क्यान्सर अस्पतालबीच कसरी तुलना गर्नुहुन्छ, बिरामीको चाप र सेवाको गुणस्तरलाई संयोजन चाहिँ कसरी गर्नुभएको छ ? यो दुईओटा पक्षलाई मिलाउने नै हाम्रो मुख्य चुनौती हो । हाम्रो अस्पताल अन्य प्राइभेट अस्पतालभन्दा निकै सस्तो छ । सस्तो भएकै कारणले हामी कहाँ बिरामीहरुको चाप हुनु स्वाभाविक पनि हो । तर, बिरामीहरु हाम्रो सेवा प्राइभेट अस्पतालले दिएकै समय र गुणस्तरमा दिनुपर्छ भन्ने चाहनुहुन्छ, जुन सम्भव छैन । किनकी धेरै बिरामी भएपछि समय लाग्ने विषय स्वाभाविक नै हो । त्यस्तै एउटै डाक्टरले धेरै बिरामी हेर्नुपर्दा निजी अस्पतालले जस्तो धेरै रेखदेख गर्न नसक्ने अवस्था पनि हुनसक्छ । तर, हाम्रो सेवा र प्रविधिको गुणस्तर कम छैन । हामी एउटा राष्ट्रिय स्तरको अस्पताल हौं । यो अस्पताल नेपाल सरकारको अनुदानमा चलिरहेको स्वायत्त संस्था हो । हामीले अबलम्बन गर्ने हरेक प्रकृया नेपाल सरकारको नियम अनुसार नै हुनेगर्छ। यसका आआफ्नै सकारात्मक र नकारात्मक पक्ष पनि छन् । तर, समग्रमा अस्पताललाई हेर्नुपर्दा हामीले यसलाई विशिष्ट ढंगबाट चलाएका छौं। नेपाल सरकारले तपाईहरुको लागि कति बजेट छुट्ट्याएको छ ? त्यो बजेट कसरी खर्च गरिरहनुभएको छ ? यसबर्ष सरकारको तर्फबाट अस्पताललाई चालु र पुँजीगत खर्च समेत गरी ३१ करोड बजेट विनियोजन भएको छ । त्यस्तै स्वास्थ्य कर कोषबाट हामीलाई केही रकम प्राप्त हुन्छ । यो कोषमा धेरै रकम जम्मा भएपनि क्यान्सर अस्पतालका लागि अघिल्लो वर्ष ५० करोड विनियोजन भएको थियो, जसमध्ये २५ करोड हामीले पाएका थियौं । यो वर्ष रकम कति प्राप्त हुन्छ भन्ने थाहा छैन । त्यसबाहेक हाम्रो आम्दानी करिब ३० करोड छ । हाम्रो बजेटको अवस्था सामान्यतः यही नै हो । अस्पतालको संरचना र बिरामीको चाप पनि बढ्दो छ, साथै हामीले धेरै नयाँ सेवाहरु पनि विस्तार गर्दै लगिरहेका छौं, तर यहाँ बजेट भने घट्दै गईरहेको छ। अस्पताल १८ बर्ष पुरानो भइसक्यो, तर यहाँ अस्पताल मर्मतको लागि एक रुपैया पनि आउँदैन, त्यसैले हामीले हाम्रो आम्दानीको श्रोतबाट अस्पतालको मर्मत गरिरहेका छौं। अस्पतालले मेरो कार्यकाल भन्दा अगाडि वार्षिक १० करोड बराबरको आम्दानी गरिरहेको थियो भने अहिले अस्पतालले वार्षिक ३० करोड बराबरको आम्दानी गर्दछ । लगभग ३ गुना बढेको छ आम्दानी र यसलाई हामी ४० करोड पुर्याउने लक्ष्यको साथ सबै व्यवस्थित गरिसकेका छौं । हामीले यो लक्ष्य लिनुको कारण हामीलाई नेपाल सरकारबाट कर्मचारीको तलब-भत्ताको लागि एक रुपैया पनि आउँदैन र हामी यस पैसाबाट हाम्रो कर्मचारीहरुला तलब-भत्ता दिदै आईरहेका छौं। काठमाडौंमा भित्र भएका र बाहिर रहेको अस्पतालमा मानिसहरुले हेर्ने दृष्टिकोणमा कति फरक हुँदो रहेछ ? यसमा धेरै नै फरक हुँदो रहेछ। उदाहरणको लागि तपाईलाई यस अस्पतालको बारेमा बुझ्न काठमाडौंबाट यहाँसम्म आउनु पर्यो भने तपाईजस्ता अन्य धेरै मानिसहरु छन् , जसले हाम्रो अस्पताललाई नजिकबाट बुझ्न पाउनु भएको छैन । थाहा नपाउँदा यसको सेवा र सुविधाको बारेमा मानिसहरु अनविज्ञ छन् । काठमाडौं बाहिर भएको कारणले गर्दा मानिसहरुको आफ्नो हिसाबले धारणा बनाउनु हुन्छ। हामी यदी काठमाडौंमा भएको भए धेरै मिडियाहरुसँग पनि नजिक हुन्थ्यौ, जसको कारण हामीले आफ्नो बारेमा सुचना र समाचार प्रवाह गर्न पाइरहन्थ्यौं। त्यसैले म सबैलाई अनुरोध गर्न चाहन्छु कि भरतपुर क्यान्सर अस्पतालको बारेमा धारणा बनाउनु भन्दा अगाडि यहाँ आएर भ्रमण गर्नुहोस् । अस्पतालले लिँदै आएको शुल्क र दिँदै आएका सहुलियतको बारेमा पनि जानकारी गराइदिनुस् न ? बिरामीलाई दिने सहुलियतको कुरा गर्नु पर्दा हामीले नेपाल सरकारले दिएको १ लाखको छुट रकम प्रदान गर्दै आइरहेका छौ । सम्भवत: बिपन्नको कार्यक्रमबाट नेपालभरमा सबैभन्दा बढी विपन्नलाई सेवा दिने हाम्रै अस्पताल हो, जसमा वार्षिक २० करोड रुपैयाको हाराहारीमा हामी विपन्न वर्गलाई सेवा दिइरहेका छौं। खानाको लाईनमा बिरामीहरु हामी ७० बर्ष भन्दा माथिको मानिसहरुलाई र १५ बर्ष मुनिका बालबालिकाहरुलाई कुनै पनि प्रकारको उपचार शुल्क लिदैनौं । हामी भर्ना भएका हरेक बिरामीहरुलाई दिनमा चार पटक खाना दिन्छौं, जसको लागि मात्रै अस्पतालले वार्षिक २ करोड खर्च गर्ने गरेका छौं । हामीले यसको लागि बिरामीलाई बेड शुल्क दिनको २०० सय रुपैंया लिने गरेका छौं । हाम्रो २०० रुपैयामा एउटा बिरामी बराबर खानामा १९० रुपैंया खर्च हुन्छ, जसमा १० रुपैंया हामीलाई बाँकी हुने गर्छ । हामीले हाम्रो आम्दानीको १० प्रतिशत छुट्टाएर क्यान्सर वेलफेयर सोसाईटी बनाएका छौं । यसमार्फत् हामी आर्थिक अवस्था कमजोर भएकालाई थप छुट दिने गर्छौं । यसका साथसाथै बिरामीलाई बिमा सेवा पनि दिदैँ आएका छौं । क्यान्सर रोगको उपचार गर्न खर्च चाहिँ कति लाग्छ ? क्यान्सरको उपचारको खर्चको कुरा गर्नुपर्दा बिरामीलाई कुन क्यान्सर लागेको हो, त्यस अनुसार खर्च फरक पर्न जान्छ, तर धेरै जसो क्यान्सरको कुरा गर्नु पर्दा हाम्रा यहाँ २ देखी ५ लाखसम्म खर्च हुने गर्दछ। यो अन्य रोग जस्तो एकपटक उपचार गरेर निको हुने रोग होइन, जसकारण सरकारले दिएको १ लाख रुपैंया बिरामीको लागि सानो राहत जस्तो मात्र हुने गरेको छ । यसमा बिरामीले जिन्दगीभर अस्पताल धाइरहनुपर्ने हुन्छ, जसले गर्दा खर्च बढी लाग्ने गर्दछ । तर, यो प्राइभेट अस्पतालको दाँजोमा यहाँ धेरै हदसम्म सस्तो छ । अस्पतालमा कुन क्यान्सरको बिरामी बढी आउने गर्छन् ? सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर र दोश्रोमा फोक्सोको क्यान्सरका बिरामी आउने गर्थे । अहिले भने यिनिहरुको संख्यामा धेरै भिन्नता नभएता पनि सबैभन्दा धेरै फोक्सो क्यान्सरको र दोस्रोमा पाठेघरको क्यान्सरका बिरामी आउने गर्छन् । त्यसपछी आन्द्राका क्यान्सरहरु, कलेजोका क्यान्सरहरु, नाक/कान/घाँटीका क्यान्सर र स्तन क्यान्सरका बिरामीहरु बढी आउने गर्छन्। बिरामीहरू उपचारमा आउँदा बिरामीको कुन अवस्थामा पुगेको पाइएको छ ? बिरामीहरु प्रायः सबैतिर धाएर केही पार नलागेपछि मात्र यहाँ आउने गर्छन् , तर बिस्तारै पहिलो स्टेजमै आउनेहरुको संख्या पनि बढ्दो छ । क्यान्सरका स्टेजहरु पहिलो, दोस्रो, तेस्रो र चौथो हुने गर्छ र प्रायजसो बिरामीहरु जनचेतनाको कमी भनौं वा नेपालको अस्पतालप्रति भएको गलत बुझाई अथवा देशमा उपचार नै हुन सक्दै भन्ने बुझाईले भनौं, अझै पनि तेस्रो, चौथो स्टेजमा मात्र बिरामीहरु हामी कहाँ आइपुग्छन्। हाम्रो देशमा अझै पनि मानिसहरुलाई क्यान्सर भयो भन्न लाज मान्ने, अरुले थाहा पाउलान् कि भनेर उपचारको लागि बाहिर जाने प्रचलन अझै छ। बिरामीहरु नेपालमा उपचार सम्भव छ भनेर सोच्दै सोच्दैनन्, क्यान्सर हुने बित्तिकै पनि आफ्न्त साथीभाइले ए नेपालमा होइन बाहिर जाउ भनेर भन्ने गर्छन् । तर, सबैजनाले के बुझ्न जरुरी छ भन्दा अब नेपालका सरकारी तथा प्राइभेट दुवै अस्पताल क्यान्सरको उपचार गर्न सक्षम भइसकेका छन् र त्यसका लागि विदेशिनु पर्ने अवस्था छैन । करिब ५-७ प्रतिशत क्यान्सरका रोगहरु मात्र उपचार हुन सक्दैन र यो संसारको कुनै कुनामा गए पनि सम्भव छैन । मानिसहरु अलि बढी पैसा भयो भने विदेशमा गएर उपचार गरेर आएपछि ठुलो भइन्छ भन्ने सोच्छन् । अर्कोतर्फ कतिपय चिकित्सकहरु आफुले उपचार गर्न नसकेको खण्डमा सीधै विदेश जानु भनिदिन्छन् । पहिला भन्दा अहिले क्यान्सर रोगीको संख्या चाहिँ बढ्दै गएको हो ? यो हुँदै होइन, किनभने पहिला पहिला क्यान्सर पत्ता लाग्दैन थिए । मान्छेहरु मुखबाट रगत आएर मरे, पेट दुखेर मरे भनिन्थ्यो । त्यस समयमा क्यान्सर लागेर मरेको भनिदैन थियो । प्रविधिको विकास भएसँगै अहिले आएर क्यान्सर रोग सजिलै पत्ता लगाउन सकिन्छ । त्यही कारणले पनि क्यान्सरको बिरामी बढेको जस्तो देखिएको मात्र हो । हाम्रो जीवनशैलीको कारणले गर्दा कुनै क्यान्सरहरु बढ्ने किसिमको चाँही छन् , जस्तै स्तन क्यान्सर, आन्द्राको क्यान्सर, त्यस्तै पाठेघरको मुखको क्यान्सर रोगीको संख्या पनि घट्दो छ । त्यसैले थोरै घट्बढ चाँही भएको छ, तर समग्रमा हेर्दा क्यान्सरका बिरामीहरु बढेका भने छैनन्। सरकारले क्यान्सर रोगीका लागि दिने सहुलियत पर्याप्त छ भन्ने लाग्छ तपाईँलाई ? यसमा कस्तो सुधार गर्नुपर्ला ? मेरो विचारमा क्यान्सर बिरामीलाई पैसा दिएर समस्या समाधान हुनेवाला छैन । यसको लागि सरकारले दुई वटा काम गर्नु पर्छ । एक त रोग लाग्न नदिन अथवा सुरुको स्टेजमै पत्ता लगाउन सक्ने बनाउनु जरुरी छ, जसको लागि जनचेतनाको आवश्यक छ। त्यस्तै सरकारले जसरी बीमाको कार्यक्रम लिएर आएको छ, त्यस्तै क्यान्सरका बिरामीको लागि पनि सरकारले १ लाख बराबर सुविधा दिनुको साटो त्यति बराबरको प्रिमियम सुविधा दिए त्यसबाट ५/६ लाख रूपैंयासम्मको बीमा गर्न सकिन्छ, जसबाट बिरामीले पनि बढी सेवा पाउँछ र राज्यको लगानी पनि कम पर्न जान्छ । अस्पतालको चुनौतीहरु के कस्ता रहेका छन् ? अस्पतालको चुनौतीको कुरा गर्नुपर्दा अझै पनि उपकरणहरु पर्याप्त छैनन् , त्यसैले सरकारले अझै त्यस्ता मेसिनहरु खरिद गर्न सहयोग गर्नुपर्ने हुन्छ। त्यस्तै यस अस्पताललाई अघि बढाउनुको लागि प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने हुन्छ, जुन हाम्रो एकदमै महत्वपूर्ण चुनौती हो । यसको लागि पनि नेपाल सरकारले पनि पहल गर्दिनु पर्छ । त्यति गर्न सकियो भने हामी यस अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउन सक्छौं । अस्पतालको अबको याेजना के के छन् ? सर्वप्रथम त मानिसहरुलाई क्यान्सर सम्बन्धी जनचेतना दिनु पर्छ । जसको लागि हामी विभिन्न क्षेत्रका स्वास्थ्यकर्मीलाई तालिमहरु दिँदै आईरहेका छौं । त्यस्तै हेल्थ क्याम्पहरु पनि ७५ जिल्लामै संचालन गर्दै आएका छौं । आवश्यक जनशक्ति उत्पादन हाम्रो अर्को काम रहेको छ, जसको लागि हामीले भर्खरै नर्सिङ कलेजको स्थापना पनि गरिरहेका छौं । त्यसका साथै क्यान्सरका बिरामीहरुलाई राम्रो सेवा दिने काम हामीले सुरुबाट गर्दै आएका छौं र यसको लागि हामीले सबैभन्दा बढी जनशक्ति राखेका छौं । अब हामीले यसलाई क्यान्सर प्रतिष्ठान बनाउनतर्फ लागिरहेका छौं, जसले गर्दा हामी अझै गुणस्तरीय सेवा दिन सक्छौं।
सौर्य एयरलाइन्सले तिर्यो १ करोड बक्यौता, दुई महिनाभित्र बाँकी ३ करोड तिर्ने
काठमाडौँ । निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ । पहिलो चरणको किस्ताबापत ५० करोड तिरेर यही फागुन २४ गतेबाट पुनः उडान शुरु गरेको सौर्यले आइतबारसम्म ९८ लाख ५० हजार बुझाएको विमानस्थलले जनाएको छ । कम्पनीले फागुन २१ गते पहिलो किस्ताको ५० लाख बक्यौता तिरेको थियो । दुई महिनाभित्र सबै बक्यौता तिर्ने वचनपछि विमानस्थलले सौर्यलाई उडान अनुमति दिएको थियो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थललाई जरिवानासहित चार करोड बक्यौता रकम तिर्नुपर्नेछ । दुई महिनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले वचन दिएको उनले उल्लेख गरे । सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । उसले आगामी वैशाखभित्र नयाँ जहाज भित्र्याउने तयारी गरेको छ । उक्त एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले अप्रिल १५ भित्र सिआरजे २०० सिरिजको जहाज ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । हाल सौर्यले विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको छ । यो कम्पनीसँग अहिले दुई बम्बार्डिएर जहाज छन् । सौर्यले अबको ६ महीनाभित्र तीन एटिआर जहाज भित्र्याउने योजना बनाएको छ । रासस
सजन देवकोटा शिवम् सिमेन्टको प्रमुख कार्यकारी अधिकृत नियुक्त
काठमाडौँ । शिवम् सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटालाई नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले चैत्र १ गतेदेखि लागु हुने गरी देवकोटालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। नवनियुक्त प्रमुख कार्यकारी देवकोटासँग २२ वर्षको व्यवस्थापकीय कार्य अनुभव रहेको छ । उनले विभिन्न नेपाली उद्योग तथा बहुराष्ट्रिय कम्पनीहरुमा काम गरेका छन् । नेस्टले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल, नेविको विस्कुट र चौधरी ग्रुप नेपालमा काम गरेको अनुभव रहेको छ । शिवम् सिमेन्टमा भने उनी विगत ४ वर्षदेखि आबद्ध रहँदै आएका छन् ।