आईएनजीओको २३ अर्ब लगानी वालुवा पानी
काठमाडौं । गैरसरकारी संस्थाले विभिन्न क्षेत्रमा २३ अर्ब बराबरको रकम खर्चेर कार्यक्रम सञ्चालन गरे पनि देश र जनताको हितमा तात्विक उपलब्धि नभएको पाइएको छ । २३ देशका ९८ गैरसरकारी संस्थाले नेपालको विभिन्न क्षेत्रमा २३ अर्व ६ करोड ७४ लाख रुपयाँ कार्यक्रम स्वीकृत गरे पनि त्यसले अपेक्षित नतिजा हासिल गर्न नसकेको महालेखा परीक्षण कार्यालयको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा समाज कल्याण परिषदबाट ती गैरसरकारी संस्थाले कार्यक्रम सञ्चलानर्थ स्वीकृित लिएका थिए । ती संस्थाको १ वर्षदेखि ५ वर्षभित्र खर्च गर्ने र अनुगमन हुने गरी प्रस्ताव र स्वीकृत भई मन्त्रालयमा पेश भएको थियो । अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, भूकम्प प्रभावित व्यक्ति, समुदाय विकास मानव तस्करी लगायतका क्षेत्रमा प्रस्ताव गरेअनुसार २१ अर्व ६ करोड७४ लाख स्वीकृत गरेको देखिएको छ तर गएको आर्थिक वर्षमा परियोजना प्रस्ताव भएअनुसार खर्च गरे/नगरेको अनुगमन भएको पाइएको छैन । आइएनजिओले नेपालको शिक्षा, स्वास्थ्य तथा वालवालिका भुकम्प प्रभावित व्यक्ति, समुदायको विकास, बालपोषण,पूर्वधार निर्माण मानव तस्करी, नियन्त्रण लगायत क्षेत्रमा काम गर्दै आएका छन् । प्रभावकारी अनुगमन संयन्त्रयको अभावमा लक्षित वर्गमा परेको प्रभाव मापन गर्न नसकेको उक्त प्रतिवेदनमा उल्लेख छ । संस्थामार्फत हुने कायक्रम र गतिविधिको निरन्तर अनुगमन गर्नुपर्ने महालेखा परिक्षण कार्यालयको सुझाव छ । सरकारले कार्यविभाजन नियावली,२०७४९ महिला बालबालिका तथा ज्येष्ठ नागरीक०मा मन्त्रालयले,राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको समन्वय तथा परिचालन गर्ने गैरसरकारी संस्थाद्धारा कार्यनयन गरीएका कार्यक्रमको अनुगमन गर्नुपर्ने उल्लेख छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको कार्यक्षेत्रमा नीति, योजना र कार्यक्रम तर्जुमा एवम् कार्यान्वयन, अनाथ बालबालिका, असहाय, महिला वृद्धवृद्धा, जेष्ठ नागरिक, अपाङ्क र अशक्तको संरक्षण, समाज कल्याण परिषद र सरकारी एवं गैरसरकारी संघ संस्थादारा सञ्चालित कार्यक्रमको मूल्याङन तथा गैरसरकारी संस्थाको समन्वय परिचालन र अनुगमन लगायतका कार्य रहेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
नेपाल वायुसेवा निगमको जापान उडान असार १९ देखि
काठमाडौँ । करिब १५ वर्षपछि नेपाल वायुसेवा निगमले जापानमा पुनः उडान सुरु गर्ने भएको छ । जापान उडानको सम्पूर्ण प्रक्रिया पूरा भएसँगै निगमले आगामी असार १९ गतेदेखि उडान गर्ने भएको हो । उडानका लागि जापानको नागरिक उड्डयन ब्युरोले हालै अन्तिम स्वीकृति दिएपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार निगमको जहाजले पहिले जापानको सबैभन्दा ठूलो बन्दरगाहसहितको सहर ओसाकामा उडान गर्नेछ । निगमका अनुसार हप्तामा मङ्गलबार, बिहीबार र शनिबार ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान हुनेछ । डेढ दसक अघिसम्म नेपालले जापान उडान गरेको भए पनि त्यसयता सीधा उडान हुन सकेको थिएन । बर्सेनि जापान जाने नेपालीको सङ्ख्या बढेसँगै सरकारले त्यहाँ सीधा उडानको प्रयास पछिल्लो समय गरेको थियो । सोअनुसार गत वर्षको असार ४ गते जापानसँग २५ वर्ष पुरानो हवाई सम्झौता नवीकरण भएको थियो । दुई देशबीच भएको उक्त सम्झौताअनुसार नेपालले हानिदाबाहेक अन्य समय विमानस्थलमा उडान गर्न पाउने छ । त्यस्तै पुरानो सम्झौतामा हप्तामा तीनवटा मात्र उडान गर्न पाउने सुविधा उपलब्ध भएकोमा पछिल्लो सम्झौताबाट त्यसको सङ्ख्या हप्तामा १४ वटा पुगेको छ । सन् १९९३ को पुरानो सम्झौतामा बोइङ ७२७ र ७५७ सिरिजका जहाजमात्र उडान गर्न पाउनेमा अहिले भने अन्तर्राष्ट्रिय उडान गर्नसक्ने जुनसुकै ब्रान्ड र संस्करणका जहाज नेपालले जापान उडान गर्न सक्नेछ । निगमले असारमा गत वर्ष खरिद गरेको एयर बस कम्पनीको वाइडबडी जहाजमार्फत उडान गर्दैछ । ओसाका उडानका लागि निगमले त्यहाँ आफ्नो कर्पोरेट कार्यालय सञ्चालनमा ल्याइसकेको छ । जापानसँग पछिल्लो पटक हवाई सम्झौताअनुसार प्रक्रिया अघि बढाए पनि त्यसको एक वर्षपछि मात्र उडान सम्भव भएको हो । पछिल्लो पटक ओसाकाको कान्साई विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराइरहेको सीकेटीएसले निगमलाई अनुमति नदिएपछि प्रक्रियामा केही ढिलाइ भएको थियो । गत चैतको दोस्रो साता नेपाल र जापानका प्रतिनिधिबीचको वार्ता सकारात्मक भए पनि जापान उडानको प्रक्रिया सहज भएको थियो । वार्ताअनुसार निगमले जापानको उड्डयन ब्युरोलाई आवश्यक कागजात उपलब्ध गराएको थियो । त्यसैअनुसार त्यहाँबाट स्वीकृति पाएपछि निगमले आफ्नो उडान तालिका सार्वजनिक गरेको हो । ओसाकादेखि ३ सय ९७ किलोमिटर दूरीमा रहेको जापानको राजधानी टोकियो करिब ४५ मिनेटको हवाई यात्रापछि पुग्न सकिन्छ । निगमले हाल विभिन्न आठवटा स्थानमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा
सिन्धुपाल्चोक । चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ। तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुक्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ । ‘बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव नवराज ढकालले शुक्रबार नागरिकसँग भने, ‘बन्दरगाह नेपाललाई हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउँछ।’ चीन सरकारको सहयोगमा निर्माण अन्तिम चरणमा पुगेको बन्दरगाह आउँदो मे २० (जेठ ६ गते) भित्र हस्तान्तरण गर्ने जानकारी उसले पठाइसकेकाले नाका सञ्चालनको तयारी थालिएको ढकालले बताए । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि यो व्यापारिक नाका बन्द छ। बन्दरगाह हस्तान्तरण भएपछि नाका सञ्चालनमा ल्याउने सहमित यसअघि नै नेपाल–चीनबीच भइसकेको प्रवक्ता ढकालले जानकारी दिए। विभिन्न उच्चस्तरीय भेटमा चिनियाँ अधिकारीले मे ३१ (जेठ १७) बाट नाका औपचारिक रुपमा सञ्चालनमा ल्याउन आफूहरुले तयारी थालेको बताउँदै आएका छन् । ‘छिट्टै नाकाबाट व्यापारिक कारोबार सुरु हुनेमा कुनै सन्देह छैन,’ उनले भने। बन्दरगाह हस्तान्तरणसँगै नाका सञ्चालनमा ल्याउने पूर्वसहमति रहेकाले थप सम्झौता गरिरहन नपर्ने प्रवक्ता ढकालले प्रस्ट्याए । खाद्य, पशु क्वारेन्टाइन र सुरक्षा निकायलाई नाकामा फर्कने तयारी गर्न मन्त्रालयले निर्देशन दिइसकेको बताउँदै उनले भने, ‘बन्दरगाहमा भन्सार प्रणाली जोडेर तयारी हालतमा बस्न पनि निर्देशन गइसकेको छ ।’ उनका अनुसार मन्त्रालयकै अनुरोधमा सडक विभागले नाका जोड्ने अरनिको राजमार्ग मर्मत तथा सुधार गरिरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खुलामञ्चमा सरकार र ठेकेदारको लुकामारी, मर्कामा साना व्यापारी
काठमाडौं । खुलामञ्चको भुइँ ढलान गरी ठेकेदारले ५१ वटा सटर बनाएर भाडामा लगाउँदा ३० दिनसम्म नदेख्ने सरकारले साना व्यापारीलाई सामान उठाउन ३० मिनेट पनि दिएन । सामान जोगाउन बालबालिकाले समेत भागदौड गर्नुपर्यो । खुला मञ्चमा बनाइएका ५१ वटा अवैध सटरमा शनिबार डोजर चलाइयो । सटर भत्काइएसँगै साना व्यापारीको झन्डै आठ करोड रुपैयाँ डुबेको छ । उनीहरूले व्यापार गर्ने ठाउँ लिएबापत ठेकेदार कम्पनीलाई प्रतिसटर १५ लाख रुपैयाँ सलामी बुझाएका थिए । सलामी रकम असुल्ने ठेकेदार हुन्, बसपार्कस्थित काठमाडौं टावर निर्माणको ठेक्का लिएको कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका मालिक मनोज भेटवाल । बसपार्कस्थित स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष हरिप्रसाद पाण्डेका अनुसार भेटवालले महानगरपालिकासँग स्वीकृति लिएरै सटर निर्माण गरिएको भ्रम दिएर व्यापारीसँग प्रतिसटर १५ लाख रुपैयाँ असुलेका थिए । खुलामञ्चको करिब ५१ सटरबाट मात्रै उनले व्यापारीसँग एकमुष्ट सात करोड ६५ लाख रुपैयाँ असुलेको व्यापार श्रमिक संघका अध्यक्ष पाण्डेले बताए । ‘सटर भत्किँदैन भनेर ठेकेदारले सबैसँग सलामी उठाए,’ उनी भन्छन्, तर, अहिले सटर भत्कियो । यसको क्षतिपूर्ति ठेकेदार कम्पनीले दिनुपर्छ ।’ सटर भत्किएपछि विह्वल देखिएका व्यापारी नारायण श्रेष्ठले आफ्नो १३ लाख रुपैयाँ डुबिसकेको बताए । ‘सहकारीबाट लिएको ऋण डुबेपछि अब के गर्ने थाहा छैन,’ उनले भने । भेटवाललाई रकम बुझाएको प्रमाण कुनै पनि व्यापारीसँग छैन । ठेकेदार कम्पनीका मालिक भेटवालले कागजपत्र बनाएर रकम बुझ्न नमानेपछि भरपाईविनै व्यापारीले उनलाई पैसा दिएका थिए । ‘व्यापारीहरू त कागज गरेरै रकम बुझाउन चाहन्थे । तर, भेटवाल त्यसरी रकम लिन मञ्जुर भएनन्,’ पाण्डे भन्छन्, ‘रकम बुझाएको प्रमाण कसैसँग छैन । यो ठेकेदारको षड्यन्त्र रहेछ भन्ने अहिले थाहा भयो ।’ भेटवालले चेकसमेत लिन नमानेको उनको भनाइ छ । अध्यक्ष पाण्डेका अनुसार आठ करोड रुपैयाँ त सलामी मात्रै हो । सटर निर्माण तथा डेकोरेसनसहितको मूल्य जोड्दा डुबेको रकम अझै धेरै हुन जान्छ । यसका लागि व्यापारीले कम्तीमा दुई लाख खर्च गरेका छन् । यस आधारमा डेकोरेसन र सटर निर्माणमा मात्रै जम्मा एक करोड दुई लाख रुपैयाँ खर्च भएको छ । ‘डुबेको यो रकम असुल्न सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्छ,’ पाण्डे भन्छन्, ‘नत्र व्यापारीसँग रकम असुल्ने ठेकेदारले उन्मुक्ति पाउनेछन् । साना व्यापारीको घरखेत डुब्ने छ ।’ आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
नेपालमै मोबाइल निर्माण गर्न अध्ययन सुरु
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ । ‘यो मेक इन नेपाल अन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथा एसेम्बलको सम्भावना अध्ययन गर्न लागेको हो’,प्राधिकरणका उपनिर्देशक विनो चन्द्र श्रेष्ठ भने, ‘नेपालमै मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस्ड गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गर्ने तयारी भएको हो ।’ रिफर्बिस्ड अर्थात् पुराना स्मार्टफोनलाई विभिन्न कम्पनीले प्रमाणीकरण गरेर पुनः नयाँ जस्तै बनाएर बजारमा बेच्ने कार्य हो । त्यसका लागि प्राधिकरणले एभरेस्ट टेलिकम सर्कल प्रालिलाई परामर्शदाता नियुक्त गरेर सम्भाव्यता अध्ययन गर्न दिएको निर्देशक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मोबाइल आयातलाई केही हदसम्म भए पनि रोक्न सकिन्छ कि भन्ने उद्देश्यले अध्ययन सुरु गरिएको हो । मोबाइल बर्सेनि करिब ५० आयात भइरहेको छ । पछिल्लो तीन वर्ष ९०७३, ०७४, ०७५० मा क्रमसः ५० लाख, ४८ लाख र ४५ लाखको हाराहारीमा मोबाइल सेट आयात भएको प्राधिकरणको तथ्यांक छ । ‘विस्तारै आयातमा कमी आएको भए पनि विदेशबाट धेरै आयात हुने वस्तुमा मोबाइल तेस्रो नम्बरमा पर्छ’, श्रेष्ठले भने, ‘बर्सेनि २५ अर्बभन्दा बढीको मोबाइल फोन सेट भइरहेको छ । नेपालभित्रै एसेम्बल्ड वा रिफर्बिस्ड गर्ने सके त्यसको १० प्रतिशत मात्रै पनि बचत गर्न सकिने निर्देशक श्रेष्ठ बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
एनआईसी एशिया बैंकले पुर्यायो २८१ वटा शाखा, शुक्रबार मात्रै ८ वटा संचालनमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शाखा संख्या कूल २८१ वटा पुर्याएको छ । बैंकले वैशाख १३ गते(शुक्रबार) मात्रै विभिन्न ८ स्थानमा विस्तारित नयाँ शाखाको संचालन गरी सो मात्राको शाखा पुर्याएको हो । बैंकले शुक्रबार एकैदिन काठमाडौं उपत्यका भित्र ३, नुवाकोटमा २, काभ्रेमा १, पोखरामा १, र पर्सा जिल्लामा १ गरि ८ वटा विस्तारित शाखाको उद्घाटन गरेको हो । काठमाडौंको सितापाईला शाखाको उद्घाटन नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेत, काठमाडौं महानगरपालिका वडा नं ३१, शंखमुल शाखाको सोहि वडाका वडा अध्यक्ष नारायणप्रसाद भण्डारी र ललितपुरको भैसेपाटी शाखाको सोहि वडाका वडा अध्यक्ष पुरोषोतम खड्काले उद्घाटन गरेका हुन् । त्यस्तै, नुवाकोटस्थित त्रिशुली बजार शाखाको मेयर सन्जु पण्डित र बेत्रावती बजार शाखाको सोहि वडाका वडा अध्यक्ष गणेशकुमार नेपालबाट उद्घाटन भएको हो । काभ्रे स्थित धुलिखेल शाखाको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले गरेका छन् । त्यसैगरी, पोखरास्थित अमरसिंह चोक शाखाको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्ली रामपोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले संयुक्त रुपमा गरेका हुन् । तथा पर्सा जिल्लाको भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोजकुमारले उद्घाटन गरेका हुन् । बैंक सबैभन्दा बढी शाखा संचालन गर्नेमा पहिलो स्थानमा रहेको छ । हाल बैंकले २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि बढाएको छ ।
‘बालुवाटरको विष्णु पौडेलेको जग्गा बैधानिक’
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो जानकारी गराएकी हुन् । उनले भनिन्, ‘हिजो मात्रै हामीले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरेका छौं । सबै कित्ताहरु रोक्का गरेका छौं । ७ दिनको समयसिमा राखेर हामीले कित्ता काट गर्ने काम सम्पन्न गरेका हौं ।’ विष्णु पौडेलको छोराको नाममा रहेको जग्गा पनि रोक्का रहेको उनको भनाई छ । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले उक्त विवादित जग्गाहरुको बारेमा सत्य तथ्य बाहिर ल्याउनको लागि छानबिन गर्न शक्तिशाली आयोग बनाउने कामको पनि सुरुवात हुने विश्वास दिलाईन् । सार्वजनिक र गुठीका अतिक्रमण भएका सरकारी जग्गाहरु सबै फिर्ता गर्ने पनि उनले स्पष्ट पारिन् । मन्त्री अर्यालले सरकारी जग्गा फिर्ता ल्याउने गरि काम छिट्टै सुरु हुने र मन्त्रिपरिषद बैठकको निर्देशनबमोजिम शक्तिशाली आयोग गठनको तयारीमा आफूहरु जुटिसकेको बताईन। नेकपाकै महासचिव विष्णु पौडेलको समेत नाम मुछिएको ललिता निवासको जग्गा खरिद प्रकरणमा टिप्पणी गर्दै उनले भनिन्,‘विष्णु पौडेलका छोरा नविन पौडेलसित जोडिएको आएको जग्गाको विषयमा हामीले अध्ययन गर्यौं । उहाँले जुन जग्गा किन्नुभएको छ, त्यो मोही किटान भएर मोही साविक भएको, मोही कायम भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं व्यक्तिको रुपमा उहाँको छोराको नाममा हस्तान्तरण भएको छ ।’ सरकारले अधिकरण गरेर जफत गरेको जग्गा शतप्रतिशत गलत रहेको उनले प्रकाश पारिन् । उनले भनिन्,‘यस्तो जग्गाको सवालमा हेर्ने भन्ने कुरै आउँदैन्, सिधै खारेजीमा जान्छ ।’ सरकारले आँफैले मोही कायम गरेर पुर्जा प्राप्त भएको जग्गा भएकोले यस्तो जग्गाहरुले बैधानिकता प्राप्त गर्ने र यसमा प्रश्नै नउठ्ने पनि उनले गरिन् । सरकारले अधिकग्रहण गरेर जफत गरेको जग्गाको हकमा भने खारेज हुने उनको स्पष्टोक्ति थियो । उनले भनिन्, ‘मान्छे जोसुकै होउन्, सरकारले नियमसंगत ढंगले आफ्नो काम गर्छ । विष्णु पौडेलको सवालमा बेसी अतिरञ्जित गरिएको छ।’ बालुवाटारको जग्गाको सवालमा साँढे चार सय कित्ता किटान भैसकेको र सम्पूर्ण डकुमेन्ट जुटाउने काम भएको र हाललाई रोक्का गरिएको मन्त्री अर्यालको भनाई छ । उनले भनिन्, ‘अहिले सबै जग्गा रोक्का गरिएको छ। थप छानबिन गरेर हामी कानूनसम्मत ढंगले अघि बढ्छौं ।’ उनले ह्यात होटेलको सरकारी जग्गाको सवालमा पर्यटन मन्त्रालयले हेरिरहेको र छानिबन समितिका प्रतिवेदन बाहिर आएकोले यस सम्बन्धमा पनि छिट्टै निश्कर्षमा पुगिने विश्वास दिलाईन् । उक्त जग्गा विवादको सवालमा अदालतले फैसला गर्नुपर्ने पनि उनको भनाई छ । उनले भनिन्, ‘अख्तियार, पर्यटन मन्त्रालयले र संसदीय समितिले छानबिन गरेर प्रतिवेदन दिएको छ । अब अदालतले यसमा फैसला गर्नुपर्छ ।’ सरकारले गुठी ऐन संशोधन गर्न लागिरहेको सुनाउँदै उनले गुठीको उत्पादनसँग जोडिएका जग्गा भूमि व्यवस्था मन्त्रायलले हेर्ने र मठ, मन्दिरलगायतका संस्कृतिसँग सम्बन्धित जग्गा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हेर्ने गरि व्यवस्था गर्न लागिएको स्पष्ट पारिन् । गुठीलाई प्राधिकरणअन्तर्गत लैजाने पनि उनले सुनाईन् । विगतमा भएका बेथितिहरुलाई वर्तमान सरकारले धमाधम बाहिर ल्याएको सुनाउँदै उनले भूमाफीयाहरुलाई संरक्षण गर्यो भनेर गलत प्रचार गरिँदा दुःख लागेको सुनाईन् । उनले भनिन्, ‘हिजो अतिक्रमण गरिएका सरकारी जग्गाहरु फर्काउने अभियानमा यो सरकार छ ।’ खुल्ला मञ्चमा गैरकानूनी तवरले निर्माण गरिएका सटहरु भत्काउने काममा महानगरपालिकालाई आफूहरुको उपयुक्त सहयोग रहेको पनि उनले सुनाईन् । उनले भनिन्,‘यो काममा महानगरलाई सफलता मिलेको छ ।’
आठौं एनएमबि बैंक हेरिटेज वाक सम्पन्न
काठमाडौं । एनएमबि बैंकले विश्व सम्पदा दिवसको उपलक्ष्यमा आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले संयुक्त रुपमा गरेका हुन् । बैंकले विगत वर्षहरु देखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउनु तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ । हेरिटेज वाक बैंकको सितापाइला शाखा कार्यालयबाट शुरुवात भई स्वयम्भूनाथमा पुगि समापन भएको थियो । स्वयम्भूनाथ परिसरमा सरसफाई तथा फोटो प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा बैंकका कर्मचारीहरुद्धारा खिचिएको देशका विभिन्न सम्पदाहरुको उत्कृष्ट फोटोहरु राखिएको थियो । साथै, बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डष्टवीन समेत हस्तान्तरण गरेकोे थियो । साथै, बैंकले आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ को उपलक्ष्यमा आफ्नो सातैवटा प्रादेशिक कार्यालयहरु मार्फत विभिन्न सम्पदाहरुको सरसफाई कार्यक्रम समेत संचालन गरेको छ ।