विकासन्युज

ओपोद्वारा एमडब्ल्यूसी शाङघाइ २०१९ मा अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शित

शाङघाइ, चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता सहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शित गरेको छ । साथै, ओपो उपकरणका बीच एकआपसमा ३ किलोमिटर सम्मको रेञ्ज विना सेल्यूलर नेटवर्क, वाइफाइ वा ब्ल्यूटूथ– टेक्स्ट, भ्वाइस म्यासेज तथा रियलटाइम भ्वाइस कल्स गर्न सकिने प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि मेशटक प्रविधिपनि पहिलो पटक प्रदर्शित गरिएको कम्पनीले जनाएको छ । “ओपो आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट तथा सहजप्रयोग अनुभवप्रदानगर्न, उत्पादनतथाप्रविधिमानवप्रबर्तनकालागि सदैव प्रतिबद्ध छ ।” ओपोका उत्पादनब्यवस्थापककाउ जियाडङले भने, “यूएससी र मेशटक भविस्य लक्षित ओपोका भिजनको एक अंश हो ।

११ ब्रोकर कम्पनीले बिहीबार मार्जिन ट्रेडिङको लाइसेन्स पाउने(सूचिसहित)

काठमाडौं । ११ वटा ब्रोकर कम्पनीले बिहीबार नेपाल स्टक एक्जेन्ज( नेप्से) बाट मार्जिन ट्रेडिङको लाइसेन्स पाउने भएका छन् । राष्ट्र बैंकले मार्जिन ट्रेडिङ कारोबार गर्न दिव्या सेक्युरीटीज(५९), आर्यतारा सेक्युरीटीज(५७), क्रिष्टल सेक्युरीटीज(५०), दिपशिखा सेक्युरीटीज(३८), सेक्युर्ड सेक्युरीटीज(३६), कोहिनुर सेक्युरीटिज(३५), भिजन सेक्युरीटीज(३४), दक्षिणकाली सेक्युरीटीज(३३), श्रीकृष्ण सेक्युरीटीज(२८), प्राइमो सेक्युरीटीज(१६) र नेपाल स्टक हाउस(१४)लाई  स्वीकृति दिएपछि नेप्सेले प्रमाणपत्र वितरण गर्न लागेको हो । राष्ट्र बैंकले १० वटा ब्रोकर कम्पनीलाई केही दिन अघि र एक वटालाई बुधबार मार्जिन ट्रेडिङ गर्ने स्वीकृति दिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । नेपाल स्टक एक्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले मार्जिन ट्रेडिङका लागि भोलि ११ ब्रोकर कम्पनीसँग छलफल गर्न लागिएको बताए । ‘उनीहरूले भोलि मार्जिन ट्रेडिङको सुविधा पाउने छन् ,’ उनले भने ‘हामी यस विषयमा भएका प्रगतिका विषयमा छलफल समेत गरेर लाइसेन्स दिँदैछौं ।’ लगानीकर्तासँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदापनि सेयर किन्न सकिने सुविधालाई मार्जिन ट्रेडिङ भनिन्छ । यदि कुनै लगानीकर्ताले एक लाख रुपैयाँको सेयर किन्न चाहना गर्नुभएको छ, तर उहाँसँग ५० हजार रुपैयाँमात्रै छ भने वाँकी ५० हजार रुपैयाँ मार्जिन लोन लिएर एक लाख रुपैयाँको सेयर कारोबार गर्नु मार्जिन ट्रेडिङ हो । । यस्तो लोन सेयर ब्रोकरहरूले लगानीकर्तालाई उपलब्ध गराउँछन् । यसरी लोन दिलाए वापत सेयर ब्रोकरहरूले व्याज अथवा अन्य शूल्कहरू लिन्छन् । तपाईँलाई एक हजार रुपैयाँको सेयर किन्नुपर्यो । तर, तपाईँसँग पाँच सय रुपैयाँ मात्रै छ भने बाँकी पाँच सय रुपैयाँ मार्जिन लोनको रुपमा लिएर एक हजार रुपैयाँको मार्जिन कारोबार गर्न सक्नुहुन्छ । मार्जिन कारोबार कसरी गराउने र मार्जिन लोन दिनका लागि के कस्ता प्रक्रिया पूरा गर्ने भन्ने विषयमा नेपाल धितोपत्र बोर्डले केही निर्देशनहरु दिएको थियो । सोही निर्देशनको आधारमा मार्जिन कारोबार गर्न नेप्सेले कार्यविधि बनाएको छ । कस्ता कम्पनीले मार्जिङ लोन कारोबारको सुविधा पाउछन् ? कम्तीमा १० हजार सेयरधनी भएको र पछिल्लो दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश दिएको कम्पनीलाई मार्जिन दिन सकिने व्यवस्था गरिएको छ । दोस्रो बजारमा कम्तीमा पनि दैनिक ८० प्रतिशत सेयर कारोबार भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको कम्पनीले मात्रै मार्जिन सुविधा पाउने प्रावधान छ । मार्जिन लोन बढीमा तीन महिनासम्मको लागि दिइन्छ । तीन महिनापछि यसलाई नवीकरण गर्नुपर्ने हुन्छ । मार्जिन ट्रेडिङकोे लागि लगानीकर्ताले ब्रोकरसँग सम्झौता गरेको हुन्छ । मार्जिन कति हुने, सम्भार मार्जिन कति हुने, मार्जिन कल कसरी गर्ने, मार्जिन कल नहुँदा रेखदेख कसरी गर्ने र त्यसको हिसाब किताब कसरी राख्ने भन्ने विषयहरु समेटिएको हुन्छ । मार्जिन कारोबारको लागि एउटा छुट्टै खाता खोलिन्छ । मार्जिन कारोबार गरिएको सेयर त्यसै खातामा जम्मा हुन्छ । बैंक हिसाबपनि मार्जिन खातामा नै राखिन्छ । मार्जिन कारोबारको अभिलेख दैनिक रुपमा नेप्सेलाई उपलब्ध गराउनुपर्ने हुन्छ । सेयर कारोबारी र ब्रोकरबीचमा सम्झौता भइसके पछि मार्जिन रकम सेयर कारोबारीले ब्रोकरको मार्जिन खातामा राख्छ ।

चन्द्रागिरीमा २५ शैयाको सामुदायिक अस्पताल बन्दै, लगानी ७ करोड, २ वर्षमा सञ्चालन

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा ७ करोडको लगानीमा २५ शैयाको सामुदायिक अस्पताल बन्ने भएको छ । चन्द्रागिरी  नगरपालिका वडा नं ८ बौथली चोकमा मातातीर्थ सामुदायिक अस्पताल बनाउन लागिएको हो । प्रदेश सरकार, चन्द्रागिरि नगरपालिका र जिल्ला समन्वय समितिको सहकार्यमा अस्पताल निर्माण हुन लागेको हो । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष सन्तोस खड्काका अनुसार अस्पतालबाट सबै किसिमको सेवा सुविधा प्रदान हुनेछ । सामुदायिक अस्पताल ५ रोपनी क्षेत्रफलमा अस्पताल बन्ने उनले बताए । अस्पताल निर्माणका लागि राष्ट्रिय निर्माण कम्पनीले ठेक्का पाएको र २ वर्षमा अस्पताल निर्माण भई सञ्चालनमा आउने छ । चन्द्रागिरि नगरपालिका स्थित बौथलीचोकमा रहेको हेल्थपोस्टलाई अस्पतालका रुपमा बिस्तार गर्न लागिएको हो । चन्द्रागिरि नगरपालिकामा कुनैपनि समुदायिक र सरकारी अस्पताल नभएकाले स्थानीय स्तरमा नै राम्रो सेवा प्रदान गर्नेको लागि अस्पताल निर्माण हुन लागेको हो । हस्पिटल बनेपछि वडा नं १ खेदि १५ सम्मका सबैले सेवाग्राहीहरुले सजिलै सेवा पाउने वडाध्यक्ष खड्काले विश्वास व्यक्त गरे । चारै नाकामा प्रसुति हस्पिटलको शाखा खुल्दै यता, काठमाडौं उपत्यकाबाट बाहिर निस्कने तथा भित्र छिर्ने ४ वटै मुख्य नाकाहरुमा हस्पिटल बन्ने भएको छ । काठमाडौको पूर्वतर्फ भक्तपुरको साँगा, पश्चिमतर्फ थानकोट, उत्तरतर्फ नागार्जुन र दक्षिणतर्फ दक्षिणकाली क्षेत्रमा हस्पिटल बन्ने भएको हो । प्रसुति गृहको शाखाका रुपमा पहिलो चरणमा चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेको थानकोट क्षेत्रमा हस्पिटल बनाइने बताइएको छ । उक्त हस्पिटलका लागि प्रसुति गृहका प्रमुख जागेश्वर गौतमको नेतृत्वमा गएको जर्मन विज्ञ टोलीले सम्भाव्यता अध्ययन समेत गरेको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बताए । उक्त हस्पिटलका लागि नगरपालिकाले प्रसुति गृह अस्पताल र शहरी विकास केन्द्रसँग समन्वय गरी निर्माण कार्य अघि बढाउने जिम्मेवारी पाएको छ । उक्त हस्पिटलमा प्रारम्भमा प्रसुति सेवा मात्र उपलब्ध हुने भएपनि बिस्तारै जनरल ओपिडी, आँखा, दाँत, क्षयरोग लगायतका सेवा समेत उपलब्ध गराइने छ ।    

कृषि विकास बैंकले कर्जाको ब्याजदर घटायो, अब कति ?

काठमाडौँ । कृषि विकास बैंक लि.ले लिंदै आएको कर्जाको ब्याजदर घटाएको छ । बैंक सञ्चालक समितिको असार ४ गते सम्पन्न बैठकले असार ५ गतेदेखि लागु हुने गरी ब्याजदरमा १ प्रतिशत घटाउने निर्णय गरेको प्रवक्ता तथा सूचना अधिकारी हिमलाल पौडेलले बताए । बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी कर्जाको ब्याजदर घटाइएको बैंकले जनाएको छ । यता, निक्षेपको ब्याजदरमा निक्षेपकर्ताहरु लाभान्वित हुने गरी साविकको ब्याजदरमा १ प्रतिशत थप हुने गरी बृद्धि गरेको प्रवक्ता पौडेलले जनाएका छन् । बैंकले निक्षेपमा ६.५० प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको र कर्जामा न्यूनतम १०.७६ प्रतिशतदेखि अधिकतम १७.७६ प्रतिशतसम्म ब्याज लिँदै आएको छ ।

माथिल्लो तामाकोशीः कामले गति लियो, ठाडो सुरुङमा धमाधम पाइप जडान

काठमाडौं । ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले गति नलिँदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न नहोला कि भन्ने चिन्ता सर्वत्र थियो । सोही चिन्तालाई समाधान गर्दै यही असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु भएको हो । सोही क्रममा मङ्गलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको छ । राष्ट्रिय रुपमा नै रणनीतिक प्रभाव पार्ने आयोजनालाई समयमै सम्पन्न गर्ने हुटहुटी नेपाल विद्युत् प्राधिकरण र आयोजनालाई रहेको छ । आर्थिकरुपमा मुलुकलाई ठूलो फाइदा हुने आयोजना सम्पन्न गर्न सरकारले सबै प्रकारको साधन तथा स्रोत उपलब्ध गराएको छ तर जटिल काम गर्दा अनेकौ समस्या देखिनु पनि स्वभाविक नै छ र हुन्छ पनि । माथिल्लो तामाकोशी आयोजनामा पनि त्यस्तै भयो । आयोजनाले ठाडो सुरुङमा पाइप जडान गर्ने कार्य शुरु गर्यो तर धोका दियो क्रेन र डोरीले । आगामी चैतसम्म आयोजना सम्पन्न गर्नै पर्ने दबाब एकातिर छ, अर्कोतर्फ उपकरणले समस्या खडा गरिदिन्छ । पाँच मिटर लम्बाइ र ३.६ मिटर व्यासका २७ टन तौल भएको पहिलो पाइप राख्नु सामान्य विषय पक्कै होइन । सामान्य कमजोरी हुँदासमेत कामदारको ज्यानसमेत जान सक्छ । आयोजनाले सुझबुझपूर्ण निर्णय गरेर, सबै सामग्री जम्मा पारेर सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडानको काम धमाधम अगाडि बढेको छ । यही असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको हो । सोही क्रममा मङ्गलबारदेखि माथिल्लो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले जानकारी दिएका छन् । आयोजनाको जटिल मानिएको दुईवटा ठूला सुरुङमा स्टिलका ठूला पाइप राख्नु रहेको छ । आयोजनाका अनुसार पहिलो ठाडो सुरुङ ३१० मिटर लामो छ भने दोस्रो ३७२ मिटर लामो छ । “मङ्गलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको छ । यसले आयोजनाको सबैभन्दा जटिल मानिएको काम अब सम्पन्न हुने दिशामा अगाडि बढेको छ”, प्रवक्ता न्यौपानेले भने । भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्बे इञ्जिनीयरिङले ३१० मिटर लामो ठाडो सुरुङमा दुई दशमलव पाँच मिटर लम्बाइ तथा नौ टन क्षमता भएको पहिलो पाइप सफलतापूर्वक जडान गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । कूल ३५ टन क्षमता भएको विशेष प्रकारको डोरीको सहायताले पाइप जडान शुरु भएको हो । आयोजना प्रमुख दिनेशजंग राणालगायतको उपस्थितिमा करिब दुई घण्टा लगाएर जडान गरिएको हो । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा यसअघि नै पेनस्टक पाइप जडान शुरु भएको छ । पाइप जडान भएपछि त्यसलाई मिलाउने र ढलान गरिनेछ । त्यसपछि अर्को पाइप जडान हुनेछ । पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्योल हटेको कार्यकारी निर्देशक घिसिङले बताएका छन् । पेनस्टक पाइप जडान असाध्यै गाह्रो थियो । यसअघि जडान शुरु गर्दा क्रेनको डोरी नै चुँडिएको थियो । “त्यसपछि क्रेनले काम गर्ने÷नगर्नेलगायतका अन्योल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्योल हट्दै आयोजना सम्पन्न हुनेतर्फ काम बढेको छ”, उनले भने । आयोजनाको पहिलो युनिटबाट आगामी पुसभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । मन्त्रालयले दिएको स्वीकृतिअनुसार आयोजना आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य छ । पछिल्लो व्यवस्थाअनुसार क्रेनले लगातार पाइप झार्ने हुँदा अब कामले गति लिने विश्वास लिइएको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रो–मेकानिकल ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । माथिल्लो तामाकोशी, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकाले नै गरिरहेको छ । रासस

सूर्या लाइफका सेयरधनीले १२ प्रतिशत बोनस सेयर पाउने, वार्षिक साधारण सभाबाट पारित

काठमाडौँ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङमा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा कम्पनी संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले मन्तब्य सहित बार्षिक पेश गरेका थिए । उक्त सभाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर (लाभांश) सहित कर प्रयोजनको लागि रु. ७१,४८,८४२।- ( नगद लाभांश) पारित भएको छ । बुधबार सम्पन्न साधारण सभामा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

हुलाकी सडकमा १६ किलोमिटर कालोपत्रे

काठमाडौं । हुलाकी राजमार्गलाई जोड्ने सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टी सहायक सडकखण्डको करिब १६ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ । भारतीय सीमा क्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिकाको स्वर्णपट्टिदेखि खडक नगरपालिकाको बिसनपुर चोकसम्म करिब १६ किलोमिटर सडकमा कालोपत्रे सकिएको छ । यही असार २१ गतेभित्र उद्घाटन गर्ने तयारी भएको उक्त सडकका कन्ट्रयाक्टर म्यानेजर विनोद गौतमले जानकारी दिएका छन् । ठेकेदार कम्पनी दिवा निर्माण प्राइभेट लिमिटेड काठमाडौँले चैत मसान्तभित्र काम सक्ने गरी तयारी गरिए पनि सडक निर्माणका क्रममा विभिन्न व्यक्तिबाट अदालतमा मुद्दा परेकाले काम सम्पन्न गर्न केही ढिलाइ भएको गौतमले बताए । पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमा क्षेत्र स्वर्णपट्टिसम्म करिब १७ दशमलव २८ किलोमिटरको सो सडकमा पर्ने बजार क्षेत्रमा ११ मिटर र बजार क्षेत्र बाहिर सात मिटर चौडाइ कालोपत्रे गर्ने योजना छ । विसं २०७४ मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकको करिब ९५ प्रतिशत भागमा कालोपत्रे सकिएको छ, गौतमले भने, “सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्र्भड निर्माण भइसक्यो अहिले एक हजार ४०० मिटर दाँयाबाँया पैदलमार्गसँगै नाला निर्माणको समेत अन्तिम चरणमा पुगेको छ ।” त्यसका साथै सडकमा सङ्केत चिह्न राख्ने कामसमेत भइरहेकाले ती सबै काम सकेर असार २१ गते विधिवत् उद्घाटन गरी हस्तान्तरण गरिने बताइएको छ । सडक निर्माणको ठेकेदार कम्पनीविरुद्ध उच्च अदालत राजविराजमा तीन वटा मुद्दा दायर गरिएको थियो । ती तीनवटै मुद्दामा अदालतबाट फैसला आइसकेकाले कालोपत्रे गर्न बाँकी रहेको स्थानमा कालोपत्रे गर्ने कार्यसँगै नाला निर्माण तीव्ररुपमा भइरहेको उनले बताए । मूल्य अभिवृद्धि कर(भ्याट) बाहेक रु ५८ करोड तीन लाख ९७ हजारको लागतमा निर्माणाधीन सडकको काम यही असार २० गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो । रासस

नेपाल महिला चेम्बरको सफल उद्यमी सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रम

काठमाडौं । नेपाल महिला चेम्बरले सफल उद्यमीको सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम मंगलवार जमल स्थित नाचघरमा आयोजनामा आएको हो । उक्त अन्तर्क्रिया कार्यक्रममा उद्यशीलता विज्ञ तथा उत्प्रेरक आशुतोष तिवारीले सफल उद्यमी बन्न अपनाउनु पर्ने सावधानी, अबलम्बन गर्नुपर्ने उपाय लगायतका बिषयमा प्रस्तुती दिनुका साथै सहभागीहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए । प्रस्तुती एवम् सवाल जवाफका क्रममा उत्प्रेरक तिवारीले सफल ब्यवसायी बन्न धैर्यता, आत्मविश्वास, सहकार्यको भावना, उधमी र कामदार बिच समधुर सम्बन्ध, सेयरधनीबीच समझदारी, परिकल्पनाकार उद्यमीप्रति सम्मान, निर्यातमुखी सोच र उधम आवश्यक रहने कुरा प्रति जोड दिएका थिए । त्यसो त कार्यक्रममा सुशिला आर्ट एकेडेमीले सान्स्कृतिक प्रस्तुती प्रस्तुत गरेको थियो । कार्यक्रमको अन्त्यमा मन्तब्य धारणा राख्दै नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सफल उद्यमी बन्न उत्प्रेरणा दिने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउँदै नेपाल महिला चेम्बर उद्यमशीलताको बिकासका निम्ती लागि पर्दै जाने प्रतिबद्धता ब्यक्त गरिन् । कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बरका पदाधिकारीहरु, नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुश्मा शर्मा, सचिब लिमा अधिकारी एवम् पदाधिकारी, उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन, महिला उद्यमी लगायत अतिथीहरुको बाक्लो उपस्थिती रहेको थियो ।