विकासन्युज

भारतको धौलीगङ्गा बाँध खोलियो, तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो । बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन् । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको उनले बताए । बाँध आज बेलुकासम्म खोलिने भएको भए पनि शुक्रबारसम्म पनि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत अनुरोध गरिएको छ । यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताएका छन् । यसरी, बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइरहेको जनाइएको छ । दार्चुलाको दत्तुमा रहेको पूर्व सूचना प्रणालीका अनुसार आज बिहान ६ बजे पानीको सतह ३.४ मिटर पुगेको थियो भने बिहान ७ः३० बजे घटेर २.८ मिटर पुगेको छ । परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । धौलीगङ्गा बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षति भएको थियो । रासस

घोडीघोडा लघुवित्तको आईपीओ २० गतेदेखि, पहिलो कारोबार नै ३०२ रुपैंयासम्म

काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुल्ने भएको छ । कञ्चनपुरमा मुख्य कार्यालय भई कैलाली र कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको घोडाघोडीको १ लाख ३२ हजार ६०० कित्ता शेयर खुल्न लागेको हो जसमध्ये १ लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डलाई दिइने कम्पनीले जनाएको छ । उक्त शेयर न्यूनतम १० देखि १००० कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । लघुवित्तको शेयर १०१ रुपैंयादेखि ३०२ रुपैंयासम्मको रेञ्जमा कारोबार हुनेछ ।

एसइईको नतिजा आज, दिउँसो बस्दैछ बोर्ड बैठक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनका लागि आज दिउँसो बोर्ड बैठक बोलाइएको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले हिजो नै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेपनि केही प्राविधिक काम बाँकी रहेकाले बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नतिजा यसरी यसरी हेर्न सकिन्छः

पृथ्वी राजमार्ग रातिदेखि अवरुद्ध, काठमाडौँ भित्रने र बाहिरिने सवारी साधन १० किलोमिटरसम्म जाम

धादिङ । माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फँसेका छन् । सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो । राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग आज बिहान २ बजेदेखि अवरुद्ध भएको बैरेनीबजारका व्यवसायी नरेश खतिवडाले बताए । सडक छेउमा बालुवा धुने मेसिन प्रयोगले सडक माथिबाट आएको लेदो राजमार्गमा जमेकाले यसलाई व्यवस्थापन गर्नुपर्ने खतिवडाले बताए । सडक अवरुद्ध भएपछि यसलाई हटाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमर्गमा डोजर लगाएका छन् । सडक अवरुद्ध भएपछि १० किलोमिटरसम्म राजमार्गमा यातायात साधन रोकिएका छन् । रात्रिसेवाका गाडीहरु रोकिएकाले राजमार्गमा सवारी साधनको लाम देखिन्छ । रासस

ग्लोबल आइएमई र आईएफसीबीच ऋण सम्झौता आदान-प्रदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच बुधबार ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ । ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले बुधबार बैंकमा आयोजित एक समारोहकाबीच सम्झौता आदानप्रदान भएको हो । सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बीस करोड नेपाली रुपैयाँ) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेछ । यो सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पूजिँको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ ।आईएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैंकको योजना रहेको छ ।

बिग मर्जरलाई सहयोग गर्नुस् भन्न राष्ट्र बैंकले बोलायो बैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई बैठकमा बोलाएको छ । बैंकले आगामी आवका लागि बजेटले गरेको व्यवस्था कार्यान्वयन गर्ने विषयमा औपचारिक रुपमा जानकारी गराउन राष्ट्र बैंकले बैठक बोलाएको हो । सरकारले मंगलबार आगामी आवको बजेट पारित गरेकाले यसको विषयमा जानकारी दिन बैठक बोलाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताए । राष्ट्र बैंकले वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गर्न लागिएको हो, उनले भने- मर्जरलाई निरन्तरता दिँदै बिग मर्जरलाई प्रोत्साहन गर्ने विषयमा पनि सरोकारवालाहरूलाई अवगत गराइने छ । ‘वित्तीय क्षेत्रमा सुशासन र स्थायित्व कायम गर्दै वित्तीय पहुँच अभिवृद्धि गरिनेछ । वित्तीय साधन उत्पादनमुखी बनाइनेछ । बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने नीतिलाई निरन्तरता दिँदै ठूला बैंक तथा वित्ती संस्थाहरु समेत एक आपसमा गाभ्न प्रोत्साहित गरिने बजेटमा उल्लेख गरिएको छ । बैठकमा बजेट वक्तव्यको २३७ र ३१२ का बिषयमा छलफल हुनेछ । बजेटको बुँदा नम्बर ३१२ मा बैंक तथा वित्तीय संस्था मर्जरमा कर छुट तथा सुविधाको प्रयोजनका लागि आयकर ऐन, २०५८ मा तोकिएको अवधि एक वर्षको लागि थप गरिएको छ । होटल याक एण्ड यति होटलमा बिहान ११ बजेदेखि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूसँग फरक फरक समयमा राष्ट्र बैंकले छलफल गर्ने जनाइएको छ ।

रिलायन्सले चौबीसै घण्टा जीवन बीमाबारे जनचेतना अभिबृद्धि गर्ने, सम्पर्क केन्द्र उद्घाटन

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चौबीसै घण्टा र ३६५ दिन नै सम्पर्क केन्द्र सञ्चालन गर्ने भएको छ । जीवन बीमाको बारेमा जनचेतना अभिबृद्धि गर्न सञ्चालित केन्द्रको बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र कम्पनीका अध्यक्ष ताराचन्द केडियाले उद्घाटन गरे । सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी(अभिकर्ता)ले सल्लाह, सुझाव र गुनासो कम्पनीको आधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एप र ४७८७२२४ मा फोन गरी प्रेषित वा प्राप्त गर्न सक्ने बताइएको छ । नेपालको जीवन बीमा इतिहासमा कम्पनीले पहिलो पटक सम्पर्क सेवा केन्द्र सञ्चालनमा ल्याएको कम्पनीले दाबी गरेको छ ।

कुष्ठरोग निवारण संघलाई सिद्धार्थ बैंकको ८० हजार सहयोग

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले बैंकले कुष्ठरोग निवारण संघलाई ८० हजार ८ सय रुपैयाँ सहयोग प्रदान गरेको छ । संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यको शिक्षाका लागि उपयोग गर्ने जनाएको छ । आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जनाएको छ ।