सार्वजनिक नीति तथा सुशासनसम्बन्धी तेस्रो सम्मेलन शुरू
काठमाडौं । दक्षिण एशियाली मुलुकले अङ्गीकार गरेका सार्वजनिक नीति तथा शासन प्रणालीका अनुभव आदानप्रदान गर्ने उद्देश्यले ‘दक्षिण एशियाको सार्वजनिक नीति तथा सुशासन’सम्बन्धी तेस्रो सम्मेलन बिहीबारदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उद्घाटन गर्दै दक्षिण एशियाली मुलुक नेपाल, भारत र बङ्गलादेश एकै प्रकारका समस्याबाट गुज्रिरहेको बताएका छन् । “दक्षिण एशियाली मुलुकले नयाँनयाँ परिस्थितिको सामना गरिराख्नुपरेको छ । बढ्दो गरिबीले गर्दा थप उत्पादन बढाउनुपर्ने आवश्यकता छ”, उनले भने, “अब नयाँनयाँ अनुसन्धान गरेर अगाडि बढ्नुपर्छ र सरकारलाई बाटो देखाउनुपर्छ ।” बौद्धिक पलायन बढ्दो चुनौतीका रुपमा देखापरेको उल्लेख गर्दै मन्त्री पण्डितले शैक्षिक संस्थाको गुणस्तर अभिवृद्धि गरी मुलुकको आवश्यकता पूरा गर्न अग्रसर हुनुपर्ने बताए । “विकास र समृद्धिका लागि अहिले मुलुकलाई दक्ष जनशक्तिको आवश्यकता छ भने अर्कोतर्फ शैक्षिक बेरोजगारको पनि ठूलो दबाब छ”, उनले भने, “शिक्षित जनशक्ति र मुलुकको आवश्यकताबीच सन्तुलन भएन भने मुलुकका समस्या समाधान हुँदैनन् ।” सार्वजनिक नीति तथा शासन प्रणालीका सम्बन्धमा दक्षिण एशियामा एकै प्रकारका समस्या देखिएको उल्लेख गर्दै उनले सम्मेलनमा सहभागीबीचको अनुभव आदानप्रदानबाट समस्याको समाधान निकाल्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको सो सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका प्राध्यापक, सार्वजनिक नीतिसम्बन्धी जानकारलगायत ५० जनाभन्दा बढीको सहभागिता रहेको छ । सम्मेलनमा सार्वजनिक नीति र शासन प्रणाली, दिगो विकास लक्ष्य, सार्वजनिक सुशासनका विषय, लगानीको वातावरण निर्माणलगायत नीतिगत विषयमा संवाद एवं छलफल हुनेछ । रासस
दीगो विकासको लागि जर्मन सरकारको ३ अर्ब अनुदान
काठमाडौं । जर्मन सरकारले नेपाललाई ३ अर्ब चार करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । जर्मनले नेपालको नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दीगो आर्थिक विकास सम्बन्धी कार्यक्रमका क्षेत्रमा खर्च गर्ने गरी अनुदान उपलब्ध गराउन लागेको हो । भोलि शुक्रबार नेपाल सरकार र जर्मन सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले बताएको छ ।
स्कुटर चढाएर प्रधानमन्त्री ओलीलाई शहर घुमाउने सांसद शाहीको रहर !
काठमाडौँ । हुम्ला जिल्लाकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरको पछाडि चढाएर शहर घुमाउने इच्छा व्यक्त गरेकी छिन् । प्रधानमन्त्री ओलीलाई आफूले चढ्ने स्कूटरको पछाडि राखेर घुमाउने इच्छा उनले सार्वजनिक रुपमै व्यक्त गरेकी हुन् । प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा विहीबार सांसद शाहीले यस्तो कुरा बताएकी हुन् । स्मार्ट लाइसेन्स, विद्युतीय सवारी साधन सञ्चालन र व्यवस्थापन तथा बहिराहरुलाई लाइसेन्स दिनेबारे समितिमा विहीबार भएको छलफलमा उनले प्रधानमन्त्री ओलीप्रति व्यङ्ग्य गर्दै भनिन्–‘प्रधानमन्त्री ज्यू अब काठमाडौँका सडकमा यात्रा गर्दा माक्स लगाउनु पर्दैन भन्नुहुन्छ, तर म यो कुरा विस्वास गर्दिन ।’ बैठकमा उनले अगाडि भनिन्–‘म वनस्थलीमा बस्छु, त्यहाँबाट सिंहदरबार आउँदा धुँवा र धुलो सही नसक्नु छ, माक्स नलगाई हिड्नै सकिन्न ।’ गत शनिवार मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उत्साहित हुँदै भनेका थिए–‘एक वर्ष अघि र अहिले काठमाडौँको सहड हेर्नुस्, म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिड्थे, अहिले माक्स नै लगाउनु पर्दैन ।’ प्रधानमन्त्री ओलीले काठमाडौँमा माक्स लगाउनु पर्दैन भनेपनि अवस्था भने त्यस्तो छैन । प्रधानमन्त्री ओलीले आफूले गरेका प्रगतिबारे चर्चा गर्दा यथार्थ के हो भन्नेमा विचार गरेको पाइदैन ।
स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्र बन्दै तातोपानी कुण्ड
गलेश्वर । प्राकृतिक चिकित्सालय नामले संसारभरी चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्रका रुपमा विकसित हुँदै जान थालेको छ । २०४२ सालमा पत्ता लगाइएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षण गरी कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले यो कुण्ड संसारभरी नै प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको हो । मूलबाट नै ५७ डिग्री सेल्सियस तापक्रमको पानीमा विरेनुन र गन्धक मिश्रित वासना आउने यस कुण्डमा डुब्न र उपचार गराउनका लागि नेपालका साथै विदेशबाटसमेत पर्यटक र विरामीहरु आउने गरेका छन् । त्यसका साथै तातोपानी कुण्डप्रति शिक्षणसंस्था र विद्यार्थीहरुको पनि आकर्षण बढेको छ । यहाँ समय समयमा शैक्षिक भ्रमणका लागि टाढाटाढाबाट समेत विद्यार्थीहरु आउन थालेका छन् भने अनुसन्धान गर्न समेत विभिन्न शैक्षिक संस्थाहरुबाट विद्यार्थी आउने गरेका छन् । तातोपानी कुण्ड म्याग्दीको सदरमुकाम बेनीदेखि ९ किलोमिटर पश्चिममा पर्दछ । तातोपानी कुण्डमा सवारी साधनबाट सजिलै पुग्न सकिन्छ । जिल्लामा आउने उच्च सरकारी अधिकारी, केन्द्रीयस्तरका नेताहरु, स्वदेशी तथा विदेशी पर्यटक तातोपानी कुण्डमा नुहाउन र अवलोकन गर्न पुग्ने क्रम बढेसँगै तातोपानीको कुण्डमा स्वास्थ्य उपचारको महत्व बढेको हो । लाखौँ रकम खर्च गरी स्वदेश तथा विदेशका महङ्गा र ठूला अस्पतालमा पुगेर उपचार गर्दा पनि रोग निको नभएपछि यहाँ दीर्घरोगीहरु पनि तातोपानी कुण्डमा डुबेर बाफिई उपचार गरेपछि निको भएर फर्केका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा नेपालको अधिकांश जिल्लाका साथै स्नान गर्नका लागि भारत, जापान र बङ्गलादेशबाट समेत वर्षेनी सयौँ विदेशीहरु आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिएका छन् । कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु निको भएपछि फर्किएर पटकपटक आउने गरेका छन् । कुण्डमा वार्षिक झण्डै २० हजारको हाराहारीमा बिरामीहरु स्नान गर्न आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिको तथ्याङ्क रहेको छ । रासस
लक्ष्मी बैंकको ११०औँ शाखा पोखराको अमरसिहं चोकमा
काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा आफ्नो ११०औँ शाखा पोखराको अमर सिहं चोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बंैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८जिल्लामा ११०शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८शाखा रहित बैंकिङ्ग एजेन्टहरु छन् ।
नेशनल माइक्रोफाइनान्स छैठौं बर्षमा प्रवेश, अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड पाँचौ बर्ष पूरा गरी छैठौं बर्षमा प्रबेश गरेको छ । संस्थाले बार्षिक उत्सवका अवसरमा धादिङमा अवस्थित आमाको माया छात्रवासमा आश्रय लिएका २५ जना अनाथ बाल बालिकालाई एक थान कम्प्युटर, खेलकुद समाग्री लगायत आवश्यक अन्य भौतिक सामाग्री वितरण गरेको छ । सो सामाग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवले आमाको माया छात्रवासका अध्यक्ष डा.नविन वन्धु पहाडीलाई हस्तान्तरण गरेका हुन् । सो कार्यक्रमका अवसरमा संस्थाका देशभर रहेका शाखा कार्यालयहरुले आ-आफ्नो क्षेत्रहरुमा सरसफाई, वित्तिय साक्षरता, बृद्धवृद्धालाई सहयोग, अस्पतालका विरामीलाई फलफुल वितरण समेत गरेका छन् । २०७१ असार १८ गतेदेखि राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा संचालनमा आएको संस्थाले मोवाइल बैकिङ र एसएमएस बैकिङको सेवा समेत शुरुवात गरेको छ । संस्थाले धादिङ शाखाकी सदस्य कोपिला श्रेष्ठको खातामा रु.५०० जम्मा गरि मोवाइल बैकिङ सेवाको शुरुवात संस्थाका प्रमुख कार्यकारी अधिकृत यादवले गरेका हुन् । संस्थाको मोवाइल बैकिङ सेवाबााट युटिलिटी पेमेन्ट, मोवाइल रिचार्ज तथा रकम ट्रान्फरको साथै अन्य सेवा प्राप्त गर्न सक्नेछन भने एसएमएस बंैकिङबाट सदस्यहरुले गरेको बचत तथा कर्जाको कारोबारको विवरण र अन्य सूचना प्राप्त गर्न सक्नेछन् । धादिङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहेको संस्थाले ३८ जिल्लाका ५० वटा शाखा कार्यालय मार्फत ८० हजार भन्दा वढी घरधुरीलाई सेवा पुर्याइरहेको छ । हाल संस्थाको कर्जा लगानी करिब रु.४ अर्ब र बचत रु.१ अर्ब २६ करोड रहेको छ । नेशनल माइक्रोफाइनान्सले शुरु गर्यो मोवाइल बैंकिङ र एसएमएस सेवा
दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार वितरण
खाँदबारी । संखुवासभाको सभापोखरी गाउँपालिकाले दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण गरेको छ । गाँउपालिकाको ६ वटै वडाका ती परिवारलाई सोलार वितरण गरिएको हो । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका दुर्गम गाउँ पाँचतला, टुम्सीकुर, आपुङ, सिदेक्पा, इथुक्बु लगायत दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार सेट वितरण गरिएको ६ नम्बर वडाका वडाअध्यक्ष विकास पौडेलले जानकारी दिनुभयो । निःशुल्क सोलार सेट पाएका दुर्गम गाउँका बासिन्दा खुशी भएका छन् । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका वडा नम्बर ६ का सरला तामाङले पहिलो पल्ट घर नै झिलिमिली हुदाँ निकै खुशी लागेको बताएकी छिन् । टुकीको भरमा गुजरा चलाउँदै आएका तामाङले सोलार सेट पाएपछि रातको समयमा घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुगेको बताए । सभापोखरी गाउँपालिकामा सभाखोला लघुजल विद्युत्तको २७ किलोवाट र चिन्ठे खोलाको १५ किलोवाट भए पनि ग्रामीण भेगसम्म विस्तार हुन सकेको छैन । गाउँपालिकाले प्रति परिवार रु ११ हजार बरावरको सोलार सेट वितरण गरेको हो । विद्युत्त नपुगेका ४२ परिवारलाई कुल रु ४ लाख ७३ हजारको सोलार सेट वितरण गरेको सभापोखरी गाउँपालिका कार्यालयले जनाएको छ । रासस
आइएमई लाइफ र आईसिएफसि फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र आईसिएफसि फाइनान्स लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक आशिष सिंह र आईसिएफसि फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुनिल पन्तले हस्ताक्षर गरेका छन् । सो बैंकास्योरेन्स सम्झौतापश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले आईसिएफसि फाइनान्स लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।