विकासन्युज

डिबेन्चरको व्याज ११ प्रतिशत प्रस्ताव गर्दा राष्ट्र बैंकद्धारा हस्तक्षेप, मर्जबारे हल्ला धेरै, काम शुन्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुद्धारा जारी गरिने ऋणपत्रको व्याजदरमा पनि हस्तक्षेप गर्ने गरेको रहस्य खुलेको छ । राष्ट्र बैंकले निक्षेपको व्याजदरलाई प्रभाव पार्ने भन्दै उच्च व्याजदर प्रस्ताव गरिएको ऋणपत्रको व्याजदर घटाउन हस्तक्षेपकारी भूमिका खेल्दै आएको बैंकर्सले बताएका छन् । बैंक व्याजदर बजारले निर्धारण गर्ने राष्ट्र बैंकको घोषित नीति हो । तर पछिल्लो समय राष्ट्र बैंकले अप्रत्यक्ष रुपमा विभिन्न तरिकाले व्याजदर नियन्त्रण गर्दै आएको छ । राष्ट्र बैंकको समर्थनमा नेपाल बैंकर्स संघले निक्षेपको व्याजदर १० प्रतिशत भन्दा कममा सीमित गरेको छ । हाल बैंकहरुले मुद्दति निक्षेपमा ९.७५ प्रतिशतसम्म व्याज दिदै आएका छन् । उक्त व्याजदरलाई टिकाउन बैंकहरुले जारी गर्ने ऋणपत्रको व्याजदर १०.५ प्रतिशतभन्दा कम गर्न राष्ट्र बैंंकले बैंकहरुलाई मौखिक निर्देशन दिने गरेको छ । पछिल्लो समय धेरै बैंकहरुले ऋणपत्र निष्काशन गर्दै आएका छन् । तर ऋणपत्रको व्याजदर मुद्दति बचतको व्याजदर भन्दा १ प्रतिशत पनि बढी नभएकाले ऋणपत्रमा लगानी गर्न सर्वसाधारणको चासो कम देखिएको छ । नेपाल बंगलादेश बैंकले सर्वसाधारणको लागि ८० करोड रुपैयाँ मूल्य बराबरको डिबेन्चर सार्वजनिक निष्काशन गरेकोमा ११ करोड ४७ लाख ७८ हजार रुपैयाँको मात्र माग पर्यो । माग रकम निष्काशन रकमको १४.३४ प्रतिशत मात्र हो । ‘१० वर्ष अवधिको १०.२५ प्रतिशत व्याजदर भएको ऋणपत्रमा समेत सर्वसाधारणको आकर्षण देखिएन । संस्थागत तवरबाट १ अर्ब ८८ करोड ५२ लाख २२ हजार रुपैयाँ आवेदन भयो’ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने–‘सर्वसाधारणको आकर्षण नहुनुको मुख्य कारण कम व्याजदर नै हो ।’ ऋणपत्र निष्काशन गर्नुपूर्व नेपाल बंगलादेश बैंकले व्याजदर ११ प्रतिशत प्रस्ताव गरेको तर राष्ट्र बैंक र धितोपत्र बोर्डको सुझावमा १०.२५ प्रतिशत तय गरिएको उनले जानकारी दिए । ‘डिबेन्चरमा ११ प्रतिशत व्याज दिदाँ सेयर बजारलाई पनि नकारात्मक असर पर्छ भन्ने धितोपत्र बोर्डको भनाई आयो । डिबेन्चरको व्याज माथि हुँदा निक्षेपको व्याज पनि प्रभावित हुन्छ भन्ने राष्ट्र बैंकको कुरा आयो । व्याज बढाउँदा उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघले आन्दोलन गर्लानन् भन्ने डर पनि भयो’ व्याजदर घटाउनु पर्ने बाध्यताबारे उनले प्रष्ट पारे । मर्जबारे हल्ला धेरै, काम शुन्य नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका ढुंगानाले बैंकहरुबीच मर्जको बारेमा हल्ला मात्र धेरै भएको तर काम खासै नभएको बताए । ‘मलेसियामा जस्तो नेपालमा फोर्सफूली मर्ज सम्भव छैन । राष्ट्र बैंकको मौद्रिक नीति आएपछि अगाडिको बाटो स्पष्ट हुन्छ’ उनले भने । विदेशी संयुक्त लगानी रहेका स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, नेपाल एसविआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र एनएमबी बैंकलाई पनि राष्ट्र बैंकको मर्जर नीति लागू हुन सक्ने तर यसको प्रक्रिया निकै लामो र जटिल हुने उनले बताए । २८ वटा वाणिज्य बैंक मर्ज भएर १४/१५ वटामा सीमित हुने सम्भावना आफूले नदेखेको उनले बताए । ‘२८ बाट झरेरमा २० मा आए भने त्यसलाई राष्ट्र बैंकले ठूलो उपलब्धि मान्नुपर्छ’–उनले भने । सरकारी लगानीका तीन बैंक यथावत रहन्छन् । संयुक्त लगानीका ६ बैंक पनि रहने देखिन्छ । पहिलो पुस्ताका बैंकहरु पनि बलिया छन् । स्वेच्छाले उनीहरु मर्जमा नजान सक्छन् । नयाँ पुस्ताका केही बैंक बलिया भएका छन् । उनीहरु पनि पाए अरुलाई गाभ्ने, नपाए पनि आफू अरुमा नगाभिने रणनीतिमा रहेको जानकारहरु बताउँछन् । स्वाप रेसियो घटीमा ७० बलिया बैंकले कमजोर बैंकलाई सस्तो मूल्यमा लिन खोजेको भन्ने आशंका निराधार भएको उनको भनाई छ । ‘कुनै बैंकलाई स्वाप रेसियाे कम भयो भन्ने लाग्छ भने मर्ज नगर्न पाइन्छ’ उनले भने । दोस्रो र तेस्रो पुस्ताका बैंकहरुबीच मात्र मर्जको सम्भावना देखिएको पनि उनले सुनाए । ‘तेस्रो पुस्ताका बैंकबीच मर्ज भएमा स्वाप रेसियो १००/९० होला । दोस्रो र तेस्रो पुस्ताका बैंकबीच मर्ज भएमा स्वाप रेसियो १००/७० सम्म हुनसक्छ’ उनले भने ।

जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलद्वारा नागपोखरीमा फिजियोथेरापी सञ्चालन

काठमाण्डौं । नेपालस्थित जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलले नक्सालको नागपोखरीमा आचार्य महाश्रमण फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याएको छ । वरिष्ठ उद्योगपति, समाजेसेवी बुद्धिजीवीहरुको बृहत उपस्थितिमा भव्य कार्यक्रमको आयोजना गरी उक्त फिजियोथेरापी सेन्टरको उदघाटन गरिएको थियो । यस फिजियोथेरापी सेन्टरले असहाय, अशक्त, अपाङ्ग एवम् आर्थिक रुपमा कमजोर भएका व्यक्तिहरुलाई जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलको सिफारिसमा निःशुल्क सेवा प्रदान गर्ने तथा अन्य व्यक्तिहरुको हकमा न्यूनतम् शुल्क लिई उक्त सेवा प्रदान गर्ने भनि जैन स्वेताम्बर तेरापन्थका अध्यक्ष रश्मि जैनले कार्यक्रममा बताएका छन् । उक्त फिजियोथेरापी सेन्टर सञ्चालनका लागि जावलाखेलस्थित आशास हेल्थ केयरले मेडिकल सहयोग गरेको अध्यक्ष जैनले उक्त कार्यक्रममा जानकारी गराएका हुन् ।

बेलुका ७ देखी १० बजे रुँदा सबैभन्दा बढी वजन घट्ने

काठमाडौं। एसियावानले सार्वजनिक गरेको नयाँ अध्ययन अनुसार मानिसहरूले रुदाँ र भावनाहरूलाई पोख्दा वजन घट्ने देखिएको छ। यो सम्भव छ र यसको पछि वैज्ञानीक कारणहरु पनि रहेका छन्। जब हामी रुन्छौं हाम्रो शरीरबाट कन्ट्रोसिल नामको हार्मोन निस्कन्छ। यो हार्मोन शरीरबाट बढी मात्रामा निस्कँदा यसले शरीरमा भएको बोसोलाई पगाल्ने गर्दछ। साथै तनाव-दुखका कारण निस्किएका आसुँले हाम्रो शरीरबाट विषाक्त पदार्थहरू हटाउन मदत गर्दछ जुन वजन घट्नको लागि राम्रो तरिका हो। यो अध्ययनको निष्कर्ष प्रसिद्ध जैव रसायनज्ञ विलियम फ्रेीले समर्थन गरेका छन्। यदी तपाई त्यस्तो व्यक्तीमा पर्नुहुन्छ जो सजिलाई रुदैनन् भने यो त्यस्ता व्यक्तीको लागि भने यो तरिका वजन घटाउनको लागि काम गर्दैन। अध्ययनको अनुसार यदि तपाई भित्री मनबाट दुखी भएर रुनुभएको छ भने मात्र तपाईले आफ्नो शरिरको बोसो पघाल्न सक्नुहुन्छ। आँसु तीन प्रकारका हुन्छन् : बेसल, रिफ्लेक्स र साइकिक। बेसल आँसुले हाम्रो आँखालाई रसिलो राख्न मद्दत गर्दछ, रिफ्लेक्स आँसु धुवाँ-धुलो र प्रदुशणको कारण हुने गर्दछ र साईकिक आँसुहरु मानव भावनासँग जोडिएका हुन्छन्। यसको अर्थ मात्र साईकिक आँसुले मात्र तपाईको वजन घटाउन मद्त गर्द्छ। जब हामी तनावमा हुन्छौं तब हाम्रो मुटुको धड्कन बढेर जान्छ। मुटुको धड्कन बढ्दा हृदय मांसपेशिहरुले शरीरको क्यालोरीलाई घटाउन मद्त गर्दछ। त्यस्तै साँझको ७ देखी १० बजेको समय रुनको लागि धेरै राम्रो रहेको बताईन्छ किनभने यो समयमा भावनामा डुबेर रुँदा धेरै मात्रामा कन्ट्रोसिल हार्मोनहरु निस्कन्छ। (टाईम्स अफ ईण्डियाबाट नेपालीमा उल्था गरिएको)

मेगा बैंकको ‘मेगा रेमिट’ सेवा अब बेलायतमा पनि

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना सेवालाई विभिन्न देशमा विस्तार गर्ने क्रममा ‘मेगा रेमिट’ सेवा बेलायतमा पनि विस्तार गरेको छ । यसरी, बैंकले बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने उद्देश्यले रेमिट्यान्स सेवा विस्तार गरेका हो । बेलायतबाट नेपालीले पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सक्नेछन् ।

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ बीमा योजना बजारमा, ११ घातक रोगको ५० लाख रुपैयाँसम्म बीमा सुविधा

काठमाडौ । सानिमा लाईफ इन्स्योरन्स कम्पनीले ‘सानिमा घातक रोग रक्षावरण योजना’ राइडर बजारमा ल्याएको छ । ११ प्रकारको घातक रोगको जोखीम बहन हुने किसीमले सो योजना बजारमा ल्याइएको हो । घातक रोगको बीमा सुविधा ५० हजार रुपैयाँ देखी ५० लाख रुपैयाँसम्मको जोखिम बहन हुने प्रकृतीको छ । बीमा योजनामा प्रवेश गर्न चाहने बिमितको उमेर १८ देखी ५५ वर्षसम्म तोकिएको छ । बीमा अवधि भने ५ वर्षदेखी २५ वर्षसम्म रहने कम्पनीले जनाएको छ । यस्तै, बिमितको अधिकतम बीमा शुल्क भुक्तानी उमेर ६५ वर्षसम्म रहेको छ । कार्यक्रमको प्रमुख आतिथिका रुपमा रहेका बीमा समितिका अध्यक्ष चिरञ्जीवि चाँपागाईले भने–‘पछिल्लो २ वर्षमा बीमा कम्पनीहरुले नयाँ पोलिसी जारी गरिरहेका छन र बीमा क्षेत्रको आकर्षणपनि बढ्ने क्रममा रहेको छ ।’ उनले बीमा र अभिकर्ता बिच महत्वपूर्ण सम्बन्ध रहने भन्दै चर्चा गरेका थिए । यस्तै, कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीका निर्देशक सुवर्णदास श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए । उनले रोगले बिरामीहरुलाई मात्र नभई आफन्तहरुलाई समेत पिडा दिएको देखेकाले बजारमा आफूहरुले ११ रोग किसिमका रोग लक्षित बीमा योजना ल्याएकोमा प्रकाश पारे । कम्पनीको महाप्रबन्धक शिवराम तिमल्सीनाले भने–‘हामीहरुले पैसा हुनेहरुकोलागि मात्र नभएर मध्यम आय भएका बिमितहरुपनि सहज हुने गरी यो बीमा पोलिसी ल्याएका हौँ ।’ सानिमा इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेस्डर जितु नेपाल देखी (कार्डीयोलोजिस्ट) डक्टर टी.एन. भट्राई, किड्नी विषेशज्ञ (नेफ्रोलोजिस्ट) डक्टर कल्पना श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिती थियो । कम्पनीले तोकेको विशेष शर्त सानीमा लाईफ इन्स्योरेन्स कम्पनीले विषेश शर्तको रुपमा दुईवटा बुँदाहरु अछि सारेको छ । बुँदा नम्बर १ मा भने प्रतिक्षा अवधि भनेर बीमा योजना प्रारम्भ भएको वा बीमा पुनर्जागरण भएको ९० दिनसम्म प्रतिक्षा अवधि कायम गरिएको छ । अर्को बुँदामा भने अस्तित्व अवधि भनेर घातक रोग निरुपण अवधि भन्दै ३० दिन कायम गरिएको छ । सानीमा लाईफ इन्स्योरेन्स कम्पनीले आफूले तोकेका ११ वटा घातक रोग बिमितलाई लागेको प्रमाणीत भएमा शर्तहरुको प्ररिधिमा भित्र रही मुल बीमाङ्कको आधारमा ५० लाख बीमा सुविधा एकमुस्ट प्रदान गर्ने बताएको छ । यस्ता छन् सानिमा घातक रोग रक्षावरण योजना भित्र पर्ने ११ घातक रोग १. कडा प्रकृतिको क्यान्सर २. निरन्तर डायलसिसको आवश्यकता पर्ने गरी भएको मृगौला विफलता ३. निरन्तर लक्षण सहितको मल्टिपल स्क्लेरोसिस ४. मुख्य अंग, बोन म्यारो प्रत्यारोपण ५. ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत ६. प्राइमरी पलमोनरी आटिरिअल हाइपर टेन्सन ७. कडा प्रकृतिको प्रथम हृदयघात ८. स्थायी प्रकृतिको मस्तिष्कघापत ९. विषेश कडा प्रकृतिको कोमा १०. एओर्टा ग्राफ्ट शल्यक्रिया ११. कोरोनरी धमनी बाईपास ग्राफ्ट

सप्तरीमा मानवाधिकार उल्लङ्घनका ८५ वटा घटना

सप्तरी । इन्सेक सप्तरीले सन् २०१९ को ६ महिनाको अवधिमा सप्तरीमा ८५ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जनाएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूबारे बिहीबार आयोजित कार्यक्रममा जानकारी दिँदै इन्सेकले सप्तरीमा ६ महिनाको अवधिमा सात जनाको हत्या, बालिका बलात्कारका १६, महिला बलात्कारका सात, घरेलु हिंसाका २५ घटनासहित ८५ वटा घटना अभिलेख भएको जनाएको छ । जिल्लाको मानवअधिकारको अवस्था तथा अर्धवार्षिक पूर्वसमीक्षा गोष्ठीमा इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार बालिका बलात्कार प्रयासका तीन, बाल यौन दुव्र्यवहार, बालबालिका विरुद्धको कसुर, बालबालिका दुरुपयोग र महिला बलात्कार प्रयासका एक÷एक घटना भए । अपहरणका चार घटनामा तीन बालिका र एक बालक तथा अपहरण प्रयासको एक घटनामा एक राजनीतिक दलका कार्यकर्ता पीडित भए । सप्तरीमा ०७५ पुस १७ देखि ०७६ असार १५ गतेसम्म बहुविवाहका आठ घटनामा आठ जना फरार, एक जना पुर्पक्षका लागि थुनामा, पाँच जना धरौटीमा रिहा र दुई जना गत शुक्रबार पक्राउ परेको इन्सेक प्रतिवेदनमा उल्लेख छ । कालाजारका एक बिरामीले उपचार नपाएको घटनासहित सशस्त्र प्रहरी र जिल्ला समन्वय समितिको सवारी साधन तोडफोडका साथै जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयको झ्याल ढोकाका सिसाहरु फुटाएर प्रदर्शनकारीहरुले क्षति पुर्याएको घटनाहरु भएको उल्लेख गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना, जिल्ला न्यायाधीशहरु उमेश कोइराला, श्रीप्रसाद सञ्जेल, कमलप्रसाद ज्ञवाली, कृष्णप्रसाद पौडेल, नन्दकिशोरप्रसाद यादव, सुदर्शन लामिछाने, दण्डपाणि लामिछाने, नेकपाका प्रदेश कमिटी सदस्य छेदी रजक, राजपा सप्तरीका अध्यक्ष अमरनाथ मण्डल, जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर रामले प्रतिवेदनमाथि टिप्पणी गरेका छन् । रासस

विद्युतीय सवारी सञ्चालनको अनुमति प्रदान गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौँ । विद्युतीय सवारी साधन सञ्चालन गर्ने अनुमति प्रदान गर्न विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । स्मार्ट लाइसेन्स, विद्युतीय सवारी साधन सञ्चालन र व्यवस्थापन तथा बहिराहरुलाई लाइसेन्स दिनेबारे समितिमा विहीबार भएको छलफलपछि यस्तो निर्देशन दिइएको हो । समितिले निजी/सरकारी/सहकारी वा अन्य कम्पनीलाई विद्युतीय सवारी साधन सञ्चालन गर्न निर्देशन दिंदै चार्जिङ स्टेशन लगायतको व्यस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उर्जा मन्त्रालय समेतलाई निर्देशन दिएको हो । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सचिव, सडक विभागका महानिर्देशक समेतको उपस्थितमा समिति सभापति कल्याणी खड्काले यस्तो निर्देशन दिएकी हुन् । साथै समितिले बहिराहरुलाई लाइसेन्स दिन समेत सरकारलाई निर्देशन दिएको छ । काठमाडौँ लगायतका स्थानमा नो हर्न लागु भएको अवस्थामा बहिराहरुलाई लाइसेन्स दिन रोक्नु हुँदैन–समिति सभापति खड्काले बताइन् । देशभरबाटै स्मार्ट लाइसेन्स बितरण गर्ने व्यवस्था गर्न समेत समितिले विहीबार निर्देशन दिएको छ । विद्युतीय बस चलाउन निजी क्षेत्र उत्साहित, तर पाएनन् चार्जिङ स्टेशन राख्ने ठाउँ विद्युतीय सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णयलाई सुन्दर यातायातले गर्यो स्वागत सुन्दर यातायातले गर्यो नीति कार्यक्रमको स्वागत, ‘विद्युतीय सवारी सम्बन्धी नीति बनाऊ’  

भूकम्प प्रभावित लाभग्राहीहरूका लागि सहुलियतपूर्ण ऋणसम्बन्धी सचेतना

काठमाडौं । यूकेएड सक्षम एक्सेस टु फाइनान्सले भूकम्प प्रभावित लाभग्राहीहरूका लागि सहुलियतपूर्ण ऋणसम्बन्धी तीन दिने सचेतना कार्यक्रम सञ्चालन गरेको छ । वि.स २०७२ साल बैशाख १२ गते गएको भूकम्पले क्षति ग्रस्त व्यक्तिका लागि सो कार्यक्रम असार १६ देखि १८ सम्म क्रमशः गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका तथा पालुङटार नगरपालिका गरी तीन स्थानहरूमा सञ्चालन गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वैदेशिक सहायता समन्वय शाखाका शाखा प्रमुख दिव्यराज पोख्रेल विशेष अतिथिका रूपमा र प्राधिकरणकी नमिता पौडेल बैङ्किङ समन्वय विशेषज्ञको रुपमा तीनवटै सचेतना कार्यक्रमहरूमा उपस्थिति भएका थिए । सो असार १६ मा सम्पन्न भएको कार्यक्रममा सभापतिको रुपमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, गोरखाका प्रमुख रामशरण आचार्य थिए भने अतिथिका रूपमा गोरखा नगरपालिकाका उपमेयर विनाकुमारी श्रेष्ठ रहेका थिए । असार १७ को कार्यक्रममा सभापतिको रूपमा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अतिथिको रूपमा शहिद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी तथा शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगर र अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, गोरखाका प्रतिनिधि श्री शैलेन्द्र भट्टको उपस्थिति रहेको थियो । त्यस्तै असार १८ को कार्यक्रममा सभापतिको रुपमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, गोरखाका प्रमुख रामशरण आचार्य रहेका थिए भने प्रमुख अतिथिका रूपमा पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल थिए । त्यसैगरी पालुङटार नगरपालिकाकी उपमेयर पम्फा बसेले अतिथिको रुपमा कार्यक्रममा प्रतिनिधित्व गर्नु भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पोख्रेलले सहुलियत ऋणको सम्बन्धमा प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्सका आवास पुननिर्माण आयोजना प्रमुख विभुप्रसाद अर्यालले भूकम्प प्रभावित लाभग्राहीहरूलाई सहुलियतपूर्ण ऋण तथा वित्तीय साक्षरताको महत्वका बारेमा प्रकाश पारेका थिए । लाभग्राहीहरूले सहुलियत ऋण सम्वन्धमा राखेका ऋण रकम, ऋण अवधि, व्याजदर, आवश्यक कागजात लगायत विभिन्न विषयका जिज्ञासाहरुको अर्यालले उत्तर दिए । सक्षम एक्सेस टु फाइनान्स, यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो जुन नेपाल सरकार र संयुक्त अधिराज्यबीचको सम्झौताको एउटा हिस्सा हो । यसलाई नेपालमा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा डिएफआइडी नेपालका लागि लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।