बूढानीलकण्ठमा पहिलोपटक प्रथम मेयर कप फुटसल हुँदै
साँखु । बूढानीलकण्ठ नगरपालिकामा पहिलोपटक प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०१९ हुने भएको छ । शिवपुरी युवा क्लबको आयोजनामा असार २७ र २८ गते ‘हाम्रो फुटसल’ चपलीगाउँ– ३ मा हुने भएको हो । यसरी, खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्ने मूल लक्ष्यका साथ खेलकूदको आयोजना गरिएको आयोजक समितिले जानकारी दिएको छ । खेलप्रति समर्पित युवालाई एकताबद्ध गरी अन्य ठाउँमा हुने प्रतियोगितामा नगरपालिकाको तर्फबाट सहभागी गराउन सकिने गरी खेलाडीको मनोवल उच्च राख्न उक्त कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सन्देश कार्कीले बताउँछन् । कार्कीका अुनसार प्रतियोगिताको असार २५ गते फारम भर्ने अन्तिम म्याद भएकाले खेलमा भाग लिन ईच्छुक समूहले आफ्नो वडामा गई आवेदन फारम भर्नुपर्ने जानकारी समेत दिए । वडा/वडाबीच प्रतियोगिता हुने उक्त खेलमा नगरपालिकाभित्रकै स्थानीय खेलाडी हुनुपर्ने क्लबले जनाएको छ । स्थानीयस्तरमा फुटसल खेल अहिले निकै लोकप्रिय हुँदै गइरहेको छ । रासस
सिटिजन्स म्युचुअल फण्ड–२ का ५६ प्रतिशत मात्र बिक्री, २४ लाखको माग रद्द
काठमाडौ । सिविआईएल क्यापिटल लिमिटेडले निष्काशन गरेको सिटिजन्स म्युचुअल फण्ड–२ बाँडफाँड भएको छ । कम्पनीले १ अर्ब रुपैयाँ मूल्यको सिटिजन्स म्युचुअल फण्ड–२ निष्काशन गरेकोमा ५६ करोड भन्दा कमको आवेदन परेकोले आवेदक सबैले उक्त म्युचुअल पाएका छन् । ४४ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री नभएको कम्पनीले जनाएको छ । सर्वसाधारणका लागि ८५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन भएकोमा ४० करोड ९९ लाख ५५ हजार रुपैयाँ बराबरको म्युचुअल फण्डको लागि मात्र आवेदन परेको थियो । सर्वसाधारणले म्युचुअल फण्ड खरिदको लागि आवेदन गर्न समेत नजानेको देखिएको छ । सर्वसाधारणबाट ४२२ आवेदकले २४ लाख ८८ हजार ८ रुपैयाँ बराबरको म्युचुअल फण्ड माग गरेकोमा उनीको आवेदन रितपूर्वक नभएको जनाउँदै कम्पनीले खारेज गरिदिएको छ । सिटिजन्स म्युचुअल फण्ड–२ को प्रबन्धक सिटिजन्स बैक इन्टरनेशनलको बीज पूँजी १५ करोड रुपैयाँको म्युचुअल फण्ड लिएको छ । राउण्डअफ गर्नको लागि २५ लाख ३३ हजार ५ सय रुपैयाँको म्युचुअल फण्ड कोष व्यवस्थापकले नै लिएको छ । गत जेठ ९ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणका लागि खरिद आह्वान गरिएको थियो । सेयर बजारमा आएको मन्दीसँगै प्राइमरी निष्काशनको रुपमा आएका म्युचुअल फण्ड, डिबेन्चर, हाइड्रोपावरको साधारण सेयरमा लगानीकर्ताबाट प्रयाप्त आवेदन पर्न छोडेको छ । बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव भएकोले पनि कम आवदेन परेको निष्काशन तथा बिक्री प्रबन्धक सिविआईएल क्यापिटलले जनाएको छ ।
‘मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सम्झौता
काठमाडौं । ‘मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता समारोहमा खल्तीका व्यापार विकास अधिकृत आदित्य थापा र मुक्तिनाथ विकास बैंकका डिजिटल बैंकिङ शाखाप्रमुख राजेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो । सम्झौता अनुसार अब मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जानकारी दिएको छ । उक्त सम्झौताको बारेमा बोल्दै मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले भने “प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नेछन् । खल्ती वालेटसँग सहकार्य गरी ग्राहकमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।” त्यसै गरी खल्तीका निर्देशक ध्रुब अधिकारीले भने,“ मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । बैंकबाट सिधै ‘खल्ती’मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसाबिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीलाई खल्ती नगद पैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।” सन २०१७, जनावरी २६ बाट शुरू भएकाे खल्तीको मोबाईल एपतथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिलभुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोग कर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ । मोबाइलएप डाउनलोड गर्न ‘मुक्तिनाथ विकास बैंक’ को मोबाईल बैङ्किङ एपयो लिङ्क र ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एपयो लिङ्कबाट डाउनलोड गर्न सकिन्छ ।
डा. महत र म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्रीबीच भेटवार्ता
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र म्यान्मारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री यु क्या तीनबीच आइतबार म्यानमारको याङ्गुनमा भेटवार्ता भएको छ । उनीहरुबीच दुई देशबीचको आपसी हित र सम्बन्धका साथै द्विपक्षीय सहयोग आदानप्रदानका विविध क्षेत्रका बारेका कुराकानी भएको थियो । यसरी, म्यान्मारमा ठूलो सङ्ख्यामा नेपालीभाषी नागरिकहरु बस्ने भएकाले नेपाली संस्कृति, परम्पराका साथै धेरै कुराहरुको आदानप्रदान र समानता रहेकाले दुई देशबीच मित्रवत् सम्बन्ध रहेको सो अवसरमा चर्चा गरिएको थियो । त्यस्तैगरी, भगवान गौतम बुद्धको जन्मस्थल नेपालप्रति म्यान्मारका बौद्धमार्गी तथा सबै नागरिकको ठूलो आस्था र श्रद्धा रहेको जानकारी आफूले पाएको डा. महतले बताए । उनीहरुबीच द्विपक्षीय सहयोगको आदानप्रदानका साथै आगामी दिनमा सहयोगका धेरै क्षेत्रमा सहकार्य हुनसक्ने बारेमा पनि कुराकानी भएको थियो । सो भेटवार्तापछि यांगुनमा आयोजित गैरआवासीय नेपाली सङ्घको एशिया तथा प्रशान्त क्षेत्रको सातौँ बैठकको उनीहरुले संयुक्त रुपमा उद्घाटन गरेका थिए । आइतबारदेखि यांगुनमा शुरु भएको गैरआवासीय नेपाली सङ्घको एशिया तथा प्यासिफिक क्षेत्रीय सातौँ बैठक दुई दिन चल्ने छ । उक्त बैठकमा एशिया तथा प्रशान्त क्षेत्रका गैरआवासीय नेपाली सङ्घका नेता तथा प्रतिनिधिको समेत सहभागिता रहनेछ । रासस
‘नन्द–हरि पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुँदै दुई पत्रकार
बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट दुई पत्रकार पुरस्कृत हुने भएका छन् । विसं २०७४ को पुरस्कार नेपाल टेलिभिजनका बागलुङ समाचारदाता किरण आचार्य र विसं २०७५ को पुरस्कार ढोरपाटन राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई प्रदान गर्न लागिएको हो । धवलागिरिलाई कार्यक्षेत्र बनाएका पत्रकारमध्येबाट ज्येष्ठता, क्रियाशीलता तथा निरन्तरताका आधारमा आचार्य र बोहरा छनोट भएको पुरस्कार छनोट समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले बताए । महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष हरिनारायण गौतम र उनको परिवारले आमा हरिकला र बुबा नन्दलाल गौतमको सम्झनामा विसं २०६६ सालमा स्थापना गरेको पुरस्कार वर्षेनी प्रदान गर्दै आएका थिए । पुरस्कारको राशि जनही रु. १५ हजार रहेको छ । यही असार २५ गते पत्रकार महासङ्घ बागलुङ शाखाको १९ औँ स्थापना दिवसका अवसरमा पुरस्कार समर्पण गरिने शाखा अध्यक्ष दिल शिरीषले बताएका हुन् । यसअघि उक्त पुरस्कारबाट पर्वतका पत्रकार दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल, म्याग्दीका धु्रवसागर शर्मा, बागलुङका ज्ञानेन्द्र गौतम, कोपिला कँडेललगायत पुरस्कृत भइसकेका छन् । रासस
बाँझो जग्गा सदुपयोग गर्दै सूर्यमुखी खेतीमा व्यावसायीकरण
गलकाेट। सूर्यमुखी फूलको खेती बागलुङ जिल्लामा व्यावसायिक रूपमा गर्न थालिएको छ । बागलुङ नगरपालिका–१० भुकण्डे गलुवास्थित एक वृद्धले जमीन बाँझो हुन थालेपछि व्यावसायिक रूपमा सूर्यमुखी खेती शुरु गरेका छनृ। नेपाली सेनाका पूर्व जमदार ७५ वर्षीय बमबहादुर खत्रीले जनशक्ति अभावका कारण बाली लगाउन नसक्दा जमीन बाँझो हुनलागेको भन्दै सूर्यमुखी खेती गरेका हुन् । खत्रीले पहिलोपटक झण्डै १५ रोपनी जग्गामा सूर्यमुखी खेती गरेका हुन् । गत वैशाख महिनामा छर्नुभएको सूर्यमुखी अहिले पाक्ने बेला भएको छ । समुद्री सतहदेखि करीब तीन हजार फिटको उचाइमा रहेको यस क्षेत्रमा खत्रीले अहिले पहिलोपटक परीक्षणका लागि सूर्यमुखी खेती गरिन्छन् । “उमेरले नेटो काट्यो, छोराबुहारीले गाउँ छाडे,” खत्रीले भने, “काम गर्ने मानिस पाइन छाडे, त्यसैले सजिलोका लागि सूर्यमुखीको व्यावसायिक खेतीमा लागेँ ।” उनले प्रतिकेजी एक हजार २०० मा सूर्यमुखीको बीउ किनेर छरेको बताउँदै साउनमा सूर्यमुखी पाक्ने बताए । पहिलोपटक परीक्षणका लागि लगाएको सूर्यमुखी फूलेको देख्दा आफू यो व्यवसायमा सफल हुने खत्रीले जानकारी दिएका छन्। “पहिलो पटक सूर्यमुखी लगाउँदा कुनै प्राविधिकको सल्लाह नलिई शुरु गरेँ”, उनले भने “सूर्यमुखी खेती गर्न निकै सहज रहेछ, यसैपटक पाँच मुरी सूर्यमुखीका दाना उत्पादन गर्ने अनुमान गरेको छु ।” सो उत्पादन अगावै २५ लिटरभन्दा बढी तेल र २० केजी बीउको माग भइसकेकाले बजारीकरणका लागि समस्या नहुने बताए । लगानी कम लाग्ने, उत्पादन छिटो दिने, तोरी पेल्ने मेसिनमा पेल्न मिल्ने र अन्य बालीको तुलनामा यसमा मेहनत कम लाग्ने भएकाले यसलाई विस्तार गर्दे लैजाने योजना खत्रीको छ । “अर्को वर्ष २५ रोपनी जग्गामै सूर्यमुखी खेती गर्छु”, उहाँले भन्नुभयो, “बागलुङका अन्य कृषकहरुलाई समेत सूर्यमुखी व्यवसायतर्फ आकर्षण गर्ने योजनामा छु ।” खत्रीका दुई छोराबुहारी जापानमा छन् । गाउँमा खत्री दम्पती मात्रै बस्दै आएका छन् । घरबारी धेरै भएपनि काम गर्ने मानिस नभएपछि मकै, कोदो लगाउन समस्या भएपछि सजिलो पेशामा लागेको खत्रीले बताए । मकै, गहुँ र कोदो जस्तो मेहनत गर्न नपरे पनि सिँचाइ, गोडमेल तथा प्रशस्त मल आवश्यक रहेको खत्रीको अनुभव छ । अहिलेसम्म उनले सूर्यमुखी खेतीका लागि जम्मा रु.४० हजार लगानी गरेका हुन् । स्वास्थ्यका हिसाबले पनि सूर्यमुखीबाट उत्पादन हुने तेल निकै फाइदाजनक मानिने चिकित्सकको भनाइ छ । कोलस्ट्रोल तथा मुटु रोगीलाई सूर्यमुखी तेल निकै हितकर मानिने हुँदा यसको माग निकै रहेको छ । तराईका जिल्लामा हुँदै आएको सूर्यमुखी खेती पहाडमा समेत गर्न सकिने भन्दै पहिलो पटक सूर्यमुखी खेतीको शुरुवात गरेका थिए। बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा समेत केही जग्गामा परीक्षणका लागि सूर्यमुखी खेती थालिएको छ ।रासस
जाजरकोटका ६२ परिवार एउटै कुवाको भरमा
काठमाडौं । जाजरकोटका ६२ परिवार एउटै कुवाको भरमा आधारित छनृ । ६० वर्ष पुरानो कुवाले भेरी नगरपालिका– १ मैदेका स्थानीयवासीको तिर्खा मेटाइरहेका छन् । भेरी नगरपालिका–१ मैदेमा विसं २०१६ मा बनेको पँधेरो, कुवा सञ्चालन गरेर दैनिक यहाँका ६२ घरधुरी किसान पानीको जोहो गर्दै आएका हुन् । जिल्लामा बनेका खानेपानी आयोजनामध्ये दिगो विकासको नमूनाका रुपमा मैदेको कुवालाई लिन सकिने वडा नं १ का वडाध्यक्ष दीपक रानाको भनाइ छ । पछिल्लो चरणमा आयोजना निर्माण गरेको पाँच वर्ष बित्न नपाउँदै उपभोग गर्न नमिल्ने खानेपानी आयोजना बनिरहेको बताउँदै अध्यक्ष रानाले भने, “कुवा निर्माण गरेको ६० वर्षको समय पार गरे पनि उपभोक्ताले उपभोग गरिरहेको जिल्लाकै एक मात्र आयोजना होला भन्ने मलाई लागिरहेको छ ।” विसं २०१६ मा उक्त कुवा निर्माण भएको बताउँदै ७० वर्षीय डोइलीवीर रानाले भने, “उक्त कुवामा प्रयोग भएको सिमेन्ट, इँटा, बालुवा लगायतका सामग्री ढुवानी गर्नलाई मैदे गाउँवासीले श्रमदान गर्नुपरेको थियो, त्यतिबेला सिमेन्ट यहाँ पाइँदैन्थ्यो, नुन लिन नेपालगञ्ज जाँदा नुनसँगै प्रतिव्यक्तिले चार/चार माना सिमेन्ट, रावतगाउँमा बनेको इँटा र पिपेबाट बालुवा ढुवानी गरेका थियौ।” विसं २०१६ मा निर्माण गरिएको कुवालाई २०४४ तिर युनिसेफको आर्थिक सहयोगमा सिमेन्ट प्लाष्टर गरिएको थियो ।हालसम्म कुवाको पानी उपभोग गर्ने मैदेगाउँका ६२ घरधुरी सङ्ख्या रहेको स्थानियको भनाई छ । एडिबीको आर्थिक सहयोगमा ड्रिल्पीमार्फत विसं २०६७/६८ मा बनाइएको खानेपानी आयोजना सञ्चालनमा नआएपछि मैदेवासी कुवाको पानी पिउन बाध्य भएका रहेको बताए । ६० वर्ष पहिलेदेखि मैदेवासीले पिउँदै आएको कुवाको पानीको स्रोतलाई घट्न नदिन मुहान वरिपरि वृक्षरोपण गर्नुपर्ने, कुवालाई संरक्षण गर्न घेरबार, त्यसको पुनःनिर्माणमा जोड दिनुपर्ने मैदेवासीले माग राख्दै आएका छन् ।रासस
काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । त्यस्तै बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।