विकासन्युज

जग्गाको व्यवस्थापन नहुँदा बन्न सकेनन् भवन

बागलुङ । वर्षदिन लगाउँदा पनि गलकोट नगरपालिका–१ दुदिलाभाटीमा स्वास्थ्यचौकी र वडा नं–९ को वडा कार्यालय भवनका लागि जग्गा व्यवस्थापन हुन सकेको छैन । चालू आवमा सञ्चालित नगर गौरवका योजनामा दुवै भवन निर्माण गर्ने उल्लेख छ । नगरपालिकाका ती वडाभित्र सार्वजनिक जग्गा नहुँदा भवन निर्माणको लागि जग्गाको समस्या भएको हो । निजी जग्गा खरिदको प्रक्रिया अघि बढे पनि अझै टुङ्गिएको छैन । चालू आवभित्र जग्गा व्यवस्थापन नहुने देखिएको छ । जग्गा किन्न स्वास्थ्यचौकीलाई रु ४० लाख र वडा कार्यालयलाई रु ३५ लाख बजेट विनियोजन गरिएको थियो । “नगरभित्र सार्वजनिक जग्गै छैन” नगर प्रमुख भरत शर्मा गैरेले भने, “निजी जग्गा साह्रै महङ्गो छ, किन्नै सकिन्न ।” स्वास्थ्यचौकी र वडाका लागि निजी जग्गा किन्न खोज्दा पनि प्रक्रियागत झन्झटले ढिलो भएको उनको भनाइ छ । उनले आउँदो वर्ष जसरी पनि जग्गा व्यवस्थापन गर्ने बताएका छन् । भवन नहुँदा वडा कार्यालय भाडाको कोठामा बस्नुपर्ने बाध्यता छ भने स्वास्थ्यचौकीको सुविधायुक्त भवन बन्न सकेको छैन । स्वास्थ्यचौकीको जग्गा पनि अन्तिम टुङ्गो लाग्ने प्रक्रियामा छ । सार्वजनिक जग्गा नभएपछि महङ्गो मूल्यमा निजी जग्गा खरिद गर्नुपर्ने अवस्था आएको हो । नगरपालिका आफैँ अहिले भाडाको घरबाट सञ्चालित छ । आउँदो आवको बजेटमा नगरपालिका कार्यालयलाई जग्गा व्यवस्थापन गर्न रु दुई करोड बजेट विनियोजन गरिएको छ । हाल नगरपालिका बसेको मजुवा फाँटमा एक हात जग्गाको मूल्य पाँच÷छ लाख रुपैयाँसम्म पर्छ । पूर्वाधार र संरचना बनाउन योग्य सार्वजनिक जग्गा कतै छैन । “खोला किनारमा भएका सार्वजनिक जग्गासमेत मिचिएका छन्” वडा नं– २ का वडाध्यक्ष हिमबहादुर भण्डारीले भने । जङ्गल र पाखो छेउछाउ सार्वजनिक जग्गा भए पनि नगरको केन्द्रमा जग्गा अभाव रहेको उनको भनाइ छ । बढ्दो शहरीकरणले जग्गा झन् खुम्चदैँ गएको छ । कुनै ताका हराभरा देखिने मजुवाको फाँटमा अहिले धमाधम घर ठडिदैँछन् । सार्वजनिक जग्गा अभावमा बसपार्क, फोहर व्यवस्थापनलगायतमा पनि नगरपालिकालाई चुनौती छ । नगरपालिकाभित्र रहेको सार्वजनिक जग्गाको कुनै लिखत छैन । मध्यपहाडी लोकमार्ग आसपासमा मापदण्ड मिचेर घर टहरा बनाउने क्रम रोकिएको छैन । रासस

एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सेवा सम्बन्धी सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरुलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्यूआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको  हाे । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवाले र सुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्रीका साथमा प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गरेका हुन् । क्यूआर पेमेन्टका लागि सर्वसाधारणले एनआईसी एशियाको मोबाइल एपमार्फत् क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सकिन्छ र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त हुन्छ । हाल मुलुकभर बैंकका २ सय ८५ शाखा कार्यालयहरु, ३ सय एटिएम, ४७ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

पार्टनर खोज्न के गर्दैछ नबिल बैंक ? अर्को बैंकमा गाभिन पनि तयार !

काठमाडौं । नबिल बैंकले उपयुक्त पार्टनर पाए अर्को बैंकलाई गाभ्न वा गाभिन तयार रहेको बताएको छ । राष्ट्र बैंकको निर्देशन आएको भोलिपल्टै सञ्चालक समिति बैठक बसेर मर्जरबारे छलफल गरेको नबिल बैंकले ‘पार्टनर खोज्ने’ गतिविधिलाई तीव्रता दिएको छ । सुहाउँदो मर्जर पार्टनर पाएमा आफू गाभिन समेत तयार रहेको बैंकले जनाएको छ । सुहाउँदो पार्टनर र उपयुक्त मूल्य पाए गाभ्न र गाभिने दुबै विकल्पमा तयार छौँ-बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । राष्ट्र बैंकको निर्देशनात्मक सल्लाह आएपछि स्वदेशी तथा विदेशी पार्टनरको खोजीमा रहेको शाहले बताए । ‘निर्देशनपछि हामी नयाँ पार्टनरको खोजीमा छौं,’ उनले भने ‘हामीभन्दा ठूला र पुराना बैंकपनि छन् । ‘हामीलाई सुहाउँदो पार्टनर हुनु पर्यो र प्राइस पनि मिल्नु पर्छ,’ उनले थपे ‘ज्वाइन्टभेन्चर बैंक भएकोले हाम्रो पार्टनर विदेशी पनि हुन सक्छन् ।’ नेपालको बैकिङ इतिहासमा अग्रणी र पहिलो पटक विदेशी लगानीमा स्थापित तत्कालिन अरब बैंक (नबिल बैंक) को अहिले बजारमा उच्च सेयर मूल्य छ । बैंकले सेयरधनीलाई राम्रो लाभांश दिएको छ । चालु आवमा बैंकले १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांस दिने निर्णय भएको छ । कुनैबेला बैंकले ७० प्रतिशतसम्म बोनस दिएको थियो । हरेक वर्ष समयमै साधारण सभा गरेर सेयरधनीलाई उचित लाभांश प्रदान गर्ने नबिल बैंकले आफ्नै बलीबुतोमा पुँजी पुर्याएको थियो । पछिल्ला वर्षमा निक्षेप संकलन तथा कर्जा प्रवाह तथा खराब कर्जामा अन्य बैंक अगाडि भएपनि नविल बैंकको साखलाई कसैले अहिलेसम्म प्रश्न गर्न नसकेको बैंक स्रोतले बतायो । ‘हामी हाम्रो साखमा आँच नआउने मर्जर प्रक्रियालाई अघि बढाउने तयारीमा छौं,’ सीईओ शाहले भने ।

कलाकार सुदर्शनलाई ‘इन्डियन वेस्टिज अवार्ड–२०१९’ भारतबाट सम्मान गरिने

काठमाडौं । तीन दशकदेखि सङ्गीत साधनामा लागेका वरिष्ठ कलाकार सुदर्शन राजोपाध्यायलाई सम्मान गरिने भएको छ । भारतको प्रसिद्ध एनआरवी फाउन्डेसन र भव्या इन्टरनेशनलले राजोपाध्यायलाई ‘इन्डियन वेस्टिज अवार्ड–२०१९’ बाट सम्मान गर्न लागेको हो । वरिष्ठ सरोदवादक तथा गायक राजोपाध्यायले आयोजक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सङ्गीत र साहित्यतर्फको सम्मानबाट यसपटक आफूलाई छनोट गरेको जानकारी दिएका छन् । यही असार २९ गते भारतको राजस्थानमा आयोजना हुने कार्यक्रममा उनलाई सम्मान गरिनेछ । उक्त कार्यक्रममा नेपालसहित भारत, माल्दिभ्स लगायतका देशबाट पनि सहभागिता हुनेछन् । अन्तरराष्ट्रिय मैत्री सम्मेलनको कार्यक्रममा राजोपाध्यायको सरोदवादन कार्यक्रम पनि प्रस्तुत हुनेछ । सन् २०१३ मा भारतको पश्चिम बङ्गाल सरकारबाट समेत सम्मानित राजोपाध्यायले सन् २०१५ मा गुजरातमा सुरिल साँझको तर्फबाट स्वर्णपत्र प्राप्त गरिसकेका छन् । नेपाल र भारत गरेर दर्जनौँ सरोदवादनका कार्यक्रम गरेका उनले सन् २००२ मा रेडियो नेपालमा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा समेत प्रथम भएका थिए । यसरी, नेपालमा ‘शास्त्र सम्मान २०१८’, ‘सेभ दी नेशन अवार्ड’ लगायत थुप्रै पुरस्कारबाट सम्मानित उनका नेपाली र नेवारी गरेर चर्चित ‘पलपल’, ‘पानीसरी’, ‘त्यो रात’, ‘नसला’, ‘हसना’, ‘छन्हु’, ‘निन्हु’, ‘छगू’ ‘मतिना’ लगायतका क्यासेट तथा सिडी बजारमा पाइन्छन् । जापानी भाषामासमेत गीत गाइसकेका उनका शास्त्रीय सङ्गीततर्फ ‘वन डे रागाज’, ‘सोलफूल म्युजिक फर मेडिटेसन’, भारतबाटै ‘सुरिल म्यूजिक इन २०१५’ प्रकाशित छन् । रासस

गुल्मीको तम्घासमा कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

काठमाडौं । गुल्मीको तम्घासमा कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम  गरेको छ । तम्घास शाखाको आयोजनामा उपल्लो तम्घास माध्यामिक विद्यालयमा एक दिने वित्तिय साक्षरता कार्यक्रम बैंकका प्रबन्धक झविलाल भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय भैरहवाका का मु निर्देशक सुदिपकुमार दहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका व्यवस्थापक, स्कुलका प्रधानाध्यापक, शिक्षक/शिक्षीका, विद्यार्थी समाजसेवी तथा सर्वसाधारण गरी ठूलै संख्यामा सहभागी रहेको थिए । कार्यक्रमका प्रमुख अतिथि तथा कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय भैरहवाका का.मु. निर्देशक सुदिपकुमार दाहाले वित्तीय साक्षरताको अर्थ र आवश्यकता,नेपालको आर्थिक तथा वित्तीय प्रणाली, वचत गर्दा हुने फाईदाका बारेमा जानकारी गराउंदै सहभागी विद्यार्थी लगायत सबैमा बचत गर्ने बानी बसालौ भनि आग्रह गरे । कार्यक्रममा सहभागी कृषि विकास बैंकका शाखा प्रमुख राजेशकुमार श्रीवास्तव र ऋण अधिकृत नवराज गौतमले विप्रेषण, बाली तथा पशुधन सुरक्षण तथा कृषि कर्जामा प्रदान गरिने विभिन्न प्रकारका सेवा सुविधा, उद्यमशीलताको पूर्वाधारको रुपमा रहेको कृषि विकास बैंकको विभिन्न प्रकारका कर्जा तथा सापट सुविधा, बैकले ल्याएको विभिन्न प्रकारका खाताका प्रकार, बैंकले तयार पारेको जिंगल प्रदर्शन, अत्याधुनिक बैंकिंग सुविधा तथा बैंकको विद्युतीय बैंकिङ सेवा सम्बन्धमा र अनुदानका विषयमा प्रकाश पारे । कार्यक्रमा सहभागीहरुले उत्साहजनक तवरले आफनो जिज्ञासाहरु राख्नुका साथै बैंकले आयोजना गरेको यस प्रकारको कार्यक्रम फलदायी रहेको र भविष्यमा पनि वित्तीय साक्षरता कार्यक्रम गाँउ/गाँउमा संचालन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए ।

एकै साथ मुक्तिनाथ विकास बैंकको ६ शाखा विस्तार

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकै साथ ६ वटा शाखाको विस्तार गरेको छ । बैंक विस्तार गर्ने क्रममा काठमाडांंै जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मीजिल्लाको तम्घास गरी आफ्ना छ शाखा कार्यालय विस्तार गरेको हो । टोखा शाखाको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन् । प्रमुख अतिथि अधिकारीले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे । किर्तिपुर नगरपालिकामा रहेको बैंकको मेयर रमेश महर्जनले गरे । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि महर्जनले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड गर्नु हुँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्ति गरेका थिए । त्यसैगरी, बाडेगाउँ शाखाको विस्तारको क्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरे । शाखा कार्यालय उद्घाटनमा गर्नु हुँदै प्रमुख अतिथि महर्जनले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकास बैंकको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउनेछ । इमाडोल शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि कडेलले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउने बताए । गोरखा शाखाको समुद्घाटन गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गरेमा । कार्यक्रममा प्रमुख अतिथि पन्तलेबैंकको प्रगतिको कामना गर्नुहुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे । साथै, तम्घास शाखाको उद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गरेको । कार्यक्रममा प्रमुख अतिथि भुसाललेलबैंकको प्रगतिको कामना गर्नुहुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे । कार्यक्रममा बैंकका सँस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, सँस्थापक सेयरधनी, स्थानीय नागरीक, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो । मुक्तिनाथविकास बैंकको ११९ वटा शाखा, २५ वटा एटिएम. र ६ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

चार प्रदेशमा प्राङ्गारिक खेती, ५२ करोड रकम विनियोजन

काठमाडौं । सरकारले चार प्रदेशमा प्राङ्गारिक कृषि उत्पादनलाई प्राथमिकता दिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रदेश नं १, तीन, गण्डकी र कर्णाली प्रदेशमा प्राङ्गारिक खेतीका लागि रु ५२ करोड रकम विनियोजन गरेको जानकारी दिएका छन् । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये कृषि तथा पशुपक्षी विकास मन्त्रालयका बारेमा उठेका जिज्ञासाको जवाफमा मन्त्री खनालले रासायनिक मल कारखाना तत्काल स्थापना गर्ने कुनै सम्भावना नभए पनि कूल रासायनिक मलको खपत आठ लाख मेट्रिकटन रहेकामा सरकारले सात लाख मेट्रिक टनमा अनुदान दिएको बताएका छन् । उनले यसका लागि रु नौ अर्ब बजेट विनियोजन भएको पनि जानकारी गराए । उनले कृषि ऋण वितरण प्रणालीमा सुधार गर्नुपर्ने, ऊखु किसानलाई चिनी उद्योगीले रकम भुक्तानीमा आलटाल गरेका र जग्गाको खण्डीकरण रोक्न कानूनको आवश्यकता परेको बताए । बैठकमा सांसद वृषेशचन्द्र लाल, अनिता देवकोटा, हरिचरण शिवाकोटी, कोमल ओली, बलरामप्रसाद बाँस्कोटाले क्रमशः सामूहिक, करार र सहकारी खेती कार्यान्वयन हुन नसकेको, रासायनिक मल आयातमा ढिलाइ, कृषिको परनिर्भरता, जमिनको खण्डीकरण सम्बन्धमा मन्त्रीसँग जिज्ञासा राखेका थिए । त्यस्तैगरी, मन्त्री खनालले सदनमा कृषिको परनिर्भरता क्रमशः घट्दै गएको, जमिनको खण्डीकरण रोक्न सरकारले कानून बनाउने तयारी गरेको, विषादी निरीक्षण प्रणाली प्राविधिक कारणले रोक्नुपरेको जवाफ समेत दिएका छन् । रासस

गैरआवासीय नेपाली संघको एसिया प्यासिफिक क्षेत्रीय बैठकको उद्घाटन

काठमाडौं । गैरआवासीय नेपाली संघको सातौं एसिया प्रशान्त क्षेत्रीय बैठक तथा दोस्रो महिला बैठकको म्यानमारको यान्गोनमा औपचारिक उद्घाटन भएको छ । गैरआवासीय नेपालीहरुको भूमिका विषयमा केन्द्रित रहने बैठकको म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिम,नेपालका पूर्व परराष्ट्र मन्त्री डा.प्रकाशशरण महत, संघीय संसदका माननीय सदस्य डा.सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत तथा संघका संस्थापक महासचिव भीम उदास, संघका अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा.उपेन्द्र महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै म्यानमारका मन्त्री टिनले म्यानमार र नेपाल विकासको चरणमा प्रवेश गर्दै गरेका मुलक भएकाले मिलेर काम गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताए । नेपालले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन म्यानमार सरकारको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउँदै म्यानमारका जनता पनि विदेश जाने क्रम बढ्दै गरेको अवस्थामा गैरआवासीय नेपालीहरुको अभियानबाट धेरै कुरा सिक्न सकिने धारणा राखेका छन् । संघीय संसदका सदस्य माननीय डा.सूर्य पाठकले विशेष अतिथिका रुपमा सम्बोधन गर्दै गैरआवासीय नेपालीहरु नेपालको सम्पत्ति भएकाले अव यो समुह नेपालको विकासको साझेदार हुनुपर्ने बताए । गैरआवासीय नेपालीहरुले तपाईहरुका विषयमा कसले के भने भन्ने तिर नलागी संविधानमा के लेखेको छ त्यसलाई हेरेर कार्यान्वयनको प्रतिक्षामा बस्न आग्रह गर्दै संविधानको भावना अनुसारका कानूनहरु बनाउन आफूहरु कटिबध्द भएको विश्वास जानकारी दिए । त्यस्तै विशेष अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले विदेशमा नेपाली मुलका नेपालीहरुलाई नेपालमा अधिकतम अधिकार सहित नेपालसँगको सम्बन्धलाई जोडी राख्नु जरुरी भएको र त्यसले नेपाललाई नै फाइदा हुने हो भन्ने सबैले बुझ्नु जरुरी भएको धारणा व्यक्त गरे । म्यानमारका लागि नेपाली राजदुत भीम उदासले म्यानमारमा नेपाली मुलका म्यानमारी नागरिकले नेपाली भाषा कला संस्कृतिको जसरी जगर्ना गरिरहेका छन् त्यो उदाहरणीय रहेको उल्लेख गर्दै दुई देशका बीचमा धेरै समानताहरु भएकाले आपसमा सहकार्य गरेर काम गर्ने वातावरण निर्माण गर्नु पर्नेमा जोड दिए । संघका अध्यक्ष भवन भट्टले उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लागि पर्ने बताउँदै नेपालको समृध्दिका लागि सबै एकजुट हुनु्को अव अर्को कुनै विकल्प नभएको पनि उल्लेख गरे । त्यसैगरी संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा.उपेन्द्र महतोले व्यक्तिगत सफलताले व्यक्ति धनी भए पनि राष्ट्र समृद्ध नभएसम्म त्यसको केही महत्व नहुने भएकाले नेपाल राष्ट्रको समृध्दि मात्रै हाम्रो लक्ष्य हुनुपर्ने बताए । पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रमको सुरुवात म्यानमार र नेपालको राष्ट्रिय गान तथा सांस्कृतिक झलक प्रस्तुतिबाट गरिएको थियो । क्षेत्रीय संयोजक किरण विक्रम थापाले सभापतित्वमा उद्घाटन समारोहमा संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिवि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा. हेमराज शर्मा लगायत अन्य पदाधिकारी एवं सदस्य र अभियन्ता गरी करिब ३ सयको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन संघका एसिया प्यासिफिक उपसंयोजक पारशमणि पोख्रेल र गणेश मिश्रले संयुक्त रुपमा गरेका थिए। शनिबारबाट सुरु भएको क्षेत्रीय बैठकको विभिन्न विषयगत सत्रहरुमा छलफल गरी आवश्यक निर्णय सहित आज जुलाई सातमा समापन हुनेछ आयोजक जानकारी दिए ।