विकासन्युज

मेलम्चीमा काँग्रेस कार्यकर्ताको अवरोध, वडा अध्यक्ष नै काम रोक्न अग्रसर

काठमाडौं । सुन्दरीजलस्थित मेलम्ची आयोजनाको काममा काँग्रेस कार्यकताहरुले अवरोध गरेका छन् । धमाधम काम भईरहेको बेला गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडाध्यक्ष राम मानन्धरका कारण आयोजनाको काम रोकिएको हो । उनी नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । वडाध्यक्ष मानन्धरको निर्देशनमा गएका कांग्रेस कार्यकर्ताहरुले त्यहाँ कार्यरत मजदुरहरुलाई काम नगर्नु भनेर भड्काएपछि मेलम्ची आयोजनाको काम रोकिएको हो । मजदूरहरुलाई काम गरेको पैसा भुक्तानी दिने प्रक्रिया मेलम्ची खानेपानी विकास समितिले अघि बढाईरहेको सन्दर्भमा अचानक काम रोकिन गएकोमा दुःख व्यक्त गरेको छ । मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समितिले आयोजनाको काम रोक्न कांग्रेस वडाध्यक्षले मुख्य भूमिका खेलेको आरोप लगाएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउन नदिन कांग्रेसका केही स्थानीय व्यक्तिहरु सक्रिय भएर लागेको आरोप उपभोक्ता समितिले लगाएको छ । अहिले काम नगर्नु भनेर मजदूरहरुलाई उचालेर आयोजनाको काम रोकिएकोमा समितिले गहिरो दुःख व्यक्त गरेको छ । सुन्दरीजलमा मेलम्चीबाट आउने पानीलाई प्रशोधन गर्ने प्लान्टको निर्माण र भेन्टिलेसन साफ्टको काम भईरहेको थियो । यी दुईवटा काम सकिने अन्तिम तयारीमा थियो । भारतीय र नेपाली गरी दुवै ठेकेदार कम्पनीले काम गरिरहेको थियो । ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई समेत काम नगर्नु भनेर स्थानीय केही कांग्रेस कार्यकर्ताहरुले अवरोध गरेका थिए ।

एनआइसी एशियाको १ अर्ब ७६ करोड बराबरको ऋणपत्र साउन ६ गते खुल्ने

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको प्रतिकित्ता रु १००० अंकित १ अर्ब ७६ करोड रुपैयाँ बराबरको १७ लाख ६० हजार कित्ता ऋणपत्र साउन ६ गते खुल्ने भएको छ । ‘एनआइसी एशिया डिबेन्चर २०८३/८४’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्ता आवेदन गर्न पाउने जनाइएको छ । साउन ६ गतेदेखि खुल्ने उक्त ऋणपत्र छिटोमा साउन ९ गते र ढिलोमा भदौ ३ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । ७ बर्ष अवधि तोकिएको उक्त ऋणपत्र विसं २०८३ मा परिपक्व हुनेछ भने ऋणपत्रका लगानीकर्ताले १०.२५ प्रतिशत बराबरको ब्याजदर प्राप्त गर्नेछन् । उक्त ४४ लाख डिबेञ्चरमध्ये १७ लाख ६० कित्ता डिबेञ्चरले हुन आउने कूल १ अर्ब ७६ करोड ऋण पूँजी रकम सर्वसाधारणका लागि सुरक्षित गरिएको हो ।

राष्ट्र बैंकले आज २० अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु २० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले यही असार ३१ गते बोलकबोल प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाको सूची सार्वजनिक गर्दै कुन संस्थाले के कति मात्रामा ट्रेजरी बिल खरीद गर्न लागेको हो जानकारी दिने जनाएको छ । बैंकले यसअघि यही असार २३ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । त्यस्तै बैंकले आइतबार मात्रै रु ११ अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गरेको छ । ‘विकास ऋणपत्र २०८४ ग’ नाम दिइएको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद प्रक्रियामा सहभागिता जनाएका छन् । उक्त विकास ऋणपत्र २०८४ असार ३० गते साँवा भुक्तानी हुनेछ । व्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा समेत व्याजकर लाग्ने व्यवस्था गरिएको छ । रासस

निर्माणाधीन हुवासिन सिमेन्ट उद्योग बाढीले बगायो, पाँच मजदूर बाढीमा फसे

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको हुवासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिए । रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेका छन् । दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको फलामका पोलमा समातेर उनीहरु बचेका छन् । खोलामा फसेका मजदूरको उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट गएको टोली सो स्थानमा पुग्न सकेको छैन । ताल्ती जाने बाटो मलेखु नजिकै सोही खोलाले बगाएपछि उद्धारकर्मी रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातभरि परेको वर्षाका कारण खोलामा फसेका मजदूरको स्थानीयवासी र ताल्तीमा रहेको प्रहरी टोलीले उद्धार गरिरहेको जनाएको छ । बाढीका कारण निर्माण भएका केही संरचना बगाएको छ । क्षतिको आँकलन गर्न सकिएको छैन । मानविय क्षति भएको छैन । रु १५ अर्बको लगानीमा चिनियाँ हुवासिन कम्पनीले सो उद्योग निर्माण शुरु गरेको चार महिना भएको छ । नौ महिनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण शुरु भएको थियो । रासस

आइएमई जनरल इन्स्योेरेन्सकाे साधारणसभा सम्पन्न, ५ प्रतिशत बाेनस सेयर र मर्जरकाे प्रस्ताव पास

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं बार्षिक साधारण सभा असार २९ गते काठमाण्डौंमा सम्पन्न भयो । साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न विगत ४ वर्षमा हामीले नयाँ नयाँ बीमालेख लगायत आफनो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट ग्राहकलाई सहज सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । उनले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे। पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धि भएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको उनले बताए । कम्पनीले आफना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशतले बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएकौ छ । अब कम्पनीको चुक्ता पूंजी १ अरब २ करोड ६ लाख पुगेको छ । साथै नियमाक निकायबाट निर्जीवन बीमा कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका जारी भएको परिप्रेक्षमा कम्पनीको दायरा तथा क्षमता वृद्धि गर्ने हेतुले सभा समक्ष पेश गरिएको गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने गरी २१र्औ साधारण सभाले अख्तियारी संचालक समितिलाई प्रदान गरेकाे छ । कम्पनीलेआ.ब.को हालसम्म गरिब १ अरब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको सभालाइ जानकारी दिइयाे ।

दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो तथा डुबान पीडितको सहयोगका लागि दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई थप सहज बनाउन आग्रह गरेको छ । चेम्बरले यही असार २६ गते बिहीबारदेखि मुलुकभर परेको अरिवल वर्षा पहिरो, बाढी तथा डुबानलगायत प्राकृतिक विपद्का कारण जनधनको क्षति भएको विपद्को यस घडीमा खाद्य वस्तुलगायतका अति आवश्यक वस्तुको नियमित आपूर्ति व्यवस्था सहज, सरल र सुगम बनाउन उद्यमी–व्यवसायीबाट आवश्यक सहयोग हुने अपेक्षा गरेको छ । चेम्बरले राहत तथा उद्धारमा निजी क्षेत्रबाट हुने सहयोग जिल्ला विपद् व्यवस्थापन समितिमार्फत समन्वय गरी वितरण गरिने व्यवस्था नेपाल सरकारबाट जानकारी भएको हुँदा प्रदेश जिल्ला तथा नगर चेम्बर अफ कमर्स र आबद्ध सदस्यले सोही अनुसार आवश्यक पहल र कार्यान्वयन गर्नसमेत आग्रह गरेको छ । चेम्बरले आज एक विज्ञप्ति गरी विपद्मा परी ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

सप्तरीको औद्योगिक क्षेत्र डुबानमा, सबै उद्योगमा पानी पस्ने खतरा

लहान । पानीको बहाब नै थुनिने गरी शहीद स्तम्भको भौतिक संरचना तयार गरिएकाले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ । औद्योगिक क्षेत्र स्थापना भएदेखि नै पानीको बहावका लागि बनाइएको नाला र पोखरी थुन्दै स्थायी संरचना निर्माण गरेपछि रुपनी गाउँपालिकास्थित उक्त औद्योगिक क्षेत्र डुबानमा परेको हो । औद्योगिक क्षेत्रको पूर्व-दक्षिण छेउबाट चल्ने पानीको बहावलाई थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहरी विकास तथा भवन निर्माण कार्यालयले शहीद स्तम्भ निर्माणका लागि माटो भर्ने र इँटाको पर्खाल निर्माण गरेका कारण औद्योगिक क्षेत्र डुबान परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख दीपकराज आचार्यले जानकारी दिए । तत्कालीन नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको स्थानमा शहीद गेट, शहीद पार्क र शहीद स्तम्भ निर्माणको काम भइरहेको छ । निर्माणाधीन शहीद स्तम्भले पानीको बहाव हुने मुख्य भाग नै थुनेकाले औद्योगिक क्षेत्र डुबानमा पर्नुका साथै औद्योगिक क्षेत्रमा सञ्चालित सबै उद्योगमा पानी पस्ने खतरा बढेको प्रमुख आचार्यले बताए । पानीको निकास नै थुनिने गरी भौतिक संरचना निर्माण गरिएकाले सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराए पनि समस्या समाधानका लागि ती निकासले चासो नदेखाएको कार्यालय प्रमुख आचार्यको गुनासो थियोे । औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगका सञ्चालकले केही दिनअघि सो ध्यानाकर्षण गराएका थिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले औद्योगिक क्षेत्रको निकास नै थुनिने गरी हचुवाको भरमा संरचना निर्माण गरिएकाले उक्त क्षेत्र डुबानमा परेको बताउँदै समस्या समाधानका लागि केही समयअघि सरोकारवाला निकायसँग छलफल गरी पानीको निकासका लागि अहिले निर्माणाधीन शहीद स्तम्भलाई पश्चिमतर्फ सार्ने र त्यसको छेउमा हिमपाइप राखी निकास दिने सहमति भए पनि समय आभावका कारण त्यसो हुन नसकेकाले औद्योगिक क्षेत्र डुबानमा परेको हो भने । रासस

गौतमबुद्ध विमानस्थलको समयावधि थप, बढ्दैन लागत

काठमाडौँ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आयोजना निर्माणको करीब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न केही समय लाग्ने भएकाले समयावधि थप गरिएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए । निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने उनले उल्लेख गरे । “आगामी पुससम्म सबै काम सक्ने योजनाका साथ काम भइरहेको छ, अहिले धावनमार्ग, ‘एप्रोन’, ‘ट्याक्सी बे’ को निर्माण भइसकेको छ । अब, भवनको ‘फिनिसिङ’ र ‘लाइटि’ को काम मात्र बाँकी भएकाले त्यो पनि छिट्टै सक्ने गरी काम अघि बढाइएको छ”, उनले भने । विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत रहेको छ । विमानस्थलको तीन हजार ६० मिटरको धावनमार्गको मुख्य काम पनि सकिएको छ । सन् २०१७ को डिसेम्बर महीनामा निर्माण सक्ने लक्ष्यसहित निर्माण शुरु भएको विमानस्थलको यसअघि १८ जुन २०१८ मा सक्ने लक्ष्य गरिएको थियो । पछिल्लो पटक २८ जुन २०१९ भित्र निर्माण सक्ने योजना थियो । उक्त विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । विमानस्थल निर्माणमा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोग छ । सन् २०१४ को डिसेम्बर ३१ बाट निर्माण शुरु गरिएको गौतमबुद्ध विमानस्थलकोे छ अर्ब २२ करोड ५१ लाख लगानी रहेको छ । रासस