एन आई सी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सेवासम्बन्धी सम्झौता
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल प्राइभेट लिमिटेड ग्वार्कोबीच सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलका विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका हुन् । उक्त बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकले मुलुकभर २९० शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
कोरियामा जाने नेपालीको तलब बढ्यो, मासिक न्यूनतम १७ लाख ४५ हजार वोन
काठमाडौं । सन् २०२० मा कोरिया जाने कामदारको न्यूनतम ज्याला/तबलमा वृद्धि भएको छ । कोरियामा २०२० का लागि सबै मजदुरको न्युनतम ज्याला २.९ प्रतिशतले वृद्धि भई प्रतिघण्टा ८ हजार ५ सय ९० वोन प्रतिघण्टा निर्धारण गरिएको छ । न्युनतम ज्याला समितिमा भएका मतदानपछि बहुमतको आधार उक्त ज्यालादर तोकिएको हो । न्युनतम ज्याला समितिको बैंठकमा १३ घण्टा लामो छलफल पछि सरकार पक्षले राखेको प्रस्ताव ८ हजार ५ सय ९० र मजदुर पक्ष सदस्यले राखेको ८ हजार ८ सय ८० वोनबीच मतदान गरिएको थियो । मतदान गर्दा सरकार पक्षले गरेको प्रस्ताव ८ हजार ५ सय ९० वोनको पक्षमा १५ मत खसेको थियो । त्यस्तै, मजदुर पक्षले प्रस्ताव गरेको ८ हजार ८ सय ८० वोन ११ मत परेको थियो । कोरियामा सामान्यतया हप्तामा ४० घण्टा तथा महिनामा २०९ घण्टामा काम गर्ने अभ्यास छ । महिनामा २०९ घण्टा काम गर्ने कामदारले कम्तिमा १७ लाख ९५ हजार ३ सय १० वोन प्राप्त गर्ने इपिएस नेपाल कोरियाले जनाएको छ । हप्तामा ४० घण्टा भनेको दैनिक ६ घण्टा भन्दा पनि कम हो । कोरियामा जाने नेपालीले दैनिक १२ घण्टाभन्दा बढी काम गर्ने भएकोले उनीहरुको कमाई ३५ लाख वोनभन्दा बढी हुनेछ । दक्ष जनशक्तिले त्यो भन्दा बढी ज्याला पाउनेछन् । कोरियाली मुद्रा १०० वोन बराबर नेपालीमा ९ रुपैयाँ ३६ पैसा हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । कोरियामामा सन् २०१९ को लागि कामदारको ज्याला प्रतिघण्टा ८ हजार ३५० वोन तोकिएको थियो । त्यस्तै, सन् २०१८ मा नेपाली कामदारले प्रतिघण्टा ५ हजार ५३० वोन नेपाली कामदारले प्राप्त गर्ने गरेका थिए । सन् २०१७ र २०१८ मा कोरियामा ज्यालादर घटेको थियो । सन् २०१७ मा प्रतिघण्टा ६ हजार ४ सय ७० वोन रहेको थियो । त्यस्तै २०१६ मा दक्षिण कोरिया जाने नेपाली कामदारले प्रतिघण्टा ६ हजार ३० वोन पारिश्रमिक प्राप्त गर्ने गरेको तथ्याङ्ग नेपालका लागि कोरियाली भाषा परीक्षण केन्द्र इपिएस् जानकारी दिएको छ ।
काठमाडाैं उपत्यकाभित्र बस चढ्दा टिकट अनिवार्य, साउन १ बाटै लागू हुने
काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला । महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’ मा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट लिनुपर्ने व्यवस्था गरेकोले यात्रुले अनिवार्य टिकट लिनुपर्ने भएको हो । ऐनको दफा ४ मा सार्वजनिक यातायात साधनमा चढ्नुभन्दा पहिले वा चढेलगत्तै यात्रीसँग तोकिएको भाडा लिइ अनिवार्यरुपमा टिकट दिनुपर्ने सम्बन्धित परिचालकको दायित्व रहेको उल्लेख छ । दफा ५ मा टिकट अनिवार्य लिनुपर्ने व्यवस्थामा महानगर क्षेत्रभित्र रुट कायम भई सञ्चालन हुने सार्वजनिक यातायात साधन प्रयोग गर्ने यात्रुले आफू चढ्ने बस बिसौनीमा वा सवारी साधन चढे लगत्तै निर्धारित भाडा तिरेर टिकट लिनुपर्ने व्यवस्था गरेको छ । तर ऐन जारी भएको तीन महिना बित्दा पनि न सार्वजनिक यातायातका परिचालकले यात्रुलाई टिकट दिन्छन् न यात्रुले नै टिकट माग्दछन् । दिनहुँ लाखौँ रुपैयाँ यात्रुबाट उठाए पनि यातायातका परिचालकले टिकट दिने गरेका छैनन् । महानगरभित्र साझा यातायातबाहेक अहिले अन्य यातायातले यात्रुलाई टिकट दिने गरेका छैनन् । ऐनमा यात्रुलाई ई–टिकट र टिकट दिनुपर्ने व्यवस्था रहेको छ । सार्वजनिक यातायातमा यात्रा गरेपछि अनिवार्यरुपमा टिकट दिनुपर्ने व्यवस्था गरे पनि त्यसको कार्यान्वयनको चरणमा महानगरपालिका रहेको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले महानगरभित्र चल्ने यातायातलाई व्यवस्थित गर्न टिकट अनिवार्य गर्न थालिएको बताएका छन् । “सार्वजनिक यात्रा गर्दा यात्रु पनि नठगिउन् भन्नका लागि टिकटको व्यवस्था अनिवार्य गर्न थालेका हौँ”, उनले भने, “यात्रुलाई पनि कहाँसम्म कति भाडा पर्दछ भन्ने कुरा टिकटमा नै उल्लेख गर्ने हुनाले ठगिँदैनन् ।” अहिले रु २० लिने भाडामा रु २५ पनि लिने गरेको पाइएको उनले बताए । अहिले काठमाडौँमा दैनिक लाखौँ यात्रुले काठमाडौँका विभिन्न सडकमा यात्रा गरे पनि त्यसको एकिन तथ्याङ्क रहेको छैन । वास्तविकरुपमा कति यात्रुले यात्रा गर्दा रहेछन् भन्ने कुराको पनि उक्त व्यवस्थाबाट थाहा हुने बताइएको छ । प्रवक्ता डङ्गोलले साउन महिनादेखि यात्रा गर्दा टिकट दिने÷लिने विषयमा यातायात व्यवसायीसँग छलफल गर्ने बताएका हुन् । टिकट लागू नगर्दा यात्रु भन्दा बढी मार गाडी मालिक पर्ने गर्छन् । “टिकट प्रणाली लागू गर्न स्वयं हामी नै चाहन्छौँ । टिकट प्रणाली लागू नगर्दा कति यात्रु चढे भन्ने कुराको थाहा हँुदैन ।” यातायात महासंघका महासचिव सरोज सिटौलाले भने, “टिकट हामीले दिँदा टिकट काटेका आधारमा भाडाबापतको पैसा पाउने थियौँ । गाडी चालक र सहचालकले विनाटिकटका आधारमा भाडा बुझिरहेका छन् ।” रासस
उदयपुर सिमेन्ट डेढ महिनादेखि बन्द, पानी पसेर हेटौँडा सिमेन्ट उद्योगमा पनि समस्या
काठमाडौँ । ढुंगा पेल्ने मेशिन विग्रिएपछि उदयपुर सिमेन्ट करीब डेढ महिनादेखि बन्द रहेको छ । मेशिन बनाउनका लागि बुटवल पठाइएको उद्योगका सूचना अधिकारी राम जिसीले बताए । उद्योग जेठ २१ गतेदेखि बन्द छ । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट लामो समयसम्म बन्द हुँदा करोडौँको नोक्सान भएको छ । सो उद्योगले प्रतिदिन ८ हजार ४० मेट्रिक टन(प्रतिदिन झण्डै ४० हजार बोरा) सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योग बन्द भएको लामो समय भएपछि बजारमा उदयपुर सिमेन्टको अभाव भने नरहेको सूचना अधिकारी जिसीले जानकारी दिए । उनले भने-‘उदयपुर सिमेन्टले बजारको माग धानिरहेको छ, अहिलेसम्म अभाव कै अवस्था सिर्जना भएको छैन ।’ केही दिनमै मेशिन बन्ने र उद्योग पूर्ववत् अवस्थामा सञ्चालनमा आउने समेत उनले बताए । यता, सरकारी स्वामित्वमा रहेको मकवानपुर स्थित हेटौँडा सिमेन्ट उद्योग पनि वैशाख १५ गतेदेखि जेठ ३० गतेसम्म बन्द भएको थियो । सो उद्योगपनि पटक पटक बन्द हुँदै आएको छ । उद्योगको ठूलो बेरिङ मिलमा समस्या आउँदा उद्योग पटक-पटक बन्द हुने गरेको उद्योगका प्रवक्ता केशव बर्तौलाले जानकारी दिए । ठूलो बेरिङ मिल मर्मत गर्न नेपाली प्राविधिक नपाउने र विदेशबाट बोलाउनु पर्ने भएकाले सो मिल बन्न समय लाग्ने भएकाले उद्योग लामो समयसम्म बन्द हुने गरेको उनले बताए । प्रवक्ता बर्तौलाका अनुसार केही दिन यता परेको अबिरल वर्षाका कारण पनि उद्योगमा समस्या आएको छ । उद्योग सञ्चालनमा रहेपनि पानी पसेर समस्या देखिएको र केही दिनमा उद्योगको अवस्थाबारे जानकारीमा आउने र मर्मत गर्नु परे उद्योग बन्द हुन सक्ने पनि उनले बताए । उद्योग मन्त्रालय बेखबर सरकारी स्वामित्वमा रहेका सिमेन्ट कारखाना बन्द हुने र चल्ने घटना नौलो होइन । उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको पछिल्लो अवस्थाका बारेमा विकासन्युजको जिज्ञासामा उद्योग मन्त्रालयका सहसचिव पुष्पराज शाहीले अनविज्ञता प्रकट गरे । उनले भने-‘मलाई यस विषयमा केही थाहा छैन, सम्बन्धित उद्योगका जीएमहरुलाई सोध्नू ।’
असोजमा भरिने कुलेखानी असारमै भरियो, भारतीय बिजुली रोकेर पूर्णक्षमतामा चलाइयो
काठमाडौं । पछिल्ला दुई वर्षदेखि भरिन नसकेको मकवानपुरमा रहेको इन्द्रसरोवर असारमा नै भरिएको छ । जलाधार क्षेत्रमा अत्याधिक वर्षा भएपछि नेपाल विद्युत् प्राधिकरणको ‘पावर ब्याङ्क’ का रूपमा रहेको कुलेखानी जलाशय भरिएपछि सरकारले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो । नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा विद्युत् उत्पादन गरेर वा अन्य जुनसुकै उपाय अवलम्बन गरेर भए पनि जलाशयको पानी घटाउने तयारी गरेको छ । सो जलाशयमा हाल दुई आयोजना सञ्चालनमा छन् । कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । दुईवटै आयोजना पूर्ण क्षमतामा चलाउँदासमेत एक घण्टामा तीन सेन्टिमिटर मात्रै पानी घट्नेछ । तर जलाधार क्षेत्रमा भएको अत्याधिक वर्षाका कारण ६० सेन्टिमिटर पानी थप भएको छ । गत वर्ष वर्षभरिमा जलाशयमा पानीको सतह एक हजार ५२६ मिटर रहेकामा यस वर्षको असार ३० गते अर्थात् आज बिहानसम्म सोही क्षमतामा पुगेको छ । प्राधिकरणका अनुसार आज बिहान ५ः३० मा पानीको सतह बढेर एक हजार ५२६ मिटर पुगेको छ । जलाशयमा अधिकतम एक हजार ५३१ मिटरसम्म मात्रै पानी भण्डारण हुनसक्छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन/चार दिनमै जलाशयमा पानीको सतह करिब २० मिटर बढेको छ । जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो र दोस्रो आयोजना पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । “पानी पर्न भर्खर शुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिनाअगाडि नै भरियो”, उनले भने, “विगतमा बर्खामा कुलेखानी विद्युत्गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारतबाट आयात भइरहेको विद्युत् आयात घटाइएको छ ।” कुलेखानी पहिलो विद्युत्गृह पूर्ण क्षमतामा चलाउँदासमेत सामान्य मात्रामा मात्रै पानीको सतह घट्ने छ । कुलेखानीमा बर्खाको पानी जम्मा गरी मुख्यरूपमा विद्युत्को अत्याधिक माग हुने हिउँदमा मात्रै चलाउने ‘पावर ब्याङ्क’ आयोजना हो । विद्युत्को आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । जलाशयको पानीलाई क्रमशः नियन्त्रितरूपमा निकास दिइने भएकाले आत्तिइहाल्ने अवस्था नभएको प्रवक्ता अधिकारीको भनाइ छ । जलसतह बढ्ने क्रममा रहेकाले जलाशयको पानीलाई क्रमशः घटाएर नियमित राख्ने प्रयासमा प्राधिकरण रहेको छ । प्राधिकरणले हाल ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत मात्रै करिब १५० मेगावाट विद्युत् आयात गरिरहेको छ । अविरल वर्षाका कारण तराईमा विद्युत् माग घटेको छ । अहिले मुलुकभरको विद्युत्को माग करिब ६०० मेगावाट मात्रै छ । प्रवक्ता अधिकारीले विहारबाट आयात गरिने विद्युत् पूर्णरूपमा बन्द गरिएको जानकारी दिएका छन् । उनले ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट समेत २५० मेगावाट बढी विद्युत् आयात भइरहेकामा त्यसलाई घटाएर करिब १५० मेगावाटमा सीमित गरिएको छ । रासस
प्रोफेसनलले अष्ट्रेलियन शैक्षिक मेला गर्दै, श्रावन १ गते देखी ३ गतेसम्म
काठमाडौं। उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएको अग्रणी परामर्श दातृ संस्था प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई मात्र परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो । यस संस्थाले काठमाडौं, चितवन र पोखरामा मेलाको आयोजना गर्दैछ । संस्थाका अनुसार काठमाडौंमा आगामी बुधबार मेला आयोजना गरिनेछ । त्यस्तै चितवनमा विहिबार तथा पोखरामा शुक्रबार मेलाको आयोजना गर्न लागिएको छ । मेलामा अष्ट्रेलियाका १८ विश्वविद्यालयका प्रतिनिधीको सहभागिता रहने आयोजकले जनाएको छ । काठमाडौंको मेला लाजिम्पाटस्थित रेडिसन होटलमा आयोजना गर्न लागिएको संस्थाका कार्यकारी निर्देशक एसके श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो समय नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया उच्च शिक्षाको मुख्य आकर्षक गन्तव्य रहेका कारण मेलाको आयोजना गरेर परामर्श दिन लागिएको हो । तीनै ठाउँको मेलामा अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनधीहरु उपस्थित भएर विद्यार्थीलाई परामर्श दिनेछन् । ‘विश्वविद्यालयकै प्रतिनीधीबाट जानकारी लिने अवसर पाउनु विद्यार्थीका लागि खुशीको कुरा हो’ संस्थाका कार्यकारी निर्देशक श्रेष्ठले भने । मेलामार्फत विद्यार्थीले विश्वविद्यालय अनुसार पढाइ हुने विषय, त्यस्ता विषय पढाईका लागि लाग्ने खर्च, विश्वविद्यालय तथा कलेजहरुले दिने छात्रवृत्ति तथा छुट तथा विषय अनुसार पढाई सम्पन्न गरिसकेपछि बजारमा रोजगारीको सम्भावना लगायतका विषयमा जानकारी पाउनेछन् । आफ्नो शैक्षिक प्रमाणपत्र लिएर आउने विद्यार्थीलाई छात्रवृत्ति, छुट लगायतमा सिधै छनोट गर्न सकिने पनि आयोजकले जनाएको छ । मेलामा विशेषगरि कक्षा १२ उत्तीर्ण विद्यार्थीको विशेष आकर्षण रहने आयोजकको विश्वास छ । ‘अष्ट्रेलिया जान इच्छुक सबै विद्यार्थीले एक पटक यस मेलामा भाग लिँदा उनीहरूलाई निकै फाईदा हुन्छ’ श्रेष्ठले भने । प्रोफेसनलले हरेक वर्ष विद्यार्थी र अभिभावकको हितलाई ध्यानमा राखेर यस्तो मेलाको आयोजना गर्दै आएको छ । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी उच्च शिक्षामा विदेश जान चाहनेलाई परामर्स दिनेमध्य भरपर्दो संस्था मानिन्छ ।
म्याक ल्युब्रिकेन्ट्सको डिलर मिट सम्पन्न, उत्कृष्टलाई विभिन्न दश विधामा पुरस्कार वितरण
काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्ट्सको डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सिप्रदीले देशभर रहेका अधिकारिक डिलरहरुलाई आमन्त्रित गरी कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले स्वागत गर्नुका साथै कम्पनीको आगामी योजनाको वारेमा सहभागिहरुलाई प्रष्ट पारे । कार्यक्रममा नेपालका लागि भारत पेट्रोलियमका प्रबन्धक मुकुन्द धमलाले नेपालको मार्केटप्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सहरुबाट आशापनि धेरै रहेको कुरामा जोड दिए । सोही अवसरमा नेपाल भरी रहेका सिप्रदीसँग आबद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिंदै आगन्तुक पाहुनालाई धन्यवाद मन्तव्य दिएका थिए ।
ललितपुरको खुमलटारमा जनता बैंकको शाखा बिस्तार
काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले सोमबार ललितपुर जिल्लाको खुमलटारमा शाखा कार्यालय बिस्तार गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन बैंक सञ्चालक समिति अध्यक्ष केशबबहादुर रायमाझीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ भने काठमाडौं उपत्यकामा यो २४औं शाखा हो । बैंकले १०८ एटिएम, ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको जनाएको छ ।