नेशनल लाईफको आम्दानी ४८ करोड ६९ लाख, गत आवमा कमायो ३३ करोड नाफा
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको सो वित्तीय विवरण अनुसार ४८ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको खुद नाफा ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ भएको थियो । यस्तै, अघिल्लो आवमा कम्पनीको खुद नाफा २९ करोड ८३ लाख ५९ हजार रुपैयाँ भएको भएको थियो । कम्पनीले आव २०७४/७५ मा भन्दा आव २०७५/७६ मा ३ करोड ८० लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७४ लाख रुपैयाँ, कम्पनीको जगेडा कोषमा ९१ करोड ८६ लाख रुपैयाँ रहेको छ । यस्तै, जीवन बीमा कोषमा भने कम्पनीको २७ अर्ब १९ करोड ८ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । महाविपत्ति जगेडा कोषमा भने २१ करोड ६९ लाख ७३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.१८ रुपैयाँ रहेको छ । प्रति सेयर नेटवर्थ १३०.५५ हुँदा पीई अनुपात भने ५२.३१ रहेको छ ।
परिश्रमी शामर्थ ढुंगानाः ‘तरकारी सप्लायर्सदेखि कृषि फर्मको सञ्चालकसम्म’
काठमाडौं । काठमाडौंको कालिमाटी स्थित फलफूल तथा तरकारी बजार भित्र धेरै मानिसहरु व्यस्त देखिन्छन् । कोही तरकारी किन्नमा त कोही बिक्री गर्नमा व्यस्त हुन्छन् । त्यही व्यस्त मानिसहरुको भीडमा भेटिन्छन् शामर्थ ढुंगाना । उनी मिहेनती छन्, त्यही मिहेनतले उनलाई सफलताको बाटोमा अग्रसर गराएको छ ।वि.स. २०६० सालदेखि कालिमाटीमा ढुंगाना फुड्स एण्ड भेजिटेबल सप्लायर्स मार्फत तरकारी बिक्री वितरणका काम गर्दै आएका उनी अहिले तरकारी फर्म नै सञ्चालन गरेका छन् । पहिला अरुसँग तरकारी किनेर बेच्ने शामर्थ अहिले आफ्नै फर्ममा उत्पादित तरकारी बिक्री वितरण गर्छन् । लगानी र उत्पादनकाे अवस्था तरकारी सप्लायर्सको काम शुरु गरेको १४ वर्षपछि अर्थात विसं २०७४ साल शामर्थ सहित ५ जनाको लगानीमा कृषि फर्म सञ्चालन भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २३ मधुपुरीमा २० विघा क्षेत्रमा कृषि फर्म चलाइएको छ । उक्त फर्ममा ५ जनालाई प्रतिव्यक्ति १० लाखको दरले लगानी गरेका छन् । ५० लाखको लगानीमा सञ्चालित कृषि फर्मको नाम ढुंगाना एग्रिकल्चर प्रोडक्ट प्रा लि राखिएको छ । उक्त फर्म सञ्चालनको नेतृत्वदायी भूमिका पनि उनै शामर्थले गर्दै आएका छन् । कृषि उत्पादनको वितरण मात्र गरेर भन्दा आफैँले उत्पादन गरेर बिक्री गरेमा व्यवसायिक उन्नति गर्न सकिने सोचका साथ कृषि फर्म सञ्चालन गरेको उनी बताउँछन् । उनी सहितको समूहले सञ्चालन गरेको उक्त कृषि फर्मबाट अहिले दैनिक ४ टन तरकारी बिक्री वितरण हुँदै आएको छ । उक्त कृषि फर्ममा फर्सी, काउली, बन्दा, मुला, लौका, गोलभेडा, सिमी, बोडी, करेला, काँक्रो, खुर्सानी, भ्यान्टा जस्ता तरकारी खेती हुँदै आएको छ । दैनिक ४० देखि ५० जना कामदारले उक्त कृषि फर्ममा काम गर्दै आएका छन् । सो फर्मबाट प्रति महिना न्युनतम ५ लाखदेखि २० लाखसम्म आम्दानी गर्दै आएको शामर्थ बताउँछन् । बजारको अवस्था र चुनौती चितवन स्थित फर्मबाट उत्पादित तरकारी कालिमाटी तरकारी तथा फलफुल बजारमा नै ल्याएर बिक्री वितरण गर्ने गरिएको छ । कहिलेकाँही नारायणगढ, पोखरा, नुवाकोट, धादिङसम्म पनि लैजाने गरिएको छ । शामर्थ भन्छन्–‘जुन ठाउँबाट माग आयो, त्यही ठाउँमा लगेर बिक्री गर्छौँ ।’ सरकारी स्तरबाट नै किसानले उत्पादन गरेको तरकारीको मूल्य निर्धारण तथा कृषियोग्य जमिन छुट्याउनु पर्ने उनको उनको तर्क छ । समय-समयमा मल, विऊ, औषधी नपाइने समस्याले किसानहरु समस्यामा पर्ने गरेको उनी बताउँछन् । के छन् आगामी योजना प्रदेश सरकारसँग सहकार्य गरी आफ्नो तरकारी व्यवसायलाई सातवटा प्रदेशमा नै पुर्याउने लक्ष्यका साथ अगाडि बढिरहेको शामर्थले बताए । केही समयपछि पशुपालन क्षेत्र तर्फ पनि लाग्ने योजना छ । युवापुस्ताहरुले घरजग्गामा पैसा लगानी गर्ने तर उत्पादनशील क्षेत्रमा लगानी नभएको प्रति उनी चिन्ता व्यक्त गर्छन् । वि.स २०४३ साल भदौ ४ गते धादिङ जिल्लाको खाल्टे भन्ने गाँउमा जन्मिएका हुन् शामर्थ ।
श्रममन्त्री विष्टलाई श्रम तथा रोजगार विभागको जिम्मेवारी
काठमाडौं । नेकपाको श्रम तथा रोजगार विभागको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पाएका छन्। नेकपा सचिवालय बैठकले पार्टीको तीन विभागहरुलाई कामको बाडफाँटको तथा जिम्मेवारी टुंगो लगाएको हो । शुक्रबारको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई श्रम तथा रोजगार विभागको प्रमुख घोषणा गरेको छ । त्यस्तै उपप्रमुखको जिम्मा भने रामेश्वरराय यादवले पाएका छन् ।
शिल काटेर बिक्री गरेको आरोपमा पेट्रोल पम्पलाई शिलबन्दी
हेटौंडा । पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प) लाई आज शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । हेटौँडास्थित सो पेट्रोलपम्पले पम्पको मेसिनभित्र एसेम्बलीको शिल काटेर कानूनविपरीत पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएकाले कारवाही गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले बताएका छन् । “नापतौल ऐन २०२५ विपरीत काम गरेको र आफ्नो इच्छाअनुसार शिल काटेर पेट्रोल, डिजल बिक्री वितरण गर्ने देखिएकाले सो पम्पमा कारवाहीका लागि शिलबन्दी गरिएको छ”, उनले भने, “पम्पको डिजल र पेट्रोल दुवै मेसिनमा जाँच गर्दा एसेम्ब्लीको शिल काटिएको पाइएको थियो ।” पम्पमाथि कारवाही फुकुवा नभएसम्म सो पम्पलाई नेपाल आयल निगमको डिपो कार्यालय अमलेषगञ्जलाई पेट्रोलियम पदार्थ उपलब्ध नगराउनसमेत जानकरी गराइएको छ । सम्बन्धित व्यवसायीलाई तीन दिनभित्र नापतौल कार्यालय वीरगञ्जमा हाजिर हुन पत्र काटिएको प्रमुख यादवले राससलाई जानकारी दिएका छन् । बारा, पर्सा, रौतहट र मकवानपुरका सञ्चालित पम्पहरुको विगत केही महिनादेखि अनुगमन तीव्र पारिएको र कैफियत देखिएका करिब एक दर्जन पम्प व्यवसायीलाई कारवाही गरिएको पनि प्रमुख यादवले बताए । बारा, पर्सा, रौतहट र मकवानपुरका ६० प्रतिशत उद्योगी व्यवसायीले नापतौल यन्त्रको जाँच नगराएको उनको भनाइ छ । रासस
माटाका भाँडा बनाउने पेशा सङ्कटमा, जोगाउने प्रयासमा उपमहानगरले छुट्यायो २० लाख
घोराही । दाङमा थारु कुमाल समुदायले परापूर्व कालदेखि अपनाउँदै आएको माटाका भाँडाकुँडा बनाउने पेशा सङ्कटमा परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ पर्सेनी र गढवा गाउँपालिकाका विभिन्न स्थानमा कुमाल समुदायको बसोवास छ र माटोको भाँडा बनाउने उनीहरुको पुर्ख्यौली पेशा हो । सरकारले कुमाल समुदायको यो पेशाको जगेर्ना गर्न तुलसीपुरको पर्सेनीमा माटाका सामग्री बनाउने आधुनिक मेसिन दिएको छ । सरकारले मेसिन दिएको एक वर्ष भन्दा बढी भयो तर पनि उक्त मेसिन सञ्चालनमा आउन सकेको छैन । नयाँ पुस्ताले यो पेशातर्फ चासो नदिँदा र पुराना पुस्तालाई यस्ता मेसिन चलाउने जानकारी नहुँदा मेसिन सञ्चालनमा नआएको त्यहाँका स्थानीयवासीहरु बताउँछन् । उनीहरुका अनुसार गरिबी निवारण कोषले एक वर्ष अघि करिब ६ लाख मूल्य बराबरको माटाको भाँडा बनाउने आधुनिक मेसिनहरु उपलब्ध गराएको हो । माटाका भाँडा बनाउन सजिलो र छिटो होस् भनी कोषले एक वर्ष अघि मेसिन उपलब्ध गराएको थियो । स्थानीयवासी प्रेम कुमालका अनुसार गाउँमा कसैले पनि मेसिन प्रयोग गर्न नजाने पछि मेसिन थन्किएको हो । उनले भने – “एकपटक चिया कप, प्लेट, घैँटा बनाएका थियौँ । तापक्रम नमिलेर सबै खेर गए । मेसिन जडान त भयो तर, अलि राम्रोसँग चलाउने शीप पनि पाएको भए सहज हुने थियो ।” गाउँवासीलाई सरकारले माटो पेल्ने मेसिन, स–साना भाँडा बनाउने र ठूला भाँडा पोल्ने मेसिनहरु दिएको उनले जानकारी दिएका छन् । वर्षौंदेखि माटाका भाँडा बनाएर जीवन बिताइआएका तुलसीपुरका ६२ वर्षीय गोपाल कुमाल भने आवश्यक माटो नहुँदा भाँडा बनाउन समस्या भएको बताउँछन् । “भाँडा बनाउने उपयुक्त माटो छैन, हामीलाई माटोको व्यवस्था कसले गरिदने रु” उनले भने – “हामीहरुको आफ्नो जग्गा पनि छैन । अरुको जग्गामा माटो निकाल्नै दिँदैनन् ।” आफूहरुको पेशालाई ध्यानमा राखेर स्थानीय सरकारले माटोको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ । यस्तै, नयाँ युवा पुस्तालाई शीप प्रदान गरी यो पेशा संरक्षण गर्न सबै पक्षबाट सहयोग भए राम्रो हुने उनले बताए । यो परम्परागत पेशाबाट आयआर्जन नहुने भए पछि पछिल्लो पुस्ता यो पेशातिर नलागेर अन्य पेशा गर्दै आएको कुमाल समुदायका अगुवाहरु बताउँछन् । डुरुवाका ७२ वर्षीय दिलबहादुर कुमालका अनुसार आफूले सानैदेखि गर्दैआएको पेशालाई आफ्ना छोराछोरीहरुले हिजोआज गर्न मानेका छैनन् । माटाका भाँडा बनाउन नमान्ने छोराछोरीले आफूलाई पनि पटक पटक नगर्न आग्रह गरेको उनी बताउँछन् । उनले भने – “छोराछोरीले यो शीप सिक्नै मान्दैनन, बरु उल्टै मलाई यस्तो काम गर्नुहँुदैन भनेर हकार्छन् ।” अहिले गाउँमा कुनै पनि युवा यो पेशा गर्न राजी छैनन् । अहिले त्यहाँ गाउँभरिका १८ जनाले मात्र माटाका सामग्रीहरु बनाउन जानेको भए पनि पछिल्लो समयमा नौ जनाले काम गर्न छाडेको उनले बताए । यसरी काम छोड्दै गए एक दिन यो पेशा नै बिलाउने उनको चिन्ता छ । हिजोआज बजारमा सबैजसो सामान प्लाष्टिकमा पाइन्छ । दूध, तेल, पानीदेखि हरेक प्रकारका सामान प्लाष्टिकमा पोको पारेर बजारमा पठाइन्छ । त्यति मात्रै होइन घरमा प्रयोग गरिने गाग्री, कचौरा, थाल जस्ता अधिकाँश सामान सबै प्लाष्टिकको पाइन्छ । पछिल्लो समय बजारमा आएको प्लाष्टिकका सामग्रीहरुले माटाका सामग्रीहरुको ठाउँ लिएको तुलसीपुर पर्सेनीकी शान्ति कुमालले बताएका छन् । सरकारले बजारमा पाइने प्लाष्टिक सामानलाई भित्रिन रोक्नुपर्ने उनले बताए । यता दाङ देउखुरीको गढवा गाउँपालिकाले भने त्यहाँका स्थानीयवासीलाई आधुनिक भट्टीमा भाँडा बनाउने शीप सिकाउँदै आएको छ । अहिले गढवा गाउँपालिका वडा नं ३ खैराका कुमाल समुदायका कुल ५४ घरधुरीमध्ये २५ घर व्यावसायिक रुपमै माटाका भाँडा बनाउने काममा संलग्न रहेका छन् । स्थानीयवासी चुन्नुराम थारुका अनुसार परम्परागत ढङ्गले तयार गरेका भट्टीमा माटाका भाँडाहरु बनाउँदा दाउरा, पराल, माटो, समय र मेहनत निकै धेरै लाग्छ तर, आधुनिक भट्टीमा बनाउँदा जम्मा दुई भारी दाउरामा ३०० भन्दा बढी गमलाहरु तयार गर्न सकिन्छ । पछिल्लो समय माटाका भाँडा बनाउने पेशा लोप हुँदै जान थालेको भन्दै गढवा गाउँपालिकाले यो पेशालाई प्रर्वद्धन गर्न थालेको छ । गढवामा कुमाल समुदायको घर–घरमा माटाका भाँडा बनाउने प्रविधिको संरक्षणसँगसँगै आधुनिक ढङ्गले सामान बनाउने शीप विकास गर्न थालेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । गढवा गाउँपालिकाको वडा नं १ को पत्रिंगा, बनघुस्री, वडा नं ३ को खैरा, वडा नं ६ को कुमाल गाउँ गरी चार गाउँहरुमा माटाका भाँडा बनाउने आधुनिक मेसिन वितरण गरिएको छ । थारु तथा कुमाल समुदायले आयआर्जन लागि अपनाउँदै आएको माटाका भाँडा बनाउने परम्परागत पेशामा नयाँ पुस्ताले खासै चासो नदिएका कारण गाउँपालिकाले यो अभियान थालेको अध्यक्ष यादव बताउँछन् । उनले भने – ‘यस वर्ष गढवा गाउँपालिका वडा नं ३ ले १४ लाख, सहकर्मी समाजको ३ लाख र स्थानीयवासीको २ लाख बराबरको श्रमदानबाट खैरा गाउँमा माटाका भाँडा पोल्ने आधुनिक भट्टी निर्माण गरिएको छ । त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकाले कुमाल जातिको यो पेशा संरक्षणका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ छुट्टाएर काम गर्ने योजना बनाएको कार्यापालिका सदस्य दीपक कुमालले बताए । रासस
रिलायन्सको साधारण सभाले पारित गर्यो ६३ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने प्रस्ताव
काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रबार दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडियाले साधारण सभामा आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो सभाले सञ्चालक समितिको आव २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, आव २०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर (आइपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २०७४ मंसिर १ गतेदेखि जीवन बीमा व्यवसाय संचालन गर्दै आएको छ । हाल ८८ वटा शाखा/उपशाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ । कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पुँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको सेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको अध्यक्षमा केडिया सहित अन्य संचालकहरुमा भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी र सुन्दरप्रसाद कडेल रहेका छन् ।
अब आधुनिक संरचनामा बन्ने भयाे काठमाडौंको टुँडिखेल र सैनिक मञ्च
काठमाडौं । काठमाडौंको मुटुमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई व्यवस्थित गरी चिटिक्क बनाइने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनःनिर्माण गर्ने भएपछि साँच्चीकै काठमाडौँको सुन्दरता बढ्ने र राष्ट्रिय कार्यक्रम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न राजधानीमा उपलब्ध ऐतिहासिक धरोहरका रूपमा रहेको टुँडिखेललाई सुधार गर्ने क्रममा आधुनिक संरचना, नेपाली वास्तुकलासहित सैनिक मञ्चको क्षमता वृद्धि गरिनेछ । काठमाडौँ मध्यभागमा अवस्थित सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टुँडिखेल मुलुककै गौरव हो । टुँडिखेलभित्र विसं २०१८ मा आधुनिक सैनिक मञ्च निर्माण गरिएको थियो । पुनःनिर्माणको क्रममा टँुडिखेल वरिपरि उद्यानसहितको ‘जगिङ ट्र्याक’ र महाँकाल मन्दिरबाट पुरानो बसपार्क जाने आकर्षक लिङ्करोड र दक्षिणमा प्यारापिट बनाइनेछ । घोडेजात्रा, गणतन्त्र दिवस, संविधान दिवस, शिवरात्रि र फूलपाती बढाइँजस्ता कार्यक्रममा पहुँच असुविधा भएपछि टुँडिखेल वरपरका रुख र भवनका छतबाट जोखिम सहेर सर्वसाधारणले कार्यक्रम हेर्दै आएका छन् । टुँडिखेलको पुनःनिर्माण र उत्थानका लागि झण्डै रु ९० करोड आवश्यक पर्नेमा यस वर्ष वार्षिक बजेटमा रु पाँच करोड परेको नेपाली सेनाले जानकारी दिएको छ । पुनःनिर्माणलाई सेनाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा अघि बढाउने निधो गरेको बताइएको हो । सैनिक मञ्चमा हाल कायम रहेको एक हजार ३६५ सिट सङ्ख्यालाई बढाएर तीन हजार ८० पुर्याउने, भूकम्प प्रतिरोधी परम्परागत नेपाली संरचना, अतिविशिष्ट व्यक्तिका लागि ‘बुलेटप्रुफ क्याबिन’, फरक क्षमताका व्यक्तिमैत्री भौतिक पूर्वाधार, सर्वसाधारणका लागि सहज पहुँच र भूमिगत पार्किङसम्बन्धी विषय टुँडिखेल तथा सैनिक मञ्च सुधार परियोजनामा समावेश गरिएकोे छ । अतिविशिष्ट व्यक्तिसमेत उपस्थित भइरहने तथा राष्ट्रिय कार्यक्रम हुने सैनिक मञ्चलाई साजसज्जासहित चिटिक्क र आधुनिक तुल्याउने कार्यक्रम अघि बढाइएको रक्षा मन्त्रालयका सहायक प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिएका हुन् । त्यहाँ लिफ्टसहितको व्यवस्था गरिने बताइएको छ । विसं १९९० अघि र पछिका ठूला भूकम्पमा राजधानीवासीलाई आश्रय दिँदै आएको टुँडिखेल शहरी क्षेत्रका नागरिकको लागि अहिले बिहान–बेलुका स्थास्थ्य लाभका लागि हिँड्डुल गर्ने थलोका रूपमा समेत प्रयोग भइरहेको छ । त्यसो त, पहिलो र दोस्रो विश्वयुद्धमा सहभागी हुन जाने नेपाली युवाले यसै टुँडिखेलमा अभ्यास गरेको इतिहास छ । शहरका केटाकेटीलाई दुःख दिने गुरुमापा नामक राक्षसलाई घोडाको टापले थिचेर अन्त्य गर्न घोडा कुदाउने परम्परा पनि यही टुँडिखेलले बोकेको छ । मुलुकका विभिन्न भागका नागरिकले काठमाडौँ आएर हेर्ने महत्वपूर्ण स्थलका रूपमा रहेको टुँडिखेलमा अहिले शहरी क्षेत्रका स–साना केटाकेटी र युवापुस्ताका लागि फुटबल र क्रिकेट सिक्ने ठाउँ तथा योग अभ्यास गर्ने थलो भएको छ । विभिन्न चाडपर्वसँग जोडेर टुँडिखेलमा अचेलभर मेला र महोत्सवसमेत आयोजना गरिँदै आइएको छ । वीर सैनिकको योगदानको स्मरण र कदरस्वरुप निर्माण गरिएको सैनिक मञ्चमा विगतमा नेपाल भ्रमणमा आउने विशिष्ट पाहुनालाई सम्मान गारत प्रदान गर्ने प्रचलन थियो । पुनःनिर्माणपछि टुँडिखेलमा आयोजना हुने राष्ट्रिय कार्यक्रममा सर्वसाधारणको पहँुचलाई समेत व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ । रासस
गाईजात्रामा नेतादेखि कर्मचारीमाथि झटारो, ‘राजारामको प्रधानमन्त्री हुने चाहना’
काठमाडौं । गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हास्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् । शुक्रबार राजधानीमा आयोजित गाइजात्रा विशेष साक्षात्कारमा सहभागी भई उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका हुन् । हास्यकलाकारहरुले नेताका व्यवहार, शैली र प्रवृतिलाई आफ्नो व्यङग्यका निसाना बनाएका छन । देशमा ब्याप्त भ्रष्टाचार, बलात्कार,ठगी र समाजिक संजालमामाथीका विसंगतीहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङ्गय प्रस्तुत गरे । सरकारको नेतृत्व गरिहेका नेताहरु लक्षित गरेर गइजात्रा विशेष व्यङ्गय प्रस्तुत गरेका हुन् । कार्यक्रममा हाँस्यकलाकार श्रीकृष्ण सिमखडाले समाजमा घटिरहेका विभिन्न प्रकारका घटनाको बारेमा व्यङ्गय गरेका छन् । देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चिरहेको भन्दै उनले नेताहरुका आसेपासेहरुले देश लुटिरहेको गहिरो व्यङग्य प्रस्तुत गरे । प्रधानमन्त्री केपी शर्मा ओली तथा काँग्रेस सभापति शेरवहादुर देउवाको शैलीलाई बोलीमा उतार्दै उनले समय र परिवेस अनुरुप देश अगाडि नबढेको धारणा राखे । त्यस्तै कार्यक्रममा हाँस्यकलाकार दमन रुपाखेतीले आजको दिनलाई नेताहरुको पुण्य तिथिको संज्ञा दिदै वर्तमान सरकार मुलुकको अवस्थाप्रति संवेदनशील नभएको आरोप लगाए । अहिले हरेक घरमा नेता, पत्रकार, बलत्कारीहरु व्याप्त हुँदै गएको भन्दै उनले उखान टुक्काले मात्र देशमा रहेका विसंगतिको अन्त्य नहुने धारणा राखे । देशले बुढो तथा रोगी प्रधानमन्त्री पाएको भन्दै उनले रगत सुकेको तथा नसाले काम नगर्ने प्रधानमन्त्रीको जस्तै अवस्था देशको पनि रहेको धारणा राखे ।त्यस्तै कार्यक्रममा बोल्दै अर्का कलाकार जोगेन्दर पानवालाले विकसित तथा विकासोन्मुख देशमा राजनैतिक व्यङ्गय नहुने जनाउँदै हाम्रो देशमा पनि राजनीतिमाथीको व्यङ्गयको अन्त्य हुुनुपर्ने दिनको पर्खाईमा जनता रहेको बताए । त्यस्तै, कार्यक्रममा बोल्दै कलाकार राजाराम पौडेलले समाजिक सञ्जालमा भाइरल भईरहने सेलिब्रेटिका वान पिस लुगाको मात्र यो देशमा चर्चा भईरहेको बताउँदै कुनै विकासप्रेमी नेताको चर्चाको सधै अभाव हुँदै गएको उनले बताए । आफुले प्रधानमन्त्रीको जिम्मेवारी पाए अहिलेको मन्त्री मण्डलमा भएका कुनैपनि नेतालाई आफ्नो मन्त्रीमण्डलमा नराख्ने उनले बताए । अहिलेका नेताहरु कानून हेरेर नभई अनुहार हेरेर न्याय दिने खेलमा लागेको बताए । त्यस्तै, कार्यक्रममा बोल्दै डा.घनश्याम खतिवडाले देशमा व्याप्त समस्याको बारेमा भित्र सम्मै समस्या रहेको जनाउँदै हरेक क्षेत्रमा भ्रष्ट्राचार अनियमियताले प्रसय पाएको जनाए ।