नबिल बैंकबाट पैसा चाेर्दाचाेर्दै ५ चिनियाँ नागरिक पक्राउ, साथमा १ कराेड ३४ लाख नगद बरामद
काठमाडौँ । नविल बैंकबाट पैसा चाेर्दै गर्दा ५ जना चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरूकाे साथबाट १ कराेड ३६ लाख रूपैयाँ भन्दा बढी नगद समेत प्रहरीले पक्रेकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए । “शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ”, उनले बताए । पक्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।
लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, छ घर उच्च जोखिममा
मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ । मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो । पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ । पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो । पहिरो दुई वटा घरको जगमा पुगेको छ भने ती घरका सामान अन्यत्र सार्नुका साथै बासिन्दासमेत अन्यत्र बसी घर खाली गरेको छ । खानेपानी समस्या समाधान गर्न सरकारको रु एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए । ३ गतेको पहिरोमा चर्काएको ठाउँमा पहिरो रोकथामको प्रयास भइरहँदा त्यससँगै पश्चिमतर्फ पनि आज पुनःपहिरो गएको उनले जानकारी दिइ । यहाँका घर र पूर्व तथा पश्चिमको कालोपत्र सडकसमेत पहिरोमा भासिने जोखिममा रहेको बताउँदै उहाँले ३ गते भएको सहमतिअनुसार तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम व्यहोर्नुपर्ने बताए । ३ गते पहिरो गएको ठाउँमा पहिरो रोकथामका लागि मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन शुरु गरे पनि अर्को ठाउँबाट पुनः पहिरो जान थालेको हो ।
सेजनमा नयाँ कार्यसमिति, अध्यक्षमा भीम गौतम, महासचिवमा सुजन ओली
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा भीम गौतम निर्वाचित भएका छन् । दुई बर्षे कार्यकालको लागि शनिबार भएको निर्वाचनमा कारोबार दैनिकका गौतमले प्रतिस्पर्धी मोदनाथ ढकाललाई १० मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । गौतमले १२० मत ल्याएर विजयी हुँदा ढकालले ११० मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा कारोबार दैनिककी सरस्वती ढकाल र विष्णु वेल्वासेले समान ८३/८३ मत ल्याएपछि गरिएको गोलाप्रथाबाट ढकाल चयन भएकी छन् । त्यस्तै महासचिवमा क्यापिटल नेपालका सुजन ओली, सचिवमा नयाँ पत्रिकाका कृष्ण रिजाल निर्वाचित हुँदा इमेज च्यानलका हिमाल पौडेल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा भने अन्नपूर्ण पोष्ट दैनिकका विजय वञ्जाडे, नयाँ पत्रिका दैनिककी मुना कुँवर, आर्थिक अभियान दैनिककी हिमा विक, क्यापिटल नेपालकी कमला अर्याल र दि हिमालय टाइम्सका सुजन ढुंगाना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
एमभी दुगड ग्रुपले ल्यायो जी ९० मोटर ग्रेडर, नेपाली सडकमा बहुउपयाेगि
काठमाडौं । एमभी दुगड ग्रुपले जी ९० मोडलको ९१ एचपीको नयाँ मोटर ग्रेडर रिप्पर एट्याचमेन्ट र लोडर बजारमा ल्याएको छ । तराईको फाँट, खोला नाला तथा पहाडका अप्ठ्यारा बाटोमा समेत सजिलै चलाउन सकिने जी ९० मोटर ग्रेडर समय सापेक्ष, सरल र सस्तो भएको कम्पनीले जनाएको छ । नेपालको ८६ प्रतिशत सडक सिङ्गल वा डबल लेनको मात्र रहेको, उकालो, ओरालो, घुम्तीहरु धेरै भएको सडकमा यो मोटर चलाउन सजिलो हुने कम्पनीले जनाएको छ । २ वर्षको वारेन्टी, त्यसअवधिमा असीमित घण्टा वारेन्टी भएको यो मोटरका ग्राहकलाई स्पोर्ट सर्भिस सुविधा हुने, स्पेयर पार्ट सजिलै उपलब्ध हुने र मूल्य पनि सरल हुने कम्पनीले जनाएको छ । फोर ह्विल ड्राइभ विथ डिफिरेन्सियल लक, ९१ एचपी पावरका साथ २२०० आरपीएच, ट्रान्सिमिसन फोर स्पीड, ६ ह्विल इक्वयल साइज लगायत सुविधा भएकोले यो मोटर उपभोक्ताबीच आकर्षक बन्ने कम्पनीको अध्यक्ष मोतिलाल दुगडले बताए । १३७ वर्षको व्यवसायिक इतिहास भएको यस ग्रुपले बैकिङ, बीमा, मोटर, ट्रेडिङ, जलविद्युत लगायतका क्षेत्रका लगानी विस्तार गर्दै आएको छ । यस ग्रुपले यसअघि पनि व्याक हो लोडर, रोलर, ग्रेडरको बिक्री तथा बिक्री पछिको सेवा दिदै आएको छ ।
सोलु करिडोर प्रसारण लाइनको निर्माण प्रगति सुस्त, निजी क्षेत्रले गरेकाे उत्पादन खेरा जाने
काठमाडौं । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ । प्रसारण लाइनमा पर्ने कुल ३०३ टावरमध्ये २०७को जग हालिएको छ भने ४३ खडा गरिएको छ । सिराहामा पर्ने २६वटै टावरको जग हालिएको छ भने १६ वटा खडा गरिएको छ । उदयपुरमा पर्ने १४१ टावरमध्ये ११७को जग हाली २७ वटा खडा गरिएको छ । ओखलढुंगामा पर्ने ११२मध्ये ६३ टावरको जग हालिएको छ । यसैगरी, सोलुखुम्बूमा पर्ने २४ टावरमध्ये एउटाको जग हालिएको छ । आयोजनाअन्तर्गत तिंलादेखि सोलुखुम्बूकै बेलीडाँडासम्म ४.५ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सकिएको छ । तिंलामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ । योसँगै सिराहाको लाइनबाट तिंलासम्म ३३ केभी लाइन पुगेको छ । सोलुखुम्बू र आसपासका क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युतलाई सोलुखुम्बू, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण गर्न लागिएको हो । प्राधिकरणले प्रसारण लाइन निर्माणमा ढिलाइ गरिदिंदा आफ्ना आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्था आउन लागेको भन्दै त्यस क्षेत्रका प्रवद्र्धकले प्रदेश नं १ सरकारलाई जानकारी गराएका छन् । प्रदेश १का मुख्यमन्त्री शेरधन राईले शनिबार प्रसारण लाइन निर्माण प्रगति, निर्माणमा रहेका समस्याका विषयमा धनकुटाको भेडेटारमा प्राधिकरण, आयोजना, सम्बन्धित आयोजनाका प्रवद्र्धक, सांसद लगायतसँग छलफल गरेका छन् । छलफलमा मुख्यमन्त्री शेरधन राईले प्रसारण लाइनको पूर्वाधार अभावमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत खेर जान दिन नहुने बताए । लाइन निर्माणमा स्थानीयको अवरोध हटाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन नबनाइदिएका कारण विद्युत खेर गएको अहिलेसम्म कुनै रेकर्ड नभएको उल्लेख गर्दै त्यस क्षेत्रका आयोजना निर्माण सम्पन्न हुनुभन्दा पहिले नै लाइन बन्ने बताए । ‘आयोजनाको काम २०७६को माघ (३१ फेबु्रअरी २०२०) भित्रमा सक्ने लक्ष्य राखिएको छ, यसमा एक/दुई महिना ढिला होला तर त्यहाँका आयोजनाहरु पनि निर्धारित समयमा सकिंदैनन्’,उनले भने । ‘उहाँहरुको विद्युत खेर जान्छ भन्ने चासो र चिन्तालाई गम्भीरतापूर्वक लिएर काम गरिरहेका छौं, उत्पादित विद्युत खेर जाने अवस्था आउन दिने छैनौं ।’ उदयपुरमा रहेको स्थानीयको अवरोध हटाउन पहल गरिदिन प्रदेश सरकारलाई उनले आग्रह गरे । उदयपुरको कटारीस्थित मरुवा हरित सामुदायिक वन क्षेत्रका स्थानीयको अवरोधका कारणले एक वर्षभन्दा बढीदेखि त्यहाँ निर्माण रोकिएको छ । त्यस क्षेत्रमा १२ टावर निर्माण गर्नु पर्ने छ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ । त्यसमध्ये सरकारले प्रतिश्पर्धामार्फत प्रवद्र्धक छनौट गरेका ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलु खोला आयोजनाको निर्माण सम्पन्न भई प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नु पर्ने व्यवस्था विद्युत खरिद सम्झौता (पीपीए)मा छ । सबै आयोजनाको विद्युत तिंला सबस्टेसनमा जोडिने छ । पीपीएअनुसार, तल्लो सोलु र सोलुको विद्युत उत्पादन गर्नु पर्ने मिति (आरसीओडी) क्रमशः ३० मंसिर २०७६ र १ साउन २०७५छ । यसैगरी, ८६ मेगावाटको सोलुखोला (दुधकोसी)को आरसिओडी २०७७ असोज छ । सोलु करिडोर निर्माणमा केही ढिलाई हुने देखेपछि २३ मेगावाटको सोलुखोलाको विद्युत जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्थाका रुपमा ३३ केभी प्रसारण लाइनमार्फत जोड्न यसअघि नै प्राधिकरण र प्रवद्र्धकबीच सहमति भइसकेको छ । आयोजनाले दशैं अगाडि वा दशैं र तिहारकोबीचमा विद्युत जोड्ने बताएको छ । आयोजनाबाट हिउँदमा उत्पादित सबै विद्युत ३३ केभीमार्फत प्रवाह गर्न सकिन्छ । अगामी वर्खासम्ममा सोलु करिडोरको निर्माण सम्पन्न हुने भएकाले आयोजनाको विद्युत खेर नजाने प्राधिकरणले विश्वास दिलाएको छ । प्रसारण लाइन निर्माणको मुख्य समस्या वन क्षेत्रको जग्गा प्रयोगमा रहेको छ । प्रसारण लाइनको रुटमा पर्ने रुखको लागत र छपान गर्न सम्बन्धित सामुदायिक वन, डिभिजन वन कार्यालय, आयोजना र ठेकेदार संलग्न गराउनु पर्ने हुन्छ । यसमा सामुदायिक वनले उदासिनता देखाउने र आमभेलामार्फत स्वीकृति लिनु पर्ने भएकाले लामो समय लाग्ने आयोजना प्रमुख जनार्दन गौतमले बताए । ‘निजी जग्गाको सर्वे सम्पन्न गरी नापी र मालपोत कार्यालयबाट जग्गाको विवरण लिन समय बढी लाग्ने गरेकाले जग्गा अधिग्रहणमा पनि समस्या छ,’ उनले भने । हालैको बाढीले उदयपुर, ओखलढुंगा र सोलुखुम्बू सडक खण्डमा भारी क्षति पुगेकाले निर्माण करिब एक महिना अवरुद्ध भएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै दुई वर्ष ढिला सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२को चैतमा ठेक्का सम्झौता भएको थियो ।
महामारीको रुप लिदै डेंगु, यस्ताे हुन्छ लक्षण र राेकथामकाे विधि
काठमाडौं। ४ महिनाको अवधिमा ४२ जिल्लाको ४ हजार ६ सय ११ मा देखिएको डेंगुले यस बर्ष महामारीको रुप लिएको छ। प्रत्येक बर्ष मनसुनको समयमा देखिने डेंगुले यस बर्ष भने महामारीको रुप लिएको हो। जलवायु परिवर्तनको कारण पहिलो पटक १५ बर्ष अघि चितवनमा देखिएको डेंगुले अहिले ६ वटा प्रदेशको ४२ जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। साथै मन्त्रालयले आफुले मात्र डेंगु नियन्त्रण गर्न नसक्ने बताएको छ। बिहीवार बसेको स्वास्थ्यमन्त्रालयको आपतकालिन बैठकमा स्वास्थ्य सचिव पुष्प चौधरीले मन्त्रालयले अब एक्लै डेंगु नियन्त्रण गर्न नसक्ने बताएकी हुन्। चौधरीले मन्त्रालयको काम डेंगु नियन्त्रण गर्नुभन्दा पनि मापदण्ड बताउने र गर्ने रहेको र यो काम स्थानिय तहको रहेको बताएकी छिन्। सरकारले गत आर्थिक बर्ष २०७५/७६ मा मात्र डेंगु नियन्त्रणको लागि ७ करोड ९३ लाख खर्च गरेको थियो जबकी हरेक बर्ष सरकारले करोडौं रुपैंया नियन्त्रणमै गरेको थियो। करोडौं रकम खर्चिरहेको अवस्थामा डेंगु भने घट्नुको सट्टा बढ्दै गएको छ। ईपिडिमियोलोजीको ६ बर्षको तथ्यांक ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ६ वर्षको तथ्यांकको अनुसार आर्थिक वर्ष २०७०/७१ मा ३ सय ४ जनामा डेंगुको संक्रमण देखिएको थियो । यस्तै आर्थिक वर्ष २०७१/७२ मा बिरामीको संख्या घटेको थियो तर आर्थिक वर्ष २०७२/७३ मा फेरी बिरामीको संख्या बढेको सरकारी तथ्यांक छ । यस्तै आर्थिक वर्ष २०७१/७२ मा १ सय ३४ जनामा डेंगु देखिएको थियो भने २०७२/७३ मा १ हजार ५ सय २७ जनामा डेंगु देखिएको थियो । आर्थिक वर्ष २०७२/७३ मा डेंगुका बिरामीको संख्या अघिल्लो वर्षभन्दा ११ गुणा बढेको देखिन्छ । आर्थिक वर्ष २०७३/७४ मा २ हजार १ सय ११ जनामा डेंगु रोग लागेको थियो भने आर्थिक वर्ष २०७४/७५ मा बिरामीको संख्या ८ सय ११ जना थिए । आर्थिक वर्ष २०७३/७४ मा भन्दा २०७४/७५ मा बिरामीको संख्यामा कमी आएको भएपनि आर्थिक वर्ष २०७५/७६ मा डेंगुका बिरामी ११ गुणाले बढेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ३ हजार ४ सय २४ जनामा डेंगु रोग देखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । कसरी सर्छ डेंगु ? डेंगु ज्वोरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु कहिले पनि एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । यो तब मात्र सर्छ जब एउटा लामखुट्टेले संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस बिकास भएर लामखुट्टेले त्यसपछी अर्को स्वस्थ मानिसलाई टोक्दा यो रोग सर्ने हो । डेंगु भाईरसको चार प्रजाति छन् । एक पटक एउटा मानिसलाई एक प्रजातिको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यसै प्रजातिको डेंगु रोग भने लाग्दैन, तर यदी अन्य प्रजातिको डेंगु रोग लाग्यो भने त्यो पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४-७ दिन भित्र मा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८-१२ दिन पछी लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर संक्रमित रहन्छ । पोथी जातको लामखुट्टेलाई फूल पार्नको लागि रगतमा प्रचूर मात्रामा पाइने प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ । भाले जातको लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवन यापन गर्दछ । सामान्यतया एउटा पोथी लामखुट्टेले उसको १४-२१ दिनको जीवनमा जम्मा ३०० वटा अण्डा पार्न सक्छ । एकपटक डेँगुको विषाणु बोकेको लामखुट्टेले यसका प्रत्येक अण्डामा डेँगुका विषाणु सार्ने गर्दछ । त्यस प्रकारका हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेँगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति यो रोग बाट सँक्रमित हुन्छ । डेंगु भएको व्यक्तिलाई लामखुट्टेले टोक्दा सो व्यक्तिको रगतमा भएका डेंगुका भाइरसहरु लामखुट्टेमा सर्छन् । डेंगुबाट संक्रमित एडिस नामको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग एकबाट अर्कोमा सर्छ । त्यसपछि व्यक्तिमा डेंगु वा Dengue Hemorrhagic Fever का लक्षणहरु देखिन सक्छन् वा कुनै खाले संक्रमण नदेखिन पनि सक्दछन् । संक्रमित व्यक्तिबाट एक हप्तापछि लामखुट्टेले एउटा स्वस्थ मानिसलाई रोग सार्न सक्दछ । लक्षणहरु डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५-७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् : – असाध्यै टाउको दुख्ने । – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने । – ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने । – शरीरमा विमिरा आउने । – धेरै ज्वरो आई माथिका लक्षणहरु मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ । – वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छ । मृत्युदर सामान्य डेँगुमा मृत्यु हुने सम्भावना ज्यादै न्यून हुन्छ। २००४ देखी २०१९ सम्मा आउँदा नेपालमा डेंगुको कारण १५ जनाको मात्रा मृत्यु भएको छ। Dengue Haemorrhagic Fever (DHF) and Dengue Shock Syndrome (DSS): कुनै उपचार नगरेको खण्डमा ५०% सम्म बिरामीको मृत्यु हुन सक्छ। समयमा राम्रो उपचार पाएको खण्डमा मृत्युदरलाई १-२% सम्म झार्न सकिन्छ। रक्तश्रावको खतरा हुने अवस्थाहरु – लामो समयसम्म वेहोस भएमा – जलवियोजन र वेहोस भएमा – कलेजोमा खराबी उत्पन्न भएका – दुखाई कम गराउने ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीको प्रयोग गरेमा – ग्यास्ट्राइटिसको समस्या भएका बिरामीमा – रगत पातलो बनाउने औषधीको सेवन गरिरहेका बिरामीमा – शरीरमा कुनै प्रकारको चोटपटक लागेमा विश्वब्यापी अवस्थाहरु विगत केहि दशक देखि विश्व भरी नै डेंगु रोगको संक्रमण अत्यधिक रुपमा बढ्दै गैरहेको छ । बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइन्छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् : १२८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् । प्रत्येक वर्ष झन्डै ३९ करोड डेंगु रोगको संक्रमण हुने गर्दछ भने २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गर्दछ । रोकथामका उपायहरु – पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ । – पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्छ । – कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
एओएएनको अध्यक्षमा फेरि थापा, जेष्ठ नागरिकलाई भाडामा छुट दिँदा हवाई कम्पनीलाई असर नपर्ने
काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन)को को १९औं वार्षिक साधारण सभाले संघले क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्याप्टेन थापा सन् २००२ देखि हेलिकप्टर प्रशिक्षक पाइलटका रुपमा क्रियाशील छन् । यसअघि पनि दुई कार्यकाल संघको अध्यक्ष भइसकेका छन् । संघको प्रथम उपाध्यक्षमा अनोज रिमाल, द्वतिय उपाध्यक्ष गोपाल भट्टराई, महासचिवमा मनोज कार्की, सचिव राजु न्यौपाने, मनाङ्ग एयर, कोषाध्यक्ष रुपेश जोशी भएका छन् । संघको सदस्यहरुमा दिपक जे.वि. राणा, योगराज कंडेल शर्मा, बालकृष्ण पण्डित, निमा नुरु शेर्पा, बरुण ज्ञवाली, सुवास अमात्य र प्रज्वल थापा भएका छन् । नवनियुक्त अध्यक्ष थापाले आफ्नो कार्यकालमा वायुसेवाको सेफ्टीस्तरलाई अझै उचाईमा पुर्याउने र नेपाली वायुसेवाको सुरक्षा सुदृढीकरणलाई बढीभन्दा बढी विश्वासिलो बनाउँदै जाने र नेपाल नागरिक उड्डयन प्राधिकरण संग हातेमालो गर्दै नेपालीहवाई उद्योगमा हालकायम रहेका विभिन्न समस्याहरुलाई निराकरण गर्ने बताएका छन् । सभालाई सम्बोधन गर्दै पर्यटन मन्त्री योगेश भट्टराईले संविधानले दिएको मौलिकहकअनुसार राज्यले दिएको सेवा सुविधा अनुसार नै जेष्ठ नागरिकको सम्मानको लागि हवाई भाडामा छुट व्यवस्था गरिएको बताए । नेपालमा जम्मा बार्षिक २८ लाख हवाई यात्रु हुने गरेको र ७० वर्ष नाघेका जेष्ठ नागरिकको ३.५ प्रतिशत मात्रै भएकोले उनीहरुलाई हवाई छुटको सुविधा दिँदा धेरै ठूलो असर नपर्ने बताए ।
सहकारी कर्जा सूचना केन्द्र छिट्टै, ३४ वटा सहकारी कानुन संशोधन गर्न माग
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका नवनियुक्त सचिव सुर्यप्रसाद गौतमले सहकारी कर्जा सूचना केन्द्र छिट्टै स्थापना गर्ने बताएका छन् । उनले कर्जा सूचना केन्द्रको अभावले सहकारीले समस्या भोगेकाले अब त्यसको समाधानमा क्रियाशिल हुने बताए । राष्ट्रिय सहकारी महासंघ लि.नेपालले सचिवको स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सचिव गौतमले कर्जा सूचना केन्द्र स्थापना महासंघ र मन्त्रालयको सहकार्य मा काम अगाडि बढ्ने बताएका हुन् । सहकारीमा सन्दर्भ ब्याज दर लागू भएदेखि नै सहकारीकर्मीहरुले कर्जा सूचना केन्द्रको माग गर्दै आएका छन् । सहकारी ऐन २०७४ मा पनि कर्जा सूचना केन्द्रको व्यवस्था गरिएको छ । ‘सहकारी नेपालको अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा हो । यसलाई उत्पादनसँग जोड्न, आधारभुत आवश्यकतासँग जोड्नका लागि ऐन कानुनहरु बाधा अड्चन छन् भने त्यसलाई संशोधन गराउनका लागि छलफल चलाइने छ’ उनले भने । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले विभिन्न ३४ वटा ऐन कानुन संशोधन गर्न सकेको खण्डमा सहकारी आधारभुत आवश्यकतादेखि उद्योग धन्दामा समेत जान सक्ने बताए । उनले सहकारीमा प्रयाप्त तालिम शिक्षाको अभाव भएकाले यसतर्फ मन्त्रालयको ध्यानआकर्षण गराए । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको भावी कार्यक्रम तथा योजनाको विषयमा जानकारी गराएकी थिइन । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवीमल्ल, संचालक तथा राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसी, संचालक तथा केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेम पाठक, नायव महाप्रबन्धक बाबुल खनालको उपस्थिति थियो ।