विकासन्युज

बिदाको मौका छोपेर नेपाल छिरेका थिए चिनियाँ ह्याकर

काठमाडौँ । शनिबार अपराह्न पटक-पटक गरी शङ्कास्पदरूपमा ठूलो रकम दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट निकालियो । यसअघि एटिएम बुथबाट पटक-पटक व्यक्तिको पैसा निकालिएको घटनाका कारण नबिल बैंक उच्च सतर्कतामै थियो । प्रभु बैंकको रकम अस्वभाविक रुपमा आफ्नो बुथबाट निकालिएपछि उसले प्रभु बैंक र प्रहरीलाई खबर गर्यो । सूचना पाएलगत्तै महानगरीय प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोली दरबारमार्ग पुग्दा एक चिनियाँ नागरिक झू लियाङयाङ पैसा निकाल्दै गर्दा फेला परे । खानतलासी गर्दा उनीसँग २० थान नक्कली एटिएम कार्ड र भर्खरै निकालिएको रु ४५ हजार फेला परेपछि एटिएम बुथ नै ह्याक गरेर करोडौँ रकम लैजान लागेको रहश्य खुल्यो । यो काम एक्लैले गर्न सक्दैन भन्ने लागेर प्रहरीले खोजी थाल्यो । उनीसँग भएको साँचोको आधारमा प्रहरीले होटल पत्ता लगाएको थियो । नेपाली र अङ्ग्रेजी नबुझ्ने भएकाले ट्रान्सलेटर मगाएर प्रहरी होटलमा पुगेको थियो । घटनाबारे प्रहरी नायब उपरीक्षक बोगटीले भने, “साँचोको आधारमा हात्तीसारस्थित माया–मनोहर बुटिक होटलमा पुगेर एक्सन नलिएको भए ह्याकरको ठूलो गिरोह करोडौँ रुपैयाँ लिएर फरार हुनसक्थ्यो ।” उनको बयानको आधारमा अन्य चार जनालाई प्रहरीले होटलबाटै पक्राउ गर्न सफल भयो । हात्तीसारस्थित माया–मनोहर बुटिक होटलको कोठा नं २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा अन्य ह्याकर भाग्दै गर्दा पक्राउ परेका थिए । होटलको लिफ्टमा फेला परेका उनीहरुको साथबाट उक्त सामान बरामद भएको थियो । “हामी जुन लिफ्टबाट छ तलामाथि चढ्यौँ, उनीहरु त्यही लिफ्ट कुरेर झर्न लाग्दै रहेछन्, उनीहरु हतासमा थिए, झोला बोकेर भाग्न खोजेको जस्तो देखियो, अनि लिफ्टमा चढ्नलाग्दा रोक्यौँ, जाँच गर्दा सबै गिरोह एकैठाउँमा भेटियो”, प्रहरी नायब उपरीक्षक बोगटीले भने । केही सेकेण्ड मात्रै ढिला भएको भए चार जना फरार हुने प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राहदानी नम्बर १९३७५५८ का झू लियाङ्याङ, राहदानी नं ०९५५२६३७४ का लुओ जियालेइ, राहदानी नं ३२३७७७१३ का लिन जियानमेङ, राहदानी नं ०२७७६५० किऊ युनकिङ र राहदानी नं ८९०५६८२५ का चेन विनविन रहेका छन् । “सबै काम समयमै हुँदा गिरोहबाट ठूलो क्षति बचाइयो”, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले रासससँग भन्नुभयो । नक्कली भिषाकार्ड प्रयोगबाट विभिन्न बैंकहरुको डाटा ह्याक गरेर एटिएम बुथबाट एकै दिनमा करोडौँ रकम निकाल्ने गिरोह यसरी नेपाल प्रवेश गरेको थिएन । यस्तो प्रकृतिको घटना नभएकोसमेत परिसरले जनाएको छ । “यसअघि सामान्य खालको एटिएमबाट पैसा चोरी भएको थियो, यस्तो गम्भीर प्रकृतिको घटना पहिलोपटक देखियो”, सुवेदीले भन्नुभयो । उहाँका अनुसार ह्याकरले व्यक्तिको पैसाभन्दा बैंकको पैसा निकाल्नुले पनि उनीहरुको योजना धेरै रकम निकाल्नु रहेको देखिएको छ । उनीहरुले नबिल बैंकको बुथ प्रयोग गरेर प्रभुसँगै एनआइसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबललगायत बैंकको रकम निकालेको प्रहरीले जनाएको छ । धेरै नबिल बैंक प्रयोग गरेको देखिएको भन्दै प्रहरीले अन्य बैंकसमेत प्रयोग गरेको हुनसक्ने बताएको छ । प्रहरीले उनीहरुबाट रु एक करोड २६ लाख २९ हजार ४५, नौ हजार १०८ अमेरिकी डलर, एक हजार १९१ युआन, २५० युरो, पाँच हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, १३२ थान नक्कली भिसाकार्ड, १७ थान सक्कली भिसाकार्ड, एक थान कार्ड प्रिन्टर मेसिन, छ मोबाइल तथा ल्यापटप, डाटा कार्डलगायत बरामद गरिएको छ । उनीहरुलाई बैंकिङ्कसुरअन्तर्गत आजै अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । उक्त कसुरअन्तर्गत तीन वर्ष कैद, बिगोबराबरको जरिवाना र क्षतिपूर्तिको व्यवस्था रहेको छ । ह्याकरहरु भदौ १३ गते चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेका थिए । सोमबार गते फर्कने योजनामा रहेका ह्याकरले नेपालमा बिदाको दिन पारेर एटिएम बुथ ह्याक गर्ने योजना बनाएका थिए । उनीहरुले विदेशमै बसेर योजना बनाउने गरेको खुलेको छ । यसअघि उनीहरु कम्वोडिया गएकोसमेत खुल्न आएको छ । अनुसन्धानका क्रममा उनीहरुले बिदाको दिनलाई उपयोग गर्ने गरेको पाइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताए । प्रारम्भिक बयानमा उनीहरुले होटलको बारमा काम गर्ने जानकारी दिएको बताउँदै प्रहरीले विस्तृत कुरा भने अनुसन्धानपछि मात्रै थाहा हुने बताएको छ । रासस

१६.५% सम्मले घट्यो म्युचुअल फण्डको एनएभी, लाभांश घोषणा र बजार गिरावटको असर

काठमाडौं । लाभांश घोषणा र बजार गिरावटको कारणले म्युचुअल फण्डहरुको प्रतिइकाई खुद मूल्यमा उच्च गिरावट देखिएको छ । सोही कारणले साउन महिनामा अघिल्लो महिनाको तुलनामा एनएभीमा १६.५ प्रतिशतसम्मको गिरावट देखिएको हो । बजारमा सञ्चालित १६ म्युचुअल फण्डहरुमध्ये सो अवधिमा १५ ओटा म्युचुअल फण्डको एनएभीमा गिरावट देखिँदा सीआईबीएल क्यापिटलको सिटिजन म्युचुअल फण्ड १ को एनएभीमा मात्रै सुधार देखिएको हो । यद्यपि लाभांश घोषणा भएका एनएमबि क्यापिटलको एनएमबि सुलभ फण्ड १ र एनएमबि हाइब्रिड फण्ड १ को एनएभीमा घोषित लाभांशभन्दा कममात्रै गिरावट आएकोले समग्रमा साउन महिनामा यी दुई फण्डहरुको प्रगति समेत सकारात्मक देखिएको छ । लाभांश घोषणा भएका बाँकी ५ म्युचुअल फण्डहरुको भने घोषित लाभांशको दरभन्दा उच्च दरमा एनएभीमा गिरावट देखिएको छ । एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेले म्युचुअल फण्डहरुको घोषित लाभांशलाई एनएभीमा समावेश नगरी छुट्टै रिजर्भमा राख्नुपर्ने भएकोले यसरी एनएभी घटेको देखिए पनि समग्रमा एनएमबिको सबै फण्डहरुको प्रगति सकारात्मक देखिएको बताए । लाभांश घोषणा नगरिएका फण्डहरुमध्ये सबैभन्दा बढी लक्ष्मी क्यापिटलको लक्ष्मी भ्यालु फण्डको एनएभी सर्वाधिक ३.१४ प्रतिशतले घटेको छ । साउन १ गते शेयर बजार परिसूचप्से १२५९.०२ अंकबाट कारोबार सुरु भएकोमा साउन मसान्तमा आइपुग्दा १२२४.०४ अंकमा बन्द भएको थियो । समग्र बजार घटेको परिदृष्यमा अधिकांश म्युचुअल फण्डहरुको मूल्यमा गिरावट देखिएको हो ।

एनआईसी एशिया बैंकको एटीएम सेवा पुनः सुचारु

काठमाडौँ । एनआईसी एशिया बैंकको एटीएम सेवा सुचारु भएको छ । प्राविधिक कारणवश आइतबार केही समयका लागि एटीएम सेवा अवरुद्ध भएकोमा हाल सुचारु भएको बैंकले जनाएको छ । सेवा संचालनमा आएसंगै बैंकको कार्ड बाहकहरुले एनआईसी एशिया बैंकको एटीएम तथा पीओएस मेशिनमा प्रयोग गरी कारोबार गर्न सक्ने जनाइएको नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जनाएका छन् ।

पञ्चकन्याले मनायौ ४७औं वार्षिकोत्सव मनायो

काठमाडौँ । पञ्चकन्या ग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८९औं जन्मोत्सव भदौ १५ गते एक कार्यक्रमको आयोजना गरी मनाएका छ । सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाईल, एसएस वाटर ट्याङ्क, एलजिएस, रेडिमिक्स कंक्रिट, बिटुमिन तथा हेभि इक्विपमेन्टका डिलरहरुलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो । त्यसैगरी राम्रो कार्य गर्ने कर्मचारीहरुलाई प्रसंशा–पत्र, पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित गरियो । उक्त कार्यक्रममा  ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले पञ्चकन्याको विगत र हालसम्मको औद्योगिक यात्रा तथा बजारमा निरन्तर गुणस्तरीय उत्पादन ल्याउन सक्षम रहेकोबारे आफ्नो अनुभव सुनाए ।

‘दशैमा डबलको डबलको डबल’ अफर, आइएमईमा पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कायम हुने गरी ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो । अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । अफर सार्वजनिक कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढ्ने विश्वास व्यक्त गरे । त्यस्तै आइएमईका ब्राण्ड एम्बासडर दीपक राज गिरिले आइएमई र आइएमईका सेवाग्राहीहरूवीचको प्रगाढ सम्बन्धले नै आइएमईलाई एक सफल व्यवसायीक ब्राण्ड बनाएको उल्लेख गर्दै यो दशैँमा आइएमईले ल्याएको खुसीलाई डबलको डबलको डबल गरौँ स्कीम त्यो सम्बन्धलाई थप प्रगाढ बनाउन सफल हुने विश्वास व्यक्त गरे । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरू स्वत सहभागी बन्ने छन् । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न गरिने जनाइएको छ ।

गण्डकी विकास बैंकद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले भरतपुर महानगरपालिका वडा नं.११, भोजाड, नयाँकिरणटोलमा रहेका नयाँकिरण माध्यमिक विद्यालयमा शैक्षिक समाग्री वितरण गरेको छ । कक्षा १ देखि १० सम्मका करिब ५५० विद्यार्थी मध्ये २० जना गरिब, जेहेन्दार, टुहुरा, दलित बिद्यार्थीहरुलाई विद्यालय परिसर मै कापीकिताब राख्ने झोला, कपी, कलम, पेन्सिल, साबुन वितरण गर्ने कार्य सम्पन्न गरेको हो । बैंकका नारायणगढ कलस्टर प्रमुख, नायबप्रबन्धक सुरज शर्मा, भमनपा-११, भोजाड शाखाका शाखा प्रमुख केशबराज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डे, विद्यालयका प्रधानध्यापक रामेश्वर अधिकारी लगायतले संयुक्त रुपमा एक शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

आशा लघुवित्त चौथो वर्षमा, झण्डै २ अर्ब कर्जा प्रवाह, ५१ करोड निक्षेप संकलन

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लि. भदौ १५ गते तेश्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा वित्तीय संस्थालेविभिन्न कार्यक्रमहरु संचालन गरेको छ । तेश्रो बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वित्तीय संस्थाद्वारा ककनी-६, नुवाकोटमा निमार्णाधीन रहेको मानेडाँडा मरण पाटी निर्माणार्थ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा स्थानीय निकायका प्रतिनिधि, बासिन्दा, तथा सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सो अवसरमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले वित्तीय संस्थाले तेश्रो बर्ष पार गरी चौथो बर्षमा प्रवेश गरेकोमा खुशी ब्यक्त गर्दै संस्थालाई यस उचाईमा ल्याउनका लागी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने नियामक निकाय, संचालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ताहरु, सम्पुर्ण कर्मचारीहरु लगायत स्थानिय समुदायलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा राखे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा विद्यालयका अध्यक्ष ज्ञानबहादुर लामा, वित्तीय संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडा, दिपेन्द्र खनाल तथा कमल खत्री एवं शाखा कार्यालय मदानपुरका प्रबन्धक बन्धना पौडेल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो। वित्तीय संस्थाका देशभरी रहेका ५५ वटा शाखा कार्यालयहरुमा पनि तेश्रो वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । हाल संस्थाले आफ्ना ४६ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै रु. १ अर्ब ९७ करोड भन्दा बढी कर्जा प्रवाह गर्नुका साथै ५१ करोड निक्षेप संकलन गरेको जनाएको छ ।

राष्ट्र बैंकको तथ्यांक : मुल्यवृद्धि निकै कम, मौद्रिक क्षेत्र नियन्त्रणमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् लिएका मौद्रिक लक्ष्यहरुलाई भेट्टाउन सफल भएको जनाएको छ । बैंकले प्रकाशन गरेको गत आर्थिक वर्षको मौद्रिक स्थितिसम्बन्धी तथ्यांकमा त्यस्तो अवस्था देखिएको हो । मुद्रास्फीति, आन्तरिक कर्जा तथा निक्षेपको वृद्धि, विस्तृत मुद्राप्रदाय, र विदेशी मुद्रा सिञ्चितिका लागि बैंकले तय गरेको लक्ष्यनजिक नै तथथ्यांकहरु देखिएका छन् । ६.५ प्रतिशतको सीमामा मुद्रास्फीतिलाई कायम गर्ने सरकारी लक्ष्य कि सहज तरिकाले पूरा भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को मौद्रिक आर्थिक तथा वित्तीय स्थितिमा सो वर्ष उपभोक्ता मुद्रास्फीति दर ४.६ प्रतिशतमा सीमित रहेको देखिएको हो । सो मुद्रास्फीति दरमध्ये पनि खाद्य तथा पेय पदार्थमा भएको मूल्यवृद्धिको दर २.७४ प्रतिशत र गैरखाद्य वस्तुहरुको मुद्रास्फीति दर ५.२६ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकले सो वर्ष मौद्रिक स्थिति समेत सन्तुलित भएको तथ्यांक निकालेको छ । जेठ मसान्तसम्म २०.६ प्रतिशत रहेको आन्तरिक कर्जाको विस्तार असार मसान्तमा आइपुग्दा २०.१ प्रतिशतको वार्षिक विन्दुगत दरमा झरेको छ, जुन राष्ट्र बैंकले लिएको २० प्रतिशतको लक्ष्यभन्दा ०.१ प्रतिशतले मात्रै बढी हो । त्यस्तै, २१ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिइएको निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर १९.१ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । १८ प्रतिशतको विस्तृत मुद्राप्रदाय वृद्धिको सीमा १५.४ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार देशको निर्यात वृद्धिदर बढ्दो क्रममा र आयात वृद्धिदर घट्दो क्रममा छ, यद्यपि ठूलो आयात र निर्यातको ठूलो अन्तरले गर्दा व्यापारघाटा आयातभन्दा नगन्यमात्रैले कम देखिएको छ । असार मसान्तसम्मको तथ्यांकमा आयात निर्यात अनुपात १४.६१ः१ छ अर्थात् १ रुपैंया बराबरको निर्यात गर्दा १४.६१ रुपैंया बराबरको आयात हुने गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा देशसँग कुल ७.८ महिनालाको वस्तु तथा सेवा आयात धान्न विदेशी मुद्र सिञ्चिति रहेको जनाएको छ जुन ८ महिनाको भन्दा केही कम हो । यो वर्षमा यो लक्ष्य ७ महिनामा सीमित गरिएको छ । नेपाल राष्ट्र बैंकले देशभित्र भित्रने कुल रेमिट्यान्समा १६.५ प्रतिशतले वृद्धि भएर ६८९.२७ अर्ब पुगेको जनाएको छ । कुल शोधनान्तर घाटा भने ६७ अर्ब ४० करोडमा सीमित गरहेको समीक्षामा उल्लेख छ ।