अख्तियारको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने ५ जना पक्राउ
काठमाडौं। अख्तियारको दुरुपयोग गरी व्यक्तिगत लाभलिने ५ जना अख्तियार दुरपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। घुस,नक्कली शैक्षिक प्रमाणपत्र र रकम हिनामिनाको आरोपमा अख्तियारले कन्चनपुर, कपिलवस्तु, रुपन्देही, नवलपरासी र पर्वत जिल्लाका एक एक जना विरुद्द बिशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले मुद्दा दायर गरेकामा सेवाग्राहीलाई भारतबाट ल्याएको सामन जफत गर्दिने भन्दै धम्काउँदै घुस माग्दै आएको आरोपमा रुपन्देहीका अनुसन्धान सहायक विरेन्द्र पाण्डे, शैक्षिक प्रमाणपत्र नक्क्ली भएको आरोपमा कन्चनपुरका निजी विद्यालयका शिक्षक नन्दलाल तिरुवा र कपिलवस्तुका प्रहरी नायब सुरेश बहादुर थापा, नवलपरासीको नाला निर्माण योजनामा सम्झौता अनुसारका काम नगरी रकम हिनामिनाको आरोपमा सब-ईन्जिनियर भिमदेव भट्टराई र अन्य व्यक्तीको नाममा रकम निकालेको आरोपमा पर्वत जिल्लाका गाउँ बिकास समितीका कार्यलय सचिव लील प्रसाद श्रेष्ठ परेका छन्।
म्युचुअल फण्डकाे प्रतिफल शेयरको भन्दा बढी, दोस्रो बजारमा किन्नेलाई झन् फाइदा
काठमाडौं । म्युचुअल फण्डहरुले यो वर्षको लागि धमाधम लाभांश घोषणा गर्न थालेका छन् । आर्थिक वर्ष २०७५/७६ को कारोबारबाट फण्डहरुले आफ्ना इकाईधनीहरुका लागि लाभांश घोषणा गर्न थालेका हुन् । हालसम्म ८ ओटा कम्पनी ७७ करोडको लाभांश घोषणा गरिसकेका छन् । घट्दो बजारसँगै घट्दो प्रति इकाई खुद मूल्य (एनएभी)का बाबजुद पनि म्युचुअल फण्डहरुको लाभांश दरभने उच्च देखिएको छ । एनएभी घटेसँगै बजार मूल्य समेत घटेर अधिकांश इकाईको मूल्य अंकित मूल्यभन्दा कम भएको अवस्थामा समेत ती फण्डहरुले दोहोरो अंकमा लाभांश वितरण गर्दा इकाईधनीहरु लाभान्वित भएका छन् । हालसम्म बजारका ८ फण्डहरुले अघिल्लो वर्षको नाफाबाट लाभांश दिएका छन् जसमध्ये लक्ष्मी भ्यालु फण्ड र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डले १५/१५ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ११ प्रतिशत, एनएमबी हाइब्रिड फण्ड, एनआईशी एशिया ग्रोथ फण्ड र सानिमा इक्विटी फण्डको १०/१० प्रतिशत, सिटिजन म्युचुअल फण्डको ७ प्रतिशत र एनआईबीएल समृद्धि फण्डले ६.५ प्रतिशत लाभांश दिने घोषणा गरेका हुन् । साधारणसभा गर्नुपर्दैन, तत्कालै नगद म्युचुअल फण्डहरुले घोषणा गरेको लाभांश वितरण गर्न अन्य कम्पनीहरुको जस्तो साधारणसभा गर्नुपर्दैन । लेखापरीक्षकले लेखापरीक्षण गरेको विवरणलाई नियामक नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि तत्कालै इकाईधनीहरुको खातामा नगद पठाउन सकिन्छ । यसैले गर्दा इकाईधनीहरुले छोटो समयमै लाभांश पाउनसक्ने एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरे बताउँछन् । उनले म्युचुअल फण्डहरुले दशैंलाई लक्षित गरेर लाभांश घोषणा गरेको भन्दै हालसम्म लाभांश घोषणा गरेका फण्डहरुलाई दशैंसम्म लाभांश वितरण गर्न कुनै कठिनाई नहुने समेत बताए । शेयरमा भन्दा बढी फाइदा घट्दो बजारका बाबजुद पनि दोहोरो अंकको लाभांश दिएका फण्डहरुको लाभांशको स्थिति हेर्दा त्यस्ता इकाईहरुको प्रतिफल शेयरको भन्दा बढी देखिएको छ । अंकित मूल्यभन्दा बजारमूल्य कम भएको अवस्थामा दोस्रो बजारबाट इकाई किन्नेहरुको वास्तविक प्रतिफल तोकिएको प्रतिफलभन्दा धेरै हुने अवस्था देखिन्छ । हाल शेयर बजारका अधिकांश कम्पनीको मूल्य आम्दानी अनुपात समेत कम भएको अवस्थामा दोहोरो अंकमा लाभांश दिने इकाईहरुको वास्तविक लागत १० प्रतिशत भन्दा पनि बढी देखिएको हो ।
डेङ्गु र स्क्रबटाइफसबाट चितवनमा चारको मृत्यु
चितवन। डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेङ्गुको कारण मृत्यु भएको हो । रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिए। । दुवै रोगको सङ्क्रमण बढ्दो छ । जिल्लाका अस्पतालमा साउनयता एक हजार ९०८ जनाको डेङ्गु परीक्षण गर्दा ६२३ जनामा सङ्क्रमण देखिएको केसीले बताए। जसमध्ये ४५५ जना चितवनका रहेका छन् । यसमध्ये पनि ४१४ जना भरतपुर महानगरपालिकाका रहेको उहांँको भनाइ थियो। महानगरमा सङ्क्रमण बढ्दै गएपछि सचेतनाका कार्यक्रमलाई तीव्र पारिएको छ । जसअन्तर्गत गत शनिबार सचेतना ¥याली निकालिएको थियो । दैनिक माइकिङ गर्ने, लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने जस्ता कार्य वडा तहसम्म भइरहेको महानगरले जनाएको छ । केसीका अनुसार स्क्रबटाइफसका बिरामीको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । सङ्क्रमण बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पताल भरिएका छन् ।
तीन दाताबाट साढे ११ अर्ब अनुदान सहयोग
काठमाडौं । विकास साझेदाबाट प्रदेश तथा स्थानीय तहको शासकीय सुधार कार्यक्रमको लागि करिब साढे ११ अर्ब रुपैयाँ अनुदान सहयोग प्राप्त हुँदैछ । नेपालको शासकीय सुधारको लागि तीन विकास साझेदारले उक्त रकम सहयोग गर्न लागेका हुन् । भोलि बुधबार बेलयती अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआईडी), स्वीस र नर्वेले संयुक्त रुपमा नेपाल सरकारलाई उक्त वित्तीय अनुदान सहायता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । उक्त रकम बजेटरी सहायता अन्तर्गत अनुदाने हो ।
नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा
काठमाडौं। आइ.एम.इ को मुख्य प्रायोजनमा चाहना मीडिया प्रा.लि.द्वारा उत्पादित हाल टेलिकाष्ट भइरहेको नेपालको सबैभन्दा ठूलो अर्गानिक रियालिटी शो आइ.एम.इ.नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगितिक प्रतिस्पर्धा हुने भएको छ । रियालिटी शोमा कुल ३६ शृंखला निर्माण गरिनेछ ।आफ्नै मौलिक संगीतलाई अन्र्तराष्ट्रिय ढाँचामा ढाली नेपाली ब्राण्डमा बनेको यस शोमा करिब १० करोड रुपैंया लागत रहेको छ । ७ प्रदेशका मुख्य सहरहरु धनगढी , सुर्खेत , बुटवल , जनकपुर , इटहरी , पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिशनमाहरेक सहरबाट ५० प्रतियोगी छनोट गरी कूल ३५० जना प्रतिस्पर्धीहरु छनोट भएका थिए। छनोट भएका ३५० प्रतिस्पर्धीमध्ये १०९ जनाले निर्णायकअडिशन प्रवेश गरे , जसमा निर्णायकहरुले फेरी पनि एपिसोड ९ मा शीर्ष २५ प्रतिस्पर्धीहरु छनोट गरेका थिए । एपिसोड ११ मा शीर्ष २५ मध्ये २० जना भोटिङ राउन्डबाट छनोट भएका थिए । यस कार्यक्रमको एपिसोड १३ मा फेरी टप १६ छनोट भएका थिए , एपिसोड १५ मा २ जना बाहिरिएका थिए भने एपिसोड १७ मा थप २ प्रतिस्पर्धीहरु बाहिरिएका थिए । एपिसोड १८ सम्म कुल १२ प्रतिस्पर्धीहरुको यात्रा सफल रह्यो ।भोटिङ राउन्डबाट छनोट हुँदै एपिसोड २० मा टप ११ बाट प्रतिस्पर्धी भीम नेपाली बाहिरिएका छन्। टप–टेनमा छनोट हुन सफल भएका प्रतिस्पर्धीहरु बिनोद दनुवार (उदयपुर) , चेतन गोतामे (स्याङजा) , दीपेन्द्र राइ (भोजपुर) , मुना अर्याल (चितवन) , पबिन्द्र सुनार (बाजुरा) , प्रभुराज पाण्डे (बाजुरा) , रामकुमार नेपाली (रामेछाप) , रविराज शाह (सर्लाही ),शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) रहेका छन्। प्रत्येक बिहिबार र शुक्रबार बेलुकी ८ः३० बजे ए.पी.वान एच.डी. र डिशहोम रमाइलोमा प्रसारण भइरहेको आइ.एम.इ.नेपाल लोक स्टारको प्रथम पुरस्कार रु. ५० लाख रहेको छ , द्वितीय पुरस्कार रु. २५ लाख रहेको छ भने तृतीय पुरस्कार रु.१० लाख रहेको छ । साथै तिनै विजेताहरुलाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था पनि रहेको छ । कार्यक्रमका निर्णायकहरु सुनिता दुलाल, जयनन्द लामा, रामजि खाँड र बि.बि. अनुरागी रहेका छन्।डिशहोमको अशोसिएसन ,सगरमाथा सिमेन्टद्वारा संचालित , लिट्मस केबलद्वारा विद्युतीय अनुरक्षण र दिव्य कुकिङ ओयलद्वारा सह–प्रायोजित यस कार्यक्रमका भोटिङ पार्टनर आइ.एम.इ पे र ब्यान्किङ पार्टनर कृषि विकास बैंक रहेका छन् ।
सुन तोलामा ५०० ले बढ्यो , ७२ हजार ५ सयमा कारोबार
भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० ले वृद्धि भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । यसअघि तेजाबी सुन प्रतितोला रु ७१ हजार ७०० मा कारोबार भएको थियो । सुनको मूल्य वृद्धि भएसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको देखिएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धिभई ८९५ पुगेको छ । पछिल्लो १५ दिनमा सुनको मूल्य चार पटक बढेको छ भने दुई पटक घटेको छ । सो अवधिमा सुनको मूल्य प्रतितोला रु दुई हजार ५०० ले वृद्धि भएको छ । भदौ १ गते छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७०० कायम भएको थियो । साउन महिनाको शुरुवातदेखि नै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो । साउन महिनामा मात्रै सुनको मूल्य करिब रु सात हजार ५०० ले वृद्धि भएको थियो । बढ्दो क्रममा रहेको चीन–अमेरिका व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैङ्कद्वारा ब्याजदरमा कटौतीलगायत कारणबाट विश्वबजारमा सुनको मूल्य प्रभावित भइरहेको छ । पछिल्लो समय अमेरिका र चीनले एकअर्का देशका उत्पादनमा थप कर वृद्धिको घोषणागरेसँगै सुनको मूल्य झन् प्रभावित हुने आकलन गरिएको छ । रासस
शुरू भयाे विद्युतीय सवारीको युग, सञ्चालनमा आयाे सुन्दर यातायातको चार्जिङ स्टेशन
काठमाडौं । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएकाले त्यसलाई सदुपयोग गर्ने र विद्युत् खपत बढाउने लक्ष्य राखिएको छ । विद्युत् खपत बढाउनका लागि राजधानी काठमाडौंलगायत प्रमुख शहरमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने र घरायसी रुपमा खाना पकाउने एलपी ग्यासको विस्थापन गर्दै जाने नीति सरकारको छ । सरकारको सोही नीतिलाई सम्बोधन गर्ने लक्ष्यका साथ निजी क्षेत्रले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको यातायात सेवा प्रदायक संस्था सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन सञ्चालनमा मात्रै ल्याएको छैन यही भदौ २३ गतेदेखि राजधानीमा चार वटा विद्युतीय बसबाट सेवा दिने तयारीसमेत गरेको छ । चार्जिङ स्टेशनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले देशबाट पेट्रोलियम पदार्थको आयात क्रमशः घटाउँदै देशभित्रै उत्पादन हुने विद्युत्को खपत बढाउने लक्ष्य राखिएको बताए । चालू आवको अन्त्यसम्म राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीलगायतका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनेछ । यस्तै रसुवागढी, साञ्जेनलगायतका आयोजनाका अलावा निजी क्षेत्रका एक दर्जन बढी आयोजनासमेत सम्पन्न हुने छ । ती आयोजना सम्पन्न भएपछि विद्युत् खेर जाने सम्भावनालाई मध्यनजर गरेर सरकारले विद्युत् खपत बढाउने नीति तथा कार्यक्रमसमेत सञ्चालनमा ल्याएको सचिव घिमिरेको भनाइ छ । सचिव घिमिरेले भने “उत्पादित सबै विद्युत् प्रयोग होओस् भन्ने लक्ष्यका साथ विद्युतीय सवारी साधनको अलावा खाना पकाउने एलपी ग्यासको विस्थापन गर्दै जाने लक्ष्य राखिएको छ ।” ऊर्जामन्त्री वर्षमान पुनले गत फागुनमा गठन गरेको कार्यदलले गत बुधबार मात्रै प्रतिवेदन बुझाएको छ । मन्त्रालयका सहसचिव प्रविणराज अर्याल संयोजकत्वको समितिले नेपाल विद्युत् प्राधिकरणबाट लोड स्वीकृति लिई विद्युतीय सवारीका लागि चार्जिङ स्टशेन निर्माण गरी सञ्चालनमा ल्याउन सक्ने व्यवस्था गरेको छ । “विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउँदै पेट्रोलियम पदार्थको आयात घटाएर व्यापार घाटा घटाउनेसमेत सरकारको लक्ष्य छ । खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको आयात मात्रै घटाउन सकिए भुक्तानी सन्तुलन र व्यापार घाटा घटाउनमा मद्दत पुग्छ” सचिव घिमिरेले भने । सुन्दर यातायाताका अध्यक्ष भेषबहादुर थापाका अनुसार आज उद्घाटन भएको चार्जिङ स्टेशन सञ्चालनमा आएपछि एकै पटक छ वटासम्म सवारी साधन चार्ज गर्न सकिन्छ । उनका अनुसार चक्रपथमा दैनिक गुड्ने डिजल गाडीले रु चार हजार बराबरको इन्धन खपत गर्छ भने विद्युतीय सवारी साधनले मात्रै रु सात सय बराबरको विद्युत् खपत गर्छ । त्यसबाट यातायात थप सरल र सस्तो बन्न जान्छ । उनका अनुसार प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय बस चार्ज गर्ने व्यवस्था मिलाइएको छ । प्राधिकरणबाट थ्री फेज लाइन विद्युत् लिइएको छ । सार्वजनिक रुपमा चल्ने अन्य यातायातका लागि भने स्वीकृति लिएपछि मात्रै चार रुपैयाँ ८० पैसासम्म लिन सकिनेछ । लामो समयको प्रयासपछि आफूहरुले वातावरण मैत्री बस सञ्चालनमा ल्याउन लागिएको जानकारी दिँदै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री पुनको योजना अब व्यावहारिक रुपमा कार्यान्वयनमा जान लागेको बताए । “सरकारको योजनालाई कार्यान्वयन गर्न पाउँदा हामीलाई असाध्यै खुसी लागेको छ । तर केही कानूनी र नीतिगत रुपमा थप प्रष्टताको जरुरी छ । त्यसका लागि मन्त्रालयले आवश्यक समन्वय गरिदिनेछ भन्ने मैले विश्वस लिएको छु” उनले भने । कूल रु एक करोड ६२ लाख पर्ने विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको जानकारी दिँदै उनले महङ्गो सवारी साधनले लागत उठाउँछ त भन्ने धेरैको जिज्ञासा रहेपनि आगामी छ वर्षभित्र आफूहरु नाफामा जान सक्ने अवस्था रहेको जानकारी दिए । विद्युतीय सवारी साधनको मर्मत तथा सञ्चालन खर्च कम पर्ने भएकोले आम नेपाली त्यसैमा अभ्यस्त हुने विश्वास उनको छ । सो संस्थाले सुकेधारा र सीतापाइलामा पनि चार्जिङ स्टेशन निर्माण गरिसकेको छ । सोही संस्थाले निकट भविश्यमा नै प्रदेश नं ५ को बुटवल र प्रदेश नं १ को विराटनगरमा समेत विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । ऊर्जामन्त्री पुनले गठन गरेको कार्यदलका संयोजकसमेत रहेका सहसचिव अर्यालले निजी क्षेत्रबाट विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरिनु आफैंमा सकारात्मक र स्वागतयोग्य कदम भएको बताए । “सेवा विस्तार तथा सार्वजनिक सवारी यातायातमा थप सरल र सस्तो पर्न जान्छ । यसले आम नागरिकलाई समेत राज्यप्रतिको विश्वास बढाउनेछ” उनले भने । उक्त चार्जिङ स्टेशनमा न्यूनतम चार घण्टामा सवारी साधन पूर्णरुपमा चार्ज हुने इञ्जिनीयर तिलक गिरीको भनाइ छ । “हामीले सञ्चालनमा ल्याएको चार्जिङ मेशिन सुपर चार्जिङ मेशिन पनि भएकाले सबै प्रकारका विद्युतीय सवारी साधनका लागि उपयुक्त हुन्छ,” गिरीले भने । सरकारले भने रातीको समयमा खेर जाने विद्युत्को बढीभन्दा बढी सुदपयोग गर्न विद्युतीय सवारी साधन उपयुक्त हुने निष्कर्ष निकालेको छ । सरकारले साझा यातायातलाई ३०० वटा विद्युतीय बस खरिदका लागि रु तीन अर्ब बजेटसमेत विनियोजन गरिसकेको छ । प्राधिकरणले पहिलो चरणमा ३० वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ । सोही तयारीका लागि मन्त्री पुनलाई बुझाएको कार्यदलको प्रतिवेदनसमेत प्राधिकरण पुगी सकेको छ । प्राधिकरणले अब चार्जिङ स्टेशन सञ्चालनका लागि लोड स्वीकृतिलगायतका अन्य काम पनि पूरा गर्ने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार निकट भविश्यमा नै अन्य नीतिगत निर्णय गर्ने र आक्रामक रुपमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माण हुनेछन् । त्यसो त प्राधिकरण र साझा यातायातबीच पनि चार्जिङ स्टेशन निर्माण गर्ने सम्बन्धी समझदारीपत्रमा यसअघि नै हस्ताक्षर भइसकेको छ । रासस
रिचार्जरको ग्याजेट्स बिग सेलमा ४९९ रुपैंयामा मोबाइल, एनआईसी एशियासँगको सहकार्यमा भारी छुट
काठमाडौं। मोबाइल एप रिचार्जरले सञ्चालन गरिरहेको ग्याजेट्स मेलामा ४९९ रुपैंयामा मोबाइल अफर सुरु चल्ने भएको छ । रिचार्जरका एक जना प्रयोगकर्ताले एउटा मात्र मोबाइल ४९९ रुपैंयामा खरिद गर्न सक्ने छन् । उपभोक्ताले भदौ १९ गते बिहिबारका दिन रिचार्जर एपबाट ४९९ रुपैंयामा मोबाइल खरिद गर्न सक्नेछन्। बिहिबार मध्यान्ह १२ बजेदेखि सुरु हुने अफर ४ घण्टासम्म चल्नेछ । रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार ४ घण्टा अवधिका लागि १० हजार थान मोबाइल बिक्री हुने अपेक्षा गरिएको छ । साथै एनआईसी एशिया बैंकसँगको सहकार्यमा रिचार्जरले वान प्लस सेभेन मोबाईल बुकिङ गर्दा १० प्रतिशतसम्मको क्यास व्याक दिने योजना पनि रिचार्जरले ल्याएको छ । योजना अनुसार एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट वान प्लस सेभेन मोबाइलको रकम भुक्तान गर्दा १० प्रतिशत रकम ४८ घण्टा भित्रमा सेवाग्राहीको बैंक खातामा नगद फिर्ता हुने एनआईसी एशिया बैंकले जनाएको छ । अन्य फोन पे एपहरुबाट उक्त मोबाइलको रकम भुक्तान गर्दा ५ प्रतिशत रकम तत्काल बैंक खातामा फिर्ता हुने रिचार्जरले जनाएको छ । त्यसै गरी रिचार्जरले पनि उक्त मोबाइल किन्दा ५ प्रतिशत रकम बराबरको क्यास व्याक प्वाइन्ट रिडिम गर्न सकिने व्यवस्था मिलाएको छ । साथै रिचार्जरबाट सामसुङ नोट १० र नोट १० प्लस मोबाइल शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ । ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले केही समय अघि मात्र अपडेट गरिएको एपबाट सहज रुपमा आवश्यक उपकरणहरु खरिद गर्न सकिने बताए । भदौ ११ गतेदेखि चलिरहेको ग्याजेट्स मेलामा अफर भित्र अफर अन्तरगत सेवाग्राहीले सरप्राईज गिफ्टह्याम्पर पाउने छन् । अफर भित्र अफर सहित ५० प्रतिशतसम्मको छुटका साथै क्यास प्वाइन्ट रिडीम् गरी मेलामा सुलभ मुल्यमा सामान किन्न सकिन्छ । विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना सहित रिचार्जरले ग्याजेट्स मेला सञ्चालन गरेको हो । मेलामा सस्तो मुल्यामा मोबाईल तथा ईलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने रिचार्जरले जनाएको छ । सबै अफरमा सहभागि हुनका लागि सेवाग्राहीले एण्ड्रोइड तथा आईफोनमा रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालनमा ल्याउनु पर्ने हुन्छ । मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटर लगायतका उपकरणहरु शुन्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिने छ । नजिकिदै गरेको दशै तथा तिहारको अवसर पारेर रिचार्जरले जीप कम्पनिको हरेक गाडीको खरिदमा १ लाख क्यास व्वाइन्ट समेत उपलब्ध गराउने भएको छ । यसका साथै रिचार्जर एप डाउनलोड गरी खाता खोली कारोबार गर्ने मध्येबाट एक जनालाई रिचार्जरले सामसुङको ए ट्वान्टी मोबाइल बितरण गर्ने भएको छ । यही भदौ २९ गते १६ः३० बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर एप डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्काल १०० क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो, त्यति नै त्यति नै क्यास प्वाइन्ट पाइन्छ । विभिन्न किसिमका सेवाहरुको बिल भुक्तान गर्द पनि २० प्रतिशतसम्मको क्यास प्वाइन्ट पाइन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा रिडीम गरी प्रयोग गर्न सकिन्छ । केही समय पछि यस्तो क्यास प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिने छ ।