तातोपानी नाका सञ्चालनमा आएसँगै बढ्यो अवैध सामग्रीको ओसारपसार
मेलम्ची । चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा तस्कर सक्रिय हुन थालेका छन् । चार वर्षपछि खुलेको नाकामा सीमाक्षेत्रको बाटो भएर तस्कर सक्रिय हुन थालेको पाइएको छ । भूकम्पपछि बन्द भएका बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले नाका खोल्न आनकानी गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महिना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास भएको छ । केही दिनयता मात्रै नेपालको बाटो हुँदै तातोपानी नाकाबाट चीन लैजान लागिएको ८३ किलो रक्तचन्दनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियोे । रक्तचन्दन र दुई भरियासहित काठमाडौँको बौद्धबाट प्रहरीले पक्राउ गरेको हो । केही साताअघि पनि तातोपानी नाका हुँदै राजधानी काठमाडौँ भित्र्याउन लागेको अवैध खाद्य सामग्री बरामद गरिएको थियो । लोड गरेर फिर्ता आउने क्रममा मितेरी पुलबाट अवैध मादक पदार्थसहित खाद्य सामग्रीको बोलेरो गाडी पक्राउ परेको हो। पक्राउ परेको बोलेरो र चालक रु एक लाख ८६५ धरौटीमा रिहा भएका थिए । तर, अवैध सामग्री पक्राउ परे पनि बाहिर कुनै सूचना आएको थिएन । पक्राउ परेका चालक रिहा भइसकेपछि मात्रै रहस्य बाहिर आएको थियो । सुरक्षाको दृष्टिले चुस्त पारेको हुनाले अहिलेसम्म कुनै अवैध गतिविधि नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले दाबी गरेका छन् । “खासाबाट लोड भएर आएका सबै सामान बन्दरगाहमा आएर जाँच हुन्छ, यताबाट उता प्रवेश नै कठिन छ”, प्रनाउ काफ्लेले भने, “त्यसैले अहिले कुनै अवैध सामग्री ओसारपसार हुनसकेको छैन ।” अवैध व्यापार अवस्था यस्तो थियो सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पअघि अवैध व्यापारमा चर्चित थियो । सुन, रक्तचन्दनलगायतका अन्य बहुमूल्य सामग्री ओसारपसारको केन्द्र थियो । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिने सुन, रक्तचन्दन अरनिको राजमार्ग हुँदै काठमाडौँ प्रवेश गर्न लाग्दा धेरैपटक प्रहरीले पक्राउ गरेको थियो । केही वर्षअघि रक्तचन्दनको अवैध ओसारपसार हुँदा प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल, दोलालघाट, उग्रचण्डीनाला, धुलिखेललगायतका क्षेत्रबाट विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो । यता सिन्धुपाल्चोकका विभिन्न ठाउँबाट पनि रक्तचन्दन बरामद हुनुका साथै तस्करसमेत समातिएका थिए । तातोपानी नाका बन्द भएपछि तस्कर व्यापारिक केन्द्र परिर्वतन गरेको पाइन्छ । तातोपानी नाका बन्द भएपछि अवैध सुन रसुवाको केरुङ नाकाबाट समेत पक्राउ परेको थियो । तस्करले विभिन्न ठाउँबाट धेरै संयन्त्र अपनाएर तस्कारी गर्दै आएका थिए । यसरी, तातोपानी नाकाबाट पहिलेको जस्तो अवैध व्यापार नियन्त्रण गर्नका लागि चिनियाँ पक्षले नेपाली टोलीसँगको वार्तामा पटक–पटक भन्दै आएको थियो । नेपाली सरकारी टोलीले सुरक्षा प्रत्याभूत गराएपछि मात्रै चिनियाँ टोली नाका सञ्चालनमा तत्पर भएको थियो । गृहमन्त्री रामबहादुर थापाले नाका सञ्चालनको एक साता अगाडि नाकाको सुरक्षा अवस्था चुस्त राख्न निर्देशन दिएका थिए । सवारीसाधन र रक्तचन्दन अलपत्र तातोपानी नाकाबाट बरामद भएका रक्तचन्दन र सवारीसाधन अहिले अलपत्र अवस्थामा थन्किएर बसेका छन् । बरामद भएका रक्तचन्दन सड्ने अवस्थामा पुगेका छन् भने सवारीसाधन कवाड बनिसकेका छन् । अवैधरूपमा भित्र्याउने क्रममा प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन कुहिने अवस्थामा छ । चीनको खासा लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । बरामद भएका सामग्रीको विषयमा कानून नहुँदा के गर्ने भन्नेमा अन्योलता छाएकै कारणले अलपत्र परेको हो । जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा विसं २०६२ देखि बरामद गरिएको रक्तचन्दन र कवाड बनिसकेका सवारी थन्किएर बसेका छन् । विसं २०६२ मा बाह्रबिसे प्रहरीले बरामद गरेको सात हजार ८०० किलो, २०६४ मा जिल्ला प्रहरी कार्यालयले बरामद गरेको छ हजार ६०० किलो, २०६४ मै विशेष अनुगमन टोलीले बरामद गरेको आठ हजार २०० किलोलगायत रक्तचन्दन अपलपत्र अवस्थामा छ । सीमा क्षेत्रका बासिन्दाको आयआर्जनमा टेवा नाका सञ्चालन भएपछि तातोपानी नाकाको व्यापारमा वृद्धि भएको छ । गत जेठ १५ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकामा अहिले विस्तारै व्यापारमा वृद्धि हँुदै आएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिएका छन् । नाकामा व्यापार वृद्धि भएपछि राजश्व सङ्कलनमा समेत वृद्धि भएको उनले बताए । नाका सञ्चालन भएपछि करिब डेढ महिनाको अन्तरालमा रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको थियो । यसअघि यस नाकाबाट दैनिक करौडौँ राजश्व सङ्कलन हुँदै आएको थियो । रासस
महाकाली भन्सार नाकाबाट निर्यात शून्य, राजश्वमा गिरावट
बैतडी । जिल्लास्थित नेपाल–भारत सीमानाका महाकाली भन्सार कार्यालय झुलाघाटबाट गत आर्थिक वर्षमा रु ५५ करोडको सामग्री आयात भएको भए पनि निर्यात भने शून्य रहेको छ । भन्सार कार्यालयबाट भारततर्फ केही पनि निकासी नभएको महाकाली भन्सार कार्यालयले जनाएको छ । उत्पादनको कमी हुनु, व्यावसायिक उत्पादन नहुनु र मोटरेबल पुल नभएका कारणले निर्यात हुन नसकेको महाकाली भन्सार कार्यालयका प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिएका छन् । कृषिजन्य उत्पादनमा कमी आउनु, कृषि क्षेत्रलाई राज्यले उपेक्षा गरेका कारण निर्यात हुने खालका सामग्री नै उत्पादन हुन नसकेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खीमानन्द भट्टले जानकारी दिएका हुन् । रिठा, भटमास र घ्यू निर्यात हुने भए पनि पछिल्लो समयमा यो पनि रोकिएको छ । लक्ष्यअनुसार राजश्व सङ्कलन भएन पछिल्ला वर्षमा भन्सारले लक्ष्यअनुसारको राजश्व सङ्कलन गर्न सकिरहेको छैन । भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा रहेको भन्सार कार्यालयले तोकेको लक्ष्यअनुसार गत आर्थिक वर्षमा पनि राजश्व सङ्कलन गर्न सकेको छैन । गत आवमा रु एक करोड नौ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले रु ८९ लाख ७७ हजार मात्रै राजश्व सङ्कलन गरेको छ । अघिल्लो आव २०७४/७५ मा रु एक करोड १९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ७१ लाख ७७ हजार मात्रै राजश्व सङ्कलन गर्न सफल भएको थियो । तर आव २०७३÷७४ मा रु एक करोड ४४ लाख र आव २०७२/७३ मा रु एक करोड ४० लाख राजश्व सङ्कलन भएको थियो । मोटरेबल पुल निर्माणका लागि अनशनकोे तयारी भारतसँग सीमा जोडिएको झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि दबाब दिन रिले अनशन बस्ने तयारी गरिएको छ । झुलाघाट मोटरेबल पुल निर्माण सङ्घर्ष समितिको गोठलापानीमा बसेको बैठकले यही भदौ २२ गतेदेखि अनिश्चितकालीन रिले अनशन बस्ने निर्णय गरेको सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिएका छन् । झुलाघाट नाकामा पक्की पुल नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाको अर्थतन्त्रमा व्यापक असर परेकाले पुल निर्माणका लागि सरकारलाई दबाब दिन रिले अनशन बस्ने निर्णय भएको हो । भदौ २२ गतेदेखि बिहान १०ः०० बजेबाट शुरु भएको अनशन प्रत्येक दिन साँझ ५ः०० बजेसम्म चल्नेछ । अनशनमा उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्था र सङ्घर्ष समितिको सहभागिता रहनेछ । रासस
नाराको निर्वाचन भदौ २४ मा
काठमाडौं । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्ट (नारा) को निर्वाचन यही भदौ २४ मा हुने भएको छ । जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्न स्थापना भएको नाराको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन हुन लागेको हो । नाराका कोषाध्यक्ष शिशिर खनालले वार्षिक साधारणसभा तथा निर्वाचनको तयारी तीव्रगतिमा भइरहेको जानकारी दिएका छन् । विसं २०४६ मा स्थापना भएको नारामा १०० हाराहारीमा व्यवसायी आबद्ध छन् । नाराको हरेक दुई वर्षमा निर्वाचन तथा प्रत्येक वर्ष साधारणसभा हुँदै आएको छ । जलयात्राका लागि साहसिक गन्तव्यको परिचय बनाएको त्रिशूली नदी विश्वका उत्कृष्ट नदीमध्ये एक हो । त्रिशूली नदीमा अहिले व्यावसायिक रूपमा जलयात्रा सञ्चालनमा छ । यस्तै, भोटेकोशी नदीमा पनि धेरै जलयात्री मनोरञ्जन लिन जाने गरेका छन् । नेपालमा रहेका छ हजार नदीनालामध्ये त्रिशूली, कर्णाली, कालीगण्डकी, मस्र्याङ्दी, भोटेकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएका छन् । राजधानीबाट नजिक भएका कारण त्रिशूली नदीबाट नेपालको पहिला साहसिक जलयात्रा शुरु गरिएको थियो । रासस
आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ भदौ २० मा हुने
काठमाडौं । मानव संसाधन समाज नेपालले आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ आयोजना गर्ने भएको छ । मानव संसाधन विकासको क्षेत्रमा लागिपरेको मानव संसाधन समाज नेपाल (एचआरएसएन)ले यहि सेप्टेम्बर ६ तारिख अर्थात भाद्र २० गते आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ होटल र्याडिसनमा आयोजना गर्ने भएको हो । यस सम्मेलनको मुख्य नारा ‘अपस्किलिङ एण्ड रिस्किलिङ एचआर’ रहेको छ । यस सम्मेलनमा नेपालका विभिन्न संघ संस्थामा कार्यरत मानव संसाधन अधिकृत, व्यवसायीक व्यक्तित्वहरु, ट्रेनिङ्ग म्यानेजर, प्रमुख कार्यकारी अधिकृत, निर्देशकहरु, एचआर प्रोफेसनल लगायतको सहभागिता रहनेछ । राष्ट्रिय मानव संसाधन सम्मेलन संस्थाको नियमित वार्षिक कार्यक्रम हो । यो नियमित संम्मेलनबाट नेपालमा मानव संसाधनको अवस्था र यसको प्रयोगको बारेमा विश्लेषण गर्दै भविश्यको लागि कस्तो मानव संसाधन आवश्यक पर्छ भन्ने बारे दिशानिर्देशन गर्न सहयोग पुर्याउँछ । यस कार्यक्रममा पहिलो पटक नेपालमा गरिएको नेपाल स्कील रिपोर्टको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिनेछ । ‘नेपाल स्कील रिपोर्ट’ नामक प्रारम्भिक अध्ययन प्रतिवेदनमा नेपालका विभिन्न संघसंस्थाहरुमा के कस्तो सिप र योग्यता भएको मानव संसाधनको आवश्यकता रहेको छ भन्ने बारेमा अध्ययन गरिएको छ । राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ का संयोजक तथा मानव संसाधन समाज नेपालका उपाध्यक्ष मधु पौडेलले सम्मेलनमा पहिलो पटक विभिन्न संस्थाहरुमा गरिएको मानव संसाधनको अवस्था बारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए । ‘राष्ट्रिय एचआर सम्मेलनले आधुनिक र विकासको चरणमा रहेको नेपालको मानव संसाधन कस्तो हुनुपर्नेछ भन्ने बारेमा छलफल गर्ने प्लेटफर्म तयार पार्नेछ, मानव संसाधनको क्षेत्रमा देखिएका कमी कमजोरीलाई सुधार गर्ने र भविश्यमा स्तरिय मानव संसाधन विकास गर्न सहयोग पुर्याउनेछ,’ राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ का संयोजक तथा मानव संसाधन समाज नेपालका उपाध्यक्ष पौडेलले भने । अपस्किलिङ एण्ड रिस्किलिङ एचआर विषयमा केन्द्रित रहि विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय विषय विज्ञहरुले आफ्ना विचारहरु प्रस्तुत गर्ने छन् भने मानव संसाधन प्रकृयालाई प्रभावकारी बनाउन आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बारेमा समेत छलफल हुनेछ । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायीक व्यक्तित्व र एकेडेमिसिएनहरुका विचमा प्यानल डिस्कसन समेत हुनेछ। राष्ट्रिय मानव संसाधन सम्मेलन पारेर ‘एचआर म्यानेजर अफ दि ईयर’को अवार्ड घोषणा तथा वितरण समेत गरिनेछ । स्वदेश र विदेशका गरि करिब २५० जना भन्दा बढि एचआर विज्ञ, व्यवस्थापन विज्ञहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंक, वित्तीय संस्थाहरु, बहुराष्ट्रिय कम्पनीहरु, गैरसरकारी संस्थाहरु, उत्पादनमूल्यक कम्पनीहरु, सूचना प्रविधि, पूर्वाधार, बीमा, निर्माण र परामर्शको क्षेत्रबाट सहभागिता जनाउने छ । राष्ट्रिय एचआर सम्मेलनमा एचआर विज्ञ तथा स्ट्राटेजी लिडर अफ सिम्प्लि एचआर सोलुसन एलएलपी, तथा एण्ड टु एण्ड एच आर सलुसनका रजनिश सिंहले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नेछन् । आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९लाई निम्बल अफिस एचआरएमले मुख्य प्रायोजन गरेको छ ।
मेलम्चीमा अर्को लफडा, भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने समितिको चेतावनी
काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा फेरि अर्को लफडा सुरु भएको छ । मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने चेतावनी दिएका छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन् । समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको कार्यालयमा आजदेखि पीडितहरू धर्ना बस्दै छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले गत साता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको थियो । मेलम्ची खानेपानी आयोजना समाधान गर्छौं भन्ने प्रतिबद्धता सरकारले गरे पनि हालसम्म कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको समितिका संयोजक विष्णुमणि आचार्यले बताए । मेलम्चीको बाँकी काम पुरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिने तय भैसकेको छ र दशैँ अघिबाट नै निर्माण शुरु हुने भनिएको छ । आर्थिक वर्ष २०५८/०५९ देखि भौतिक कार्य शुरु भएको आयोजनाको करिब दुई दशक पुग्न लाग्दा समेत पानी कहिले आउँछ भन्ने अन्योलता कायमै रहेको हो । निर्माण कार्य शुरु भएदेखि पाँच वर्ष अर्थात आर्थिक वर्ष २०६४/०६५ मा पहिलो फेजमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा भित्र्याउने भनिएको थियो । पानी कहिले आउने हो यसको अहिलेसम्म टुङ्गो लागेको छैन । आयोजना अन्तर्गतको मुख्य निर्माण कार्य सुरुङ निर्माणको अवधि लम्बिदै जाँदा आयोजनाको काम सम्पन्न हुने समय संशोधित भई क्रमशः आव २०६८/०६९, आव २०७०/०७१, २०७२/०७३ र अन्तिममा आव २०७५/०७६ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो, यद्यपी त्यो पनि सम्भव हुन सकेन । यसरी मेलम्चीको पानी काठमाडौं ल्याउने आश्वासनहरु बेलाबखत हुँदै आएपनि पानी आउने समय तोक्न सकिने अवस्था नरहेको मेलम्ची खानेपानी आयोजनाका अधिकारी बताउँछन् । मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले इटालिएन ठेकेदारले राम्रै काम गरेका कारण छिट्टै सकिन्छ भन्ने अनुमान थियो, तर त्यसले छोडेर गएपछि अब कहिले निर्माण सम्पन्न हुन्छ भन्ने अनुमान गर्न नसकिने अवस्था आएको बताए । उनले भने,–‘मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने लगभग निश्चित भएको छ, उसको काम गर्ने जनशक्ति, निर्माण सामाग्रीहरु हेरेर मात्र कति दिन समय लाग्छ भन्ने आँकलन गर्न सकिने छ ।’ समयमै काम शुरु गरे १५ महिना भित्र काम सम्पन्न हुन सक्ने उनले बताए । एक वर्ष सुरुङ निर्माण र ६ महिना बाँध बाध्न समय लाग्ने उनले बताए ।
एलजीको तीन माेडेलका टीभी सार्वजनिक, आर्टिफिसियल इन्टिलिजेन्सको समेत फिचर
काठमाडौं । एलजी टेलिभिजनले ओएलईडी टिभी सार्वजनिक गरेको छ । ललितपुरको सानेपास्थित होटेल भिभान्तामा आयोजित पत्रकार सम्मेलनमा एलजीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले उक्त टेलिभिजन सार्वजनिक गरेको हो । सीजीले एलजी ओएलइडी, एल जी एआई थिन क्यु र नानोसेल टेक्नोलोजी गरी ३ माेडेलका टेलिभिजन सार्वजनिक गरेको छ । पहिलो, एलजी ओएलइडी टेलिभिजन नविन प्रविधिमा आधारित टिभीहो । जसको मोटाई ४.३३ एमएम छ । कम्पनीका अनुसार यो टेलिभिजन नपत्याउने गरी हलुको र पातलो छ । यसमा नयाँ बनोटमा आधारित यो टिभीमा आर्टिफिसियल इन्टिलेजेन्स प्रविधि जडान गरिएको छ । जसमार्फत् टेलिभिजन बोलीको भरमा चलाउन सकिन्छ । त्यसका लागि गुगल एसिस्टेन्ट र अमेजन एलेक्सा प्रविधि जडान गरिएको छ । जसको सहायताले टेलिभिजन सञ्चालन गर्नका लागि आवाज मात्रै निकाले पुग्छ । जसलाई रिमोर्टमै सुविधा थप गरिएको छ । दोस्रो, एल जी एआई थिन क्यु जसले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सा जस्ता सुविधा प्रयोग गर्न सकिन्छ । जसमा अल्फा ८ जेन२ प्रोसेसर सुविधा छ । जसले तपाईका हरेक गतिविधिलाई नियन्त्रण गर्छ । यसमा ४के एक्टिभ एचडीआर पनि छ । जसले चित्रको गुणस्तर बढाउँछ । तेस्रो, नानोसेल टेक्नोलोजीले बिस्तृत रंग छनोटले यसको रंग उन्नत गर्दछ । साथै हेर्न फराकिलो कोण दिन्छ । यसले जुन कोणबाट हेर्दां पनि राम्रो दृश्य दिन्छ । नानोसेल टेलिभिजन ५५ र ६५ इञ्चमा उपलब्ध छ । यसमा यूएचडी टिभी विशेष तरिकाले बनाइएको छ । यसको आईपीएस ४ के डिप्लेले इस्पस्ट र जीवित चित्र प्रदर्शन गर्दछ । टेलिभिजन सार्वजनिक गर्दै सीजी इलेक्ट्रनिक्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सूचना प्रविधिको आविष्कासरँगै ग्राहकहरुको आवश्यकता समेत नयाँनयाँ भएको अवस्थामा त्यस्ता आवश्यकताहरुलाई पूरा गर्ने क्रममा यी प्रोडक्टहरु आएको बताउँदै आगामी दिनमा पनि नयाँनयाँ प्रविधिका यस्ता प्रोडक्टहरु भित्र्याउँदै जाने बताए । साधारण एलईडी टेलिभिजनभन्दा निकै हलुको र पातलो रहेको उक्त टेलिभिजन घर र कार्यालयको भित्तामा राख्न उपयुक्त हुने गरी डिजाइन गरिएको इलेक्ट्रोनिक्सले जनाएको छ ।
ग्लोबल आइएमई बैंकको धनकुटाको हिलेमा शाखा उद्घाटन
काठमाडौं । ग्लोबल आइएमई बैंकले धनकुटा जिल्लाको हिले बजारमा रहेको शाखा कार्यालय मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, नेपाल प्रहरीका एसपी सुदर्शन कोइराला, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार आयोजित एक समारोहबीच संयुक्तरुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मेयर तामाङ्गले बैंक तथा वित्तीय संस्थाहरुले ठूला उद्योगपतिहरुलाई मात्र नभई साना किसान तथा व्यवसायीलाई पनि सहयोग गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने बैंकको मुल नारालाई चरितार्थ गर्दै देशको सबै क्षेत्रमा सेवा पु¥याउने बताए । ढकालले बैंकिङ्ग सेवाको पहुचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म बैंक शाखा विस्तार गर्दै तथा शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाका माध्यमबाट सेवा विस्तार गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । उनले हाँले बैंकले प्रदान गरिरहेका सुविधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, घर कर्जा, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट यस क्षेत्रको आर्थिक सम्वृद्धिमा टेवापुग्ने विश्वास व्यक्त गरे । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्ससँग एकीकृत कारोबार सुरु गर्न अन्तिम तयारी गरिरहेको बताउँदै उनले जनता बैंक नेपालसँग पनि मर्जरमा जाने सहमति गरेको बताए । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरेले बैंकले साना तथा स्थानीय व्यवसायीलाई फाइदा पुग्ने बताए । घिमिरेले बैंकको कर्जा सरल र सुलभ बनाउन पनि आग्रह गरे ।
एनआईसी एशियाको मोबाइल बैंकबाट मोबाइल किन्दा १० प्रतिशत छुट
काठमाडौं । एनआई सीएशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिजबीच क्यासब्याक सम्झौता भएको छ । टेक्नोलोजीको रिचार्जर एप प्रयोग गरी एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी क्युआर मार्फत् वान प्लस सेभेन मोडेलको मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको हो । अरु बैंकको मोबाइल बैंकिङ मार्फत् उक्त मोबाइल फोन खरिद गर्दा भने ५% मात्रै क्यासब्याक पाइन्छ । यो योजना भदौ १८ देखि असोज १ गते सम्म सञ्चालन हुने जनाइएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष श्री किसन राईले हस्ताक्षर गरेका छन् । मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको एनआईशी एशिया करिब १८ लाख ग्राहकका साथ देशको सबैभन्दा ठूलो शाखासञ्जाल भएको बैंक हो ।