विकासन्युज

ठूलाे दुर्घटना हुनबाट जोगियाे सीता एयरकाे जहाज

सोलुखुम्बु । लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाजको इञ्जिन तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको’नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ । विमानको एउटा इञ्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इञ्चार्ज इमानाथ अधिकारीले जानकारी दिएका छन् । सो जहाजमा चालक दलका तीनजना मात्रै सवार थिए । काठमाडौंबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कदा खाली फर्किएको नागरिक उड्यन प्राधिकरण लुक्लाले जनाएको छ । प्राधिकरण लुक्लाका प्रमुख अधिकारीका अनुसार उडिसकेपछि इञ्जिन फेल भएकाले दुर्घटनाबाट जोगिएको हो । जहाज उड्ने समयमा यस्तो भएको भए केही दुर्घटना हुनसक्ने उनको भनाइ छ । क्याप्टेन भरत थापाले उडाएको जहाज बिहान ८ः५१ बजे सकुशल अवतरण गरिएको बताइएको छ । रासस

चौथो युवा वैज्ञानिक सम्मेलन २०१९ सम्पन्न

काठमाडौं। नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना र युनिग्लोब कलेजको संयोजकतामा चौथो युवा वैज्ञानिक सम्मेलन २०१९ सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) र रिसर्च सेन्टर फर अप्लाइड साइन्स एन्ड टेक्नोलोजी (रिकास्ट)ले सहकार्य गरेका थिए । कक्षा ७ देखि कक्षा १२ सम्म अध्ययनरत विधार्थीलाई लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा देशभरका विभिन्न ३० वटा विद्यालयबाट विद्यार्थीहरुले सहभागिता जनाएका थिए । गतिशील आजको विश्वमा विज्ञान र प्रविधिको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहन्छ र विज्ञान-प्रविधि बिना आज विश्व निरर्थक छ । विज्ञानको यिनै मूलभूत महत्त्व र आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको हो । पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पोलिमर इन्स्टिच्युटका चेयरपर्सन डा. राजेश पण्डित, नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेल, रिकास्टका तर्फबाट डा. रामेश्वर अधिकारी, यूनिग्लोब कलेजका प्रिन्सिपल डा. करण सिङ ठगुन्नालगायतका व्यक्तित्व साथै सहभागी विद्यालयको प्रतिनिधित्व गर्ने विद्यार्थी र शिक्षक शिक्षिकाको उल्लेख्य सहभागिता थियो । विद्यार्थीहरुले प्रतिस्पर्धा र प्रदर्शनिका लागि ल्याएका आ–आफ्ना विभिन्न खाले वैज्ञानिक सामाग्रीहरु सम्मेलनमा प्रदर्शन गरेका थिए । उनिहरुले समारोहका बीच आफ्नो प्रोजेक्टको प्रस्तुती पनि गरेका थिए। सम्मेलनको दोश्रो दिन विद्यार्थीहरुले देखाएको प्रस्तुतीहरुको मूल्यांकन आधारमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका विद्यार्थीलाई मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमको समापन सत्रमा नास्टका प्रवक्ता डा. सुरेश ढुंगेललगे यस्ता प्रयोगात्मक गतिविधि विद्यार्थीका लागि निकै आवश्यकीय रहेको र सबैले यसमा ध्यान दिनु जरुरी रहेको बताए।

प्रेमसागर फाउण्डेसनको जनभोजमा सानिमा बैंकको आर्थिक सहयोग

काठमाडौं। मुक्तिनाथ विकास बैंकले प्रेमसागर फाउण्डेसन नेपालले आयोजना गरेको जनभोज अभियानलाई आर्थिक सहयोग गरेको छ। बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फाउण्डेसनलाई सहयोग गरेको हो। उक्त फाउण्डेसनले हरेक दिन करिब ५०० स्कुले बालबालिका तथा वृद्धवृद्धाहरुलाई निःशुल्क भोजन खुवाउदै आएको र करिब १५०० स्कुले बालबालिकालाई ताजा खाजा स्कुलमा पु¥याउदै आएको छ । बैंकले जनभोजको लागि एक दिनको लागत खर्च रकम रु ५०,००० सहयोग गरेको छ । सहयोग रकम मुक्तिनाथ विकास बैंकका धार्के शाखाका प्रमुख राजीव आचार्यले प्रेमसागर फाउण्डेसन नेपालका व्यवस्थापक भोला राउतलाई हस्तान्तरण गरेका थिए। मुक्तिनाथ विकास बैंकले देशैभरी १२० वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकस्योरेन्स, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र ब्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ । हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए।

३ अंकले बढ्यो नेप्से, ४३ करोडको कारोबार

काठमाडौ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । नेप्से परिसूचक ३.८७ अंकले बढेको हो । ०.३२ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११९४.७७ बिन्दुमा पुगेको हो ।  बिहिबार सेयर बजारमा १६८ कम्पनीले कारोबार गरेका छन् । १४ लाख २२ हजार १ सय १२ कित्ता सेयर किनबेच हुँदा ४३ करोड ६४ लाख ४४ हजार ६ सय ८८ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सेका सबै ३ सूचक राता देखिएका छन् । वित्तीय समूह ३.६, उत्पादन मूलक समूह १९.४५, र अन्य समूह २.१४ अंकले घटेका छन् । बैक समूह ६.१, होटल समूह ६.४२, विकास बैक समूह ३.१७, जलविद्युत समूह ४.३, निर्जीवन बीमा समूह २५.२ , माईक्रो फाइनान्स समूह २.८१, जीवन बीमा समूह ८.३९ र म्यूचुअल फण्ड समूह ०.०९ अंकले घटेका छन । पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.२८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ३.४२ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

विषादीयुक्त तरकारीको मूल्यमा नै अर्गानिक तरकारी बेचिरहेका छौँः पवन गोल्यान

व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको गोल्यान समूहले कृषिबाट हात झिकेर विदेशी रेमिट्यान्सको मुख ताकिरहेका कृषकलाई माथि उठाउने प्रयत्न गरिरहेको छ । नेपालका ठूला व्यावसायिक घरानाहरुमध्येको गोल्यान समूह पनि एक हो । आयात व्यापारलाई भन्दा निर्यात व्यापारमा सक्रिय गोल्यान समूहले कृषिलाई अँगालेर नेपालको व्यावसायिक इतिहासमा अर्को उदाहरण पेश गरेको छ । विषादीयुक्त वस्तुको उपभोगले आम जनताको स्वास्थ्यमाथि ठूलो असर गरिरहेको अवस्थामा यस्ता वस्तुको आयात रोकेर नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य प्राप्तिमा लागि रहेको छ गोल्यान समूह । बैंक, धागो र प्लास्टिकजन्य वस्तुमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अर्गानिक कृषिमा पनि लगानी सुरु गरेको छ ।  गु्रपले प्रदेश नं १ मा अर्गानिक उत्पादन र व्यवसाय विस्तारको लागि दुई लगानी लगानी गरिरहेको छ । नेपाललाई अर्गानिक उत्पादन गर्ने देश भनेर विश्वभर चिनाउने समूहको उद्देश्य रहेको छ । देशबाट निर्यात गरी व्यापारघाटा घटाउने लक्ष्यमा केन्द्रित भएको गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानसँग विकासन्युजका लागि राजाराम न्यौपानेले गरेको विकास बहसः धेरै फाइदा हुने अन्य व्यवसाय नरोजेर कृषि व्यवसायलाई किन रोज्नु भयो ? मैले ६० वर्ष पुगेपछि आफ्नो सबै व्यापार व्यवसाय छोराछोरीलाई जिम्मा लगाए । तर, पनि ममा आफूले नै केही नयाँ व्यवसाय गर्ने इच्छा जागेर आयो । बजार व्याप्त विषादीयुक्त तरकारी र फलफूल देखेर वाक्क भएको थिएँ । यो देखेर ममा अर्गानिक उत्पादन गर्ने अठोट जागृत भयो । देशमा व्याप्त विषादीको प्रयोगलाई निमूल पार्ने अभियानका साथ मैले यो व्यवसाय शुरु गरेको हुँ । भारतमा अध्ययन गर्न जाँदा दुर्घटना परी छोराको निधन भएपछि मैले उसकै यो व्यवसाय शुरु गरेको हुँ । देश र जनतालाई विषादी रहित तरकारी तथा फलफूल उत्पादन गर्ने सोचका साथ म कृषिमा प्रवेश  गरेँ । म मात्रै होइन देशका कृषकलाई समेत अर्गानिक कृषिमा जोड्ने अभियान मैले लिएको छु । अर्गानिक खेतीको लागि प्राविधिक राखेर झापाबाट मैले ५ वर्षअघि माटो ब्राण्ड शुरु गरेको हुँ । माटो ब्रान्डले कसरी कृषकलाई जोड्छ त? हाम्रा अर्गानिक उत्पादन गर्ने कृषकहरूले उत्पादन गरेका वस्तुहरु बिचौलिया विना नै माटो ब्रान्ड मार्फत बजारमा ल्याएका छौं । माटो ब्रान्डमा जोडिएर कृषकले कसरी फाइदा पाउँछन् त भन्दा हामीले झापामा कृषि पेशामा रहेका कृषकहरुले १ बिघा बराबर वार्षिक कति कमाइ रहेका छन भनेर हेर्यौ । त्यहाँ कृषकहरूले प्रति बिघा २० देखि ५० हजार कमाइरहेका छन् । यद्यपि हाम्रो ब्रान्डले प्रति बिघा २ लाखको तरकारी तथा फलफुल उत्पादन हुने वा गराउने लक्ष्य लिएर अगाडि बढेको छ । कृषकलाई अर्गानिक उत्पादन गर्न प्राविधिक सहयोग, अर्गानिक बिउ र उत्पादनलाई बजारमा पुर्याउने काम गर्दछ । माटो ब्रान्डले उत्पादन गरेको अर्गानिक  तरकारी तथा फलफूल सामान्य उपभोक्ताले पनि प्रयोग गर्न सक्छन् ? सामान्यतया बजारमा उपलब्ध तरकारी तथा फलफूलको मूल्य र माटो ब्रान्डले उत्पादन गरेको तरकारी तथा फलफूलको मूल्य बराबर नै हुन्छ । विषादी प्रयोग भएको र अर्गानिक तरिकाले उत्पादन भएको तरकारी तथा फलफूलहरूको मूल्य समान भएपछि सामान्य उपभोक्ताहरुले माटो ब्रान्डका तरकारी तथा फलफूल प्रयोग गर्न सक्छन् । सुरुको चरणमा हामी घाटामा छौ । विस्तारै हाम्रो उत्पादन वृद्धि हुन्छ र हामीसँग अर्गानिक उत्पादन गर्ने कृषकहरु पनि आएर जोडिन्छन् । त्यस पछि हाम्रो घाटा घट्दै नाफा तर्फ जान्छ । कृषिजन्य वस्तुको आयात घटाउने र निकट भविष्यमा अर्गानिक कृषि वस्तुलाई अन्य देशमा निकासी गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौ । नेपाल सगरमाथा र बुद्धको देश भनेर चिनिए जस्तै अर्गानिक तरकारी तथा फलफूल उत्पादन गर्ने देश भनेर चिनाउने छौ । अर्गानिक खेतीको सम्भावना कसरी महसुस गर्नुभयो ? कृषि प्रधान देश भनेर चिनिएको नेपालमा किसानहरुलाई कृषिमा नै आत्मनिर्भर बनाउनुपर्छ भन्ने लागेर नै कृषि व्यवसायमा हात हालेका हौं । झापा जिल्लाका करिब ५० वटा गाउँमा हामीले काम गरेका छौँ ।नेपालमा विभिन्न किसिमका रोगबाट पीडित धेरै किसानहरु भएकाले किसानलाई विषदीमुक्त कृषिमा लाग्न प्रेरित हुने काम सुरु गर्नुपर्छ भनेर यो सुरु भएको हो । विषादीको प्रयोग भएका वस्तुहरूको आयात निकै बढेको र यसलाई नरोकी आत्मनिर्भर बन्न नसकिने अवस्था महसुस गरेर नै काम सुरु गरेका हौं । देशको व्यापार घाटा कम गर्न कृषिमा आत्मनिर्भर बनाउन सक्नुपर्छ जस्तो लाग्छ । यसका लागि त किसानहरुलाई अगाडि ल्याउनु पर्यो । उनीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न सीपका साथै नयाँ प्रविधिबारे जानकारी दिनुपर्छ भन्ने लागेर नै यो क्षेत्रमा लागेको हुँ । नेपालमा कृषि क्षेत्र पछाडि पर्दै गएको अवस्थामा तपाईले थाल्नुभएको अर्गानिक खेतीको भविष्य कस्तो होला ? नेपाली जनताले विषादी मिसिएको तरकारी तथा फलफूलबाट कसरी छुटकारा पाउने भन्ने कुरा खोजिरहेका छन् । सुरुमा किसानलाई अर्गानिक खेतीमा ल्याउन कोशिस गर्दा  विश्वास गर्न गारो हुने, खेती गर्न नै नचाहने अवस्था थियो । त्यो अवस्थामा परिवर्तन गर्न हामीले माटो ब्रान्ड र फार्मबाट अर्गानिक तरकारी उत्पादन सुरु गरी बजारमा ल्यायौ र त्यसमा कृषक पनि जोडिन थालेका छन् । मुख्य कुरा किसानलाई बुझाउन जरुरी छ कि अर्गानिक खेतीले लागत घटाउँछ । तपाईसँग अर्गानिक कृषिमा जोडिएका कृषहरुको प्रतिक्रिया कस्तो छ ? हामीले सुरु गरेका धेरै गाउँहरु अहिले अर्गानिक खेतीमा सक्रिय रूपमा लागेका छन् । अहिले कृषकहरू नै अर्गानिक कृषिमा राम्रो हँुदो रहेछ भन्ने बुझेका छन् । देश भरका धेरै किसानहरु अर्गानिक खेतीमा प्रोत्साहित हुँदै गएका छन । उनीहरुलाई सहयोग गर्दै जाने हाम्रो पनि चाहना हो । गोल्यान समूहले अर्गानिक खेतीप्रति किसानलाई आकर्षण बढाउन के गर्दैछ ? हामीले प्राविधिकसहित गाउँमा गएर त्यहाँको अवस्थाका बारेमा अध्ययन तथा अवलोकन गर्यौ । कुन उत्पादन राम्रो हुन्छ भनेर यस सम्बन्धमा पनि परीक्षण गरियो । हामीले प्रत्येक गाउँ गाउँमा कृषि विज्ञ खटाएर चेतनामूलक तालिम सञ्चालन गरी ज्ञान प्रदान गरिरहेका छौँ । किसानहरूलाई बीउ, बिरुवाहरु चाहिएमा पनि हामीले ल्याइदिने गरेका छौ । जुन ज्ञान हामीले किसानलाई प्रदान गरेका छौ, त्यसबाट किसानले गाउँमा अर्गानिक उत्पादन गर्न सक्छन् । उत्पादित वस्तुको निर्यात लागत बेहोर्ने गरी किसानहरुलाई अर्गानिक खेती प्रति प्रेरित गर्ने कार्य हामीले गरिरहेका छौं । अर्गानिक उत्पादन फष्टाउन केको प्रयोग गरिन्छ ? अर्गानिक भनेकै शरीरलाई हानी नगर्ने भन्ने हो । गाउँघरमा नै उत्पादन हुने गौमूत्र, निम, धतुरोहरुको प्रयोग गरेर हामीले तरकारी तथा फलफूल उत्पादन गर्न लागेका हौं । हामीले हाम्रो गाउँमा नै पाउने वस्तुहरुको प्रयोग गरेर अर्गानिक उत्पादन फष्टाउने बनाउने उपाय तथा विकल्पहरूको खोजी गरेका छौ । यसले स्थानीय वस्तुको सदुपयोग हुनाका साथ विदेशबाट आयत हुने विषादीको खर्च पनि जोगिन्छ । गाई भैँसीको गोवर, खर गायतलाई कुहाएर मलको रुपमा प्रयोग हुन्छ, जसले रासायनिक मलको आवश्यकता नै पर्दैन । यसरी मल उत्पादन भएपछि रासायनिक मल किन्दा किसानलाई जुन लागत लाग्थ्यो, त्यो लागत पूर्ण रूपमा घट्छ । अर्गानिक बीउबिजन कसरी तयार पारिन्छ वा ल्याइन्छ ? अर्गानिक बीउबिजन हाम्रो माटो ब्रान्डले नै उत्पादन गर्छ । स्थानीय साधन स्रोतबाटै उत्पादन गरिएको अर्गानिक बीउबिजनहरू किसानलाई दिने हो । नेपालमा नपाइने अर्गानिक बिउहरु हामीले भारतबाट आयात गरेर त्यसको संरक्षण र विकास गर्छाै । अर्गानिक खेतीको लागि किसानले कतिको साथ र सहयोग दिएका छन् ? तपाईले अर्गानिक उत्पादन भएको ठाउँमा नै गएर उनीहरुसँग कुरा गर्न सक्नुहुन्छ । हामीले अनुमान गरेभन्दा पनि धेरै किसानहरु उत्साहित छन् । हामीले खेती गरेको ठाउँ हेर्न आउनेहरुले खेती हेरेर फर्किए पछि माटो ब्रान्डमा आएर हामी पनि यति जमिनमा यस्तो खालको खेती गर्छौं भनेर साथ र सहयोग दिइरहेका छन । यसले हामीलाई झनै उत्साहित बनाएको छ । अहिलेसम्म ५ हजारभन्दा धेरै किसान हामीसँग जोडिन आएका छन् । यसबाट किसानको उत्साह प्रष्टै देख्न सकिन्छ । माटो ब्रान्डले कस्तो कस्तो खेतीलाई बढी प्राथमिकता दिएको छ ? हाम्रो ब्रान्डले विशेष गरेर तरकारी तथा फलफुल खेतीका साथै धान, दाल, मकैलाई प्राथमिता दिएको छ । हाम्रो समूहले झापामा २ सय बिघा जमिनमा खेती गरिरहेका छ । हामीले आँप, लिची, मेवा, ड्रागन फुड, खरबुजा, तरबुजा, कागती, स्ट्रबेरीलगायतका फलफूलमा जोड गरेका छौँ । हामी यो २ सय बिघालाई कमर्सियल फाम बनाउने प्रयासमा छौ । अहिले १ नम्बर प्रदेशमा २ अर्बको लगानी गरेर काम गरिरहेका छौँ विस्तारै अन्य प्रदेशमा पनि विस्तार गर्दै लैजाने योजनामा गोल्यान समूह छ । तपाईहरुको अर्गानिक उत्पादन भाटभटेनी र विगमार्टमा मात्रै किन ? अहिले सुरुको चरण भएकाले पनि भाटभटेनी र विगमार्टमा मात्रै उपलब्ध गरिएको हो । यसलाई हामीले विस्तारै अन्य सामान्य बजारमा पनि ल्याउँछौ । हाम्रो अर्गानिक उत्पादन र बजारमा भएका अन्य उत्पादनको मूल्य बराबर भनेरै सबै उपभोक्ताले उपभोग गर्न सकुन् भन्ने हो । बराबरी मूल्य भएपछि सबै उपभोक्ताहरुले माटो ब्राण्डको तरकारी तथा पलफूल प्रयोग गर्ने छन् । अन्य उत्पादनमा जस्तै बराबरी मूल्यमा अर्गानिक उत्पादनलाई बजारमा ल्याउँदा चुनौती हुँदैन ? सुरुमा हामीले घाटामा नै व्यापार व्यवसाय गरेका छौँ । हामीले जनताको स्वास्थ्यका लागि घाटामा नै काम गरिरहेका छौं । विस्तारै कृषक र उपभोक्ताहरुलाई अर्गानिक उत्पादन प्रति आकर्षण बढाउँदै लैजाने हाम्रो लक्ष्य हो । हाम्रो घाटाबाट विस्तारै नाफामा जान्छ । अनि हामीलाई चुनौती हुँदैन । हाम्रो उत्पादनमा विचौलिया रहँदैन । हामीले कृषकबाट ल्याएको वस्तुमा १० प्रतिशत प्याकिङ र ढुवानीलगाएत खर्च जोडेर बजारमा ल्याएका छौ । उपभोक्ताले पनि सस्तोमा तरकारी तथा फलफुल प्रयोग गर्ने पाउने र कृषकले पनि बिचौलियको मारमा नपर्ने भएकाले पनि हामीलाई अझ सहज हुन्छ । अर्गानिक उत्पादन विदेश पनि निर्यात हुन्छ ? हामीले नेपाललाई अर्गानिक उत्पादन गर्ने देश भनेर केही वर्षमा चिनाउने छौं । अहिले पनि विदेशमा माटो ब्रान्डको अर्गानिक उत्पादन बिक्री भहिरहेको छ । हामी नेपालबाट वस्तु निर्यात गर्नेमा टप छौं । हामीले विश्व बजारमा अर्गानिक उत्पादन निर्यात गर्ने टप देशको रुपमा चिनाउने छौं ।

पैसाको अस्तित्व हराउँदैः सिक्का पैसा लिन मान्दैनन् बैंकहरु

भजनी । बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन् । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ । नेपालमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वित्तीय व्यवस्थापनका लागि उत्पादन गर्दै आएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने अवस्था देखिएको हो । उत्पादन गरेका सिक्का पैसा बैंक तथा वित्तीय सस्थाहरुले नै लिन छाडेका छन् । ग्राहकको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुलाई दिने गरेको भए पनि ग्राहकको सङ्कलन भएको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरु लिन मान्दैनन् । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको माग र सानो २र४ रुपैयाँको कारोबारमा सिक्का नै दिँदै आएका छन् । तर, त्यही सिक्का ग्राहकले जम्मा गर्न वा साट्न गए बैंक तथा वित्तीय संस्थाहरुले नसाट्ने गरेको गुनासो स्थानीयले गर्न थालेका छन् । पुरानो चल्तीमा १/ २ रुपैयाँ आउँथ्यो, अहिले पाँच रुपैयाँभन्दा सानो त्यही सिक्का मात्र आउँछ । तर, त्यो सिक्का अहिले बजारमा न त ग्राहकले फिर्ता लिन्छन् न त व्यापारीहरुले नै । एक व्यापारी ईश्वरीप्रसाद ज्ञवालीले आफूसँग छ/सात हजार सिक्का पैसा रहे पनि बैंकहरुले साट्न नमानेपछि त्यसै राख्नु परेको बाध्यता सुनाएका छन् । “ग्राहकले एक/दुई रुपैयाँ सिक्का पैसा दिन्छन्, नलिउँ भन्नु पनि भएन”, ज्ञवालीले भने, “एक/दुई रुपैयाँ थुपार्दाथुपार्दै अहिले छ/सात हजार सिक्का पैसा छ । त्यो पैसा न त बैंकले लिन्छ न त ग्राहकले लिन मान्छन् ।” कैलालीको टीकापुर क्षेत्रका लागि नेपाल राष्ट्र बैंकसंँग नोट कोषको कारोबार गर्दै आएको नेपाल बैंक लिमिटेड टीकापुर शाखा प्रबन्धक हरिहरप्रसाद भण्डारीले नेपाल राष्ट्र बैंकको सिक्का पैसा लिने नीतिगत व्यवस्था नभएका कारण आफूहरुले सिक्का पैसा ग्राहकलाई दिने गरेको भए पनि ग्राहकको सिक्का पैसा लिने नगरेको बताउनुभयो । “नेपाल रास्ट्र बैंकले सिक्का पैसा दिने गरेको छ । तर, फिर्ता लिने गरेको चाहिँ छैन”, प्रबन्धक भण्डारीले भने, “सिक्का पैसा प्रयोग हुँदै जाँदा त्यसको चमक हराउँदै जान्छ र त्यसको चमक हराएपछि सिक्का पैसाको अस्तित्व नै रहँदैन । पूजा पाठमा प्रयोगका लागि ग्राहकले लिन्छन् । नेपाल राष्ट्र बैंकले नलिने भएकै कारण हामीले पनि साट्न छोडेका हौँ ।” स्थानीय व्यापारी नन्दसिंह विश्वकर्माले ग्राहकबाटै लिएको सिक्का पैसा सङ्कलन गर्दा चार/पाँच हजार रहेको बताउँदै बैंकहरुले नलिने भएपछि त्यो पैसा के गर्ने भन्नेमै अन्योलमा भएको बताए । “मसँंग चाररपाँच हजार सिक्का पैसा छ, दुई रुपैयाँको सलाई किन्दा सिक्का नै दिन्छन्, पाँच रुपैया दिँदा तीन रुपैयाँ सिक्का नै दिनुपर्छ तर बैंकले त्यही सिक्का चलाउँदैनन्”, व्यापारी विश्वकर्माले भने, “बैंकले सिक्का पैसा साट्दैन भने ग्राहकबाट हामीले कसरी लिने  लिएर पनि के गर्ने  नचल्ने हो भने बन्द गर्नु पर्योे नभए ग्राहकको पैसा साट्नुपर्यो ।” धेरैलाई बैंक तथा वित्तीय संस्थाले सिक्का साट्ने नसाट्नेमा जानकारी नै छैन । सिक्का पैसा मागे जति पनि दिने तर, फिर्ता लिने बेला बैंक तथा वित्तीय संस्थाहरुले नलिनु दुःखद् भएको स्थानीय निरा काफ्लेले बताउँछन् । उनले अहिले पनि स्थानीय व्यापारी तथा स्थानीय जनतासँग थुप्रै सिक्का पैसा रहेको बताउँदै यही अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले गैरजिम्मेवार काम गर्न नहुने बताएका हुन् । उता, नेपाल राष्ट्र बैंक धनगढी शाखाका कायममुकायम प्रमुख डिल्लीराम पोखरेलले नेपाल राष्ट्र बैंकका लागि बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा नलिने कुरा एकदमै नौलो भएको बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकमा सिक्का पैसा व्यवस्थापनका लागि स्टोरको समस्या भएका कारण वाणिज्य बैंकहरुले लिएको सिक्का पैसा नेपाल राष्ट्र बैंकले लिन नसकेको बताउँदै यदि कोही कसैबाट ग्राहकको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरुले नलिएको उजुरी परेमा कारवाहीको दायरामा ल्याउने बताएका छन् । “अहिलेसम्म हामीलाई यस विषयमा कुनै जानकारी नै छैन, यो एकदमै नौलो कुरा हो”, कायममुकायम प्रमुख पोखरेले भने, “बजारमा प्रशस्तै सिक्का पैसा छ । त्यो सिक्का पैसा बैंकहरुले साट्नुपर्छ ।” रासस

सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी

लहान । मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई तत्काल उत्पादन, बिक्री वितरण बन्द गराएको छ भने पाँच वटा डेरी उद्योगहरुमा शिलबन्दी गरिएको हो । सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योग र मिर्चैया नगरपालिका–५ स्थित जयरामनाथ डेरी उद्योगलाई शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहले जानकारी दिएका छन् । यस्तै नरहा–३ स्थित गङ्गा डेरी उद्योग, मिर्चैया नगरापलिका–६ स्थित शिव दूध डेरी उद्योग, माँ शेराबाली आइसक्रिम उद्योग, जयराम डेरी उद्योग, विष्णुपुर गाउँपालिका–१ स्थित जनसेवा डेरी उद्योग, सगरमाथा डेरी उद्योग, सिरहा नगरपालिका–१ स्थित सिरहा डेरी उद्योग, गणेश दूध डेरी उद्योग, लहान नगरपालिका–८ स्थित सन्तोषी डेरी उद्योग, मुनीसाह दूध डेरी उद्योग, केबी एण्ड सन्न डेरी उद्योग, न्यू राधाकृष्ण डेरी उद्योग, सुखीपुर नगरपालिका–८ स्थित कृष्णबलराम डेरी उद्योगलाई उत्पादन र बिक्री वितरण गर्न रोक लगाइएको प्रमुख सिंहले बताए । त्यस्तै, लहान नगरपालिका–१ स्थित सीता मिनरल वाटर उद्योग, फ्रेण्डस इन्टरनेशनल, मिल्को इन्डष्टिज, धनकोट माता मिनरल वाटर उद्योग, डि.एण्ड डी ट्रेडर्स, सुखीपुरस्थित गणेश सेल मिल, मनोज मिष्ठान भण्डार, माँ दुर्गा किराना किराना स्टोर र जलसो डेरी उद्योगलाई समेत उत्पादन र बिक्री वितरणमा रोक लगाइएको उनले जानकारी दिएका हुन् । अनुगमनका क्रममा अधिकांश डेरी उद्योगले गाईभैँसीको दूधको साटो प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको तथा सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको पाइएकाले कसुरको मात्रा हेरेर उत्पादन र बिक्री वितरणमा रोक लगाउनुदेखि शिलबन्दीसमेत गरिएको प्रमुख सिंहको भनाइ छ । डेरी उद्योगीलाई पटकपटक तोकिएको मापदण्ड अपनाउन निर्देशन दिए पनि बेवास्ता गरेकाले यस्तो गरेको प्रमुख सिंहले बताएका छन् । कारवाही गरिएको उद्योगलाई मापदण्ड अपनाएको कागजात र प्रमाण पेश गर्नसमेत निर्देशन दिएको र आवश्यक प्रमाण ल्याएपछि उत्पादन र बिक्री वितरण गर्न अनुमति दिने उनको भनाइ छ । रासस

रेल चढ्ने रहर अझै अन्योलमा

महोत्तरी । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सन् २०१४ मा शुरु भएको रेल स्तरोन्नति र सेवा विस्तारको काम सुस्त भएको छ । सन् २०२० भित्र जयनगरदेखि बर्दिवाससम्म नै सञ्चालनमा ल्याइसकिने रेल विभागले बताउँदै आएको थियो । पहिलो खण्ड (जयनगरदेखि कुर्थासम्म) मा २०१८ भित्रै, दोस्रो खण्ड (कुर्थादेखि महोत्तरीको भङ्गाहास्थित बिजलपुरा स्टेशनसम्म) मा सन् २०१९ को मार्चभित्र र तेस्रो खण्ड (भङ्गाहादेखि बर्दिवाससम्म) सन् २०२० भित्र रेल सञ्चालनमा आइसक्ने तालिका थियो । तर, त्यो तालिकाअनुसार काम नबढेपछि सर्वसाधारणमा रेल कहिले चल्न थाल्ने हो भन्ने कुरामा अन्यौलसँगै निराशा बढेको हो । जयनगरदेखि कुर्थासम्मको लिक ओछ्याएर परीक्षण पनि गत वर्षकै भदौमा गरिएपछि यस भेगका सर्वसाधारणमा दशैँ, तिहार र छठ पर्वको सेरोफेरोमा रेल चल्ने आस थियो । तर, रेल खरिद र सञ्चालन प्रक्रियामा भएको ढिलाइले हालसम्म पनि रेल चल्न नसकेपछि सर्वसाधारणले चाँडै रेल चढ्न पाउने आस मारेका हुन् । त्यसैगरि दोस्रो खण्ड (कुर्थादेखि भङ्गाहासम्म) को ग्रेवल ओछ्याउने, लिक ओछ्याउने काम थालिएकै छैन भने तेस्रो खण्ड (भङ्गाहादेखि बर्दिवाससम्म) मा अझै जग्गा मुआब्जा विवाद कायम नै रहेकाले यस खण्डमा काम थाल्न नै अन्योल देखिएको हो । यसबीचमा रेल खरिद र सञ्चालन प्रक्रिया टुङ्गिएर आवश्यक जनशक्ति पूर्ति गर्ने प्रक्रिया अघि बढेपछि यसपाली चाहिँ तिहारअघि पहिलो खण्डमा रेल सञ्चालन हुने रेल विभागले जनाएको छ । “लिक ओछ्याएर परीक्षणसमेत एक वर्ष पहिले नै भइसके पनि रेल खरिद र सञ्चालन प्रक्रिया नटुङ्गिदा ढिलाइ भयो”, रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, “अब ती प्रक्रिया सबै पूरा भएका छन्, जनशक्ति पूर्ति गर्ने प्रक्रिया पनि अघि बढ्यो, यसपाली भने पहिलोखण्ड (जयनगरदेखि धनुषाको कुर्थासम्म) मा तिहारसम्म रेल चल्छ ।” भारतको जयनगरदेखि महोत्तरीको बर्दिवासम्मको ६९ किलोमिटरमध्ये महोत्तरीतर्फ ३३ किलोमिटर, धनुषामा ३४ किलोमिटर र भारततर्फ करिब दुई किलोमिटर पर्छ । पहिलो खण्डसँगै धनुषातर्फ अब काम हुन करिब दुई किलोमिटर र महोत्तरीको ३३ किमिसहित ३५ किलोमिटरमा काम बाँकी छ । महोत्तरीतर्फको भङ्गाहासम्म माटो सम्याउने, पुलपुलेसा बनाउने र स्टेशन घर निर्माणका काम अन्तिम चरणमा छन् । तर, ग्रेवल ओछ्याउने र लिक राख्ने मुख्य काम थालिएकै छैन । अहिलेको गतिले दोस्रो खण्डको काम सन् २०१९ भित्रैैैैै सकिनेमा रेल विभागका प्राविधिक नै पनि ढुक्क छैनन् । तर, महानिर्देशक मिश्र भने निर्माण सामग्री तयार भएको हुँदा दोस्रो खण्डको काम अब तीव्र गतिमा अघि बढ्ने बताउँछन् । यता भङ्गाहाबाट बर्दिवाससम्मको १८ किमी दूरीभित्र भने अझै मुआब्जा विवाद नसुल्झेपछि काम अघि बढ्न सकेको छैन । पछिल्लो पटक गत असारमा यस खण्डभित्रको भङ्गाहाभित्रको २२ बिघा र बर्दिवास–६ र ७ (साविक किसाननगर गाविस) को २६ बिघा क्षेफलको मुआब्जा दिइने रकम जिल्ला प्रशासन र रेल विभागले टुङ्ग्याए पनि आम सर्वसाधारणले भने मुआब्जा बुझ्न थालेका छैनन् । यसै खण्डको हाल मिथिला नगरपालिका–१० र ११ (साविक बेङ्गाडावर गाविस, धनुषा) को २६ बिघा र साविक बर्दिवास गाविस क्षेत्रको ५३ बिघा क्षेत्रफलको भने मुआब्जा तोकिन नै बाँकी छ । बेङ्गाडावर र बर्दिवासको मुआब्जा तोक्न भएको ढिलाइले निर्माण काम अघि बढाउन अझै सकिएको छैन । बर्दिवासका जग्गाधनीहरुले आपूmहरुले मुआब्जा तोक्ने कुरामा कुनै झिँजो वा अप्ठ्यारो नपारेको बताउँदै आएका छन् । “हाम्रो ठाउँमा रेल सेवा चल्ने कुरा छ, यसले हाम्रै ठाउँको विभिन्न सम्भावना बढाउने हो”, बर्दिवास–१४ का खड्गबहादुर सिंहले भने, “अहिले चलनमा रहेको मूल्य तोके त भइहाल्यो, हामीले कहाँ व्यवधान गर्यौँ र ” पछिल्ला दिनमा बर्दिवासका जग्गाधनीले हल्ला मच्चाएर मुआब्जा तोक्न अप्ठ्यारो पारेको टिप्पणी सुन्नु पर्दा उल्टै दुःख लाग्ने गरेको सिंहको भनाइ छ । तेस्रो खण्डमा मुआब्जा तोक्न बाँकी रहेको र पहिलो खण्डमा चाँडै रेल चल्ने चर्चाबीच नै पहिलो खण्डभित्रैका रेल भवन चर्कँदै गएका छन् । पछिल्लो पटक निर्माणाधीन रहेको जनकपुरधामको रेल भवन चर्किन थालेको हो । भवन निर्माण गर्ने भारतीय कम्पनी इर्कोन इन्टरनेसनलले निर्माण गरिरहेको जनकपुरधामस्थित स्टेशन भवन प्रयोगमा आउनुपूर्व नै चर्किन थालेको हो । भवन निर्माणमा कमसल सामग्रीको प्रयोग भएको हुँदा भवन चर्केको भवन वरपरका सर्वसाधारण बताउँछन् । नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्जिनीयर विनोदकुमार ओझाले पनि भवन चर्केको स्वीकार गरेका छन् । निर्माण कम्पनीलाई सचेत गराउँदा गराउँदै पनि उसले चासो नलिएको ओझाले बताए । भवन चर्केसँगै जनकपुरस्थित रेल्वे स्टेशनबाट रेल्वे ट्र्याक र स्लिपर जोडने क्लिप पनि चोरी भएका छन् । रेल्वे स्टेशनमा बनाइएको ट्रसको नटबोल्ट र रेल्वे स्टेशनमा बनाइएको खानेपानीको धारासमेत चोरी भएको साइट इञ्जिनीयर ओझाको भनाइ छ । भवन चर्कनु र स्टेशन भवनबाटै एकपछि अर्को सामान हराउँदै जानुमा रेल विभागको राम्रो अनुगमन र सुरक्षा प्रबन्ध हुन नसकेको सर्वसाधारणको टिप्पणी छ । तयार भइसकेको पहिलो खण्डमा तत्काल रेल सञ्चालन गर्न, दोस्रो खण्डको बाँकी काम शुरु गर्न र तेस्रो खण्डको मुआब्जा विवाद चाँडै टुङ्ग्याएर निर्माण काम थालिए जनतामा काम हुँदैछ भन्ने सकारात्मक सन्देश प्रवाह हुने महोत्तरी–१ ‘क’ का प्रदेशसभा सदस्य शारदादेवी थापा बताउँछिन् । भारत सरकारको रु.सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुुरु गरिएको हो । विसं १९९४ मा शुरु भएको बिजलपुरा–जनकपुर–जयनगर (भारत) ५१ किमी रेलमार्ग विसं २०५८ सालमा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । यो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै रेल विभागले विसं २०७० मै रेल सेवा बन्द गराएपछि पछिल्लो छ वर्षयता रेल सेवा पूर्ण रूपमा बन्द रहँदै आएको छ । रासस