आशा लघुवित्तको जोखिम व्यवस्थापनका लागि तालिम
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य ३ दिने जोखिम व्यवस्थापन तालिम तथा समिक्षा गोष्ठी समापन भएको छ । पोखरामा भदौं २५ गतेदेखि शुरु भएको उक्त कार्यक्रममा देशभरि ५५ वटा शाखा कार्यालयमा ५५ जना शाखा प्रबन्धकहरु सहभागिता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृति बद्रीप्रसाद दुलालले उद्घाटन गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै शाखा प्रबन्धकहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने बताए । कार्यक्रममा कर्जा व्यवस्थापन सम्बन्धी तालिम तिर्थरत्न कोनाजोले, उत्प्रेरणा तथा सकारात्मक सोचको विकास सम्बन्धमा दिपेन्द्र पहाडीले तथा योगा र ध्यान सम्बन्धी विश्वमणी तिवारीले प्रशिक्षण दिएका थिए । संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडा, दिपेन्द्र खनाल तथा कमल खत्रीले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरे । कार्यक्रममा बोल्दै अनुगमन अधिकृतहरु बिजय यादव, सुशिल पौडेल तथा हरीशंकर कुमार मिश्रले कर्जा विश्लेषण सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धमा प्रशिक्षण दिएका थिए । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार शुरु गरेको हो । हाल वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ४७ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थामा करिब १ अर्ब ९७ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ५३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर मलंगवामा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले सर्लाही जिल्लाको मलंगवा नगरपालिका, वडा नं. ८ मलंगवामा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निर्सल साहले गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रदेश २ प्रमुख समिर अचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक रविप्रसाद श्रीवास्तवले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।
गल्याङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विजयी भए अर्याल
वालिङ । गल्याङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रगतिशील समूहका यज्ञप्रसाद अर्याल विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाबाट प्रगतिशील समूहका अर्याल २२५ मत प्राप्त गरी विजयी भएका हन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समूहका ध्रुव श्रेष्ठले २१५ मत प्राप्त गरेका थिए । नेकपा निकट रहेको प्रगतिशील समूह र नेपाली काङ्ग्रेस निकटको लोकतान्त्रिक समूहबीच प्यानल बनाएर निर्वाचन भएको थियो । नयाँ कार्यसमितिका लागि भएको निर्वाचनबाट लोकतान्त्रिक समूह वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्षसहित अन्य तीन सदस्य पदमा विजयी भएका छन् । प्रगतिशील समूह अध्यक्ष, कोषाध्यक्षसहित दुई सदस्य पदमा विजयी भएको निर्वाचनमण्डलका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण चापागाईंले बताएका छन् । अध्यक्षमा विजयी अर्याल २२५, वरिष्ठ उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी २३२, उपाध्यक्ष बाबुराम पाण्डे २१७, महासचिव कृष्णप्रसाद भट्टराई २७४, सचिवमा उमा श्रेष्ठ २५३, कोषाध्यक्षमा बलराम श्रेष्ठ २१४, सहकोषाध्यक्षमा होमलाल भट्टराई २२८ मतका साथ विजयी भएका हुन् । त्यसैगरी, सदस्यमा गुमप्रसाद थापा, नरबहादुर गुरुङ, ऋषि बस्याल, हुमकान्त पाठक र चिन्तामणि अर्याल विजयी भएका छन् । चार सय ७० मतदाता रहेको गल्याङ उद्योग वाणिज्य सङ्घको शनिबार भएको मतदानमा ४४५ मत खसेको थियो । रासस
थप दुई मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन
काठमाडौं । प्रभु बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बर्दिबासस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ भदौ २७ गते बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले उद्घाटन गरेका हुन् । त्यसै गरी जलेश्वरस्थित मालपोत कार्यालय परिसरमा मिति २०७६ भदौ २७ गतेका दिन जलेश्वर मालपोत कार्यालय प्रमुख भुपबहादुर बोगटि र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख युवराज राईले संयुक्त रुपमा उद्घाटन गरेका थिए । महोत्तरी जिल्लास्थित बर्दिबास मालपोत कार्यालयमा र जलेश्वर मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंकले मालपोत कार्यालयमा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै दुवै मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । प्रभु बैंकका दुवै एक्स्टेन्सन काउण्टरहरुबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित भएका छन् । प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
कोहलपुरबाट चौसठ्ठी खसीबोका नियन्त्रण
काठमाडौं । वडादशैँ र तिहार नजिकिएसँगै बाँके जिल्लामा विभिन्न नाकाहरुबाट प्रशासनको आँखा छलेर अवैध धन्दा गर्ने समूह सक्रियरूपमा लागिपरेका छन् । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अवैधरूपमा नेपाल भित्र्याएका ठूलो मात्रामा खसीबोका नियन्त्रणमा लिएको छ । बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा राखिएका ६४ खसीबोका प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार नियमित जाँचका क्रममा ६४ खसीबोका नियन्त्रणमा लिइएको खसीको मूल्य रु पाँच लाख बराबरको रहेको बताए । नियन्त्रणमा लिइएको खसी तथा ट्रक चालक कृष्णप्रसाद पराजुलीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको जानकारी दिए। यसरी अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो नियन्त्रणमा लिने गरेको छ । करीब दुई साताअघि भारतबाट तस्करी गरेर ल्याउँदै गरेका रु तीन लाख २० हजार मूल्यका ३९ खसीबोका राप्तीसोनारी गाउँपालिका–४ बैजापुरबाट नियन्त्रणमा लिएको थियो । रासस
पासाङल्हामु राजमार्ग मर्मत शुरू, मौसमले साथदिए १२ दिनसम्म सूचारु गर्ने
काठमाडौं । पहिरोका कारण गत असार महिनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिबारबाट मर्मतकार्य शुरू भएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार छोकलबाट दक्षिणतर्फ रसुवागढी हाइड्रोपावर, सडक विभाग, गोसाइँकुण्ड गाउँपालिका, पूर्व सांसद जर्नादन ढकालको उपकरणले राजमार्ग मर्मतकार्य अगाडि भइरहेको छ । मर्मतकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत परिचालन गरिएको बताइएको छ । मौसमले साथ दिए अब १२ दिनसम्ममा राजमार्ग खोलिने र मौसमले साथ नदिए राम्चे खण्डको मर्मतकार्य अनश्चित हुने जानकारी दिए । सत्र किलोमिटर दूरीअन्तर्गत मैलुङतर्फबाट भने गल्छी–मैलुङ– स्याफ्रुबेँसी सडक सुधार आयोजना, सांसद मोहन आचार्यसमेतको उपकरणले द्रुतरूपमा सञ्चालन भइरहेको बताइएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजमार्ग सञ्चालन गर्न प्रदेशसभा सदस्य प्रेम तामाङसमेत सहभागी हुनुभएको र सांसद मोहन आचार्य, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङसमेतको सहमतिबाट मैलुङ खण्डको राजमार्ग सञ्चालनमा काम अगाडि बढाइएको हो । सम्भवतः दुई, तीन दिनभित्र राजमार्ग सञ्चालन गर्ने लक्ष्य लिइएको बताइएको छ । पासाङल्हामु राजमार्गअन्तर्गत राम्चे भीरमा गएको पहिरो व्यवस्थापन गरी यातायात सञ्चालन गर्न समयावधि निकै लाग्ने र केरुङबाट दशैँका लागि सामान लिई आएका मालबाहक ट्रक रोकिएका कारण नदी किनारको नयाँ राजमार्ग प्रयोग गर्न लागिएको प्रजिअ भण्डारीले जानकारी दिनुभयो । केरुङबाट सामान लिई आएका करीब ७०० मालबाहक ट्रक, कन्टेनरमध्ये २०० कन्टेनर भन्सार जाँचपास भई गन्तव्यतर्फ जान सडकमा लामबद्ध भई बसेका र ५०० मालबाहक कन्टेनर भन्सार हातामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए । भारी वर्षासँगै भदौ २५ गते गएको पहिरोका कारण पूर्णरूपमा बन्द भएको राम्चे खण्डको पासाङल्हामु राजमार्ग सञ्चालन गर्न मर्मत एवं पुनःनिर्माणको काम पनि शनिबारबाट शुरू भएको छ । डिभिजन सडक कार्यालय नुवाकोटका प्राविधिक एवं साइट इन्चार्ज सरोज कडरियाले सडक सतह भासिएका कारण पहिरोले झारेका हिलो पन्छाई ग्याबिन भर्ने काम शुरु भइसकेको छ । दैनिक रु तीन करोड भन्सार शुल्कवापत राजश्व आर्जन गर्ने पासाङल्हामु मार्ग सञ्चालनमा ढिलाइ गर्न नहुने र कालिका गाउँपालिका–१ राम्चेको भीर छेउको पहिरो व्यवस्थापनका लागि सुरक्षा अङ्गलगायत सबै क्षेत्रले सहयोग गर्न आवश्यक देखिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध भएपश्चात् नेपाल–चीनबीचको व्यापार–व्यावसायका सामान ढुवानीमा संलग्न सयौँ ट्रक तथा कन्टेनर राजमार्गका विभिन्न भागमा अलपत्र अवस्थामा पार्किङ भइराखेको ट्राफिक प्रहरीले जनाएको छ । चीनसँगको व्यावसायिक कारोवार गर्ने उत्तरी नाकाको राजमार्गमा जिम्मेवार निकायले समयमै संरक्षणमा ध्यान नपुर्याउँदा वर्षाका कारण राम्चेको राजमार्ग क्षति भएको स्थानीय बासिन्दाले बताएका छन् । एकातर्फ दक्षिणपट्टिको राम्चेस्थित सेतीभूमे माविको आसपास र अर्कोतर्फ राम्चे भीरको उत्तरतर्फको नालीबाट बगेका वर्षात्को पानी एकत्रित भई निकास लिएको स्थानमै ठूलो पहिरो जाँदा राजमार्ग क्षति भएको बताउँदै स्थानीयवासीले बताएका छन् । उनीहरूका अनुसार परेका भल पानी ठाउँ–ठाउँबाट निकास दिन नसक्नुनै राजमार्ग क्षतिको कारण हो । रासस
सुनको मूल्य घट्यो, प्रतितोला ७० हजार २ सयमा कारोबार हुँदै
काठमाडौं । साताको पहिलो दिनको सुन प्रतितोला ७० हजार २ सयमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ७० हजार ६ सयमा कारोबार भएको सुन आइतबार प्रतितोला ४ सय रुपैयाँ घटेर उक्त मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा बिक्री वितरण भईरहेको छ । भने चाँदी प्रतितोला ८ सय ४० रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
एक नम्बर बन्ने अभियानमा प्राइम कमर्शियल बैंक, कन्काई गाभियो, ‘समृद्धिमा ४ पिल्लर महत्वपूर्ण’
काठमाडौं । २२ अर्ब चुक्ता पुँजी पुर्याएर देशकै ठूलो बैंक बन्ने लक्ष्यसहित अघि बढेको प्राइम कमर्शियल बैंकले पूर्वी नेपालको उत्कृष्ट मानिने कन्काई विकास बैंकलाई आफूमा विलय गराएको छ । आईतबार प्राइम कमर्शियल बैंकको केन्द्रीय कार्यालयमा आयोजित एकीकृत कारोबार समारोह गर्दै प्राइमले कन्काईलाई औपचारिक रुपमा आफूमा विलय गरेको घोषणा गरेको हो । हाल ९ अर्ब ३१ करोड रुपैंया शेयर पुँजी भएको प्राइम कमर्शियल बैंकले ५१ करोड ५० लाख रुपैंया रहेको कन्काई विकास बैंकलाई १०० रुपैंया बराबर ७१ रुपैंया स्वाप रेसियो दिएर गाभेको हो । योसँगै बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैंया पुगेको छ । बैंकले राष्ट्रियस्तरको कैलाश विकास बैंक र ललितपुर फाइनान्सलाई पनि आफूमा गाभ्ने सम्झौता गरिसकेको छ । प्राइमले कैलाशलाई १०० रुपैंया बराबर ९४ रुपैंया र १०० रुपैंया र ललितपुर फाइनान्सलाइ १०० बराबर २० रुपैंया दिएर आफूमा गाभ्न लागेको हो । प्राइमले यसअघि नै अधिकृत पुँजी २२ अर्ब कायम गरिसकेको छ । सो सीमाभित्र पुँजी विस्तार गर्न बैंकले विभिन्न वित्तीय संस्थाहरु आफूमा गाभ्ने नीति लिँदै आएको छ । मर्जसँगै बैंककाे निक्षेप ८८ अर्ब ३ कराेड, कर्जा ८० अर्ब २८ कराेड रूपैयाँ भएकाे छ भने शाखा संख्या ९५ वटा भएकाे छ । हाल प्राइम बैंकमा करिब १५०० कर्मचारीहरु कार्यरत छन् । नम्बर वान बन्ने लक्ष्य, ४ ओटा आधार आइतबार आयोजित एकीकृत कारोबार समारोहमा प्राइम कमर्शियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्राइम बैंक देशकै नम्बरवान वाणिज्य बैंक बन्ने घोषणा गरे । कैलाश र ललितपुर फाइनान्सलाई गाभेपछि १२ अर्ब चुक्ता पुँजी र १८ अर्बको प्राथमिक पुँजी पुग्ने र त्यसपछि बैंकले आकार र गुणस्तर दुवैका आधारमा नेपालकै नम्बरवान वाणिज्य बैंक बन्ने दिशामा आफूलाई केन्द्रित गर्ने घोषणा समेत श्रेष्ठले गरे । उनले त्यसका लागि बैंकका ४ ओटै खम्बाहरुलाई उत्तिकै महत्व दिएर अघि बढ्ने समेत बताए । ‘कुनै पनि बैंकका ४ खम्बाहरु भनेको निक्षेपकर्ता, ऋणी, शेयरधनी र कर्मचारीहरु नै हुन्, यी सबैका हितहरुलाई केन्द्रमा राखेर अघि बढ्छौं’ उनले भने । कन्काईलाई मर्ज गर्दा पूर्वी नेपालका जिल्लाहरुमा बैंकको पहुँच निकै बढ्ने विश्वास समेत उनले गरे । कन्काई, कैलाश र ललितपुरलाई समेत गाभेपछि ती संस्थाका कर्मचारीहरुको वृत्ति र क्षमता विकासमा उत्तिकै ध्यान दिँदै उनीहरुको क्षमतालाई बैंङ्कको प्रगतिका निम्ति सदुपयोग गर्ने उनले बताए ।