विकासन्युज

रुपन्देहीको तिलोत्तमा नगरमा लगानी सम्मेलन, ५० अर्बभन्दा बढी लगानी भित्रिने अपेक्षा

बुटवल । स्थानीय तहका तर्फबाट मुलुकमै पहिलोपटक रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको छ । यही असोज ९ गते आयोजना हुने लगानी सम्मेलनमा राज्यका सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र विशेषज्ञको समेत प्रतिनिधित्व रहनेछ । लगानी सम्मेलनमा रहने महत्वपूर्ण सहभागितामा नगरपालिकामा प्राथमिकता, लगानीका उद्देश्य र सम्भावनाका बारेमा छलफल हुने छ । नगरपालिकाले अहिलेसम्ममा कृषि, पर्यटन, उद्योग, पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिएर लगानी सम्मेलनमा विभिन्न २२ परियोजनाका विषयमा प्रस्ताव लैजाने तयारी गरेको नगरप्रमुख वासुदेव घिमिरे बताउँछन् । सो सम्मेलनको उद्देश्य र यसको सफल कार्यान्वयनका लागि नगरप्रमुख घिमिरेले विभिन्न पक्षसँग छलफल गरेका छन् । लगानी सम्मेलनमा आयोजकसहित सङ्घीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्तासमेत गरी करीब ८०० को सहभागिता रहने नगरप्रमुख घिमिरेले बताए । यसै विषयमा नगरपालिकाले देशमै पहिलोपटक लगानी सम्मेलन आयोजना गरेर सम्पूर्ण राज्य, निजी क्षेत्र र विकास साझेदार निकायको ध्यानाकर्षण गरेको छ । राज्यको बजेट तीन तहका सरकार सञ्चालन, व्यवस्थापन र संरचना निर्माणमा धेरै खर्च हुने अवस्था छ । प्रदेशमा पनि भौतिक संरचना निर्माणमा ठूलो रकम खर्च हुँदा चाहेर पनि अनुदान रकम प्राप्त हुनसक्ने अवस्था छैन । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट पनि ठूला आयोजना, भौतिक पूर्वाधार, कृषि, पर्यटनसँग सम्बन्धित परियोजना सञ्चालन गर्न नसकिएको अवस्थामा सो नगरपालिकाले पाँच वर्षीय एकीकृत शहरी विकास योजना र १५ वर्षीय रणनीतिक योजना तयार गरेको तथा ती योजना समयमै सम्पन्न गर्न आवश्यक पर्ने लगानी जुटाउन निजी क्षेत्रको सहभागिता जरुरी ठानेर उक्त सम्मेलनको आयोजना गरिएको नगरप्रमुख घिमिरेको भनाइ छ । नगरपालिकाले पहिचान गरेका झण्डै १०० परियोजनामध्येबाट प्राथमिकताका आधारमा २२ परियोजना प्रस्ताव गरिएको छ । मुलतः कृषि, पर्यटन, उद्योग, व्यापार पूर्वाधार, स्वास्थ्य र शिक्षासम्बन्धी परियोजना प्रस्तावित गरिएको नगरप्रमुख घिमिरेले बताए । लगानी सम्मेलनका माध्यमबाट तिलोत्तमा कृषि उपज सङ्कलन तथा प्रशोधन केन्द्र, ढाक्रेवास पर्यटकीयस्थल, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनेसहब, रेलवे रिङरोडजस्ता परियोजनामा लगानी भित्र्याउने मुख्य लक्ष्य राखिएको उनको भनाइ छ । त्यस्तै नगरका तीन स्थानमा स्मार्ट हाटबजार, स्मार्ट पार्किङस्थल, बाल उद्यान, रोहिणी एकीकृत बहुउद्देश्यीय पर्यटकीयस्थल, तिलोत्तमा मिनी नेपाल, महिला तथा बाल अस्पताल र एकीकृत दूध सङ्कलन तथा प्रशोधन केन्द्रसमेत अगाडि सारिएको छ । नगरपालिकाले सम्मेलनबाट राखेको अपेक्षामध्ये लगानी सम्मेलनबाट निजी क्षेत्र अहिलेसम्मको अवस्थामा निकै नै उत्साहित भएको अवस्थाले पनि लगानी सम्मेलनमा निजी क्षेत्रबाट रु ५० अर्बभन्दा बढी पूँजी भित्रिने अपेक्षा आयोजकको छ । सम्मेलनले लगानीका अवसरलाई नजिकबाट जान्ने तथा बुझ्ने अवसर प्रदान गर्ने र स्वदेशी तथा विदेशी लगानी भित्रिने अपेक्षा छ । भारत, चीन, बङ्गलादेशलगायतका देशबाट सम्मेलनमा सहभागी हुन लगानीकर्ता आउने नगरप्रमुख घिमिरे बताउँछन् । “तिलोत्तमा स्मार्ट सिटी, फोहरमैला व्यवस्थापन, कृषि प्रशोधन केन्द्रलगायतका परियोजनामा चिनियाँ लगानीकर्ता इच्छुक देखिएकाले पनि यो लगानी सम्मेलनले स्वदेशी र विदेशी लगानी भित्र्याउनका लागि राम्रो अवसर बन्ने अपेक्षा राखेका छौँ”, उनले भने । उक्त नगरपालिकामा मात्र उत्पादन हुने झण्डै रु ४० लाखको दूध बाहिर निर्यात हुन्छ । अब नगरभित्र उत्पादित दूधको स्थानीयरूपमै बजारीकरण गर्ने नगरपालिकाको प्राथमिकतामा छ । नगरपालिकाले सुरक्षा निकायसँग समन्वय गरेर शान्तिपूर्ण वातावरणमा सम्मेलन आयोजना गर्ने वातावरण निर्माण गरेको छ । आगामी दिनमा पनि औद्योगिक क्षेत्रमा सुरक्षाबल राख्ने कुरा, लगानीकर्तालाई सुरक्षाको अनुभूति दिलाउने, व्यवसायिक कर, नक्सापासलगायत नगरबाट हुने काममा कर छुटको व्यवस्थालगायत सबै किसिमले सहज हुने वातावरण सिर्जना गर्ने विषयमा स्थानीय सरकारका तर्फबाट प्रतिबद्धताका साथ काम हुने उनको भनाइ छ । यस अवधिमा नगरपालिकाले पर्यटन पूर्वाधारका क्षेत्रमा काम अगाडि बढाएको, भौतिक पूर्वाधारका ठूला योजनाको कामअन्तर्गत नगरको प्रशासनिक भवन निर्माण र विभिन्न वडा कार्यालयका भवन बनाउन शुरु गरिएको छ । हरेक कार्यक्रम गर्नुपर्दा महङ्गो मूल्य तिरेर होटलमा कार्यक्रम गर्नुपर्ने अवस्थाको अन्त्य गर्न अब केही समयभित्रमै नगरको सुविधासम्पन्न सभाहल निर्माण पूरा हुने अवस्थामा रहेको उनले बताए । विगत दुई वर्षदेखि विज्ञहरुसँग समन्वय तथा छलफल गरेर लगानीका लागि सम्भावित क्षेत्रको पहिचान गरिसकिएको र सुझावका आधारमा नगरमा लगानीका प्राथमिकता क्रमशः कृषि, पर्यटन र उद्योगलाई जोड दिइएको छ । साथै बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेका कारण लुम्बिनीसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने योजनाअनुरुप ठूला–ठूला होटल खोल्नका लागि जग्गा भाडामा दिने योजनासमेत अघि सारिएको छ । “स्थानीयरूपमै सबै व्यवस्थापन गर्ने गरी दुग्धजन्य उत्पादनका लागि कारखाना खोल्ने तयारी गरेका छौँ”, प्रमुख घिमिरेले भने, “जसबाट प्याकेटमै दूध र दहीको उत्पादन गरेर बिक्री गर्ने योजना बनाएका छौँ, नेपालमै पहिलोपटक केही उद्योगको परिकल्पना गरेका छौँ, उत्पादनका लागि आवश्यक कच्चा पदार्थ पनि यहीकै प्रयोग गर्न सकियो भने बजार मूल्य सस्तो हुन्छ, अहिले बिचौलियाका कारण उत्पादनकर्ता र उपभोक्ता दुवै मर्कामा छन्, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ ।” रासस

थानकोट-नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने

काठमाडौँ । ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको जानकारी दिए । “हाल ३६८ स्थानमा नियमित जाँचका लागि ७५० जनशक्ति परिचालन गरेकामा चाडपर्वलाई लक्षित गरेर ४३० जनशक्ति थप गरेका छौँ”, उनले भने । ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा विशेष जाँचको व्यवस्था गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला दशैँ मान्न झण्डै २५ लाख यात्रु बाहिरिने भएकाले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउने यातायात व्यवसायी गम्भीर भएर लागेका बताउँछन् । जाँचका क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरे/नगरेको, लामो दूरीका सवारी साधनमा दुई चालक भए÷नभएको, सवारी साधनभित्र भाडादर राखे/नराखेको, मोटरसाइकलले हेल्मेटको प्रयोग गरे÷नगरेको, क्षमताभन्दा धेरै यात्रु वा सामान राखे÷नराखेकोलगायतका कुरा हेर्नेछ । चाडपर्वको समयमा तीव्रगतिमा सवारी साधन चलाउने चालकलाई कारवाही गर्ने महाशाखाले जनाएको छ । यसैगरी, यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको यात्रु सहायताकक्षमा समेत ट्राफिक प्रहरी खटाइने महाशाखा प्रमुख ढकाल बताउँछन् । नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सम्पूर्ण सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षणसमेत गरिने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुवँर यान्त्रिक परीक्षणसँगै चाडपर्वको समयमा हुने दुर्घटनामा कमी आउने बताउँछन् । “नयाँ बसपार्कबाट छुट्ने अधिकांश सार्वजनिक सवारी साधनलाई परीक्षण गरेर उपत्यका बाहिर पठाउँछौँ”, उनले भने । यात्रु, चालक तथा सहचालकलाई लक्षित गरेर सवारी साधन छुट्नुभन्दा अगाडि संस्कार समाज नेपालको सहकार्यमा महाशाखाबाट निर्माण गरिएको जनचेतनामूलक अडियो एक हजार थान पेनड्राइभ वितरण गरिने महाशाखाले जनाएको छ । संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले सार्वजनिक सवारी साधनमा असल संस्कारसम्बन्धी जनचेतनामूलक अडियो वितरण गरेसँगै समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताउनुभयो । चाडपर्वको समयमा थानकोट–नागढुुङ्गा सडकखण्डमा सवारी चलाउँदा ओभरटेक गर्न नपाइने व्यवस्थासमेत गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतमा जस्तै चाडपर्वको समयमा कलङ्की–नौबिसे सडकखण्डमा सवारी साधन बिग्रेर घण्टौँसम्म जाम हुने परिपाटीको अन्त्यका लागि प्रहरी प्रधान कार्यालयबाट ‘र्याकर’ (बिग्रेको सवारी तान्ने साधन)को व्यवस्था गर्नुभएको छ । जसले गर्दा कुनै पनि सवारी साधन बिग्रेमा तत्काल तानेर बाटो खुलाउन सकिन्छ । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन आइतबारदेखि ५०० ट्राफिक स्वयंसेवक सडकमा खटाएको छ । महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्वयंसेवक परिचालन गरेको हो । जसले गर्दा चाडपर्वको बेला यातायात व्यवस्थापनमा सहजता हुने महाशाखाले विश्वास लिएको छ ।

थोमस कुक र जेट चल्न सकेनन्, संघर्ष गर्दैछ नेपाल वायुसेवा निगम

काठमाडौं । विश्वमा दिनहुँ नयाँ-नयाँ विमान कम्पनीहरू खुल्ने क्रम बढ्दो छ । बजारको माग र यात्रुहरूको सहजतालाई ध्यानमा राखेर सर्वसुलभ सुविधा प्रदान गर्ने उद्देश्यका साथ विमान कम्पनीहरू धमाधम खुलिरहेका छन् । नयाँ विमान कम्पनीहरू खुल्ने क्रम बढेसँगै पुराना प्रतिष्ठित विमान कम्पनीहरू बन्द हुन थालेका छन् । गत वर्ष चैत्र २५ गते भारतकै ठूलो मध्येको एयरलाइन्स कम्पनी जेट एयरवेज बन्द भयो । जेट एयरवेज आर्थिक संकटमा फस्दै गएको भन्दै उसले आफ्नो अन्तराष्ट्रिय उडान स्थगन गर्यो । सन् १९९२ सालमा आफ्नो सेवा विस्तार गरेको सो कम्पनी बन्दसँगै हजारौंको रोजगार समेत गुम्यो । यस्तै, सोमबार मात्रै १७८ वर्ष इतिहास बोकेको विश्वको पहिलो ट्राभल कम्पनी थोमस कुक ट्राभल्स औपचारिक रुपमा विघटन भयो । सन् १८४१ सालमा खुलेका कम्पनी बन्द भएसँगै सो कम्पनीमा कार्यरत विश्वका १६ देशका २२ हजार कर्मचारीहरूलाई बेरोजगार भए ।  यात्रुहरूको सहजताका लागि प्रचलित र प्रतिष्ठित थोमस कुक एयरलाइन्स कम्पनी बन्द हुनुले अहिले केही पुराना कम्पनीहरूमाथि पनि प्रश्न चिन्ह खडा भएको छ । यात्रुहरूको बढ्दो आकांक्षालाई पुरा गर्न र प्रतिस्पर्धी कम्पनीहरूले सरह सुविधा दिन नसक्दा  उक्त कम्पनी वित्तीय रूपमा टाट पल्टिएकाे हाे । नयाँ खुलेका कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने क्रममा ग्राहकलाइ लाेभ्याउने प्याकेज ल्याउँदा पनि कम्पनी घाटामा जाने र टाँट पल्टिने  यी उदाहरणहरूले संकेत गरी सकेका छन् । विश्वका प्रतिष्ठित कम्पनीहरू बन्द हुनुको कारण लो कष्ट क्यारिएर भएको हिमाल एयरलाइन्सका निर्देशक राजु केसी बताउँछन् ।  ‘लो क्यास’ को समस्याले पनि ति कम्पनी बन्द भएका हुन्’, उनले भने, ट्याक्स व्यवस्थापन गर्न नसकेर र बजारमा प्रतिस्पर्धी हुन नसक्दा विमान कम्पनीहरु बन्द हुने गर्दछन् । हाल प्रविधिको युग भएकोले पुराना कम्पनीहरूले त्यस्ता प्रविधिको प्रयोग पनि कम गर्छन्, यो युगमा प्रविधिसँग रम्न सके मात्र सफल भइन्छ ।’ नेपालमा पनि हाल धेरै एयरलाइन्सहरूले विमान सुविधा दिइरहेका छन् । विमान कम्पनीहरू बढेसँगै कम्पनीहरूलाई बजार धान्न पनि धौधौ परेको अवस्था छ । जहाजको भाडा बजारको माग र आपूर्तिले निर्धारण गर्छ । नेपाल वायुसेवा निगम पनि मुलुकको पुरानो र सरकारको मात्र लगानी रहेको एयरलाइन्स कम्पनी हो । ६१ वर्ष इतिहास बोकेको निगम पनि अहिले वित्तीय संकटमा छ । हाल निगम करिब ४० अर्ब रूपैयाँ ऋणमा डुबेको छ । व्याज खर्चले निगम झनझन् कमजाेर बनाएकाे र यहि अवस्थामा अघि बढे निगमले कर्मचारीलाई तलव दिन पनि मुश्किल पर्ने हालै गठित निगम सुधार कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । अर्बाै ऋणमा हुँदा हुँदै पनि भदौ १२ गतेदेखि ओशाकामा उडान शुरु गरेको छ । हाल निगमले ओशाकाको प्रत्येक उडानमा करोडौंको क्षति बेहोर्नु परेको समाचारहरू पनि आइरहेका छन् । यी र यस्तै जाेखिमहरूले पनि निगमको हालत थोमस कुक र जेट एयरवेज जस्तै नहोला भन्न सकिन्न । नेपाल वायुसेवा निगमले पनि थोमस कुक र जेट एयरवेयजका केही घटना क्रमहरूलाई अध्ययन गरेर अगाडी बढ्न आवश्यक छ । वित्तीय रुपमा कमजोर अवस्थामा पुगेको निगमलाई सक्षम संस्थाका रुपमा अगाडि बढाउन वायुसेवा निगम सुधार कार्यदलले तयार पारेको प्रतिवेदनलाई गाइडलाइन्सको रुपमा लिन जरुरी छ । कार्यदलले निगमलाई पुरानै र २० औं शताब्दीको अव्यवहारिक र पुरानो प्रविधि प्रयोग गर्दै आएको जनाएको थियो । यसले पनि उसको बजारमा प्रतिस्पर्धा गर्ने क्षमतालाई दर्शाउँछ । त्यसैले एक अब्बल र शसक्त संस्थाका रुपमा अगाडि बढ्न नयाँ सूचना र प्रविधिहरु प्रयोग गरी प्रतिस्पर्धात्मक बजारमा होमिन आवश्यक छ ।

वैदेशिक रोजगार व्यवसायी सङ्घमा लोकतान्त्रिक समूह विजयी

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । सङ्घको २७ औँ साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो । सङ्घको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भएका छन् । उनले कूल ३३० मत प्राप्त गरेका थिए । सङ्घको निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका सरोजकुमार पोखरेलले २८३ मत प्राप्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सङ्घीय समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षमा पोखरेलले उम्मेदवारी दिएका थिए । सङ्घको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन् । यस्तै सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलले पनि जित हासिल गरेका छन् । सङ्घको अध्यक्षमा विजयी भएपछि गैरेले सङ्घलाई सबै व्यवसायीको साझा मञ्चका रुपमा विकास गरेर लैजाने बताए । सङ्घको निर्वाचनमा कूल ६२१ प्रतिनिधिले मतदान गरेका थिए । निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका थिए । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनी निर्वाचन प्रक्रियामा नै सहभागी भएका थिएनन् ।

बैंक अफ काठमाण्डूको एजीएम असोज ३० गते, बुक क्लोज कहिले ?

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको २५ औं वार्षिक साधारण सभा(एजीएम) असोज ३० गते हुने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे एलिस रिसेप्सन गैह्रीधारा काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप बैंकको चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर स्वीकृत गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज १६ गतेदेखि असोज ३० गतेसम्म सेयरधनी दर्ता किता बन्द(बुक क्लोज) हुने बैंक अफ काठमाण्डूले जनाएको छ ।

एनएमबि र ओमको एकीकृत कारोबार असोज ११ देखि, ओमबाट लिएका भिजा कार्ड असोज १० पछि नचल्ने

काठमाडौँ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असोज ११ गतेदेखि हुने भएको छ । काठमाडौँ बबरमहलमा मुख्य कार्यालय भएको एनएमबि र पोखरा चिप्लेढुंगा मुख्य कार्यालय रहेको ओमबीच एकीकृत कारोबार हुने भएको हो । एनएमबिको साउन २८ गते र ओमको साउन २७ गते सम्पन्न विशेष साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव स्वीकृत गरेको थियो । गाभ्ने/गाभिने संस्थाहरुको साधारण सभाको निर्णय बमोजिम राष्ट्र बैंकबाट असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज ५ गते स्वीकृति प्राप्त भएको जनाइएको छ । यता, ओमले जारी गरेका डेबिट कार्ड(भिजा कार्ड) असोज १० गतेसम्म मात्र चल्ने भएको छ । एनएमबी बैंकसँग एकीकृत कारोबार पछि विगतमा जारी भएका कार्डहरु असोज १० गतेसम्म पछि प्रयोगमा नआउने भएकाले आफ्नो खाता रहेको शाखामा सम्पर्क गरी नयाँ कार्ड लिन ओम डेभलपमेन्ट बैंकले आग्रह गरेको छ ।

कृषि विकास बैंकको रकम ह्याकरले गरे आफ्नै खातामा ट्रान्सफर, पैसा चोर्दै गर्दा पक्राउ

काठमाडौँ । कृषि विकास बैंकको खातामा रहेको रकम मंगलबार दिउँसो ह्याकर समूहले आफ्नो खातामा ट्रान्सफर गरेका छन् । ह्याकर समूहका ३ जनालाई पक्राउ गरिएको र अन्य व्यक्तिको खोजी भएरहेका प्रहरी श्रोतले जनाएको छ । बैंकको सिरहा शाखाबाट काठमाडौँ ट्रान्सफर गरिएको करोडौँ रकम काठमाडौँबाट निकाल्न लाग्दा प्रहरीले पक्राउ गरेको हो । ह्याकर समूहले कति रकम ट्रान्सफर गरी चोरी गरे भन्ने अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख चोरी भएको देखिएको राष्ट्र बैंक श्रोतले जनाएको छ । घटनामा सिराहाको लाहान शाखामा कार्यरत तीन जना कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौड्यालले बताए । चोरी भएको रकम ७ जनाको खातामा ट्रान्सफर भएको देखिएको छ,’ उनले भने ‘काठमाडौंको न्यूरोड र कैलली भजनीबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।’ लाहानमा कार्यरत कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग गरी अनलाइन सिस्टममार्फत् भुक्तानीको अर्डर दिई विभिन्न स्थानबाट रकम निकालिएको हो । कृषि विकास बैंकबाट निकालिएको पैसा सर्वसाधारण नभइ बैंकको भएको प्रवक्ता पौडेलले बताए । ‘बैंकको खातामा भएको रकम झिकिएको हो,’ उनले भने ‘यो घटनाले सर्वसाधारण निक्षेपकर्तालाई कुनैपनि असर गर्दैन ।’ पक्राउ परेका व्यक्तिहरु नेपाली नै रहेको र उनीहरुको नाम भने प्रहरीले हालसम्म गोप्य राखेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले केही रकम बरामद गरेको जनाएको छ । यसअघि पनि भदौ १५ गतेमा प्रहरीले एटिएम ह्याक गरी रकम झिक्ने ५ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सय रूपैयाँको नयाँ नाेट सिधा हेर्दा रातो देखिने र ढल्काएर हेर्दा हरियो देखिने 

फाइल तस्वीर काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ साज–सज्जासहित सय रुपैयाँको नयाँ नोट आजदेखि प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले चलनचल्तीमा ल्याएको नयाँ नोटमा फरक विशेषता समावेश गरिएको छ । कूल दुई मिलिमिटर चौडा भएको रङ परिवर्तन हुने नोटलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङको देखिने सुरक्षण धागो राखिएको छ । नोटको मध्य भागमा एक सिङ्गे गैँडाको माऊ र बच्चाको चित्र पनि राखिएको छ । उक्त नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । यस्तै मध्य भागमा नेपालको नक्सा, अशोकस्तम्भको चित्रका साथै, ‘लुुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल’ लेखिएको छ । यस्तै अशोकस्तम्भ सँगै दृष्टिविहीनका लागि नोट पहिचानका लागि छामेर थाहा पाउने कालो थोप्लासमेत समावेश गरिएको छ । बैंकका अनुसार अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र राखिएको छ । दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।