साधारणसभा गर्न वाणिज्य बैंकले जस्तो ढिलो नगर्ने, ‘धेरै विकास बैंकहरु राष्ट्र बैंक गइसके’
काठमाडौं । एनएफआरएस प्रणालीअन्तर्गत वित्तीय विवरण बनाउन अनिवार्य गरिएका विकास बैंकहरुको साधारणसभा वाणिज्य बैंक तथा बीमा कम्पनीहरूको जस्तो ढिलो नहुने भएको छ । अधिकांश विकास बैंकहरुले नयाँ लेखाप्रणालीअनुसार वित्तीय विवरण बनाएर स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइसकेको र राष्ट्र बैंकले विवरण स्वीकृत गर्नेबित्तिकै साधारणसभा बोलाउने डेभलपमेन्ट बैंकर्स एशोसिएसन अफ नेपालले जनाएको छ । संघका अध्यक्ष गोविन्द ढकालले यसअघि नै ४/५ ओटा विकास बैंकहरुले विवरण पठाइसकेको भन्दै यसबीचमा अन्य धेरै बैंकहरुले वित्तीय विवरण तयार गरेर राष्ट्र बैंकमा पठाइसकेको जानकारी दिए । ‘गरिमा विकास बैंक लगायत ४÷५ ओटा बैंकहरुले धेरै दिनअघि नै राष्ट्र बैंकमा रिपोर्ट पठाइसकेका थिए, अहिले त धेरैजसोले पठाइसके होला, राष्ट्र बैंकले विवरण स्वीकृत गर्ने बित्तिकै हामी साधारणसभा बोलाउँछौं, ढिलो गर्दैनौं ।’ अध्यक्ष ढकालले विकासन्यूजसँग भने । उनले राष्ट्र बैंकले विवरणहरु स्वीकृत गर्न लगाउने समयका आधारमा बैंकहरुले साधारणसभा बोलाउने भन्दै बैंकहरुले गर्दा साधारणसभा बोलाउन ढिला नहुने बताए । उनले पुस मसान्तभित्रै सबैजसो बैंकहरुले साधारणसभा बोलाउनसक्नेमा विश्वस्त रहेको समेत बताए । वाणिज्य बैंक र बीमा कम्पनीहरुले अनिवार्य रुपमा एनएफआरएस प्रणाली लागु गरेपछि गत वर्ष बैंकहरुको साधारणसभा बोलाउन निकै ढिला भएको थियो । १५ ओटा बैंकहरुले समय घर्किएपछि मात्रै साधारणसभा बोलाएका थिए । बीमा कम्पनीहरुमा त कतिपयले अझैसम्म पनि साधारणसभा बोलाउन सकेका छैनन् । यो वर्षदेखि विकास बैंक र फाइनान्स कम्पनीलाई यो लेखाप्रणाली अनिवार्य गरिएको छ । पुरानो एनएएस प्रणालीमा धेरैजसो मानहरु वास्तविक हुने र या प्रणालीमा अनुमानित औसत हुने भएको कारणले पुरानो प्रणालीबाट नयाँ प्रणालीमा सिफ्ट हुँदा त्यसले समय लिने गरेको थियो । अब एनएफआरएस नयाँ नभएको र अघिल्लो वर्षदेखि नै विकास बैंकहरु यो प्रणालीमा जान तयार भएका कारण ढिलाई नहुने भएको हो । कम्पनी ऐन २०६३ ले कुनैपनि कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणको लेखापरीक्षण गरी त्यसलाई साधारणसभाबाट पारित गराएर कम्पनी रजिष्टर कार्यालयमा कम्पनी अद्यावधि गर्नुपर्ने व्यवस्था गरेको छ । सो समयभित्र कम्पनी अद्यावधि नभएमा कार्यालयले जरिवाना गर्ने व्यवस्था छ । हालैमात्र शेयर बजारमा आएको मार्जिन ट्रेडिङका लागि योग्य हुन पनि पुस मसान्तभित्र साधारणसभा गर्न अनिवार्य मानिन्छ, त्यसका लागि पनि बैंकहरुले साधारणसभा गर्न हतार गरेका हुन् ।
प्राइम लाइफको विशेष साधारण सभाः बोनस शेयर पारितसँगै चुक्ता पूँजी २ अर्ब नाघ्यो
काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलबार सम्पन्न विशेष साधारण सभाले बोनस सेयरको प्रस्ताव पारित गरेसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघेको छ । कम्पनीको विशेष साधारण सभाले हालको चुक्तापुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । अब कम्पनीको चुक्ता पूँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । विशेष साधारणसभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार ३ सय ३६ रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ । कम्पनीले नियमनकारी निकाय बिमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी कायम गर्न विशेष साधारण सभा बोलाएको हो ।
त्रिवि भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन, ‘राजस्व प्रशासनमा स्वच्छता कायम गर्नू’
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शिता र कुशलता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायी मैत्री रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी रुपमा तयारी गर्न नागरिक उडड्यन विभागसँग समेत पयाप्त सहकार्य गर्नुपर्ने बताए । विमानस्थलमा अन्य निकायको समेत समन्वय हुने भएकाले प्रभावकारी, छिटोछरितो र सहज रुपमा सेवा दिनुपर्नेमा सम्बन्धित सबै निकायलाई निर्देशन दिए । मन्त्री खतिवडाले विमानस्थलमा भौतिक पूर्वाधारको समस्यालाई नागरिक उडड्यन प्राधिकरणसँग सहकार्य गरेर व्यवस्थापन गरिने स्पष्ट पारे । उनले भन्सारमा रहेका मालवस्तु तथा सामानहरुको समयमै निकासी तथा लिलामी गरि काम नलाग्नेलाई स्टलमा नराखी खाली गर्न समेत निर्देशन दिए । उनले तोकिएको राजस्व पुरा गर्न सबै प्रकारका प्रयासहरु गर्ने, आवश्यक जनशक्तिको व्यवस्थापनमा अर्थ मन्त्रालय र भन्सार विभागले ध्यान दिनसमेत निर्देशन दिए । उनले निर्यात हुने मालवस्तुलाई प्राथमिकता दिनुपर्ने भन्दै जाँचपास प्रक्रियालाई सरल, छिटो र चुस्तदुरुस्त बनाई विवेकीय एवम् नीतिगत रुपमा स्वच्छ सेवा दिन सुरक्षा निकाय, अध्यागमन, प्राधिकरण भन्सारलगायतको उत्तिकै सहकार्य तथा सहयोग आवश्यक पर्ने बताए । स्थलगत निरीक्षणमा भन्सार विभागका महानिर्देशक सुमन दाहाल, अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख झक्कप्रसाद आचार्य, त्रिविका सुरक्षा प्रमुखलगायतको सहभागिता थियो ।
फ्रिजमा करेन्ट लागेर तीनको मृत्यु
धनुषा । धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उनकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घटना रातिकै भए पनि बिहान कोही नउठेपछि स्थानीयले हेर्दा तीनैजना करेन्ट लागेको अवस्थामा मृत फेला परेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहानै होटल सञ्चालक महतोकी आमा होटल गई ढोका खोल्दा तीनै जनालाई मृत अवस्थामा देखेपछि स्थानीयलाई गुहारेकी थिइन् । घटनापश्चात् स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीनै जना होटलमा राखिएको फ्रिज नजिकै मृत अवस्थामा भेटिएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो । अहिले इलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुगेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् । घटनास्थल प्रकृति मुचुल्का उठाई तीनै जनाको शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकराी दिए । रासस
दशैं नजिकिँएसँगै चोरहरुको बिगबिगी, तीन दिनमा ४४ घरमा चोरी
गुल्मी । तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिएका छन् । यसरी, चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुङ्गा–१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताए । रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र अटेजी फुटाइ नगद, गरगहाना र सुनलगायतका सामग्री चोरी गरी लगेको स्थानीयवासीले बताएका छन् । चोरी गर्नेहरुले प्रति घरबाट रु पाँच हजारदेखि २५ हजारसम्म नगदसहित पाँच तोलासम्म सुन गरी लाखौँ रकम बराबरको सामान चोरी गरेको बताइएको छ । गाउँमा चोरीका घटना बढ्न थालेपछि यतिबेला दुबिचौरमा स्थानीयवासीले रातभर गस्ती अभियान शुरु गरेका छन् । चाडपर्व नजिकिँदै जाँदा चोरीका घटना बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालयले जिल्ला र स्थानीय प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरी गस्ती गर्न शुरु गरेको छ । घटनाको जानकारी पाएपछि क्षतिको विवरण सङ्कलन गर्न र चोरी गर्ने व्यक्तिको खोजतलास गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताएका छन् । रासस
दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम राेकियाे
काठमाडौं । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिएका छन् । उनका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । उक्त काम सकेपछि निर्माणको काम अघि बढ्नेछ । डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम सकी दुई साताअघि निर्माणकार्यअन्तर्गत माटो मिलाउने काम भइरहेको थियो । हाल निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनस्थलसम्म जान अहिले फोहर व्यवस्थापन गरिँदैआएको स्थान सिसडोलबाट दुई किलोमिटर पर पर्दछ । केन्द्र सरकारले नै फोहर व्यवस्थापन गर्ने स्थान (ल्याण्डफिल) निर्माण गरिदिनुपर्ने काठमाडौँ महानगरपालिकाको मागअनुरुप शहरी विकास मनत्रालयले निर्माणको काम अघि बढाएको हो । निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको हो । करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ । निर्णयअनुसार बाँध निर्माणको काम सो मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । दुई वर्षका लागि भनेर विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा विसर्जन गरिँदै आएको छ । सम्झौता गरिएको लामो समयसम्म पनि सिसडोलमै फोहर राख्दै आएकाले पछिल्लो समय त्यहाँका स्थानीय बासिन्दाले फोहर विसर्जनस्थल अन्यत्र सार्न दबाब दिएपछि बञ्चरेडाँडामा निर्माणको काम शुरु गरिएको हो । उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी २०० गाडी फोहर लगिने गरिएको छ । रासस
सुनको मूल्य ६ सयले बढ्यो, प्रतितोला ७२ हजारमा कारोबार
काठमाडौं । साताको चौथो दिन सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेर सो मूल्यमा कारोबार भईरहेको हाे । त्यस्तै मंगलबार प्रतितोला तेजावी सुन ७१ हजार १ सयमा कारोबार भएको थियो भने बुधबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको छ । मंगलबारको चाँदी प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ५ रुपैयाँ बढेर ८९० रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बाह्र क्रसर उद्योग मापदण्डविपरीत सञ्चालित
तनहुँ । जिल्लामा सञ्चालन हुँदै आएका १२ क्रसर उद्योग मापदण्डविपरीत रहेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गरेको मापदण्ड अनुरुप कुनै पनि उद्योग सञ्चालनमा छैनन् । यसरी, उद्योग सञ्चालन गर्नेमा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा छन् । खनाल गिट्टी बालुवा उद्योग, यशोशान्ति कङ्क्रिट स्टोन, थापा एग्रिगेट उद्योग, सिद्धेश्वर एग्रिगेट एण्ड कङ्क्रिट ब्लक उद्योग, महालक्ष्मी एग्रिगेट इण्डष्ट्रिज उद्योग, क्वालिटी एग्रिगेट एण्ड क्रसर उद्योग प्रालि, शिवशक्ति ढुङ्गा बालुवा क्रसर उद्योग, शिवशक्ति ढुङ्गा बालुवा क्रसर उद्योग छन् । त्यसैगरी, म्याग्दे गाउँपालिकामा रहेका ढोरबाराही एग्रिगेट इण्डष्ट्रिज र सेती दोभान ब्लक एण्ड एग्रिगेट उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेका कार्यालयले जनाएको छ । त्यस्तै, आबुखैरेनी गाउँपालिकाकोको एसजी रोडाढुङ्गा उद्योग र छिम्केश्वरी रोडा ढुङ्गा उद्योग छन् । जिल्लाका देवघाट र आबुखैरेनीका दुई क्रसर उद्योगले भर्खरै नयाँ मापदण्ड पूरा गरी दर्ता प्रक्रियामा ल्याएका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टानको उत्खनन र सङ्कलन गर्दा पहाडी क्षेत्रमा तालतलैया र धार्मिक महत्वका पोखरीदेखि ५०० मिटर बाहिर हुनुपर्ने, हाइटेन्सन लाइनबाट ५०० मिटर बाहिर हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका स्थान, सुरक्षा निकायबाट ५०० मिटर बाहिर हुनुपर्ने प्रावधान छ । यहाँ सञ्चालित कुनै पनि क्रसर उद्योगले मापदण्ड पूरा नगरी सञ्चालन गरेकाले मापदण्ड पूरा गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख नारायणप्रसाद ढकालले बताएका छन् । मापदण्ड पूरा नगरी सञ्चालन गरिएकाले ती क्रसर उद्योगले विसं २०७२ देखि नवीकरणसमेत गरेका छैनन् । उद्योग बन्द गर्दा विकास निमार्णका काम प्रभावित हुने हुँदा चाँडै नै नयाँ मापदण्डअनुसार सञ्चालन गर्न निर्देशन दिइएको सो कार्यालयले जनाएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मापदण्ड पूरा नगर्ने क्रसर उद्योगलाई साउनदेखि नै बन्द गर्न निर्देशन दिएको बताएका छन् । रासस