विकासन्युज

राजस्व चुहावट गरेको अभियोगमा १५ जनाविरुद्ध मुद्धा

काठमाडाैं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा १५ जनाविरुद्ध मुद्धा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध आइतबार सम्बन्धित जिल्ला अदालतहरुमा मुद्धा दायर गरेको छ । राजस्व चुहावट अभियोगमा सिराहा नगरपालिका वडा नं। ९१ स्थित गोमती गुट्खा उद्योगका सञ्चालक मोहन महतो समेत ३ जनाविरुद्ध मुद्धा दर्ता गरेको हो । उनीहरुलाई राजस्व चुहावट गरेको अभियोगमा ५१ करोड ९३ लाख विगो कायम गरी विगोको दोब्बर सम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिईसिराहा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो । यस्तै झुट्टा तथा नक्कल विल प्रयोग गरी राजस्व छलि गर्ने जे।बि।सोलुशन प्रालिका संचालकद्वय जनार्दन भण्डारी र फिरोज मास्के समेत ५ जना विरूद्द पनि मुद्दा दायर भएको छ । उनीहरूले ३ करोड ७१ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा सो जति नै विगो कायम गरी ३ वर्षसम्म कैद माग दावी लिई मुद्धा दायर गरी ९ गते काठमाण्डौजिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । यस्तै सि आर ट्रेडिंगको फर्म प्रोप्राईटर रिंकी चौधरी साहको नाममा दर्ता गरी सर्लाही जिल्ला मलंगवा न।पा। ९४ भएका उक्त फर्ममा मुख्य कारोबार गर्ने दिनेस राय समेत ७ जनालाई मासु जन्य पदार्थ समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्धा दायर गरेको छ । उनीहरु विरुद्ध १ करोड ५ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मकी प्रोप्राईटर रिंकी चौधरी र उक्त र्फमको मुख्य कारोबारी दिनेश रायलाई६३ लाख पचासी हजार समेत विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मिति मुद्दा दायर गरिएको हो । यस्तै काठमाडौं जिल्ला नागार्जुन न।पा। ९१० स्थायी घर भएका दिप ज्योती ग्रुप एण्ड फुड प्रोडक्टस कम्पनीप्रालिका संचालक बासुदेब मरहठ्ठा समेत १० जनालाई फ्रेन्च फ्राइज समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ३१ लाख ८९ हजार तथा विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मका संचालकहरु ४ जनालाई द्दद्द लाख ३९ हजार विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको बताइएको छ ।

राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको नुवाकोट शाखाले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा जीवन बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन भएको हो । पुस ९ गतेदेखि १२ गतेसम्म तीन दिन बिदुर नगरपालिकाको बट्टारमा जीवन बीमा अभिकर्ताको लागि आधारभूत तालिम कार्यक्रम भएको थियो । नुवाकोट शाखाका प्रमुख राजकुमार भडेलको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेका थिए । तालिम कार्यक्रममा संस्थानका प्रधान कार्यालय बजार व्यवस्थापन विभागका चुडा राज अधिकारी र बिनोद कुमार भट्टले प्रशिक्षण दिएका हुन् ।

लगानी वोर्ड बैैठकः ३ जलविद्युत आयोजनाको लागि ८५ अर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी वोर्डले ३ जलविद्युत आयोजनाको लागि ८५ अर्ब २८ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा वोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको वोर्डको ४२औं बैठकले लगानी स्वीकृत गरेको हो । वोर्डले दिएको जानकारीअनुसार माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजनाको लागि करिब ६५ अर्ब रुपैयाँ, मस्र्याङ्दी बेसी जलविद्युत परियोजनाको लागि ११ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ र माथिल्लो त्रिशुली–३ बी जलविद्युत परियोजनाको लागि ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ लगानी स्वीकृत भएको हो । यी ३ वटै परियोजना निर्माणका लागि परियोजना विकासकर्ताले लगानी स्वीकृतिका लागि वोर्डमा निवेदन दिएका थिए । ठूला परियोजनाको लगानी स्वीकृतिदेखि अन्य सबै प्रकारको सहयोग र सहजीकरण गर्न वोर्ड स्थापना भएको हो । यस्तै, वोर्ड बैठकले अरुण–३ जलविद्युत परियोजनाको छ्याङ्कुटी–दिदिङ प्रवेशमार्गमा रहेको मुआब्जा विवाद सम्बन्धमा अध्ययन गर्न गठिन छानविन समितिलाई प्राविधिकसहितको थप जनशक्ति उपलब्ध गराई २ महिनाभित्र यथार्थ विवरण पेश गर्ने गरी पुनर्गठन पनि गरेको छ । बैठकले कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश ३ को बनेपा र चितवन, सुदूरपश्चिम प्रदेशको गोदावरी–अत्तरिया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश १ को उर्लाबारी तथा प्रदेश २ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकारहरु/संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाउन लगानी वोर्डको कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

सिन्धुली सम्मेलन काठमाडौंमा, विभिन्न ८ विधामा कार्यपत्र प्रस्तुत

काठमाडौं ।  सिन्धुली सम्मेलन काठमाडौंमा  सम्पन्न भएकाे छ । समृद्ध सिन्धुली अभियानले  आयोजना गरेको सिन्धुली परिकल्पना २०३० (सिन्धुली सम्मेलन) राजधानीमा सम्पन्न भएकाे हाे । सम्मेलनमा नेकपा माओवानीका स्थायी समिति सदस्यसमेत रहेका नेता पूर्वमन्त्री हरिबाेल गजुरेलले नेताहरुबीच कहाँ कसलाई नियुक्ति गर्ने भन्नेमा मात्र छलफल नभइ पार्टीका विकासका बारेमा पनि बहस हुनुपर्ने बताए । प्रदेश सभा सदस्य विजुला बर्माले सांसदले नियम, कानुन र ऐन बनाउने जिम्मेवारी भए पनि विकासको चिड्को बोकेर मन्त्रालय र योजना आयोग धाउने काम गर्नु परेको गुनासो गरिन् । कार्यक्रममा सिन्धुलीको समग्र विकासका लागि धीरप्रसाद भण्डारीले कृषि, आशिष गजुरेल पूर्वाधार, लीलाविक्रम थापाले स्वास्थ्य, डा.दुर्गाप्रसाद दाहालले शिक्षा, जनार्दन बराल, माया थापाले दीगो विकास, दीपक श्रेष्ठले पर्यटन र सुमन थापाले लगानीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम अभियानका अध्यक्ष लीलानाथ घिमिरेले प्रस्तुत भएका कार्यपत्रलाई एकीकृत दस्तावेजको रुप दिएर सिन्धुलीका ९ वटै स्थानीय तहसँग सहकार्य गरी विकास निर्माणका काम अगाडि बढाउने बताए । सिन्धुली सम्मेलनमा शिक्षाविद गोविन्द गजुरेल, समाजबादी पाटीका महासचिव गङ्गानारायण श्रेष्ठ, नेकपा नेता प्रकाश श्रेष्ठ, हिरा लामालगायत पर्यटन व्यवसायी, उद्यमी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

३ करोड इँट्टा उत्पादन गर्ने लक्ष्यसहित हरिसिद्धि इँट्टा कारखाना पूर्ण सञ्चालनमा

काठमाडौं । हरिसिद्धि इँट्टा तथा टायल कारखानाले आफ्नो उत्पादन क्षमता बढाउने लक्ष्यसहित पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । उक्त कारखानाले पुनःनिर्माणलाई मध्येनजर गर्दै डबल डि एयरिङ प्रविधि प्रयोग गरेर वार्षिक ३ करोड उच्च गुणस्तरको इँट्टा उत्पादन गर्ने लक्ष्य लिइ सञ्चालनमा ल्याएको हो । ३०० जना कर्मचारी तथा मजदुरहरु कार्यरत रहेको कारखानामा आठ हजार शेयरधनीहरु रहेका छन् । चिनियां सरकारको सहयोगमा निर्माण गरिएको हरिसिद्धि इँट्टा तथा टायल कारखाना विक्रम संवत् २०४९ सालमा निजीकरण गरिएको थियो । हरिसिद्धि इँट्टा तथा टायल कारखानाबाट उत्पादित इँट्टा तथा टायल मार्फत देशकै गौरवपूर्ण भवनहरु निर्माण गरिएका थिए । महाराजगञ्ज शिक्षण अस्पताल, रामशाहपथ स्थित कृषि विकास बैंकको केन्द्रिय कार्यालय, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, होटेल हायात रिजेन्सी, होटेल याक एण्ड यति, होटेल सोल्टी, सिंहदरबार स्थित राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालय जस्ता भवन संरचनाहरु हरिसिद्धि कै इँट्टा तथा टायलबाट बनिएका हुन् । हरिसिद्धि इँट्टा तथा टायल कारखाना व्यवस्थापनका अनुसार कारखाना निजीकरण पश्चात कारखानाको क्षमता विस्तार गरी चिनियां प्रविधि मार्फत इँट्टा तथा टायल उत्पादन सुरु गरिएको थियो । तर उच्च लोडसेडिङ र कच्चा पदार्थ अभावका कारणले गर्दा केही वर्ष इँट्टा तथा टायल उत्पादनमा ह्रास आएको थियो । निजी आवास तथा व्यावापारिक महत्वका ठुला भवनहरु निर्माणलाई लक्षित गरी कारखानाले गुणस्तरीय इँट्टा उत्पादन गरिरहेको हरिसिद्धि इँट्टा तथा टायल कारखाना व्यवस्थापनले जनाएको छ । व्यवस्थापनका अनुसार सम्पदा पुनः निर्माणको लागि समेत सम्पदा अनुकुलका इँट्टा तथा टायल उत्पादन भइरहेका छन् ।

नेपाल बंगलादेश बैंकद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बंगलादेश बैंकले शनिबार प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंस्थित प्रधान कार्यालयबाट वित्तीय साक्षरताको नारा लिई उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैंकका काठमाडौँ उपत्यका भित्र रहेका २१ वटा शाखाहरु र प्रधान कार्यालयबाट कुल ३५० कर्मचारीहरु सहभागी भएका थिए । बिहान ८ः३० बजे सुरु भएको प्रभातफेरी कार्यक्रम बैंकको प्रधान कार्यालयबाट शुरू भइ शहिद गेट, न्यु रोड गेट, जुद्ध शालिक भइ इन्द्र चोक, असन बजार, जमल, दरबार मार्ग हुदै पुनः प्रधान कार्यालयमा पुगेर सम्पन्न भएको थियो । सो कार्यक्रममा कर्मचारीहरुले वित्तीय साक्षरताको नारा लेखिएका प्लेकार्डहरु लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थिए । कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले वित्तीय साक्षरताको महत्व, बचत गर्नुको फाइदा लगायत बैंकिंग कारोबारका फाइदाहरुको बारेमा जानकारी दिएका थिए ।

नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा, चार सम्पदाको स्वरूप फेरिँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेष रूपमा लिएको कामपाले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन् । हाल कामपाले तार व्यवस्थापन, सम्पदामा रङरोगन गर्ने र अन्य सरसफाइको काम तीव्र रूपमा गरिरहेको छ । त्यस्तै शहरलाई कुरूप बनाई राखिएको विभिन्न किसिमका विज्ञापन हटाउनका लागि पनि कामपाबाट दैनिक चार टोली खटिएको छ । शहरको मुख्य स्थानमा विज्ञापन हटाउने कार्य सकिसकेको छ । काठमाठौँको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा यतिबेला तार व्यवस्थापनको कार्य सकिइसकेको छ भने अन्य स्थानमा पनि यस किसिमको काम भइरहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । ठमेलबाट मात्रै अव्यवस्थित रूपमा रहेको १६ गाडी तार व्यवस्थापनको कार्य सकिएको छ । प्रमुख शाक्यले भने, “काठमाडौँलाई सुन्दर बनाउने प्रमुख दायित्व कामपाको नै हो त्यसैले सोहीअनुरूप काम भइरहेको छ, । प्रमुख शाक्यले सम्बन्धित सबै वडाका वडाध्यक्षलाई सरसफाइ गरी पाहुनालाई स्वागत गर्न तयार रहन निर्देशन दिइसकेका छन् । चार सम्पदाको स्वरूप फेरिँदै काठमाडौँको मुख्य आकर्षणका रूपमा रहेका चार सम्पदा हनुमानढोका, स्वयम्भूनाथ, बौद्ध र पशुपतिनाथ मन्दिरलाई सुन्दर र आकर्षक बनाउन रङ लगाउने र सरसफाइको काम भइरहेको छ । प्रमुख शाक्यले कुराकानीकै क्रममा भने, “काठमाडौँ आउने पर्यटकमध्ये ९० प्रतिशतले यी चार सांस्कृतिक सम्पदाको अवलोकन गर्ने पाइएकाले सोहीअनुरूप सौन्दर्य अभिवृद्धिमा खटिएको हो ।” सहकार्य गरेर मात्रै भ्रमण वर्ष सफल बनाउन सकिने भन्दै प्रमुख शाक्यले कामपासँग भगिनी सम्बन्ध भएका विभिन्न मुलुकका नगरलाई नेपाल भ्रमण गर्नका लागि निम्तो दिएको पनि जानकारी गराए । केन्द्र सरकारको भन्दा पनि भ्रमण वर्षलाई सफल बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै उनले यसका लागि सबै स्थानीय तह नै जिम्मेवार बन्नुपर्ने बताउँछन् । सौन्दर्य अभिवृद्धिका लागि चालू आर्थिक वर्षमा कामपाले रु १० करोड विनियोजन गरेको छ । इन्द्रजात्रा अवलोकनले भ्रमण वर्षलाई सहयोग पहिलो पटक कामपाले गत भदौ अन्तिम साता भएको इन्द्रजात्राको अवलोकन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरेको थियो । एघार देशका ४१ पहुनाले इन्द्रजात्राको मात्रै अवलोकन नगरी काठमाडौँ उपत्यकाको विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेकाले भ्रमण वर्षलाई थप सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । उक्त समयमा पाहुनाले हनुमानढोका क्षेत्रमा रहेका सम्पदा, पशुपति मन्दिर, चन्द्रागिरि, पाटनको सङ्ग्रहालय, कृष्ण मन्दिर र भक्तपुरको पचपन्न झ्याले दरबारको अवलोकन गरेका थिए । जात्रा अवलोकन गर्न चीन, भारत, अमेरिका, भूटान र जापानका ११ शहरबाट ४१ पहुना आएका थिए । उक्त समयमा अवलोकन गरेका पाहुनाले पुनः नेपाल भ्रमणको लागि आउने बताएका थिए । भ्रमण वर्षको औपचारिक शुरुआत सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरुआत आगामी बुधबारदेखि गर्ने तयारी गरेको छ । यही पुस १६ गते काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रङ्गशालासँगै सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् । त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने कार्यक्रम तय भएको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ । तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ । उद्घाटन कार्यक्रममा मार्चपास तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछन् । कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोशाकमा सहभागी हुन आग्रह गरिएको छ । मार्चपास तथा र्यालीमा राष्ट्रिय झण्डाका साथ सम्बन्धित संस्थाको झण्डा प्रयोग गर्न सकिनेछ । तीन घण्टा सञ्चालन हुने उद्घाटन समारोह दिउँसो तीन बजे शुरु हुनेछ । भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकका गरी ४० भन्दा बढी विदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीको सहभागिता उद्घाटनको दिन रहने छ । सरकारले भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को १० महिनामा १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । रासस

नखाएको ऋणमा ७ वर्ष जेलबास, मुटु चलाउन ब्याट्रीको सहयोग

काठमाडौं । ‘ठ्याक्कै घर त मलाई पनि थाहा छैन, यहीँ नजिक हुनुपर्छ, म सोधेर आउँछु है,’ सानागाँउ चोकबाट साँखु रोडतिर अलिकति ओराले झरेपछि बाइक रोक्दै उनले भने । उनी, अर्थात् सागरराज खड्का । कालो रंगको बाइक हेलमेटविनै चलाइरहेका थिए । साँझको ५ बजिसकेको थियो । पुसको ७ गते । जाडो निकै थियो । कालोपत्रे गर्न ठिक्क पारिएको सडक । धुलो पनि उडिरहेको थियो । सागर एउटा घरमा छिरे । हामी मोटरसाइकल रोकेर उनलाई पर्खिरह्यौं । ‘ऊ त्यो जस्ताको टहरो छ नि ! त्योभन्दा अगाडिको घर रहेछ,’ उनले घर पत्ता लगाएछन्, अनि हामीलाई सुनाए । बाइक केही अगाडि बढायौं । केही अघि बढेर एक तले घर अगाडि रोकियौं । ‘ठिकै छ बाबु ! तर, मैले राम्ररी चिनिनँ नि !’ घर छिर्ने ढोका नजिकैको गाईगोठसँगै रहेको धारो बन्द गर्दै करिब ५०–५५ वर्ष जतिका वयस्क व्यक्ति जवाफ दिदै थिए । त्योभन्दा अगाडि सागरले नमास्कारदेखि सन्चो विसन्चोको औपचारिक प्रश्न उनीसँग सोधिसकेका थिए । ‘म सुवेदी गाउँको सागर हो अंकल, सागर खड्का,’ सागरको यो परिचयले पनि उनले चिने जस्तो गरेनन् । ‘पुस्कारराज खड्काको छोरा, तपाईं र मेरो ड्याडी सात वर्ष सँगै जेल बस्नु भएको होइन र ? हजुर नै होइन र रघु कार्की ?’ सागरले आफ्नो परिचय थपे । ‘ए… ! पुस्कारको छोरा ? ९ करोडको कम्पनी भएको व्यक्तिले आफ्ना गाउँले सजिलै कहाँ चिन्छ र ?’ ती वयस्कले हास्दै भने । उनले यसो भन्दै गर्दा उनकी श्रीमती पनि हाँसिन् । र, हामी पनि । अब हामीले भेटेका थियौं– रघु कार्की । उनी २३ फागुन २०६६ मा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबाट ९ करोड रुपैयाँ कर्जा प्रवाह भएको आरके स्टील एण्ड फर्निचर उद्योग प्रालिका प्रोपाइटर हुन् । त्यसैले उनी ९ करोड रुपैयाँको कम्पनीको मालिक भनेर आफूलाई रमाइलोसँग प्रस्तुत गरिरहेका थिए । ‘उहाँहरुलाई त अझै चिनिएन त,’ रघुले हाम्रो परिचय खोजे । ‘उहाँहरु पत्रकार हो, शम्भु केसीले तयार पारेका नक्कली ऋणीको अवस्था के कस्तो रहेछ भनेर बुझ्न आउनु भएको रे, उता हाम्रो ड्याडीसहित अरु पीडितलाई भेटिसक्नुभयो, तपाईंसँग भेट गराइदेउ भन्नुभएकोले मैले ल्याएको,’ सागरले नै भने । नमस्कार दोहोर्यायौं । रघुकी श्रीमतीले भित्रै बसेर कुरा गर्न अनुरोध गरिन् । भित्र छिर्यौं । ‘९ करोडको कम्पनीका मालिकको घर हो, मिलेर बस्नुपर्छ है बाबु,’ अब हाँसिमजाक गर्ने पालो रघुकी श्रीमतीको थियो । उनले यसोभन्दै दुईटा मुडा प्यासेजमा राखिदिइन् । मुडामा टुसुक्क बस्यौं । र, हामी आउनुको कारण खुलस्त पार्यौं । मिल्छ भने क्यामेरामा बोल्न अनुरोध गर्यौं । नभए पनि डायरीमा विवरण टिप्ने भन्यौं । उनीहरु क्यामेरामा बोल्न सहजै तयार भए । मानौं, आफ्नो पीडा पोख्ने हतारोमा थियो रघुको परिवार पनि । रघुले कोठामा बसौं भने । हामी छिर्दाको बायाँतिरको एउटा कोठामा भद्रगोल सामान थिए । दाहिनेतिरको एउटा कोठा बन्द थियो । अर्काे कोठा सायद भान्सा थियो । र, बाँकी रहेको बायाँतिरको कोठामा छिर्यौं, जहाँ २ वटा बेड राखिएको थियो । ‘ब्याट्री राखेर मुटु चलाएको छ, डाक्टरले धेरै नबोल्नु भनेको छ, जति सक्छु, म आफैं बोल्छु, बाँकी यिनर्ले भन्छन्,’ एउटा बेडको छेउमा बसेर रघुले भने । उनको मुटुको धड्कन बन्द भएपछि पेस मेकर राखिएको रहेछ । र, उनले ‘यिनर्ले’ भनेको उनकी श्रीमतीले थप जानकारी दिन्छिन् भनेका रहेछन् । ‘गाह्रो हुन्छ होला, तपाईं नबोल्नुस् न त’, हामीले भन्यौं । उनी आफै बोल्ने अडानमा रहे । खासमा भन्ने हो भने पेस मेकर राखिएको विरामीसँग कुरा गरेको पहिलो अनुभव थियो हाम्रो (सहकर्मी प्रकाश वाग्लेसहितको) । अनि रघु कार्कीले यसरी आफ्नो कथा सुनाए– रघु क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका तत्कालिन प्रबन्ध निर्देशक पवन कार्कीका ससुरा शम्भु केसीका बहिनी ज्वाइँ नाता पर्ने व्यक्ति हुन् । उनी साँखुको साना गाउँमा बस्थे । शम्भुका ज्वाइँ पवनले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई वाणिज्य बैंक बनाउने पहल थाले । यसको लागि व्यालेन्ससीटको आकार ठूलो हुनुपर्छ भनियो । अनि पवन, उनका ससुरा शम्भुसहितको जग्गा कारोवारीको समूह आफ्ना नातागोता र चिनजानका व्यक्ति खोज्न थाले । यस्तैमा शम्भुको टोलीको नजरमा परे रघु । उनी सानागाउँमा खेती किसानी गर्ने सामान्य लेखपढ भएका व्यक्ति थिए । ‘माओवादी सरकारमा आएको छ, मेरो जग्गा जमीन धेरै छ, केही जग्गा तपाईंको नाममा राखिदिनुपर्यो भने, मैले हुन्छ भनेपछि केही जग्गा मेरो नाममा पास गराए, पछि कम्पनी खोल्ने कुरा गरे, मैले त्यो पनि हुन्छ भनेँ, पछि त त्यही कम्पनीको नाममा ९ करोड रुपैयाँ ऋण निकालिएको रहेछ, मलाई त थाहै थिएन,’ रघुले विगत सम्झे । शम्भुले रघुको नाममा आरके स्टील एण्ड फर्निचर उद्योग प्रालि दर्ता गराए । त्यही प्रालिको नाममा क्यापिटलबाट ९ करोड रुपैयाँ ऋण निकालियो । ऋणको सावाँ व्याज नतिरेर कर्जा दुरुपयोग गरेको आरोपमा रघुलाई पाटन उच्च अदालतको आदेशले जेल हालियो । ‘जेलमा ७ वर्ष बसेँ, म जेलमा परेपछि छोराले पढाइ विगारो, जेलमा हुँदा नै एकदम पेट दुखिरहन्थ्यो, छुटेपछि चेक गराउँदा मुटु चल्न छोडेछ, गंगालाल अस्पतालमा गएर मुटुको अप्रेसन गराएँ, अहिले व्याट्री राखेर मुटु चलाएको छ,’ रघुले भक्कानिदै भने । रघुले धेरैबेर कुरा गर्न सकेनन् । बीचमा उनको बोली रोकियो । बोल्न अप्ठेरो भएको संकेत गरे । अनि क्यामेरा बन्द गर्यौं । हामी उनकी श्रीमतीसँग कुरा गर्न लाग्यौं । ‘पहिला जिउँदो बाँघ समातेर ल्याउन सक्ने हुनुहुन्थ्यो, जेलबाट छुटेर आएरपछि यो हालत भयो, अहिले काम गर्न त परै जावस्, राम्रोसँग कुरा गर्न पनि सक्नुहुन्न,’ रघुकी श्रीमती भन्छिन् । ‘शम्भुले बिराए, ससुराली पिराए’ शम्भु केसीलाई विश्वास गरेर फस्नेहरुको नामावली लामो छ । शम्भुले दाजुभाइ, ज्वाइँ, छिमेकी, ससुराली जस्ता नाता सम्बन्धका कसैलाई पनि बाँकी राखेनन् । हरिहर खड्का हरिहर खड्का शम्भुका ससुराली पर्छन् । शम्भुको ससुराली गागलफेदीकाे सुवेदी गाउँ हो । सुवेदी गाउँका हरिहर नेपाल प्रहरीबाट अवकाश पाएर बौद्धमा सेक्युरिटी काम गर्थे । ‘बासुदेवले शम्भु भिनाजुलाई सहयोग गर्नुेपर्ने भयो भन्यो, आफ्नै नजिकको भाइले भनेको के नमान्नु भन्ने लाग्यो, मैले जागिर गरेको ठाउँमा नै आए, के के कागजमा सही गराए, पछि त यस्तो पो रहेछ उनीहरुको खेल,’ हरिहरले भने । हरिहरले बासुदेव भनेका शम्भुका साला बासुदेव खड्का हुन् । शम्भुको योजनाअनुसार नै हरिहरको नाममा केही जग्गा पास गरियो । उनको नाममा समृद्धि इन्भेष्टमेन्ट नामक कम्पनी स्थापना गरेर क्यापिटलबाट २९ असार २०६७ मा ९ करोड रुपैयाँ झिकियो र शम्भुकै समूहले चलायो । ‘एक रुपैयाँ खाएको पनि होइन, बैंक देखेको पनि थिइनँ, ९ करोड रुपैयाँ ऋण लिएर हिनामिना गरेको आरोप रहेछ, त्यही आरोपमा ७ वर्ष जेल परेर निस्किएँ,’ हरिहरले भने । विमल खड्का शम्भु केसीको जालमा परेका अर्का व्यक्ति हुन् विमल खड्का । उनको घर पनि सुवेदी गाउँ नै हो । ‘छोरा कोकाकोला कम्पनीमा काम गर्थे, बासुले पहिला नै फसाएको रहेछ, छोराको कमाइ खाने यो बुढेसकालमा छोरालाई भेट्न जेल जानु परेको छ, खाएको न विराएको आरोप लागेछ, म कति अभागी रैछु,’ विमलकी आमा रिता भन्छिन् । विमलको नाममा पनि शम्भुले केही जग्गा पास गरिदिएछन् । र, सँगै सात्विक डेभलपर्स प्रालि नामक कम्पनी पनि खोलिदिएछन् । सो कम्पनीको नाममा क्यापिटलबाट २६ मंसिर २०६५ मा ५ करोड ७५ लाख रुपैयाँ ऋण झिकेर शम्भुकै समूहले चलायो । ‘जागिर राम्रै थियो, घरबार चलेकै थियो, बासु बुवाको उलामालामा लागेर जेल पर्नुभयो, सानो छोरा पढाएर हुर्काउँदै बसेकी छु,’ विमलकी श्रीमतीले भनिन् । भाइकृष्ण खड्का भाइकृष्ण खड्का पनि शम्भुको ससुराली पर्ने सुवेदी गाउँकै हुन् । उनको नाममा शम्भुले सान्दर्भिक विल्डर्स प्रालि खोलिदिएर ९ साउन २०६६ मा ३ करोड ५० लाख रुपैयाँ ऋण झिकेर आफैले चलाए । भाइकृष्ण पनि खाइ नपाइको ऋण बोकेर बसेका छन् । पुस्करराज खड्का शम्भुका ससुराली पर्ने पुस्करको नाममा दुई किस्ता गरी ९ करोड रुपैयाँ ऋण झिकियो । पुस्करको नाममा पारिवारिक हाउजिङ डेभलपर्स नामक कम्पनी खोलेर शम्भुको समुहले ३० मंसिर २०६५ मा १ करोड ७५ लाख र ८ वैशाख २०६६ मा ७ करोड २५ लाख रुपैयाँ ऋण झिकेर चलायो । यस्तो थियो फसाउने सुत्र शम्भु केसीले आफन्त र नातागोता व्यक्तिहरुले आफूसँग हदबन्दीभन्दा बढी जग्गा भएको सुनाउँथे । जग्गा बढी भएकोले आफन्तको नाममा पास गरेर सुरक्षित राख्ने आफ्नो योजना भन्थे । सित्तैमा अर्काको जग्गा राखिदिदा के फरक पर्ला र भन्ने आफन्तहरुलाई पथ्र्याे । हदबन्दीभन्दा बढी जग्गा सरकारले खाइदिन लागेकोले जोगाउन सहयोग चाहिएको कथा शम्भुले बुन्थे । जग्गा पास गरिसकेपछि शम्भुले उनीहरुको नाममा कम्पनी स्थापना गरिदिन्थे । कम्पनी स्थापना भएकोसम्म कसैलाई थाहा हुन्थ्यो भने कसैलाई योसम्म पनि थाहा हुदैनथ्यो । कम्पनी स्थापना गरिसकेपछि त्यही कम्पनीको नाममा शम्भुले क्यापिटलबाट ऋण झिकेर फेरि जग्गा किन्थे । त्यो जग्गा फेरि अर्काे व्यक्तिको नाममा पास गराए फेरि त्यस्तै कम्पनी खोल्दै ऋण झिक्थे । भिडियाेः प्रकाश वाग्ले