विकासन्युज

बाग्लुङमा नयाँ एयरपोर्ट बनाउने तयारी, ८२५ राेपनी जग्गा अधिकरण गर्न सूचना टाँस

काठमाडौं । उद्यमीहरू चन्द्रप्रसाद ढकाल, शेखर गोल्छा र मिनबहादुर गुरूङरुले लगानी विस्ताार गर्न उपयुक्त जिल्ला भन्दै केवलकार, हाेटल, सुपरमार्केट खाेल्ने घाेषणा गरेकाे बागलुङमा जिल्लामा नयाँ एयरपोर्ट पनि बनाउने तयारी थालिएकाे छ । बागलुङको निसीखोला गाउँपालिका २ अर्नाकोटमा अर्नाकोट एयरपोर्ट निमार्णकाे तयारी भइरहेकाे निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । एयरपाेर्ट बनाउन ८२५ राेपनी जग्गाकाे रेखाङकन गरिएकाे वडा २ का अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । एयरपोर्ट निर्माण हुन लागेको स्थानमा थोरै मात्रै नीजि जग्गा पर्ने र धेरै सरकारी जग्गा पर्ने भएकाेले एयरपाेर्ट बनाउन सहज हुने उनले बताए । पहिलो चरणको सर्वे रिपाेर्ट  एयरपोर्ट बनाउन लागि उपयुक्त देखिएकाेले दोस्रो चरणको अध्ययन सुरु भएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।यहाँ विमानस्थल बनाउन २०७४ सालमा पहिलो चरणमा गरिएको भौगोलिक सर्वे र डिजाईन गरिएकाे थियो । संघीय सरकारले यस एयरपाेर्टकाे विस्तृत अध्ययन गर्न ३० लाख रूपैयाँ बजेट व्यवस्था गरेकाे उनले जानकारी  दिए । अध्ययनका क्रममा हाल हवाई मार्ग बन्ने स्थल निसीखोला गाउँपालिकाको वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकिमा स्थानीयसँग राय सुझाव माग गरि सूचना टाँस गरिएकाे छ । एयरपाेर्ट बनाउन आवश्यक क्षेत्र निर्धारणा गरी वन, वातावरण तथा धावनमार्ग बन्ने स्थल आसपासका घर संरचनामा पर्ने प्रभावका स्थानीयबासीसँग रायसुझाव लिन सूचना टाँस गरिएकाे उनले बताए । संविधानमा एयरपाेर्टकाे सञ्चालन र व्यवस्थापन संघीय सरकारकाे मात्र अधिकारकाे क्षेत्रमा राखिएकाे छ । तर संघीय सरकारकाे  यस वर्षकाे बजेटमा हवाई पूर्वाधारकाे निर्माण, विकास तथा व्यवस्थापनमा सरकार र निजी क्षेत्रकाे साझेदारी र सहकार्यलाई प्राेत्साहित गर्ने उल्लेख छ । चालु अार्थिक वर्षकाे नीति तथा कार्यक्रममा सरकारले प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर स्थानीयत तहकाे एयरपाेर्ट बनाउने नीति लिएकाे छ । साेही नीतिका आधारमा सर्वेक्षण कार्यमा नागरिक उड्यन्न प्राधिकरणसँग सहकार्य भइरहेकाे उनले जानकारी दिए । उद्योग बाणिज्य महासघंका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङकाे केन्दमा एउटा एयरपोर्टको आवश्यकता  भएकाे बताए । अर्नाकोटमा एयरपोर्ट निर्माण भए पछि जिल्लाको विकास,उद्योग, कृषि, पर्यटन लगाएका लागि अझ राम्रो हुने ढकालले बताए । बागलुङमा यसअघि बलेवा र ढाेरपाटनमा एयर पाेर्ट रहेकाे छ । हुस्सुकाे कारण ढाेरपाटनकाे एयरपाेर्ट वर्षमा ६ महिना पनि चल्ने गाह्राे भएकाे वडा २ का अध्यक्ष कुविर विश्वकर्माले बताए । डाेरपाटनकाे एयर पाेर्ट उत्तरगंगा जलविद्युत आयाेजना निर्माण गर्दा ढुवानमा पर्ने भएकाेले  पनि नयाँ एयरपाेर्ट आवश्यक भएकाे स्थानीयकाे भनाइ छ । अर्नाकोट एयरपोर्ट सञ्चालनमा आउँदा डाेल्पा, मुगु, राेल्पा, गुल्मी, म्याग्दी लगायतका  जिल्लाकाे लागि दुर्त यातायात सेवाकाे लागि काम लाग्ने उनीहरूले बताए ।  

काठमाडौं । ठुला उद्योवगीहरुले उद्योग विस्ताार गर्न उपयुक्त जिल्लाको रुपामा बागलुङ लिन थालेका छन् । गत शुक्रबार सफल उद्यमीहरू शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल र मिन बहादुर गुरूङले बाग्लुङमा ठूला परियोजनामा लगानी गर्ने घोषणा गरेका थिए । ठुला उद्योगीहरुले उद्योग विस्तार गर्न उपयुक्त भनेको बागलुङ जिल्लामा नयाँ एयरपोर्ट बन्ने भएको छ । बागलुङको निसीखोला गाउँपालिका २ अर्नाकोटमा अर्नाकोट एयरपोट निमार्ण हुने भएको हो । अर्नाकोट एयरपोर्टको वातावारणीय अवस्थाको अध्ययन सुरु भएको छ । २०७४ सालमा पहिलो चरणमा गरीएको भौगोलिक सर्वे डिजाईन सफल भएको थियो । उद्योग बाणिज्य महासघंका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने ‘बागलुङमा केन्दमा एउटा एयरपोर्टको आवश्यता छ ।’ अर्नाकोटमा एयरपोर्ट निर्माण भए पछि जिल्लाको विकास,उद्योग, कृषि, पर्यटन लगाएका लागि अझ राम्रो हुने ढकालले बताए । पहिलो चरणको सर्वे डिजाईन सफल भइसकेको छ । पहिलो चरणको सर्वेले एयरपोर्ट बनका लागि उपयुक्त भएकाले दोस्रो चरणको अध्ययन सुरु भएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । उनले भने अर्नाकोटमा एयरपोर्ट बनाउन सहज छ । एयरपोर्ट निर्माण हुन लागेको स्थानमा थोरै मात्रै नीजि जग्गा पर्ने र धेरै सरकारी जग्गा पर्ने छ । फिल्ड अध्ययनमा वातावणीय मुल्याँकनको सबै प्रकृया पुरा गर्नका निम्ती करिब १ बर्ष समय लाग्ने र प्रकृया पुरा भए पछि धावनमार्गले गति लिने पौडेलले बताए । अध्ययनका क्रममा हवाई मार्ग बन्ने स्थल निसीखोला गाउँपालिकाको वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकिमा स्थानीयसगँ राय सुझाप मागन सुचना टाँस गरीए छ । स्थानीय बासिसँग धारणा लिईने, वन, वातावरण तथा धावनमार्ग बन्ने स्थल आसपासका घर सँरचनामा पर्ने प्रभाबका बिषयमा क्षेत्र निर्धारण गरीने छ । नागरीक उड्यन्न प्राधिकिरण र वातावरण अधिकृतको सहभागीतामा अध्ययनको काम अगाडी बढेको हो ।

नेपाल ब्राइडल मेकअप कम्पिटिसनमा विजेता बन्न सफल मनिषा

काठमाडौं। नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा विजयी भएकी छन् । गोंगबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सौन्दर्यकर्मी र मेकअप आर्टिस्ट मनिषा तामाङ सर्वोत्कृष्ट विजेता बन्न सफल भएकी हुन् । उनले आफ्ना १२ प्रतिस्पर्धीलाई पछि पार्दै ‘नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६’ (नेपाल बेहुली शृंगार प्रतियोगिता–२०७६ को उपाधि जित्न सफल भइन् । मनिषाले उत्कृष्ट भएपबात १५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरेकी छन् । यस्तै बनेपाकी मेकअप आर्टिस्ट लक्ष्मी दमाइ प्रतियोगितामा फस्ट रनरअप हुँदै १० हजार रुपैयाँ, विभिन्न उपहार जितिन् भने रोशना बज्राचार्य सेकेन्ड रनरअप हुँदै ८ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्न सफल भएकी छन् । त्यसैगरी सौन्दर्यकर्मी निकिता श्रेष्ठले बेस्ट हेयर र सबिता दुमी शेर्पाले बेस्ट मेकअपको उपाधि जिते । गोंगबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरको प्रस्तुति रहेको यो प्रतियोगिताको निर्णायकमा वरिष्ठ सौन्दर्यविद रश्मिला श्रेष्ठ, लक्ष्मी महत र शर्मिला मुनिकार रहेका थिए । मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एक दिवसीय प्रतियोगिता गरिएको कुरा गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरकी संचालिका सौन्दर्यविद ज्ञानी महर्जनले बताइन् । यस्ता प्रतियोगिता आयोजना गर्दा सौन्दर्यकर्मीहरुको मनोबल बढ्नुको साथै उनीहरुको कला शिपलाइ प्रोत्साहन मिल्ने उनी बताउँछिन् । बेहुली शृंगार निकै जटिल कार्य भएको र आजकाल बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको आयोजक सौन्दर्यविद ज्ञानी महर्जनले कार्यक्रममा बताइन् ।  

माछापुच्छ्रे बैंकले दुवईबाट एक अर्ब रुपैयाँ ल्याउँदै, नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले दुवईबाट एक अर्ब रुपैयाँ भन्दा बढी अर्थात १० मिलियन अमेरिकी डलर नेपाल ल्याउने भएको छ । बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईको माश्रिक बैंकबाट उक्त रकम नेपाल ल्याउन लागेकाे हो । सो सम्बन्धि सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा माश्रिक बैंकको तर्फबाट नेपालका लागि प्रमुख देशीय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरेका छन् । १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउनको लागि नेपाल राष्ट्र बैंकमा समेत स्वीकृतीको लागि निवेदन पेश गरिएकोले नेपाल राष्ट्र बैंकको स्वीकृती लगत्तै बैंकले उक्त रकम नेपाल भित्र्याउनेछ । नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो । बैंकले दुवईस्थित माश्रिक बैंकबाट लिन लागेको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।

विदेश जादै हुनुहुन्छ, निःशुल्क सिमकार्ड लिन नभुल्नु होस्

काठमाडौं । श्रम स्वीकृति र पासपोर्टकोलाई आधार बनाइ वैदेशिक रोजगारीमा जाने नेपालीलाई सिमकार्ड वितरण गरिरहेको छ । हाइल्याण्ड इन्टरनेशनल प्रा.लि., नक्सालले विगत तीन वर्षदेखि विभिन्न देशको टेलिकमसँगको सहकार्यमा तथा नेपाल सरकारको स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने नेपालीलाई निःशुल्क सिमकार्ड प्रदान गर्दै आएको हो । मलेसिया ओमान र कतारका सिमकार्ड एयरपोट र श्रम कार्यालय ताहचलले दैनिक दुई सय सिमकार्ड वितरण गर्दै आएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकको सहजताका लागि ध्यानमा राखेर विगत तीनवर्ष देखि हाइल्याण्ड इन्टरनेशनल प्रा.लि.ले निःशुल्क सिमकार्ड वितरण गर्दै आएको कम्पनीका अप्रेशन म्यानेजर विनोद लामाले बताए । वैदेशिक रोजगारमा जाने श्रमिकको श्रम स्वीकृतिपत्र र पासपोर्टलाई आधार बनाइ सिमकार्ड प्रदान गर्ने जानकारी दिए । नेपाल सरकारको स्वीकृति बमोजिम वैदेशिक रोजगारीमा जाने नेपाललाई गत्तव्य स्थलको सिमकार्ड वितरण गर्ने यो नै पहिलो तथा एक्लो कम्पनी हो । हालसम्म कुनै पनि देशका सिमकार्ड विक्री तथा वितरणका लागि नेपाल सरकारले अन्य संस्थालाई स्वीकृति नदिएको श्रम स्वीकृति कार्यालय ताहचलले जानकारी दिएको छ । दैनिक ताहचलबाट मात्र कतार, ओमान, मलेसियाको सिमकार्ड कम्तीमा एक सय वटा वितरण हुँदै आएको श्रम कार्यालय ताहचलमा ३ वर्षदेखि सिमकार्ड वितरण गर्दै आएका माधव पौडेलले जानकारी दिए । उनले भने ‘शुरुवातका समय दैनिक तीन सयसम्म सिमकार्ड वितरण हुन्छ ।’ विशेषगरी कतारको भोडाफोन, क्यूटेल र मलेसियाको सेलकम तथा ओमानको ओमानटेल नाममो सिमकार्डको वितरण गरिरहेको वितरक माधव पौडेलले जानकारी दिए । पछिल्लो समय सबैभन्दा बढीमात्रामा कतारको भोडाफोनको सिमकार्ड वितरण हुने गरेको कम्पनीले जानकारी दिएको छ । वैदेशिक रोजगारका लागि जाने क्रममा गन्तव्य मुलुकको विमानस्थल पुगेपछि सहजता हुन्छ ।

अभिकर्तालाई दक्ष र सीपयुक्त नबनाई कसरी विस्तार हुन्छ बीमा बजार ?

बीमा क्षेत्रको विकास र विस्तार तीब्र गतिमा भइरहेको छ । बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिएपछि बीमाको दायरा र गतिविधि अझै बढेको आभास हुन्छ । बीमा व्यवसायको मेरुदण्ड भनेकै अभिकर्ता हुन् । अभिकर्ताले नै आम सर्वसाधारणसँग भेटेर बीमाको बारेमा जानकारी गराउने, बीमा गराउने, दाबी भुक्तानीका लागि भूमिका निर्वाह गर्ने जस्ता जिम्मेवारी बहन गर्ने भएकोले पनि अभिकर्ताको महत्व धेरै छ । अभिकर्ता पेशामा आवद्ध हुनेहरुको संख्या बढिरहेको छ । लाइसेन्स लिने अभिकर्ताहरु ५ लाखको हाराहारीमा छन् । यसमध्ये ५–७ हजारले पूर्णरुपमा काम गरिरहेका छन् । करिब १ लाख अभिकर्ता पार्टटाइमरको रुपमा कार्यरत छन् । लाइसेन्स लिएका केही अभिकर्ताको बारेमा खासै जानकारी नभएको अवस्था पनि छ । अभिकर्ताको लागि तालिमको राम्रो अवसर नै छैन । अझ भनौं, तालिम लिएर आफ्नो ज्ञान, सीप र क्षमता बढाउने अवस्था छैन । आफैलाई धेरै जानकारी नभएको अभिकर्ताले सर्वसाधारणलाई बीमाको बारेमा बुझाउन सक्दैन । यस्तो कारणले समग्र बीमाप्रति नै सर्वसाधारणको नकारात्मक धारणा बन्ने जोखिम रहन्छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसमा केही पहल गर्न आवश्यक छ । जस्तो कि लाइसेन्स लिएका अभिकर्तासँग पनि समितिले सीप परीक्षा लिनुपर्यो । यस्तो परीक्षामा उतिर्ण भएका अभिकर्तालाई लाइसेन्स दिने विधि अपनाउन सकियो भने दक्ष अभिकर्ता निर्माण हुन्छ । दक्ष अभिकर्ताले बीमाको राम्रोसँग प्रचार प्रसार र व्यवहारिक पक्षका बारेमा सर्वसाधारणलाई बुझाउन सक्छ । अन्तराष्ट्रिय बजारमा बीमाका विभिन्न योजना र कार्यक्रमहरु आएका हुन्छन् । विभिन्न प्रकारका जोखिम वहनमा बीमाले कसरी कभरेज गर्ने भन्ने अध्ययन, खोज र अनुसन्धानहरु भइरहेका हुन्छन् । यसको लागि नेपाली अभिकर्ताले अन्तराष्ट्रियस्तरको ज्ञान र सीप हासिल गर्नु आवश्यक हुन्छ । तर, नेपाली अभिकर्ताले अन्र्तराष्ट्रियस्तरको तालिम लिने अवसर खासै पाउँदैन् । यसका पछाडि विभिन्न कारण हुन सक्छन् । समस्या जे जस्ता भएपनि बीमा सम्बन्धि पर्याप्त ज्ञान भएको सीपयुक्त अभिकर्ता निर्माण गर्ने हो भने अन्तराष्ट्रिय ‘एक्सपोज’को लागि नियामक, कम्पनी वा सरकार कसले लगानी गर्ने हो त्यो गर्नुपर्यो । अभिकर्तालाई दक्ष बनाउनु पर्यो । २०६० साल अगाडिसम्म बीमा समितिले नै अभिकर्तालाई तालिम दिने गरेको थियो । समितिबाट तालिम प्राप्त अभिकर्ताले अहिले पनि राम्रोसँग काम गरिरहेका छन् । तर, त्यसपछि कम्पनीहरुले नै अभिकर्ता तालिम दिने व्यवस्था भयो । यस्तो व्यवस्थाले जस्ता पनि अभिकर्ता उत्पादन हुन थाले । कम्पनीहरुले घरघरमा गएर अभिकर्ता लाइसेन्स बाढ्न थाले । यसरी लाइसेन्स बाढ्न थालेपछि समस्या आएको हो । कुनै लहड वा भावनामा बगेर अभिकर्ता बन्न सकिँदैन । पूर्णकालिन अभिकर्ता बन्न दक्षता हाँसिल गरेको हुनुपर्यो । बीमाको ज्ञान हुनुपर्यो । यस्तै, सम्बन्धित नियम, कानुन र व्यवस्थाको बारेमा पनि जानकार हुनुपर्यो । अभिकर्ताको लाइसेन्स बोक्नेहरुसँग पनि आधारभूत तथा सैद्धान्तिक ज्ञानको कमि रहेको पाइन्छ । कुनै कम्पनीको कुनै पोलिसीको बारेमा जानकारी पाएकै भरमा अभिकर्ताको लाइसेन्स बोक्नेहरु पनि छन् । यस्ता अभिकर्ताले बीमा क्षेत्रको विकास र विश्वास बढाउन सक्दैनन् । यस्तै अभिकर्ताको कारण हामीहरुले पनि अभिकर्ता भनेको दलाल हो भन्ने आरोप खेप्न वाध्य हुनुपरेको छ । अभिकर्ता भनेको बीमा दुत हुन् । त्यसैले प्रचार गर्दा अभिकर्ताले करकाप नभइ राम्रोसँग बुझाएर गर्न आवश्यक छ । अभिकर्ताले अनावश्यक तनाव दिने भन्दै सर्वसाधारणले बीमाको बारेमा कुरै सुन्न नचाहेको भन्ने आरोप पनि लाग्छ । यो भने व्यवसायिक अभिकर्ता तयार पार्न गरिएको कन्जुस्याईको परिणति हो । व्यवसायिक र दक्ष अभिकर्ताको कमी भएको अवस्थामा ठगी वा बद्मासी बृद्धि हुन सक्छ । यस्तो बद्मासीले बिमित, विमक, नियामक वा समग्रतामा राज्यलाई नै नकारात्मक परिणाम दिन्छ । त्यसैले अभिकर्ताको क्षमताबृद्धिमा सबैको पहलकदमी आवश्यक छ । बीमा समितिले इन्ष्टिच्युट स्थापना गरेको छ । त्यो इन्ष्टिच्युटले अभिकर्तालाई पनि तामिल दिने व्यवस्था मिलाउनु पर्यो । ३ करोड नेपालीलाई बीमा गराउँन ५ लाख अभिकर्ता आवश्यक पर्दैन । १ लाख अभिकर्तालाई बीमाको राम्रो तालिम दिलाउँन सके मात्रै पनि पर्याप्त हुन्छ । तर, दुःखको कुरा, १ लाख दक्ष अभिकर्ता पनि उत्पादन गर्न सकिएको छैन । (पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष तिवारीसँग विकासन्यूजका लागि नविन पोखरेलले गरेको कुराकानीमा आधारित)

अष्ट्रेलियामा भ्रमण वर्षको भव्य तयारी हुँदै, उड्डयनमन्त्री भट्टराईद्वारा शुभारम्भ गरिने

सिड्नी । भ्रमण वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय कार्यक्रमको शुभारम्भको तयारी यहाँ तीव्र पारिएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अष्ट्रेलियाको सिड्नीमा यही पुस २२ गते भव्य समारोहका बीचमा भ्रमणवर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । राष्ट्रमण्डल अष्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोगमा कार्यक्रम हुँदैछ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सो दिन बिहान ७ बजे अष्ट्रेलियामा रहेका नेपाली र अष्ट्रेलियावासी सबैले एकै साथ सामाजिक सञ्जाल फेसबुकमा भ्रमण वर्षको लोगो पोष्ट गने कार्यक्रम रहेको छ । यसैगरी बिहान ८ देखि १० बजेसम्म नेपालीको उल्लेख्य बसोबास रहेका स्थानमा भ्रमण वर्षको प्रचारप्रसार गर्दै शान्तिपूर्ण र्याली गरिने भएको छ । त्यसका लागि गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका विभिन्न तहतप्काका अधिकारीहरु सक्रिय रुपमा लागिपरेका छन् । त्यसै दिन दिउँसोे १ बजे सिड्नी सहरको मुटु भनेर चिनिने ओपेरा हाउस रहेको ‘सर्कुलर की’मा नेपाली वेशभूषासहित नेपाली र विशिष्ट पाहुनाहरुको उपस्थितिमा विशेष कार्यक्रम हुने राजदूतावासले जनाएको छ । सो कार्यक्रमलाई पर्यटनमन्त्री भट्टराईले विधिवत् रुपमा उद्घाटन गर्नेछन् । कार्यक्रममा मन्त्री भट्टराई, राजदूत दाहाल, नेपालको ५८औँ पटक भ्रमण गरेका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगायतका विशिष्ट पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ विदेशी पाहुनासहितको पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिको उपस्थितिमा रात्रिभोज गरिँदैछ । यससँगै नेपालमा पर्यटक भित्र्याउन वर्षभरि नै विभिन्न कार्यक्रम गर्न लागिएको राजदूतवासले जनाएको छ । । ट्राभल एजेन्टहरु, यात्रा विशेषज्ञ, प्राध्यापक, लेखक, पत्रकारलगायतसँग छलफल तथा उनीहरुलाई नेपालको पर्यटकीय महत्वबारे लेख्न र प्रचारप्रसारका लागि उत्प्रेरित गर्न लागिएको छ । राजदूतावासको पहलसँगै यहाँका ट्राभल एजेन्सीहरुले नेपाल भ्रमणको प्याकेजहरु पनि सार्वजनिक गरेका छन् । यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी फ्लाइट क्यानवेराले प्याकेज सार्वजनिक गरेको हो । सम्भवतः पहिलोपटक यहाँका ट्राभल एजेन्सीले नेपालका लागि प्याकेज कार्यक्रम सार्वजनिक गरेका हुन् । अष्ट्रेलियाबाट वार्षिक ३३ हजार हाराहारी पर्यटक नेपाल भित्रिने गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य रहेको जनइएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य राजु अधिकारी अष्ट्रेलियामा रहेका नेपालीहरुले भ्रमण वर्षलाई पर्वका रुपमा लिएको बताउँछन् । उनले भ्रमण वर्षलाई सफल बनाउन यहाँ रहेका नेपाली र राजदूतावास संयुक्तरुपमा लाग्नुपर्ने बताए । रासस

काठमाडौं-अष्ट्रेलिया सिधा उडानको पहल हुँदै, लाखौँ नेपाली लाभान्वित हुने

क्यानबेरा । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् । सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौँबाट सिड्नी आउने यात्रुको सङ्ख्या एक लाख २१ हजार २६० पुगिसकेको छ । सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरुको सबैभन्दा ठूलो सङ्ख्या हो । अष्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्था विगत १२ वर्षदेखि कार्यरत इञ्जिनीयर राजु अधिकारीका अनुसार यो सङ्ख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ । उनका अनुसार सिधा हवाई सम्पर्क भएमा सिड्नीबाहेकका सहरमा जाने यात्रुहरुलाई पनि यही बाटो प्रयोग गर्ने छन् । यसले गर्दा सिधा उडान प्रभावकारी हुने गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यसमेत रहेका उनले बताए । अष्ट्रेलियन कम्पनीहरुले भारतका सहरबाट समेत हालसम्म उडान गरेको पाइँदैन । नेपाल एयरलाइन्सले काठमाडौँ र सिड्नीबीच सिधा उडानका लागि सम्भाव्यता अध्ययन गरिएको जनाएको छ । सिड्नी काठमाडौँको दूरी लगभग १० हजार किलोमिटर रहेको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले सम्झौतापछिका प्राविधिक पक्षहरुका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए । अगामी जनवरी ७ तारिखमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको यहाँ भ्रमण हुने समयमा यहाँका उच्च अधिकारीसँग भेटघाटका लागि पहल आफूले गरिरहेको उनले जानकारी दिएका छन् । अष्ट्रेलियाको सिड्नी आसपासको क्षेत्रहरु क्यानवेरा, गोलवन, वागावागा, डव्वो लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली यसबाट लाभान्वित हुने गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटा बताउँछन् । साथै, सिधा उडानले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले जानकारी दिए । रासस