पाँचबुँदे प्रतिवद्धता पत्र जारी गर्दै नेपाल निर्माण व्यवसायी महासंघकाे आन्दोलन फिर्ता
काठमाडाैं । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निमाण व्यवसायी महासंघले आन्दोलन फिर्ता लिएको छ । महासंघले बुधबार पत्रकार सम्मेलन गर्दै आन्दालनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको बताएको हो । नेपाल सरकारबाट जारी गरिएको सार्वजनिक खरिद नियमावली, २०६४को नवौं संशोधनले निर्माण व्यवसायीहरुले उठाउदै आएका केही महत्वपूर्ण मागहरु पूरा गरेकोले आन्दोलन फिर्ता लिएको बताइएको छ । महासंघले उठाउँदै आएका एजेण्डाहरु मध्ये दुई एजेण्डामा पुरा भएको महासंघका अध्यक्ष रवि सिंले बताए । नवौ संशोधनले म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनाहरुमा निर्माण व्यवसायीहरुलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त सकारात्मक कदम भएको यस महासंघको ठहर छ । उनीहरुले ‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै धर्ना दिँदै आएका थियो । निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दबाब दिन आन्दोलन गर्दै आएका थिए । अब सरकारले सार्वजनिक गरेको नवौं शंसोधन कार्यान्वयन हुनेमामा आफुहरु विश्वस्त रहेको सिंहको भनाइ छ । व्यवसायीहरुले ससरकार समक्ष पाँच बुँदे प्रतिवद्धताहरु समेत गरेका छन् । प्रतिवद्धताहरुमा १५ हजार निर्माण व्यवसायी सदस्यहरुलाई यथाशिघ्र काम सुरुवात गरी समयभित्र सम्पन्न गर्न सकुलर जारी गरिने, निर्माण व्यवसायीले बाकी कार्य सम्पन्न गर्न पेश गरेको कार्य तालिका अनुसार कार्य सम्पन्न गर्नु पर्ने र उक्त अवधिभित्र कार्य सम्पन्न नगर्नेको हकमा ठेक्का तोडी धरौटी जफत गरी कानून बमोजिम कारवाही गर्ने कायमा महासंघका सहयोग र सहमति रहने जनाइएको छ । यस्तै, म्याद थप भएर पनि काम नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाही गर्न सिफारीस गरिने, म्याद थप भएको समयमा सम्बन्धित निर्माण व्यवसायीले काम गरेको छ छैन सो समेतको अनुगमन गर्ने, म्याद थप गर्दा नेपाल निर्माण व्यवसायी महासंघको सिफारीस समेत अनिवार्य हुनुपर्ने लगायत रहेका छन् । महासंघले अन्य २३ वटा मागहरू यथावथ राखेकाे छ ।
सेञ्चुरी बैंकको थप शाखा रहित बैकिङ्ग सेवा महोत्तरीमा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेवामा थप विस्तार गर्दै महोत्तरीबाट शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकका प्रमुख सौरभ चौधरी र बर्दिबास नगरपालिकाका अध्यक्ष राजन प्रसाद ढुङ्गगानाले सयुक्त रूपमा शाखारहित बैंकिङ्गका प्रतिनिधि गंगा बहादुर कार्कीलाई ट्याब मेसिन हस्तान्तरण गरेका हुन् । उद्घाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १ सय शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
बिहान घामको पहिलाे झुल्कोसँगै नगरकोटमा भ्रमण वर्षको भव्य स्वागत
भक्तपुर । आज सन् २०२० जनवरी १ बिहान ५ बजेदेखि नै नगरकोटको बतासे डाँडामा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्यो । अध्याँरो मै बत्तीको उज्यालोमा नेपाल भ्रमण वर्षको भव्य स्वागत शुरु भयो । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु भएको नेपाल भ्रमण वर्षलाई सफल पार्न जिल्ला समन्वय समिति भक्तपुर र नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा भएको भ्रमण वर्षको उद्घाटन कार्यक्रममा झिसमिसेमै नगरकोटको बतासे डाँडा भरिएको थियो । कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहदुर विश्वकर्मा, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, प्रदेश नं ३ का प्रदेशसभा सदस्य सरस्वती बाटी, प्रतिमा श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख विना बास्तोला, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, काभ्रेको मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाइबा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायत नेपाली सेनाको टुकडी र विभिन्न निकायबाट आएका व्यक्तिले भ्रमण वर्षको भव्य स्वागत गरेका थिए । सो अवसरमा मन्त्री विश्वकर्माले नेपालको झण्डा झण्डोत्तोलन गर्दै सरकारले शुरु गरेको नेपाल भ्रमण वर्षको पहिलो स्वागत नगरकोटबाट गर्न पाउँदा खुशी लागेको बताए । उनले आज नगरकोटको पहिलो घामको झुल्कोसँगै भ्रमण वर्षको स्वागत र शुरु गरेको बताउँदै यो भ्रमण वर्षलाई भव्य रुपमा सफल पार्नुपर्ने बताए । मन्त्री विश्वकर्माले भने, “सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरु भएको छ, हामी नगरकोटबाट स्वागत गरिरहेका छौं, देशभर भव्य प्रचारप्रसार गर्दै विदेशी अतिथिलाई स्वागत गर्न आतुर छौँ, पर्यटन व्यवसायीले पर्यटकका लागि आकर्षक प्याकेज ल्याएर सेवा दिनुपर्छ ।” नयाँनयाँ पर्यटकको गन्तव्य पहिचान गर्दै त्यसको विकास गरी पर्यटकलाई नेपालको सुन्दरता देखाउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उनले बताए । पूर्वउद्योगमन्त्री महेश बस्नेतले भक्तपुर अथाह पर्यटकीय सम्भावना बोकेको जिल्ला भएको बताउँदै नगरकोट, चाँगुनारायण, मूलाकोटगढी, सूर्यविनायक, रानीकोट, घ्याम्पेडाँडा लगायतका क्षेत्र पर्यटकका लागि आकर्षणको क्षेत्र भएको उल्लेख गरे । उनले भक्तपुरको भ्रमणमा आउने पर्यटकलाई चारवटै नगरपालिकाको पर्यटकीय क्षेत्रको भ्रमण गराउने गरी रुट तयार पारेर प्योकजमा पर्यटकको बसाई लम्ब्याउने कार्यक्रम अगाडि सार्नु आवश्यक रहेको जानकारी दिए । सरकारको अभियान भ्रमण वर्षलाई नगरकोटबाट स्वागत गरेको बताउँदै पर्यटक भक्तपुर आएपछि सबै नगरपालिकाको पर्यटकीय क्षेत्रको भ्रमण गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रमा चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले नगरकोटमा आउने पर्यटकका लागि नगरपालिकाले गर्नुपर्ने आवश्यक सबै तयारी गरेको बताउँदै व्यवसायीले पनि विशेष प्याकेज अघि सारेको बताउँछन् । नयाँ वर्षसँगै भ्रमण वर्षको अवसरमा भएको कार्यक्रममा हिमाली दृश्यावलोकन गर्ने र सूर्योदय हेर्नेको भीड थियो भने कार्यक्रममा नेपाली सेनाले विगुल फुक्नुका साथै हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । त्यसैगरी विभिन्न साँस्कृतिक कार्यक्रम गर्नुका साथै झण्डोत्तोलनसमेत गरिएको थियो । रासस
३६ अर्बले घट्यो व्यापार घाटा, २७ प्रतिशतले निर्यात बढ्दा ४ प्रतिशतले घट्यो आयात
काठमाडौं । पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटा लगातार घट्दै गएको छ । नेपालबाट निर्यात हुने वस्तुको परिणाम बढिरहेको र विदेशबाट आयातित वस्तुको परिणाम घटिरहेको भन्सार विभागले प्रकाशित गरेको तथ्याङ्कले देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/ ७७ को पछिल्लो पाँच महिनाको तथ्यांकअनुसार ५ खर्ब ८१ अर्ब रूपैयाँको आयात हुँदा ४७ अर्ब ६१ करोड रूपैयाँको निर्यात नेपालबाट भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महीनामा नेपालको वैदेशिक व्यापार घाटा ५ खर्ब ६९ अर्ब रूपैयाँ थियो । तर, यस आर्थिक वर्षको सोही अवधिमा वैदेशिक व्यापारको घाटा ६.३० प्रतिशतले घटेर ५ खर्ब ३३ अर्ब रूपैयाँमा झरेको छ। जुन अघिल्लो आवको तुलनामा ३६ अर्बले कम हो । अघिल्लो आर्थिक वर्षको ५ महिनामा नेपालले ६ खर्ब ६९ अर्ब रूपैयाँको आयात गरेकोमा यस आवको सोही अवधिमा ४.२१ प्रतिशतले आयातमा कमी आएको छ । यस्तै, अघिल्लो आवमा ३७ अर्ब ५० करोडको निर्यात भएकोमा यस आवको सोही अवधीमा निर्यात २६.९७ प्रतिशतले बढेर ४७ अर्ब ६१ करोड पुगेको छ। गत वर्षको भन्दा १० अर्ब ११ करोडले निर्यात बढेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालमा आयात हुने वस्तुको परिमाण घट्दै गएसँगै कुल वैदेशिक व्यापारसमेत घट्दै गएको छ । अघिल्लो वर्षमा ६ खर्ब ४४ खर्बको वैदेशिक व्यापार रहेको थियो । तर, यस वर्ष २.४२ प्रतिशतले घट्दै वैदेशिक व्यापार ६ खर्ब २८ अर्बमा सिमिति भएको छ । यसका साथै यस अवधिमा ३ अर्बको चिया र कफी, ३ अर्ब ३५ करोडको कार्पेट, १ अर्बको स्टील तथा फलाम, निर्यात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको ५ महिने तथ्यांकमा सबैभन्दा बढी इन्धको आयात भएको देखिन्छ । तर, अघिल्लो वर्षको यही अवधिको तुलनामा इन्धन आयातको आकार भने घटेको छ । जसले, सम्पूर्ण आयातको तथ्याङ्कमा नै असर गरेको छ । यस अवधिमा ८६ अर्ब १८ करोड रुपैयाँको इन्धन आयात भएको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा ९८ अर्ब ६० करोड रुपैयाँको इन्धन आयात भएको थियो। तथ्यांकअनुसार यस अवधिमा १२ अर्ब ४२ करोडले इन्धनको आयात घटेको छ । यस्तै, सबैभन्दा बढी आयात हुने वस्तुको दोस्रो स्थानमा रहेको फलाम तथा स्टीलको आयात पनि यस वर्ष घटेको छ । अघिल्लो वर्षको यही अवधिमा ६५ अर्ब ८२ करोडको फलाम र स्टीलको आयात भएकोमा चालु आर्थिक वर्षको ५ महिनामा २१ अर्ब ४ करोडले घटेर ४४ अर्ब ७८ करोडमा सिमित भएको छ । विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ३६ अर्बले नेपालको आयात घटेको छ । तर, यी दुई वस्तुको घटेको आयात रकम जोड्दा मात्रै ३३ अर्ब ४६ करोड हुँन्छ । यस्तै, १३ अर्ब २८ करोडको तरकारीजन्य वस्तु आयात भएको छ भने ४ अर्बको चिया र कफी भित्रिएको छ। २० अर्ब २१ करोडको खाद्यान्न, १३ अर्बको फर्मास्यूटिकल्स, १० अर्बको मल, २२ अर्बको प्लास्टिकजन्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।
न्यू इयरमा सपिङ योजना छ ? यस्ता छन् बैंक र कम्पनीका अफर
काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै विभिन्न कम्पनीले आकर्षक योजना ल्याएका छन् । नयाँ वर्ष सन् २०२० लाई लक्षित गर्दै ग्राहक तान्न उत्पादक र विक्रेताहरुले आफ्नो उत्पादन, वस्तु तथा सेवा खरिदमा आकर्षक अफरसहितको स्कीम ल्याएका हुन् । गाडी र मोटरसाइकल विक्रेता कम्पनी होण्डाले १ महिने योजना ल्याएको छ । यो योजना अनुसार गाडीको खरिदमा १५ तोलासम्म सुन, एक वर्षसम्मको सडक दस्तुर विक्रेताले नै तिरिदिने, २० हजार रुपैयाँसम्मको विभिन्न सामग्री र ३० डाउन पेमेन्ट गर्दा हुनेछ । यस्तै, होण्डा मोटरसाईकलको स्क्रयाच एण्ड विन अन्तगर्त ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट र ठुलो बाइकको खरिदमा २० हजार रुपैयाँसम्म छुट पाउने छन् । यो योजना ३१ जनवरीसम्म रहनेछ । सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट कमलपोखरीमा रहेको सिटीसेन्टर सपिङ कप्प्लेक्सले नयाँ वर्षको अवसरमा ‘धेरै खर्च गर र धेरै बचाउ’ योजना ल्याएको छ । यो योजना अन्तरत सिटीसेन्टरमा सपिङ गर्दा ६० प्रतिशतसम्म छुट पाइनेछ । सुविसुको अफरः १ हजार ४० रुपैयाँमा २५ एमबीपीएस इन्टरनेट र फूल एचडी टिभी इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु केबलनेटले आफ्नो १९औं बार्षिकोत्सव र नयाँ वर्षको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना घोषणा गरेको छ । यो अफरअन्तरगत सुबिसुका ग्राहकहरुले १ हजार ४० रुपैयाँ प्रतिमहिनामा २५ एम्बीपीएस इन्टरनेट र फूल एचडी प्याकेज (२७५ भन्दा बढी च्यानल, ९५ भन्दा बढि एचडी च्यानल) प्राप्त गर्न सक्नेछन् । यो अफर १५ महिनाको भुक्तानीमा प्राप्त हुनेछ । क्लियर टिभीः मासिक २२१ रुपैयाँ एचडी च्यानल क्लियर टिभी प्याकेज (२४५ भन्दा बढी च्यानल, ६५ भन्दा बढि एचडी च्यानल) मात्र २ सय २१ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । यो अफर १४ महिनाको भुक्तानीमा प्राप्त हुनेछ । यसका साथै ग्राहकहरुले २० हजारभन्दा बढी नेपाली गीतहरु समावेश भएको दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गर्नेछन् । एनसेल डाटा प्याक आधा सस्तो दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले सन् २०२० को पहिलो दिन जनवरी १ मा ग्राहकलाई विषेश प्याकेज दिएको छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेलले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ, जसअन्तरगत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् । यो अफर बुधबार (१६पुष १६) देखि लागू भई २४ घण्टाको लागि मान्य रहनेछ । एनसेलका ग्राहकले बुधबार बिहान १२ बजेदेखि मध्यरात ११ः ५९ बजेसम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् । यो योजनाअन्तर्गत ग्राहकले करसहित १ हजार २० रुपैयाँ २४ पैसा पर्ने १६ जिबी प्याक करसहित मात्र ५ सय १० रुपैयाँ १२ पैसामा सुचारु गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकको ५ सय रुपैयाँ क्यासव्याक अफर माछापुच्छ्रे बैंकले अनलाईनबाट सपिङ्ग गर्ने ग्राहकलाई पैसा फिर्ता दिने योजना ल्याएको छ । बैंकले विभिन्न इकमर्स साईटहरुबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५ सय रुपैयाँ ५०० क्यासव्याक दिने भएको हो । अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित क्यास व्याक अफर संचालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । सो योजनाअनुसार ग्राहकले बैंकको कार्ड प्रयोग गरी पिओएस मेसिनमा कम्तिमा ५ सय रुपैयाँ बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि ५ सय रुपैयाँ फिर्ता पाउनेछन् । त्यस्तै, विभिन्न इकमर्श साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ई–सेवा पसललगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तिमा ५ सय रुपैयाँ बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरी, प्रत्येक महिना ५ सय रुपैयाँ क्यासव्याक सुविधा प्राप्त गर्न सकिने छ । माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय भुक्तानी प्रणाली भीसासँगको सहकार्यमा २०२० जनवरी र फेब्रुअरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो । सानिमा बैंकमा डिजिटल बैंकिङ सेवा निःशुल्क सानिमा बैंकले नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै ३ दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङलगायतका डिजिटल बैंकिङ सेवाहरुमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै, ग्राहकले दुवै सुविधा एकैसाथ उपभोग गर्दा १ सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । यो योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० सम्मका लागि लागू हुने बैंकले जनाएको छ । सिद्धार्थ बैंकको योजनाः सामान खरिद १५ प्रतिशतसम्म छुट सिद्धार्थ बैंकले आफ्नो १७औं वार्षिकोत्सव र नयाँ वर्ष २०२० को अवसरमा ‘सुपरच्युनिटी गो क्यासलेस, गो अनलाईन’ अफर ल्याएको छ । यो अफर अन्तरगत सिद्धार्थ बैकका ग्राहकले दराज अनलाईन मार्फत ५ सय रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा १५ प्रतिशत छुट, ५ सय रुपैयाँभन्दा माथिको २ पटक अनलाईन सपिङ गर्दा ५ सय रुपैयाँ क्यास ब्याक, बैंकबाट पहिलोपटक ५ सयको टपअप गर्दा २० प्रतिशत क्यासवयाकका साथै कार्डबाट ३ पटकसम्म १ महिनामा १ हजार ५ सय रुपैयाँको भुक्तानी गर्दा १ हजार रूपैयाँसम्मको क्यासव्याक पाउनेछन् ।
सिभिल बैंककाे एक महिने सीएसआर कार्यक्रम सम्पन्न
काठमाडौं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा एक महिनाभर विविध सामाजिक उत्तरदायित्वका (सीएसआर) कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेकाे छ । साे अवधिमा बैंकले रक्तदानदेखि लिएर सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । यस्ता छन् बैंकले गरेकाे सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरुः १. बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १३५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । २. बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । ३. व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ । ४. बैंकले लेखनाथस्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको छ । ५. चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । ६. बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृष्टि विहिनहरुको सहयोगार्थ १०० थान विशेष छडी प्रदान गरेको छ । ७. बैंकको ईलाम स्थित मांईजोगमाई शाखामार्फत श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ । ८. बैंकले झापास्थित सुरुङ्गा शाखामार्फत पुकार डिसएबिलिटि सोसिएल सर्विसलाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ । ९. बैंकको विराटनगर शाखामार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ । १०. निजगढ शाखाको उद्घाटन समारोहमा बैंकले श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई १ थान प्रिन्टर प्रदान गरिएको छ ।
अमेरिकी दूतावासमा आक्रमण भएपछि इरानले ठूलो मूल्य चुकाउनु पर्ने ट्रम्पको चेतावनी
वासिङटन । इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई मङ्गलबार फोन गरेर घटनाप्रति आपत्ति जनाएको हो । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा इरान निकटका इराकी प्रदर्शनकारीले आक्रमण गरेका हुन् । टेलिफोन कुराकानीका क्रममा दुई नेताले क्षेत्रीय सुरक्षाका विषयमा छलफल गरेका थिए । राष्ट्रपति ट्रम्पले इराकमा रहेका अमेरिकी नागरिकहरुको सुरक्षामा विषेश जोड दिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्धारा जारी वक्तव्यमा जनाइएको छ । उनले इरानी पक्षले अमेरिकी दूतावासमा ‘नियोजित आक्रमण’ गराएको आरोप पनि लगाएको वक्तव्यमा जनाइएको छ । घटनापछि अमेरिकी रक्षा मन्त्री मार्क इस्परले आक्रमण भएको दूतावासका लागि थप सुरक्षाकर्मी पठाइसकिएको बताए । अमेरिकी सुरक्षाकर्मीहरुले आइतबार इराक र सिरियाका पाँच ठाउँमा आक्रमण गरेका थिए । इराकी अर्धसैन्य बल हजबुल्लाहको नियन्त्रणमा रहेका ठाउँमा अमेरिकी सुरक्षाकर्मीहरुले आक्रमण गरेका हुन् । अमेरिकी सहयोगमा गत हप्ताको अन्त्यमा गरिएका आक्रमणमा करिब दुई दर्जन प्रदर्शनकारी (लडाकू) मारिएपछि बग्दादमा इराननिकट एक समूहले गरेको प्रदर्शनका क्रममा इराकी प्रदर्शनकारीले अमेरिकी राजदूतावासको पर्खाल वरपरबाट आक्रमण प्रयास गरेका स्थानीय सञ्चारमाध्यमले देखाएका छन् । केहीदिन पहिले हवाई आक्रमणमा इराकी नागरिक मारिएपछि आक्रोशित प्रदर्शनकारीहरूले राजदूतावासको पर्खालमा आगजनी गर्दै राजदूतावास परिसरमा ढुङ्गामुढासमेत गरेका थिए । उनीहरूले अमेरिका विरोधी नाराहरूसमेत लगाएका बताइएको छ । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने व्यवस्था रहेको छ । रासस
दमकल छिर्न नसक्ने राजधानीका गल्लीमा बिछ्याइयाे पाइप, ३ सय परिवार आगलागीबाट सुरक्षित
काठमाडौं । घनाबस्ती रहेको राजधानीको केलटोल मासंगल्ली क्षेत्रमा आगलागी हुँदा नियन्त्रण गर्ने उद्देश्यले ३ सय घरलाई सहयोग पुग्ने गरी पाइपलाइन जडान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र काठमाडौँ महानगरपालिका–२५ ले संयुक्त रुपमा समय समयमा हुने गरेको आगलागीको विपद् व्यवस्थापनका लागि पाइप जडान गरेका हुन् । साना गल्लीमा दमकल छिर्न नसक्ने भएकाले नै सो ठाउँमा पाइप विछ्याइएको हो ।रेडक्रसले उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमअन्तर्गत रु पाँच लाख सहयोग गरेको महानगरपालिका २५ नं वडाका अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए । पाइप लाइन बिच्छ्याउन वडाले रु दुई लाख, टोलका अन्य संस्था एवं उपभोक्ताबाट रु एक लाख ४० हजार ६ सय गरी कूल रु नौ लाख ४० हजार ६ सय को लागतमा काम सम्पन्न भएको हो । यस योजनाले ३ सय परिवारलाई आगलागीबाट सुरक्षित गर्नेछ । वडा क्षेत्रका गल्लीमा धेरै कपडाका पसल रहेकाले एक ठाउँमा आगलागी भए गल्लीमा असरल्ल छोडिएको तारका माध्यमबाट सहजै धेरैतिर फैलने गरेको छ । गल्लीमा अस्तव्यस्त रहेको तारले पनि आगलागीलाई थप फैलाउने गरेको केल मासंगल्ली उपभोक्ता समितिका अध्यक्ष पुष्परत्न महर्जनले बताए । पाइपलाइन जडानसँगै अव्यवस्थित तारलाई पनि व्यवस्थित गरिने उनले सुनाएका छन् । साना गल्ली भएकाले यहाँ दमकल छिर्न सक्दैन । दमकल छिर्न नसक्ने भएकैले विपद् व्यवस्थापनमा काम गरेको रेडक्रससँग सहकार्य गरी पाइप लाइन जडान गरिएको वडाध्यक्ष शाक्यले बताए । यसको प्रारम्भिक परीक्षण पुस २६ गते गरिने जनाइएको छ ।