विकासन्युज

एपेक्स स्कुलका विद्यार्थीले खाजाकाे पैसा बचाएर गरे आविष्कार केन्द्रलाई सहयोग

काठमाडौं । चावहिलस्थित एपेक्स लाइफ स्कुलका विद्यार्थीले आफ्नो खाजाको पैसा बचाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । विद्यार्थीले जम्मा गरको रकममा विद्यालयले पनि थपेर कुल १ लाख १ हजार ५ रुपैयाँ सहयोग गरिएको हो । कीर्तिपुरमा मंगलबार आयोजित कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने तथा विद्यार्थीले आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई सहयोग रकम प्रदान गरेका छन् । नेपाली माटो सुहाउँदो ज्ञान, विज्ञान र अनुसन्धान गर्न स्थापित केन्द्रलाई सरकारले उपेक्षा गरेको अवस्थामा विद्यार्थीले जोगाएको खाजावापतको रकममा विद्यालयले समेत थप गरी सो सहयोग प्रदान गरिएको निर्देशक न्यौपानेले बताए । ‘सरकारले सहयोग गर्नुपर्ने संस्थालाई रचनात्मक र सिजर्नात्मक काम भनेर सांकेतिक रुपमा हामीले सहयोग गरेका हौं,’ निर्देशक न्यौपानेले भने । ग्रामीण क्षेत्रमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील भएर देश विदेशमा विभिन्न पुरस्करबाट सम्मानित महावीर पुनले २८ वर्षदेखि आफु यो क्षेत्रमा निरन्तर क्रियाशील रहे पनि सरकारले चिन्न नसकेको बताउँदै अनुसन्धानका लागि सहयोगमात्र होइन न्यून ब्याजदरमा ऋण समेत उपलब्ध नगराएको गुनासो गरे । सो अवसरमा विद्यार्थीले महावीर पुनसँग उनका योजनाका बारेमा विविध छलफल गर्नुका साथै आविष्कार केन्द्रको अभिरुचिपूर्वक अवलोकन समेत गरेका थिए । राजधानीमा रहेर विद्यालय, शिक्षा र पठनपाठनमा लामो समयदेखि आफ्नो विशिष्ट पहिचान बनाउन सफल एपेक्स लाईफ स्कुलले अतिरिक्त क्रियाकलापका अतिरिक्त यस प्रकारका विभिन्न रचनात्मक काम पनि गर्दै आएको छ । २०४० सालमा स्थापना भएको सो विद्यालय शुरुमा शिशु निकेतन, त्यसपछि सेरेन भ्याली हुँदै एपेक्स लाइफ स्कुल नामाकरण भएको स्कूलका व्यवस्थापक विन्दु न्यौपानेले जानकारी दिइन् । १ कक्षादेखि १० कक्षासम्म अध्यापन गराउने एपेक्स स्कुलमा हाल करिब ४ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

नेपाल जेसीजकाे नयाँ नेतृत्वले पदभार समाल्याे, युवाकाे क्षमता विकासमा नयाँ काम गर्ने संकल्प

काठमाडाैं । नेपाल जेसीजकाे  नयाँ नेतृत्व २०२० ले पदभार समालेकाे छ । मंगलबार नेपाल जेसीजले सन २०१९ को कार्यकारिणी समितिको बिधाई तथा सन २०२० का लागि निर्वाचित नयाँ कार्य समितिलाई स्वागत गरेको छ । नेपाल जेसीजका नवनिर्वाचित अध्यक्ष अशोक शंकरको सभापतित्वमा भएको सो कार्यक्रम साझा पार्टीका संयोजक रबिन्द्र मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा संयोजक मिश्रले देशको कुल जनसंख्याको कुल दुई तिहाई हिस्सा ४० बर्ष भन्दा कम उमेर समूहकाे रहेको बताउँदै गर्दै नेपाल जेसीजले ४० वर्षभन्दा कम समूहका मानिसकाे नेतृत्व विकास लगायतका क्षमता विकासमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । पुसकाे दाेस्राे साता चितवनमा सम्पन्न नेपाल जेसीजको ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी भएका थिए । युवा अवस्थामा नै सफल उद्यमीकाे छवि बनाएका शंकरले जेसीजकाे भूमिका वृद्धि र सञ्जाल विस्तारमा सशक्त रूपमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले युवाहरूकाे क्षमता विकासमा जेसीजले थप काम गर्ने संकल्प गरेका छन् । कार्यकारिणी उपाध्यक्षमा विजय गुरुङ, लालमणि भण्डारी, गोकुल सापकोटा र शोभा खरेल निर्वाचित भएका छन्। कार्यसमितिका अन्य १२ जना उपाध्यक्षहरुमा रमा प्याकुरेल ,राम बहादुर बोगटी ,राकेश गुरुङ ,कन्चन झा,धिरज शाही ,मंजु शाह ठकुरी ,शिव प्रसाद भुसाल ,बिशाल थापा ,गणेश बा साउद ,अनवर हुसैन ,कृष्ण सापकोटा तथा गोविन्द पंगेनी बिजयी भएका छन् । महासचिवमा टेकराज रेग्मी र कोषाध्यक्षमा विमल रिमाल र कानूनी सल्लाहाकारमा राजेन्द्र घिमिरे मनोनीत भएका छन्। नेपाल जेसिसको ७७ जिल्लामा १५० शाखा रहेका छन् ।

नेविकोले पोखराबाट बिक्री शुरु गर्यो आफ्नो नयाँ उत्पादन

काठमाडौं । नेपालकै पहिलो विस्कुट उत्पादक कम्पनी नेविको प्रा.लि.ले पोखराबाट नयाँ उत्पादनकाे बिक्री शुरु गरेको छ । कम्पनीले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आफ्ना उपभोक्तामाझ नयाँ उत्पादन नेविको  बटर र नुनिलो स्वादमा जिरा कुकिजको बिक्री वितरण शुरु गरेको हो । नेविकोले ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने उद्देश्यले आफ्नो नयाँ नयाँ उत्पादन बजारमा ल्याएको हो । सोही अवसरमा कम्पनीका म्यानेजर प्रकाश कार्कीले स्थापनाको ५५ वर्षमा ५५ थरिका विस्कुट बजारमा ल्याएको बताएका छन् । कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले बालाजू र भैरहवाबाट उत्पादन भैरहेको बिस्कुटलाई देशैभरि पुर्याउने प्रतिवद्धता गरेका छन् । साथै, उनले सामाजिक उत्तरदायित्व अन्तर्गत ४० प्रतिशत बजेट छुट्याएर अनाथालय र वृद्धाश्रमलाई सहयोग गरेको बताएका छन् । यसैगरी नेविकोले चार प्रकारका कुकिज छिट्टै नेपाली बजारमा ल्याउने जानकारी दिएको छ ।

इलेक्ट्रिक स्कूटरको प्रतिष्पर्धामा महिन्द्रा पनि आउने

काठमाडाैं । महिन्द्रा टू-व्हिलर्सले चाँडै नै इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु गर्ने भएको छ । हालसालै मात्र महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले टू-व्हिलरतर्फ हात हाल्नु ठूलो भूल भएको बताएका थिए । तर यसका बावजुद पनि कम्पनीले आजको प्रतिष्पर्धी बजारमा इलेक्ट्रिक स्कुटर ल्याउन लागेको हो । महिन्द्राले उत्पादन सुरु गर्न लागेको सो स्कुटर उक्त ब्राण्डकै चर्चित स्कुटर ‘गस्टो’ मा आधारित हुनेछ । मूल्यका वारेमा अहिले केहि नबताइएको भएतापनि कम्पनीले सो स्कुटर अबको ६ महिना भित्रमा बजारमा ल्याइसक्ने खुलासा गरेको छ । भारतीय मिडियाहरुले चाहिँ लञ्च पश्चात् सो स्कुटरको मूल्य भारतीय बजारमा ८० हजार रुपैयाँ तोकिन सक्ने अनुमान गरेका छन् । महिन्द्राले आफ्नो इलेक्ट्रिक स्कुटरमा ३ किलोवाटको मोटर समावेश गर्नेछ भने सो स्कुटरले ५५ देखि ६० केएमपीएचको टपस्पीड प्रदान गर्नेछ । सो स्कुटरले फुल चार्जमा ८० किलोमिटरको रेञ्ज प्रदान गर्नेछ भनी आँकलन पनि गरिएको छ । त्यसैगरी कम्पनीले उक्त मोडेलमा एलईडी लाइटिङ्ग सिस्टम, फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, राइडर मोड्स र ब्लुटुथ कनेक्टिभिटी लगायतका विशेषताहरु पनि समावेश गर्नेछ भन्ने अनुमान विभिन्न भारतीय मिडियाहरुले गरेका छन् ।

सनराइज बैंकको ४३औं शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा

काठमाडौं । सन्राइज बैंक लिमिटेडले ४३औं शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा विस्तार गरी सेवा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यले उक्त स्थानमा नयाँ बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन मोलुङगाउँपालिका अध्यक्ष रामकाजी तामाङ्ग र बैंकका प्रदेश १का प्रतिनिधी पुर्णबहादुर थापाले संयुक्त रुपमा गरेका छन् । साथै, बैंकले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि गोपाल तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । बैंकले हालसम्म १२९ वटा शाखा, ४३ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।

उखुको मूल्य भूक्तानी दिलाउने कृषि मन्त्री भुसालकाे प्रतिवद्धता 

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले उखु किसानले पाउनु पर्ने मूल्य भुक्तानी गर्ने प्रतिवद्दता गरेका छन् । मन्त्री भुसालले किसानले पाउनु पर्ने भुक्तानी दिलाउन आफु भरपुर सहयाेग गर्ने प्रतिवद्दता गरेका हुन् । उखु किसान रामबाबु दासको नेतृत्वमा ८ जना मंगलबार पुल्चोकस्थित मन्त्रीनिवासमा मन्त्री  भुसाललाई भेट्न पुगेका थिए ।  लामो समयसम्म आफूले बगाएको  पसिनाको मूल्य नपाएपछि काठमाडाैं आइ पुगेका हुन् । बर्षाैंदेखि उत्पादन गरेर बिक्री गरेको उखुको मूल्य नपाउँदा मूल्य खोज्दै किसान राजधानी आएका हुन् । उखुको मूल्य भुक्तानी नपाएसम्म गाँउ नफर्किने सोचमा रहेका २ सय उखु किसान २५ हजार किसानको नेतृत्व गर्दै आफ्नो उखु मिलको मालिकसँगै मूल्य खोज्न काठमाडौं आएका बताउँछन् । सर्लाहीका उखुको मूल्य नपाएका सर्लाहीका किसानहरु विगत १५ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा शान्ती पूर्ण आन्दोलन गरिरहेका छन् । सर्लाहीका करिब २५ हजार किसानले ६ वर्षदेखि उखुको मूल्य पाएका छैनन् । सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिलले ७१ करोड रुपैयाँ किसानको पैसा भुक्तानी गरेको छैनन् ।

अनलाईनबाट सपिङ्ग गर्दा पैसा फिर्ता पाइने, माछापुच्छ्रे बैंकले ल्यायाे क्यास ब्याक अफर

काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाईनबाट सपिङ्ग गर्ने ग्राहकलाई पैसा फिर्ता दिने भएकाे छ । बैंकले विभिन्न इकमर्स साईटहरुबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५०० क्यास व्याक दिने भएकाे हाे  । अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित क्यास ब्याक अफर गरि उक्त अफर दिने भएको हो । बैंकले नेपालभित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५०० क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो । उक्त योजनाअनुसार ग्राहकले बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा ५०० रुपैयाँ बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि ५०० रुपैयाँ फिर्ता पाउनेछन् । त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसल लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा ५०० रुपैयाँ बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना ५०० रुपैयाँ क्यास व्याक सुविधा प्राप्त गर्न सकिने छ । माछापुच्छ्रे बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रवरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो । बैंकले हालसम्म १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जालतथा १७८ वटा एटीएमहरु तथा १हजार भन्दा बढि पिओएस मार्फत बैंकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ ।

हेटौडा राजधानी बनाउने नेकपाको निर्णयले सत्तारुढमै विवाद

काठमाडौं । प्रदेश ३ को राजधानी हेटौडालाई नै बनाउने सत्तारुढ नेकपाको निर्णयले पार्टीभित्रै विवाद बढाएको छ । मकवानपुर, चितवन, धादिङ र काठमाडौ उपत्यकाका केही सांसद पार्टी निर्णयको पक्षमा देखिएका छन् भने काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, रामेछाप र काठमाडौं उपत्यकाका केही सांसद विपक्षमा देखिएका छन् । प्रदेशको नामाकरणका विषयमा भने खासै विवाद छैन । तर, राजधानीको विषयमा भने विवाद धेरै देखिएको छ । राजधानी बनाउनको लागि हेटौडामा पूर्वाधार रहेको र सबैतिरको सडक संजालले जोडिने भएकोले उपयुक्त हुने हेटौडा राजधानी बनाउनु पर्छ भन्नेहरुको तर्क छ । तर, हेटौडाभन्दा उपयुक्त स्थान अन्यत्र पनि भएको भन्ने विपक्षमा रहेका सांसदको मत छ । यसअघि मकवानपुर, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुली, नुवाकोट, काभ्रे जस्ता जिल्लामा राजधानी राख्नुपर्ने माग भएपनि प्रदेशसभाले राजधानी तोकेको छैन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरिसकेको छ । केन्द्रमा र प्रदेश ३ मा पनि बहुमतमा रहेको नेकपाले पार्टी संयन्त्रबाटै निर्णय गरेकोले यो निर्णय परिवर्तन हुने सम्भावना भने कम देखिएको छ । मकवानपुरका सांसद मुनु सिग्देल पार्टीले निर्णय गरिसकेपछि यसमा विवाद गरिरहनु आवश्यक नहुने वताउँछिन् । ‘पार्टीले निर्णय गरिसकेको छ, पार्टीले नै पठाएका व्यक्तिहरु सांसद हुनुहुन्छ, त्यसैले नेकपाले गरेको निर्णय परिवर्तन हुदैन, राजधानी हेटौडा नै कायम रहन्छ,’ सिग्देलले भनिन् । उपत्यकाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाक्य भने प्रदेशको राजधानी र नाम तय गर्ने अधिकार प्रदेशसभालाई भएकोले पार्टी संयन्त्रले निर्णय लाद्न नहुने वताउँछन् । ‘प्रदेशसभाले निर्णय गर्ने अधिकार नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीलाई र प्रदेशसभा दललाई निर्देशन दियो, यो प्रक्रिया ठीक भएन, प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै हुनुपर्छ,’ सांसद शाक्यले भने । निर्माणाधिन फास्ट ट्रयाक, धरान–चतरा राजमार्ग, हेटौंडा–काठमाडौं सुरुङ मार्गका कारण हेटौंडा सबैतिरबाट जोडिने भएकाले पनि हेटौंडा नै राजधानीको लागि उपयुक्त हुने केही सांसदको तर्क छ । सुरक्षा, भौगोलिक, भौतिक संरचना तथा पर्यावरणीय अवस्थाको कारणले पनि हेटौडाको विकल्प नभएको उनीहको भनाइ छ ।