श्रेष्ठ दम्पतीको हत्या भएको दुई महिनापछि फरार अभियुक्त पक्राउ
बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा श्रेष्ठ दम्पतीको हत्या भएको करिब दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–७ बस्ने २३ वर्षीय सुमन राई र चौदण्डीगढी नगरपालिका–१० घर भई हाल ललितपुर महानगरपालिका–२५ भैँसेपाटी बस्ने २० वर्षीय किरणकुमार मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताएका छन् । वडा नं ८ तल्लो हटियाका ५४ वर्षका श्यामकृष्ण श्रेष्ठ र निजकी श्रीमती ५१ वर्षकी रुकुमाया श्रेष्ठको गत कात्तिक १८ गते राति घरभित्र नै हत्या गरी ती अभियुक्त फरार रहेका थिए । प्रहरी प्रमुख पौडेलका अनुसार ती अभियुक्त पहिला सोही ठाउँमा श्रेष्ठ दम्पतीको घर बनाउने कामदार रहेको र पुरानो पैसा छ भन्ने थाहा पाएपछि काठमाडौँबाट पैसा लुट्नकै लागि योजना बनाएर सो ठाउँमा गएको अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटनापश्चात् केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत नेतृत्वको सात जना र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरी नेतृत्वको पाँच जनाको समूहले संयुक्त रूपमा गरेको अनुसन्धानका क्रममा घटना भएको एक महिना २८ दिनमा दुवै जनालाई मङ्गलबार काठमाडौँबाट पक्राउ गरिएको हो । अनुसन्धानको क्रममा ती दुई जनाले १८ गते राति काठमाडौँबाट योजना बनाई आएर श्रेष्ठ दम्पतीको घरमा राति ९ बजे झ्यालबाट प्रवेश गरी मादक पदार्थ सेवन गर्नुका साथै चाउचाउ खाएर त्यही घरमा सुतेको र राति खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गरेर पुरानो पैसा लुटेर फरार भएको पत्ता लागेको थियो । अभियुक्तको साथबाट लुटेर लगेको पुरानो पैसासहित अन्य सामग्रीसमेत बरामद गरिएको जनाइएको छ । अभियुक्तलाई बुधबार नै काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइरहेको प्रहरी प्रमुख पौडेलले बताए । रासस
एनआईसी एशिया क्यापिटलकाे नयाँ वर्ष याेजनाः १ रूपैयाँमै डिम्याट खाता
काठमाडौं । एनआईसी एशिया क्यापिटलले १ रुपैयाँमा डिम्याट खाता खोल्ने भएकाे छ । क्यापिटलले अग्रेजी नयाँ वर्ष २०२० को अवसरमा एक नेपाली एक डिम्याट खाता अभियान प्रभावकारी बनाउन पुस १६ गतेदेखि २०७७ असार मसान्तसम्म १ रुपैयाँमा डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको हो । व्यक्तिको सबल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै अग्रेजी नयाँ वर्ष २०२० को अवसरमा सो अभियानको थालनी गरेको क्यापिटलकाे भनाइ छ । एनआईसी एशिया क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरी एक नेपाली एक डिम्याट खाता अभियान संचालन गरिरहेको छ । एनआईसी एशियाले सोही अभियानलाई थप टेवा पुर्याउन मिति २०७७ असार मसान्तसम्म डिम्याट खाता संचालन वापत लाग्ने पहिलो वर्षको खाता संचालन शुल्क पनि छुट गरेकोे छ । यस अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने क्यापिटलको विश्वास छ । एनआईसी एशियाले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानीकोष योजना एनआईसी एशिया ग्रोथ फण्ड तथा एनआईसी एशिया ब्यालेन्सड् फण्ड संचालन गरिरहेको जनाइएको छ ।
अब १० रुपैयाँमा बासमती चामलको भात पेटभरि, वर्षमा ३ सय ६५ दिन नै पाइने
विराटनगर । विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताए । बासमती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ । एक मानिसले खाना खाँदा रु १० तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा रु २० तिर्नुपर्ने हुन्छ । कसैले भिखारी वा गरिब मानिसलाई खाना खुवाउन चाहेमा उसले जनही रु ३० तिर्नुपर्ने नियम बनाइएको छ ।अभियान शुरु भएको आज १० दिन भएको भन्दै धाडेवालले दैनिक ७ सय देखि एक हजार जनासम्मले खाना खाने गरेको बताउनुभयो । क्याटरिङ सहयोगी तिरुपति क्याटरिङमार्फत खाना खुवाउने अभियान स्थानीय नन्दु तपडिया, युवा उमेश यादव र मोहम्मद कादिरले पनि सहयोग गरिरहेका छन् । “दिनको करिब रु १७ हजार खर्च हुन्छ”, अभियानकर्मी धाडेवालले भने, “यो अभियान अब सधैंं रहन्छ, यसका लागि सहयोगीले नाम लेखाइसकेका छन् ।” एक जना सहयोगीले एक दिनको जिम्मा लिएका छन् । यसबाट यो अभियान सञ्चालन गर्न कुनै कठिनाइ नहुने धाडेवालको जिकिर छ । “वर्षमा ३६५ दिनका लागि ३६५ जना नै सहयोग गर्न तयार छन् अब कसैले सहयोग गर्न चाहेमा अर्को वर्षका लागि ती मानिसको नाम दर्ता हुनेछ र सोहीअनुसार अभियानलाई कायम राखिने छ”, उनले भने । सस्तोमा खाना खुवाउन शुरु गरेपछि विपन्न मानिस मात्र होइन सम्पन्न मानिसले पनि खाना खाने गरेको र कसैले आफूले खाएको तोकिएको रकमभन्दा बढी दिन खोजेमा सहयोगी पेटिकामा राख्ने गरिएको उनको भनाइ छ । रासस
सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैद फैसला
काठमाडौं। सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला अदालतले गरेको हो । जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले उक्त फैसला गरेको हो । छलिमायासँग यौनप्रस्ताव राख्दा अस्वीकार गरपछि बालकले असोज २ गते हत्या गरेका थिए । बालिकाको घर नजिकैको जङ्गलमा रहेको खोल्सामा बालिकाको हत्या भएको थियो । छलिमायाको शव असोज ३ गते घाँटी निमोठी, घाँटी थिची हत्या गरिएको अवस्थामा फेला परेको थियो । छलिमायाको हत्या अभियोगमा बालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको थियो । बालकलाई गत असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरेकोमा असोज १० गते अदालतले पुर्पक्षका लागि बाल सुधारगृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको थियो । बालक १८ वर्ष पूरा नभएसम्म बाल सुधार गृह सानोठिमी भक्तपुरमै रहने र त्यसपछि कारागारमा कैद भुक्तान गर्ने सिवाकोटीले बताए। रासस
भ्रमण वर्षलाई महाअभियानका रुपमा सञ्चालन गर्न राष्ट्रपतिकाे आग्रह
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षलाई महाअभियानका रुपमा सञ्गचालन गर्न आग्रह गरेकी छन् । बुधबार काठमाडौंको दशरथ रंगशालामा आयोजित भ्रमण वर्ष उद्घाटन समारोहमा बोल्दै उनले भ्रमण वर्ष राष्ट्रिय अभियानको रूपमा सञ्चालन गर्न बताएकी हुन् । उनले पर्यटनलाई आर्थिक समृद्धिको रूपमा अंगिकार गर्न आग्रह गरेकी छन्। भ्रमण वर्ष सफल पार्नका लागि सबै नेपाली एकजुट हुनुपर्ने राष्ट्रपतिको आग्रह थियो। संसारकै उत्कृष्ट गन्तव्यस्थल सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लगायतका क्षेत्रमा भ्रमण गर्न उनको आग्रह थियो। उनले पर्यटन क्षेत्रको विकासका लागि योजनाबद्ध कार्यक्रम ल्याउन नसके सम्भव नहुने धारणा राखेकी थिइन्। सांस्कृतिक तथा प्राकृतिक हिसाबले विविकधीकरण भएकाले सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो। राष्ट्रपति भण्डारीले प्रकृतिलाई बिगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने धारणा राखिन्। पर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्तिप्रतिको प्रतिबद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उनले बताइन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए। उनले नेपाल संसारकै एक अद्वितीय प्राकृतिक सम्पदायुक्त मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरेका थिए। सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने छु, मन्त्री भट्टराईले भने। विश्वका सबैभन्दा बढी उचाई भएका हिमाल नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दिर, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हेर्न पनि नेपाल आउनुपर्ने बताए। सन् १९५१ देखि विदेशी पर्यटकका लागि नेपाल भ्रमण गर्न खुल्ला गरिएको जानकारी दिँदै मन्त्री भट्टराईले पछिल्लो समय पर्यटन क्षेत्र नै नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार बनेको बताए। सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अबको १० वर्षलाई पर्यटन दशकको अभियानको रूपमा अगाडि बढाउने आधार वर्षको रूपमा वर्ष २०२० लाई लिइएको छ।
नयाँ वर्षमा सरकारकाे पहिलाे उपहार: पेट्राेल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि
काठमाडाैं । नेपाली युवा पुस्ताले अंग्रेजी वर्ष धुमधामसँगै मनाइ रहँदा सरकारले विदेशबाट आयात गरेर ल्याएकाे पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि उपहार दिएकाे छ । जनावरी १ तारिकदेखि लागू हुने गरी सरकारले पेट्राेल, डिजेल र मट्टितेलमामा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य वृद्धि गरेकाे हाे । अब काठमाडाैंमा पेट्राेलकाे मूल्य प्रतिलिटर १११ रूपैयाँ, डिजल र मट्टितेलकाे मूल्य प्रति लिटर १०० रूपैयाँ पर्ने भएकेा छ । ईण्डियन आयल कर्पोरेशनले १ जनवरी २०२० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही बढेर आएको जनाउँदै पुस १६ गते को राती १२:०० बजेदेखि लागू हुने गरी साविकको पेट्रोल र डिजल/मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रति लिटर रु. २।०० ले वृद्धि गरी वृद्धि गरिएकाे नेपाल आयल निगमले जनाएकाे छ । “पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१” अनुसार मूल्य समायोजन गरेको निगमकाे भनाइ छ । हवाई ईन्धन र एल.पि.ग्यासको खुद्रा विक्री मूल्य हाल यथावत नै राखिएको छ । मूल्य वृद्धिपछि निगमको डिपो/विक्री विन्दु देखि १५ कि.मि. क्षेत्रभित्र पेट्रोलको खुद्रा विक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु. १११ प्रति लिटर, पोखरा, दाङ्गमा रु. ११०।५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु. १०९।५० प्रति लिटर कायम गरिएको छ छ । त्यस्तै, डिजेल/मट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु. १००।०० प्रति लिटर, पोखरा, दाङ्गमा रु. ९९।५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु. ९८।५० प्रति लिटर कायम गरिएको छ । मूल्य वृद्धिपछि नेपाल तर्फको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य रु. १८।६७ प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य रु. १८।२७ प्रति लिटरले नेपालतर्फ सस्तो भएकाे निगमकाे दावी छ ।
टाटा मोटर्सले ल्यायो नयाँ कार योजना, गाडी एक्स्चेञ्जमा एक लाख बोनस पाइने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नयाँ वर्ष २०२० को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ योजना ल्याएको छ । यो योजना जनवरी २०२० सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । उक्त योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज डिनर लगायतका विशेष आर्कषणहरु रहेका छन् । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “टाटा मोटर्सको प्यासेन्जर कारहरूका लागि अल न्यू ज्यानुअरी थिम प्रस्तुत गर्न पाउँदा एकदमै खुसी छौँ । यो थिमले एउटा ग्राहकले नयाँ वर्षको सुरुवातमा के चाहान्छन् भन्नेलाई सम्बोधन गर्दछ । एउटा राम्रो कारले तपाईँलाई आफ्नो परिवारसँग मिलन गराउँछ । आरामदायी यात्रा, सुरक्षा तथा थप विशेषता भनेकै टाटाले ब्रान्डका रूपमा आफ्ना ग्राहकहरूलाई प्रदान गर्ने कुराहरू हुन् ।” टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले भने, “न्यू इयर कार थिम ज्यानुअरी महिनाभरि नै लागू हुनेछ । यो थिम अन्तर्गत धेरै इभेन्टहरू छन् । त्यसैले यो महिनाभरिका लागि कुनै पनि टाटा प्यासेन्जर कारहरूको खरिदमा एकजोडीलाई सिंगापुर क्रुज प्याकेज पनि पुरस्कार दिइने घोषणा गर्दछौँ । एक्सचेन्ज सहज बनाउनका लागि हामीले रुपैयाँ एक लाखसम्मको एक्सचेन्ज बोनस दिदँछौँ । त्यसैले नयाँ वर्ष २०२० लाई घरमा टाटा मोटर्सका कारहरू भित्र्याई खुसी साथ स्वागत गरौँ ।”
टिभिएस अपाचेद्धारा पिपिएलका खेलाडी पुरष्कृत, तीन जनाले पाए नयाँ बाइक
कास्की । टिभिएस अपाचेले पिपिएल प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरष्कृत गरेको छ । प्रतियोगिताको मूख्य प्रायोजक रहेको टिभिएस अपाचेले टिभिएस अपाचे बाइकद्वारा पुरस्कृत गर्ने घोषणा गरे बमोजिम प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जना क्रिकेट खेलाडीहरुलाई पुरष्कृत गरेको हो । जस अनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ‘आरटीआर २०० ४भी’, म्यान अफ दी सिरिज रोहन मुस्तफाले ‘अपाचे१६० ४भी’ र उत्कृष्ट बलर करण के.सी.ले ‘अपाचे१६० २भी’ बाइक पाएका छन् । कम्पनीका उपाध्यक्ष दीपक अग्रवालको उपस्थितिबीच पुरस्कारका बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरिएको थियो । नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरु मध्येको एक प्रतियोगिता पिपिएल सम्पन्न भएको छ । नेपालभित्र खेलाइने यस प्रकारका प्रतियोगिताहरुलाई प्रवद्र्धन गर्ने उद्देश्य जगदम्बा मोटर्स प्रा.लि.ले लिँदै आएको छ । सोही उद्देश्य अनुरुपक्वीन्स इभेन्टको आयोजना रहेको पिपिएलमापनि टिभिएस अपाचेको साथ जगदम्बा मोटर्स प्रा.लि. जोडिएको थियो । जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक अग्रवालले भने, “वास्तवमा खेलाडीहरु आफ्नो उत्कृष्ट प्रदर्शनीबाट नै अन्यमाझ चिनिने गर्दछन्, त्यस्तै टिभिएस अपाचे पनि आफ्नो विश्वविख्यात प्रविधिको कारण अरुहरु माझ परिचित रहँदै आएको छ । पिपिएलका उत्कृष्ट खेलाडीहरुलाई तथा विजेता टिमलाई बधाई दिंदै आगामी दिनमा पनि यस्तै सफलताको कामना गर्दछु ।” पोखरामा सम्पन्न पिपिएल प्रतियोगिताको दोस्रो संस्करणमा टिभिएस अपाचे बाइक पावर्डतर्फको प्रायोजक रहेको थियो ।