रङ्गशालामा झगडा गर्ने मछिन्द्र र मनाङका खेलाडीमाथि प्रतिबन्ध
काठमाडाैं । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारबाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई दुई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । यस्तै जगजित र अशोकलाई जनही रु १० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै रु १० हजार जरिवाना गरिएको छ । यसैगरी आआफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई रु ५० हजार जरिवाना गरिएको एन्फाको वेबसाइटमा उल्लेख छ । डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए । खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रङ्गशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए । यस क्रममा खेलाडीबीच हात हालाहाल भएको थियो । उनीहरुलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकाल्नुपरेको थियो । रासस
हेटौँडामा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु, दुई घाइते
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको आज बिहान हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनाबाट भारत घर भएका अन्दाजी २४ वर्षीया गोपिकानन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी गरी दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार, उनीहरुमध्ये एक जना गम्भीर घाइते भएका छन् । उनीहरुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
तीन किलो नक्कली सुनसहित गोङ्गबुबाट एक जना पक्राउ
काठमाडाैं । नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताएका छन् । रासस
आजबाट श्रीस्वस्थानी व्रतकथा मेला शुरु
साँखु । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बस्ने तथा उनको कथा भन्रे र सुन्ने गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले गत शनिबार (पुस १९) गते पत्रकार सम्मेलन गरी पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिएका थिए । पुस २५ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले बताए । समितिले गएको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै यो वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरेको छ । मेलाका लागि सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । मेलामा राखिएका विभिन्न पसलबाट पसलले जथाभावी रूपमा पैसा लिने गरेकाले समितिले यस वर्ष समिति तथा उपसमिति बनाएर बजार व्यवस्थापनको अनुगमन अनुगमन गर्ने भएको छ । महानगरीय प्रहरी प्रभाग साँखुले पनि सुरक्षाका लागि प्रहरी ‘हेल्प डेस्क’को स्थापना गरेको तथा ट्राफिकको उचित व्यवस्थापन गरेको जानकारी दिएको छ । साँखु प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले सुरक्षाका लागि मेलामा ७० जना युनिर्फम तथा अन्य सादा पोशाकमा प्रहरी टोली परिचालन गरिएको बताए । तीर्थयात्रीको सुरक्षालाई थप मजबुत बनाउनका सिसीटिभी फुटेजबाट पनि अवलोकन गरिने पन्थीले जानकारी दिए । यस्तो छ स्वस्थानीको महिमा राजधानीबाट उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । राजधानी तथा विभिन्न जिल्लाबाट आउने तीर्थयात्री मणिशैल किनारमा स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् । पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ । उसै त कथा, त्यसमाथि देवीदेवताका लीलासँग प्रसङ्ग जोडिएको विषय भएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गरेकाे कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ । यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । एकतीस अध्याय रहेको यस श्रीस्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ । राजधानीमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलस्थित तारिणी बहालभित्र पनि छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जीत र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ । शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णमिादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय पवन श्रेष्ठले बताए । स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ । “मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतबन्धलगायत गर्ने चलन छैन । यो पहिलेदेखिकै यहाँको मौलिक पहिचान हो”, श्रेष्ठले भने । मेला मूल आयोजक समितिका अनुसार यस वर्ष भक्तजनको सुविधा तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै मेला वरपर क्षेत्रमा सिसी क्यामेरा जडान गरिनुका साथै विभिन्न उपसमिति गठन गरी मेलालाई व्यवस्थित बनाउने तयारी भएको छ । रासस
बागलुङमा दुई औद्योगिक ग्राम बन्ने, २५ करोडसम्मको पूर्वाधार निर्माण गर्ने सरकारकाे याेजना
बागलुङ । स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँका दुई स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको हो । दुवै ठाउँमा गरिएको प्रारम्भिक सम्भाव्यता अध्ययनपछि सरकारले औद्योगिक ग्राम स्थापनाका लागि स्वीकृत प्रदान गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “अर्को साता सम्झौताका लागि उद्योग मन्त्रालयले बोलाएको छ”, उनले भने, “औद्योगिक ग्राम बन्ने निश्चित भयो, यही वर्ष काम शुभारम्भ गर्छौँ ।” सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको लगानी तथा समन्वयमा औद्योगिक ग्राम बन्नेछन् । स्थानीय तहको मागअनुसार प्रदेश सरकारले औद्योगिक ग्रामको स्वीकृतिका लागि सङ्घीय सरकारसँग सिफारिस गरेको थियो । औद्योगिक ग्रामका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाले वडा नं १३ कालाखोलामा जग्गा व्यवस्थापन गरेको छ । “झण्डै ८५ रोपनी सार्वजनिक जग्गा छ, अपुग भएमा किनेर भए पनि थप्छौँ”, नगरप्रमुख पौडेलले भने । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पहाडी क्षेत्रमा औद्योगिक पूर्वाधार निर्माणका लागि १०० रोपनी जग्गा आवश्यक पर्छ । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पुर्याउने विश्वास लिइएको छ । कृषि, पशुपालन, खनिज र वनजन्य उत्पादनका हिसाबले अग्रणी मानिने ताराखोला गाउँपालिकामा पनि औद्योगिक ग्राम बन्ने भएपछि गाउँले उत्साहित छन् । वडा नं १ अमरभूमि, भुस्कातमा औद्योगिक ग्रामका लागि जग्गा छनोट गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले बताइ । “विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढ्दैछ”, उनले भने, “यही वर्षदेखि पूर्वाधार निर्माणको काम अघि बढ्ने हाम्रो विश्वास छ ।” माटो परीक्षणलगायत आवश्यक प्राविधिक अध्ययनपछि जग्गा छनोट गरिएको थियो । गण्डकी प्रदेश सरकारले गत वर्ष नै औद्योगिक ग्रामका लागि जग्गा खोजी गर्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरेको थियो । अन्य स्थानीय तहले समयमै जग्गा व्यवस्थापन गर्न नसक्दा औद्योगिक ग्रामका लागि यो वर्ष छनोटमा पर्न नसकेका हुन् । सङ्घ र प्रदेश सरकार दुवैको नीति र कार्यक्रममा सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने उल्लेख छ । स्थानीय तहले जग्गाको जोहो गरेपछि सङ्घ र प्रदेश सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि लगानी गर्नेछन् । औद्योगिक ग्राममा खानेपानी, बिजुली, ढल निकास, घेराबार, प्रवेशद्वार, प्रदर्शनी, बिक्री र भण्डारणकक्षलगायत भौतिक पूर्वाधार निर्माण गरिनेछ । “झण्डै रु २० देखि २५ करोडसम्मको पूर्वाधार निर्माण हुने कुरा आएको छ”, ताराखोला गाउँपालिकाका अध्यक्ष घर्तीमगरले भने । मन्त्रालयसँग हुने सम्झौतापछि बजेट र लगानीबारे स्पष्टता आउने उनको भनाइ छ । निजी क्षेत्रलगायत अन्य सरोकार भएका पक्षसँगको समन्वय र सहकार्यमा औद्योगिक ग्राम सञ्चालनमा ल्याइने स्थानीय तहका पदाधिकारीले बताएका छन् । यो वर्ष बागलुङसँगै पर्वत, कास्की, स्याङ्जा, लमजुङ, गोरखा र तनहुँमा गरी ११ स्थानमा औद्योगिक ग्राम निर्माणको काम अगाडि बढाइएको छ । यस्तै गण्डकी प्रदेशअन्तर्गत नवलपुरको कावासोती र कास्कीको भोटेपोखरीमा औद्योगिक क्षेत्र निर्माणका लागि सङ्घीय सरकारले अनुमति दिएको छ । औद्यागिक ग्राममा साना तथा मझौला उद्योग रहनेछन् भने औद्योगिक क्षेत्रमा ठूलो लगानीका उद्योग स्थापना गरिनेछ । रासस
साढे छ करोड लागतमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण
बनियानी । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको रु छ करोड ६६ लाख ९६ हजार ८४८ लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण भएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिएका हुन् । उक्त भवनको निर्माण थेगींम, गाल्वा भगवती जेभी इलामले गरेको हो । अपाङ्गमैत्री सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण भएपछि स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने गाउँपालिकावासीको समस्या समाधान भएको गाउँपालिका अध्यक्ष आलमले बताए । “स्थानीयस्तरमा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा यहाँका बासिन्दा अन्यत्र धाउनुपर्ने बाध्यता थियो”, उनले भने, “अब यो स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने लक्ष्य छ ।” स्थानीयस्तरमै सुविधायुक्त स्वास्थ्य संस्था बनाउने उद्देश्यले स्थानीयवासी चिन्तामणि खरेलले निःशुल्क प्रदान गरेको एक बिघा १७ कठ्ठा जग्गामा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो । नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउने योजना रहेको झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले बताए । अस्पतालसँगै सर्पदंशको उपचार सेवा पनि सञ्चालन ल्याइने उनको भनाइ थियो । हाल बनियानी चोकमा सञ्चालित स्वास्थ्य केन्द्र केही दिनपछि नयाँ भवनमा सर्नेछ । यसैबीच, शहरी विकास तथा भवन निर्माण कार्यालयले कचनकवलको घेराबारीमा रु एक करोडको लागतमा निर्मित स्वास्थ्यचौकी भवन गाउँपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ । रासस
हुण्डाईले उड्ने ट्याक्सी ल्याउँदै, अमेरिकामा गरियो उडानसहितकाे प्रदर्शनी
काठमाडाैं । हुण्डाई मोटर कम्पनी र उबरको साझेदारीमा फ्लाइङ्ग ट्याक्सीको निर्माण हुने भएको छ । ‘एस-ए१ कन्सेप्ट’ नाम दिइएको उक्त वाहनलाई अमेरिकाको लास भेगास स्थित कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा केहि दिन अघि प्रदर्शन गरिएको थियो । हुण्डाईका प्रवक्ताले जनाए अनुसार यस पटक प्रदर्शन गरिएको वाहन एउटा कन्सेप्ट वाहन मात्र भएको र सन् २०२३ मा भने यसको पहिलो उत्पादनलाई सार्वजनिक गरिनेछ । एस-ए१ कन्सेप्ट फुल इलेक्ट्रिक वाहन हुनेछ जसले ४ जना प्यासेन्जर बोक्न सक्ने क्षमता राख्दछ । यस वाहनलाई शहरी क्षेत्रको बढ्दो ट्राफिकलाई लक्षित गर्दै निर्माण गरिएको हो । यसले ठाडो उडान र ठाडो अवतरण गर्नसक्छ । यो ट्याक्सी२९० केएमपीएचको स्पीडमा हावामा उड्न सक्छ । त्यसैगरी, जमीन भन्दा २००० फिट माथि सम्म उडान भर्न सक्छ । हुण्डाईका अनुसार यस ट्याक्सीले फुल चार्जमा १०० किलोमिटरको यात्रा तय गर्न सक्छ । तर खुशीको कुरा के हो भने यसलाई चार्ज गर्न केवल ५ देखि ७ मिनेटको समयनै पर्याप्त हुन्छ । यस वाहनमा साना साना प्रोपेलरहरु जडान गरिएका हुन्छन् जसले यसलाई उडान भर्न मद्दत पुर्याउँछन् । प्रोपेलर भन्नाले हेलिकप्टरमा प्रयोग भएजस्ता पंखा आकारका यन्त्र हुन् जसले तीव्र गतीमा घुमेर ट्याक्सीलाई उड्नमा मद्दत गर्दछ । यी प्रोपेलरका आकार सानो हुनाले यसले हेलिकप्टरले जस्तो ठुलो आवाज उत्पन्न गर्दैन जसका कारण ध्वनी प्रदुषणको समस्या पनि रहँदैन । यसका साथै धेरै प्रोपेलर जडान गरिएको कारणले नै यो हेलिकप्टर भन्दा सुरक्षित रहेको कम्पनीको दावी छ । सार्वजनिक भएको शुरुवाती अवस्थामा यस वाहनमा पाइलटको आवश्यकता परेपनि पछि भने प्रविधिको विकाससँगै पाइलटले गर्ने सम्पूर्ण काम वाहनले अटोमेटिकरुपमै गर्न सक्ने प्रविधी समावेश गरिनेछ भनी हुण्डाईले जनाएको छ ।यस वाहनलाई हुण्डाईले निर्माण गर्ने र उबरले चाहिँ एयरस्पेश सपोर्ट सर्भिस, ग्राउण्ड ट्रान्सपोर्टेशनमा कनेक्शन, कस्टमर इन्टरफेस लगायतमा एरियल राइड शेयर नेटवर्क मार्फत सहयोग गर्ने भएको छ । उबरको यो सहयोगले ट्याक्सीलाई गन्तव्यसम्म पुर्याउनमा मार्गदर्शन गर्दछ ।
श्रमको नयाँ गन्तव्य स्पेन, कृषि श्रमिकलाई प्रशिक्षण गराई नेपालको उत्पादकत्व बढाउने
काठमाडाैं । नेपाली श्रमको नयाँ र सुरक्षित गन्तव्य स्पेन बन्ने श्रम ,रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताए। श्रम मन्त्रालयमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्रीको नेतृत्वमा लुम्बिनी फाउन्डेसनको सहितको उच्च स्तरिय टोलीसँगको भेटमा श्रममन्त्री यादवले स्पेनसँग श्रम सम्झौता गरी श्रमको नयाँ तथा सुरक्षित गन्तब्य बन्ने विश्वास व्यक्त गरेका छन् । भेटमा उनले स्पेनसँग सहकार्य गर्न आफुहरु आतुर रहेको बताएका छन् । नेपाली श्रमिकलाई स्पेन पठाउन नेपाल सरकार श्रम सम्झौता गर्न चाहेको उल्लेख गर्दै मन्त्री यादवले यस उच्च स्तरीय टोली मार्फत नै मन्त्रिलाई नेपाल आउन आमन्त्रण समेत गरेका छन् । पर्यटन वर्ष २०२० को शुरुवातसँगै स्पनेको एक्स्ट्रिमुरा सरकारका पर्यटन मन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोको नेतृत्वमा आएको उच्च स्तरीय टोलीसंगको भेटघाट कार्यक्रम नेपालमा उच्च स्तरीइ टोलीलाई स्वागत गर्दै मन्त्री यादवले नेपाल र स्पेनको सम्बन्ध बिगत ५ दशकदेखि रहेको बताउदै उनले नेपाल भ्रमण वर्ष २०२० को शुरुवातसँगै आएको मन्त्रि सहितको उच्च स्तरीय टोलीलाई नेपाल प्रति सदभाव र ममत्व देखाई सहकार्य गर्न आएको प्रति हार्दिक आभार समेत व्यक्त गरेका छन् । श्रममन्त्री यादवले नेपाल र स्पेनमा धेरै समानता रहेको टिप्पणी गर्दै नेपाल कृषि प्रधान देश रहेका उल्लेख गर्दै नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व बढाउन सकिनेमा जोड दिदै कृषि लगायत पर्यटन र हाइड्रो प्रोजेक्टमा निकै संभावना रहेको बताउदै सो क्षेत्रमा लगानी गर्न आग्रह समेत गरेका छन् । त्यसैगरी स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोले नेपाल सरकारले देखाएको सदभाव तथा आतिथ्य प्रति आभार प्रकट गर्दै आफुहरु पनि नेपाली श्रमिकको सुरक्षित गन्तव्य बनाउन सके नेपाल र स्पेनको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले नेपाल जस्तै स्पेन सरकारपनि नेपाली श्रमिकलाई स्पेन लैजान आतुर रहेको बताउँदै निकट भविश्यमा नै स्पेनका श्रममन्त्री सहितको टोली श्रम सम्झौता गर्न नेपाल आउने प्रतिबद्धता व्यक्त गरेका छन् ।