
काठमाडाैं । नेपाली श्रमको नयाँ र सुरक्षित गन्तव्य स्पेन बन्ने श्रम ,रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताए। श्रम मन्त्रालयमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्रीको नेतृत्वमा लुम्बिनी फाउन्डेसनको सहितको उच्च स्तरिय टोलीसँगको भेटमा श्रममन्त्री यादवले स्पेनसँग श्रम सम्झौता गरी श्रमको नयाँ तथा सुरक्षित गन्तब्य बन्ने विश्वास व्यक्त गरेका छन् ।
भेटमा उनले स्पेनसँग सहकार्य गर्न आफुहरु आतुर रहेको बताएका छन् । नेपाली श्रमिकलाई स्पेन पठाउन नेपाल सरकार श्रम सम्झौता गर्न चाहेको उल्लेख गर्दै मन्त्री यादवले यस उच्च स्तरीय टोली मार्फत नै मन्त्रिलाई नेपाल आउन आमन्त्रण समेत गरेका छन् ।
पर्यटन वर्ष २०२० को शुरुवातसँगै स्पनेको एक्स्ट्रिमुरा सरकारका पर्यटन मन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोको नेतृत्वमा आएको उच्च स्तरीय टोलीसंगको भेटघाट कार्यक्रम नेपालमा उच्च स्तरीइ टोलीलाई स्वागत गर्दै मन्त्री यादवले नेपाल र स्पेनको सम्बन्ध बिगत ५ दशकदेखि रहेको बताउदै उनले नेपाल भ्रमण वर्ष २०२० को शुरुवातसँगै आएको मन्त्रि सहितको उच्च स्तरीय टोलीलाई नेपाल प्रति सदभाव र ममत्व देखाई सहकार्य गर्न आएको प्रति हार्दिक आभार समेत व्यक्त गरेका छन् ।
श्रममन्त्री यादवले नेपाल र स्पेनमा धेरै समानता रहेको टिप्पणी गर्दै नेपाल कृषि प्रधान देश रहेका उल्लेख गर्दै नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व बढाउन सकिनेमा जोड दिदै कृषि लगायत पर्यटन र हाइड्रो प्रोजेक्टमा निकै संभावना रहेको बताउदै सो क्षेत्रमा लगानी गर्न आग्रह समेत गरेका छन् ।
त्यसैगरी स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोले नेपाल सरकारले देखाएको सदभाव तथा आतिथ्य प्रति आभार प्रकट गर्दै आफुहरु पनि नेपाली श्रमिकको सुरक्षित गन्तव्य बनाउन सके नेपाल र स्पेनको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले नेपाल जस्तै स्पेन सरकारपनि नेपाली श्रमिकलाई स्पेन लैजान आतुर रहेको बताउँदै निकट भविश्यमा नै स्पेनका श्रममन्त्री सहितको टोली श्रम सम्झौता गर्न नेपाल आउने प्रतिबद्धता व्यक्त गरेका छन् ।