विकासन्युज

ललितपुरका डेढ दर्जन सरकारी कार्यालयकाे पुनःनिर्माण सम्पन्न

ललितपुर । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटकपटकको परकम्पले क्षति भएका जिल्लाका सरकारी भवनमध्ये १६ पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति भएका सरकारी भवनमध्ये २१ को पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) लाई दिइएको थियो । जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले पुनःनिर्माण गर्ने गरी स्वीकृत प्राप्त भएका २१ कार्यालयमध्ये १६ को पुनःनिर्माण सम्पन्न भएको आयोजना प्रमुख चन्द्रकाजी गुरुङले जानकारी दिए । पुनःनिर्माण सम्पन्न भएका सरकारी कार्यालयमा यातायात व्यवस्था कार्यालय (एकान्तकुना), जिल्ला पशु सेवा कार्यालय (जावलाखेल), जिल्ला वन कार्यालय (गोदावरी), महानगरी प्रहरी प्रभाग (लगनखेल)को महिला बन्दीगृह, जिल्ला प्रशासन कार्यालयको आवास भवन (मानभवन) रहेका छन् । यसैगरी, जिल्ला कृषि विकास कार्यालय (गोटीखेल), क्षेत्रीय सिँचाइ निर्देशनालय गोदावरी, क्षेत्रीय पशु निर्देशनालय (लगनखेल), वनस्पति उद्यानको भवन (गोदावरी), राजश्व प्रशासन तालिम केन्द्रको भवन (हरिहरभवन), जिल्ला कारागार कार्यालय (नख्खु)को कार्यालय भवन, कारागार नख्खुको सिआरसी र डिआरसी भवन छन् । त्यसैगरी, जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले आवास बस्ती विकास, बुङ्मती पूर्वाधार विकास आयोजना र हरिहरभवनको राष्ट्रिय मानव अधिकार आयोगको प्रि–फ्याब भवन निर्माण गरेको छ । हरिहरभवनको निजामती किताबखानातर्फको भवनको मर्मतसमेत सम्पन्न भएको एकाइ (भवन) ले जनाएको छ । “बजेट नभएकै कारण साझा प्रकाशनको पुनःनिर्माण शुरु हुन सकेको छैन, प्रकाशनको भवन पुनःनिर्माणका लागि रु १८ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ”, आयोजना प्रमुख गुरुङले भने । साझा प्रकाशन पुनःनिर्माणका लागि ठेक्का आह्वान गरी निर्माण व्यवसायीसँग सम्झौताको चरणमा पुगेपछि अर्थ मन्त्रालयले बजेट स्वीकृत नगरेका कारण काम हुन नसकेको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना प्रमुख नवराज प्याकुरेलले  बताए ।  राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सिञ्चाइ विभाग र क्षेत्रीय कृषि निर्देशनालयले भवन बनाउने जग्गा उपलब्ध नगराएकाले काम हुन नसकेको उनको भनाइ छ । यसरी भूकम्पले पूर्णरुपमा क्षति भएका ललितपुरका हरिहरभवन, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलका भवन र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड जावलाखेलको भवन भने केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) बबरमहलले नै बनाइरहेको एकाइ (भवन) जिल्ला कार्यालयका इञ्जिनीयर सवि श्रेष्ठले जानकारी दिए । राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय पुस्तकालय जस्ता महत्वपूर्ण कार्यालय रहेको हरिहरभवनको पुनःनिर्माणमा ढिलाइ हुँदा पनि सरोकार भएका निकायको ध्यान जान नसकेकामा ललितपुरवासीको गुनासो छ । राष्ट्रिय पुस्तकालय जस्तो महत्वपूर्ण धरोहर रहेको भवनको पुनःनिर्माणमा सरकारले देखाएको उदासीनता उदेकलाग्दो भएको स्थानीयवासी रमेश महर्जनले दुःखेसो पोखे । “महत्वपूर्ण पुस्तक बोरामा कोचेर राखेको पाँच वर्ष भइसक्यो, कति नष्ट भए होलान्, त्यसको क्षतिपूर्ति कसले दिने ? तिनमा भएको ज्ञानको भण्डारबाट भावी पुस्ता विमुख हुनुपर्ने अवस्था आएको छ”, उनले भने । यसैगरी, जिल्लाका व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको भवन, सामूहिक मूल साना गुठीको भवन ठेचो, पशु स्वास्थ्य अनुसन्धान कार्यालयको भवन निर्माण भइरहेको छ । आन्तरिक राजश्व कार्यालय पुल्चोक र जुद्ध वारुण यन्त्र कार्यालयको पुल्चोकस्थित भवन पुनःनिर्माण शुरु हुने क्रममा छ । जिल्लामा भूकम्पले कति सरकारी कार्यालयमा क्षति पुग्यो भन्ने तथ्याङ्क भने कार्यालयमा नरहेको आयोजना प्रमुख गुरुङले बताए। रासस

पार्सल आएको छ भन्दै ठग्ने विदेशी नागरिकसहित पाँच गिराेह पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पार्सल आएको छ भन्दै ठग्ने विदेशी सहित पाँच जनालाई पक्राउ गरेकाे छ । उनीहरूले ९८०३८०४८५८ बाट फोन गरेर विदेशबाट तपाईका आफन्तले पार्सलमा बहुमुल्य सामानहरु पठाएको छ त्यसको लागि भन्सार तिर्नु पर्ने रकम बैंकमा जम्मा गरिदिनु पर्यो भनेर बैंक नम्बर उपलब्ध गराउने गिरोहका विदेशी नागरिक सहित पाँच जनालाई शुक्रबार सार्वजनिक गरेकाे हाे । उक्त नम्बरबाट दैनिक एक दर्जन व्यक्तिलाई पार्सलको बारे लिन आउन फोन गर्ने गरेको पत्ता लागेको छ । सिआइबीले प्रेस बिज्ञप्ति जारी गरि विदेशबाट पार्सल पठाएको छ भन्दै फेसबुक ह्वाटसप, ट्वीटर, इमो लगायतका सामाजिक सञ्जालमा तपाईको आफन्तले पार्सल पठाएको छ भन्दै विदेशी व्यक्तिको नाममा प्रोफाइल तयार पारेर ठगी कार्यमा संलग्न रहेकाहरुलाई सिआइबीले पक्राउ गरेको हो । नक्कली प्रोफाइल बनाएर सामाजिक सञ्जालमा साथी बनाई विभिन्न बहुमुल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाईदिन्छु भनि ईमेलमा विभिन्न बहुमुल्य गरगहना, सामानहरु र डलर सहितको फोटो पठाई झुठो प्रलोभनमा पार्ने गरेको सिआइबीले जनाएको छ । निरन्तर संवादपछि सो पार्सल लिएर मेरो मान्छे नेपालमा आउदैछ र सो सामानहरु लिनु भन्ने गरेको त्यसपछि नेपालमा भएको सम्पर्क नंं ९८०३८०४८५८ नंं बाट विदेशी नागरिकले फोन गरि तपाईको सामान मैले लिएर आएको थिए भनेर झुक्याउने गरेको अनुसन्धानमा खुलेको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताएका छन् । पार्सल बोकेर आएको मान्छे नेपाल आएको र एयरपोर्टमा एक्सरे मेसिनबाट हेर्दा डलर समेत रहेछ त्यसैले सो छुटाउनको लागि नेपाली पैसा चाहिने भयो भनि सम्पर्क गरि नेपालमा रहेको विभिन्न व्यक्तिहरुको खाता नम्बर उपलब्ध गराई रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा सक्रिय रहेका नेपाली नागरिकहरु सहित विदेशीलाई काठमाण्डौंका विभिन्न स्थानबाट पक्राउ गरेको एसपी पाण्डेले बताए । सिआइबीले नाइजेरियन नागरिक श्रील सिआनसो, आइभरीकोष्टका नागरिक असापे एडजी, चितवनका चन्द्र गैह्रे,काठमाडौ ठमेलका उमेश श्रेष्ठ र चितवनका हरि ओझालाई पक्राउ गरेको हो ।

धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाद्वारा पदवहाली, सेयर बजार सुधारकाे काम अघि बढाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगाना शुक्रबार पदवहाली गरेको छन् । पदवहालीसँगै उनले सेयर बजार सुधार, बजारको स्थायीत्व तथा विकासमा क्रमबद्ध काम आगाडि बढाउने बताए । पुँजीबजारको विकासका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत सुधार गर्दै बजारलाई गतिशील बनाउने उनले बताएका छन् । साथै, लगानीकर्तालाई जागरुक गर्ने, प्रविधिको प्रयोग गर्दै पुँजी बजारमा लगानीलाई सहज बनाउने उनले बताए । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । निर्णयको औपचारिक पत्र पाएपछि मात्र ढुंगानाले पद बहाली गरेका हुन् । ढुंगाना धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए । त्यसअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । राष्ट्र बैंकमा ३० वर्ष काम गरेर उनले अनिवार्य अवकाश लिएका थिए । उनले बेलायतबाट अर्थशास्त्रमा एमए गरेका छन्।

सरकारी संस्थाका प्रमुखलाई राज्यमन्त्री दुगडकाे चेतावनी-‘कि संस्था नाफामा लानु कि राजीनामा दिनु’

काठमाडौं । उद्योगीबाट प्रतिनिधित्व गरेर उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीकाे हैसियतमा सिंहदरबार छिरेकाे  माेतिलाल दुगडले मन्त्रालय समाल्ने वित्तिकै घाटामा गएका सरकारी संस्थानलाई नाफामा लाने र नीजि क्षेत्रको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रतिवद्धता अनुसार आफूले काम शुरू गरेकाे राज्यमन्त्री दुगडले बताए । राज्यमन्त्री दुगडले संस्थानका प्रमुखलाई बोलाएर कसरी नाफामा लान सकिन्छ र के छ कार्ययोजना भनेर सोध्न थालेका छन् । उनले  हेटौडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, दुग्ध विकास संस्थान, साल्ट्र ट्रेडिङ लगायतका संस्थानहरुका कार्यकारी प्रमुखहरूलाई बोलाएर संस्थानहरूकाे अवस्थाबारे जानकारी मागेका छन् । अब सबै संस्थानहरुसँग नाफा वा घाटाको विवरण हेर्ने र आवश्यक सुधारका प्रक्रियामा जाने उनले बताए । घाटामा रहेकाे संस्थानका प्रमुखहरूलाई कि संस्था नाफामा लानु, कि राजीनामा दिनु भन्ने सन्देश राज्यमन्त्री दुगडले  दिएकाे स्राेतले बतायाे । राजीनामा नदिनेलाई प्रक्रिया पूरा गरी हटाउने उनकाे साेच छ । घाटामा गएका संस्थानहरु सके नाफामा चलाउने नसके निजीकरण गर्ने निर्णय मन्त्रालयले लिने उनले बताए । नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम, नेपाल टेलिकम लगायतका केही संस्थानहरु नाफामा छन् भने केही संस्थानहरू घाटामा चलिरहेका छन् । जम्मा ६५ संस्थानमध्ये अहिले ३६ वटा मात्र संचालनमा रहेका छन् । आन्तरिक समस्या, निजी क्षेत्रसँगको प्रतिस्पर्धामा कमी, नीतिको प्रभाव जस्ता कारणले धेरै संस्थानले प्रगति गर्न सकेका छैनन् । सरकारले संस्थानको निजीकरणको नीति लिएपछि ३० वटा सार्वजनिक सस्थान निजीकरण भए पनि त्यसबाट आशा गरेअनुसार प्रतिफल पाउन सकेका छैनन् । राज्यमन्त्री दुगडले आफू औद्योगिक क्षेत्रबाटै आएकाले व्यवसायीहरुको पिडा राम्रोसँग बुझेको र देशको आवश्यकतालाई समेत नजिकबाट नियालेकाले औद्योगिक क्षेत्रको समस्या र त्यसको समाधान कसरी गर्नुपर्छ भन्ने राम्ररी थाहा भएको भन्दै नेपालमा औद्योगिक क्रान्तिको जग आफूले खन्ने समेत बताए । उनले आफ्नो कार्यकालमा औद्योगिक क्षेत्रले उचाइ लिने बताए । उद्योग क्षेत्रले जुनसुकै हालतमा पनि परिर्वतन गर्ने छ । मन्त्रालयको ठूला, मझौला तथा साना सबै खाले उद्योगको स्वामित्व लिनेछ । मन्त्रालयले उद्योेग खोल्न स्वीकृति दिएको मन्त्रालयले ती उद्योग तथा व्यवसायको संरक्षणको जिम्मा पनि लिनेछ राज्य मन्त्री बताउछन् ।

वीपी विचार राष्ट्रिय समाजले प्रजातान्त्रिक योद्धाहरुको बारेमा दोस्रो पुस्तक प्रकाशन गर्ने

काठमाडौं । वीपी विचार राष्ट्रिय समाजले नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरुको योगदान समेटिएको अर्को पुस्तक प्रकाशन गर्ने भएको छ । वीपी विचार राष्ट्रिय समाजको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वीर योद्धाहरुको योगदान समेटिएको अर्को पुस्तक प्रकाशन गर्ने निर्णय गरेको हो । सो सम्बन्धमा समाजका महासचिव विनयध्वज चन्दले कार्यसम्पादन समितिको बैठकमा प्रस्ताव पेश गरेका थिए । प्रस्तावको छलफलमा प्रजातान्त्रिक आन्दोलनको इतिहास समेटिएको छुट्टाछुट्टै पुस्तक प्रकाशित गर्ने कि ७७ वटै जिल्लाकै छुट्टाछुट्टै लेख तयार गरी त्यसमा नेपालको प्रजातान्त्रिक योद्धाहरुको योगदान, जिल्लागत रुपमा समावेश गर्ने भन्ने विषयमा छलफल भएको छ । उक्त विषय आगामी केन्द्रीय समितिको बैठकमा प्रस्तुत भै निश्कर्षमा पुगि वीर योद्धाहरुको योगदान समेटिएको पुस्तक प्रकाशित हुने समाजका महासचिव चन्दले जानकारी दिएका छन् ।

नवलपुरका ४८९ व्यक्तिले पाए अपाङ्गता परिचयपत्र

नवलपुर । गैँडाकोट नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा ४८९ अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता परिचयपत्र कार्यविधि २०७५ को परिच्छेद २ को दफा ४ बमोजिम परिचयपत्र वितरण गरेको हो । नगरप्रमुख छत्रराज पौडेलले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र अन्तरराष्ट्रिय महासन्धिलाई अझ व्यवहारिक एवं प्रभावकारी बनाउने गरी नरपालिकाले कार्यविधि बनाएको जानकारी दिए । बिहीबार मात्रै नगरपालिकाले नगरभित्रका ९३ अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । अपाङ्गताको अवस्थाअनुसार नगरपालिकाले रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका परिचयपत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताए । नगरपालिकाबाट हालसम्म वडा नं १४ मा सबैभन्दा बढी र वडा नं ९ बाट सबैभन्दा कम अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिएका छन् । नगरउपप्रमुख विष्णुकुमारी सापकोटाको संयोजकत्वमा ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरेर उनीहरुको अवस्थाअनुसार परिचयपत्र वितरण गर्दै आइएको छ । नगरपालिकाले निर्माण गरेको कार्यविधिअनुसार हलचल गर्न नसक्ने गरी पूर्णरूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिलाई ‘क’ वर्गको अपाङ्गताको परिचयपत्र वितरण गरिन्छ । यस्तै, निरन्तर अरुको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिलाई ‘ख’ वर्गको परिचयपत्र उपलब्ध गराइन्छ । त्यसैगरी, चश्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण–दृष्टिविहीन व्यक्ति, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू समूह ‘ग’ का अपाङ्गता वर्गमा पर्दछन् । त्यस्तै, शारीरिक अङ्गमा सामान्य विचलन भएता पनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठूलो अक्षर पढ्न सक्ने, न्यून दृष्टियुक्त व्यक्ति, हत्केलामुनिका कम्तीमा बूढीऔँला र चोरऔँला भएका, खुट्टाको औँलाका भाग नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्ति, स्मरणशक्ति ज्यादै कम भई सिकाइमा कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई ‘घ’ वर्गमा राखेर नगरपालिकाले कार्यविधि निर्माण गरेको छ । रासस

जर्मनीमा आयोजित गलैंचा मेलामा नेपालको सहभागिता

काठमाडाैं । जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ । आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष रामबहादुर गुरुङ्गको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ । प्रत्येक वर्ष आयोजना हुने मेला नेपाली गलैंचा उद्योगका निमित्त अति महत्वपूर्ण रहेकाले नेपाली व्यवसायीहरुले १६ वर्ष अघिदेखि सहभागिता जनाउँदै आएको अध्यक्ष गुरुङले जानकारी दिए । नेपाली गलैंचाको अन्तर्राष्ट्रिय बजार प्रबर्धन न र विस्तार गरी विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरहरु सिर्जना गर्ने अवसरको रुपमा मेलालाई हेरिएको उनको भनाइ छ । गत वर्ष गलैंचाबाट आठ अर्ब ५० करोड रुपैँया बराबरको विदेशी मुद्रा आर्जन गरी निर्यातजन्य वस्तुको सूचीमा प्रथम स्थानमा रहन सफल भएपनि केही वर्षयता यसको निर्यात क्रमशः घट्दै गएको छ । नेपाली हस्त निर्मित गलैंचाको माग विश्वका धेरै मुलुकबाट भएपनि उपयुक्त वातावरण बन्न नसक्दा क्रमशः व्यवसायीहरु पलायन हुन थालेकाले उनीहरुलाई व्यवसायतर्फ आकर्षित गर्न अन्तराष्ट्रिय स्तरमा आयोजना हुने यस्ता मेलाहरु सहयोगी हुने गुरुङले बताए ।

सुभाङ्गि एजुकेसनले विद्यार्थीको आवश्यकता बुझी योग्य व्यक्तिबाट सही परामर्श दिन्छ: किशोर तिवारी

काठमाडौं । विगत १४ वर्षदेखि शैक्षिक परामर्श सेवामा आवद्द किशोर तिवारी सन् २००९ यता काठमाडौंको बागबजारमा सुभाङ्गि एजुकेसनमार्फत विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका छन्। उनी हाल  जापान र फ्रान्सको लागि परामर्श सेवा दिदैं आएका छन् । पछिल्लो समय नेपाली विद्यार्थीहरुको जापानप्रतिकाे रुची बढेको छ । यद्यपी, सही परार्मश नपाउँदा धेरै विद्यार्थीहरु जापान गएर विभिन्न खालका समस्यामा पनि पर्ने गरेका छन् । विद्यार्थीहरूले विदेश जानुअघि के कस्ता कुरामा ध्यान दिने ? विद्यार्थीका लागि जापान कस्ताे गन्तव्य हाे ? लगायत विषयमा कन्सल्टेन्सीका सञ्चालक किशाेर तिवारीसँग विकासन्युजका लागि डोमी शेर्पाले गरेकाे कुराकानीः जापान अन्तर्राष्टिय विद्यार्थीको लागि कस्तो गन्तव्य हो ? अन्तर्राष्टिय बजारको हिसाबले जापानमा जन्मदर घटेको हुनाले कौशल जनशक्क्तिको कमि भएको देश हो । यसकारण जापान सरकारले भाषाको कोर्षहरुमा अन्तर्राष्टिय विद्यार्थीहरुलाई लामो समय देखि आवेदन खुल्ला गरेको छ । जापानमा अन्य भाषा नचल्ने हुनाले जापानमा पहिला भाषा पढ्ने र भाषा पढिसकेपछि टेक्निकल स्कुल अथवा विश्वविद्यालयमा पढ्न सक्ने प्रावधान छ । त्यस्ता टेक्निकल स्कुलहरुमा कार, कम्प्युटर जस्ता टेक्निोलोजीहरुको व्यावहारिक शिक्षा प्रदान गरिन्छ । उनीहरुलाई रोजगारको बजारमा पुराउने हिसाबले जापानले विद्यार्थीलाई ट्रेन गर्दछ । त्यसैले अन्तर्राष्टिय विद्यार्थीहरुलाई पढाईको र करियरको हिसाबले जापान एक राम्रो गन्तव्य हो । जापानमा नेपाली विद्यार्थीहरुको रोजाईमा कुन कुन कोर्षहरु पर्ने गरेका छन् ? ९० प्रतिशत नेपाली विद्यार्थी जापान सुरुवाती चरणमा भाषाको लागि जाने गर्छन् । जापानिज भाषा पढिसकेपछि विद्यार्थीहरुसँग दुईवटा विकल्प हुन्छ । एउटा भनेको भोकेसनल स्कुल जाने र दोस्रो विश्वविद्यालय जाने जसमा जानको लागि विद्यार्थीले भाषामा दोस्रो लेभलको परीक्षा पास गर्नुपर्ने हुन्छ । तर, भोकेसनल स्कुल पढ्नको लागि विद्यार्थीको भाषा राम्रो हुनुपर्छ । विद्यार्थी जापान जानुभन्दा अगाडि ध्यान दिनुपर्न कुराहरु के के हुन् ? विद्यार्थीहरुले जानुभन्दा अगाडि जापान आफुनो लागि सहि गन्तव्य हो कि होईन भन्ने कुरा बुझ्नपर्छ । र उसले एउटा उपयुक्त कन्सलटेन्सी छान्नु पर्छ । दोस्रो रहेको छ पार्ट टाईम काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा । यस्तै विद्यार्थी आफ्नो लक्ष्यलाई लिएर प्रष्ट हुनुपर्छ । यस्तै, मुख्य भनेकाे भाषाको तयारी हो । भोलि तपाई ब्याचलर पास गरेर सिधैं वोर्किङ भिसामा जानुहुन्छ कि भन्ने बिषयहरुमा तपाई आफै खुलस्त हुनु्पर्छ । तर, पहिलो प्राथमिक कुरा भनेको एउटा सही कन्सल्टेन्सी नै हो । त्यो किन भन्दा जापान जानुभन्दा अगाडि तपाईको दुई कुरा एकदमै महत्वपूर्ण हुन्छ जसले तपाईलाई सजिलै भिषा पाउन मद्दत गर्दछ । पहिलो भनेको राइट डकुमेन्टेसन जसको लागि कन्सल्टेन्सी राम्रो हुनु जरुरी छ। दोस्रो भनेको तपाई जापान गएर अध्ययन गर्ने जाने स्कुलको प्रोफाईल । जापानमा त्यो स्कुलको अवस्थाको बारेमा विद्यार्थीलाई कन्सलटेन्सीले जानकारी दिनैपर्छ। त्यो स्कुल ब्ल्याक लिस्टमा छ वा छैन अथवा त्यो स्कुलको नतिजाहरु कस्तो छ, बजारमा उनका उत्पादन अर्थात पास भएर निस्किएका विद्यार्थीको अवस्था कस्तो छ भन्ने विद्यार्थीमा जानकारी हुनुपर्छ, जापान सरकारको मिनिस्ट्री अफ जस्टिसले स्कुलहरुलाई उसको नतिजाहरुको आधारमा वर्गीकृत गरेको हुन्छ । जापान सरकारले विद्यार्थीहरुलाई कति वर्षको भिसा दिन्छ ? जापानको हकमा विद्यार्थीहरुले कोर्स र ईन्टेक हेरेर भिसा पाउने गर्छन् । अप्रिलमा आवेदन दिएका विद्यार्थीहरुको लागि २ वर्षको भिसा प्रदान गरिन्छ । यस्तै जुलाईमा गर्नेहरुको लागी २१ महिना, अक्टोबरमा १८ महिना र जनवरीमा १५ महिनाको भिसा दिईन्छ । भिसाको कुरा गर्नुपर्दा सामान्यतः जापान जाने विद्यार्थीहरुको १५ महिनाको सिओई सर्टिफिकेट अफ ईलिजिबिलिटी आउँछ । जति महिनाको सिओई आउँछ त्यती नै महिनाको भिसा आउँछ तर त्यसलाई पछि गएर सजिलै बढाउन सकिन्छ । डिपेन्डेन्टको हकमा जापानमा कस्ताे राष्ट्र रहेको छ ? डिपेन्डेन्टको हकमा भोलि गएर विद्यार्थीले आफ्नो श्रीमान अथवा श्रीमती लैजान आफ्नो आवश्यकता हेरेर उसले आवेदन दिन सक्छ । आवेदन दिनुभन्दा अगाडि उसले पढेको संस्थाबाट चाहिँ स्विकृति लिनुपर्ने हुन्छ । प्रकृयाको कुरा गर्नुपर्दा उसले आफ्नो नाता प्रमाण लगायतका डकुमेन्टहरु अध्यागमनमा बुझाईसकेपछि त्यसको पनि सिओई नै आउँछ । त्यसपछि विद्यार्थीहरुले आफ्नो पार्टनरलाई लैजान सक्छन् । विद्यार्थी भिषालाई जापानमा वर्किङ भिषामा परिवर्तन गर्न कत्तिको सहज छ ? सामान्यतः ब्याचलर पास भएका र भाषामा राम्रो भएकाहरुलाई आफ्नो भिसा वर्किङ भिसामा परिवर्तन गर्न खासै गाह्राे हुँदैन । यसको मतलब प्लस २ पास गरेकाले नपाउने भन्ने होइन । मुख्य कुरा जापानमा भाषा र सीपलाई प्राथमिकता दिईन्छ । तपाईले विभिन्न माध्यमबाट जापानमा कामको लागि आवेदन दिन सक्नुहुन्छ। जापानमा काम खोज्ने ब्रोकर कम्पनीदेखि लिएर काम खोज्ने एप्सहरु रहेका छन् वा तपाईले आफ्नो तपाईको जापानिज भाषा साह्रै राम्रो छ भने त्यहाँको कम्पनीहरुले तपाईको क्षमताहरुलाई मापन गर्दछ र तपाई उनीहरुको कामको लागि उपयुक्त लागे कम्पनीले अध्यागमन शाखामा गएर आवेदन दिन्छ । आवेदन दिईसकेपछि त्यसको पनि सिओई नै आउँछ र तपाई वर्किङ भिसा पाएर बस्न सक्नुहुन्छ । विद्यार्थीहरुले आफ्नो करियरलाई कतिको प्राथमिकतामा राखेको पाउनुहुन्छ ? मूलतः विद्यार्थीहरुलाई सही परामर्श नभएर हो कि किन हो अहिलेको अवस्थामा पनि धेरै विद्यार्थीहरुमा अझै पनि पैसा कमाउन प्रति नै आकर्षित छन् । हुन त धेरै विद्याथीहरु ऋण लिएर गएका हुन्छन् जसका कारण पनि उनीहरु पैसा कमाउन तर्फ बढी ध्यान दिएको पाइन्छ । तर, म मेरो विद्यार्हर्थीहरूलाई पैसा कमाउनुको साथसाथै करियरमा फोकस गर्न नछोड्न सुझाव दिन्छु । त्यहाँ गएर भाषा राम्रो भएर विश्वविद्यालयबाट दीक्षीत भए उ सजिलैसँग जापानको जब मार्केटमा बिक्छ । म हरेक विद्यार्थीहरु जो जापान जान चाहनुहुन्छ उहाँहरुलाई आफ्नो करियरबाट ध्यान अन्त्य नलैजानुहाेला, भविष्य राम्रो बनाउन सके बल्ल जिन्दगी सुखमय हुन्छ भन्ने सुझाव दिन चाहन्छु । जापान जानको लागि सुरुवाती चरणमा कति खर्चको आवश्यकता हुन्छ ? सुरुमा जापानमा भाषाको कोर्षको स्कुलको शूल्क ७ देखि ८ लाख पर्न जान्छ । त्यसपछिको बस्नको लागि, आफुले लाने पैसा, डकुमेन्टेसन, टिकेट जस्ता सबै चार्जहरु गर्दा लगभग १२ लाखको हाराहारीमा खर्च लाग्ने गर्दछ । नेपाल फर्केर विद्यार्थी कत्तिको आएका छन् ? यहाँ आएर के पेसा रोज्ने गरेका छन् ? धेरै फर्केर अाएका छन् । यद्यपी, फर्कनेको दाँजोमा उतै बस्नेको संख्या धेरै छ । यहाँ आएर धेरै जना परामर्श व्यवसायमै आबद्ध छन्।  कोही कलेजहरुमा पढाईरहेका छन्, कोही भाषाका कक्षाहरु संचालन गरेर बसेका छन्, कोही आईटी क्षेत्रमै काम गरेर मनग्य पैसा कमाइ रहेका छन् । कन्सल्टेन्सीको विद्यार्थीहरुप्रतिको भूमिका के हो ? कन्सलटेन्टहरु डाक्टर जस्तै हुन् र हुनुपर्छ । जसरी एउटा डाक्टरले बिरामीलाई चेकजाँच गरेर उसलाई सही औषधि खानको लागि सुझाव दिन्छ त्यसरी नै कन्सलटेन्सीहरुको काम भनेको विधार्थीलाई गहिराईमा गएर कुनै पनि विषयको बारेमा पूर्ण रुपमा जानकारी दिनु हो । विधार्थीलाई जापान यस्तो देश हो भनेर सतही रुपमा थाहा छ । तर, त्यहाँ कुन क्षेत्रमा उनीहरुको करियर बन्छ, उसको क्षमता के हो भन्ने जस्ता सबै कुरालाई मूल्यांकन गरेर उनीहरुलाई कोर्सहरु सुझाव गर्न कन्सलटेन्सीको भुमिका हुन्छ । यसका साथै विद्यार्थीलाई पढ्नकाे लागि पठाइसकेपछि आफ्नो कर्तव्य पुरा भएको सोच्नु हुँदैन। विद्यार्थीले सुबाङ्गिलाई नै किन रोज्ने ? सुभाङ्गि आउनुको कुनै ठूलो उद्देश्य, गफ र आश्वासन पनि छैन । हाम्रो एउटै हो हामी सही सूचना दिन्छौं र विद्यार्थीलाई मिसगाईड गर्दैनौं । हामी हाम्रो अनुभवको आधारमा डकुमेन्टेसन गर्छाैं । विद्यार्थीहरुलाई हाम्रो भिषा सक्सेस रेट, काम गर्ने शैली, हाम्रो शिक्षकहरु हेरेर हामीलाई मूल्यांकन गर्न आग्रह गर्छाैं । हामी हाम्रो कामप्रति ईमान्दार छौं र हामी विद्यार्थीको डकुमेन्टेसन दिल दिमाग लगाएर गर्छौं त्यति नै हो । साथै, विद्यार्थीलाई अध्ययनको लागि पठाइसकेपछि हाम्रो काम त्यहीँ सकिदैँन । उनीहरुलाई भविष्यमा आवश्यक सहयोग हामी गर्छाैं र गर्दै आएका छौं ।