आजदेखि मौसम सफा हुँदै जाने
काठमाडाैं । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना शाक्यले बताए । “आज मध्याह्नसम्म देशैँभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ”, मौसमविद् शाक्यले भने । बेलुकापखबाट मौसम क्रमिक सुधार भई जाने जनाइएको छ । राति देशका मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार देशका पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । आइतबार देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा हुने सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन तथा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १३ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम डडेल्धुराकोे न्यूनतम तापक्रम माइनस शून्य दशमलव एक डिग्री सेल्सियसमा झरेको छ । रासस
वाणिज्य संघका सदस्यलाई पुरानो मेडिकल कलेजको सम्पूर्ण सेवामा २० प्रतिशत छुट
काठमाडौं । पुरानो मेडिकल कलेज चितवन र उद्योग वाणिज्य संघबीच आपसी सहकार्यमा छुट सम्बन्धी स्मरण पत्र नवीकरण भएको छ। गत वर्ष पनि उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई निश्चित प्रतिशत छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको थियो। यस स्मरण पत्रमा अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधान र निमित्त निर्देशक डा. राजेश यादवले र उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान तथा स्वास्थ्य विभाग प्रमुख शिरीष पन्तले हस्ताक्षर गरेका हुन् । यस वर्ष उक्त स्मरण पत्र परिमार्जन सहित हस्ताक्षर भएको उद्योग वाणिज्य संघका स्वास्थ्य समिति प्रमुख शिरीष पन्तले बताए् । नीजि क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब उद्योग वाणिज्य संघ चितवनका सम्पूर्ण बैध सदस्यहरुले अस्पताल तर्फका सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने छन । व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था उद्योग वाणिज्य संघ चितवनका बैध सदस्य ४ सय जति रहेका छन ।आज उद्योग वाणिज्य संघ चितवनमा एक कार्यक्रमका बीच उक्त स्मरण पत्र सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै अध्यक्ष सहनलाल प्रधानले गत वर्ष जस्तै यश वर्ष पनि धेरै सदस्यहरुले पुरानो मेडिकल कलेजबाट सहुलियतपुर्ण उपचार सेवा लिने विश्वास व्यक्त गरे । देशकै ठूलो आइसियु तथा सुपर स्पेसियलिटी सेवा उपलब्ध यश अस्पतालमा पहिला देखिनै स्वास्थ बीमा, कडा रोग , डायलाइसिस सेवा, निःशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु छ । सम्पूर्ण उद्योग वाणिज्य संघका सदस्य तथा पदाधिकारीहरुलाई अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय सेवा दिइने कुरा अस्पतालका निमित्त निर्देशक डा. राजेश यादवले बताए । उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै बिलिङ काउन्टर तथा सम्पर्क व्यक्ति व्यवस्था गरिने र हरेक वर्ष उद्योग वाणिज्य संघ संगको सहकार्यमा पिछडिएको क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले जानकारी दिए ।
ट्राफिकद्वारा आज सार्वजनिक यातायातमा छड्के अनुगमन
काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल तथा अनुगमन समितिका पदाधिकारीहरूद्वारा आज सुन्धारामा २३ वटा भाडाका सार्वजनिक सवारीहरूलाई अनुगमन गरेका छन् । अनुगमनका क्रममा भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमिकमजोरीहरूलाई सच्याउनको लागि चालकलाई प्रतिबद्धता पत्र समेत प्रदान गरिएको छ । सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउनका लागी सवारी चालकको महत्वपूर्ण भूमिका रहने भएकोले चालकहरुले पालना गर्नेपर्ने ट्राफिक नियम तथा यात्रुहरु प्रति सेवाभावका साथ आफुलाई बदल्न समेत यस अभियानले महत्वपूर्ण भूमिका खेल्न विश्वास गरिएको छ । सवारी दुर्घटना न्युनीकरण र सहज ट्राफिक व्यवस्थापनका लागि चालकहरु व्यवसायिक, अनुशासित र दक्षताका साथ आफुलाई उदाहरणीय बनाउदै चालकहरु प्रतिको विश्वासमा वृद्धि गर्न समेत चालकहरुलाई अनुरोध गरिएको छ । महाशाखाका प्रमुख ढकालद्वारा यहि पौष १७ गते भाडाका सार्वजनिक सवारी साधनहरुमा अनुगमन क्रममा देखिएका समस्या तथा महाशाखामा नागरिकहरुले गरेका गुनासोहरुको समेत विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरु, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा संचालित यात्रुवाहक सार्वजनिक सवारी साधनसंग सम्बन्धित विभिन्न कम्पनीरप्रा।लि। का प्रतिनिधिहरुको उपस्थितिमा पौष २० गते यस महाशाखामा व्यापक छलफल गरिएको थियो । उक्त छलफलबाट १९ वुँदे प्रतिबद्वता निर्णय भएको र उक्त निर्णयहरु कार्यान्वयन गर्न आजबाट अनुगमन शुरु गरिएको हो । उक्त १९ बुँदे कार्यान्वयन भए नभएको अनुगमनको लागि महानगररीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक तथा अनुगमन समितिका संयोजक प्र.उ. राजकुमार बैदवार उस्थित थिए । साथै, नेपाल यातायात व्यवसायी महासंघ सचिव नन्दलाल श्रेष्ठ, जिल्ला संयोजक अरुण श्रेष्ठ, सदस्य अर्जुन गौतम, अखिल नेपाल यातायात मजदुर संघका सचिव कमल पोखरेल, नेपाल यातायात व्यवसायी महासंघका ३ नं. प्रदेश संयोजक जगन्नाथ गौतम, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल तथा अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।
क्याभास एट थिएटर मलमा सामूहिक चित्र प्रदर्शनी, माघ ४ गतेसम्म जारी
काठमाडौं । कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालीन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो । नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र पेन्टिङगरी दुई विधाका ३० चित्रहरु प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा रहेका चित्रहरुले समकालीन नेपाली समाजप्रतिको चिन्ता र चासो अभिव्यक्त गरिएका छन् । युवा कलाकारहरुले आफ्नो सिर्जनामा चेनतशील मानव सभ्यताका विकृति, कुसंस्कार, उत्पीडनलाई प्रतिरुप स्वरुप उतारेका छन् । त्यस्तै मानवीयता, लैंगिकता, भूमण्डलीकरण प्रकृति, आशा र संघर्षलाई रंगका माध्यमबाट अभिव्यक्त भएका चित्र सिर्जनाहरुमा प्रदर्शनीमा रहेका छन् । प्रदर्शनीमा भिजिट नेपाल २०२० को लोगोका सिर्जनाकारदेखि विभिन्न विश्वविद्यालयबाट दिक्षित सक्रिय १३ कलाकारहरुको सिर्जना राखिएको छ । कलाकारहरु उद्धवराज रिमाल, टिकादत्त दाहाल, दीपमाला महर्जन, नारायणप्रसाद बोहजु, भिषण राजभण्डारी, मनिषा मानन्धर, रुकुमणी श्रेष्ठ, विद्यमान तामाङ, सन्तोष सिग्देल, सुजिता महर्जन, सुमन महर्जन, सुवास तामाङ, सोनी राईको सामूहिक प्रदर्शनीलाई ‘क्यानभास एट थिएटर’ नाम दिइएको हो । सहभागी कलाकारहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार तथा प्रदर्शनीहरुमा सहभागिता जनाइसकेका छन् । कलाका माध्यमहरु आफै पृथक र एक अर्काका परिपूरक रहेको औंल्याउँदै प्रिन्ट मेकीङ कलाकार सुजिता महर्जनले थिएटरमा कला प्रदर्शनीको संयोजन गरेकी हुन् । प्रदर्शनीको उद्घाटनमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुरमा युवा कलाकारहरुको स्वागत गरेका थिए । साथै कीर्तिपुरलाई कलानगरीको रुपमा विकास गर्न आफू तयार रहेको मेयर महर्जनले प्रतिबद्धता जाहेर गरे । प्रदर्शनीको उद्घाटनमा थिएटर मलका कलाकारहरुको ‘हामी बोल्छौं’ शीर्षकको बिम्बात्मक प्रस्तुति पनि दिएका थिए । जसमा रंगकर्मीहरु मनिष व्याञ्जु, स्नेहा रसाइली, कञ्चन संग्रौला, रोसन केसी, अनिल थपलिया, कुमार थापा, सरोज राई, शंकर भण्डारीको अभिनय तथा शक्ति पाख्रिनले निर्देशन गरेका थिए । थिएटर, कलाका विविध माध्यमहरुको संगम रहेको बताउ“दै थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कला–संस्कृतिको अभियानमा समन्वय र सहकार्यको अत्यावश्यकतामाथि बहसको आशा गरेको उल्लेख गरे । प्रदर्शनी आगामी माघ ४ गतेसम्म जारी रहनेछ । साथै नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’ पनि माघ ४ सम्म मञ्चन हुनेछ ।
तनहुँको घिरिङमा बस दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, दर्जनाैं घाइते
दमाैली । तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा आज बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार थापाको घटनास्थलमै र गुरुङको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : मन्त्री पोखरेल
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताएका छन् । माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को आज राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्दै उनले शिक्षाले नै मुलुकलाई कता जान्छ भन्ने रहेकाले शिक्षकले दिने शिक्षाले मुलुकलाई डोर्याउने बताए । “देश कता जान्छ भन्ने शिक्षाले नै निर्धारित गर्दछ, शिक्षा कस्तो दिने भन्ने शिक्षकको हातमा हुन्छ”, उनले भने, “जुन मुलुकमा विकासमा कायापलट भएको छ, त्यहाँ शिक्षकले राम्रो शिक्षा दिएका कारणले भएको छ, हाम्रो देशमा पनि शिक्षकले गुणस्तरीय शिक्षा दिएर मुलुकको समृद्धिका लागि भूमिका खेल्नुपर्दछ ।” उनले एउटा शिक्षक शिक्षाका लागि मात्र शिक्षक भएकाले त्यो शिक्षकले शिक्षा सुर्धान मात्र आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । शिक्षामा मात्रात्मक विकास भएकाले अब गुणात्मक शिक्षा प्रदान गर्न शिक्षकलाई आग्रह गरे । “गुणात्मक शिक्षालाई केन्द्रविन्दुमा राखेर काम गर्नुहोस्, गुणात्मक शिक्षा दिएर शिक्षाको गुणस्तर शिक्षकले बढाउनुपर्दछ”, उनले भने । मन्त्री पोखरेलले भर्खरै अस्थायी शिक्षकको समस्या समाधान गरेकाले अब द्वन्द्वपीडित शिक्षकका माग समाधान गर्न सरकार लागि परेको समेत जानकारी दिएका छन् । शिक्षकको पक्षमा सरकार सधैँ रहेकाले शिक्षकका समस्या आपसी छलफलबाट समाधान गर्ने उनको भनाइ थियो । मन्त्री पोखरेलले भर्खरै ल्याइएको शिक्षानीतिका आधारका उच्च शिक्षा ऐन, सङ्घीय शिक्षा ऐन र प्राविधिक ऐन ल्याउन थालेको समेत बताए । उनले शिक्षकका धेरै सङ्गठन भएकाले सरकारलाई काम गर्न समस्या परेकाले एउटै छाता सङ्गठन बनाउनसमेत आग्रह गरेका छन् । नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मुलुकमा शिक्षा र स्वास्थ्यमा प्रगति भएको भन्दै बजारले माग गर्ने खालका प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने जानकारी दिए । शिक्षाको गुणस्तर उठाउनका लागि सरकार, शिक्षक र व्यवस्थापन मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । हिस्टानका निवर्तमान अध्यक्ष दीपकराज सुवेदी र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले सबै शिक्षक सङ्गठन गोलबन्द हुनुपर्ने भन्दै शिक्षकका समस्या राज्यले सम्बोधन गर्नुपर्ने बताए। कार्यक्रममा शिक्षक आन्दोलनमा सहयोग पुर्याएको भन्दै काँग्रेसका नेता महत, पूर्वशिक्षामन्त्री धनीराम पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, हिस्टानका पूर्वअध्यक्ष डिल्ली सिग्देल र दीपकराज सुवेदीलाई सम्मान गरेका थिए । माध्यामिक विद्यालय शिक्षक युनियन, नेपाल र नेपाल सामुदायिक उच्च माध्यामिक शिक्षक युनियनबीच एकता भएको हो । हिस्टानका अध्यक्ष पुष्पप्रसाद न्यौपानेले एउटै मुद्दा भएकाले दुई शिक्षक सङ्गठनलाई एक बनाइएको जानकारी दिए। उनका अनुसार आजको एकता महाधिवेशनले ११५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । रासस
राेल्पाका ३६० घर पहिराेको उच्च जाेखिममा, बस्ती स्थानान्तण गरिने
राेल्पा । राेल्पा जिल्लामा पहिराको अत्यधिक जोखिम देखिन थालेको छ । पहिराले जनधनको क्षतिका साथै बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ । भौगोलिक अध्ययन र इञ्जिनीयरिङ डिजाइनबिना खनिएका सडकले पहिराको उच्च जोखिम देखिन थालेको हो । पहिराका कारण सुनछहरीका वडा नं ४ र ५ उच्च जोखिममा छन् । प्रदेश नं ५ का १२ जिल्लामध्ये रोल्पालाई विपद्का दृष्टिले उच्च जोखिमयुक्त जिल्लाका रूपमा लिइएको छ । जिल्लाका सुनछहरी, थवाङ, लुङ्ग्री, माडी र परिवर्तन गाउँपालिका पहिराको उच्च जोखिममा रहेका स्थानीय तह हुन् । ती गाउँपालिकामध्ये सुनछहरी गाउँपालिका सबभन्दा बढी जोखिममा रहेको छ । गाउँपालिकाका अध्यक्ष आशबहादुर घर्तीका अनुसार ती वडाका ३६० घर अत्यन्तै जोखिममा छन् । विसं २०७२ को भूकम्पले सुनछहरी–१ झङ्कीका ४० घर र सोही वडाको फुलिवनका २० घर पहिराका कारण विस्थापित भएका थिए । यसैगरी ४५ घरधुरीले बसोबास गर्दै आएको सोही गाउँपालिकाको वडा नं ३ चालावाङमा अहिले २२ घरधुरी मात्रै बस्दै आएका छन् भने बाँकी सबै विस्थापित भइसकेका छन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सचिव शङ्करप्रसाद खरेलसहितको एक टोलीले स्थलगत निरीक्षण गरी सो क्षेत्रका बस्ती स्थानान्तरणका लागि विस्तृत योजना तयार गरेको छ । “रु १८ करोड बजेटसहितको विस्तृत विवरण तयार गरी सङ्घीय सरकारमा पठाएका छौँ”, मन्त्रालयका सचिव खरेलले भने । बस्तीमा रहेका वडा कार्यालय, स्वास्थ्यचौकी भवन र विद्यालय पनि उच्च जोखिममा छन् । बस्ती नै स्थानान्तरण गर्ने समस्या देखिन थालेको अध्यक्ष घर्तीको भनाइ छ । जिल्लाकै सुनछहरी–६ फगामको आप्राखोला पहिराका कारण गाउँले त्रासदीपूर्ण दैनिकी बिताउन बाध्य छन् । पहिराले बस्ती उजाड बनाउनुका साथै धनजनको क्षति आँकलन गर्न सकिने अवस्थामा नभएको गाउँपालिका अध्यक्ष घर्तीले बताए । “तत्कालीन राजा महेन्द्रका पालामा बस्ती स्थानान्तरणको प्रयास गरिए पनि स्थानीयवासी सहमत नहुँदा स्थानान्तरण हुन सकेन”, उनले भने। सोही गाउँपालिकाका जैमाकसला र सेरमका बस्ती पनि उच्च जोखिममा छन् । पहिराका कारण वडा नं १ झाँकीको स्वरुप नै बदलिएको छ । सो गाउँका १६४ घरधुरीलाई स्थानान्तण गर्नुपर्ने समस्या देखिएको उनले बताए । पहिराको मुख्य कारक मान्छे भएको विपद् व्यवस्थापनका विज्ञ डा. दीपक चाम्लागाइकाे भनाइ छ । “माघ, फागुन र चैतमा खनेका सडक नै असार, साउनमा पहिरो बन्छ”, चाम्लागाइले भने । वन तथा संरचना निर्माणमा संहितालाई कडाइका साथ लागू नगरेकै कारण पहिराको विपद् बढ्दै गएको उनले जानकारी दिए । बाढीको जस्तै पहिराको पनि पूर्वसूचना प्रणाली जडान गरी क्षति न्यूनीकरण गर्न सकिने मन्त्रालयका सचिव खरेलको भनाइ छ ।
नाटाकाे अध्यक्षमा अच्युत गुरागाइँसहितको उम्मेदवारी घोषणा
काठमाडौं । आगामी माघ ३ गते हुने नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा)को चुनावका लागि अध्यक्ष पदका उम्मेद्वार अच्युत गुरागाइँसहितको उम्मेदवारी घोषणा भएको छ । गुरागाइँको समूहले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो समूहकाे उम्मेदवारी घोषणा गरेको हो । गुरागाइँ अध्यक्ष रहेको समूहमा हेमराज बास्तोला वरिष्ठ उपाध्यक्ष, यज्ञमुर्ति आचार्य उपाध्यक्ष, महासचिवमा राकेश धमाला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सह कोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन् । यस्तै सदस्यहरुमा परशुराम घिमिरे, नवराज भेटुवाल र रमेश थापा रहेका छन् । गुरागाइँ वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।